सानो छँदा असल छोरी हुनुको कर्तव्य बोध गराउँदै आमाले मलाई भन्नुभएको थियो, “ठूलो स्वरले नबोल । छोरीमान्छेले नम्र भएर सानो स्वरमा बोल्नुपर्छ ।” समयको अन्तरालसँगै कुशल गुरुआमा हुनुको जिम्मेवारी बोध गराउँदै क्याम्पस प्रमुखले भन्नुभयो, “तपाईंले बोलेको पछिल्ला बेन्चतिर बसेका विद्यार्थीहरूले सुनेनन् रे । अलिक स्वर ठूलो पारेर पढाउनुपऱ्यो ।”

जिन्दगी यस्ता विरोधभासका मोडहरूबाट थुप्रैपटक गुज्रिए र अझै यी क्रमहरू जारी छन् किनभने जीवन जिउने क्रम जारी नै छ । यति बेला मलाई अठारौँ शताब्दीका एक महान् दार्शनिक जिन ज्याक रुसोलाई सम्झन मन लाग्यो, जसले भनेका छन्, “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लाले बाँधिन्छ ।” म हुर्केको सामाजिक परिवेश अनि त्यही परिवेशमा रहेर गरिने मेरो करियरका आवश्यकतामा कति धेरै विरोधाभास छन् र कति विरोधाभास छन् यीमाथि उद्धृत गरिएको सामाजिक सम्झौतावादी चिन्तक रुसोको भनाइ । रुसोले मानव स्वभाव र प्राकृतिक अवस्थाका सम्बन्धमा प्रस्तुत गरेको विचारसँग आफ्ना कुरालाई जोडेर हेर्न खोज्छु जसमा धेरै कुराको सामञ्जस्य छ  ।

सुमन वर्षा

स्नातकोत्तर दोस्रो वर्षको जाँच सकिएपछि म र मेरा साथी दुई जना मिलेर पुतलीसडकको एउटा घरमा दुईवटा कोठा भाडामा लिएर ‘ट्युसन एन्ड ल्याङ्ग्वेज सेन्टर’ खोल्यौँ । सुरु-सुरुमा फाट्टफुट्ट विद्यार्थीहरू अङ्ग्रेजी विषयको ट्युसन र विदेश जानका लागि अङ्ग्रेजी भाषा पढ्न आउँथे । अलि-अलि आएका विद्यार्थीहरूलाई पढाउँदै गएपछि पढाउने आत्मविश्वास बढ्दै गयो। ‘कुनै क्याम्पसमा बिहानको खाली समय पढाउन पाए पनि हुने’ भन्ने लाग्नु स्वाभाविकै हो । नभन्दै चिनजानको माध्यमबाट ‘सहयोगी हायर सेकेन्डरी गोकर्ण’बाट ११/१२ लाई मेजर इङ्लिस पढाउने प्रस्ताव आयो । मैले स्वीकार गरेँ । बिहान ६ बजे मेन रोडमा स्कूल बस आउँथ्यो । घरबाट ५ मिनेट हिँडेर गाडी चढेपछि १५/२० मिनेटमा स्कुल पुगिन्थ्यो । बिहान एकाध स्कुल कलेजका बस र फाट्टफुट्ट मोटरसाइकलबाहेक बाटो खालीजस्तै हुन्थ्यो । एउटा कक्षामा १५/१६ जना विद्यार्थी थिए । पढाउन खुबै रमाइलो लाग्यो । विद्यार्थीहरू पनि पढ्न उत्साहित नै देखिन्थे । पढाउँदा आफूले नबुझेका धेरै कुरा पनि स्पष्ट हुँदा रहेछन् । २ वर्ष बडो जोसका साथ बिते । त्यसपछि ‘नजिकैको कलेज पढाउन पाए हुन्थ्यो’ भन्ने लागेर घरनजिकैको पशुपति बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखलाई आफ्नो बायोडाटा छोडेर आएँ तर २ महिना बितिसक्दा पनि कुनै खबर आएन, फेरि आफैँ गएँ । क्याम्पस प्रमुखलाई भेटेर पुनः स्मरण गराए । उहाँले सोध्नुभयो, “स्नातक दोस्रो वर्षको क्लास पढाउन सक्नुहुन्छ तपाईंको त ११/१२लाई मात्र पढाएको अनुभव रहेछ । यस कलेजमा पढाइ हुने अङ्ग्रेजीको सबैभन्दा सिनियर क्लास हो । ३ जना शिक्षकहरूलाई विद्यार्थीहरूले अस्वीकार गरिसके । तपाईँ चौथो शिक्षकमा पर्नुहुन्छ । यदि आँट गर्नुहुन्छ भने भोलिदेखि क्लास लिन आउनू । क्लास तेस्रो पिरियडमा हुन्छ, बिहान ८:१५ बजे ।” उहाँको कुरा सुनेर म एकछिन अफ्ठ्यारामा परेँ । त्यसपछि कोसिस गर्छु भनेर त्यहाँबाट निस्किएँ ।

