बर्माको दोस्रो ठूलो सहर – माण्डाले । म केही दिनदेखि यही माण्डाले सहरमा छु । इतिहासकार अनुसार “मिण्डोम” नाम गरेका राजाले स्थापना गरेको हुनाले यो सहरको नाम माण्डाले रहन गएको हो । मिण्डोमले अमरापुरा नाम गरेको अर्को सहरको बदलामा यो माण्डाले बसाएका थिए । माण्डाले बर्माको पुरानो राजधानी सहर पनि हो । यही सहरबाट बर्माले प्रशासन र सैनिक नियन्त्रण हुन्थ्यो तर सन् १८८५ मा ब्रिटिसले आफ्नो अधिपत्य लियो र राजालाई जेलमा राख्यो । अनि माण्डालेबाट रङ्गुनलाइ राजधानी बनायो । यति मात्र कहाँ हो र ! पुनः यो सहर दोस्रो विश्वयुद्धताका जापानीजहरूबाट पूरै ध्वस्त भएको थियो । धेरै धनजनको क्षति भयो तर आजको बर्मा मुलुकको धेरैजसो शिक्षा, स्वास्थ्य तथा व्यापारको हिस्सा यही सहरले लिएको छ ।
सहरको बीच भागको भव्य दरबार, दरबारलाई चारैतिरबाट घेरिएको पानीको तलाउ, अनि तलाउको किनारै–किनार बगेको चिल्लो सडक । सायद विश्वको कुनै पनि सहरमा यस्तो विशेषता पाउन नसकिएला । अझ गौरवको कुरो के छ भने, तलाउको वरिपरि थुप्रै नेपालीहरूको चहल–पहल छ । उनीहरू थोक तथा खुद्रा व्यापार र व्यवसाय गरेर बसेका छन् । माण्डले यस्तो सहर हो जहाँ नेपालीको बाक्लो बस्ती भएकोले उनीहरू व्यापारमा ढुक्क छन् । तर यति मात्रले माण्डाले सहरको परिचय पर्याप्त हुँदैन । ऐरावती नदीको किनारको विशाल फाँट, त्यही फाँटमा लमतन्न बसेको माण्डाले सहर अनि सहरको उत्तरतिर डोको आकारको माण्डाले हिल । किंवदन्ती अनुसार गौतम बुद्धका शिष्यहरूले यही पहाडको टुप्पोमा बसेर बुद्ध धर्मको प्रवचन गरेका थिए । त्यतिबेला त्यहाँ विशाल सभा हल थियो । तर अहिले त्यहाँ पगोडा शैलीको गुम्बा बनेको छ भने त्यो गुम्बामा बर्मेलीको दिनहुँ भीड लाग्छ । त्यो दर्शन गर्ने सबैको मनोकामना पूरा हुन्छ । त्यसकारण त्यो पहाडलाई बर्मेली भाषामा सुटाउप्यू पगोडा अर्थात् इच्छा पहाड पनि भनिन्छ ।
आज म त्यही पहाडको भू–भागमा छु । म मात्र होइन, हामीहरू चार जना छौँ । मेरो मनमा विभिन्न प्रकारका इच्छाहरू छन् । मेरो विभिन्न मनोकामना पनि छन् । तर म मेरो इच्छा पूर्तिको लागि मात्र नभई, मलाई माण्डाले सहरको तातो हावा सही नसक्नुभएको छ । मलाई गर्मीले अत्याएको छ । त्यसकारण एक दिन भए पनि माण्डाले सहरको गर्मी छल्नको लागि म माण्डाले पहाड पुग्नु छ । अझ हिजो मात्र राकेशजीले मलाई भन्नुभएको थियो, “माण्डाले हिलमा वीर गोरखालीको इतिहास लेखिएको छ । बर्मा–जापान युद्धमा गोरखालीले देखाएको बहादुरीको ऐतिहासिक दस्तावेज छ । तपाईं त्यहाँ जानैपर्छ ।”
राकेश नेपाल, अर्जुन भट्टराई, डिलाराम अधिकारी र मसमेत गरी चार जनाको यात्रा अगाडि बढ्छ । राकेशजीले गाडी हाक्नुभएको छ । करिब एक घण्टाको माण्डाले सहरको यात्रापछि आउने हरियो फाँट, फाँटको बीचमा बगेका चिल्ला सडक अनि सडकको दायाँ–बायाँका पसलहरू– दृश्य जति मनमोहक छ त्यति नै रोमान्चित पनि । हामीहरू पसलको चहल–पहललाई काट्छौँ र पहाडको फेदीमा पुग्छौँ अनि गाडीलाई पार्क गर्छौँ ।
पहाडको टुप्पोमा बनेको गुम्बामा जानको लागि लिफ्टको व्यवस्था गरिएको छ । अन्दाजी १०० फिट अग्लो लिफ्ट छ । एकातिर यात्रुहरूको बाक्लो चहल–पहल, अर्कोतिर कमजोर क्षमताको लिफ्ट । त्यसकारण ढोकामा बसेको चौकीदारले टाउको गनी–गनी एकपटकमा १० जनाभन्दा बढी यात्रुलाई लिफ्टमा चढ्न दिएको छैन । केहीबेरको पर्खाईपछि हाम्रो समूहको पालो आउँछ र हामीहरू पहाडको टुप्पोमा बनेको गुम्बाको आँगनमा पुग्छौँ ।
