कथामा अनेकौँ पात्र हुन्छन् । कथामा उनीहरूको भूमिका बेग्लाबेग्लै हुन्छ ।
“कोही धनी असाध्यै, कोही गरिब माग्ने… ।” कोही अत्यन्तै सोझा र सरल, कोही धूर्त र चलाख । कोही मानसिक रूपमा कमजोर, कसैको उच्च बौद्धिक क्षमता । कोही हास–परिहासले युक्त, कोही निरस र शुष्क ।
कथाअनुसार पात्रले भूमिका निभाएका हुन्छन् र कथाले मागेअनुसारका पात्र र पात्रको चरित्रअनुसारको वर्णनले कथालाई यथार्थको नजिक पुऱ्याउँछ । लाग्छ, कथा नभएर त्यो जीवन हो ।
त्यस्तै, जीवन पनि कथाजस्तै हुँदो रहेछ । सुख, दुःख, सङ्घर्ष, रोमाञ्चकता, हास–परिहास, अज्ञानता, बौद्धिकता, सरलता यी सबै जीवनका पाटा नै त हुन् ।
त्यसैले त भनिन्छ, कथा जीवन हो र जीवन कथा । जीवनमा पनि एउटै व्यक्तिका अनेकौँ भूमिका हुन्छन् । ऊ परिवार र समाजका अनेकौँ सम्बन्धमा बाँधिन्छ ।
उसका आफ्नै स्वभाव र चरित्र हुन्छन्; ज्ञान र विवेक हुन्छ, कार्यव्यापार हुन्छ ।
यहाँ जीवनका तिनै केही पात्रहरूलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
पात्र १ – ताराकी आमा
कुरा एकताकाको हो । आवाको जमाना सकिइसकेको थियो तर फोन सर्वसुलभ थिएन । सहरमा ल्यान्डलाइन फोन भरखर–भरखर आएको थियो । सांसदले सरकारबाट सुविधामा पाएको फोन लाखौँ रुपैयाँमा व्यापारीलाई बेच्ने समय थियो त्यो ।
गाउँले सर्वसाधारण भने घण्टौँ पैदल हिँडेर र लामो लाइन पार गरेर फोनमा कुरा गर्न पाउँथे । सर्वसाधारणको सुविधाका लागि ठाउँ–ठाउँमा पिसिओ राखिएका थिए । तिनै पिसिओबाट घरदेखि टाढा रहेका आफन्तसँग गाउँलेहरू हालचाल बुझ्थे ।
पहाडमा घण्टौँ दूरी पार गरेर पिसिओसम्म पुग्नुपर्ने अवस्था थियो भने तराईमा लामो लाइनका कारण पालो कुर्नुपर्ने हुन्थ्यो । चार–पाँच गाउँ समेट्ने गरी पिसिओ सञ्चालनमा थिए ।
हाम्रोतिर एउटा पिसिओ बाँसगढीमा थियो । जसले यस वरपरका गाउँलेलाई सञ्चार सुविधा पुऱ्याएको थियो । त्यस्तै, ककौरामा तोयनाथ अधिकारीको घरमा अर्को पिसिओ थियो । त्यसैले अहिले पनि त्यो चोकलाई पिसिओचोकका नामले चिनिन्छ ।
यसबाट उत्तरमा भैँसासुर, पिपलटाँडी, पश्चिममा जुरेना, लक्ष्मणा र माछागढ, पूर्वमा ककौरा मटेरिया र दक्षिणमा दमौली गाउँसम्मका मानिस लाभान्वित थिए ।
सार्वजनिक गर्न मिल्ने खबर भए माइकमार्फत सार्वजनिक गरिन्थ्यो । प्रत्यक्ष कुराकानी गर्नुपर्ने भए वा माइकले खबर नपुग्ने भए त्यही गाउँका कोही मान्छेमार्फत खबर पठाइन्थ्यो, “यति बजे फलानाको फलानो ठाउँबाट फोन आउँदैछ, आउनू ।”
एक दिन रुकुमबाट तारा थारूको फोन आयो । उसले आफ्नी आमालाई फोनमा आउन खबर पठाएको थियो । ताराको घर माछागढमा थियो । ऊ भने पुलिस थियो रुकुममा ।
छोराको सन्देश पाउनेबित्तिकै आमा हतारिएर पिसिओ पुगिन् । पिसिओमा फोन गर्ने र फोन “रिसिभ” गर्नेहरूको भीड थियो ।
उनी पिसिओछेउको बेन्चमा बसेर छोराको फोन प्रतीक्षा गर्न थालिन् । निर्धारित समयमा उताबाट फेरि फोन आयो ।
“रुकुमबाट ताराको फोन…!” पिसिओ सञ्चालक फोन हातमा लिँदै चिच्याए, “को आउनुभएको छ ?”