क्याम्पसबाट निस्किएर घर नपुग्दासम्म थुप्रै कुराहरू दिमागमा आए, “अनुभव कति ठूलो कुरा रहेछ । ओहो ! क्याम्पस प्रमुखले कस्तो विचलित हुने गरी कुरा गरेको कि अझ विद्यार्थीहरूबाट आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने तयारीका लागि यस्तो कुरा गरेका हुन् !” क्याम्पस प्रमुखको कुरालाई दुवै कोणबाटै सोचेँ मैले । एकपल्ट त नपढाऊँ कि ! जस्तो पनि लाग्यो । ‘अहिलेसम्म पढाएर कमाएको गुडविल पनि समाप्त हुन्छ यदि पढाउन नसकेर विद्यार्थीहरूले बहिष्कार गरे भने ! हैन हैन जीवनमा अघि बढ्नु छ भने यस्ता परिस्थितिलाई सामना गर्ने हिम्मत गर्न सक्नुपर्छ !’ मानसपटलमा यस्तै कुराहरूले तँछाडमछाड गरिरह्यो ।

आफू कलेज पढ्दाका सम्झनाहरू स्वतःस्फूर्त भएर मानसपटलमा नाच्न थाले । त्यस बेला प्रायः सर, म्यामले के के पढाउनुभयो भन्ने कुरा नबुझीकनै क्लास सकिन्थ्यो । अझ मेजर इङ्लिस पढाउने म्यामको त ओठ चलेको मात्र देखिन्थ्यो । बोलेको खास सुनिँदैनथ्यो । सरको उच्चारणमा विद्यार्थीले ध्यानाकर्षण गराउँदै ‘गभर्मेन्ट कि गभर्नमेन्ट’ भनेर प्रतिप्रश्न गर्दा ‘आइ एम नट फ्रम इङ्ल्यान्ड, आइ एम फ्रम इन्डिया । फोकस अन कन्टेन्ट, नट अन प्रनाउनसिएसन’ भनेपछि को बोल्ने दोहोऱ्याएर तर उहाँले फोकस अन कन्टेन्ट भनेजस्तै बाइ कन्टेक्स एकदम राम्रो पढाउनुहुन्थ्यो ।

