साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म शिक्षक अर्थात् विद्यार्थीहरूकाे अनिश्चित भविष्यकाे साक्षी

‘कुनै पनि हालतमा शैक्षिक संस्था बन्द नहुने’ भन्ने अभिव्यक्ति शिक्षामन्त्रीले दिइरहेका थिए । बन्द गर्नु नपर्ने तर्क पनि अचम्म लाग्दो - “शैक्षिक संस्था बन्द गर्दा छोराछोरी घरमा र अभिभावक अफिसमा हुने हुँदा छोराछोरी झन् स्वतन्त्र भई सिनेमा हेर्न जाने, घुम्न जाने हुँदा एकअर्कामा कोरोना सर्ने र फैलने अवस्था आउने भएकोले शैक्षिक संस्था बन्द गर्न नमिल्ने” ।

कोरोना भाइरसले विश्व आक्रान्त पारिरहेको बेला हाम्रो देश नेपाल पनि त्यस भाइरसको प्रभावबाट अछुतो रहन सकेन । पहिलो लहरको कोरना भाइरसको कारण विगत वर्ष चैतको ११ गतेबाट लकडाउन सुरु भएको कारण स्कूल, कलेजका सबै परीक्षा र पठनपाठन प्रभावित भयो । बल्लतल्ल ८ महिनापछि पठनपाठन सुचारु हुनथालेको थियो ।यद्यपि दोस्रो लहरको कोरोना भाइरस युरोपलाई पुनः थिलथिलो पारेर बैशाख महिनाको पहिलो हप्तासम्म आइपुग्दा छिमेकी देश भारतमा एकै दिन लगभग ३ लाख सङ्क्रमित र १८०० भन्दा माथि सङ्क्रमितको मृत्यु भयो । हाम्रो देशमा पनि ठिक त्यही समय दिनकै लगभग २३ सयभन्दा माथि कोरोना सङ्क्रमित सङ्ख्या पुग्यो, र मृत्यदरको ग्राफले पनि उचाइ लिँदै गयो । स्कूल कलेजहरू सुचारु भइरहेका कारण भय र त्रासकै बीचमा नै स्वास्थ्य सावधानी अपनाएर कलेज जानु त परी नै हाल्यो ।

मास्क लगाएर पढाउन त्यति सहज कुरा हैन । स्यानिटाइजर पनि अनिवार्य ब्यागमा राख्नै पर्यो । शिक्षकहरूले मात्र सावधानी अपनाएर पनि भएन, विद्यार्थीहरूको स्वाभाव नै हो शिक्षकहरूको अगाडि भनेको मानेजस्तो गरे तापनि आँखा छलेर आफूखुसी गरिहाल्ने । “स्वास्थ्य सावधानी अपनाओ, भौतिक दूरी कायम गर” भन्यो, तर कहाँ मान्नु ! हुलका हुल बाँधेर सिँढी उक्लेको, सिँढीबाट झरेको अनि अङ्गालोमा बेरिएर हिँडेको देख्दा मन झसङ्ग हुन्थ्यो । कक्षामा अधिकांश मास्क प्रयोग नगरी बसेका हुन्थे । अनि त्यसमाथि बिनामास्कका विद्यार्थीहरूले प्रश्न सोध्दा, बोल्दा अर्काको मुखमा थुकको छिटा पर्ने त्रास ! कति जोखिमपूर्ण वातावरण ! बाफ्रे !

कता कता जोगिनु र कसरी जोगाउनु भन्ने त छँदै थियो, त्यसमाथि छिमेकी नाकाबाट धमाधम हुलका हुल मानिसहरू बिनापरीक्षण नेपाल प्रवेश गर्दै थिए । काठमाडौं कोरोना महामारीको रेडजोनमा पर्ने खतरा दिनदिनै बढ्दै थियो । यस्तो अवस्थामा आफू जोगिएर विद्यार्थीलाई पढाउनुपर्ने चुनौती थियो । कहिलेकाहीँ लाग्थ्यो— ‘हाम्रो देशमा नागरिकको सुरक्षाको विषयमा सरकार किन उदासिन ?’

