म धरतीको महत्त्वपूर्ण भार वहन गर्न आएकी नारी हुँ । म नियतिसँग लाप्पा खेल्दै जित हात पार्न जन्मेकी हुँ । म यस पृथ्वीनामक रङ्गमञ्चको विजेता पङ्क्तिकी लडाकु हुँ । मेरो शब्दकोशमा हार भन्ने शब्द मेटिएको छ । केवल जितमात्र प्रस्ट अक्षरमा लेखिएको छ ।

तपाईँ ठान्नुहोला यस आइमाईले गनगन सुनाउन लागी भनेर । धन्दा नमान्नुस् । एकैछिन गम खाएर परिणाम हात पार्नुस् र आफूभित्र बलेको भ्रमको बत्ती झ्याप्पै निभाउनुस् ।

हो, मसँग जित र हार दुवै पाटा भएको सिक्का छ । जिततिर पल्टे निर्विरोध विजेता हुन्छु । हारतिर उल्टे नियतिसँग सिकेर र सम्झौता गरेर बल आफ्नै कोर्टमा पार्छु ।

अब म विगतदेखि आगतसम्मको मेरो जीवनखेल रिठ्ठो नबिराई हुबहु प्रस्तुत गर्न चाहन्छु ।

म महोत्तरी जिल्लाको लक्ष्मीनियामा चालिसको दशकमा जन्मेकी हुँ । लक्ष्मीनियाकी उपज र परिवारकी जेठी सन्तान भएकीले ठूलो मन बनाएर लक्ष्मी नामाङ्कन गरिएछ । म लक्ष्मी नामले नै पुकारिन थालेँ । यद्यपि मैले लक्ष्मीहीन समयसँग जुधेर बाल्यकाल बिताउनुपऱ्यो । दु:ख भोग्नु परेन । सुख लुकाउन पाइनँ ।

लक्ष्मी रिजाल

झट्ट सुन्दा सुखको अनुभूति हुन्छ तर व्यवहार भने कहालीलाग्दो नै छ । अझै लक्ष्मीनियामा हाम्रो तीन बिघाभन्दा बढ्ता जग्गा छ रे । त्यसको संरक्षणमा हाम्रा अभिभावकले चासो राख्नुभएको छैन । हामी पुर्खौली सम्पत्ति स्याहार्न अलमलिएर विपत्तिको जाँतामा पिसिन बाध्य भएका हौँ भन्ने प्रस्ट छ ।

अहिले हामीले कुरा उठाउँदा बाबाको बोली सुनिन्छ- “हामीजस्तै परिवारले गाँस र वास बनाएको छ । तिनको जरै किलो उखलेर के हडप्नू ? उत्तिखेर त छाडियो । अब खाऊन् । निमुखाको कल्याण हओस् ।”

उत्तिखेर बाबा सोलुखुम्बुको स्कुलमा पढाउनुहुन्थ्यो । पञ्चायतको त्यस भयानक कालखण्डमा उहाँ कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको रहेछ । त्यसैले उहाँको जागिर खोसिएछ । साथीहरूलाई पक्राउ गरेर जेल कोच्न थालेपछि उहाँ पूर्णकालीन राजनीतिक कार्यकर्ता बन्नुभएछ । उहाँ भूमिगत भएर राजनीतिक गतिविधिमा सामेल हुनुहुन्थ्यो । हामी बाबाको भरपर्दो भरोसाबाट पूर्णतया वञ्चित भयौँ । हाम्रो पारिवारिक जीवन दु:खको घरमा घुस्रन बाध्य भयो ।

पञ्चायती राज्यआतङ्कको त्रास, चोरीको बिगबिगी, भरोसा दिने आफन्तको कमी आदि कारणले मामू चल सम्पति लिएर र अचल त्यही छाडेर खोटाङको उकालो चढ्नुभयो । त्यस बेलासम्ममा मेरा एक भाइ र एक बहिनी भइसकेका थिए ।

खोटाङको ज्यामिरेमा मामाघरमा बस्न थालियो । पढ्ने वातावरण भएर पनि ढङ्ग पुऱ्याएर पढिएनछ । मामाघरको लाडप्यारमा अलमलिइयो । माध्यमस्तरकै पढाइलेखाइमा लड्दै र पछारिँदै स्नातकसम्म त पढियो तर सही उपयोग गर्न नजानेर र नपाएर दुःखको घर बनाइयो । अहिले त्यसै घरमा आफ्ना तीन सन्तानका साथ अपुरो सपना पूरा गर्ने ध्याउन्नमा लागेकी छु ।

