कविडाँडा साहित्य समाज चितवनले निबन्ध प्रतियोगिताका लागि निबन्ध आह्वान गऱ्यो । अन्तर्मनको कायाकैरन लेखेँ । स्मरणीय रहोस् पुरस्कार पाउन भने लेखेको होइन । केही पाउन र कमाउनका लागि म लेख्दिनँ । सायद सबै लेखकको प्राप्ति पनि यही हुनुपर्छ । संसारमा पाउनुको नाममा केही छ भने योभन्दा ठुलो सम्पत्ति केही छैन होला । परिवार र समाजमा लेख्नुको कथा यस्तो हुन्छ: म रोगी हुँ । मलाई डिप्रेसन छ । म पागल हुँ । म फुस्किएको छु । तीन हजार शब्दसीमा भएकाले फ्रिजोनका सबै विषय अन्तर्मनको कायाकैरनमा अटेन । टुङ्ग्याको निबन्धको कथा यसरी सुरु हुन्छ – हामी जबलअली फ्रिजोनको लास्ट क्याम्पमा बस्थ्यौँ ।

क्याम्पभित्र लेबरहरू बस्ने लामा-लामा सेडहरू थिए । रुमहरू ठुला-ठुला थिए । एउटा रुममा सोह्र जना अट्ने क्षमता हुन्थ्यो । पलङहरू दुई तले हुन्थे । आठ दुना सोह्र पलङ प्रत्येक रुममा थिए । तलको पलङबाट माथिको पलङमा चढ्नका लागि सिँढी हुन्थ्यो । जसरी मजदुरहरू बस्नका लागि लहरै सेडहरू थिए, त्यसरी नै नजिकैको दूरीमा वासरुमहरू लहरै थिए । उम्लेको हावामा धारामा पानी पनि उम्लेको नै आउँथ्यो । आवास, फ्याक्ट्री, रेस्टुरेन्ट, वासरुम सबै अग्लो तारको जालीले घेरिएको हुन्थ्यो । लाग्छ यो तातो पानीको सहर हो । यो तातो माटाको सहर हो । यो तातो हावाको सहर हो । यो कारागारको सहर हो । किनभने यो ठाउँको पानी तातो हुन्छ । बालुवा तातो हुन्छ । हावा तातो हुन्छ । कम्पाउन्डको बार कसैले फड्किन सक्दैनथ्यो । रुममा एयरकन्डिसन जडान गरिएको थियो । बाहिरबाट भित्र पस्दा यस्तो लाग्थ्यो किचनबाट फ्रिजमा प्रवेश गरिरहेको छु । जे जति थियो सुत्नका लागि सफा र आरामदायी थियो । कामको बारेमा पनि केही लेख्नेछु । जहाँ हामीले पहिलो दिन खाना खायौँ, शेषमहल रेस्टुरेन्ट, त्यसको लगातार अरू रेस्टुरेन्टहरू थिए । सागर रेस्टुरेन्ट, पार्को रेस्टुरेन्ट, साहारा रेस्टुरेन्ट र क्रमशः अरू ।

शम्भु अर्याल

जुनसुकै ठाउँमा पनि नियम कानुन शक्तिसम्पन्नहरूको खल्तीमा हुने गर्छ । नियम यस्तो मूर्त आकृति हो जसले निम्छरालाई मात्र घेराबन्दी गर्छ । थिच्छ, मिच्छ र मौन बनाउँछ निम्छरालाई नै । यो मान्छेको टाउकाको अन्तिम सत्य हो । जबलअली फ्रिजोनभित्र रुममा खाना बनाउने अनुमति छैन । सायद मजदुरहरूलाई फ्रिजोनले दिएको सुविधा हुनुपर्छ । कम्पनीले रेस्टुरेन्टमा मासिक खानाका लागि फुड एलाउन्स दिनुपर्छ । केही सुविधासम्पन्न कम्पनीहरूले यो सुविधा पनि दिन्थे । सुविधा नपाउनेहरू खाटमुनी हिटर राखेर खाना पकाउँथे । नियम विपरीत । बलदियालाई अरबी भाषामा नगरपालिका भनिँदो रहेछ । समय-समयमा बलदिया रुम अनुगमन गर्न आइ नै रहन्थ्यो । रुममा खाना बनाएको देखे हिटर र रासन सबै बोकेर लैजान्थ्यो । एकपटक बनाएको खाजा त्यही हुन्थ्यो । खाना त्यही । बेलुका बनाएको खाना बिहान नास्ता, दिउसो त्यही लन्च हुन्थ्यो । कम्पनीमा एउटा एसी रुम थियो । एसी बिग्रेको दिन दाल सडेर गुजगुजती फिँज निस्कन्थ्यो । परिश्रमले जब पसिना छुट्छ, अनि मात्र थाहा हुन्छ पसिनाको स्वाद नुनिलो हुन्छ । परिश्रमले जब भोक लाग्छ सडेको दाल पनि बसाउँछ । नाक त केवल गन्धको माध्यम हो । भोकले भोजनको अभावमा जिब्रो कमजोर हुँदा अमिलिएको दाललाई कस्तो स्वाद लिन्थ्यो खै ? मैले त्यति बेला नै जानेको हो जब दाल बिग्रिन्छ, दालमा गाज निस्कन्छ । स्वाद आमिलो हुन्छ ।

भर्खर अठार वर्ष प्रवेश गरिरहेको उमेर थियो । पहिलो दिनको ड्युटी थियो, बोराभित्र रहेको पाइपका सकेटहरू गाडीमा लोड गर्ने दिन । हिमलाल र म दिनभर सकेटको बोरा लोड गर्दा-गर्दा थकित बन्थ्यौँ । हिमलाल सेक्युरिटी डिपार्टमेन्टमा परेछन् । उनको काम गेटको हिसाबकिताब राख्नुपरेछ । हाम्रो फोरम्यान फूलचन्द थिए । कार्टुनको व्याङ्ग्यचित्रमा जस्तो पेट बाहिर उछिट्टिएको । कालो कद र होचो सरिर । यदि भर्न मिल्ने भए उनको शरीरमा एक मुरी चामल अट्दो हो । हामी सकेटका बोराहरू लोड गर्दागर्दै उनी बेस्सरी चर्किए र भने, “भ्यान्चो…. ! जल्दी-जल्दी लोड करो !”

