उच्च शिक्षा र रोजीरोटीको खोजीमा सहर पसेकी म बिहानी कक्षा पद्मकन्या क्याम्पसमा पढेर दिउँसो ठमेल ट्राभल एजेन्सिमा काम गर्दै थिएँ । अफिसमा नै रहँदा आ.वा. आइपुग्यो । “घरमा बुबा निरञ्जन भएर सिकिस्त हुनुहुन्छ, मुख हेर्ने भए आउनू” आ.वा. मा यस्तो लेखेको रहेछ । खबर पढेर एकछिन भनन रिँगटा छुट्यो । टाउको बेस्सरी समातेर सामान्य हुने प्रयास गरेँ । म्यानेजरसँग केही तलब पेस्की लिएँ र आफूसँग भएको अलिअलि मिलाएर घर जाने निधो गरेँ । कोठानजिकै औषधि पसलमा गएर निरञ्जन (पिसाब रोकिएको) को औषधि के हुन्छ भनेर मागेँ । पसलेले दिएको सानो पाइप र केही औषधि झोलामा हालेर भोलिपल्ट बिहानै जिरीको बस चढेर घरतिर लागेँ ।

“हे भगवान्‌ मैले नाम र दाम कमाएर बुबालाई खुसी पार्ने मेरो रहर निमोठिएकै हो त? भन्दै पुकारिरहेँ । एकदिनको बस यात्रामा जिरी अनि अर्कोदिन पैदल यात्रामा किन्जा पुगेँ । किन्जामा सधैँ म बास बस्ने होटल आफ्नै घरजस्तो थियो । होटले शेर्पा दिदीको मायाँ सम्झिँदा अहिले नि न्यानो महसुस हुन्छ । त्यसो त जहाँ पुगे नि यस्तै मायाँ पाउँछु अनि आफू भाग्यमानी भएको सम्झन्छु । मान्छेको मन जित्न सक्नु पनि त सानो भाग्य होइन । मनभन्दा ठूलो धन के होला र संसारमा ।

बुबालाई भेट्न भ्याउँछु कि भ्याउँदिन भनेर मन आत्तिरहेको थियो । बिहान राम्ररी उज्यालो नभई म होटल छोडेर उकालो लागेँ नाकै ठोक्किने किन्जाको उकालामा बुबाको यादमात्र दिमागमा ठोक्किरहन्थ्यो घरिघरि । पुस माघको चिसो मौसम, सिमसिम पानी, पानीभन्दा बेजोड हिउँ बर्सिरहेको थियो । ट्रेकिङ बुट, घुँडासम्म आउने मोजा, हाफ पाइन्ट, बाक्लो टिसर्ट र ज्याकेट, गोलो राउन्डवाला ह्याट, ट्रेकिङ ब्याग, ब्यागभित्र बुबाको औषधि र हातमा ट्रेकिङ स्टिकका साथमा म एक्ली यात्री बाटो छिचोलिरहेकी थिएँ । बडेमानका रूखहरू, घना जङ्गल, कुहिराले छोपेर अन्धकार,हिउँ थुप्रिएर घुँडासम्म आउन लागिसक्यो, बाटामा चरोमुसो केही देखिँदैन । अन्दाजको भरमा बाटो छिचोल्नु छ । अहो! कतै बाटो भुलेर अन्तै पुगियो भने या चिप्लिएर दुर्घटना भयो भने, हिमचितुवाले भेट्यो भने ? म त एक्लै पो छु त भनेर अलि आत्तिएँ । पछाडि फर्केर हेर्दा त एउटा मान्छे पो मजस्तै ड्रेसअप र गेटअपमा आइरहेको रहेछ उसैगरी स्टिक टेक्दै । ओहो यो मान्छे को हो त ! एकछिन पर्खिनुपऱ्यो सोचेँ । नजिक आएपछि पो थाहा भयो ऊ त कुइरे पो रहेछ विदेशी पाहुना । अहिले भए चिनेका मान्छेदेखि समेत सुरक्षित छैनौँ हामी तर त्यतिबेला नचिनेका मान्छेको पनि कति ठूलो विश्वास र भरोसा ।