हत्तपत्त ताराकी आमा उठिन् । फोन समाइन् । पहिलोपटक फोन समाउँदा उनका हात काँपे । रिसिभर कानमा टाँस्न पनि जानिनन् । साहुजीले सघाए ।
“हेल्लो,” फोनमा उताबाट बोलेको सुनियो ।
“हेल्लो डाइ, नमस्टे (आमा ढोग गरेँ) !” उताबाट फोनमा छोराले आमालाई अभिवादन टक्र्यायो । उनलाई पनि अभिवादन फर्काउनुपऱ्यो ।
उनले हातले कानमा टाँसेको फोन थपक्क टेबुलमा राखिन् ! दुवै हात जोडेर छोराको नमस्ते फर्काइन् र फेरि फोन टिपेर उनी कुरा गर्न थालिन् ।
हो त ! फोन नराखी दुवै हात जोडेर कसरी नमस्कार गर्नु !
उनको यो क्रिया हेरिरहेका साहुजी र फोन गर्न आएका अरू मानिस पेट मिची-मिची हाँस्न थाले । खबर सुनेर छिमेकी र आफन्तहरू पनि धेरै दिनसम्म हाँसिरहे ।
अहिले ताराकी आमा स्मार्ट फोन बोक्छिन् ।
पात्र २ – बस्नेत जेठा
महेन्द्र राजमार्ग भरखर–भरखर बनेको थियो । राजमार्गसँगै चोकचोकमा प्रतीक्षालय बनाउने होड चलेको थियो । स्थानीय तहको आर्थिक सहयोग तथा चन्दा सङ्कलन, जनश्रमदान र स्थानीय वनका काठपातले चोक-चोकमा प्रतीक्षालय बनेका थिए ।
कसै–कसैले आफ्ना दिवङ्गत परिवारको सम्झनामा पनि यस्ता प्रतीक्षालय बनाउँथे ।
फुर्सदको समय मानिसहरू तिनै प्रतीक्षालयमा बसेर समय बिताउँथे । एकआपसमा सुख, दुःख साट्थे, ठट्टा गर्थे ।
कृष्णजन्माष्टमीको दिन थियो । हामी तीनचार जना चिसापानी चोकको प्रतीक्षालयमा सुस्ताइरहेका थियौँ ।
राजमार्गको पश्चिमतिरबाट एकजना थारू भार (खर्पन) बोकेर आउँदै थियो ।
ऊ राजमार्गको उत्तरी लेनबाट पूर्वतिर हिँडिरहेको थियो । हामी दक्षिणतिर रहेको प्रतीक्षालयमा गफिइरहेका थियौँ ।
थारू प्रतीक्षालयनजिकै पुगेपछि बस्नेत जेठा जुरुक्क उठे र सडकमा निस्के । “ओ दाइ, यता आउ त !” उनले पारिपट्टि हिँडिरहेको थारूलाई बोलाए ।
थारू हिँड्दाहिँड्दै टक्क रोकिएर आवाज आएतिर फर्कियो ।
“यता आऊ न !” बस्नेत जेठाले हातको इसारा गरे ।
थारू अलमलियो ।
“कौचा काम बा ?” (के काम छ ?) थारूले अडिएरै सोध्यो ।
“एउटा काम छ, यता आऊ न पहिला !” बस्नेत जेठाले भने ।
मन नलागी–नलागी थारू बाटो पार गरेर यता आयो ।
“अल्लि यता आऊ,” बस्नेत जेठाले राजमार्गमा पश्चिमतिर थारूलाई डोऱ्याउँदै भने ।
“बटाओ कौचा काम हो ?” थारूले फेरि सोध्यो, “महिन बेर हुइटा ।” (भन के काम हो, मलाई हतार छ ।)