+++

नमान्दा नमान्दै पारिवारिक दबाबमा बिहे गरेर गाउँ पठाइयो । मधेसमा जन्मी-हुर्की गरेकी र मावलीको लाडप्यारमा बढेपढेकी भएकीले मैले कुनै कामधाम जानेकी थिइनँ । ठूली भएपछि पनि मामूले हामी कसैलाई काम गर्न दिनुभएन ।

“पछि कति दु:ख भोग्नुपर्ने होला । अहिले म छँदाछँदै दुःख गराउँदिनँ । मेरा आँखाबाट ओझेल भएपछि यिनले पाएको दु:खका लागि मलाई पाप नलागोस् ।” मामूको कथन हर्दम यही र यस्तै हुन्थ्यो ।

बिहेपछिको घरमा दाउराघाँस,  मेलापात र भातभान्सा गर्नुपऱ्यो । पहिले कहिल्यै नगरेको र नसिकेको हुनाले बडो कष्टदायी अनुभूत भयो । छरछिमेकीले पढेका मान्छेकी पढेकी श्रीमतीको गाउँमा काम छैन भने डेरा आँखाले हेरेको पनि सहनुपऱ्यो ।

पति नामका मान्छे एकलकाँटे थिए । उनी पढाउने जागिर खान्थे । साहित्य लेखेको भन्थे । एकोहोरो लेखपढमै धसिन्थे । उनलाई बाहिरी जगत्‌सँग मतलब नै थिएन ।

छोरी जन्मिई । एक्लै दुःख उठाउनुपऱ्यो । रातभर जागै बस्नुपर्थ्यो । अस्पतालमा एक्लै रुँग्नुपर्थ्यो । त्यसलाई निमोनिया भएछ । केही भयो कि रातारात अस्पताल दौडनुपर्थ्यो । उनी भने डिस्टर्ब नगर भनी हकार्थे र एक्लै अस्पताल जान भन्थे ।

मधेसको अर्काको ठाउँ । त्यसमा पनि मधेस आन्दोलनको ताजा धङ्धङी । म पहाड नबुझ्ने तराईमै खुट्टा टेकेकी अवला नारी । मियो बनेर सुरक्षा र संरक्षण दिनुपर्ने स्थानमा आफ्नै लोकमा मख्ख र मस्त पतिदेव । अब म गृहस्थ जीवनबाट बेखबर नारीले अरू के नै गर्न सक्थेँ र ! मात्र आँसु पिउँदै छोरीलाई हुर्काउनु र उसैका माध्यमबाट आफ्नो अतृप्त इच्छा पूरा गराउने सपना बुन्नुबाहेक !

छोरीलाई जसोतसो पाँच वर्ष टेकाएपछि भने चयनको श्वास फेर्ने दिन आए । पतिको बानी पनि व्यावहारिक जीवनतिर ढल्केको थियो । ममा पनि गृहस्थ जीवनको परिपक्वता विकसित हुँदै गएको थियो । जीवन सरल रेखामा नदीझैँ सलल बगिरहेको थियो ।

छोरी स्कुल पढ्न जान थाली । मेरा सम्पूर्ण अधुरा सपनाहरू जागृत हुँदै गए । उमेर बढ्दै गयो । व्यवहारमा निखरता आउँदै गयो । मेरो पढाइलेखाको स्तर वृद्धि हुँदै गयो । यसबाट विकसित ज्ञानविज्ञानले मेरो सोचको दायरा अझ फराकिलो बन्दै थियो ।

