सात सेप्टेम्बर २०१६ भिएनामा मेरो पहिलो बिहान । जति ढिलो सुते पनि कोठामा बिहानको आभास छिरेपछि निद्रा टुट्छ । त्यसपछि जति नै आँखा चिम्लेर निदाउने कोसिस गरे पनि निद्रा आउँदैन ।
उठेँ । ओछ्यान मिलाएँ । त्यति गर्दा गर्दै बिहानको सुकर्म गर्न गएँ । हाम्रो यता शौचालय र स्नानागार प्राय: एकै ठाउँ अर्थात् एउटै कोठामा हुन्छ । तर त्यहाँको चलनमा शौचालय र स्नानागार अलग अलग हुँदा रहेछन् । पहिलोपल्ट देखेकाले होला अचम्म लाग्यो । शौचालयमा पानीको प्रबन्ध देखिनँ । टोइलेट पेपर प्रयोग गर्नु पर्ने । स्नानागारबाट पानी बोकेर जानु पनि कसरी ? आफ्नो त खलखली पानीले धुने बानी । त्यो प्रसाधन कागजको प्रयोगले सिकसिकलाग्दो भइरह्यो । हुन त बिहानै नुहाउने बानी भएकाले चर्पीबाट निस्किएर स्नानागारमा पसेँ । स्नानागारभित्र काँचले बनिएको अर्को स्नानागार । हात-मुख धुने बेसिन अलग्गै । छुँदै हातको मैला पो लाग्ला कि जस्तो कञ्चन । काँचको स्नानागार पस्ने ढोका र बेसिनअघि गलैँचा जस्ता साना साना चकटी ओछ्याइएका थिए । सबैथोक चिटिक्क, सिनिक्क । तल ओछ्याइएका चकटीमा पानी आदि नझरोस् भनेर सतर्क हुँदै पहिले बेसिनअघि उभिएर दन्त मञ्जन र दाह्रीकर्म सकेर बाथरूम पसेँ । तातोपानीका लागि गिजर वा सोलर हिटर राख्ने चलन देखिनँ । आगो बाल्ने ग्यास अनि तातो पानी त्यहाँको नगरपालिकाले प्रत्येक घरमा पाइपद्वारा उपलब्ध गराउँदो रहेछ भन्ने कुरा दिदीबाट थाहा पाएँ । हाम्रो यताको जस्तो सिलिन्डरको चलन छैन त्यहाँ । सानो चिटिक्कको भान्सा घर सबै आधुनिक उपकरणले सजिएको । सुत्ने कोठामा त हिटर छँदै छ, त्यसबाहेक भान्सा घरमा, चर्पीमा, स्नानागारमा पनि हिटर राखिएको रहेछ । जाडोमा हिउँ पर्छ रे । सेप्टेम्बरमा पनि सिरक ओढ्नु परेको थियो । झण्डै १७-१८ डिग्री सेन्टिग्रेड तापक्रम थियो त्यतिबेला । अचेल मोबाइलमा सबै आइहाल्छ । पानीपर्दा १०-११ पुग्छ भनेर दिदी भन्नुहुन्थ्यो । घाम चर्किँदा २२-२३ पनि पुग्छ अरे । तर पनि घरभित्र त बाक्लै लुगा लाउनु पर्ने । फेरि मलाई जाडो धेर लाग्छ । मचाहिँ पातलो सुइटर लाएरै बसेँ । विदेशको ठाउँ बिरामी भइन्छ भन्ने डर पनि त छ ।
दिदीकै घरको छेउमा स्पिटेलाउ भन्ने एउटा मेट्रो स्टेशन छ । दिदी चढ्ने नजिकैको मेट्रो स्टेशन त्यही नै हो । त्यहाँसम्म दुई किलोमीटरको दूरी पर्छ । घरकै नजिक आउगाछी ट्राम स्टेशन रहेछ । ट्रामबाट दुई स्टेशनमा स्पिटेलाउ । त्यही स्पिटेलाउ भन्ने ठाउँमा सहरभरिका फोहोर मैला ल्याइँदो रहेछ । फोहोर मैलाबाट ताप, ग्यासलगायत एक लाख बीस मेगावाट बिजुली उत्पादन गरिन्छ भन्ने जानकारी पाएँ । त्यहाँ उत्पन्न उत्तापबाट बिजुली, तातो पानी, आगो बाल्ने ग्यासलगायत जाडाका दिनमा घर वा कोठालाई न्यानो पार्ने ताप पनि जिल्लाभरिका साठी हजारभन्दा धेर घरलाई त्यहाँबाट वितरण गरिँदो रहेछ । हाम्रातिर भने फोहोर मैलाको सौन्दर्यमा रमाएका हुन्छन् बाटाघाटा, खालि जमीनहरू अनि मानिस हिँड़्नुपर्छ नाक थुनेर । हाम्रातिरका विभिन्न सहरहरूका बीचमा फोहोर मैला थुपारेर बनिएका सुन्दर र रमणीय पहाडहरूको कुरा मैले किन भनिरहनु ?
