मनसुन सक्रिय छ । झरी झरिरहेकै छ । साउने झरी यो वर्षमात्र होइन, बर्सौँदेखि यस्तै छ । झरीसँगै तटीय क्षेत्रमा बसोबास गर्नेहरूको मन रुझेको छ, रोएको छ । नारायणगढ पनि त तटीय बजार हो । यहाँ झरीसँगै निदाएको रात धेरैलाई सपनीमा ऐँठन हुन्छ । यस्तै ऐँठन भयो ३३ वर्षअघि नारायणगढ बजारको प्रधान निवासमा केही दिनदेखि पाहुना लागेका कवि विप्लव प्रतीकलाई । ३३ वर्षपछि शनिबार नारायणगढ आइपुग्दा उनै कवि विप्लव प्रतीकलाई नारायणगढमा झरीले स्वागत गर्‍यो ।

नारायणगढ आइपुगेपछि विप्लवले पाइला राखे यसरी कि बजार पानी-पानी भयो झरीले रुझेर । कवि विप्लव रुझेनन् तर रुझ्यो उनको कवि मन ३३ वर्षअघिको ऐँठन हुने त्यो रात सम्झिएर । लायन्सचोकबाट बालकुमारी कलेज जाने बाटातर्फ सय मिटरअगाडि देब्रेतिर सम्पूर्ण किताबमा भेटिए ह्याट लगाएका हट्टाकट्टा ज्यानका विप्लव । सेतै फुलेको कपाल चुल्ठो पारेर त्यसमाथि थियो कालो ह्याट । सेतै फुलेको सिरुपाते जुँगा निलो मास्कले छोपिएको थियो । कालो चिया पिउने बेला मास्क खोले उनले । सिरुपाते जुँगाले चियायो सम्पूर्ण किताब र त्यसका सञ्चालक लेखराम सापकोटालाई । अनि चियायो यो पङ्क्तिकारलाई पनि ।

कवि विप्लव नारायणगढमा भेटिएका थिए र नारायणगढसँग थियो उनको एउटा अविस्मरणीय नाता । कुराकानीका क्रममा त्यो नाता थाहा पाएपछि उनीसँग गफिने लोभ मनमा उत्पन्न भयो । नेपाली साहित्यलाई नहारेको मान्छे (कवितासङ्ग्रह) र अविजित (उपन्यास) पस्किसकेका विप्लव प्रतीक विद्रोही चेतना बोकेका कवि हुन् । उनले गीत पनि लेखेका छन् । हररात सपनीमा ऐँठन हुन्छ बोलको गीत उनैले लेखेका हुन् । कवि विप्लवलाई नारायणगढसँगको नातामा यही गीतले जोडेको छ ।

२०४५ सालको साउनताका केही दिनदेखि कवि विप्लव नारायणगढमै थिए गगन प्रधानको घरमा । विप्लवका साथी गगन प्रधानको घर उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष सहन प्रधानको पनि घर हो । गगन र सहन दाजुभाइ जो हुन् । प्रधान निवासमा पाहुना लागको त्यस बेला शनिबारजस्तै झरी दिनहुँ परिरहेको थियो । त्यो झरीमा कवि विप्लवले नारायणी नदीको रौद्र रूप देखे । उनी नारायणगढमा थिए, उनका बाबुआमा काठमाडौँको डिल्लीबजारस्थित घरमा । अहिलेजस्तो फोन सम्पर्क सहज थिएन त्यति बेला । उनको मन बेचैन भयो । त्यो कहालीलाग्दो नारायणीलाई देखेपछि उनले गीतको स्थायी तयार गरे,

हररात सपनीमा ऐँठन हुन्छ

सायद गाउँमा पहिरो गयो कि ?