सुमन वर्षा

‘कुनै पनि हालतमा शैक्षिक संस्था बन्द नहुने’ भन्ने अभिव्यक्ति शिक्षामन्त्रीले दिइरहेका थिए । बन्द गर्नु नपर्ने तर्क पनि अचम्म लाग्दो – “शैक्षिक संस्था बन्द गर्दा छोराछोरी घरमा र अभिभावक अफिसमा हुने हुँदा छोराछोरी झन् स्वतन्त्र भई सिनेमा हेर्न जाने, घुम्न जाने हुँदा एकअर्कामा कोरोना सर्ने र फैलने अवस्था आउने भएकोले शैक्षिक संस्था बन्द गर्न नमिल्ने” । यस्ताे आधारहीन तर्क एउटा जिम्मेवार पदमा बसेर बोलिनुले पनि हामी जस्ता आम मानिसहरूका लागि थप चुनौती थपिँदै गयो । जोखिम मोलेरै जागिर खानुपर्छ भन्ने मनस्थिति बनाउनुपरेको थियो ।

स्कूल कलेजमा धमाधम परीक्षा चलिरहेका थिए,  परीक्षाको तालिकाहरू प्रकाशित भइरहेका थिए । पहिलो लकडाउनको कारण परीक्षा लिनुपर्ने समय धेरै ढिला भइसकेको थियो । विद्यार्थीहरूको शैक्षिक वर्ष नै खेर गएको अवस्था थियो । बि.ए. प्रथम वर्षमा अघिल्लो वर्ष भर्ना गरिएका विद्यार्थीहरूको परीक्षा भएको थिएन । यो वर्षको र अघिल्लो वर्षको विद्यार्थी एकै ठाउँमा पढ्नुपरेकोले जटिल अवस्था थियो । पहिलो लकडाउनबाट भर्खरै बहुरिएको शिक्षाक्षेत्र थला पर्नेगरी पुनः लकडाउन गर्नैपर्ने अवस्थामा पुग्यो । अनि त २०७८ वैशाख ८ गते त्रिभुवन विश्वविद्यालयले सबै परीक्षाहरूलाई स्थगित गर्यो । पठनपाठनलाई भने वैकल्पिक माध्यमबाट सुचारु गर्ने भनी सूचना निकालेपछि हामी शिक्षकहरूले अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने भयो ।

शिक्षक विद्यार्थीको सम्बन्ध पनि गज्जबको हुन्छ । आफूले पढाएका विद्यार्थीसँग एक खालको आत्मीयता गाँसिएको हुने र उनीहरूप्रतिको आफ्नो दायित्वबोध हुने गर्दछ । विद्यार्थीहरूलाई भोलिदेखि घरैबाट पढ्ने सूचनाका साथ आफ्नो फेसबुक आइडी र फोन नम्बर लेखिदिनुको विकल्प थिएन !

नोटिस गरेर घर आउन पाएको छैन, फोन उठाएर साध्य भए पो ! धेरैजसो फोन ११ कक्षामा पढ्ने विद्यार्थीहरूको आउन थाल्यो । ११ कक्षामा पढ्नेहरूको पहिलो अनलाइन कक्षा थियो । स्नातक तहमा पढ्ने विद्यार्थी, त्यसमा पनि बी.सी.ए. पढ्ने विद्यार्थीको भने प्राविधिकरूपमा राम्रो दख्खल भएकोले त्यस्तो धेरै प्राविधिक समस्या रहेन ।

यस क्रममा “म्याम ! जूममा पढ्ने भनेको के हो ? मेरो जूम चलाउन मिल्ने मोबाइल नै छैन । फेसबुकमा रिक्वेष्ट पठाएको हजुरले एक्सेप्ट नै गर्नुभएन ।” भन्नेसम्मका कुराहरू विद्यार्थीहरूबाट आए ।

अब के गर्ने ! जो जसरी उपलब्ध हुन्छन् पढाउन त पर्यो नै । फेरि फेसबुकमा रिक्वेस्ट पठाउनेलाई एक्सेप्ट गरेर साध्य भए पो ! जूमको माध्यमबाट पढाए पनि लिङ्क मेसेन्जरमा पठाउनुपर्ने बाध्यता थियो । जहाँ समस्या त्यहाँ उपाय भने झैँ मेसेन्जर ग्रुप क्रिएट गरेर अनलाइन कक्षा सुचारु गरियो । हाम्रो क्याम्पस प्रशासनले हामीलाई व्यक्तिगत रूपमा नै कक्षा सञ्चालन गर्ने भन्ने आशय व्यक्त गरेको हुँदा ४० मिनेट निःशुल्क पाउने जूम या त इन्टरनेटमा निःशुल्क पाउने अरू कुनै लिङ्कबाट पढाउनुपर्ने थियोे ।

