
सानैदेखि आमाको ध्यान हामीले गर्ने घरधन्दा अनि मेलापातमा अलि बढी थियो । बिहान चार बजेभित्र उठ्नै पर्ने, बेलुका एघार बजेअघि सुत्न नपाइने । दिनभरि स्कूल जाने भएपछि बिहानबेलुका मेलापात र घाँसदाउरा भ्याउनुपर्थ्यो नै । बिहान चार बजे नउठे या बेलुका एघार बजे अगाडि नै सुते बानी बिग्रिन्छ भनेर आमाको कडा निर्देशन हुन्थ्यो । चार बजे उठ्यो, पँधेरामा गएर चोखो पानी ल्यायो, मकैभटमास पोल्टाभरि हालेर खाँदै हुँगापारि बतपुरतिर पुगेर एकभारि घाँस ल्यायो, तात्तातो भात तिहुँन नभए मोहीसँग खाएर झोला भिरेर स्कूल कुद्यो । एक घण्टा हिँडेर स्कुल पुग्यो ।
दिनभरि पढेर चार बजे छुट्टी भएपछि फेरि दौडिदै घर पुग्यो, र उही मकैभटमास पोल्टाभरि हालेर खाँदै घाँसदाउरामा दौडियो । घाँसपात ल्याइसकेपछि पकाउने तुल्याउने, भातभान्साको धन्दा, फेरि ढिकी जाँतोको धन्दा अनि उङ्दै गृहकार्य । र, बल्ल सुत्यो । “भोलिका खेतालालाई सामल छ । आज त ढिकीजाँतो नगरौँ न !” भन्दा आमा मान्नु हुन्थेन।
“पछि अर्काको घर खान सक्ने हुनुपर्छ । एक दिन गरेन भने बानी बिग्रिन्छ । अल्छे भइन्छ ।” भन्नुहुन्थ्यो आमा ।
“कस्तो हुँदो हो त्यो अर्काको घर, जो खानका लागि यति सानै उमेरदेखि कडा परिश्रम गर्नुपर्ने ?” सम्झेर म चकित पर्थेँ ।
भाइ सानै भएर हो कि आफ्नै घर खाने भएर हो ? मलाई जस्तो सकसपूर्ण परिश्रम गर्नुपर्थेन उनलाई । जाँतो पिन्दा उँंघेर हातोमा निधार ठोक्काएको टुटुल्को, ढिकीमा घान चलाउँदा कुच्चिएको हात अनि गृहकार्य गर्दा कुपीमा डढेको कपाल अझै पोल्छ बेस्सरी ।
बुबा उज्यालो भुइँमा झरेदेखि अँध्यारो नझरेसम्म गाउँघरको कचहरी र समाजसेवामा व्यस्त । भाइबहिनी साना साना, खेतीपाती धेरै ! आमा एक्लैले घाँसदाउरा गर्ने कि खेतालापात हेर्ने, घरधन्दा भ्याउने कि बुबाका इष्टमित्रलाई सम्मान गर्ने अथवा बालबच्चा स्याहार गर्ने ? सकसै भएर पनि होला, उहाँ अत्यन्तै रिसाउनु हुन्थ्यो । अध्यक्षकी श्रीमती भनेर नमस्कार पाएजस्तो सहज थिएन त्यो इज्जत धान्न ।
आमाको दुख देख्न नसकेर सकेसम्म सघाउन खोज्थेँ म पनि । पानीको भल छोपेर रोपाईं गर्नुपर्दा कहिलेकाहीँ खेतालाको अभाव हुन्थ्यो, पर्म लगाउन खोज्दा हाम्रो घरमा लाठे नभएर बाउसे आउन अलि गाह्रो मान्थे । बाउसेको पर्म तिर्न रोपार गएर हुँदैनथ्यो । रोपारले नरोपी अन्न फल्दैनथ्यो, र पनि किन बाउसेको मात्रै त्यस्तो महत्त्व भएको होला ?