डा. रेणुका सोलु

गोरो छाला, खैरो कपाल अनि कुइरा आँखा भएका अग्ला-अग्ला घुम्न आउने मान्छेलाई कुइरे भन्थ्यौँ हामी सानामा । नजिक आएपछि “नमस्ते” भन्यो उसले । मैले नि “नमस्ते” भनेँ । उसको ह्याटबाट पनि मेरो ह्याटबाट जस्तै उसैगरी हिउँ हाम्फालिरहेको थियो । चिसाले होला उसको अनुहार रातोपिरो देखिन्थ्यो, मेरो अनुहार त म देख्दिनथेँ खै कस्तो थियो! तर म ऊजस्तो चामलको पिठोझैँ गोरो नभएर गहुँगोरोवाली भएकीले सायद त्यस्तो रातोपिरो टल्किएको थिएन होला मुहारमा । बुबाले भन्नुहुन्थ्यो पाहुना आउँदा भए मिठोमसिनो बनाएर खानदिनू नभए पनि मीठो वचनले बोलिदिनू, पाहुनाको स्वागत सम्मान गर्दा लच्छिन हुन्छ किनभने पाहुना भनेका भगवान्‌ हुन् । ऊ त विदेशी पाहुना, सम्मान गर्नुपर्छ सम्झिएँ तर आफूलाई अङ्ग्रेजीको अ पनि नआउने अनि उसलाई नेपालीको न पनि नआउने अब कसरी सम्मान स्वागत गर्ने सम्भव नै थिएन । अङ्ग्रेजीदेखि डराएर, भागेर नै सिक्न नसकेकी म नमस्ते भन्दा अरू बोल्न आउने कुरै भएन । एक त अङ्ग्रेजी नबुझ्ने त्यसमाथि कुइरेको टोन के बुझ्नु । मैले अङ्ग्रेजी नबुझे पनि म उसको भाषा बुझ्दिन भन्ने चाहिँ उसले कति छिटो बुझ्यो र इसाराले बोल्न थाल्यो । हामी दुवै जनाका आँखाहरू मात्र बोल्न थाले । मनैदेखि स्वागत र सम्मानका शब्दहरू पस्कन नपाउँदा नमिठो लागिरह्यो । म अघि-अघि ऊ पछि-पछि हुँदै हाम्रो यात्रा अगाडि बढिरह्यो ।

हिउँमा चिप्लिन लाग्दा ओsss भन्ने अनि झन्डै लडियो भन्ने भाषा बुझ्नुपर्ने, एकछिन उभिँदा आराम गरौँ भन्ने भाषा बुझ्नुपर्ने, यस्तै यस्तै साङ्केतिक इसारामा भाषा सम्प्रेषण गर्दै हामी लामाजुराको चुचुरो काटेर ओह्रालो झर्दै थियौँ । अलि तल पुगेपछि कोलबोटे माहिला बडाबाका छोरा डाकमान दाजु घरबाट आउँदै हुनुहुँदो रहेछ । दाजुलाई देख्नसाथै म आत्तिएँ कतै बुबाको मलामी भ्याएर आउनुभएको त होइन भनेर । सम्झिँदा भित्रैदेखि मुटु फुटेर आयो । दाजुको अँगालामा झ्वाम्मै झुन्डिएर रुँदै सोधेँ, “दाजु मेरो बुबा हुनुहुन्छ कि हुनु हुन्न ?” मेरो स्वर सुनेपछि पो दाजुले पनि ठम्याउनुभएछ, “ए राधा पो रैछे, किन बहुलाएकी यसरी ? यस्तो हिउँमा मर्नलाई” दाजुले निकै गाली गर्नुभयो । “बुबा साह्रै हुनुहुन्छ भन्ने खबर आयो अनि दबाई बोकेर आएकी दाजु बुबा हुनु हुन्न हो ?” म झन् भक्कानिएर रुन थालेँ । ” त्यो चाहिँ को नि” कुइरेलाई देखाउँदै सोध्नुभयो दाजुले । “कुइरे हो , आजै बाटामा भेट भाको, यो जङ्गलमा चितुवा आउला अनि चिप्लेर पनि लडिएला फेरि हिउँले बाटो पुरेर चिनिँदैन अनि कता पुगिएला भनेर मैले पर्खेर नै सँगै आएका हामी, अब यो जङ्गलको बाटो सकिएपछि त म एक्लै गइहाल्छु फटाफट” मैले स्पष्टीकरण दिन खोज्दै थिएँ । बोल्दाबोल्दै दाजुले मेरो गालामा एक झापड हान्नुभयो । सायद अब भने मेरो गाला पनि कुइरेकै जस्तो रन्कियो होला रातै भएर तर म देख्दिनथेँ अनुभूति मात्रै हो ।