“गोप्य कुरा हो के, अरूले सुन्छन्,” बस्नेत जेठा हातले थारूलाई आफूतिर बोलाउँदै अघि लागे । केही पाइला थारू पछि–पछि लाग्यो ।
“लेओ अब बटाओ,” थारूले भन्यो, “डिडी किहिन भाट पुगाए जाइटुँ । बेर हुइटा ।” (ल अब भन, दिदीलाई भात पुऱ्याउन जाँदै छु । फेरि ढिला हुन्छ ।)
थारू समुदायमा कृष्णजन्माष्टमीपछिको पहिलो आइतबार दिदी–बहिनीलाई भात खुवाउने चलन छ । घरमै मीठा–मीठा परिकार पकाएर दिदीबहिनीकहाँ पुऱ्याउने गरिन्छ । जसलाई इटवारी भनिन्छ ।
“अलि यता आऊ के, अरूले सुने भने बर्बाद हुन्छ,” बस्नेत जेठाले भने, “तिमीलाई नै फाइदा हुने कुरा हो ।”
थारू मन नलागी–नलागी फेरि पछि लाग्यो । आएकै बाटो करिब ३–४ सय मिटर फर्किएपछि थारू रोकियो ।
(यसपछिको संवाद हामीले सुन्न सकेनौँ । दृश्यका आधारमा बस्नेत जेठा र थारूका हाउभाउ अनुमान गरे पनि यसपछिको संवाद भने उनीहरूले बताएअनुसार तयार पारिएको हो ।)
“बटैबोटो बटाओ नाइ टो अब मै एक डाना आगे नाइ जिम्” (भन्ने भए भन नत्र अब म एक पाइला अघि बढ्दिनँ), थारूले अडान लिएछ ।
“त्यसो भए ल यता आऊ,” बस्नेत जेठाले थारूलाई अँगालो हाल्दै अझै दुईचार कदम पर लगे । “गोप्य कुरा हो कसैलाई नभन्नू नि !” उनले भनेछन् ।
“हाँ–हाँ हालहाल बटाओ (ल ल छिटो भन),” थारू कुरा सुन्न उत्सुक देखिएछ । बस्नेत जेठा दायाँबायाँ हेर्दै थारूको कानैमा मुख लगेर फुसफुसाएको हामीले पनि देख्यौँ ।
“खुर्सानी पिरो हुन्छ, यो कुरा कसैलाई नभन्नु !” बस्नेत जेठाले थारूसँग भनेछन्, “गोप्य कुरा यही हो, ल अब जाऊ ।”
थारू त अक्क न बक्क !
यति भनेर बेतोडले दगुरेर बस्नेत जेठा पुनः प्रतीक्षालयमै आएर बसे । उनी मुसुमुसु हाँसिरहेका थिए ।
थारू पनि लचक–चलक भार लच्काउँदै बिस्तारै पुनः प्रतीक्षालयनिरै आइपुग्यो । ऊ फत्फताइरहेको थियो । पसिना र रुन्चे हाँसो उसको अनुहारमा कुरूप देखिन्थ्यो ।
“दाइ गोप्य कुरा के रै”छ त ?” चेतेले थारू नजिकै आएपछि सोध्यो ।
“बुरचोडिक पर्बाटी, काम नाइ पैठेँ,” थारू बर्बरायो, “उल्टा दगरा ओत्रा दुस पुगाइल् (…काम पाउँदैनन्, उल्टो बाटो मलाई ह्वाँसम्म दुःख दियो) ।”
थारू बाटोलोगेपछि बस्नेत जेठाले हामीलाई सबै वृतान्त सुनाएका थिए ।
हामी कति हाँस्नु !
