आँखालाई  आम लाग्ने दृश्यहरूले प्रायःजसो मनलाई  झस्काइरहन्छन् । जब दुई जना छोरीमान्छे सँगै स्कुल/क्याम्पस गइरहेको देख्छु, म प्रत्येक दिन सोच्छु समाजले फड्को मारिसक्यो । जब विवाह भए नभएको भन्दा पहिला पढाइबारे प्रश्न सोधिन्छ छोरीलाई, ती प्रश्नको भरपुर जबाफ आउनुपर्छ जस्तो लाग्छ ।

कागज र छोरीको सम्बन्ध धेरै पुरानो छ हाम्रो समाजमा । प्रायःजसो सेतो कागजसँग छोरीको तुलना भइरहन्छ तर सेतो कागजले जस्तो असीमित सम्भावना छोरीहरूले पनि बोकेका हुन्छन्, यो स्विकार्न अलिकति समय अझै पनि लाग्दछ । तथापि कागजप्रतिको जनभरोसा भने यथावत् नै छ ।

कागजहरूले ठाँउअनुसार सधैँ आफ्नो धर्म निभाएका पनि हुन् । हुलाकीको झोलामा बसेर चुपचाप यात्रा गरे, कुनै खबर अप्रिय भनेनन्, लेखिएको कुनै जबाफ गलत भनेनन्, कुनै समाचार तथ्यहीन साबित  गरेनन्, बर्सातमा भिज्न सक्छु मलाई डुङ्गा बन्नु छैन भनेनन्, हावाहुरीमा चिलगाडी बन्नु छैन भनेनन् । जन्मदर्ता, बिहेको निमन्त्रणा, विवाहदर्ता, सम्बन्धविच्छेद, मृत्युदर्ता, अंशबन्डा यी र यस्तै कति-कति गोप्य राखिनुपर्ने अवस्थामा पनि किन यति भरोसा गरेका मान्छेले कागजहरूले कहिल्यै जान्न खोजेनन् ।  आयव्यय, पापधर्म, अपराध र सजाय, क्षतिपूर्ति, लगन,योग, कुण्डली सबै-सबै जिम्मा लगाइदिए कागजहरूलाई । कागजको यही विश्वसनीयताले मन जितेर हुनुपर्छ मान्छेले पैसा पनि कागजकै बनाए तर छोरी स्वयंले कागजै बनेर यी सबै सहनशीलता नअँगालेका भने होइनन् ।

जात, औकात, भाग्य, भविष्य, योग्यता सबै-सबै कुराको रहस्य बुझेका छन् कागजहरूले । अवचेतन मनमै कागज भाग्यविधाता हो लागेर हुनुपर्छ पुरानै सहकार्य छ जिन्दगी र कागजबीच । कागजहरू कतिपटक प्रेमविमान र डोली बनेका छन् आफ्नै अगाडि ।

कल्पना जाेशी

जब स्कुलको ग्राउन्डमा बसेर कागजका चिलगाडीहरू उडाएर “कसको बिहे कति टाढाको ठाउँमा जान्छ होला?” भन्ने आकलन गरिरहन्थ्यौँ, सधैँ मेरो बिहेका लागि प्रयास गरेको चिलगाडी या त मेलको रूखमा गएर अड्किन्थ्यो या त फर्केर मेरै अगाडि झर्दथ्यो । सल्ली( उसको लम्बाइ स्कुलभरिमा सबैभन्दा बढी हुनाले सल्लाजत्रै भनेर सल्ली भन्थ्यौँ) सधैँ हाँसेर भन्थी, “तँ चार कक्षासम्म पढ्दा पनि बिहे हुँदैन होला तब डोली फर्केर यतै आउँदैछ ।” त्यतिबेला कुनै  यान प्रक्षेपण असफल भएजस्तै महसुस हुन्थ्यो ।

सधैँ रहर लागेको र कहिल्यै पूरा नभएको सपना हो, केटी साथीहरूसँग स्कुल जाने सपना अर्थात् कागज र छोरीहरू सँगसँगै हिँडेको  देख्ने । सबै विद्यार्थीहरू गाउँकै हुन्थे । गाँउबाट ५/७ मिनेटको दूरीमा अवस्थित थियो स्कुल ।  म मात्रै हुन्थेँ दुई नदी तरेर एक पहाड उक्लिएर स्कुल जानुपर्ने । म सधैँ बुबासँगै स्कुल जाँदा  अफ्ठ्यारो र लाज मानिरहन्थेँ । साथीहरूका अगाडि बुबा भनूँ कि सर भनूँ? आँखिर जे भने पनि हाँस्ने काम नै हुन्थ्यो उनीहरूको । कहिलेकाहीँ मलाई  पनि लाग्थ्यो बुबासँगै स्कुल आऊँ तर फेरि झोला बुबालाई बोकाउनु पनि एक हिसाबको भावनात्मक जनयुद्ध नै रहेछ ।