गीतका अन्तरा काठमाडौँ पुगेर पूरा गरे उनले । भन्छन्, “२०४५ सालमा नारायणीमा ठूलो बाढी आएको थियो । त्यस बेला म यहीँ थिएँ । बुबाआमा काठमाडौँ घरमा हुनुहुन्थ्यो । मेरो आफ्नो विरहलाई सार्वजनिक विरह कसरी बनाउन सकिन्छ ? भनेर गीतको स्थायी यहीँ लेखेँ । अन्तरा काठमाडौँमा पूरा गरेँ । प्राकृतिक प्रकोप हुँदा मान्छेको मन खिन्न हुन्छ । त्यसलाई लेख्ने काम गरेँ । त्यो गीत जन्मनुको श्रेय म नारायणगढलाई दिन्छु ।”

गीत त जन्मियो, त्यसलाई सङ्गीत दिने काम बाँकी थियो । “सुरुमा साथी गगन प्रधानले नै सङ्गीत भर्नुभयो, त्यो बाहिर आएन’ ऐँठनवाला गीतको कथा भन्दै विप्लव बोले, “स्वरसम्राट नारायणगोपाल दाइसँग यही गीतका बारेमा कुरा भइरहेको थियो । उहाँ बिरामी पर्नुभयो । बिरामी अवस्थामै उहाँको निधन भयो ।’

२२ वर्षअघि २०५६ सालमा यो गीत रिलिज भयो । गीतमा स्वर र सङ्गीत दिए गायक दीप श्रेष्ठले । गीतले बजार पिट्यो । स्रोताहरूले त रुचाए नै, काठमाडौँको हिट्स एफएमले गीतसङ्गतिका चार विधामा दिने अवार्डमध्ये सर्वोत्कृष्ट गीत, सङ्गीत र स्वरको अवार्ड यही गीतले पायो । कसरी सम्भव भयो त यो सब ? विप्लवको जबाफ यस्तो छ, “दीप दाइसँग राम्रो चिनजान छ मेरो । उहाँले एकपटक २–४ वटा गीत माग्नुभयो । हररात… सँगै अन्य तीन वटा गीत दिएँ । ५ वर्षपछि बल्ल दीप दाइले हररात… को सङ्गीत कम्पोज गर्नुभयो । दीप दाइको कमब्याक यही गीतबाट भयो ।

कवि विप्लवलाई चिनाउने काम पनि गर्‍यो यही गीतले । विप्लवको मुख्य कलम चल्ने विधा कविता नै हो । विद्रोही चेतनाले भरिपूर्ण कविता लेख्ने विप्लवले उपन्यास र संस्मरण पनि लेखेका छन् । उनका कविता विश्वका विभिन्न भाषामा अनुवाद भएर प्रकाशित भएका छन् । आइएसम्मको औपचारिक शिक्षा लिएका विप्लवको साहित्य यात्रा उनी १६ वर्षको हुँदादेखि सुरु भएको हो । सुरुवाती लेखन अभ्यासजस्तो थियो भन्ने विप्लवले त्यस बेलादेखि निरन्तर लेखिरहेका छन् ।

कति भयो त विप्लवले लेख्न सुरु गरेको ? अनुमान गर्न सकिएला तर ठोकेर भन्न सकिन्न । कारण उनी आफ्नो उमेर भन्न रुचाउँदैनन् । भन्छन्, “उमेर र जात भन्दिनँ । संसारमा दुई वटा जात छन्, महिला र पुरुष । म पुरुष हुँ । मानवता र परोपकार मेरो धर्म हो । मेरो बुबाले मलाई यसरी नै दीक्षित गर्नुभयो । मेरो सोच नै यस्तो भयो ।”

बुबा कृष्णप्रसाद सर्वहारा र आमा नर्बदादेवीका जेठो सन्तानका रूपमा जन्मिएका विप्लवका एक जना भाइ र एक जना बहिनी हाल अमेरिकामा छन् । आमा पनि अमेरिकामै । बुबाको देहावसान भइसकेको छ । बुबालाई सम्झँदै विप्लव भन्छन्, “मेरो बुबा बाम आन्दोलनमा हुनुहुन्थ्यो । उहाँबाट प्रेरित भई विचारमा मैले क्रान्ति बाँड्न सक्छु भन्ने उद्देश्यले कविता लेख्न थालेँ । समाजमा जुन प्रकारको विभेद छ, अन्यायको बोलवाला छ, विसङ्गति छन्, ती कुराले मेरो लेखनीलाई अगाडि बढायो । यस्तै कुराले मेरो लेखनीलाई उत्प्रेरणा दिने र निर्देशन गर्ने काम गर्‍यो ।”