सबै मान्छेका आ–आफ्नै स्वभाव हुने रहेछन् । रुसोले भनेजस्तै स्वभाव जन्मजात नभएर अक्वायेर हुने रहेछ । जब मान्छेमा मलाई अरूले सर्वश्रेष्ठ भनिदियोस् भन्ने भावना आउँछ तब मानिसमा भएको अन्तर्निहित स्वभाव परिवर्तन हुन्छ र ऊ आक्रमक बन्छ । ‘बहिष्कार गरे के भयो त मलाई कसैले राम्रो नभन्दा के नै बिग्रन्छ र !’ ममा पनि आफूलाई दिएको जिम्मेवारी जसरी पनि पूरा गर्ने यस्तै आक्रामक भावना जागृत भयो । ‘स्नातक तह दोस्रो वर्षका विद्यार्थी पढाउने जुन जिम्मेवारी मैले पाएको छु त्यसको विषयसूची नै नहेरीकन किन यति धेरै सोचिरहेको छु या हतोत्साहित भइरहेको छु जस्तो लाग्यो फेरि । अतः घरतिर लम्किरहेका गोडालाई स्टेसनरी पसलतर्फ मोडेँ । दोस्रो वर्षको अनिवार्य अङ्ग्रेजी किताब किनेर घर पुग्नेबित्तिकै किताब पल्टाउँदै गए र विषयसूची हेरेँ । झन्डै-झन्डै ११/१२ मेजर इङ्लिसकै जस्तै कथा, कविता, निबन्ध र नाटक थिए विषयवस्तु । केही कथा र केही कविता पढेँ । मन केही शान्त भयो । ‘पढाउन सक्छु’ भन्ने अड्कल गरेँ तर हृदयको एउटा कुनामा ‘विद्यार्थीहरूले बहिष्कार गरे भने !’ भन्ने कुराले घोचिरहेकै थियो ।

बिहान ८.१५ मा क्लास राखिएको जानकारी हिजै बताएका थिए क्याम्पस प्रमुखले । बिहान ८ बजे नै कलेज पुगेँ । घण्टी लाग्यो । कोअर्डिनेटर सरले एक तल्लामाथि रहेको अफिस कोठाको बाहिर बरन्डामा निस्किएर तल्लो तलामा रहेको मैले पढाउनुपर्ने कक्षाकोठा देखाइदिनुभयो । बडो सतर्क भएर क्लासमा छिरेँ । ओहो ! कति ठूलो कक्षाकोठा अनि कति धेरै विद्यार्थी ! झन्डै आत्तिएँ म ।

१५/२० जना विद्यार्थी पढाइरहेको बानी, एकैपटक १०० जनाको हाराहारीमा विद्यार्थी तैपनि एउटा कोठामा ! उफ्, हल्लाखल्ला त कति हो कति ! सबै विद्यार्थीको अनुहारमा पालैपालो हेरेँ । आफूभन्दा ठूल्ठूला विद्यार्थी थिए कोही कोही त । कोही पत्रिका पढेर बसेका थिए भने लास्ट बेन्चका विद्यार्थीहरू बेन्चमा नबसेर डेक्समा बसेका थिए । दिमागनै चर्कियो त्यो दृष्यले । सोध्ने दुस्साहस गरेँ,“किन बेन्चमा नबसेर डेक्समा ?” डेक्समा बस्नेमध्ये एक जना विद्यार्थीले भन्यो, “म्याम ! ब्ल्याकबोर्ड नै देखिँदैन बेन्चमा बस्दा ।” अरू विद्यार्थीहरू गलल्ल हाँसेँ । अगाडिका विद्यार्थीहरू पनि पछाडि फर्केर हेर्दै मज्जा माने ।

पुनः रुसोलाई सम्झन पुगेँ—मानव–स्वभावसम्बन्धी प्रचलित दुई धारणाहरू, एउटा मानिस जन्मँदै खराब हुन्छ अर्को मानिस जन्मजात असल स्वभावको हुन्छ । रुसो पछिल्लो विचारका समर्थक हुन् । मानिसमा निहित दुष्टता, पाप, भ्रष्टता, खराबी आदि जन्मजात आएको परिणाम हैन । केवल विकृत सामाजिक संस्थाका उपजहरू हुन् । मैले विद्यार्थीहरूको स्वभावलाई पनि यहाँनेर रुसोको भनाइसँग जोड्न खोजेँ। वास्तवमा समाज कता जाँदै छ त  यिनीहरू  समाजका उत्पादनहरू न हुन् । समय, परिस्थिति र परिवेशले उसको प्राकृतिक स्वभावमा ल्याएको परिवर्तन हो यो । प्राकृतिक रूपमा त मानिस एकदम असल, सहानुभूति राख्ने, दयालु प्रेमिल आदि राम्रा स्वभावका नै हुन्छन् भनिएको छ । यसकारण मैले आफूले पनि यसको जिम्मेवारी लिनुपर्छ भन्ने सोचेर यसलाई सामान्य रूपमा लिएँ । यो सब हाम्रै सामाजिक व्यवस्थाको दोष हो, हाम्रो पुस्ताले नै सही मार्गदर्शन गर्न नसकेको हो । अर्को कुरा पनि झट्ट मेरो दिमागमा आयो, ‘तपाईँ यो विषयको यस क्लासमा चौथौँ टिचर !’ आफूलाई कसरी बेस्ट साबित गर्ने पहिलो कुरा त त्यही नै थियो ।