पात्र ३– जोकर
उनको यो नाम कसरी रहन गयो, थाहा छैन । सायद हास–परिहासयुक्त स्वभाव (ह्युमर सेन्स)कै कारण उनलाई मानिसहरूले यो नाम दिएका थिए । उनको वास्तविक नाम के थियो, मलाईजस्तै धेरैलाई कहिल्यै थाहा भएन ।
कुनैबेला उनी मेरा छिमेकी थिए । अहिले यो संसारमै छैनन् ।
उनी एक जना अब्बल कृषक थिए । करिब ४० वर्षअघि उनी कृषिका अलावा बाख्रापालन गर्थे । खोरभरि बाख्रा, खसी, बोका र पाठापाठी हुन्थे ।
आफू भने निःसन्तान थिए । विवाह गरेको लामो समयसम्म उनका कुनै जायजन्म भएनन् । यो त्यतिबेलाको कुरा हो । निकैपछि उनका दुई सन्तान जन्मिए ।
सन्तान हुनुअघि उनी नेपालगन्ज गएका थिए । त्यहीँ सानोतिनो व्यापार गरेर दुई बूढाबूढी आजीविका चलाउँथे ।
त्यतिबेला नेपालगन्जमा दुईवटा सिनेमा हल थिए, लक्ष्मी चलचित्र मन्दिर र बागेश्वरी चलचित्र मन्दिर ।
लक्ष्मी चलचित्र मन्दिरलाई पुरानो सिनेमा हल भनिन्थ्यो । पुरानो हलमा प्रायः पुरानै हिन्दी सिनेमा चल्थे । वरिपरि ठूलो चौर र बीचमा सिनेमा हल थियो । त्यही चौर बीचबाट गोरेटो बाटो बनाइएको थियो ।
एकलैनीतिरबाट घुमेर जानुभन्दा त्यही चौरको बीचबाट पैदलयात्रु आवतजावत गर्थे । समय बचत गर्ने हिसाबले ।
चौरको एक छेउमा जोकरको नास्ता पसल थियो ।
हिउँदको कुनै एक दिन म नेपालगन्ज गएको थिएँ । म जोकरलाई भेट्न उनको पसलमा गएँ ।
१२ बजेको सो सुरु भइसकेको थियो । हलबाहिर र चौरभरि सन्नाटा थियो । चरो, मुसो कतै देखिँदैनथ्यो ।
अब ३ बजे सो नछुटेसम्मका लागि जोकर पनि फुर्सदिला थिए ।
जोकर, जोकरका भान्जा र म घाम पनि ताप्ने र गफ पनि गर्ने हिसाबले चौरतिर लाग्यौँ । चौरको गोरेटोछेवैमा बसेर हामी गफिन थाल्यौँ ।
मामा–भान्जा वयस्क उमेरका भए पनि म सानै थिएँ । उनीहरू आफ्नै पश्चिमेली लवजमा विगतका रमाइला–रमाइला कुरा गर्दै हाँसोठट्टा गरिरहेका थिए । म सुनेर रमाइरहेको थिएँ ।
काँधमा गह्रुङ्गो छड्के झोला भिरेर उत्तरतिरबाट एकजना हटारु हामी भएतिरै आउँदै थियो । ऊ अझै टाढै थियो ।
जोकरले टाढैबाट उसलाई देखे ।
“भान्जा हेर त त्यो हटारु हैन ?” उनले भान्जासँग सोधे । “खै, त्यस्तै त देखिन्छ !” भान्जाले जबाफ दिए ।
“भान्जा तिमी हाँ–हाँ, हो–हो मात्र गर्नु,” जोकरले भान्जासँग भने, “म त्यसलाई (हटारुलाई) आज जिल्याउँछु ।”
हटारु चौरबीचको गोरेटो बाटो क्रमशः नजिक आउँदै थियो । “भान्जा त्यतातिर हेर त” ,हटारुले देख्ने र सुन्ने गरी उसैतिर औँलो तेर्स्याउँदै जोकरले भने, “यो त्यै मान्छे त हो नि ! हैन र !”