हिन्दी राम्रोसँग बुझ्दैनथेँ तर यति बुझ्थेँ यो गालीको भाषा हो । त्यसमा पनि नराम्रो गाली हो । आँखाभरि आँसु भरिन्थ्यो तर यस्तरी दबाउथेँ । सोच्थेँ अब म बालक होइन । अब म विद्यार्थी होइन । मेरो जीवनमा पढ्नु दुःसाहस हो । ममाथि कामको जिम्मेवारी छ । रोएर न आमाको काख पाइन्छ न त मातृभूमीको ममत्व । दयाको पात्र बन्न म चाहिनँ । एउटा टाइ र चस्मा लगाएको मानिस हामीले काम गरिरहेको ठाउँ मुलगेटको वरिपरि घुमेर कम्पनीभित्र प्रवेश गरे । पछि थाहा पाएँ उनी हाम्रो मालिक रहेछन् । उनको नाम रमेश अन्सारी हो । उनको घर हैद्रावाद हो । उनका दुई छोरा छन् । जेठो छोराको नाम राजेस अन्सारी हो । हैद्रावादमा पनि उनको ठुलो पाइप कम्पनी छ । फूलचन्द उनको सबैभन्दा विश्वसनीय स्टाफ हुन् । फूलचन्द अँगुठा छाप मान्छे हुन् । काम सबै जान्दछन् । इलेक्ट्रिकल, मेकानिकल, प्लम्बिङ, त्यस्ता रोलरफोलर, बेरिङको त कुरै छोड्दिम । सबै मेसिन उनले नै फोन्डेसन गरेका हुन् । मेसिन बिग्रनुको सिमानाभित्र भङ्गारसमेत उनी मेसिन बनाइदिन्छन् । म्यानेजर, इन्जिनियर, एकाउन्टेन्ट, चार्टर एकाउन्टेन्ट, सेल्सम्यान, पिआरओ त सबै देखाउन राखेका हुन् । फूलचन्द कम्पनीका पथप्रदर्शक हुन । रमेश अन्सारीको आदेश निवेदन हुन्छ । फूलचन्दको आक्रोश दुरुस्त लागु हुन्छ । मालिक रमेश अन्सारी हुन् तर आदेश फूलचन्दको चल्छ । मलाई थाहा थिएन । गाली यसरी जन्मिन्छ । कहिलेकाहीँ पारा चढे उनी रमेश अन्सारीलाई पनि यसो भन्दछन्, “मादरचो… ! अपना काम करो !”

रमेश अन्सारी उनका सबै कुरा सुन्छन् । यति बोलेपछि उनी लुरुलुरु अगाडि बढ्छन् । अरू कामदारका अगाडि बाघजस्ता रमेश अन्सारीको दवाई फूलचन्दको मादरचोद ! रहेछ । धन्य प्रकृति ! ब्रह्माण्ड परिचालनका लागि तिमीले मान्छेमा धन्न यति गुण दिएकी छौ । मान्छे कसै न कसैका अगाडि नतमस्तक हुनैपर्छ । मालिक पनि कामदारसँग डराउने गरीबमा पनि तिमीले यति तागत भरेकी रहिछौ । धन्य भूतल ! धन्य मरुभूमी ! धन्य जननी !

केही दिन हिमलाल र मलाई सकेट लोड गर्ने काम दिइयो । बिहान छ बजेदेखि बेलुका छ बजेसम्म । अलार्म बज्दा गेट छिर्नुपर्थ्यो । दिउसो एक बजे अलार्म बज्थ्यो आधा घण्टा लन्च ब्रेक हुन्थ्यो । फेरि साढे एक बजे अलार्म बज्थ्यो । खाना खाएर सकिन्थ्यो त्यसपछि छ बजे अलार्म बज्थ्यो । छुट्टी हुन्थ्यो । काम भएकाहरू त्यसपछि पनि ओभरटाइम गर्थे ।

इमरेट्स स्टिल पाइप कम्पनीमा आठवटा मेसिनहरू थिए । जहाँ हाफ इन्चदेखि छ इन्चसम्मका पाइपहरू बन्थे । स्लेटिङ फलामको क्वाइललाई आवश्यक आकारमा काट्नु हो । यसरी काटिएको पातालाई रोलरमा चढाएर आकार दिनु ब्यान्डिङ हो । पाइपको लम्बाइ पुगेपछि काट्नु कटिङ हो । काटिएको पाइप कन्भेयरले फालेपछि पाइपमा चुँडी काट्नु थ्रेडिङ हो । पाइपलाई मुठा-मुठा बनाउनु बन्डलिङ्ग हो । बन्डलिङ्ग गरिएको पाइपलाई एसिडको ट्याङ्कीमा डुबाउनु उपचार हो । फलाममा खिया यस्तो बिरामी हो जस्तो मान्छेका लागि हुन्छ क्यान्सर ! पाइप निर्जीव वस्तु हो । खिया पनि निर्जीव नै हुन्छ तर आक्रमण गर्छ । कति गाह्रो छ राख्न अस्तित्व ? कति गाह्रो छ धान्न प्राण ! कति गाह्रो होला जन्मिने र मर्नेहरूलाई ? अझ कति गाह्रो होला मान्छे हुन ? एसिडमा डुबाएपछि फलाममा लागेको खिया सफा हुन्छ । अब पइप यस्तो हुन्छ स्टेनलेसस्टिलजस्तो । जस्तो स्टेनलेसस्टिलमा खिया लाग्दैन । सफा मन भएको मान्छेजस्तै हुन्छ । कपट मान्छेको मनको खिया हो । जसलाई पखालेर पखालिन्न । गालेर गालिन्न । फर्निसमार्फत बर्नरले ठुलो ट्याङ्कीमा आगो लगाएपछि ट्याङ्की तात्छ । ट्याङ्कीमा जिङ्का ढिकाहरू हालेपछि ढिका बिस्तारै पग्लिन्छ । पग्लिएको जिङ्कमा क्रेनले पाइप डुबाएर निकालेपछि अब त्यो ग्याल्भनाइज पाइप हो । तयार पाइपलाई हावाको प्रेसरले लिक भएको-नभएको जाँचेर फोरक्लिपले बाहिर प्राङ्गणमा निकालेर लरीमा लोड गरेपछि पाइप बिक्री भयो । इमरेट्स स्टिल पाइपमा यो प्रक्रिया चौबिस घण्टा चलिरहन्छ । जबलअली फ्रिजोनको यो नियम हो । दिनमा काम गर्नेहरू राति सुत्छन् । रातमा काम गर्नेहरू दिनमा सुत्छन् । कम्पनी चलिरहन्छ ।