मैले दोहोरो कुरा गरिनँ, उनीहरूको मात्र कुरा सुनेँ । त्यसपछि आफ्नो परिचय दिएँ । स्नातक तह दोस्रो वर्षको अनिवार्य अङ्ग्रेजीको सिलेबस बोर्डमा लेखिदिएँ । “रोबर्ट किर्लीको कविता ‘ओ नो’ भोलि पढाउँछु तिमीहरू पनि घरमा पढेर आउनू” भनेर कविताको शीर्षक र कविको नाम पनि बोर्डमा लेखिदिएँ । यसैबीच विद्यार्थीको गाइँगुइँ हल्ला सुनिरहे पनि कुनै प्रतिकार गरिनँ । पारो त तातिरहेको थियो । अब पालो थियो विद्यार्थीहरूको परिचय लिने । यस क्रममा मैले त्यही पछिल्लो डेक्समा बस्ने विद्यार्थीहरूको मात्र नाम सोधेँ । ‘बाँकी भोलि क्लासपछि क्रमशः अलि-अलि गर्दै परिचयलाई निरन्तरता दिउँला’ भनेर पहिलो दिनको क्लास सकिएको जानकारी दिएँ । निस्कने क्रममा एक जना विद्यार्थीले, “म्याम ! तपाईँ म्यारिड कि अनम्यारिड ?” भनेर सोध्यो । मैले यस्तो प्रश्न आउला भन्ने सोचेकी थिइनँ । उसले मजाक गरेको जस्तो महसुस भयो मलाई । के भनूँ के भनूँ हुँदै मैले ‘तिमीहरू जत्रै नै छोरी छ मेरो’ भनिदिएँ । हुन त मैले हुँदै नभएको कुरा त गरिनँ तर म स्नातक पढ्दा जन्मिएकी मेरी छोरी त्यस बेला एक क्लासमा पढ्थी ।

क्लासबाट बाहिर निस्कँदा एउटा युद्धस्थलबाट थुप्रै शत्रुहरू परास्त गरेर आएको जस्तो अनुभूति भयो । एउटा शिक्षकका लागि यस्तो अनुभूति हुनु बडो डरलाग्दो कुरा हो । रुसोले भनेजस्तै आत्मरक्षा र सहानुभूतिबीचको सङ्घर्षमा व्यक्ति सम्झौता गर्न बाध्य हुन्छ । म विद्यार्थीहरूप्रति सहानुभूति राख्नेभन्दा पनि आत्मरक्षाको अवस्थामा पुगेकी थिएँ, तसर्थः त्यहाँ मेरो स्वार्थ हाबी भयो र मैले मेरा विद्यार्थीलाई शत्रु देखेँ । किन त्यस्तो सोच आयो मेरो मनमा आफ्नै मनलाई प्रश्न गरेँ । जुन ठाउँ मेरा लागि एउटा प्राप्तिको चाहना थियो, मेरो त्यही चाहना प्राप्ति हुँदा किन म खुसी हुन सकिरहेको छैन | यति विरोधाभास किन प्राप्ति र सङ्घर्षबीच सायद मलाई क्याम्पस प्रमुखले, ‘चौथोमा पर्नुभएको छ’ नभनिदिएको भए यस्तो भयको आतङ्क मेरो मनमा गडिएर रहने थिएन होला !