भिएना सहरको बीचमा फोहोर मैला डढाउने विशाल अगेनो रहेछ । न त दुर्गन्ध छ न छ प्रदुषण । त्यहाँबाट निस्किने त्याज्य ग्यास अर्थात् धुवाँ फ्याक्ने ध्वान्द्रो एक सय छब्बीस मीटर अग्लो छ । कालो धुवाँको मुस्लो होइन तर परिशोधित स्वच्छ ग्यास ध्वान्द्रोबाट बाहिर फ्याँकिन्छ । हो पनि, झण्डै एक महिना बस्दा पनि त्यस ध्वान्द्रोबाट धुवाँ निस्केको मैले देखिनँ । परिवेशको स्वच्छतालाई विशेष ध्यानमा राखिन्छ । त्याज्य ग्यास फ्याँक्ने ध्वान्द्रोलाई पनि ताबा, पित्तल, स्टील आदिका पाता मोरेएर अति सुन्दर पारिएको छ । मास्तिरपट्टि दुईवटा डल्ला छन् । मास्तिर टुप्पाको अलिक सानो र त्यसको केही तलको डल्लो ठूलो । झण्डै हाम्रा हनुमानको गदा जस्तो देखिन्छ त्यो ध्वान्द्रो । पर्यटकका लागि त्यो एउटा आकर्षणको केन्द्र पनि बनिएको रहेछ ।
“मुक्ति ! ढिलो नगर है । आज छोरी काथीको हात माग्न आउने दिन हो । नुहाइसकेर छिटो तयार भएर बस ।”, म सुतेको कोठा थियो डाइनिङ तथा ड्रइङ्ग रूम । त्यसैले भुइँमा लगाइएको ओछ्यानको गद्दा, सिरानी, च्यादर, सिरक आदि सबै उठाएर दिदीको कोठामा लगेर मिलाएर राख्नमा दिदीलाई मैले पनि सहयोग गरेँ । एक्लै बस्ने बानी भएकाले दिदी सबै काम आफैँ नै गर्नुहुन्छ । दिदीका छोरा दुई जना अनि छोरी एउटी । उनीहरू अलग्गै आ-आफ्नै गरिखान्छन् । अठार वर्ष नाघेपछि छोराछोरी आमाबाउसित बस्ने चलन नै छैन त्यहाँ । पखेटा पलाएपछि चराका बच्चा उडेर गए झैँ ।
पारम्परिक बिहे गर्नुभन्दा अघि छोरीको हात माग्न आउने चलन त्यहाँ रहेछ । केटाका बाउ छैनन् । आमालाई यो बिहे मन परेको थिएन । त्यसैले आमा नआउने । ग्रेयर्ग आफैँ आउने साथमा काथी पनि । उनीहरू सँगै बसेको धेरै वर्ष भयो । केटाकेटी बिहे नगरी सँगै बस्ने पुरानो चलन त्यहाँको । त्यो सरुवा रोग अहिले भारत-नेपालमा पनि सरिसक्यो ।
म छिटै नै लुगा लगाएर तयार भएर बसेँ । माया बैनी बिहानै आएर भान्सा घरमा व्यस्त भइरहेकी थिइन् । मायालाई दिदी पनि सहयोग गर्दै हुनुहुन्थ्यो । यस्तै केही काम पर्दा दिदीले मायालाई नै बोलाउनु हुँदो रहेछ ।
बिहेको बेला भएकाले खाना पकाउन मायालाई दिदीले ढुक्कै बोलाउनु भएको हो । बिहान आएर खाना पकाएर उनी जान्छिन् । खाना पकाउने ती बैनीलाई घण्टाको हिसाबले पैसा दिनु पर्दो रहेछ । एक घण्टाको पाँच यूरो । बाथरूम, किचन आदिदेखि लिएर सम्पूर्ण घरको सरसफाइ र पुछ्पाछ र त्यस्तै भारी काम गर्न एउटा नेपाली मानिस आउँदो रहेछ । उसलाई चाहिँ एक घण्टाको सात यूरो दिनुपर्ने । जे होस् ती मायाले खाना राम्रो पकाउँदी रहिछन् । बुढ़ा-बुढ़ी दुवै जना भिएनामा बस्छन् । नेपालदेखि पैसा कमाउन आएका । बुढाचाहिँ पहिले नै आएका अरे । नेपालको काभ्रे घर भन्थे । दलाललाई चौध लाख रूपियाँ ख्वाएर माया जर्मन भिसामा लुक्दै अस्ट्रिया पसेकी । धेरै नेपालीहरू