जहाँ काम गरे पनि काम फलामको थियो । यस्तो लागिरहन्थ्यो, हाम्रो काम वजन उठाउनु हो । मजदुरको काम फलामसँग लड्नु हो । मजदुर निर्जीव वस्तुको सञ्चालक हो । सबै भारी मजदुरले उठाउनुपर्छ । नउठाए नेपालजस्तो हुन्छ । स्रोत छ, आम्दानी छैन । साधन छ, परिचालन छैन । केही दिन हामी कहिले लोड अनलोडको काम गऱ्यौँ । कहिलेकाहीँ हामीलाई झाडु लगाउने काम दिइयो । सुरुवातको चरणमा जोखिमपूर्ण काम नजानेर दुर्घटना हुन सक्छ भनेर नयाँ आउनेहरूका लागि प्राविधिक शिक्षा रहेछ कम्पनीमा त्यो काम । कहिल्यै दुःख नगरेको । पृथ्वीनारायण क्याम्पस पढ्दापढ्दै तितरबितर भएको विद्यार्थी थिएँ म । मलाई काम त गर्नु नै थियो । न त म इच्छाले घर जान सक्थेँ । मेरो समयावधि तीन वर्ष थियो । सबैभन्दा विचलित यो कुरामा थिएँ कि तीन वर्ष म घर जान पाउँदिनँ । चिठी लेखेँ । सम्बोधन छोडेर चिठीको बेहोरा यस्तो थियो । परिवारले बुझे कि बुझेनन् :

बाबा ! पर्खालबाहिर परेको छु । रूखबाट एउटा पात खसेको छ । अर्को पनि खसेको छ । काम दुःख छैन । तलब राम्रो छ । रुममा एयरकन्डिसन छ । यहाँ हाम्रो घरगाउँमा जस्तो वनजङ्गल हुँदैन । खजुरको रूखमुनि छहारी बस्नुपर्छ । तलब पाएपछि हुन्डी गरिदिन्छु । भाइबहिनीको पढाइमा कमी हुन नदिनुहोला । हजुरआमाको स्वास्थ कस्तो छ ? आमा हजुरलाई भारीले कहिल्यै नछोड्ने किन होला ? त्यतिविधि दुःख नगर्नुहोला ।

अब हामीले लोड अफलोड र झाडु लगाउने काम जनिसकेछौँ । फूलचन्दले हामीलाई कम्पनीभित्र लिएर आए । त्यहाँ पुराना मेसिनहरू थिए । जसलाई बर्नरले जलाएर पुरानो पेन्ट डढाएर नयाँ पोलिस लगाउनु रहेछ । उनी आफैँले बर्नर जलाए । पेन्टिङ डढाए र हामीलाई कार्बन सफा गर्न लगाए । बिच-बिचमा चिया मगाउँथे । घरिघरि भन्थे –

“भैन्चो… ! खाली काममे लगे रहोगे तो मर जावोगे ये गरममे ! आराम भि करो !”

माथि भनेजस्तो उनी कठोर मान्छे होइन रहेछन् । उनको नराम्रो वचन त थेगो रहेछ । वास्तवमा उनी शारीरिक श्रम बुझेका परिश्रममा विश्वास गर्ने मान्छे रहेछन् । हामीभन्दा उनी काममा खटेर हामीलाई आराम गर्न भन्थे । अझै तिमीहरू बच्चै छौ । गह्रुङ्गो काम गर्न सक्दैनौ भन्थे । अहिले मैले उनलाई लेखिरहेको छु । उनी यो दुनियाँमा छन् कि छैनन् मलाई थाहा छैन । यस्तै त हो मान्छेको मन, सँगै हुँदा मान्छेले मान्छेको क्षमतालाई पहिचान गर्न सक्दैन । अरूको अस्तित्वलाई स्वीकार गर्न सक्दैन । मान्छे सोच्छ; मै ठुलो, मै जानेको, मै सम्पन्न, मैले नै पाउनुपर्छ, मैले मात्र गरेको तर जब मान्छे छुट्टिन्छ, धेरै कुराहरू छुटिसकेका हुन्छन् । सम्झनुपर्ने बेलामा मान्छे बिर्सन्छ । अब मैले उनलाई सम्झेर कुनै अर्थ छैन । फूलचन्द मसिनको आधाआधी उप्केको टाटेपाङ्ग्रे रङ्गलाई जलाएर खरानी पार्थे । हिमलाल इमरी पेपरले मेसिनलाई रगडेर चिल्लो बनाउँथ्यो । मैले टालाले पुछेर स्निग्ध बनाउँथेँ । अब सबै मेसिनहरू पेन्टिङका लागि तयार छन् ।

आजको हाम्रो डिउटी पेन्टिङ हो । फूलचन्दले पेन्टको डब्बा लिएर आए र हामीलाई पेन्ट गर्न लगाए । हिमलाल र मैले पेन्ट गर्न सुरु गऱ्यौँ । पेन्टिङ गरिरहेको थिएँ । एक जना दुब्लो शरीर । गोरो वर्ण र आम मान्छेभन्दा अग्लो शरीर भएको मान्छे उभियो र सोध्यो :

उनले भने, “बच्चा तुम्हारा उमर कित्ना हे ?”