“हामी दाजुभाइ सबै मरेका थियौँ र तँलाई यस्तो डरलाग्दो मौसमको बेला यस्तो बाटो एक्लै एक्लै आउनुपर्ने ? के अब तँ गएर बाउलाई बचाउँछेस् ? दुईचार अक्षर के पढेकी थिइस् मै हुँ भन्न थालिहालिस् होइन, काहीँ नभाकी …….” यस्तै यस्तै के के भन्दै निकैबेर गाली गर्नुभयो मलाई दाजुले । योभन्दा डरलाग्दो शब्द प्रयोग गरेर भाउजूलाई गाली गरिरहनुभएको सुनेको बानी भएर होला मलाई खासै दुखेन । आफू कमजोर भएका बेला आफूभन्दा पनि कमजोरलाई हेरेर आत्मबल दह्रो बनाउनुपर्छ भन्ने बुबाको अर्ती सम्झेर बलियो हुने प्रयास गरिरहेँ ।

दाजु रिसले मुर्मुरिँदै अगाडि बाटो लाग्नुभयो । म पनि आफ्नै बाटो लागेँ । अलि तल पुगेर फेरि फर्केर रुँदै सोधेँ “दाजु बुबा हुनुहुन्छ कि हुनु हुन्न ?” अबचाहिँ अलि मत्थर भएर बोल्नुभयो दाजु, “छन् छन्, अस्तिदेखि वाक्य पनि आउँदैन अनि गैहाल्दैन पनि, धेरै लम्बियो अनि अरू दाजुभाइ छँदैछन् मेरो त अफिसमा हाजिर हुन ढिला भयो र हिँडेको । ल जा जा बोली त भेट्दिनस् मुख हेर्नचाहिँ भेट्छेस होला ।”

दाजुबहिनीको व्यवहार देखेर कुइरे छक्क पऱ्यो । निकै अचम्म मान्दै मलाई सोध्यो “ऊ को हो? तिम्रो के पर्छ?”
मैले मेरो दाजु भनेर बताएँ । “अनि दाजुले बहिनीलाई किन कुटेको यसरी” ,उसले सोध्यो । “म एक्लै हिँडेको भएर” ,मैले बताएँ । “अनि तिम्रो दाजु पनि त एक्लै हिँडिरहेको छ फेरि तिमीले चाहिँ किन कुटेनौ ? बरु तिमी त एक्लै छैनौ म पनि त छु” ,उसले सवाल थप्यो । “ऊ केटा मान्छे हो नि त” ,मैले जबाफ फर्काएँ ।

“यसरी कुट्दा कानुन लाग्दैन तिम्रो देशमा ? तिमीले नकुटे पनि त उसले कुटेको छेक्न त सक्थ्यौ नि, किन कुटाइ थापेर चुपचाप सहिरह्यौ ? एक्लै हिँड्ने कि साथीसँग हिँड्ने तिम्रो खुसीको कुरा होइन र ? तिम्रो शरीर तिम्रो अधिकार हुन्न र ? तिमी तिम्रो आफ्नो शरीरको पनि सुरक्षा गर्न सक्दिनौ ? के यति कमजोर हुन्छन् नेपाली महिला…..मेरो देशमा भए त महिलालाई यति हात लाएपछि जेल जानुपर्छ । यो कस्तो अचम्म ! तिमी मान्छे हौ कि वस्तु ……?” यस्तै के के भनिराथ्यो मैले सबै बुझिनँ पनि । यति लामो सवालको जबाफ म अङ्ग्रेजीमा कसरी फर्काउन सक्थेँ र! त्यसैले चुपचाप हिँडिरहेँ बाटाभरि कठ्याङ्रिएको हिउँजस्तै कठ्याङ्ग्रिँदै ।

फाप्लु पुग्दा साँझ परिसकेको थियो । कुइरे त्यहीँ होटलमा बस्ने कुरा गऱ्यो । बेसक्याम्पसम्मको यात्रा बताउँथ्यो । छुट्नेबेला बिदाइका हात हल्लाइरहेको थियो मानौँ कि बर्सौँदेखिको दोस्ती छुटिँदैछौ जसरी । आँखै नझिम्क्याई हेरिरहेको थियो, सायद अझै यो केटीले कति झापड खाँदी हो भन्ने सोच्दो हो । फाप्लु डाँडा काटेर अगाडि बढिसकेपछि उसका हल्लिरहेका हात अनि नझिम्क्याई हेरिरहेका आँखाहरू पनि देखिन छाडे । मात्रै मीठो याद आइरह्यो अनि भाषाका कारण उसका जिज्ञासा मेटाउन नपाएकोमा पश्चात्ताप लागिरह्यो । नेपालको समाज, संरचना अनि संस्कारका बारेमा जान्न उत्सुक थियो तर मैले बताउन सकिनँ ।

