साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

 सती जाने शक्ति 

लोग्ने बाँचुन्जेल मात्रै लाउन पाउने यी शौभाग्यका गहना हुन् कि लोग्नेले स्वास्नीलाई वस्तु बनाएर बाँध्न प्रयोग गरिएका दाम्ला हुन् ?

 

 

सानो हुँदा गाउँमा कसैको बिहे हुँदैछ भनेपछि रमिता हेर्न जानेको ताँती हुन्थ्यो । त्यो ताँतीभित्रको एउटा रमिते पात्र म पनि हुन्थेँ । विवाहको जग्गेमा बेहुलाले बेहुलीलाई लगाइदिएको पोतेको भारी र सिन्दुरको लर्को देखेर म अचम्मित हुन्थेँ ।

हे भगवान् ! त्यो मान्छेभन्दा गह्रौँ पोते र सिन्दुरको भारी किन भिराइदिएको होला ! कौतुहलमा परेर म आमा हजुरआमाहरूलाई सोध्थेँ, “यति धेरै रातो, हरियो सिन्दुर र पोतेको भारी किन लाइदिएको बेहुलीलाई ?”

मेरो प्रश्न सुनेर आमा, हजुरआमा, काकी, बड्यामा सबै एकै स्वरले भन्नुहुन्थ्यो, “यो त शौभाग्य हो लाटी, भारी भन्नु हुँदैन । गहना पो हो त !”

“त्यो लायो भने के हुन्छ त !” म फेरि कौतुहलता पोख्थेँ ।

“कसैको आँखा लाग्दैन, आफू सुरक्षित होइन्छ ।” उहाँहरूको जवाफ हुन्थ्यो ।

“अनि बेहुलाले चाहिँ किन यस्तो केही नलाएका त ! उनी सुरक्षित हुनु पर्दैन त ?” मेरो जिज्ञासा थपिन्थ्यो ।

“मेरी बास्सै ! के के सोध्छे सोध्छे यो राधा त ! अलि बिस्तारी बोल् ! बेहुला आइमाई हुन् त यस्तो लाउनलाई ? लोग्नेमान्छे देश परदेश गर्दा आफैँ बलियो हुन्छ । किन भिर्नुपर्यो यस्ता दशथरी ?” मज्जाले झपारो खान्थेँ म कुरो नबुझेर ।

देश परदेश, विरानो गाउँठाउँ पुग्नेलाई सुरक्षा नचाहिने, फेरि आफ्नै घरगाउँ, आफन्तकै पेरीफेरीमा बस्नेलाई किन चाहिने रहेछ यो सुरक्षाको साङ्लो ? म सोचिरहन्थेँ ।

जब मेरो विवाह भयो, मैले पनि पोते लगाउन थालेँ । लाउनु या नलाउनु, थापाजीले केही नभने पनि सासुआमाले “नुहाउँदा पनि फुकाल्नु हुँदैन है पोते त दुलही !” भन्नुहुन्थ्यो । त्यसको शक्तिका बारेमा म अनभिज्ञ भए पनि सासुआमाको आज्ञालाई अवज्ञा गर्न मन मान्दैनथ्यो । उहाँले जे भोग्नु भयो त्यही व्यक्त गर्ने त हो । भोगाइभन्दा परको संसार र अनुभव बेगरको अनुभूति कसले व्यक्त गर्न सक्छ र ? यदि कसैले सक्छु भन्ने दुस्साहस गर्छ भने सत्यतथ्यमा आधारित नभएको नाटक मात्र हो त्यो । मलाई यतिमात्र थाहा थियो कि मैले मेरी भगवानजस्ती सासुआमाको मन दुखाउनु हुँदैन ।

एक दिन मेरी कान्छी नन्द तारा सोलुबाट काठमाडौँ आउनुभयो । नन्दभाउजू भएर बजार घुम्न निस्कियौँ । फर्किँदा रत्नपार्कबाट भक्तपुर जाने बस चढ्यौँ । नयाँ बानेश्वरमा ओर्लनु थियो । बसभित्रको भीड यस्तो थियो कि त्यहाँ स्वासप्रस्वास नै अवरूद्ध हुन खोज्थ्यो । सार्वजनिक यातायातमा देखाइने पुरुषार्थ पटकपटक झेलेको हुनाले ढुक्कचाहिँ अलिकति पनि हुँदैनथ्यो मन ।