मैले भने, “अठार साल ।”

उनले भने, “तुम्हारा नाम क्या हे?”

मैले भनेँ, “शम्भु अर्याल ।“

उनले भने, “इस उमेरमा क्योँ नही पढा ?”

मैले भनेँ, “कलेज जा रहाथा सर । पासपोर्ट बनायाथा । अङ्कल ने भिजा भेजदिया ।”

अब उनी यसरी बोले, “What is your qualification ?”

मैले भने, “I’m SLC please .”

हिन्दी र अङ्ग्रेजी शुद्ध बोलेँ कि टुटेफुटेको बोलेँ मलाई थाहा भएन तर जानेको बोलेँ ।

उनले फेरि भने, “इलेक्ट्रिकल डिपार्टमेन्ट मेँ काम करोगे ?”

मैले भनेँ- “सरी सर ! मै बिजली से बहुत डरता हुँ । फिर बिजलीका काम कुछ भि नहिँ जानता हुँ ।”

उनले भने, “किताब मै इन्डिया से मगादेता हुँ । अध्ययन करो । काम मै सिखाता हुँ मेहनत करो । उमर हे सिखोगे तो काम मे आएगा । नहिँ तो पुरी जीवन लेबर बनोगे ।”

मैले भनेँ, “ठिक है सर ।”

उनले भने, “फूलचन्द मै ये बच्चेको मेरा डिपार्टमेन्टमे लेके जा रहा हुँ । बच्चा हे । कुछ तो सिखेगा !”

फूलचन्दले भने, “ठिक हे सहाब ।”

उनी अघि-अघि म पछि-पछि । करिब आधा किलोमिटर हिँडेपछि । एउटा कोठाभित्र प्रवेश गरे । कोठाभित्र एक जना त्यस्तै पचास वर्षको उमेरजस्तो देखिने मान्छेले मोटरको सबै पार्ट्सहरू फुकालेर मोटरको भित्री स्लटमा मसिनो तारहरू कोचिरहेको थियो । अर्को एक जना मभन्दा एक-दुई वर्ष बढीजस्तो देखिने उमेरको ठिटो थियो । त्यो ठिटालाई इङ्गित गर्दै उनले भने:

“श्रीनिवास ये लड्का नेपाल से हे । ये तुम्हारा हेल्पर काम करेगा । एक सालके अन्दर जित्ना काम तुम जानते हो उत्ना ये जानना चाहिए । ये तुम्हारी जिम्मेवारी हे ।”

पछि जानेँ । मलाई लिएर आउने व्याक्तिको नाम जयचन्द यादव हो । उनी इमरेट्स स्टिल पाइप कम्पनीका इलेक्ट्रिकल इन्जिनियर हुन् । मोटरको स्लटमा मसिना तार कोच्ने व्याक्तिको नाम भरतद्वाज हो । भरतद्वाज मोटर वाइन्डिङको काम गर्दछन् । उनले बाँधेको मोटर पङ्खादेखि ड्रम जति ठुलो मोटर नै किन नहोस् असफल हुँदैन । मलाई काम सिकाउन जिम्मेवारी दिएको व्याक्तिको पूरा नाम कुमारी श्रीनिवास हो । कुमारी श्रीनिवास र भरतद्वाज लेख्न जान्दैनन् । भरतद्वाज युपी प्रदेशका बासिन्दा हुन्, हिन्दी बोल्छन् । अरू भाषा बोल्न जान्दैनन् । कुमारी श्रीनिवास तेल्गु र हिन्दी भाषा बोल्छन् । हिन्दी लेख्न जान्दैनन् । आन्द्र प्रदेशका बासिन्दा हुन् । काममा यति निपुण छन् कि इलेक्ट्रिकल इन्जिनियर पनि कारखानामा इलेक्ट्रिकलको जतिसुकै जटिल समस्या परे पनि उनीसँग सोध्छन् ।

कम्पनी मेसिन नै मेसिनको चालक थियो । यहाँ मान्छेभन्दा बढी मेसिन दौडिन्थ्यो । कम्पनीका मालिकको यस्तो हुटहुटी थियो कि मेसिन बन्द भयो भने कम्पनी नै समाप्त भयो जसरी मान्छेको मुटु धड्किन छोडे मान्छे सकियो । मुटुको धड्कनभन्दा बढी प्रेम थियो मालिकको मेसिनसँग । मेसिन दुई प्रविधिले बन्छ । एक- इलेक्ट्रिकल, दुई- मेकानिकल । लाग्छ इलेक्ट्रिकल र मेकानिकल डिपार्टमेन्ट मेसिन चलाउने संयन्त्र हुन् । सबै मेसिन चलिरहे रमेश अन्सारी अफिसबाट बाहिर निस्किँदैनन् । मेसिन बन्द भयो भने उनको पारा चढ्छ । यी दुई डिपार्टमेन्टले गाली त्यति बेला मात्र खान्छन् जब मेसिन बन्द हुन्छ । रमेश अन्सारी स्वयं आफू भन्थे, “म इलेक्ट्रिकल र मेकानिकल डिपार्टमेन्टले काम गरेको देख्न चाहन्न । यिनीहरूले काम गर्नु भनेको मेसिन बिग्रनु हो । यिनीहरूको काममा फाइदा छैन ।

नोक्सानको क्षेत्रमा कहाँ सबैले व्यापार गर्छन् ? यिनीहरू अनुत्पादक हुन् तर यिनीहरू नभई नहुने डिपार्टमेन्ट हुन् । नेपालका लेखकहरूजस्तै । काम गरेपछि राज्यलाई नोक्सान भइहाल्ने । त्यसैले होला क्लबले काम गरे पाँच-सात लाख नेपालमा राज्यको कुनै पनि निकायले दिन्छ । लेखक भनेपछि राज्यले सुन्न चाहँदैन बरु सुनाउन चाहन्छ । तलब दिने बेलामा पनि रमेश अन्सारी यो डिपार्टमरन्टलाई यति सुनाउँथे, “बाबा ! आपलोग काम तो कुछ नहिँ करते हो !”

