अनेकौँ आरोहअवरोह सामना गर्दै भए पनि बुबाको अप्रेसन सफल भयो । उहाँको पिसाबथैलीमा जम्मा भएको एक मुट्ठी पत्थर एउटा सिसाको भाँडोमा राखेर  डाक्टरहरूले मलाई देखाउनु भयो ।

अब बुबाको पेटबाट रोगको पोको सिसाको भाँडोमा सर्‍यो, म कति खुसी भएँ ? त्यतिबेला अनुमान गर्नै सकिँदैन । एउटा विश्वयुद्व जितेजस्तै भयो मेरा लागि त्यो समय । अप्रेसन गर्दा पेट चिरेर नौ टाँका लगाइएको रहेछ । दिनदिनै ड्रेसिङ गरिरहँदा घाउ ओभानो हुँदै गएको देखिन्थ्यो र डाक्टर नर्सहरू पनि यही खबरले खुसी देखिन्थे । आठौँ दिनमा टाँका काटेर ड्रेसिङ गर्ने अनि ब्यान्डेज गर्ने काम भयो । अब त बुबा बाँच्नुभयो भनेर हर्षविभोर थिएँ म । मेरी छोरीले बँचाएरै छोडी भनेर होला, बुबा पनि उज्यालो देखिनुभयो । हुन त बुबा कहिले पो अँध्यारो देखिनुहुन्थ्यो र ! मैले बुबालाई सधैँ उज्यालो देख्थेँ ! मेरा बुबा  संसारकै सबैभन्दा उज्याला मान्छे ।

भोलिपल्ट घाउ ड्रेसिङ गर्न टाँका खोल्दा त बुबाको पेट आधा तल आधा माथि छुट्टिएको पो छ । आन्द्राभुँडी नै जिलिङ्जिलिङ देखियो । ओ माइ गड …….. भन्दै सिस्टर आत्तिइन् ।

“के भएछ नानी…” भन्दै बुबाले उठेर हेर्न खोज्नुभयो ।

“बु…..बाssssss” भन्दै मेरो सलले झ्वाप्पै बुबाको घाउ छोपिदिएँ । बुबा आफैँले त्यो दृष्य देख्नुभयो भने बेहोस हुनुहोला भन्ने डर भयो मलाई । सकेसम्म नदेखाउन प्रयास गरेँ ।बुबाको पेटको घाउ त मैले देखेँ र छोपेँ, तर मभित्रको त्यो दृष्य नियाल्दा मुटु पोलेको घाउ कसले देख्ने र छोप्ने ! आफ्नै सहासले मुटु थिचेर छोपिरहेकी थिएँ ।

बुबाको शरीर अत्यन्तै मोटो अनि बोसोयुक्त मासु भएको हुनाले सिलाई जोडिएकै रहेनछ । फेरि डाक्टरलाई इमर्जेन्सी कल गरेर री स्टिच लगाउने कार्य भयो । अब भने हस्पिटलको बसाई झनै लम्बिने निश्चित थियो ।

डा. रेणुका सोलु

बिरामी कुरुवा म । बुबा सुतेकै बेडको तल छेउमा एउटा म्याट्रिस् ओच्छ्याएर भुइँमा सुत्न थालेको पनि महिनौँ भैसक्यो । आफ्नो पनि ठूलै अप्रेसन गरेको घाउ आलै थियो तर बुबाको अगाडि म दुख्नु हुँदैन्थ्यो । र, सन्चो देखिन बल गरिरहन्थेँ ।

थाहा छैन यो कस्तो संयोग हो ! मेरो पनि पेट चिरेर नौ टाँका लगाएको थियो, फेरि बुबाको पनि पेट चिरेर नौ टाँका नै कसरी लगाउनु पर्यो ?

“बुबासँग अनुहार मिलेको छ, भाग्यमानी छस्” भन्थे धेरै । अनुहार मात्र कहाँ हो र ? पेट चिर्नु र बराबरी टाँका लाउनु पनि त उस्तै मिल्यो । खै यो भाग्य हो कि दुर्भाग्य ! पसिनामा मोति खोज्नेलाई थाहा नहुँदो रहेछ । कर्म नगरी भाग्य खोज्नु भनेको त डोकोमा दूध दुहुनुजस्तै त होला भन्ने लाग्छ, मलाई खासै विश्वास लाग्दैन ।

एक दिन त बिरामी बुबा कुर्दाकुर्दै म पनि चक्कर लागेर प्यासेजमै ढलेछु । छेउकाे बेडका बिरामी कुरुवाले बोकेर इमर्जेन्सी लगिदिएछन् । बुबा वार्डको बेडमा, म इमर्जेन्सीको बेडमा । साँच्चै फिल्मजस्तै थियो मेरो त्यो समय । भवितव्यको अनुभव महसुस गर्न पनि त खप्परमा लेखेर नै आएको हुनुपर्छ हाेला नि ! यस्तै भवितव्यले मान्छेलाई खार्ने हो भनेर सकारात्मक सोच बटुल्ने प्रयासरत गरिरहन्छु पलपल ।