भान्जाले हटारुलाई गहिरिएर हेरेझैँ गरे । “हो–हो मामा त्यस्तै त छ,” भान्जाले भने ।
हटारुले आफ्नो दायाँ–बायाँ हेऱ्यो । त्यहाँ ऊबाहेक अरू कोही थिएन ।
“भान्जा यो त्यै मान्छे हो” ,जोकरले भने, “आज फेला पऱ्यो ।”
“भान्जा समात–समात” ,जोकर बसेका ठाउँबाट जुरुक्क उठे, “यै त हो, रणको !” भान्जा पनि जुरुक्क उठे । दुवै मामाभान्जा उसका नजिक गए ।
अब हटारु आत्तियो । दुवै मामाभान्जा उसको नजिक पुगिसकेका थिए ।
“नाइँ हजुर मु नाइँ (नाइँ हजुर म हैन),” हटारुले दुवै हात जोड्यो, “मुइले केइ बिराया नाइँ (मैले केही बिगार गरेको छैन) ।”
हटारु रुँलारुँलाझैँ गरिरहेको थियो ।
उसले मामाभान्जासँग आफू त्यो व्यक्ति नभएको जिकिर गरिरह्यो र आफूलाई छाडिदिन बिन्ति गरिरह्यो । को व्यक्ति थियो ? के गल्ती गरेको थियो ? जस्ता प्रश्न उसले गरेन । “भान्जा पुलिस बोलाऊ, पुलिस,” जोकर भनिरहेका थिए, “यसलाई त्यसै छोड्न हुन्न ।” भान्जा पनि ‘हो’मा ‘हो’ मिलाइरहेका थिए ।
“आजै मु हुम्लादेखि आया हुँ,” उसले हात जोडेर आफूलाई छाडिदिन बिन्ति बिसाइरह्यो, “साहुजी जनी गरी मकन छाड्देऊ ।” हटारु असिनपसिन भइसकेको थियो ।
मलाई भित्रभित्र हाँसो लागिरहेको थियो भने त्यो हटारुप्रति दया पनि ।
केहीबेरपछि मामाभान्जा हाँस्न थाले । म पनि उनीहरूसँगै नहाँसिरहन सकिनँ ।
हटारु अक्क न बक्क पऱ्यो ।
जोकरले हटारुलाई सबै कुरा बताए । हटारु पनि रुन्चे हाँसो हाँस्न थाल्यो ।
“यइथो ठट्टा क्या अऱ्यौ साहुजी (यस्तो ठट्टा के गरेको साहुजी !” अन्त्यमा हटारुले भन्यो, “मेरो त सातोफुल्तो बाइगियाछियो (मेरो त सातोफुत्लो उडिसकेको थियो) ।”
पछि स्वयं हटारु पनि हाम्रो हाँसोमा सामेल भयो ।
पात्र ४–मेरी आमा
करिब २५ वर्षअघिको कुरा हो । जतिबेला मेरी आमा भरखर ४० कट्नुभएको थियो । उहाँ मेरो मामाघर अर्थात् आफ्नो माइत मैनापोखर जानुभएको थियो । करिब एक हप्तापछि उहाँ घर फर्किनुभयो ।
मैनापोखरबाट जिपमा बाँसगढी र बाँसगढीबाट फेरि जिपमै माछागढ आउनुभयो । “बाबु मलाई गौतमचोकमा झारिदिए है !” आमाले जिपको खलासीसँग भन्नुभएछ ।
“आमा झर्नुस् गौतम चोक यही हो,” खलासीले भनेछ । ड्राइभरले जिप रोक्ने क्रममा गौतमचोकभन्दा करिब ५० मिटर पर लगेर रोकिदिएछ । साँझ–साँझको बेला रहेछ । आमा माइतबाट ल्याएका कोसेलीपातसहित जिपबाट झर्नुभयो ।
गाडीबाट झरेर यताउता हेर्नुभयो, चोक देख्नु भएन । आमा झोला र पोका पुन्तुरा बोकेर चोक खोज्दै राजमार्ग पश्चिमतिर हिँड्नुभएछ ।
“ए भाउजू यतिबेला कता हिँड्नुभयो ?” आमा दुईचार कदम हिँडेपछि पश्चिमबाट पूर्वतिर आउँदै गरेका एक जना व्यक्तिले सोधेछन् ।
“घर हिँडेकी बाबू,” मेरी आमाले भन्नुभएछ “गौतमचोकमा झार्दे भनेको डाइभरले काँ झार्दियो काँ !”
