साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कलिला सम्झनाका झिल्काहरू

हाम्रो घर ठूलो टारीखेतको बीचमा छ । रातो माटो र कमेराले पोतेको, टाढैदेखि मानिसको ध्यानाकर्षण गर्दछ । घर वरिपरि भुईँबाट अलि माथि उठाइएको पेटी, घर परतिर छेउमा ढिकी, अलि पर खोल्मा, खोल्मासँगै गाईगोठ र बाख्राको खोर पनि ।

Chovar Blues Mobile Size

आज फेरि सपनामा उही पुरानो ठाउँ आयो । सायद बर्खायाम, पानीझरी, कुलामा पानीको कलकल, हरिया डाँडाकाँडा आदिका धमिला धमिला दृष्यहरू । घरको वरिपरि खेतबारी, खोल्मा, कटेरा अनि घरमा झल्यासझुलुस परिवारका सदस्यहरू आमाबुबा र कुनै भाइबहिनीहरू पनि । एउटा नैराश्यपूर्ण र अनौठो वातावरण; आत्मीय पनि तर अपूर्ण ।

आज मेरो परिवार यो मुलुकबाटै बसाइँ सरेको चालिस वर्षभन्दा बढी भएछ, अनि म आफैँले पनि त्यो जन्मेको गाउँ भौतिक रूपमा छोडेको त्यति नै समय बितिसक्यो । अहिले घर भनेर बसेको कर्मथलो एउटा छ भने बुबाआमा भनेर दर्शनार्थ जाने घर र ठाउँ अर्कै रहेको पनि त्यति नै वर्ष भैसकेछ तर पनि म यस्ता सपना बारम्बार देखिरहन्छु । मेरो सपनाले घरिघरि उही जन्मिएको ठाउँमा पुर्‍याइरहन्छ । मलाई मात्र होइन सम्पूर्ण परिवारलाई मेरो सपनाले त्यो अनकन्टार गाउँमा पुर्‍याएको देख्दा मलाई आश्चर्य पनि लाग्छ ।

मैले जन्मेर सबैभन्दा पहिले सम्झन सकेको घटना भनेको मेरी माहिली बहिनी जन्मँदाको घटना हो । सायद दिउँसाको समय थियो, मलाई र मेरो सानो भाइलाई भुल्याउँदै दिदीले अलि परसम्म खेततिर लैजानुभएको थियो । गाउँका आमैहरू भेला हुन थाल्दै थिए । केही समयपछि फर्कँदा मेरी पहिली बहिनीको यो धर्तीमा आगमन भइसकेको थियो । घर पुगिसक्दा एक जना आमैले दिदीलाई हेरेर “भौमा, तिमी पनि आजदेखि जेठी भयौ” भनेर जिस्क्याएको झल्को मस्तिष्कमा बसिरहेको छ । आठ वर्ष मात्र पुगेकी दिदीलाई ठुली भएको अभास भयो होला उसबेला । अहिले हिसाब गरेर हेर्दा त्यो घटना घटेको पनि ५२-५३ वर्ष भइसकेछ र त्यसपछिका धेरै कुराहरू सम्झनामा आए पनि धेरै घटनाक्रमहरूको भने याद नरहँदो रहेछ ।

डा. शिवराज भट्टराई (भुटान)

हाम्रो घर ठूलो टारीखेतको बीचमा छ । रातो माटो र कमेराले पोतेको, टाढैदेखि मानिसको ध्यानाकर्षण गर्दछ । घर वरिपरि भुईँबाट अलि माथि उठाइएको पेटी, घर परतिर छेउमा ढिकी, अलि पर खोल्मा, खोल्मासँगै गाईगोठ र बाख्राको खोर पनि । बारी त छँदै छैन भने पनि हुन्छ, खेतका केही गराहरू मासेर मकै र सागसब्जी लगाउनुभएको छ आमाले । घर परतिरबाट यसो मास्तिर सानो कुलामाथि कान्छी दिदी (फुपू) को घर छ, लाम्चो आकारको । चिमको घर भए पनि चिल्लो पारेर टालेर बनाएको सुन्दर र सफा घर । भिनाजु (फुपाजु) साह्रै मिजासिलो, हँसिलो र छरितो जिउको । दिदी गोरी, सुन्दर तर अलि गम्भीर स्वभावकी । भिनाजुकी आमा पनि हुनुहुन्थ्यो वृद्ध, छरितो शरीरकी, तर अलि गनगने । हामीलाई आमै छुचीजस्तो लाग्ने । दिदीभिनाजु हाम्रो घरछेउमा बसाइँ आउनुअघि अलि टाढाको बोरिबोटे भन्ने गाउँमा बस्नुहुन्थ्यो । एउटा भयङ्कर कहालीलाग्दो र कल्पना पनि गर्न गाह्रो हुने पाँच सन्तानको एकैसाथको वियोगको पीडाले गर्दा आफ्ना अविभावकको छेउमा बसाइँ आउनुभएको थियो । ती समयका सम्झनाहरूमध्ये हामीसँग सानैदेखि नजिक रहेकी हाम्री प्यारी कान्छी दिदीले भोगेको त्यो तितो घटना म र उस बेलाको हाम्रो परिवारको स्मरणमा गहिरो खत बनेर सधैं रहेको छ ।