जतिबेला बाटामा भेटिएजति अभिभावकलाई बाटामै, नभेटिएकाहरूलाई घर-घरमा गएर बुबाले छोरीलाई स्कुल पठाउन आग्रह गर्नुहुन्थ्यो, सबैभन्दा बढी खुसी म हुन्थेँ आज फेरि केटी साथीहरू भेटिन्छन् भनेर तर त्यतिखेर पठाउने सहमति जनाए पनि केही न केही काम आइलागेको बहाना बनाएर पठाउँदैनथे । अभिभावक भेलामा नियमित स्कुल पठाउने भनेर सही छाप नै गर्न लगए पनि कहिल्यै काम गरेनन् ती कागज र सही छापहरूले । कहिलेकाहीँ म एक्लै चिलगाडी उडाउथेँ ती कागजहरूले ।

सल्लीको बिहेको कुरो चलेदेखि उसले स्कुल जानै छोडिदिई । म स्कुलमा प्रायः  कक्षामा पनि एक्लै केटी हुने भएकाले मलाई जानै मन नलाग्ने ठाँउ स्कुल थियो । म घरमै पढ्ने र परीक्षा मात्रै दिने जिद्दी गरिरहन्थेँ । कहिलेकाहीँ स्कुल छुट्टी भएर फर्किँदा बाटामा डोकाभरि घाँस एकदुई मुठा डोकामाथि बोकेर फर्किरहेकी सल्ली भेटिन्थी र भन्थी, “२०/२५ माना चामल पर्ने धान कुटेको अघि गाउँका सबै केटी मिलेर, अब गएर गहुँ पिस्नुपर्छ अनि साँझ त गोठमा सबै केटीहरू भेटिन्छन् ।”  त्यतिन्जेल बुबाले बोलाइसक्नुहुन्थ्यो छिटो अघि बढ्न भनेर संसारको सबैभन्दा अभागी लाग्थ्यो आफूलाई ।

कहिले सल्ली मास्टरदाइको घरको पेटीमा बसेर प्रफुल्ल मुद्रामा देखिन्थी र सुनाउँथी बिहेको कपडा सिलाउँदै गरेको अपडेट ।  बिहेको दिन बिदाइ हुँदा लय मिलाएर डाँको छोडेर रुनुपर्ने दृश्यको अभ्यास कहाँसम्म पुग्यो भनेर । “हामी गाउँका सबै केटीहरू आजकल हाम्रै गोठमा सुत्छौँ । तँ पनि आज यतै बस् न अनि मैले अभ्यास गरेको हेर्नू नि” यी शब्दहरू सकिन नपाउँदै स्कुलको घण्टी बजिसक्थ्यो कहिले त लाग्थ्यो म पनि घरमा गएर भनूँ, “बुबा म बिहे गर्छु ।”

सायद मेरो त्यही भावना बुझेर हुनुपर्छ मलाई बुबाले द्वारिकादेवी ठकुरानीका बारेमा लेखिएको एक लेखसहितको किताब दिनुभयो । डोटीको विकट ठाँउ, जुनौलीको  ब्राह्मणपरिवारमा जन्मेर पनि आफ्नो शिक्षाप्रतिको लगावलाई पूरा गर्न आफ्नै दाइभाइसरह कौमुदी पढेको, आमाले छोरी बिग्रेर पोइल जाने डरले बोलचाल नै बन्द गरिदिँदा पनि पढाइलाई निरन्तरता दिएको र आफ्नो सपनाको लडाइँ आफैँ लडेर वि. सं.  २०१५ सालको जननिर्वाचित सरकारमा नेपालकै पहिलो महिला मन्त्री बन्न सफल भएकी ठकुरानीको जीवनको अरू धेरै सङ्घर्ष र सफलताबाट म अत्यन्तै प्रभावित भएँ । केही समयका लागि आफूलाई ‘कक्षा ४ की द्वारिका’ सोच्दथेँ तर उनको अन्तर्जातीय प्रेमविवाहको किस्सा पढेपछि भने बिहे त यता पनि जरुरी नै रहेछ लागिरहन्थ्यो ।