दोस्रो दिनदेखि विषयवस्तुमा प्रवेश गरेपछि विद्यार्थीहरू आफै शान्त हुँदै गए । त्यही पनि बेला-बेलामा उनीहरूको अन्टसन्ट प्रश्नहरूको सामना भने गर्न परिरह्यो । यसरी नै क्रमशः ३ दिन क्लास लिएँ । मनमा लागिरहेको थियो—‘यत्रो ठूलो क्लासमा २/४ दिन मात्र अरू पढाउनुपऱ्यो भने त बिरामी नै परिन्छ होला ! होस्, बरु विद्यार्थीले रुचाएनन् भने पनि ठिकै छ ।’ मनले हरेस खाएको आभास भयो । क्लासको चौथो दिन कक्षाकोठाबाहिर क्याम्पस प्रमुखलाई झ्यालबाट देखेँ । उहाँले मलाई केही भन्न खोजेजस्तो लाग्यो तर मलाई त्यस्तो कुनै कौतुहलता भएन । म आफ्नो क्लासको समय सकेर बाहिर निस्केँ । उहाँ एकदम खुसी मुद्रामा हुनुहुन्थ्यो, “ल मिस ! मैले माथि कोअर्डिनेटर सरलाई तपाईँको हाजिरीमा नाम चढाइदिनू भनेको छु । सुरु दिनदेखिको हाजिरी गर्नू । विद्यार्थी खुसी छन् तपाईँसँग । विद्यार्थी खुसी भएपछि हामी त खुसी हुने नै भयौँ तर तपाईँको स्वर सानो भएका कारण पछाडिका विद्यार्थीहरूले अलि सुनिएन भनेका छन् । तपाईँले अलिक ठूलो स्वरले पढाउनुपऱ्यो ।” मैले कुनै प्रतिक्रिया व्यक्त गरिनँ । सरलाई के लाग्यो कुन्नि ! आफैँले सोध्नुभयो—“तपाईँलाई केही भन्नु छ कि ?” “म यति धेरै विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर त पढाउन सक्दिनँ । मैले जति ठूलो स्वर पारे पनि पछाडिका विद्यार्थीहरूले सुन्न सक्दैनन् । हजुरले सेक्सन ब्रेक गरिदिनुभयो भने म पढाउँछु ।” मैले एकै सासमा आफ्नो कुरा व्यक्त गरेँ । सर केही नबोली क्लासमा छिरेर हेर्नुभयो र “भोलि सेक्सन ब्रेक हुन्छ, तपाईँ आफ्नो समयमा आएर पढाउनू” ,भन्नुभयो ।

माथि उल्लेख गरेजस्तै म पुनः उही रुसोका भनाइलाई सम्झन्छु— “मानव–स्वभावका दुई निर्णायक प्रवृत्ति— आत्मरक्षा र सहानुभूति । यी दुई प्रवृत्तिबीच कहिलेकाहीँ एक–अर्कामा मेल खाँदैन र सङ्घर्षको स्थिति आउँछ । समग्र हितका लागि मानिसले व्यक्तिगत हित त्याग्नुपर्ने हुन्छ अर्थात् व्यक्तिले सम्झौता गर्न बाध्य हुनुपर्छ । यद्यपि रुसोले भनेजस्तै मानव प्रवृत्ति शान्त, प्रेमिल अनि सद्भावयुक्त नै हुन्छ । सायद समय र परिस्थितिजन्य घटनाहरूसँग जुध्नुपरेको हुँदा क्याम्पस प्रमुखले समग्र हितका लागि आत्मरक्षक बन्नुपरेको अवस्था थियो । म पनि त आत्मरक्षक नै भएर प्रस्तुत भएको थिएँ विद्यार्थीहरूसँग ।” मैले यसरी बुझेपछि क्याम्पस प्रमुखप्रति बनेको मेरो नकारात्मक छवि एकाएक इलेभेटेड भयो । हरेक कुरालाई सकारात्मक तरिकाले हेऱ्यो या बुझ्यो भने त्यो सही लाग्दै जाँदो रहेछ र एउटा अवधारणा बन्दो रहेछ ।