इमानदार थिए । तलब दिन्थे प्रत्येक महिनाको पन्ध्र गते । कम्पनी किन बन्द भयो ? मैले जानिनँ । दश वर्षपछि फेरि चल्यो । कसरी चल्यो ? त्यो पनि जानिनँ । यति जानेँ । पढेका मान्छेलाई यो डिपार्टमेन्टमा ल्याउँदा तलब बढी दिनुपर्छ । तसर्थ एक जना पढेको मान्छेमार्फत अनपढहरू काम सिक्ने कारखाना पनि थियो इमरेट्स स्टिल पाइप । कमाउनुभन्दा सिक्नुको अवसर पनि हो इमरेट्स स्टिल पाइप! पछि लेख्नेछु यहाँ सिकेकाहरूको दर्जा ।

अब म इलेक्ट्रिकल डिपार्टमेन्टमा इलेक्ट्रिसियनको हेल्पर काम गरिरहेको छु । हेल्परको काम सघाउनु हो । स्क्रुड्राइभर, सलाइरेन्च, विभिन्न साइजको पानाहरू भएको टुलबक्स लिएर म श्रीनिवासको पछि-पछि हिँथेँ । कम्पनीमा आठवटा पाइप मिल थियो अरू मेसिन त कति-कति । हरेक मिलमा दुई हजार लिटरको पानीट्याङ्की थियो । प्लान्टभित्रका इलेक्ट्रिकल उपकरणहरू तातेर नष्ट हुनबाट जोगाउन ट्याङ्कीको पिँधबाट एउटा पाइप प्लान्टभित्र जान्थ्यो । प्लान्टभित्र उपकरणहरूमा घुमेर पाइप ट्याङ्कीको मुखमा आउँथे । सुरुका दिनमा मलाई श्रीनिवासले भने, “सबै ट्याङ्कीहरू बिहान ड्युटी आउनेबित्तिकै निरिक्षण गर्नू । घटेको पानीको तह बोकेर हाल्नू ।” पानी हाल्नका लागि पच्चीस लिटरको गेलेन थियो । एक दुई दिनमा वाष्फीकरण भएर ट्याङ्कीको सतह धेरै नै कम भैसक्थ्यो । मैले गेलेनमा पानी बोकेर ट्याङ्कीमा खन्याउँदै गर्थेँ । मिलको फोन्डेसन नै जमिनको सतहभन्दा दुई फुट माथि र ट्याङ्की मेसिनको फोन्डेसनभन्दा छ फुट माथि थियो । मैले गर्नुपर्ने काम योभन्दा पहिला एक जनाले तलबाट गेलेन पुग्न दिने र भऱ्याङमा अर्को मान्छे चढेर ट्याङ्कीमा खन्याउँथे । म मान्छे छ फुट तिन इन्चको मलाई कसैको सहारा चाहिँदैन थियो । कहिल्यै बानी नपरेको दिनचर्या निकै अप्ठ्यारो थियो । सुरुमा मैले पानी भर्न सिकेँ ।

म टुलबक्स लिएर श्रीनिवासको पछि-पछि घुमिरहन्थेँ । मेसिन बिग्रिइरहन्थ्यो । मैले श्रीनिवासलाई मर्मत गर्न औजारहरू पुग्न दिने, काम सकेपछि टुलबक्समा जम्मा गर्ने गर्थेँ । कम्पनीमा जेनरल म्यानेजर राघवान हुन् । उनी केरलाका बासिन्दा हुन् । मालिकको हप्कीले उनको अनुहारको कान्ति अँध्यारो रङ्गको भएको थियो ।‌ उनी कहिल्यै हाँस्दैनथे । लाग्थ्यो उज्यालो मालिकको भाग हो । अँध्यारो म्यानेजर राघवानको भाग हो । कतिपटक रमेश अन्सारीले गाली गरेको सुनेको छु राघवानलाई हिन्दीमा, “इधर अफिसमे बैठ-बैठके कुर्सी भि रगड गया जाओ फ्काट्रीमे झाडु लगाओ !”

उनको रिम-रिम अँध्यारो अनुहार अरू गाढा हुन्थ्यो । मनमा लाग्यो जागिर आखिर जागिर नै रहेछ । चाहे मजदुर होस् अथवा म्यानेजर । जा- आदेश, गिर-आफ्नो प्रतिष्ठाबाट पतन हो भन्ने परमादेश नै जागिर हो ।

इलेक्ट्रिकल डिपार्टमेन्टमा काम गरेको एक महिना भएको थियो । अब मैले मिल बिग्रेको समयमा प्लान्टभित्र पसेर ब्लोर लगाउने काम जानेको छु । अब मलाई थाहा भैसकेको छ । मेन स्विच कुन हो । कुन स्विचले कुन मेसिन बन्द हुन्छ ? कुन प्लान्टको स्विच कुन हो ? मेसिन बिग्रे म प्लान्टको स्विच अफ गर्थेँ र प्लान्टभित्र पस्थेँ ब्लोर लिएर । धुलो यति हुन्थ्यो । सुक्खा खडेरीको कच्ची सडकजस्तो । म सफा गर्दा धुलाम्य कपडासित मुखभरि बालुवाको किरी-किरीसँग परेड खेल्दै थिएँ ।

राघवान नजिकै आए र भने, “इधर तुम्हारा क्या काम हे ?”

मैले भने, “साप सफाइ करराहाहुँ ।”

उनले भने, “तुम्हारा काम इधर नहिँ हे ! मेरे साथ आवो !”

म उनको पछि-पछि गएँ । उनले मलाई ग्यालभनाइज डिपार्टमेन्टमा लिएर गए । त्यहाँ इमरान नाम गरेको मान्छे थियो । कपाल सेतै फुलेको । भट्टीमा पग्लिएको जिङ्क उछिट्टिएर डाङ्ग्रीमा छिद्र-छिद्र प्वाल परेको । यस्तो लाग्थ्यो विवाह एक सजाय हो । छोराछोरी उसका लागि अभिशाप हो । जन्मिएपछि पाल्नैपर्छ ! नीलो डाङ्ग्री लगाएको । यस्तो लागिरहेको थियो उसले जालीको कपडा लगाइरहेको थियो र जालीको कपडा सिलाउने नयाँ कलाकार र उद्योग नजिकै छ । उसले कपडा होइन माछा मार्ने जाली भिरिरहेको छ । राघवानले मलाई हिन्दीमा भने, “इसके साथ काम करो !”