आँगनको मूलद्वारमा लेखिएको छ– “विदेशीको लागि १००० च्याट ।” त्यो साइनबार्डका छेउमा फाट्टफुट्ट मान्छेहरू उभिएको मैले देखेको छु । गोरो वर्णको, भारतीय मूलका तथा कोरियन मूलका पनि देखिएका छन् । म पनि त्यहाँ गएर टिकट लिनुपर्ने हो । तर म साथीहरूको समूहबाट छुट्टिन चाहिनँ । हामीहरूको एउटै समूह, एउटै रोकन, अनि एउटै पोशाक । त्यसकारण म आफ्नो समूहबाट फुत्तबाहिर निस्केर अडमिल्दो हुन चाहिनँ ।
फेरि तत्काल मेरो मन परिवर्तन हुन्छ । मनमनै सोच्छु– “म त विदेशी पो हुँ । मैले टिकट किन्नुपर्छ ।” म गोजीमा हात राख्दै प्रवेश शुल्कको लागि अगाडि बढ्छु । तर जसरी म दोधारमा परेको छु, जसरी मलाई असजिलो भएको छ, त्योभन्दा बढी राकेशजीलाई भएको रहेछ । म प्रवेश शुल्क बुझाउन अगाडि बढेको देखेपछि उहाँ मेरो हात समाउँदै तुरुन्त मलाई रोक्नुहुन्छ र आफूतिर तान्दै कडा स्वरले बोल्नुहुन्छ, “तपाईंलाई कसले भन्छ विदेशी भनेर ! किन पैसा बुझाउन तम्सनुभएको छ ? पर्दैन ! आउनुहोस् । तपाईँ पनि बर्मेली नै हो । सोधपुछ भयो भने म कुरा गर्छु ।”
राकेशजीले “म कुरा गर्छु” भनेर मेरो आत्माबल बढाए पनि त्यो जरुरी छैन । बर्मा पसेदेखि नै म बर्मेली बनिसकेको छु । धेरै ठाउँमा बर्मेलीहरूले नै मलाई बर्मेली बनाएका छन् । यतिसम्म कि ! केही दिन अगाडि माण्डाले सहरमा एक जना बर्मेली व्यक्तिले आफू पुग्ने ठाउँ पत्ता लगाउन नसकेर मलाई सोधेका थिए । मैले ती व्यक्ति पुग्ने ठाउँ बताउन नसके पनि अर्को व्यक्तिको सहयोग लिएर उनको गन्तव्य पत्ता लगाएको थिएँ । त्यही बेलादेखि म पूरै बर्मेली बनेको थिएँ । मलाई गौरव थियो कि म जुन देशमा पुगेको छु, त्यही देशको नागरिक बन्नुमा । १००० च्याट (बर्मेली मुद्रा) नेपाली रुपियाँमा परिवर्तन गर्दा खासै ठूलो मूल्य होइन । १० रुपियाँ जति पर्न आउँछ । तर मैले बर्मेलीमा छकाउन सकेकोमा गौरव गर्छु । उनीहरूलाई अलमलमा पार्न सकेकोमा पुरुषार्थ गर्छु । त्योभन्दा पनि ठूलो पुरुषार्थ त आफू बर्मेली हुन पाएकोमा छ । त्यसकारण म विदेशीलाई लाग्ने शुल्क नतिरी बर्मेली बनेर भित्र पस्छु ।
हाम्रो बौद्ध गुम्बाको अवलोकन गर्ने काम सुरु हुन्छ । तर गुम्बा परिक्रमा गर्न थालेपछि थाहा हुन्छ– त्यो त गुम्बा मात्र होइन रहेछ । ऐतिहासिक दस्तावेज पो रहेछ । बर्मा देशको जिउँदो इतिहास पो रहेछ । वास्तवमा माण्डाले पहाड बर्माको इतिहास मात्र नभई गोरखालीको पनि इतिहास रहेछ ।
“यही हो गोरखाली योद्धाको नाम लेखिएको ठाउँ” राकेशजी गुम्बाको एउटा खम्बालाई सङ्केत गर्दै सुनाउनुहुन्छ । म त्यो खम्बातिर पुलुक्क हेर्छु । खम्बाको पूरै भित्तामा गोरखाली गाथा लेखिएको छ । दोस्रो विश्व युद्धमा जापानीसँगको लडाइँमा वीरगति पाउने गोरखालीको नाम लेखिएको छ । उनीहरूको नाम क्रमसँगै लेखिएको छ । मलाई गर्व लाग्छ, नेपालदेखि त्यति टाढा आएर पनि गोरखाली कहाँ वीरता देखाएका छैनन र ! उनीहरूको पुरुषार्थ कहाँ पुगेको छैन र ! कुनै न कुनै रूपमा उनीहरू बाँचेका छन् । गोरखालीको इतिहास बर्मामा सुरक्षित हुनुभनेको विश्वमा सुरक्षित हुनु हो । म मनमनै विचार गर्छु – यो वीरताको साक्षी देखेपछि कुन नेपालीको आत्म विभाेर हुँदैन होला ?
