विगतले वर्तमानलाई बोलाउँछ ? या वर्तमानले विगतलाई बोलाउँछ ? यी कसरी भेट हुन्छन् ? त्यो म जान्दिनँ, यिनीहरू कहिलेकाहीँ यसरी भेट हुन्छन् यसरी अँगालामा कसिन्छन् मानौँ उनीहरू बर्सौँदेखि एकअर्कालाई भेट्नकै लागि सारा दुनियाँ भौँतारिएका थिए । सारा दुनियाँ मिलेर उनीहरूलाई भेट्न दिएका थिएनन् । आज उनीहरू अचानक भेट भएका छन् र मस्तसँग एकअर्कालाई अँगालामा बेरेर आवाज र हाउभाउविहीन कुराकानी गर्दैछन् । बन्द आँखालाई झिलिमिलि संसारमा तरङ्गित गराएका छन्, “अहिले र त्यो बालापन” कसरी ? कहाँबाट सुरु गरूँ सोच्दै गर्दा यसरी सुरु गरेँ ।

“जति बेला म आफूले आफैँलाई जान्ने भएदेखि वा आफूले आफैँलाई याद गर्ने हुँदादेखि मेरा बेमोड, बेताल र बेतमासका प्रश्नहरूले मनलाई कहिल्यै छाडेनन् । मन सधैँ केही न केही जान्न खोजिरहन्थ्यो । कुनै चिज, कुनै कुराहरू म महिनौँसम्म कसैलाई नभनी सोचिरहन्थेँ तर उत्तर पाउँदैनथेँ । त्यसैले बिस्तारै मैले आफू बराबरका साथीहरूलाई मनका प्रश्न सुनाउन थालेँ अनि स्कुलमा सरहरूलाई र घरमा बुबालाई पनि प्रश्नको उत्तर सोध्न थालेँ । तब म साथीहरूको नजरमा गफाडी हुँदै गएँ अनि सरहरूको नजरमा नचाहिने हावा प्रश्न गर्ने विद्यार्थी हुँदै गएँ तर ती प्रश्नहरू मेरा लागि हावा थिएनन् नितान्त कुतूहलताका विषय थिए । घरमा बुबाबाट भने धेरै थाहा छैन भन्ने खालको र केही प्रश्नको चाहिँ उत्तर पाउन थालेँ ।

चेतन गलत

मरेका जनावरहरूको मासु खानु हुँदैन भनेर सरले भन्नुहुन्थ्यो तर नकाटी नमारी खसीको मासु कसरी खाने त सर भनेर म प्रतिप्रश्न राख्थेँ अनि रोगले मरेका भनेको भनेर सर भन्नुहुन्थ्यो । ए झुन्डिएर मरेको खसी खान त हुन्छ है सर भनेर म फेरि सोध्थेँ अनि सर रिसाउनुहुन्थ्यो मचाहिँ चुपचाप । अर्को कलास फेरि सुरु मकै, गहुँ लगायत विभिन्न बालीका नामहरूका बारेमा । सर मकैलाई गहुँ, गहुँलाई मकै भन्दा के हुन्थ्यो र ? किन मकैलाई मकै, गहुँलाई गहुँ नै भनियो ? भनेर म भन्थेँ प्रत्युत्तरमा नचाहिने कुरा नगर भन्दै सर झर्किनुहुन्थ्यो । हाम्रो दिमाग टाउकामा हुन्छ भनेर सर भन्नुहुन्थ्यो । म सोच्थेँ कि के थाहा पछाडि ढाडमा पो हुन्छ कि अनि सरलाई भनिहाल्थेँ ? चकले झटारो हान्दै बढी जान्ने हुन्छस् ? भन्दै सर कराउनुहुन्थ्यो ।
सरसफाइमा ध्यान दिनुपर्छ नत्र भने जुम्रा पर्छ भनेर सर भन्नुहुन्थ्यो । म निकै बेर सोच्थेँ, अचम्म लाग्थ्यो अनि भन्थेँ सर! फोहोर शरीरमा जुम्राको ठाउँमा कमिला किन बन्दैन ? यस्ता नचाहिने कुरा नगर म जे भन्छु त्यो सुन भन्दै सर कड्किनुहुन्थ्यो । सर सुगालाई मान्छेले पाले मान्छे जस्तै बोल्ने तर कुखुरा मान्छेसँगै बसेर मान्छेजस्तो किन बोल्दैन ? म नयाँ-नयाँ कुरा सोध्थेँ तर मैले पढाउन सम्म तँ बाहिर जा कि त चुपलाग् भनेर सरले भन्नुहुन्थ्यो ।