केही बोतल स्लाइन चढाएपछि बिस्तारै आँखा खोलेछु । फेरि पुग्नु त बुबाकै छेउमा थियो ।

यसपाली त बीस दिनपछि मात्रै बुबाको घाउको टाँका काट्ने काम भयो । अब चाहिँ साँच्चै मज्जाले ओभानो भएछ घाउ । टाँका काटेको केही दिनपछि डाक्टरको सल्लाहअनुसार बिस्तारै बिस्तारै बुबाले मेरो पाखुरामा समाउन लगाएर अस्पतालकै प्यासेजमा हिँडाउन थालेँ । पटमा दिशापिसाब गराउँदै थिएँ, अब बिस्तारै ट्वाइलेटसम्म लगेर समाएर गराउन थालेँ । बुबा बेडबाट प्यासेजसम्म अनि पटबाट ट्वाइलेटसम्म पुग्न थाल्नुभएको दृष्यले म झन् बलियो हुँदै थिएँ । बुबालाई मेरा पाखुरा समात्न लगाएर बिस्तारै यताउता डुलाउँदा एकअर्काको मुख हेर्दै खुसी हुन्थ्यौँ हामी बाउछोरी । सानोमा बुबाको पाखुरा समातेर गाउँ डुल्दाजस्तै लाग्थ्यो त्यो परिवेश, तर बुबाको पाखुरा समातेर म डुल्दा बुबाको जरिकोटको गोजीमा मिठाई हुन्थ्यो, यतिबेला मेरो पाखुरा समातेर बुबा हिंड्दा मेरो गोजीमा थिएन । पाखुरा त बुबाका नै बलिया र गुलिया पनि है !

एक दिन बुबाले ट्वाइलेटसम्म पुगेपछि “अब आफैँ पिसाब गरेर  निस्किन सक्छु, तँ बाहिरै बस् नानी !” भन्नुभयो । बुबाको आत्मबल बढेको देखेर खुसी हुँदै म ट्वाइलेटको ढोकाअगाडि पर्खिएर बसेँ । ट्वाइलेटबाट निस्किँदा चिप्लिएर  सिढीँमा बुबा पच्छारिनुभयो । ज्यान अत्यन्तै ठूलो भएको हुनाले मैले कसैगरी पनि उठाउनै सकिनँ । अरू मान्छे बोलाएर गुहार माग्दामाग्दै धेरै ढिँला भैसकेछ, बुबाको ढाड बेस्सरी सड्किएछ, उठन बस्नै नसक्ने हुनुभयो ।

अर्को रोग पनि थपियो, रोगसँगै हस्पिटलको बसाइको म्याद । यसो गर्दागर्दै चैत्रदेखि श्रावणसम्म पाँच महिना लामो समय हामी बाउछोरी वीर अस्पतालमै बास बस्यौँ । सोलुखुम्बु आफैँमा दुर्गम जिल्ला, सोलुखुम्बुको पनि कर्णाली भन्थे हाम्रो गाउँ सोताङलाई । त्यतिबेला यातायात र सञ्चारको सुविधा थिएन । शिवटारमा पुगेर लाइन बसेर आ.वा.मा खबर आदानप्रदान गर्नुपर्थ्यो । वर्षाको समय भएर त्यो पनि बन्द थियो । उता आमा र मसिना भाइबहिनीसँग हामी बाउछोरीको सम्पर्क हुने कुनै माध्यम नै थिएन । बाउ पनि मर्नु भयो होला, आत्तिएर रुँदै छोरी पनि मरी होला भन्ने सोचेरै बस्नुभयो आमा उता घरमा, यता हामी बाउछोरी पनि घरमा खबर दिन नसक्दा उस्तै दुखेका थियौँ ।

बलेको आगो सबैले ताप्ने चलन नै हो । त्यतिबेला भाइ सानै थियो । त्यो पनि अब टुहुरो भैहाल्छ भन्ने थियो सबैको नजरमा । अनि म त मान्छेको परिभाषाभित्र पर्ने कुरै भएन, छोरीमान्छे । यस्तोबेला जग्गा नै कब्जा गर्नु भएन अनि यो विपतको बेला आर्थिक सहयोग गरेर कसले तिर्छ र पछि भन्ने सोचे या फुर्सद नै भएन के भयो कुन्नि ! दुई चार जना बुबाका भतिजहरू काठमाडाैँमा लाहुरे (जागिरे) भएका पनि खासै फर्केर आएनन् । आए पनि बाइकको साँचो हातमा हल्लाउँदै हेलमेट नै नखोली यसो आएजस्तो गरेर फर्किहाल्थे । बूढा मरिहाले भने त दागबत्ती दिन समस्या होला, बालखै भए पनि  छोरालाई नै कुसको जनै लाइदिएर भए पनि कर्म गराउनुपर्छ भनेर चियाउन आएजस्तो मात्रै लाग्थ्यो मलाई । नत्र बडाबा बिरामी हुँदा खर्च कसो छ भन्नेसम्म त सोध्नुपर्ने जस्तो पनि लाग्थ्यो । बरू साथीभाइ इष्टमित्रले तिर्नै नसक्ने गुन लाएका छन् । उहाँहरूप्रति सदैव ऋणी छु । यसो हुँदाहुँदै पनि एक दिन आनन्द दाजु आएर बुबासँग गफ गर्दैहुँदै रहेछ, “बडाबा, यो राधा तपाईँकी छोरी होइन, छोरा रहिछे । यत्रो सेवा गरी तपाईँको । त्यो सुन्तलाबोटेको कुलो लाग्ने गतिलो खेत छ नि, हो त्यो खेतचाहिँ यसैलाई पास गरिदिनु अब ।”