कक्षा ५ मा भने मैले एउटी केटी साथी भेटेँ । उनी महिनाको एक गतेदेखि ६ गतेसम्म मात्रै विद्यालय आउँन पाँउथीन् ।  सरकारले शिक्षामा छात्रा सहभागीता बढाउने उद्देश्यले प्रत्येक महिनाको सात गते पौष्टिक आहार बाँड्ने कार्यक्रम लागु गरेको थियो । जसमा विद्यालयमा खाजाको रूपमा बनाउँन पिठो र घ्यु अनि प्रत्येक छात्रालाई ३ लिटर भट्मासको तेल दिइने गरिन्थ्यो ।  महिनाको सुरुदेखि नै हाजिरी पूरा गरेको भन्ने दाबी गर्न मात्रै विद्यालय  पठाइन्थ्यो उसलाई । मलाई  फेरि ८ गतेदेखि  महिनाको अन्त्यसम्म विदा भइदिए हुन्थ्यो लाग्थ्यो ।

मैले  कक्षा ६ मा पढ्दा फेरि एउटा मिल्ने साथी बनाएँ उनले धेरै दिन स्कुल जान पाइनन् । पौष्टिक आहरको तेल ५ कक्षासम्म मात्रै मिल्ने र एउटै कक्षा दुई/तीन वर्षसम्म लगातार पढ्दा उमेर १५/१६ पुगिसकेकाले विवाहको उमेर पुग्यो भनेर उनको पनि विवाह भयो । म सायदै आजसम्म कसैको विवाहमा रोएँ भने त्यो उनकै बिहेमा थियो होला ।

साँच्चिकै कागजको डोलीहरूले काठको डोलीको रूप लिइरहेका थिए । लगभग सबै जना (साथीहरू) तिनै डोलीमा सवार भएर डाँडा काटिसकेका थिए ।

आफ्नो कागजको डोलीकै प्रक्षेपण असफल रहेपछि  गाडीमा चढेर एस.एल.सी. पछि डोटीबाट धनगढी बसाइँ सरियो । दसैँ र तिहारका बेला पहाड  घर गइरहन्थ्यौँ । बसबाट उत्रेर पैदलयात्राका लागि डाँडाको यात्रा सुरु गर्नै लाग्दा बाटानिरको खाजाघरको पेटीमा स्थानीय पत्रिका लेखिएको थियो, “सासु र ससुराद्वारा घाँटी रेटेर बुहारीको हत्या” हेडलाइनमुनि गहनामा ढकमक्क भएको अनुहार घाँटीभरि नीलडाम देखिन्थेँ । बर्सौँपछि त्यो अनुहार देख्दापनि मलाई  दुई  सेकेन्ड पनि लागेन सल्लीको अनुहार चिन्न । पछुतो भयो मलाई उसको बिहेको कागजको चिलगाडी सधैँ सफल भएकोमा । नलेखिएको कागजको चिलगाडी उडाउन नहुने रहेछ सायद । कसैलाई थाहा नहुँदो रहेछ नियतिको हावाले के-के लेखिदिन्छ आफ्नै भाषामा ।

उसको त बिहेपनि छिमेकी गाउँमै भएको थियो । बिहेका लागि गहना बनाउन पनि सुनको कसौँडी कुटेर पूरै कसौँडीको गहना बनाएको भन्ने सुनिएको थियो । बिहे भएको दुई वर्षमै एउटा छोरा पनि भइसकेको थियो । सानैमा आमा गुमाएकीले  घरको कामकाज उसलाई स्कुल पढ्दा नै आमा र हजुरआमाको जस्तै आउँथ्यो । यी सबै अग्निकवचहरू थिए ऊसँग । स्कुलको ग्राउन्डबाट उडाएको बिहेको चिलगाडी (डोली) न त मेलको रूखमा अड्किन्थ्यो न त फिर्ता आउँथ्यो । त्यही सफल प्रक्षेपणको नतिजा हुनुपर्छ उसको लासको तस्बिरमा पनि घाँटीको नीलडामसँगै  बलियो गरी कसिएकै थियो मङ्गलसूत्रको धागो । कागजले निष्पक्ष देखाइरहेको थियो प्रमाणहरू ।