यता घरमा भैँसीले मलाई हान्थ्यो आमाबुबालाई हान्दैनथ्यो । यो भैँसीले किन हान्छ मलाई म आमालाई सोध्थेँ तँ सानो भएर भनेर आमा भन्नुहुन्थ्यो, मभन्दा धेरै सानो कुखुरालाई फेरि भैँसी हान्दैनथ्यो म छक्क पर्थेँ । कहिलेकाहीँ गाउँको बाटो हिँड्दा हिँड्दै टक्क रोकिन्थेँ, यो बाटाबाट त्यो घर, त्यो बाटाबाट त्यो धारामा जाने बाटो पहिले मलाई कसले चिनायो, खुब घोरिएर सोच्थेँ तर न कसले चिनायो सम्झिन्थेँ न कसरी चिने सम्झिन्थेँ अनि बेलाबखतमा फेरि हिँड्दा हिँड्दै जो आफैँलाई अचम्म लाग्थ्यो र टक्क रोकिन्थेँ, म कसरी हिँड्दै थिएँ ? अनि कसरी रोक्किएँ ? मेरा यी खुट्टा कसरी चल्छन् ? यो हात नचली यो औँला कसरी चल्छ ? खुट्टा उचाल्थेँ, यो खुट्टो कसरी उचालियो ? बेला-बेला आफ्ना प्रश्नले म आफैँ दिक्क हुन्थेँ ?

अनि बुबालाई सोध्थेँ र यस्ता कुरा योगीहरू जान्छन्, यस्तो जान्न योगी हुनुपर्छ, मलाई थाहा छैन बाबु भन्नुहुन्थ्यो । योगीले कसरी जान्छन् बुबा ? म कान ठाडो पर्दै सोध्थेँ । बाहिर खोजेर केही पाइँदैन, सब आफूभित्रै हुन्छ । उनीहरू आफूभित्र खोज्छन् भन्दै बुबाले भन्नुहुन्थ्यो ।

पहिला मलाई लाग्यो योगीहरू ठुला-ठुला ऐनैऐना भएको ठाउँमा बस्दा हुन्, हाम्रो घरमा सानो एउटा ऐना त छ, त्यसैले बुबाले नजान्नु भएको होला तर म त सानो छु, सानै ऐना हेरे पनि अलिकता जान्छु कि भनेर पाँच छ दिन सकी नसकी आँ गर्दै मुखभित्र हेरेँ । आँखा औँलाले तन्काउँदै ठुला गराउँदै आँखाभित्र हेरेँ । यसरी आफूलाईँ खुब ऐनामा हेरेँ तर केही जानिनँ अनि फेरि लाग्यो योगीहरू ऐनामा हेरेर होइन नाङ्गै भएर आफूलाई हेर्दा हुन्, बुबा नाङ्गै भएर आफूलाई हेर्ने ठाउँ नपाएर नजान्नु भएको होला, होला होइन यो पक्का हो भन्ने लाग्यो अनि बेलाबेला ट्वाइलेटमा गएर पूरै नाङ्गै भएर नाइटाको प्वालदेखि घोप्टो परेर घुमेर बल्लतल्ल मलद्वारको प्वालसम्म हेरेँ तर केही जानिनँ ।