त्यसरी अस्ट्रिया आउँदा रहेछन् । लुक्दै आउँदा कुनै बेला पुलिसले पनि समाउँछ र थानामा हाल्छ । सुनुवाई हुन्छ । बङ्लादेश, भारत, नेपाल आदि ठाउँबाट लुकेर आएका मानिसहरूको सुनुवाई हुँदा शीला दिदीलाई अस्ट्रिया सरकारले दोभाषेका रूपमा बोलाइँदो रहेछ । साथै विशेष गरी बङ्लादेश, भारत, नेपालबाट गैर कानुनीरूपमा अस्ट्रिया पसेकाहरूलाई पुलिसले समाएर थाना ल्याउँदा रहेछन् । त्यस्ता मानिसहरूको कुरा सुनेर अस्ट्रियन पुलिसले विधिवत कानुनी कार्वाही गर्नका लागि उनीहरूको बयान दर्ता गर्नुपर्दो रहेछ । थानामा ल्याइएका मानिसहरूले भनेका कुरा जर्मन भाषामा लिपिबद्ध गर्न पुलिस प्रशासनले दिदीलाई नै थाना बोलाउँदो रहेछ । अहिले दिदीको मूल काम त्यही रहेछ । सो कामका लागि दिदीले राम्रै पारिश्रमिक पाउनु हुन्छ जस्तो लाग्यो।
लोग्ने स्टेइनरको तर्फबाट छोडपत्र गरेकाले कानुनीरूपले स्टेइनरले पनि दिदीलाई मासिक रकम दिन्छ भनी उहाँले भन्नुहुन्थ्यो । नेपालमा मावनवादी आन्दोलन भयो । ज्यानमालको पनि सुरक्षा भएन र भागेर यता आउनु पऱ्यो भनेर धेरैले शरणार्थीका रूपमा बस्न पाउँ भनी गुहार माग्दा रहेछन् । शरणार्थी प्रमाणित भएर शिविर पुग्नु त लुकेर अस्ट्रिया जानेहरूका लागि सौभाग्यको कुरा पो रहेछ । शरणार्थी प्रमाणित भएन भने अस्ट्रिया सरकारले उनीहरूको आफ्नै देश फर्काइदिँदो रहेछ । शरणार्थी भनेर प्रमाणित भयो र साथी भाइसित बस्ने प्रबन्ध छ भने महिनाको दुई सय यूरो गरी सहयोग पनि केही समयसम्मका लागि सरकारले दिँदो रहेछ । केही कालसम्म त्यसरी नै बस्नुपर्दो रहेछ अनि कानुनका केही खुड़्किला पार गरेपछि सरकारले भिसा प्रदान गर्दो रहेछ । अनि मात्रै उनीहरू आफ्नो देश आउने जाने गर्न अनुमति पाउँदा रहेछन् । मैले मायालाई सोद्धा यी कुरा थाहा पाएँको हुँ । नेपालमा उनको एउटा दस वर्षको छोरो पनि छ अरे । सासूसित बस्छ ।
“के के न ठूलो भाग खान्छु भनेर आएँ । अहिले किन आएछु जस्तो लाग्छ दाजु मलाई । छोरालाई सम्झिएर एक्लै रुन्छु । यहाँ जति म दु:ख गर्छु, त्यतिनै दु:ख नेपालमा गरेको भए पैसा कमाउन नसकिने थिएन जस्तो लाग्छ मलाई । फर्किन पनि सक्दिनँ । जमिन बन्धकी छ । त्यो उकास्नु पऱ्यो । त्यसमाथि अझै केही कमाएर लानु पनि पऱ्यो । नभए छरछिमेकी हाँस्छन् ।” मायाले आफ्नो मनको पीर यसरी मेरा अघि पोखेकी थिइन् । दिदीको घरमा कहिले काहीँ सरसफाइ गर्न आउने थापा भाइले पनि माया बैनीले जस्तै आफ्नो अनुभव सुनाउँदै उनले अझ थपे “ आफ्नो यस जीवनबाट म साह्रै बिरक्त भएको छु । भालुको कन्पट भएको छ । भगवानसित एउटै प्रार्थना गर्छु, आउँदो जन्ममा यही भिएनामा जन्मिन पाउँ तर मानिस होइन कुकुर भएर । यहाँ त घरमा काम गर्ने मान्छेले भन्दा कुकुरले धेर स्याहार र माया पाउँछ । कुकुर पाल्नका लागि नै एउटा मान्छे खटिएको हुन्छ । कुकुरको स्याहारमा अलिकति तलमाथि हुनुहुँदैन ।”