sagarmani mobile size

माथिका धुमिल सम्झनाहरू अलिक ठुलो हुदै जाँदा झनै स्पष्ट हुन थाले । धेरै सम्झनाहरूमा पानीझरी, खेतमा हिलो, कुलो र समाहा चलेको, कुहिरो उडेर डाँडाकाँडा ढाकेको, भिजेका गाईवस्तु, खोरमा बाख्रा र त्यहाँबाट निस्कने गन्ध आदि आइरहन्छन् । बेलुका साँझ पर्नेबित्तिकै किथ्रा फट्याङ्ग्रा, झ्याउँकिरीहरूको आवाज सँगै असङ्ख्य जुनकिरीहरू पिलिकपिलिक गर्दै उडेका देखिने जताततै । सम्झनामा गहिरिएर बसेका छन् ती दृश्यहरू ।

त्यस्तै एउटा सम्झनाको झलकमा, एक बिहान उठेर उँभो हेर्दा खेतभरि समाहा चलेका, माथि नालुङ खोलामा पनि ठूलो छाँगो देखिन्छ । घरको सिकुवासम्म लामा लामा गड्यौला सलबलाइरहेका छन् । सायद आज हाम्रामा रोपाइँ छ । सिमसिम पानी परेकाले बुबा अघि नै घुम ओडेर, हातमा कोदाली लिएर कतै समाहा खोल्दै, कतै टाल्दै हुनुहुन्छ । यस्तो दृश्य आँखामा आउँछ, बारम्बार आइरहन्छ ।

रोपाइँको रमझम बालक छँदाको एउटा छुट्टै रमाइलो । चाडपर्व आएजस्तो । गाउँलेहरू भेला भएर बिउ उखेल्ने, मुठा पार्ने अनि मिलाएर राख्ने । ठूलो रोपाइँ हुँदा त अघिल्लो दिन वा रोपाइँको बिहानै डोकामा बिउका मुठा बोकेर खेतका विभिन्न ठाउँमा पुर्‍याइराख्नुपर्ने । रोपाइँमा धेरैजसो त परेली (पर्म) गर्ने हुन्थ्यो । त्योबाहेक हाजिरामा काम गराउने चलन पनि थियो । बनी गरेर खानेले एक पाथी धान वा कोदोमा पनि काम सघाउने गर्थे । हामी साना किशोर ठिटाहरू पनि बाउसे गर्न वा दाँदे लगाउने काममा सरिक हुन्थ्यौँ । ठूलामान्छेले लगाइरहेका दाँदेमा चढ्न तम्सिन्थ्यौँ । असारे भाखाको आवाजले गाउँबेँसी नै गुञ्जायमान हुन्थ्यो । दिन ढल्न लाग्दा आलीका डिलमा वा ढुङ्गामा बसेर चिउरा र सक्खरको खाजा खाने अनि साँझ परेपछि रोपाइँ सकेर घर जाने बेलामा रोपारलाई एक माना चामल दिने चलन पनि थियो । छिमेकीको घरमा रोपाइँमा जानु पनि कम रमाइलो हुन्थेन; हिलो खेल्न, गफ गर्न, एकअर्काको खिल्ली उडाउन (विशेषतः रोपाहारको) । यस्ता सम्झना भने मस्तिष्कमा धेरै ताजा बस्दा रहेछन् । पढाइको सिलसिलामा घरबाट टाढा हुँदा पनि स्कुल बिदामा असारमा हुने रोपाइँमा चाहिँ घरै पुग्ने रहर हुन्थ्यो । असारको व्यस्ततामा आमाबुबालाई पनि केही न केही सहयोग नै पुग्दथ्यो । मङ्सिरमा धान काट्न, विशेषतः जुनेली रातमा अनि दाइँ गर्न पनि उत्तिकै रमाइलो काम हुन्थ्यो । दाइँमा पकाएको चौलानी हालेको रायाको सागको झोलसँग खाएको भातको स्वाद अहिले पनि जिब्रामा अल्झिएझैँ लाग्छ । कता-कता त्यो हरियो कलकलाउँदो सागको बास्ना नाकमा आइरहेझैँ लाग्छ ।