अब म यात्रामा एक्लै थिएँ । हिउँको बाटो पनि सकिएको थियो । टर्चलाइट बालेर तुफानझैँ दौडिएँ । सधैँ हिँडेको बाटो त हो नि भनेर अनि बुबा भेट्दिन कि भन्ने चिन्ताले पनि होला डर पनि कता भाग्यो । बिहान मिर्मिरेमा घर पुगेँ । तुलसीको मठनिर बुबालाई लडाइराखिएको, बुबाको छातीमा घोप्टो परेर आमा रोइरहनुभएको, ससाना भाइबहिनी अगेनाका वरिपरि पल्टिरहेका । कति दिन भयो मुख नधोएका, आँखाभरि कचेरा, खारानी र पसिनाको लेदो गालैभरि , बर्सौँदेखि कोही नभएका टुहुराजस्ता । आमाले नभ्याएपछि घरको हालत हेरि नसक्नु । मलाई अँगालो हाले आमा डाँको छोडेर रुनुभयो “नानी हामीलाई बुबाले छोडेर जाने भए, अब कसरी बाँच्नु? के हेरेर बाँच्नु? यस्ता सानासाना केटाकेटी म एक्लै कसरी हुर्काउनु? मेरो कस्तो अभागी खप्पर रहेछ, बिहे गर्नेबित्तिकै सौतेनी छोराछोरीलाई गाउँलेले उचालेर कति दुःख दिए । अलिअलि पिर खेपिनँ मैले ! अब अलि सुखका दिन आए भनेको फेरि छोडेर जाने रछन्, यति छिटै एक्लै छोड्ने भए किन बिहे गरेका हुन् मलाई, हे भगवान्‌ अब के गर्नु …….!” आमाका वेदना सुन्न सक्ने खालका थिएनन् । बुबा नभएपछि सौतेनी छोराछोरी उचालेर फेरि आफन्त भनिएकैले आगो लगाउँछन् र डढाउँछन् सारा घरबार खरानी बनाइदिन्छन् भन्ने चिन्ता र बुबाको मायाँ उसैगरी पोखिएको थियो आमाको आँसुमा समाहित भएर । धेरै दिनदेखि यस्तै के-के सोचेर रोएर होला स्वर सुकिसकेजस्तो बोल्दाबोल्दै हिक्क-हिक्क मात्रै आउन थाल्यो पछि-पछि त ।

पेट फुलेर बढेमानको हेर्दै डर लाग्ने, सुरुमा त बुबालाई छुनै डर लाग्यो । बिस्तारै सुमसुम्याएँ, बुबा भन्दै बोलाएँ । निकैचोटि बोलाएपछि अलिअलि आँखा खोलेजस्तो गर्नुभयो, ठुलाठुला दुई ढिका आँसु झार्नुभयो । मैले बुबाको हात समाइरहेकी थिएँ, बिस्तारै आमाको हात छामेर मेरो हातमा आमाको हात राखिदिनुभयो । जेठी श्रीमती बितेर बन्द भएको ढोका उघार्न कति दुःखमा भित्र्याएकी कान्छी श्रीमती, दुःख पाउँछे कि भन्ने चिन्ता थियो धेरै त्यसैले आमालाई दुःख नदेओ, राम्रो हेरचाह गर है भन्न खोज्नुभएको होला, यति अह्राउन मात्रै पो मलाई पर्खिरहनुभएको हो कि क्यार भनेर म भक्कानिएँ । डाँको छोडेर चिच्याउन मन लाग्यो तर भाइबहिनी र आमाका अगाडि मुटुलाई पत्थर बनाएर बलियो भएको नाटक गर्न बाध्य थिएँ, म पत्थर भएँ । बुबालाई बोकाएर फाप्लुसम्म लगौँ अनि प्लेनमा काठमाडौँ लगौँ न बाँच्नुहुन्छ होला भनेर काकाहरूलाई निकै अनुरोध गरेँ । अब मर्नेबेलाको मान्छे आफ्नै घरमा मर्न दिनुपर्छ, अन्त लानु हुँदैन भनेर कसैले मान्नु भएन । छोरो अलि ठूलो भर लाग्दो भए पो लानु भन्ने पनि लाग्यो होला, म त सानैदेखि उहाँहरूको नजरमा घर छोडेर हिँडेकी बिग्रेकी मान्छे के मलाई भर मान्नु । काठमाडौँ लाँदा खर्चको कुरा पनि सम्झिए होलान् कसले गर्छ अनि लाइदिराखौँ न त भने बूढो मरिहाल्छ छोरो सानै छ कसले तिर्छ भन्ने पनि सम्झिए होलान् । म जसरी पनि लान्छु भनेर ढिपी गर्न थालेँ, लानु हुँदैन भन्ने उहाँहरूको ढिपी थियो । मेरो बुबा लाने नलाने मेरो खुसी, यहाँ यसै मर्ने उसै मर्ने भएपछि काठमाडौँ लगेर कोसिस गर्छु, हाम्रो भाग्यमा रैनछ र मर्नुभयो भने पनि पशुपतिमा दाहसंस्कार गर्दा झन् राम्रो भनिदिएँ । त्यसपछि त्यति धेरै सल्लाह पनि भएन आवश्यक पनि ठानिनँ मैले । व्यागबाट पाइप निकालेर मेडिकलको मान्छेले सिकाएजस्तै पिसापनलिमा घुसाएँ अनि मुखले पिसाब तान्न खोजेँ तर जानिन कि आएन । हेल्थपोस्टमा रहेका कर्मचारी नगेन्द्र भदालाई बोलाएँ र दिदीभाइ भएर सल्लाह गर्दै पाइप मिलायौँ अनि पालैपालो मुखले तान्यौँ । रगत मिसिएको पिसाब अलिअली गर्दै निस्किन थाल्यो ।