ती माया बैनी राती दुई बजे उठेर साइकल लिएर पेपर बाँड्न जान्छिन् । छ बजेतिर घर आएर एकछिन सुत्छिन् । आठ बजेतिर एउटा घरमा काम गर्न जान्छिन् । त्यसपछि बेलुका दिदीकहाँ आउँछिन् । दिदीकहाँ सधैँ होइन । बोलाएका दिन आउनु पर्ने । त्यति खटेर बल्ल बल्ल दिनको बीस पच्चीस यूरो कमिन्छ भन्थिन् । झण्डै नेपालको दुई अढाइ हजार दिनको कमिदो रहेछ । अनि बूढाको पनि त्यस्तै होला । यहाँ जाडामा हिउँ पर्छ । हिउँ परेको बेला बिहान बिहान पेपर बाँड्न धेरै जसो नेपालीहरू नै हुन्छन् । अरूले त्यति धेर जाडो खपेर काम गर्न सक्दैन रहेछन् । नेपालबाट आएका नेपालीहरू भिएनामा हजार बाह्र सयजति होलान् भनी शीला दिदीले भन्नुभएको हो ।
नानी हेर्ने, बूढा बूढी स्याहार्ने, खाना पकाउने, घर सफा गर्ने, होटलमा ब्यारा वा सरसफाइ गर्ने, कुकुर घुमाउने, स्टोरमा, दोकानमा, पेट्रोल पम्प, ड्राइभर, खलासी त्यस्तै उस्तै सानोतिनो कामहरू गर्ने नेपालीहरू धेर छन् भिएनामा । पढाइ लेखाइ भए तापनि अलिक सम्मानजनक जागिर पाउनु बाहिरकाहरूलाई अति दुर्लभ देखिन्छ अरे त्यहाँ । अलिक धेर समय त्यहाँ बिताएर पढे लेखेकाहरू पनि छन् तर थोरै । हुन त माओवादी आन्दोलनको बेलामा धेरै नेपाली युवाहरूलाई देश छोडेर बाहिर जान कर लागेको कुरा सर्वविदितै छ । तर अहिले चाहिँ बाध्यताले भन्दा धेर अयसका चाहनाले विदेश जाने लहड चलेको छ । छिटै पैसा कमाउने सोच, विदेशमा अर्थात् फरेनमा काम गर्ने भन्ने एउटा अहमभाव जाहेर गरेर गजक्क् पर्ने भावना हाम्रो मानसिकतामा प्रबल भएर देखा परेको पाइन्छ ।
“मुक्ति ! म कफी खान्छु । तिमी चियासित के खान्छौ ?” म कफि खान्नँ भन्ने थाहा छ दिदीलाई । म प्रायः चिया नै खान्छु, त्यो पनि रातो ।
“बिस्कुट, ब्रेड जे भए नि हुन्छ ।”, चिया खाइसकेर दिदी र म दुवै मिलेर बैठक र खानेकोठा मिलायौँ । बैठक र खानेकोठा अलग अलग होइन तर एउटै ठूलो कोठो थियो। लेखाइ पढाइ गर्नेखालको बैठक कोठामा राखिएको टेबुललाई ठूलो बनाएर डाइनिङ टेबुलको आकार दिन सकिने राम्रो व्यवस्था रहेछ । रेड र ह्वाइट वाइन, वाइन ग्लास, खाने प्लेट, चम्चा आदि त्यस टेबुलमा सजाएर दिदीले राख्नु भयो । मोटामोटी प्रायः काम सक्दा नसक्दा पश्चिम अस्ट्रिया सल्जबर्गमा जागिर खाने दिदीका ठूला छोरा भास्कर आइपुगे । साना छोरा-बुहारी आएनन् त्यस दिन । इङ्ल्याण्डको वेल्सबाट आएका दिदीका भदा, बुहारी महेन्द्र उपाध्याय र सेरोल उपाध्याय आइपुगे । छोटकरीमा उनलाई प्रायः सबैले मोले नै भन्थे, अहिले पनि पुरानाहरूले मोले नै भन्छन् । शीला दिदीले पनि मोले नै भन्नुहुन्छ ।