मैले सुन्नै सकिनँ । बिरामी बुबा भर्खर तङ्रिन थाल्नुभाछ, किन त्यो खेतको कुरा निकाल्नु ? पूर्ण स्वास्थ्य लाभको कामना गर्नु नि ! किन यस्ता कुरा निकाल्नु हस्पिटलको बेडमा बसेर भनेजस्तो लागिरह्यो अनि भनिदिएँ, “दाजु, मलाई त्यो गतिलो खेत होइन, मेरा बुबा चाहिएर सेवा गरेकी हुँ । खेत खान त छोरा छन्, परदेशमा यौवन फुलाइरहेका छन् कोही । भाइ त सानै छ घरमा, अनि उस्तै परे खेतै खान त बुबाका दाजुभाइ पनि त छन् । मलाई खेतसेत चाहिँदैन बुबा भए पुग्छ । म मेरै पसिना पिएर बाँच्न सक्छु ।”

खै के बुझ्नुभयो ? दाजु चुप लाग्नुभयो ।

भाद्र पहिलो हप्ता बुबा हस्पिटलबाट डिस्चार्ज हुनुभयो । दशैँमा बाउछोरी सँगै घर जाने सल्लाह गर्‍यौँ । मलाई सानैदेखिको रहर, मेरा आमाबुबालाई घुमाउने । बुबा रोगी हुनुभयो, अब घर लगेपछि फेरि ल्याउन सकिन्छ कि सकिँदैन ! बरू आएका बेला नाम चलेका तीर्थस्थलचाहिँ घुमाउनुपर्यो भनेर पशुपति, गुहेश्वरी, बौद्व, नारायणथान, स्वयम्भू, हनुमानढोका, रानीपोखरी, दक्षिणकालीजस्ता स्थानमा घुम्न जाने समयतालिका बनाएँ । सबै ठाउँ घुम्दा खुब खुसी हुनुभाथ्यो बुबा । बुबाको खुसी छामेर म झन् धेर खुसी हुन्थेँ । खुसी लामो समय नटिक्दो रहेछ क्यार ! दक्षिणकाली जाँदा त बसभित्र नै बुबाका आँखा रसाइरहेका रहेछन् । खेतभरि धान लहलह, कोदो त्यस्तै झुलेका, नास्पाति बोटमा लटरम्मै  फलेका, मान्छेका करेसाबारीभरि तरकारी फलेको, घरका आँगनभरि हरिया मकै बिस्कुन सुकाएका अनि खोर्सानीका माला बनाएर घरघरमै झुन्ड्याएका, बाख्रावस्तुले टाट्नाभरि घाँस खाइरहेका, यी सबै देख्दा त बुबा भक्कानिनुभयो ।

“छ महिना भैसक्यो मैले घर छोडेको, घरमा अत्तोपत्तो छैन । मेरै पीरले आमा पनि मर्न आँटी होली । खेतबारी सबै बाँझै होला, मानो रोपेर मुरी उब्जाउने बेला कस्तो दशा लाग्यो यसपाली, जोरीशत्रु सबै हाँस्ने भए नानी” भन्दै बुबा चिन्ता व्यक्त गर्न थाल्नुभयो ।

बुबाको मुहारमा पीडा देख्नै नसक्ने म अत्यन्तै दुख लाग्यो । भोलिपल्ट नै आरएनएसी गएर एक हप्तापछिको  टिकट लिएँ । बुबालाई घर पठाएँ । फाप्लु इयरपोर्ट झरेपछि एक जना भरियालाई झोला बोकाएर बिस्तारै बिस्तारै जानू है बुबा भनेर पठाएकी थिएँ । तर बुबाका इष्टमित्र धेरै अनि फाप्लुबाट घरसम्म पालैपालो झोला बोकिदिँदै दुई दिनमा घर पुर्‍याएछन् । मरेको मान्छे बाँचेर घर फर्किँदाको माहौल बयान गरेर साध्य भएन छ । दशैँमा घर जाँदा पो बेलिबिस्तार सुनाइरहेका थिए सबैले मलाई ।