लहान र गाईघाटका साथीहरूको सङ्गतमा परेर २००८ मा एक हप्ते ओशो मौन ध्यान शिविरमा संलग्न हुने अवसर मिल्यो । सुरुआतमा त जीवनकै सर्वाधिक दुर्भाग्यको क्षण अनुभूत भयो । मानिसहरूको भीडमा समेत एकापसमा आत्मीयता नसाटी झोक्राएर रहनु भनेको कम्ता बिरसिलो थिएन । कोलाहलमा अझ जथाभावी प्यारप्यार बोलिहिँड्ने बानीमा एक्कासी लगाम लागेपछि कसलाई पिरलो थपिन्नथ्यो र ! पलायनतिरको बाटामा लाग्दा पनि पाका सहभागीहरू आनन्दको सागरमा डुबुल्की लगाएझैँ मख्ख र मस्त रहेको ठम्याउँदा मेरो सोचमा विद्युतीय झट्का दिन थाल्यो ।

अक्रिय ध्यानमा प्रवेश गरेर निर्विचार मनोदशामा पाइला टेक्न लाग्दाको क्षणको रोमाञ्चक प्राकृतिक लीलाको वर्णन गर्न मसँग शब्द छैनन् । थरी-थरीको चराहरूको चिरबिराहट, नदीको एकोहोरो कलकल सुसाई, मन्द-मन्द चलेको शीतल हावा, फूलको मनै लोभ्याउने सुवास । यी सबैको अनुभव गर्दै आत्मिक सुखानुभूतिमा प्रवेश गर्दाको असीम क्षण । आहा ! कस्तो सौभाग्यशाली मानव चोला !

त्यस घडीदेखि मलाई संसार बेग्लै अनुभूत भयो । ममा ध्यानको नशा चढ्यो । आफूभित्रकै आनन्द लुट्ने मन भयो । मेरो मनको सम्पूर्ण विरक्ति एकाएक कुलेलम ठोक्यो । जमेको पानी फालेर इनार सफा गरेपछि मूल रसाएर कञ्चन पानी आएझैँ मेरो जीवनमा पनि सोचाइमा निक्खरता आयो । पुराना घैलामैला सारा हटेर गए । जीवनले पाएको हरेक क्षण अमृत बन्न पुग्यो । त्यसपछि बल्ल मानव चोलाको सौभाग्य अनुभूत हुँदै गयो ।

म जीवनका कराल पाखापखेराहरू तोड्न र फोड्न समर्थवान् हुँदै गएँ । जस्तै दुःख आए पनि पचाउन र सुखलाई जोगाउन सक्ने भएँ । कुराले हैन कामले जीवनमा रङ्ग भर्न सिकेँ । त्यसपछि आजपर्यन्त ध्यान मेरो अभिन्न मित्र बनेको छ । सुखदुःखको साथी मात्रै हैन रोग, भोक र शोक निवारणको एक मात्र अचुक ओखती बनेको छ ।

+++

समय वित्दै जाँदा २०७० मा कान्छी छोरी जन्मिई । मेरो सुत्केरी स्याहारसुसारमा कुनै कमी भएन । मलाई मामू स्वयंले सेवा दिने र दिलाउने काम गर्नुभएको थियो । पति पनि निजी जागिरबाट सरकारी जागिरे भए । म पनि सरकारी जागिरेकी पत्नी कहलाएँ । आफूले नपाए पनि सरकारी तलबको एक हिस्सा उपयोग गर्ने वर्गमा उभिन पुगेँ ।

जीवनमा खुसी नै थिएँ । ध्यानमार्गबाट खुसी खोज्न अभ्यस्त भएकीले मैले उत्ति सारो झन्झटको सामना गर्नै परेको थिएन । समय एकनासले किन हिँड्थ्यो । समयले नै मेरो परीक्षा लिन थाल्यो । म समयकी दासी भएँ ।

सासूआमा बिरामी हुनुभयो । स्याहारसुसारमा जोतिनुपऱ्यो । अर्को विकल्प पनि थिएन । बाबासँगै बसेर पढेका नानीहरूको पढाइ बिथोलिन गयो । ठूली छोरीलाई मामाघरको स्कुलमा हालेर म सानी छोरी टिपेर घरमा सासूससुरालाई रेखदेख गर्न खटिएँ । हाम्रो चार जनाको परिवार तीनतिर बाँडियो । व्यवहार नमिल्दा नमिल्दै मिलाइएको थियो ।