रातभरि हामीले पिसाब तानिरह्यौँ । बुबा बिस्तारै ऐया ऐयाको आवाज निकाल्न थाल्नुभयो । खाने औषधि पनि पानीमा घोलेर खुवाइदियौँ । बिहान उज्यालो भएपछि त बुबाले आँखा हेर्नुभयो । हाम्रो भाग्यमा पनि उज्यालो फर्कियो भन्ने आशा पलायो । चारपाँच जना भएर बुबालाई उचालेर मूलओछ्यानमा लग्यौँ । धेरै दिनपछि बुबा तुलसीको मठबाट आफ्नै ओछ्यानमा फर्किनुभयो । अब त पाइप नलगाई पनि पिसाब अलिअलि गर्दै जान थाल्यो । बुबाको फुलेको पेट पनि घट्दै गयो । चारपाँच दिनपछि बुबा आफैँ उठेर भित्रबाहिर गर्न थाल्नुभयो । अहिले जाडो मौसमको बेला प्लेन चल्ने ठेगान हुँदैन, अलि दिन तातेपछि काठमाडौँ नै गएर जँचाउनुपर्छ बुबा यो के ले थुनेको छ पिसाब भनेर सल्लाह गरेँ । कसले गर्छ र नानी तँ तेरो पढाइ अनि अफिस जानैपऱ्यो । खर्च पनि थुप्रै लाग्दो हो भन्दै हुनुहुन्थ्यो बुबा । तपाईँभन्दा पैसा ठूलो होइन नि हाम्रा लागि । अलिअलि उता म नि मिलाउँछु यता यी भैँसी बेचिदिनू न पछि किनौँला फेरि भनेर सम्झाएपछि ल ल तँ आँट गर्छेस् भने त्यसै गरौँ भन्नुभयो ।

प्राइभेट जागिर धेरै दिन ढिला गर्दा पनि के हुने हो भनेर म फर्किएँ । फाप्लुमा आएर बुबालाई अलि पछिको टिकट बुकिङ गरिदिइराखेँ र म जिरीको बाटो हिँडेर आएँ । लामाजुराको जङ्गलभरि कुइरेको आवाज गुन्जिरहेजस्तो लाग्थ्यो । कतै बेसकेम्पबाट यही बाटो फर्किएर पछिपछि त आउँदै छैन भनेर फर्किँदै हेर्दै गरिरहेँ तर यादहरू मात्रै पाइलैपिच्छे आइरहे कुइरे आएन । एक जना अङ्ग्रेजी बोल्न जान्ने मान्छेसँग त्यसलाई भेट्टाएर हाम्रो कल्चरका बारेमा बताउने मेरो इच्छा अधुरै रह्यो अनि सायद उसको पनि यही इच्छा अधुरै रह्यो होला ।