गुम्बाको आँगनबाट देखिने दृश्य भव्य रूपको छ । ऐरावती नदीको बाङ्गोटिङ्गो बगाइ, त्यही बगाइसँग समानान्तरको हरियो फाँट अनि फाँटको बीच–बीचबाट बगेका चिल्ला अनगिन्ती राजमार्ग देख्दा लाग्छ, बर्माको विकास असीमित छ ।
“ऊ त्यो मोगेक (बर्माको अर्को सहर) जाने सडक हो । त्योसँग फाटेको अर्को सडक भारतको सीमानासँग पुग्छ ।” राकेशजी मलाई देखाउनुहुन्छ ।
तर म मोगेक र भारतको सीमानासम्म जाने सडक मात्र देख्दिनँ । आँखाले भेटेसम्म माण्डालेबाट थुप्रै सडकहरू बाहिर गएका छन् । थुप्रै राजमार्गले यो सहर जोडिएको छ । सडकको किनारमा थुप्रै उद्योग बनेका छन् । सुरुमा नेपालीहरू बर्मा प्रवेश गर्दा पक्कै त्यो सडक हुँदै आएनन् होला । उनीहरूलाई सडक उपभोग मिलेन होला तर त्यो हरियो फाँट, अनि ऐरावति नदीको प्रवाहले पक्कै लोभ्यायो । उनीहरू नेपाल फर्किएनन् । त्यही फाँटमा हराए ।
गुम्बाबाट देखिने दृश्यमा थपिएको छ– बाक्लो जङ्गल । स–साना थुम्काहरूलाई चारैतिरबाट आफ्नो आवरण लुकाएको जङ्गल अनि जङ्गलको टुप्पोमा बनेका पहेँला रङ्गका बौद्ध स्तुप । वास्तवमा दृश्य अद्भुत मात्र नभई अनौठो पनि छ । कसरी बने ती स्तुपहरू ? किन बने ? मनमा धेरै प्रश्नहरू उब्जिन बाध्य हुँदाहुँदै हामीहरू आजको भ्रमणको अन्तिमतिर छौँ ।
माण्डाले हिलको संरचना यस्तो प्रकारको छ कि जहाँबाट हामीले हिँड्न सुरु गरेका थियौँ, अन्त्यमा त्यहाँ आइपुग्छौँ । हाम्रो नजिकै उही पहिलाको साइनबोर्ड छ– “विदेशीको लागि प्रवेश शुल्क १००० च्याट ।” अनि साइनबोर्डको नजिकैको कुर्सीमा उही पहिलाकै व्यक्ति बसिरहेका छन् । तर त्यो साइनबोर्डसँग अब हाम्रो कुनै लेनदेन नै छैन । हामीहरू सिङ्गै गुम्बा अवलोकन गरेर फर्केका छौँ । हाम्रो काम सकिएको छ । तर त्यहीबेला मेरो कानमा वाक्यहरू ठोकिन्छन्– “सर ! तपाईंले टिकट लिनुभयो ?”