इमरान लामो हुकजस्तै बङ्ग्याएको रडले भट्टीमा पग्लिएको जिङ्कको लेदोमा डुबाएको पाइपको बन्डललाई हल्लाउँथ्यो । केही बेर पाइपको बन्डल भट्टीमा डुबाएपछि मलाई क्रेनको हुकमा बन्डलको हुक छिराउन भन्थ्यो । ग्याल्भनाइज भएको पाइप क्रेनले बिस्तारै माथि तान्थ्यो । हुकमा हुक टाङ्गिन्छ । फलामलाई फलामले काट्छ । मान्छेको जीवन गहन सूत्र हो जान्न सके । पढाइलाई पढाइले मात्र खरानी बनाउन सक्छ । यो पनि अन्तिम सत्य हो । नमान्न पाइन्छ तर सत्य यही हो । पढ्नु आदेश हो सिक्नु ऐच्छिक हो । यसरी नै चलिरहन्छ समाज । म भट्टीमा काम गर्न लागेको एक हप्ता भैसकेको थियो । मेरो डाङ्ग्री पनि छिद्र-छिद्र परिसकेको थियो । क्रेनमा हुक अड्काउन लागेको मात्र थिएँ ।

आवाज आयो ।

“इधर आप क्या कररहे हो ?”

पछाडि फर्के । जयचन्द यादव रहेछन् । मैले हिन्दीमा भनेँ, “राघवान सापले मलाई यहाँ लिएर आउनुभयो ।” उनले हिन्दीमा भने, “अबदेखि कसैले भनेर पनि अरू डिपार्टमेन्टमा नजानू । इलेक्ट्रिकल डिपार्टमेन्टको मात्र काम गर्नू ।” यति भ‌नेर उनले मलाई फेरि इलेक्ट्रिकल डिपार्टमेन्टमा लगे । उनी मलाई इलेक्ट्रिकल डिपार्टमेन्टमा राख्न चाहन्थे तर राघवान मलाई इलेक्ट्रिकल डिपार्टमेन्टमा देख्न चाहँदैन थिए । मलाई देख्यो कि उनी बढी परिश्रम गर्नुपर्ने अरू डिपार्टमेन्टमा लिएर जान्थे र काम लगाउँथे । दोस्रोपटक पनि उनले मलाई इलेक्ट्रिकल डिपार्टमेन्टबाट पाइपको चुँडी काट्ने थ्रेडिङ डिपार्टमेन्टमा लगाए तर यसपटक राघवानको सेखी झऱ्यो । जयचन्द यादव यसपटक मलाई लिएर अफिस छिरे । मालिकको अफिसमा पसे र भने, “रमेश साप ! आजसे ए लड्का इलेक्ट्रिकल डिपार्टमेन्टमे काम करेगा ।”

उनको हाउभाउले स्वीकृति जनायो ।

त्यसपछि राघवानले मलाई कहिल्यै अर्को डिपार्टमेन्टमा लैजाने दुःसाहस गरेनन् ।

लिडर हुनुपर्छ तर इमानदार । आखिर म पनि आफूलाई लिडर नै सम्झिरहेको थिएँ । यो कम्पनी कसैको थियो । लगानी अर्कैको थियो । मुलुक, समय र परिवेश सबै फरक थियो तर पनि यहाँ कसै न कसैको शक्ति थियो । यत्ति थियो मान्छेको र चलिरहेको थियो इमरेट्स स्टिल पाइप ।

यहाँ हावा खाडीको बग्थ्यो । घाम खाडीको लाग्थ्यो । पानी खाडीको बग्थ्यो । यस्तो हुन्छ फरक खाडी र पहाडबिच पहाडमा चिसो हावा बग्छ र फोक्सो सर्सिन्छ । खाडीमा उम्लेको हावा बग्छ उखर्माउँछ र मतमत्यउँछ पूरै शरीर । पहाडमा निकर मूलको जरुवा पानी बग्छ । आँत हुन्छ शरीरलाई । खाडीमा मूल फुट्दैन पहाडमा फुटेको मूल घामले गाल्दा-गाल्दा पानी कम र नुन बढी हुन्छ । सिक्नुपर्ने कुरा हामीले खाने पानीमा पनि नुन हुँदो रहेछ । जब सुनजस्तै पानी खारिन्छ त्यहाँ नुन हुन्छ । त्यसैले त म सबैसँग अनुरोध गर्छु ठुलो कोही नपल्टुनुहोस् ! आखिर पहाडमा फुटेको मूल खाडीमा नुन बन्छ । कसैले नुन बेच्छ र धनी बन्छ । कोही पानी पिउँछ र निरीह बन्छ । पालो सबको आउँछ । एकदिन पानीको पनि पालो आउँछ । फरक यत्ति हो पानीले आँखा देखेन । नानी पानीमै हुन्छ ।

म श्रीनिवासको पछि-पछि हिँड्थेँ । टुल बक्स हातमा झुन्ड्याएर । मेसिन बिग्रिरहन्थ्यो । उनी टेस्टर माग्थे । उनी बिजुलीको नाङ्गो तार छुन्थे । फेरि हातमा आगाको फिलिङ्गो परेजसरी हात हटाउँथे । अनिमात्र तारलाई समाएर बटार्थे र टेप लगाउँथे । मेसिनमा बिजुलीको तार यति धेरै हुन्थ्यो, भारीभरिको खरजस्तो तर पनि श्रीनिवास जति जटिल समस्या परे पनि मेसिन बनाइहाल्छन् । प्रत्येक तारहरू लाग्छ उनी आफैँले तानेका हुन् । मलाई यस्तो लाग्थ्यो कम्पनीमा बिजुलीको काम गर्नु र एक भारी खरका तान्द्रा गन्नु बराबर हो । तारैतारको झालमा उनी सरसरती वायर पन्छाउँथे । स्क्रुड्रइभरले वायर निकाल्थे । टुप्पो काट्थे फेरि कस्थे । उनी यति सिपालु थिए कि मेसिन बिग्रिए उनी अन्दाजमा भनिदन्थे । ट्युब फेल भयो । क्यापासिटर बिग्रियो । सर्टसर्किट भएर वरिपरि टाँसिएको ध्वाँसोलाई थिनेरले सफा गर्थे । कहिल्यै स्कुल नगएका उनी एउटा वाक्यांश अङ्ग्रेजीमा यसरी बोल्थे ।

Carbon is good conductor of electricity.