बाउसे पर्म आउन नमान्दा मेरी आमालाई छोरी जन्माएको चिन्ता नबल्झियोस् भनेर म बाउसेकै काम (आली ताछ्ने, आली लाउने, दाँदे लाउने, खन्ने आदि) पनि गर्थेँ । छोरीमान्छेले दाँदे साउँदा, हलो जोत्दा खै के के हुन्छ भनेर सुनाउँथे, तर अहिलेसम्म त्यस्तो केही भएको छैन । हुँगापारी हचनारसम्म पुगेर निगालाका भारी ल्याउन होस् या खस्रुका भारी ल्याउन होस्, म छोरामान्छेसरह अग्रसर हुन्थेँ । भिरथाप्ला पुगेर खोल्मेको बडेमानको रुखमा चढेर खोल्मे झार्दा छोरी भनेर हेप्नेको अगाडि संसार जितेजस्तो आनन्द लाग्थ्यो ।

डा. रेणुका सोलु
गाइवस्तुलाई पनि खुवाइरहनु पर्ने भएर होला, घरमा नुन धेरै खर्च हुन्थ्यो । छोरामान्छेहरू त ढाकर बोकेर जिरी, कटारी, हिले धनकुटा कता कता पुग्थे, मचाहिँ जिरी र हलेसी पुग्थेँ नुन बोक्न । नुन लिनचाहिँ भरिया जाओस् भन्नुहुन्थ्यो बुबा, तर सबैको घरमा आफ्नै छोराले ल्याउने हाम्रो मात्रै किन भरियालाई खर्च गरेर आफू कमजोर भएको देखाउने ? भन्ने लाग्थ्यो । र, आफैँ ढाकरमा सातुसामल बोकेर बाटो लाग्थेँ । घरमा लाठे छोरा नभएर दुख भएको कति पनि महसुस नहोस् आमाबुबालाई भन्ने लागिरहन्थ्यो मलाई । आफूले यस्ता काम (जो छोरामान्छेले मात्रै गर्न सक्छ्न् भनिन्छ) सबै गरेको हुनाले पनि होला, छोरी भएकै कारण गर्न नसक्ने काम हुन्छन् भन्ने मलाई फिटिक्कै विश्वास लाग्दैन ।
सानैदेखि जिद्दी स्वभाव । गर्छु भनेसी गर्नै पर्ने, जान्छु भनेको ठाउँमा जानै पर्ने, खान्छु भनेको कुरा खानै पर्ने । गरिबको भोक देख्नै नहुने भकारीको अन्न चोरेर दिइहाल्ने अनि त्यति ठूलो भकारीबाट एक दुई पाथी अन्न निकालेर फेरि जस्ताको तस्तै सम्याइराख्दा पनि आमाले थाहा पाएर सुम्ला निकाल्नेगरी पिट्ने । पिटाइ खाँदा दुखेर मुर्छा परे पनि ‘भोकाएको गरिबले तातो खान पायो’ भनेर आनन्द नै लाग्ने । अचम्मको बानी !
करेसाबारीमा निबुवाजत्रा सुन्तला फल्थे । बाटोमा हिँड्नेहरू टाउकोमाथि हात राखेर थुक निल्दै बसेको देख्न नसकेर टिपेर दिइहाल्थेँ । त्यत्रा बोटमा लटरम्मै फलेको सुन्तलाबाट दुई चार दाना टिपेको पनि आमालाई थाहा भइहाल्थ्यो । सुन्तलाको रस अर्कैले खाने, सुन्तलाभन्दा ठुल्ठूला टुटुल्का उठ्नेगरी पिटाइचाहिँ मैले खाने । कस्तो अचम्मको उपद्रो त्यो उमेरेमा !
स्कूलमा पढाइ नहुने दिन (अतिरिक्त क्रियाकलाप हुँदा) हाम्रो साटो बुबा नै स्कुल जानुहुन्थ्यो । बुबा स्कूलको पनि, वडाको पनि अध्यक्ष भएर पनि होला, हरेक कार्यक्रममा स्कूल जानुहुन्थ्यो । ‘आज घरमा खेताला छन्, मेरा केटाकेटी स्कुल आउँदैनन्’ भन्दा भइहाल्थ्यो । यस्तै पढाइ नहुने दिन पारेर घरमा खेताला बोलाउने अनि काम भ्याउने गर्नुपर्थ्यो । किनकि आमा एक्लैले त्यो सबै सम्भव नै थिएन ।
एक दिन स्कूलमा पढाइ नहुने दिन थियो । पढाइ नहुने भनेपछि बुबा स्कूल जाने हामी खेतालासँग काम गर्नुपर्ने भनेर घरभरि खेताला बोलाउनु भयो । सुन्तलाबोटेको ठूलो खेतमा धान काट्ने काम थियो । मलाई स्कूल जान मन थियो, तर कति रुँदा कराउँदा पनि जान पाइनँ । स्कूलमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुन मन लागेर खुट्टा अडिएकै थिएनन् । कसैगरी पनि जान नपाएपछि खेतालामध्येकै एक जना लुँदे कामीकी स्वास्नीलाई फकाएँ “भोलि एक पाथी कोदो दिउँला, म एकछिन स्कुल गएर आउँछु, आमा खाजा लिएर आइपुगिहाल्नु भयो भने ‘थाहा छैन’ भन्नू ल !”