“ए अनि उता काँ हिँड्नु भ’को त !” ती व्यक्तिले भनेछन्, “उता गए त चिसापानी पुगिन्छ । ल मेरो पछि पछि आउनोस् म तपाईँलाई तपाईँको घर पुऱ्याइदिन्छु ।”
ती व्यक्ति अघि लागे आमा उनको पछि-पछि । घरनिरै पुगेपछि ती व्यक्ति हराए । उनी हराए पनि आमाले बाटो पत्ता लगाइसक्नुभएको थियो । घर पुग्नुभयो ।
भोलिपल्ट बिहानै कान्छा अङ्कल हाम्रो घर आउनुभयो । कान्छा अङ्कलको र हाम्रो घर वल्लोपल्लो थियो । बाटो पश्चिम अङ्कलको बाटो पूर्व हाम्रो ।
“ए.. भाउजू कतिबेला आउनुभओ ?” मुसुमुसु हाँस्दै आमासँग कान्छा अङ्कलले सोध्नुभयो । “बेल्का साँझमा आएँ” ,आमाले भन्नुभयो, “म त बाटो भुलेचु, चिसापानीतिर जान लाकी ! धन्न एउटा मुन्छेले बाटो देखाइदिएर घर आएँ ।”
“अनि त्यो बाटो देखाइदिने मान्छे को थियो चिन्नु भएन ?” अङ्कलले मुसुक्क हाँस्दै सोध्नुभयो । “खै अँधेरामा मैले त मेसै पाइनँ” ,आमाले भन्नुभयो ।
त्यो बाटो देखाइदिने मान्छे अरू कोही नभएर स्वयं मेरो कान्छा अङ्कल नै हुनुहुन्थ्यो !
आफ्नै परिवारको सदस्यलाई चिन्न नसक्ने, कठैबरी मेरी आमा !
पात्र ५–गौतम काइँली
गौतमचोक माछागढमा पहिल्यैदेखि कहलिएको चोक थियो । महेन्द्र राजमार्ग बन्नुपूर्व नै त्यो चोक गुल्जार थियो । चोकमा गौतम काइँलाको ठूलो किराना पसल थियो ।
पसलमा खिच्रीमिच्री सामानदेखि दाल चामलसमेत पाइन्थ्यो । प्रायः गौतम काइँला नै पसलमा बस्थे ।
एकपटक उनीहरूले घरमा खान भनेर कुटाएका चामलमा चिल्सा (कीरा) लागेछन् । गौतम काइँला बाठा मान्छे । “घरका खानी चामलमा चिल्सा लाएचन्,” उनले श्रीमती अर्थात् गौतम काइँलीसँग भनेछन्, “अब यी चामल दोकानमा राखेर बेच्न पऱ्यो । दोकानका सद्दे चामल ल्याएर खानी अर्नपऱ्यो ।”
उनले पसलका बोरा घरभित्र लगेछन् र भित्रका सबै चामल बेच्न भनेर पसलमा सारेछन् ।
एक दिन पसलमा एकजना ग्राहक आएछ । गौतम काइँला खै कता हो गएका रहेछन् । पसलमा काइँली रहिछन् ।
“बज्यै चामल छन् ?” त्यो ग्राहकले सोधेछ ।
“छन त छन् बाबू, अलिअलि चिल्सा ला’छन्,” गौतम काइँलीले अन्कनाउँदै भनिछन्, “हाम्ले खानी भनेर कुटेका चामल हुन् । चिल्सा ला’र दोकानका चामल खानी गरेका छम् । ती चामल बेच्न भनेर दोकानमा राखेका हुम् ।”
अब त्यो ग्राहकले चामल लियो होला त !