दुर्भाग्यको खेलले जीवनको कोक्रो जता हल्लायो उत्तै हल्लनुपर्दो रहेछ । हट्टाकट्टा पति एक्कासि अपाङ्ग भए । अनेक प्रयत्नका बाबजुद हिँडडुल र बोलचाल गर्न सक्ने भए तर अधकल्चो जीवन के जीवन ? भन्ने सोच पनि आयो । बिरामी सासूआमा हामीलाई टुहुराटुहुरी पारेर २०७७ असोज ८ गते शुक्लपक्ष सप्तमी तिथिका दिन परमधाम हुनुभयो । दुःख थपिँदो थियो ।

अपाहिज जीवन जिउन बाध्य भएकाहरूले संसारलाई नै धन्य बनाएका अनेकौँ घटना हाम्रै वरपर छन् । अतः मैले मन दुखाउन र चिन्ता लिन छाडेँ । पहिलेका पतिमा दम्भ थियो । एकलकाँटे व्यवहार थियो । त्यही शरीरमा कैफियत निस्केपछि हाम्रो भरमा छन् । अझै पनि उनी दयाको भोका छैनन् । सम्मानजनक हैसियत चाहन्छन् ।

भन्न त छरछिमेकी भन्छन्- “अपाङ्ग पति र ससाना तीन भुराभुरीलाई साथमा बोकेर लक्ष्मी अहिलेसम्म त जीवन घिसारिरहेकी छे । कालान्तरमा कसका सामु हात पसार्नुपर्ने हो बिचरीलाई के थाहा ? जेजस्तो भए पति जीवित भएकोमा ऐश्वर्य पाएझैँ प्रफुल्ल छे । अपाङ्ग पोइकी जोई भनेको सुने कस्तो अनुभव गर्थी होला !”

प्रत्यक्षपरोक्ष मैले सुनेका समाजका यी र यस्तै अनर्गल कुरालाई मैले कहिल्यै महत्त्व दिइनँ । जे भए पनि मलाई प्रफुल्लता दिलाउने कुरा मभित्रै छ । मैले परिवार सारसौँदो पाएर पृथ्वीकै अथाह आनन्द लुटिरहेकी छु ।

म आजकी पुजारी हुँ । आज मेरो हातमा छ । यो सप्रिय भविष्य स्वतः सप्रन्छ । भोलिको चिन्ता गरेर आजै जल्न, गल्न र सास फेरेर पनि जिउँदो लास बन्न मलाई मेरा परम श्रद्धेय गुरु ओशोले सिकाउनुभएको छैन ।

मलाई कर्मले संसार रिझाउने संस्कार मातापिताश्री भूमिका-गोपालले सिकाउनुभएको छ । होसियार बनेर नरमपन्थी बाटो अपनाउँदै कर्तव्यको रथ हाँके जीवनमा कहिले ठेस नलाग्ने सल्लाह सासूससुरा भगवतीविष्णुले दिनुभएको छ । हरेस खाएर हैन पचाएर समाजमा टिक्न सकिने मन्त्र पतिश्रीले घोकाएका छन् । भन्नेको मुख थुन्न जानुभन्दा सुन्नेको सोच बदल्न कोसिस गरे समाज सचेत हुन्छ भन्ने ज्ञान समाजले नै दिएको छ ।

आफूलाई पऱ्यो भनेर मात्रै होइन आज आएर मलाई सत्यबोध हुन गएको छ । त्यो के भने अपाङ्ग बन्नु नियतीको खेल हो । कोही चाहेर वा नचाहेर अपाङ्ग बन्ने होइन । यसलाई दुर्भाग्य सम्झी सराप्नुको कुनै अर्थ हुन्न । बरु अपाङ्गताको प्रकृतिअनुसार मलाई प्रकृतिले नै यो काम गर्न र गराउन निर्देशित गरेको रहेछ भनी उत्साहित भएमै जितले पाउमै साष्टाङ्ग दण्डवत् गर्दछ । अपाङ्ग दयाको भिक्षा चाहँदैनन्; सम्मानजनक अवसर चाहन्छन् । उनीहरू लिनभन्दा दिनमा बढी खुसी हुन्छन् । लिने धेरै भए उत्ति नै धेरै तत्पर भएर समाजलाई योगदान दिन चाहन्छन् । तसर्थ अपाङ्गता भएका व्यक्तिसँग सम्मानजनक व्यवहार नगरे नगर्नुस् तर तिनको अपाङ्गतालाई खिसिटिउरी गरेर अमानव बन्ने घृष्टता नदेखाउनुस् ।