यो वाक्यांशबाहेक उनी अङ्ग्रेजी बोलेको मैले कहिल्यै सुनिनँ । त्यसै दिन जानेँ सबै पढेका सिपालु हुँदैनन् । पढ्दै नपढेकाहरू जान्दै नजान्ने हुँदैनन् । नपढ्नेहरू पनि सिक्न सक्छन् । सिक्नु जित्नु हो । काम यस्तो सफलता हो जो सिकेपछि गर्न सकिन्छ । किताबमा मात्र सबै कुरा हुँदैन । किताब यस्तो पदार्थ हो जो पढ्नुपर्छ र जीवनमा व्यवहारमा लागु गर्न सक्नुपर्छ । कोरा ज्ञान यस्तो भ्रम हो जसले मान्छेलाई फेद न टुप्पाको बनाइदिन्छ र अपभ्रंश गरिदिन्छ मान्छेको ।

कृष्ण कृपाश्रीमूर्तिले श्रीमद्भगवद्गीताको यो श्लोकलाई यसरी उल्था गर्नुभएको छ ।

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते।।

“जो भक्तिभावले कर्म गर्दछ, जसको आत्मा शुद्ध भएको छ र जसले आफ्नो मन तथा इन्द्रियहरू वशमा राखेको छ त्यो सबैको प्रियपात्र हुन्छ र प्रत्येक व्यक्ति उसका लागि प्रिय हुन्छ । यस्तो व्याक्ति सधैँ कर्म गरिरहे पनि कर्ममा बाँधिँदैन ।”

कम्पनीको मालिकदेखि मजदुरसम्म  श्रीनिवासलाई यत्तिकै मानेका होइनन् । श्रीनिवासको कर्मलाई मानेका हुन् ।  श्रीनिवास, मन, वचन र कर्मका साथ यसरी काम गर्थे कि कम्पनी उनको आफ्नै हो । मलाई पनि श्रीनिवास जस्तै सबैको प्रिय पात्र बन्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहथ्यो । म काम केही जान्दैनथेँ । यत्ति जान्थेँ टुल बक्स बोकेर उनको पछि-पछि दगुर्न । ट्याङ्कीमा पानी भर्न । प्लान्टको धुलो सफा गर्न । योभन्दा बढी काम उनी मलाई सिकाउँदैनथे । सिकाए राजनीतिजस्तो त हो एउटै पार्टीभित्र आफू कमजोर बन्ने । मैले जाने उनको लोकप्रियतामा कमी हुन सक्छ । मैले कहिल्यै मुख फर्काइनँ । बिहानदेखि बेलुकासम्म खट्नुपर्ने गह्रुङ्गो काम मैले गर्थेँ । उमेर र दर्जाको हिसाबले यो मेरो कर्तव्य पनि थियो । मान्छेमा इमानदार यस्तो शब्दकोश हो जसले मान्छेको दर्जा र हैसियत बनाउँछ । जीवनमा सम्झेसम्मको विगत सोच्नुहोस् जो कोहीले पनि । हरेक पाइलामा  प्रश्न आउँछ इमानदारिताको । लिनु, दिनु,पढ्नु, सिक्नु र मान्छेको हरेक कर्ममा इमानदारिता मस्तिष्कको पहिलो अङ्कुरण हो । तपाईँ इमानदार हुनु हुन्न भने तम्सुकले केही गर्दैन । इमानदारिताको विश्वास नै मान्नुपर्दछ ‌श्रीनिवास मलाई सिकाउन चाहन्छन् । काम गरेको छ महिनासम्म म नाम मात्रको इलेक्ट्रिकल डिपार्टमेन्टमा थिएँ । काम अरू नै थियो अघि भनेजस्तो ।

अब उनी आफैँले पुसबटन ल्याए । बिजुलीको तार आफैँ जम्मा गरे । मेसिनबाट निकालेको पुरानो तार जति पनि हुन्थ्यो । बिग्रेको मेसिनको खति सिक्न मिल्ने समान यसरी बटुल्थे कि यो कम्पनी सिकाउने इन्स्टिच्युट हो । उनले सुरुमा दुईवटा पुसबटन लिए, रातो र हरियो । एउटा कन्टेक्टर लिए । सिकाए पहिला अफ बटनको सुरुवातको सिरामा तार पसाउनू । अफ बटनबाट तार अन बटनको पहिलो सिरामा लैजानू अनि कन्टेक्टरको नर्मल करेन्टमा लैजानू । क्वाइल र नर्मल करेन्ट लुप गर्नू । अफ गर्दा मोटर बन्द हुन्छ । अन गर्दा मोटर चल्छ । बिजुलीको प्रवाह पहिलो दिन मलाई उनले यसरी सिकाए । यो उनको अन्तिम सत्य थियो । अहिलेसम्मको सत्य पनि यही हो । अर्को सत्य नआउँदासम्म ।

उनले सिकाउँदै गए । म सिक्दै गएँ । जयचन्द यादबले इलेक्ट्रिकलसँग सम्बन्धित पुस्तक दिएका थिए, त्यसलाई पढ्दै गएँ ।