सम्बन्धित पोस्टहरु

विद्यार्थीहरू धेरै समय घरमा बसेर वाक्क दिक्क भएका थिए । पहिलो लकडाउनपछि बल्लतल्ल खुलेको कलेज एकाएक बन्द हुँदा उनीहरूमा पढ्ने छट्पटी स्पष्ट देखिन्थ्यो । यतिसम्मकी बी.सी.ए.का विद्यार्थीले त चाँडोभन्दा चाँडो अनलाइन कक्षाको व्यवस्थापन नगरे भर्ना शुल्कबापतको पैसा फिर्ता गर्नसमेत दबाब दिन थालेका थिए । यस्तो अवस्थामा शिक्षकहरूले आनाकानी वा ढिलासुस्ती गर्ने त गुन्जायस नै रहेन ।

सुरूको एक–दुई  दिन व्यवस्थापन गर्नै लाग्यो । फोन उठाउन भ्याइनभ्याई थियो । साँझ बिहान भन्न पाइएन | खाना बनाउने बेलामा समेत एक हातले काम गर्दै अर्को हातले विद्यार्थीका फोन उठाउँन भ्याइनभ्याई नै हुन्थ्यो । म्यासेन्जरमा म्यासेज रिक्वेस्टको ताँतीले इनबक्स भरिभराउ भएका थिए । अन्ततः अनेक कष्टका बाबजुद सुरू भयो अनलाइन कक्षा ।

सुरू सुरूको अनलाइन कक्षामा टन्नै विद्यार्थीहरूको सहभागिता रह्यो । पढ्ने विद्यार्थी र पढाउने शिक्षक सबै उत्साहित हुनु स्वाभाविक नै थियो । तर अनलाइन कक्षामा पण्डितले पाती पढेको जस्तो शिक्षकले एकोहोरो भट्याइरहने र विद्यार्थीले सुनिरहने । फरक कुरा के भने भौतिक उपस्थितिमा कक्षा गर्दा हल्ला भएर कहिलेकाहीँ पढाउन गाह्रो हुने तर त्यहाँ विद्यार्थीलाई बोल्नभन्दा पनि कोही नबोल्ने, आफूचाहिँ बोलिरहनुपर्ने । अनि भिडियो अफ गरेपछि जोडिएका विद्यार्थीहरू कक्षामा हो कि कता हो ! न उनीहरूको अनुहारको भाव देख्न पाउनु ! कक्षाकोठाको बोर्डमा एउटा शब्द वा वाक्यको चार पाँचवटा उदाहरण लेखेर बुझाउन पाउँदा आफूलाई जुन प्रकारको सन्तुष्टि मिल्थ्यो अनलाइन कक्षामा त्यो सन्तुष्टि कति पनि नमिल्ने । फेरि नेटवर्क कमजोर भएर हैरान ! ‘सिमुलाक्रा’ शब्दको उच्चारण गर्दै गर्दा सि ….. मुला …..क्यक्याक्या भएर आवाज आउँदा कति हास्यास्पद सुनियो ! यस्तो बेला हाँसोको फोहोरा अनलाइन कक्षामा गुन्जिन्थ्यो भने कहिले हाँसेको पनि रोएको झैँ सुनिन्थ्यो नेटवर्क समस्याले । कहिलेकाहीँ त पढाएर लगभग सकिन लागेको हुन्छ, अनि निष्कर्षतिर पुग्दा झ्याप्प बत्ती गइदिन्छ । यद्यपि अरू उपाय पनि थिएन  अतः यस माध्यमबाट अध्यापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?  भन्नेतर्फ भरसक मिहिनेत गरियो । तर इन्टरनेटले निःशुल्क उपलब्ध गराएकोे ४० मिनेट जूम अनलाइनको समयसीमाका कारण प्रभावकारी बनाउनचाहिँ त्यति सकिएन । त्यसमाथि जूमको समय घर्किन लागिसकेपछि बल्लतल्ल अनलाइन कक्षामा छिर्ने विद्यार्थीको प्रवृत्तिले पनि हैरान बनाउँथ्यो । केही कुरामा हतार नै लाग्दैन उनीहरूलाई । बिस्तारै समय घर्किसकेपछि कक्षामा आउने । समयको महत्त्व यो उमेरमा के बुझुन् पनि ! आफूलाई कहिलेकाहीँ उनीहरूको ठाउँमा राखेर हेर्दा चित्त बुझाउनु सजिलो हुनेरहेछ । तर जति चित्त बुझाए पनि समय  त चिप्लिन्छ नै ।