दिदीको घर दुईकोठाको मात्रै भएकाले उनीहरू हिजै आएर होटलमा बसेका थिए । गुवाहाटीमा महेन्द्र एमबीबीएस पढ्दा उनलाई मैले देखेको थिएँ । नेपाली साहित्यमा साहित्य अकादेमीले सुशोभित भएकी प्रसिद्ध लेखिका गीता उपाध्यायका साइँला भाइ हुन् महेन्द्र । सायद एमडी गर्न इङ्ल्याण्डतिर लागेका थिए । उता राम्ररी नै भाँसिए । सेरोल नाम गरेकी उतैकी मेम बिहे गरे । बनारसमा आएर सेरोललाई हिन्दु बनाएर बिहे गरेको भन्ने मैले घन्याकघुनुक सुनेको थिएँ । त्यस बिहेमा सायद गीता दिदी पनि जानु भएको थियो । मेरी श्रीमती दिप्ती र मोले दाइहरू दाजु-भाइका नाति-नातिनीहरू र शीला दिदीबारे मैले पहिले नै भनिसकेको छु । पैँतालीस-पचास वर्षपछि मोले दाइसित मेरो भेट भएको हो । मिलनसार हँसिलो, फुर्तिलो मानिस । भाउजू सेरोल पनि त्यस्तै । मैले एउटा कुरा विचार के गरेँ भनेँ, मोले दाइसित म नेपालीमा बोल्दा उहाँले पनि नेपाली नै बोल्नु हुन्थ्यो, तर बोल्दा बोल्दै उहाँ अङ्ग्रेजीतिर गइहाल्नु हुन्थ्यो । यसो विचार गरेँ । वेल्समा उहाँसित नेपाली बोल्ने साथीहरू प्रायः छैनन् होला । त्यसैले होला नेपाली बोल्दा बोल्दै अङ्ग्रेजी आएको । श्रीमतीलाई पनि नेपाली आउँदैन भनेपछि दाइका छोरा-छोरी पनि सबै अङ्ग्रेजी नै बोल्छन् पक्कै पनि । उपाध्याय लेख्ने एउटा नयाँ अङ्ग्रेज जातिको जन्मको सुरूवात हुने हो कि मोले दाइपछि । दाइका छोरा-छोरीहरू पछि गएर नेपालीका सन्तान भन्ने केही रहला र ?
ग्रेयर्ग र काथी आए । शीला दिदीलाई उनीहरूले केही उपहार पनि ल्याएका थिए । दिदीलाई उपहार दिएर हात जोड्दै ग्रेयर्गले छोरीको हात माग्यो । दिदीले हाम्रै परम्पराअनुसार दही चामलको टिको लगाइदिएर ज्वाइँवरण गर्नुभयो, साथमा उपहार पनि दिनुभयो । दिदी र मेरो पहिले नै भएको सल्लाहअनुसार काथीको बिहेका लागि मैले लगेको उपहार पनि त्यतिबेलै टिको लगाएर दिएँ । बिहेको हुलमुलमा दिनुभन्दा त्यहीँ दिएको राम्रो भयो । ग्रेयर्गलाई रातो टिको साह्रै चिलाउँछ भनेर त्यहाँ त्यस दिन सेतो टिको प्रयोग गरिएको थियो । त्यस खुसीयालीमा काथीले श्याम्पेन खोलिन् । त्यहाँको चलन पनि रहेछ त्यो । खाना खाइसकेर निकैबेर गफ भयो । पर्सी हुने बिहेको कार्यक्रमको योजनामाथि पुनर्विचार गरियो । शीला दिदी, काथी र ग्रेयर्ग बोल्दा जर्मन भाषा नै बोले । अङ्ग्रेजीचाहिँ मेरो जस्तै काम चलाउ मात्रै । म, महेन्द्र दाइ र सेरोलसित बोल्दा भने अङ्ग्रेजी । दिदी, म र महेन्द्र दाइ बोल्दा नेपाली । तर अस्ट्रियामा धेरैले अङ्ग्रेजी भाषा जान्दैनन् । भनौँ न, म एक्लै हिँडेको बेला बाटा घाटामा वा मेट्रो आदितिर केही जानकारी लिनु पर्दा भाषाले गर्दा थोरै भए नि अप्ठ्यारै हुने । भारत, नेपालतिरबाट त्यहाँ काम गर्न जानेले जर्मन नसिके काम पाउँदैनन् । जर्मन भाषा अनिवार्यरूपमा सिक्नै पर्ने । बेलुका पख ग्रेयर्ग र काथी फर्किए । उनीहरूको आफ्नै फ्ल्याट छ । अनि एकछिनमा महेन्द्र दाइ र सेरोल पनि होटलतिर लागे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।