संसार रहुन्जेल विभेद र अन्याय रहिरहने ठान्छन् उनी । “तर त्यो थाहा हुँदाहुँदै पनि मानिसमा चेतना संचार नगरी बस्न सक्दैन एउटा स्रष्टाले” उनको ठम्याई छ । संसारमा विभेद र अन्याय किन जन्मिए त ? उनको उत्तर यस्तो छ, “एउटा व्यक्ति जहिले पनि आइडेन्टिटी क्राइसिस् (पहिचानको सङ्कट) मा हुँदो रहेछ । अधिकांश मानिसले “म यो हुँ’ भन्ने इगो बोकेर आफूलाई ठूलो ठान्छ । ९५ प्रतिशत मानिसमा यो भावना छ । ५ प्रतिशतले मात्र समानताको कुरा गर्छन्, न्यायको कुरा गर्छन् । एक थरी मानिस अरूलाई दबाउन पाउँदा खुसी हुन्छन् । अर्का थरी मानिस अरूलाई रिझाएर आफू दास हुनुमा रमाउँछन् ।”

यस्तो हुनुमा हाम्रो शिक्षा पद्धतिलाई दोष दिन्छन् उनी । भन्छन्, “हामीलाई दास बनाउने शिक्षा पद्धतिमा हामी पढिरहेका छौँ कि दास र मालिकबीचको विभेद भत्काउने शिक्षा पाइरहेका छौँ । हाम्रो शिक्षा पद्धतिमा त्रुटि छ, खराबी छ ।” यही खराबीले साहित्यलाई पनि गाँजेको उनको तर्क छ । “साहित्य भनेको मानव विज्ञान, समाज विज्ञान र मनोविज्ञानभन्दा माथिको चिज हो । साहित्य सिर्जनामा कति गम्भीरता चाहिन्छ भन्ने यसले प्रस्ट पार्छ” उनी भन्छन्, “अहिलेको जमानामा जे पनि इन्स्ट्यान्ट (तयारी) चाहिनेजस्तो भइसक्यो । समाज नै बजारीकरणतर्फ उन्मुख छ । यो बजार साहित्यको गुदी होइन कि आवरणबाट निर्देशित छ भने साहित्यबाट के अपेक्षा गर्ने ?’

कुनै न कुनै दिन राम्रो साहित्यको उदय हुन्छ भन्नेमा उनी विश्वस्त छन् । पाठक र सिकारु लेखकलाई उनी जुन भाषा आफूले राम्रोसँग बुझिन्छ, त्यो भाषामा लेखिएका क्लासिक बुक पढ्न सुझाउँछन् । भन्छन्, “ज्यादा जोड क्लासिक लिटरेचरलाई दिनुपर्‍यो । त्यसो भएपछि जग बलियो हुन्छ । जग बलियो भएपछि लेखन बलियो हुन्छ । गैरआख्यानका पुस्तक जति धेरै पढ्यो, त्यति त्यसलाई आफ्नो लेखनीमा प्रतिबिम्बित गर्न सकिन्छ ।”

राम्रो लेखनीका लागि उनको फर्मूला छ, “अध्ययन, अध्ययन र अध्ययन ।” आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नेपाली समाज तीव्र गतिमा ह्रास भइरहेको उनको ठम्याई छ । भन्छन्, “असल समाज निर्माणका लागि सामूहिक प्रयासले ह्रासको यो गतिलाई कम गर्न सकिन्छ । ठूलो मान्छे बन्ने लोभ त्यागेर असल मान्छे बन्ने सोच हामीले राख्यौँ भने समाज तुरुन्तै अधोगतिमा जाँदैन ।”