जान्दै गएँ । लिमिट स्विच के हो ? वभर लोड रिले के हो ? टाइमर के हो ? यी उपकरणले के काम गर्छन् । यिनीहरू कुन उपकरण बिग्रँदा कस्तो समस्या हुन्छ ? यिनीहरूलाई जडान कसरी गर्नुपर्छ । इलेक्ट्रिकल मापनका इकाइहरू, भोल्टेज केहो ? वाट के हो ? हर्सपावर के हो ? हाइ भोल्टेज के हो ? ट्रान्सफर्मरको प्रयोग गरेर इलेक्ट्रिसिटीलाई आफ्नो आवश्यकताअनुसार बढी भोल्टेज र काम भोल्टेजमा रूपान्तरण गर्न सकिन्छ ।

श्रीनिवास मेसिन बिग्रँदा समस्या पत्ता लगाउन अब बल्ल मलाई भन्थे । मैले बिजुलीको धेरै कामहरू जानिसकेको हुन्थेँ । काम जानिसकेपछि बल्ल थाहा पाएँ । नजान्दा जटिल देखिने कामहरू सरल हुँदा रहेछन् । बिजुलीमा तीनवटा मात्र जटिल वायरिङ हुन्छन् एक-डाइरेक्ट अनलाइन स्टार्टर । दुई- रिभर्स फर्वार्ड र तीन- इस्टार डेल्टा । जसले यी तीन कुरा मिहिन तरिकाले जानेको हुन्छ, उसले भर्खर पढेर निस्केको इलेक्ट्रिकल इन्जिनियरलाई पनि फेल गर्न सक्छ । भारीको खरजस्तो गनेर नसकिने तारहरू केवल यति तीन सूत्रको भिड रहेछ । जति बढी तार भए पनि यति तीन विषयवस्तुमा सम्बन्धित हुँदो रहेछ । त्योभन्दा बढी हुन्छ भने यति जानेको इलेक्ट्रिसियनले बनाउन सक्छ । जानेपछि मात्र थाहा पाएँ।

छ महिनासम्म सिक्दा, काम गर्दा र मेसिन बिग्रँदा अब मैले श्रीनिवासलाई बोलाउन परेन । म आफैँ बनाउन सफल हुन्थेँ । छ महिनापछि जयचन्द यादवले मलाई नाइट सिफ्टको इन्चार्ज बनाए र श्रीनिवासलाई अर्को हेल्पर दिए । नाइट ड्युटीको पहिलो दिन कम्पनीमा भेड्किएको मात्र थिएँ श्रीनिवासले भने, “ब्याड न्युज हे यार !” बुढो इमरान भट्टीभित्र खसेछ । उनी मलाई सम्झाइरहेका थिए । “क्रेनमा चढ्दा एकदमै होसियारका साथ चढ्नू । योभन्दा अगाडि हाम्रै डिपार्टमेन्टमा काम गर्ने नसरुद्धिन साह क्रेनमा बिजुलीको झड्काले उछिट्टिएर भुईँमा पछारियो । ठाउँको ठाउँ मऱ्यो ।”

मैले मनमनै सोचिरहेँ । यो परदेश हो । मृत्यु सहज स्वदेशमा पनि  हुँदैन । अन्तिम सत्य मान्छेको जीवनमा हुँदैन ।  जस्तोसुकै अवस्थामा पनि मृत्यु असहज हो तर जहाँ म थिएँ  ! जो कोहीको पनि मृत्यु हुन्थ्यो; अलि फरक ढङ्गले हुन्थ्यो । बेलुका सुतेकाहरू सुतेको सुत्यै हुन्थे बिहान नबिउँझने गरी । यसरी सुतेर नबिउँझनु, उछिट्टिएर बज्रिनु, च्यापिएर अल्झिनु , पग्लिएको लेदोमा गड्नु, विषालु ग्यासको परिबन्धमा पर्नु जबलअली फ्रिजोनका अनागरिकहरूको नियति हो । यसरी घर जाने अन्तिम दिनसम्म इमिरेट्स स्टिल पाइपमा मैले नाइट सिफ्टमा काम गरेँ ।

जुन दिन कम्पनी बन्द भयो खुसी भइन । यति लामो समयसम्म यो कम्पनीमा काम गर्दा ती दुःखहरूसँग मेरो अगाध प्रेम थियो । ती मजदुरहरूसँग मेरो घनिष्ट सम्बन्ध थियो । कैयौँ सम्झनाहरू मैले छोडेर जाँदै छु । मैले कोही सिकेँ त यही कम्पनीमा सिकेँ । खाडीमा पनि सानो उमेरमा शक्ति र भविष्य हुन्छ भन्ने बृहत् मन भएका दिग्दर्शक जयचन्द यादव थिए ।

मलाई हात सिकाएर काम सिकाउने श्रीनिवास थिए । उनीहरू पनि जाँदै थिए । यही कम्पनीले मलाई आउँदा रुवायो । यही कम्पनीले मलाई जाँदा पनि रुवायो । हिजो पहिलो दिन कम्पनीमा आउँदा नरामइलो मानिरहेको थिएँ । त्यो दिन कम्पनी छोड्नुपर्दा पनि नरमाइलो मानिरहेको हुन्थेँ । हामी छुट्टिइरहेका थियौँ । भेट्ने गरी यो अपवाद हुन सक्छ । कहिल्यै नभेट्ने गरी यो पनि अपवाद हुन सक्छ । सत्य यही हो मान्छे  जो कोही पनि कहीँ कतै कति बेला भेट हुन सक्छ र जो  जहाँकहीँ जति बेला पनि छुट्टिन सक्छ ।  मान्छे जो कोही जति बेला पनि काम लाग्न सक्छ । असल मान्छेको साथ पाए मान्छे कुशल बन्छ । दुष्ट मान्छेको साथले मान्छे कमसल बन्छ तर सत्य यही हो मान्छेलाई मान्छेले जन्माउँछ । मान्छेलाई मान्छेले सिकाउँछ । मान्छेलाई मान्छेले नै कज्याउँछ । यति परिधिभित्र मान्छे सानो र ठुलो बन्न पुग्छ । यो पनि अन्तिम सत्य हो । मान्छे सानो र ठुलो हुँदैन । मान्छे केवल मान्छे हुन्छ । मान्छे बराबर  हुन्छ ।