गरिब हुनुको बाध्यता, बिचरा ती भाउजूले कोदो पाउने आशमा ‘हवस्’ भनिन् । भित्रबाट स्कूलको ड्रेस अनि बाहिरबाट लुङ्गी र टिसर्ट लगाएर म खेतालासँग खेतमा गएँ, र माैका मिलाएर स्कूलतिर टाप कसेँ । त्यो दिन स्कूलमा कविता प्रतियोगिता पनि थियो । लाकुरीको चौतारीमा बसेर कविता कोर्न खोजेँ, सकिनँ । लोचन सर त्यही बाटो भएर आउनु भयो, र उहाँसँग आइडिया सिकेर कविता कोरेँ ।
नारी तिमी नारी भएर बाँच
नारी तिमी नारी भएर हाँस
सस्तो चाहने यो दुनियाँमा
महङ्गो भएर बाँचिदेऊ
कमजोर ठान्लान् ठान्नेहरू
संसार आफैँले हाँकिदेऊ ।
मेरो कविताको पहिलो हरफ यस्तो थियो । मञ्चमा बुबा हुनुहुन्थ्यो । म मान्छेको भीडमा लुकेर बसेँ । बुबाले देख्नुभयो भने ‘खेतभरि खेताला छन्, कस्ले हेर्छ ? काम नगरी बस्लान् !’ भनेर फर्काइहाल्नु हुन्छ भन्ने डर थियो ।
जब मेरो नाम मञ्चबाट गुन्जियो, बुबाको डरले काँप्दै गएर बुबाकै अगाडि मञ्चमा उभिएँ । कविता बाचन गरेँ । मेरै कविता प्रथम भयो । कविता मात्रै होइन, वक्तृत्वकला, दौड, हाइजम्प, लङ्गजम्प जस्ता धेरै क्रियाकलापमा पुरस्कृत भएँ । मेरो प्रगति देखेर एकजना सर धाप मार्दै भन्दै हुनुहुन्थ्यो, “अवसर पाई भने यो केटी नेता, साहित्यकार वा खेलाडी जे पनि बन्न सक्छे ।”
धेरैवटा प्रतियोगिता जितेपछि मोटामोटा नोटबुक र फाउन्टेनपेन पुरस्कार थापेँ । शरीरभरि रातै अबिर, झोलाभरि पुरस्कार सकी नसकी बोकेर एक घन्टा हिँडेर खेतमा पुगेँ । स्कूलबाट घर जाँदा बाटोमै पर्थ्यो त्यो हाम्रो खेत । खेतालासँग आमा पनि धान काट्दै हुनुहुन्थ्यो । घरका मान्छे नभएसी ठगिहाल्ने खेतालाको बानी आधा पनि धान काटेकै रैनछन् । मेरो जितको रङ्ग देखेर खुसीले गदगद हुनुहोला भनेको त त्यही पुरस्कारको नोटबुकले हानेर निकै थला पार्नु भयो आमाले । एकै दिनमा सक्ने मेलो आधा पनि नभएपछि खेतालाको रिस मलाई पोख्नुभयो सायद । खेतालाई पोख्दा फेरि नआउलान् मलाई पोख्दा त के भो र ! आफ्नै घरमा त पोखिने हो । सायद यस्तै सोच्नुभयो होला आमाले ।
कुटाइ त सधैँ खान्थेँ, तर त्यो दिनको कुटाइले धेरै नै चित्त दुख्यो । घरै छोडेर हिँडिदिऊँ कि जस्तो पनि लाग्यो तर कामको बोझले आमालाई रिस उठेको हुनसक्छ भनेर मन बुझाएँ । हुन पनि व्यवहार ठूलो थियो । आँखैले नभ्याउने खेतबारी सम्हाल्नुपर्ने, वस्तुभाउ उस्तै, ससाना केटाकेटी त्यो पनि सबै स्कुल गैहाल्ने, बुबा राजनीतिज्ञ, घरको काम केही नछुने, उल्टो नेताको स्वास्नीको इज्जतसम्म धान्नुपर्ने आमाले नै । नेताकी स्वास्नी र ठेगदारकी स्वास्नी कोही पनि हुनु नपरोस् भनेको सुन्थेँ सानोमा । सायद त्यही चोट थियो होला आमालाई पनि । अलि बढेकी म नै थिएँ, त्यसैले आमाको थर्काइ, व्यथा, पीडा पोख्ने माध्यम पनि म नै थिएँ सायद । त्यसैले त अलि बढी पिटाइ पनि मैले नै खाएँ । पाइलैपिच्छे आमा भनिरहनु हुन्थ्यो, यो पनि जान्नुपर्छ, त्यो पनि जान्नुपर्छ, अर्काको घर खाने जातले ।
म मनमनै भन्थेँ, “भात खानुपर्ने छोरीलाई घर खानुपर्छ किन भनेको होला ? त्यो पनि अर्काको । लाखेस् ! म आफ्नै कमाइ खाने नभई छोड्दिनँ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ पुष २०८२, मंगलवार 