आज पनि यादहरूलाई गहिरो गरी केलाउँदा, ४-५ वर्षको उमेरदेखि करिब १५-१६ वर्षसम्म (जम्मा १० वर्ष) को समय जीवनको केही लामो र अविस्मरणीय अध्याय थियो कि जस्तो लाग्छ । त्यसपछि भने कति बितेका सालहरू पनि स्मृतिबाटै हराइसकेका हुँदा रहेछन् तर जीवनका पहिला करिब दुई दशक धेरै यादगार हुँदा रहेछन् । गाउँमा फैलिएको हैँजाको हाहाकार अनि बालक र वृद्धको त्यसबाट र अरू कारणबाट भएका मृत्युदेखि, महिलाहरूका प्रसव पीडाका चर्चाहरू अनि त्यसबाट भएका मातृ र शिशुका देहान्तका खबरहरू, बिहेका रमझमदेखि पोइला जाने र जारी उठाउनेका कुरा सम्म, जातपात र भाते माम्लादेखि पुराण लगाएर बरपीपलको बिहे गराएका कुरासम्म, कुनै छर्लङ्ग र कुनै धुमिल भएर दिमागमा आइरहन्छन् ।

सन् १९५८ को कुनै महिनामा नेपालको ताप्लेजुङको फावा खोलाबाट हप्ता दिनको पैदल र केही घण्टाको गाडीको यात्रा गरेर बाआमाले साम्ची जिल्लामा पर्ने दोरोखा उपजिल्लामा रहेको निकट उत्तरी भेगमा स्थित म्योना (चलनचल्तीमा सो ठाउँलाई मेनाटार भनिन्थ्यो र हाल त्यो ठाउँको नाम योद्मेलिङ भएको छ) भन्ने गाँउमा बसोबास गर्न थालेका रहेछन् । ठूली दिदी भारतीलाई कोक्रामा बोकेर केही थाङ्ना फोगटा र जिउमा लाएका एकसरो लुगाका भरमा बाटामा अनेक दुःख भोग्दै त्यस ठाउँमा पुग्नुभएको रहेछ । त्यसरी परदेश जान, आफ्ना खुट्टामा आफैँ उभिने हुन प्रोत्साहन गर्ने आफ्ना माइला दाजु पण्डित टेकनाथ भट्टराई पनि पन्ध्र वर्ष त्यही माटामा गौरवमय समय बिताएर पुनः स्वदेश फर्किसक्नुभएको रहेछ । बुबाले आमासहित त्यहाँ बसाइँ जानु अगाडि नै दाजुसँग यहाँ बसोबास गरी कान्छा पण्डितको उपनामले चर्चा पाइसकेको हुँदा हामीलाई त्यहाँ राम्रै स्वागत सत्कार प्राप्त भएछ । धर्मकर्मप्रेमी त्यस ठाउँका सज्जन हिन्दू धर्मावलम्बी गाउँलेहरूले सकेको सहयोग गरे पनि परिवार धान्नलाई स्थायी घर र आफ्नो जमिन जोड्नलाई बर्सेनि घर सर्नुको पीडाले निकै सताएको कुरा आमा अहिले पनि सुनाउने गर्नुहुन्छ । यसै क्रममा दोस्रो सन्तान भएर दाजु रामप्रसाद वि.सं. २०१७ सालमा अनि म तेस्रो, २०१९ मङसिर १९ गते जन्मेका अरे । त्यो ठाउँमा मपछि अरू छ सन्तानलाई आमाले जन्म दिनुभयो । तीन जनाको परिवार पसेर हामी एघार जना भएछौँ ।

मैले माथि उल्लेख गरेको नयाँ घरको निर्माणकालमै म टारीखेतको बीचमा बनेको अस्थायी सेउले कटेरामा हिउँदको दिनमा जन्मँदा आमालाई कति गाह्रो भयो होला ! तर म आज कहिलेकाहीँ त्यो खेतको गरामा पुगेर गर्व गर्ने गर्छु । त्यस्तो अनकन्टार गाउँमा जन्मेर, कुनै खोप र औषधिको अभावमा, धुलो र मैलामा खेली हुर्की, आज यहाँसम्म आइपुग्नु साधारण कुरा त हुनै सक्दैन । त्यसैले पनि हाम्रा भावी सन्तानले साथै त्योजस्तै वातावरण भोगेका वा अरू उत्सुक जोसुकै पाठकले पनि यो मेरो संस्मरणलाई पक्कै रुचाउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।

डिन, रोयल थिम्फू कलेज

प्रतिक्रिया
Loading...