अब भने मलाई एउटै काम गर्नु थियो— क्याम्पस प्रमुखले भन्नुभए झैँ स्वर ठूलो बनाउनु । भ्वाइसमा कन्सन्ट्रेट हुँदा कन्टेन्ट कमजोर हुने हो कि ! भन्ने कुराले पनि सचेत गरायो । सुरुमा मैले भनेको कुरा यही सन्दर्भलाई जोड्न भनेको हो । रुसोले भनेजस्तो वास्तवमा मानिस सर्वत्र साङ्लाले बाँधिएको हुन्छ । समाजले निर्धारण गरेको नीति, नियम र परिधिले हामीलाई यति बाँधेको छ कि यसबाट हामी चाहेर पनि उम्कन सक्दैनौँ । रुसोकै भनाइअनुसार जहाँ असमानता हुन्छ त्यहाँ परनिर्भरता बढ्छ । परनिर्भरता बढ्नु भनेको स्वतन्त्रता गुम्नु हो । मेरी आमा, जो मेरो पहिलो पाठशाला हो । म यसरी पनि बुझ्छु—उहाँ पितृसत्तात्मक संरचनाको एउटा उत्पादन पनि हो । सामाजिक संरचना व्यवस्थाभित्र हरेक तह, क्षेत्र, वर्गमा असमानता छ र त्यस व्यवस्थाभित्र मानिस कुनै न कुनै रूपमा परनिर्भर छ | परनिर्भरतामा जकडिएको मानिस आफू स्वतन्त्र भएर सोच्न सक्दैन । त्यही सामाजिक संरचनाभित्र बसेर एउटा सामाजिक प्राणी मानिसले यसरी नै सोच्छ । कुन आमाले नचाहलिन्—“आफ्नी छोरी सर्वगुणवती होस् । सबैले ‘वाह ! कति संस्कारी रहिछिन् भनोस्’, समाजको मूल्य–मान्यतालाई आत्मासात् गरोस् र समाजले तोकिदिएको नियम र परिधिभित्र बसेर आफूलाई समाजमा अब्बल साबित गरोस्, त्यसमा पनि विशेष गरी छोरी मान्छे,जसलाई प्रायः नजरले उपेक्षा गरेको हुन्छ…” यस्तै यस्तै ।

मेरी आमालाई यस्तो लाग्नु स्वाभाविक हो र त भन्नुहुन्थ्यो सधैँ ‘सानो स्वरले बोल्नू ।’ उहाँलाई के थाहा ! आफैँले दिएको संस्कारले उनीहरूको करियरलाई बाधा गर्नेछ भनेर । यदि यस्तो कुरा बुझ्नुभएको भए या त बुझाइएको भए  बरु असभ्य नै भनून् तर कदापि सानो स्वरले बोल भन्नु हुन्थेन । मजस्तो हरेक छोरीलाई विश्वास छ, भविष्यमा कुनै आमाले आफ्नी होस् या कसैकी छोरीहरूलाई यस्तो भन्नुहुने छैन । नीति, नियम, सामाजिक व्यवहार समयानुकूल बनाउँदै लैजानु पनि सामाजिक दायित्वभित्र पर्दछ ।

सेक्सन ब्रेक भए पनि क्लासमा विद्यार्थीहरूको चाप खासै घटेन तर मेरो कन्फिडेन्स भने बढेको थियो । अनुशासनमा नबस्ने विद्यार्थीहरूलाई मैले क्लासमा बस्ने अनुमति दिन सकिनँ । त्यसपछि विद्यार्थी धेरै भए पनि क्लास शान्त भएको हुँदा पढाउन गाह्रो भएन मलाई । तथापि स्वर भने ठूलो नपारी धरै भएन । रुसोको एउटा कुरामा भने मेरो बिमति छ—‘मानिस स्वतन्त्र जन्मदैँन, परतन्त्र मै जन्मन्छ ।’