पात्र ६– जब्दहन विजय
विजय थारू बाँसगढी–कोहलपुर टेम्पो चलाउँथ्यो । यो करिब २५ वर्षअघिको कुरा हो । कसैले उसलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दियो ।
ऊ झोलीतुम्बा बोकेर बाँसगढीबाट काठमाडौँ हान्नियो । ड्राइभरीका लागि कहिले यो अफिस त कहिले त्यो अफिस धाइरह्यो । कामको कुनै टुङ्गो लागेको थिएन ।
बस्नका लागि उसले कलङ्कीमा डेरा लिएको थियो ।
एक दिन साथी र ऊ तरकारी किन्न भनेर चोकतिर निस्के । जहाँ बसे पनि र कमाइ नभए पनि आखिर खानु त पऱ्यो !
एक ठाउँमा एक जना भारतीय मूलको मधेसी तरकारी बेच्दै थियो । “भैया ! यो खुर्सानी कसरी हो ?” विजयले सोध्यो । थारूको बच्चा, उसको आँखा पहिला खुर्सानीमै पऱ्यो ।
थारूहरू निकै खुर्सानी खान्छन् । ससाना बच्चासमेत विशुद्ध खुर्सानीको तरकारी खान सक्छन् । यो समुदायमा नुन, खुर्सानी, बेसार र लसुनको बेग्लै महत्त्व हुन्छ ।
“१० रुपैयाँ पाऊँ,” पसलेले जबाफ दियो ।
अन्तको तुलनामा विजयलाई मूल्य अलि बढीजस्तो लाग्यो । “साले धोतीहरू जहाँ पनि नेपाली ठग्छन्,” बर्बराउँदै उसले एउटा खुर्सानी हातमा लिएर कऱ्याम्म चबायो ।
विजयलाई खुर्सानी खासै पिरो लागेन । उसलाई पसलेदेखि भित्रभित्रै रिस पनि उठेको थियो ।
“यस्तो खुर्सानी त म एक किलो त्यसै खाइदिन्छु” ,विजयले रिसको झोँकमा भन्यो ।
पसले पनि के कम ! “एक किलो खुर्सानी अहिल्यै सक, यो पसलको सबै तरकारी तिमीलाई दिन्छु एक रुपैयाँ पनि लिन्नँ” ,पसलेले भन्यो ।
“साँच्चै !”
“साँच्चै,” पसलेले भन्यो, “सकेनौ भने यो पसलको सबै तरकारीको मूल्य तिमीले तिर्नुपर्छ ।”
“ल एक किलो तौल, “विजयले पनि फुर्तीसाथ भन्यो । उसले फुर्तीको “टनिक” अर्थात् हल्का दारु चढाइसकेको थियो ।
पसलेले एक किलो खुर्सानी तौलियो । त्यसमा एकदुईवटा बढी नै थियो होला, कम थिएन ।
विजय एक–एक गर्दै खुर्सानी खान थाल्यो । सँगै रहेको साथी डराइरहेको थियो, “आज साथीले बिताउने भो !”
विजयले एक किलो खुर्सानी छिनभरमै सिध्यायो । पसले त हेरेको हेऱ्यै !
सर्तअनुसार विजयले भएभरको तरकारी बोरामा कोच्यो । विजय र उसको साथी एकएकवटा बोरा काँधमा हालेर लागे कोठातिर ।
“पसले र वरिपरिका सबै हेरेको हेऱ्यै भए,” विजयले हाँस्दै यो पङ्क्तिकारलाई सुनाएको थियो, “त्यो तरकारी हामीले एक महिनासम्म खायौँ ।”
केटाकेटीले चकलेट चपाएजस्तै उसले खुर्सानी चपाएको देखेपछि मैले व्यक्त गरेको आश्चर्यमा विजयले यो कथा सुनाएको थियो ।
“अनि भोलिपल्ट बिहान तिमीलाई केही भएन ?” मैले आश्चर्य मान्दै सोधेको थिएँ ।
“के हुनु ! म खुर्सानी खाएरै हुर्केको मान्छे,” उसले भन्यो, “अहिले पनि मेरा लागि २०–२५ वटा खुर्सानी केही होइन ।”
…
यी पात्र हाम्रो समाजका वास्तविक पात्र हुन् । के यी पात्र कुनै रोमान्टिक कथाका पात्रभन्दा कम लाग्छन् त !?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।