“लाग्यो म योगी हुन सक्तिनँ ।” मनमा प्रश्नहरू थपिँदै गए, प्रश्न नगरी बस्न सकेन मन । सरहरूको गाली साथीहरूले दिएको ‘गफाडी’ उपनाम को वास्ता नगरी, सरले पढाउँदा पढाउँदै भव्य रूपमा प्रश्न गर्न थालेँ ।

स्कुलमा प्रायः मेरो प्रश्नको उत्तरमा सरहरू गाली नै दिनुहुन्थ्यो, कहिलेकाहीँ कुनै सरले कुनै उत्तर दिनुभयो भने सरको उत्तरले चित्तै बुझ्थेन । अनि घर आएर बुबालाई प्रश्न गर्थेँ, बुबाले त्यही उत्तर पृथक् तरिकाले दिनुहुन्थ्यो । उत्तरले केही मन बुझ्थ्यो तर बुबा अर्को स्कुल पढाउनुहुन्थ्यो ।

त्यसैले बिस्तारै मलाई के भान हुँदै गयो भने सरहरू स्कुल जाँदा र घर बस्दा फरक-फरक कान फेर्ने गर्दा रहेछन् ।

अनि म, घरमा बुबाको र स्कुलमा सरहरूको कान लुकी लुकी हेर्न थालेँ तब फेला पारेँ बुबाको कान अलि ठुलो र स्कुलमा सरहरूका कान अलि सानाजस्ता थिए । मेरो शङ्का प्रमाणमा बदलियो । म विश्वस्त भएँ स्कुलमा र घरमा लगाउने कान फरक-फरक हुने रहेछ भन्नेमा ।

बुबाले स्कुलमा लगाउने कान घरमा हामीलाई देखाउनुहुँदो रहेनछ । यो कुरा घर दाइ, दिदी, आमा कसैलाई थाहा छैन तर मलाई थाहा भयो भन्ने सोचेर म बहुत खुसी भएँ । अनि केही दिन लगातार घर एक्लै भएका बेला बुबाको कोठामा गएर दराज, ऱ्याक, ओछ्यान, इस्टकोटको गोजी, पाइन्टको गोजी जताततै उधुम बुबाको कान खोजेँ तर कान कतै भेट्टाउन सकिनँ, लाग्यो सरहरूले स्कुलमा लगाउने कान स्कुलमै राख्दा रहेछन् ।

सरहरूको यति गोप्य कुरा बुबालाई सोध्न त हुँदै हुँदैन अनि बुबाको गोप्य कुरा अरूलाई भन्न नि हुन्न, भने पनि बुबाले थाहा पाएर गाली गर्नुहुन्छ भन्ने डर लाग्यो अनि अरू कसैलाई पनि भनिनँ ।

एक दिन क्लासमा सर आउनुभएको थिएन, म एक्लै बाहिर बसेको थिएँ, हेडसर आउनुभयो । हतारमा भित्र जान लागेको थिएँ यत्तिकैमा सरले बोलाउनुभयो; गएँ । जा अफिसमा गएर हाजिर कपी लिएर आ भनेर अह्राउनुभयो । म दौडिँदै अफिस गएँ तर अफिसमा कोही थिएन । त्यही मौकामा हाजिर कपी भुलेर हतार हतार टेबुल दराज जताततै सरहरूको कान खोज्न थालेँ तर कुनै सरको एउटा मात्र पनि कान भेट्टाउनँ सकेको थिइनँ । भेटिनस् त्यहीँ सरको टेबुलमा छरे भन्दै ढोकाबाट साथीले भन्यो । म झसङ्ग भएँ अनि टेबुलको हाजिर कपी उचालेर क्लासमा गएँ । हेडसरका कान हेरेँ बुबाका घरका जत्रै कान थिए । अनि बाहिर बसेको देखे सधैँ गाली गर्ने सरले आज गाली पनि गर्नु भएन । लाग्यो सरले आज घरको कान नफेरी आउनुभएछ ।