१८औँ शताब्दीभन्दा फरक छ आजको समय । समय निकै अगाडि बढिसकेको छ । आज हामी सन्तान जन्माउँदा योजना गरेर जन्माउछौँ । कति जन्माउने, कुन लिङ्गको जन्माउने, कति वर्षको फरकमा आदि इत्यादि सबै तय गरेर जन्माउछौँ । गर्भमा डिटेक्ट गरेर जन्माउने वा नजन्माउने निर्धारण गर्छौँ । जन्माउँदा पनि कुन विधिबाट जन्माउने छनोट गर्छौँ । विज्ञानले मानिसको जन्मिने स्वतन्त्रतालाई पनि ब्रेक गरिदिएको छ। यसर्थ जिन ज्याक रुसोले भनेजस्तो मानिस स्वतन्त्र जन्मिन कहाँ पायो र खै ! अझ जन्मिएपछि सामाजिक नीति, नियमको चङ्गुलमा परेपछि उसको स्वतन्त्रता त झनै समाप्त हुन्छ ।

रुसोले मानव–स्वभाव र प्राकृतिक अवस्थाको सम्बन्धमा प्रस्तुत गरेको विचारजस्तै मानिसमा निहित सहानुभूति र आत्मप्रेम प्रवृत्तिमा सामञ्जस्य ल्याउन उनीहरूका विवेक र अन्तस्करणले एकसाथ काम गर्छन् । मानिस सृष्टिको विशिष्ट प्राणी भए तापनि साङ्लो अर्थात् बन्धन मानिससँगै जोडिएर आएको हुन्छ । यो मानिसमा भएको अन्तर्निहित परनिर्भरताको उपज हो । यसबाट चाहेर पनि मानिस स्वतन्त्र हुन सक्दैन तर पनि मानिसले आफूलाई समयसापेक्ष बनाउँदै सभ्य समाजको निर्माणमा अहम् भूमिका निर्वाह गर्नुपर्छ भन्ने लाग्छ मलाई ।

क्याम्पसमा विधिवत् रूपमा पढाउने पेसालाई अँगालेपछिका पछिल्ला प्रत्येक नयाँ शैक्षिक सत्रमा नयाँ विद्यार्थीहरूसँग साक्षात्कार गर्ने अवसर मिल्छ मलाई । विद्यार्थीहरूसँगको मेरो आत्मीयता, मेरो परिपक्वता, अनुभव र समयले दिएको उपहार सम्झेको छु ।

हरेक वर्ष कलेज सुरु हुने दिन परिचयात्मक कार्यक्रममा छात्रछात्राहरू यति सानो स्वरले आफ्नो परिचय दिन्छन् कि म क्याम्पस पढाउँदाको सुरुको घटनालाई सम्झन्छु र उनीहरूलाई भन्ने गर्छु, “तिमीहरू यहाँ उच्च शिक्षा हासिल गर्न आएका हौ । भलै तिमीहरूको नाम बुबाआमाले राखिदिएका हुन् तर अब यो नितान्त तिम्रो नाम हो । शिक्षाको ज्योतिले आफ्नो नाम चम्काएर परिवार, समाज र देशको गौरव बढाउन अध्यनन गर्न आएका छौ अनि आफ्नै नाम भन्नुपर्दा आफूसँगै छेउमा बसेको साथीले समेत नसुन्ने गरी भन्यौ भने कसरी आफ्नो नाम र पहिचानलाई अगाडि बढाउँछौ ।” विशेष गरेर छात्रालाई ‘ठूलो स्वरले पहिले आफ्नो नाम उच्चारण गर्ने अनि ठूलै स्वरले बोल्ने’ भन्ने गरेको छु । यति उनिहरूलाई भन्ने गर्दा आफूलाई ठूलै सन्तुष्टिको आभास हुन्छ ।