नन्द र म पनि अरूजस्तै निस्सासिएर उभिएका थियौँ । पछाडिबाट एउटा पुरुष अलि असजिलो व्यवहार गर्दैछ भन्ने चिसो मनमा पस्यो । र, पनि त्यस्तो भीडमा शङ्काकै भरमा गाली गरिहाल्नु हुन्न भनेर म चुप नै थिएँ । यसो सोचेँ, “म त विवाहित हुँ, पोते सिन्दुर लगाएकी छु । मलाई कसैले केही गर्न सक्दैन । म सुरक्षित छु । तर मेरी अविवाहित नन्द ! मैले उहाँको सुरक्षा गर्नुपर्छ ।”

दायाँ हातले बसको खाँबोमा समातेँ र बायाँ हातले नन्दलाई अङ्गालो हालेर आफूतिर नै टासेँ । मैले मेरोभन्दा बढी नन्दको ख्याल गरिरहेँ ।

बस बबरमहल हुँदै बानेश्वरतिर लाग्यो, पछाडिबाट अझै असहज महसुस हुन थाल्यो । मैले अझै मतिर तानेर नन्दलाई जोगाउन खोजिरहेँ । बसको खाँबोमा झुण्डिरहेको मेरो दायाँ हातको तलबाट कसैले हात घुसारेर पुरुषार्थ देखाउन थाल्यो, म  छाँगाबाटै खसेजस्तो भएँ । के सोच्दै थिएँ के भयो ? एकछिन स्तब्ध भएँ । पृथ्वी फन्न घुमेजस्तो भयो । निधारभरि चिट्चिट् पसिना आयो । रिसको ज्वारभाटा यसरी दन्कियो कि अब कुनै माइकालालको दमकलले निभाउन सक्नेवाला थिएन । मेरो पालो पछाडि फर्किएर त्यसका कुदृष्टि देख्ने आँखा नै फुटोस् भन्ने हेतुले एक झापड आँखामै हानेँ । चस्मा लाएको रहेछ, झर्‍याप्पै फुट्यो । ड्राइभरलाई गाडी रोक्न भनेर त्यसलाई छातीमा समाएर भुइँमा झारेँ र अरू मुक्का मज्जैले थपिदिएँ । हात जोडेर खुट्टा समात्दै माफी माग्यो, अनि छोडेर हामी बाटो लाग्यौँ ।

बसको अगाडि साइडमा थापाजीको साथीको भाइ हुनुहुँदो रहेछ । त्यत्रो खैलाबैला हुँदा पनि एक वचन नबोलेर बस्नु भएछ, र पछि थापाजीलाई चाहिँ यो कुरा सुनाउनु भएछ, “भाउजू त साह्रै डेन्जर हुनुहुँदो रहेछ ! केटामान्छेलाई हात हाल्ने हैट ! सार्वजनिक ठाउँमा आइमाईमान्छेले हातै चाहिँ नलाउनुभएको भए हुने । बरू जोगिएर पो हिँड्नुपर्ने …… ।”

कुरा सुनेर म छक्कै पर्थेँ, “के लोग्नेमान्छेले चाहिँ जथाभावी चलाउन मिल्ने हो हात ? अनि आफ्नै सुरक्षार्थ पनि चलाउन नमिल्ने हो आइमाईको हात ? यी हातमा पनि यत्रो विभेद किन ?”

एउटा पुरुषले त्यो हविगत गर्दा, आफ्नै भाउजू प्रतिरक्षामा उत्रिदासमेत चुपचाप भाग्ने अनि उल्टै ‘आइमाई मान्छे यस्तो हुनुहुँदैन’ भन्दै दाइलाई कुरा लाएर आइमाईकै चरित्रमाथि प्रश्न उठाउने ती भगुवा पुरुष इज्जतका ठेकेदार कति होलान् है यो समाजमा ?

त्यस दिनको त्यो घटना त एउटा प्रतिनिधि घटनामात्र थियो । यस्ता सार्वजनिक यातायात, सभासम्मेलन, कार्यस्थल जताततै आम महिलाले भोग्नु परेका अझै दर्दनाक घटनाको सामना गरेका अनुभूति आरनका कोइलाजस्तै रन्किरहन्थे । तर त्यही दिनको आफ्नै भोगाइले चाहिँ के सिकायो भने, महिला आफू सुरक्षित हुन प्रयोग गरिने हतियार भनेको सिन्दुर, पोते, चुरा, टिकाजस्ता आवरणका सौन्दर्य सामाग्री मात्रै होइनन्, भित्रदेखि पलाउने आत्मशक्तिचाहिँ बलियो हुनुपर्छ ।

विस्तारै सोच्न थालेँ, आत्मशक्ति के ले बलियो बनाउँछ त ! यी दुनियाँभरका गहना-गुडिया बेगर नै लोग्नेमान्छे किन बलिया हुन्छन् ? उनीहरूचाहिँ कसरी संसारको जुनसुकै कुनामा पुग्दा पनि सुरक्षित हुन्छन् ? घर, परिवार, समाज हुँदै राष्ट्रको सत्तामा समेत किन पुरुषकै वर्चस्व छ ?