साँझ घर जाँदा घर आमा हुनु हुन्थेन । दिदी र दाइ स्कुलबाट आइसकेका थिएनन् । बुबाको जकेट र पाइन्टमा आँखा लगाएँ भने मनचाहिँ बिहान देखेका हेडसरका कानमा । कतै आज बुबाले पनि स्कुलको जकेटमा कान भुलेर त जानु भएन भन्ने सोच्दै फटाफट जकेट र पाइन्ट निकालेँ अनि गोजी खोतल्न थालेँ । जकेटको भित्री गोजीमा कान होइन पैसा भेटियो । पैसा खातमा राखेर बाहिरी गोजी खोतल्दै थिएँ, ल बाई भोलि भेट गरौँला भन्दै गरेकी दिदीको आवाज आयो हतारमा जकेटको पैसा पाइन्टको गोजीमा हालिदिएँ र कपडा पहिलेकै ठाउँमै राखिदिएँ अनि दिदी नआउँदै आँगनतिर गएँ ।

एकछिनमा बुबा पनि आउनुभयो । बुबाका कान हेरेँ सधैँ हुने कान थिए । पाइन्टमा रहेछ क्या आज भेटाउने रहेछु नि दिदीसँग खुब रिस उठेको थियो ।

यत्तिकैमा क्लास बढ्दै गयो तर कहिल्यै कुनै सरले मेरो प्रश्नको उत्तर त्यो मलाई थाहा छ वा छैन भनेर कहिल्यै भन्नु भएन त्यसैले जान्ने कुरामा मलाई बुबाको बहुत धेरै भरोसा लाग्दै गयो अनि सरहरू प्रति भरोसा टुट्दै गयो ।

जब म यसरी आजभोलि मेरो विगत सम्झन्छु, म आफूलाई कतै दोषी भेट्दिनँ । म मेरो बालापनमा जे सवालको जबाफ जान्नँ चाहान्थेँ र अझै जान्न सकिनँ ती अझै जान्न मन लाग्छ, खोज्न मन लाग्छ र कसैलाई सोध्न मन लाग्छ ।

मेरो विगतलाई मैले अझै स्विकारेर अझै सही भन्दा तपाईँलाई म साँच्ची हावा नचाहिने बकबासको कुरा सोच्ने मान्छे लागेको छ ? त्यसो भए यो पक्का हो, तपाईँले आफ्नो मनको हृदयको आवाज अझै सुन्न जान्नु भएको छैन र अहिलेसम्म आफ्नो हृदयको आवाज सुन्नु पनि भएको छैन । आफ्नै हृदयको आवाज नसुन्नुभएको तपाईँले अरूको हृदयको आवाज त कसरी सुन्नुभएको छ होला र ? तपाईँले केवल आवरणको कानले आवरणको समाजको आवाज सुन्नुभएको छ ।”

म आजभोलि बुझ्दै छुँ, न मेरो बुबाले कान फेर्नुहुने रहेछ न त स्कुलका सरहरूले नै ! चस्माजस्तो फेरेर लगाउन मिल्ने चिज रहेनछ कान । कारण त मेरा प्रश्नहरू बुबाले कानले होइन, मप्रति विश्वस्त भएर मेरा प्रश्नका आवाजहरू हृदयले सुन्नुहुने रहेछ अनि सरहरूले मेरा प्रश्नका आवाजहरू मप्रति विश्वास नगरेर हावाको संज्ञामा आवाजको प्रश्नमात्र सम्झिएर कानको आवरणले सुन्नुहुँदो रहेछ ।

मलाई अझै यसरी हावा हुँदै आफ्नो हृदयको आवाज सुन्ने कानलाई सक्रिय बनाउन मन लागिरहेको छ ।