४० मिनेट जोडिँदा जोडिँदै पढाउने विषयवस्तु नसकिएरै समय सकिन्छ । फेरि रिकनेक्ट गर्यो, कोही म फेरि छिर्न मिलेन भनेर फोन गर्छन् त कोही आउट नै हुन्छन् । गुगलमिटमा भने समयको पावन्दी नहुने रहेछ । अलिक पछिबाट त्यसैलाई उपयोग गरिएको छ । त्यसपछि केही सजिलो महसुस भयो ।  हामी शिक्षकहरूलाई टेक्नोलोजीको राम्रो ज्ञान नभएर पनि हुनसक्छ, समस्या आइलागेको जस्तो भएको । पहिलो फेजको लकडाउनबाटै सचेत भएर सबै शिक्षण संस्थाहरूले शिक्षक विद्यार्थीहरूलाई अभिमुखीकरण गराउने वा तालिम दिनुपर्ने हो तर त्यस्तो तदारूकता एकाध प्राइभेट स्कूल कलेजबाहेक अरूले गरेनन् । त्यसैले अनलाइन कक्षा त्यति प्रभावकारी हुन सकेको जस्तो लागेको छैन ।

ठूला कक्षाहरू, एम.ए. र बि.सि.ए.को हकमा भने खास समस्या भएन । तर पनि विद्युत सेवाको कमजोरीले बीचबीचमा बत्ती गइदिने । कहिलेकाहीँ एकछिन पर्खेपछि आउँछ, र फेरि रिकनेक्ट गरेर कक्षा सक्यो । कहिलेकाहीँ भने पर्खिँदा पर्खिँदै अर्को कक्षा पनि छुटिसक्छ । यो पर्खाइ यति दिक्क हुन्छ कि अह्ररो परेर बस्नुपर्ने बाध्यता हुन्छ । कतै जाउँ भने बत्ती आइहाल्छ कि भन्ने लाग्छ, बसिरहुँ बत्ती आउँदै आउँदैन । यस्तो परिस्थितिमा बल्ल थाहा हुँदोरहेछ आफू कतिसम्म नियन्त्रणमा रहेछु भन्ने कुरा । के के कुराको नियन्त्रणमा रहने हो भनिसाध्य छैन । आधुनिकीकरणको चरम आनन्द र चरम दिक्दारीका दिनहरूमा चल्नु नै यो समयको माग हो । चल्नु त पर्यो नै ।

यसरी भौतिक रूपमा वैशाख ८ गतेबाट नै बन्द भएको शैक्षिक गतिविधि वैशाख १६ गतेबाट त नेपाल सरकारले पूर्ण रूपमा निषेधाज्ञा गर्ने सूचना जारी गर्यो । त्यसपछि यातायात, पसल, बजार सबै बन्द भए ।  हाम्रो कलेजका प्रायः विद्यार्थीहरू काठमाडौंवासी भन्दा पनि बाहिरी जिल्लाबाट आउनेहरू छन् । त्यसैले नेपाल सरकारको सूचनाले विद्यार्थीहरूमा हलचल ल्यायो । अनलाइन कक्षामा एकाएक विद्यार्थी घट्न थाले । एक–दुई दिनपछि फेरि फोन आउन थाले — “म्याम ! म त गाउँमा आको छु । यहाँ वाइफाइ छैन । डाटाबाट जोडिन नै मिलेन ।”