उसको हँसिलो अनुहार, मीठो बोली तर म भने त्यो अप्रत्यासित बोलीले खस्र्याङ्ग खुस्रुङ्ग हुन्छु । मरेतुल्य हुन्छु । अघि भर्खरको मेरो गौरव भताभुङ्ग हुन्छ । बर्मेली हुन पाएको खुसी कच्याक–कुचुक भएर भाँचिन्छ । मलाई के गरौँ, कसो गरौँ हुन्छ । मुखबाट बोली तत्काल निस्किँदैन । किनभने मैले टिकट किनेको थिइनँ । मेरो समस्या राकेशजीले बुझिसक्नु हुन्छ र अघि सर्दै बोल्नुहुनछ– “किन ? बर्मेलीलाई पनि टिकट चाहिन्छ र ? विदेशीलाई मात्र टिकट चाहिने होइन र ? हामीलाई किन चाहियो टिकट ?” तर टिकटवाला राकेशजीको कुरा सुन्न तयार छैन । उसले राकेशजीलाई बर्मेली माने पनि मलाई बर्मेली मान्न तयार हुँदैन । मतिर सङ्केत गर्दै बोल्छ– “मैले त उहाँलाई पो बर्मेली होइन भनेको । तपाईंलाई होइन । उहाँले टिकट काटेर जानुपथ्र्यो ।”
“उहाँ पनि बर्मेली हो ।” राकेशजी केही रोमान्चित हुँदै बोल्नुहुन्छ । त्यो व्यक्ति पनि रोमान्चित हुन्छ अनि खिस्स हाँस्दै बोल्छ, “उहाँ बर्मेली हो भने, ल ! सुनौ त उहाँ बोलेको बर्मेली भाषा ! उहाँ कस्तो बोल्नुहुँदो रहेछ ?”
सर्वमान्य सत्य हाे, प्रमाणको लागि कागज बोल्नुपर्छ । कागज–पत्र पेश गर्नुपर्छ । अड्डाअदालतमा कागज पेश गरेको आधारमा सत्य निरूपण हुन्छ । व्यक्ति बोलेर मात्र न्याय पाइँदैन । त्यसको अर्थ लाग्दैन । तर बर्माको माण्डाले गुम्बा त्यसको ठिक विपरीत छ । ती व्यक्ति मलाई आफ्नै पाराको नियम लगाउँछन् । प्रमाणको लागि मैले बर्मेली भाषा बोल्नुपर्ने हुन्छ । तर म बर्मेली बोल्न सक्दिनँ । मलाई बर्मेली भाषामा सवाल–जवाफ त के, एउटा शब्दसमेत आउँदैन । म हार खान्छु । तर राकेशजी अझै हार मान्नु हुँदैन ।
“उहाँ धेरै वर्ष विदेशमा बस्नुभयो । उहाँलाई बर्मेली भाषा बोल्न आउँदैन । केही दिन अगाडि मात्र बर्मा आउनुभएको हो ।”
केही हदसम्म उहाँको भनाई पनि ठिकै हो । बर्मेली भाषा बोल्न नजान्ने व्यक्ति बर्मेली होइन भन्न मिल्दैन । बर्मेली भाषा नबुझ्ने–नजान्ने पनि बर्मेली हुन सक्छन् । तर त्यो जिकिर ममा लागू हुँदैन । न म बर्मेली नागरिक हुँ, न म बर्मेली भाषा बोल्न सक्छु । त्यसकारण म त्यो सवाल–जवाफतिर जान चाहिनँ । मैले नचाहिँदो अडान लिएको मलाई नै मन परेको छैन । आखिर १ हजार च्याट न हो । म उसलाई १ हजारको नोट थमाइदिन्छु । यसमा मलाई कुनै पछुतो छैन । बरु पछुतो छ कि बर्मेली हुन नपाएकोमा । उनीहरूको अनुहारसँग म मिल्न नसकेकोमा ।
जागिर खाएको नाताले प्रवेश शुल्कको अपेक्षा गर्न खोज्नु उसको गल्ती होइन । उसको त्यो कर्तव्य हो । तर ऊ लिन मान्दैन ।
“भै गयो ! तपाईं भित्र पसेर आइसक्नुभयो । बरु सुरुमा लिन सकेको भए हुन्थ्यो । अरू किन… ।”
तर म उसलाई १ हजार च्याट दिन्छु । ऊ गाह्रो मानी–मानी लिन्छ । उसको अनुहारमा चमक छैन । ऊ खुसी छैन । आफू सफल भए पनि हँसिलो छैन । म पनि खुसी छैन । तर हामीहरु खुसी नहुनुका कारणहरू आफ्ना–आफ्ना पाराको छन् । ऊ खुसी नहुनुको कारण मलाई अपराधीजस्तो प्रमाण पेश गर्न लगाएर विदेशी बनाउनु हो भने मेरो बेखुसीको कारण चाहिँ बर्मेलीजस्तो बन्न नसक्नु । साथै मेरो जिब्रोबाट बर्मेली–लवज नआउनु ।
मलाई खेद छ मैले बर्मेलीलाई झुक्याउन सकिनँ ।
अन्त्यमा, म आफ्नै गोरखालीको समूहमा मिसिन्छु र लिफ्ट चढेर तल झर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।