समयक्रमसँगै बुझ्न थालेँ; सत्ताको आधारस्तम्भ भनेको पुँजी रहेछ । सत्तामा पुग्न महिलाले पनि पुँजी आर्जन गर्नुपर्छ । महिलाको हरेक श्रमलाई पुँजीमा रूपान्तरण गर्न दबाब सृजना गर्नुपर्छ, र यी सबै गर्नसक्ने सहास बटुल्न शिक्षाको आर्जन र संसारको अवलोकन अपरिहार्य छ । सिन्दुर, पोते, टीका, चुराको घेराभित्र नै सुरक्षित छौँ, संरक्षित छौँ भनेर अल्झिरहनु भनेको एउटा मन्द तर सशक्त विषभित्र पौडी खेलिरहनु हो ।

होसमा रहेर सोच्ने हो भने सबैलाई यस्तै जिज्ञासा पलाउन सक्छ, यदि यी सिन्दुर र पोतेमा महिला सुरक्षित हुन्छन् भने यिनै गहना पहिरिएको बेलासमेत किन बलात्कृत हुन्छे महिला ? यो शौभाग्यको उपहार हो भने लोग्ने मर्नसाथै किन सँगै लिएर जान्छ उसैले यी सबै कुरा ? के लोग्ने मरेकी स्वास्नीलाई शौभाग्य चाहिँदैन ? भाग्य भन्ने चिज पनि यति विभेदी किन छ, जो लोग्नेका लागि मात्रै उपस्थित हुन्छ ? यी चिजमा शक्ति हुन्छ भने झन् लोग्ने मरेपछि परिवार धान्न चाहिने होइन र ? किन यति स्वार्थी अनि निष्ठुरी हुन्छ यो शौभाग्य, जो लोग्नेको मृत्युसँगै सती जान्छन् ?

लोग्नेको मृत्युमा किन उडाइन्छ स्वास्नीका जीवनका सारा रङ्गहरू ? दागबत्ती लोग्नेको शवमा दिइन्छ, तर जीवनको रङ्ग डढेर मरुभूमि हुन्छ स्वास्नीको जीन्दगी, किन ? लोग्ने बाँचुन्जेल मात्रै लाउन पाउने यी शौभाग्यका गहना हुन् कि लोग्नेले स्वास्नीलाई वस्तु बनाएर बाँध्न प्रयोग गरिएका दाम्ला हुन् ? म अझै बुझ्न सकिरहेकी छैन । होइन भने उसले लगाइदिएको सिन्दुर पोते मात्र होइन बाआमाले सानैमा लाइदिनुभएको चुरासमेत किन झर्‍यामझुरुम फुटाइन्छ ? स्वास्नी अगाडि मरी भने के के फुकाउने र फुटाउने गरिन्छ लोग्नेको ? के शौभाग्य भन्ने जिनिस लोग्नेमान्छेलाई चाहिँदैन ?

अर्को जिज्ञासा, लोग्ने बाँचुन्जेल मात्र लाउन पाउने त्यो शृङ्गारको शक्तिले स्वास्नीलाई कतिको बलियो बनाउँछ ? के एउटी आइमाईको जीवनको रङ्ग भनेको लोग्नेभन्दा माथि उठ्न सक्दैन हो ? लोग्नेको मृत्युसँगै सती जाने यी रङ्गहरूमा अडिएको शक्तिभन्दा माथि उठेर संसार हाँक्न सक्ने शक्ति सञ्चय गर्ने कि नगर्ने, जो आफू, आफन्त, घरपरिवार हुँदै राष्ट्र बचाउन काम लाग्छ ?

म यी सबै गहनाका विरोधी होइन, तर पनि गहनालाई कहरका बनाइनु हुँदैन, रहरका बनाइनुपर्छ । रहर लाग्नेले लगाउँदा केही आपत्ति भएन, कहिलेकाहीँ गहनाले रिफ्रेस पनि बनाउन सक्छ, तर यी बाहिरी गहनाभन्दा पनि बलियो बनाउने शक्ति भनेको चाहिँ आन्तरिक गहना ज्ञान नै हो । शिक्षाले ज्ञान आर्जन गर्छ, ज्ञानले मान्छेलाई विद्वान् बनाउँछ, र विद्वान्ले विचार सम्प्रेषण गर्छ । विचारले समाज रूपान्तरण तथा बौद्धिक समाज निर्माण गर्छ ।

प्रतिक्रिया
Loading...