अब परेन फसाद ! बल्लतल्ल अनलाइन कक्षा फ्रेन्ड्ली हुँदै थिए विद्यार्थीहरू । गाउँघर, कुनाकाप्चामा इन्टरनेटको पहुँच नभएको, डेटाप्याकबाट कक्षामा जोडिन दूरसञ्चार तथा अन्य सञ्चारका थ्रीजी, फोरजी टावरहरू नभएकाे समस्याका कारण कयौँ विद्यार्थीहरू कक्षामा आउन पाएनन् । नेपालमा कतिपय शिक्षक–विद्यार्थीको पहुँचमा छैन इन्टरनेट । सस्तो सर्वसुलभ इन्टरनेट गाउँगाउँमा पुर्याउन सके यसको प्रभावकारिता बढ्ने थियो । तर खै सम्बन्धित निकायको चासो ! चिन्ता ! विद्यार्थी धेरै हुन् या थोरै शिक्षकले त पढाउनै पर्यो । तर पनि सबै विद्यार्थीको उपस्थितिमा पढाउन जुन सन्तुष्टि मिल्छ, परिस्थिति प्रतिकूल भएर पढ्न नपाएका विद्यार्थीका लागि पनि त्यति नै मन पोल्छ एउटा शिक्षकको ।

वास्तावमा आनलाइन कक्षालाई विज्ञान र प्रविधिको एउटा महत्त्वपूर्ण उपहार पनि मान्नुपर्छ । अनलाइनको माध्यमबाट पठनपाठन सजिलो पनि भएको छ । जुनसुकै ठाउँबाट भौतिक उपस्थितिबिना नै पनि ज्ञान आर्जन गर्न सकिन्छ । कति ठूला ठूला सभा सम्मेनलहरू पनि आनलाइनका विभिन्न माध्यमबाट गर्न सकिएको छ । यसले विश्वको धेरै ठाउँमा छरिए रहेका मानिसहरूलाई एकै ठाउँमा जोडेको छ । कोरोनाको यस्तो भयावह अवस्थामा आनलाइन कक्षा एउटा राम्रो बैकल्पिक माध्यम हो, तर यसलाई प्रभावकारी बनाउन यसको व्यवस्थापन हुन जरुरी छ । किनभने यसरी अनलाइन कक्षा मात्र चलाएर पनि यसको प्रभावकारिता नहुने रहेछ ।सँगसँगै परीक्षा पनि अनलाइनको माध्यमबाट लिने व्यवस्था मिलाउन सकेको भए विद्यार्थीको शैक्षिकसत्र खेर जाँदैनथ्यो ।

बि.ए. पहिलो वर्षका विद्यार्थीहरू २० महिनाभन्दा बढी भयो एउटै शैक्षिक वर्षमा लट्किरहेका छन् । यो शैक्षिक वर्षमा भर्ना भएका विद्यार्थीको पनि परीक्षा लिने बेला भइसक्यो । पुरानो शैक्षिक वर्षकै परीक्षा भएको छैन । कोरोनाको कारण  विकसित देशहरूमा विद्यार्थीको शैक्षिक वर्ष खेर गइरहेकाे अवस्था छैन, किनभने त्यहाँ परीक्षा पनि अनलाइनबाट लिने व्यवस्था छ । हाम्रो देशमा पनि नेपाल सरकार मातहतका शिक्षा मन्त्रालयले पहिलो फेजको कोरोनाले अरू क्षेत्रलगायत शिक्षाक्षेत्रमा पारेको प्रभावबाट पाठ सिकेर अनलाइन कक्षा सञ्चालन, अनलाइन फारम वितरण, परीक्षा फारम भर्न मिल्ने अनलाइन व्यवस्था, साथै अनलाइनमार्फत् नै परीक्षा दिने व्यवस्था पनि मिलाउन सकेको भए आज यसरी शैक्षिक वर्ष खेर जाने अवस्था आउँदैन थियो ।

अँत, आकस्मिक अवस्थामा बैकल्पिक माध्यमको व्यवस्थापन गर्नका लागि छुट्टै निकाय वा कर्मचारीहरूको व्यवस्था गर्नु आवश्यक छ । कुनै पनि रूपमा आइपर्ने महामारी वा अन्य विपद् व्यवस्थापनको पूर्वतयारी गर्नका लागि हाम्रो  सरकार वा सम्बन्धित निकायहरूमा देखिएको उदासिनता र गैरजिम्मेवारीपन पक्कै पनि असंवेदनशीलताको पराकाष्ठा हो भन्दा फरक पर्दैन होला । जसका कारण हामीजस्ता राज्यलाई कर तिर्ने व्यक्तिहरू नै धेरै प्रताडित हुन्छौँ । फेरि यतिबेला हामीजस्ता शिक्षकहरूले विद्यार्थी भाइबहिनीहरूको अनिश्चित भविष्यको साक्षी बस्नुसिवाय के नै गर्न सक्यौँ र !

प्रतिक्रिया
Loading...