
एस.एल.सी. मेरा लागि फलामको भन्दा पनि कडा ढोका भयो । स्कुलमा दक्ष शिक्षक नहुँदा गणित, अङ्ग्रेजी र विज्ञान हाम्रा लागि हाउगुजी नै थियो । छोरा मान्छे त ट्युसन पढ्न खर्च जोहो गरेर सदरमुकामसम्म पुग्थे तर हामी छोरीहरूका लागि त्यो सम्भव पनि थिएन । आफूसँगैका दौँतेरीहरू सबैको बिहे हुन थाल्यो म भने बिहे गर्ने होइन पढ्ने हो भनेर जिद्दी गरेर बसेँ तर पटक पटक गणित पास गर्न नसकेर थिच्चिएकी थिएँ । पास गर्न नसकेपछि बिहे नगरी विकल्प पनि थिएन मसँग । अब के भनेर निहुँ पारौँ भन्दै सोच्दै थिएँ । किन जहिले छब्बीस मात्र आउँछ मेरो भाग्यमा के लेखेको छ भन्दै पुर्पुरो समाइरहन्थेँ ।
एकदिन बसिरहँदा दिमागमा एउटा कुरा खेल्यो । झापामा दिदीका छोरीहरूको पढाइ अत्यन्तै राम्रो छ अनि त्यहाँ पढाउने शिक्षक पनि तगडा हुन्छन् भन्ने सुनेकी थिएँ र अब म पनि झापा जान्छु र ट्युसन पढेर आएर जाँच दिन्छु कसो पास नभइएला त ! एकचोटि अन्तिम हतियार प्रयोग गर्ने विकल्प सोचेर म झापा जाने योजना बनाएँ । योजना बनाएजस्तो सजिलो थिएन मलाई झापा जान । गिद्दले सिनो घेरेझैँ माग्न आउने केटाहरूको कुराले घेरिरहेको थियो । कतिबेला त जाँचमा फेल भएकी म साँच्चै सिनो भएछु कि क्या हो र घेर्छन् यी गिद्दहरूले भन्नेजस्तो पनि लाग्थ्यो । सोह्र वर्ष काटिसकेकी बुढीकन्या भैसकेकी थिएँ म सबैको नजरमा । अब छिटो बिहे नगरे नबिक्ने खासखुस खुलेरै सुनाउँथे कतिपय भद्रभलाद्मीहरू जो आफ्नी छोरीको पन्ध्र वर्षमा नै कन्यादान गरेर पुण्य कमाएको रवाफमा थिए ।

डा. रेणुका सोलु
धेरै सोचेर बसेर मात्र काम छैन अब भनेर झापा जाने तयारीमा लागेँ । मेरा पेवा पैसा आमाले जतनले राखिदिनुभएको थैलीबाट सुटुक्क निकालेँ अनि धेरै लामो पत्र लेखेर म सुत्ने खाटको डस्नामुनी राखिछोडेर म बाटो लागेँ । भोजपुर, धनकुटा, हिले हुँदै झापा जाने बाटो मलाई मेसो थिएन । यता जिरीसम्म त पसलको सामान लिन आउने भरियाहरूसँगै पुगिन्छ भन्ने सहास बटुलेर यात्रामा निस्किएँ । तीन दिन हिँडेर अनि एक दिन गाडीमा गरेर म काठमाडौँ बसपार्क आइपुगेँ । त्यही बसपार्कबाट काँकरभिट्टाको गाडी समातेर झापा हन्निएँ । म अरू केटीहरूभन्दा अलि फरक ड्रेसअप अनि गेटअपमा हुन्थेँ सानैदेखि मेरो सोख टुरिस्ट स्टाइल थियो । त्यसैले गाडी रोकेका बेला बाहिर निस्किँदा सबैले मलाई नै हेरेजस्तो लाग्थ्यो तर म थाहा नपाएजस्तो गरिदिन्थेँ । गाडीमा सबै आआफ्ना गफमा मस्त हुन्थे म भने गाडीमै बजेको “चरी उड्यो बादल छुनलाई…..” गीत सुनेर त्यसैमा हराइरहन्थेँ । गीतले सम्बोधन गरेको चरी कतै म आफैँ हो कि जस्तो पनि लागिरहन्थ्यो । एक्लै सोच्थेँ “थाहा छैन मैले छुन खोजेको बादल कहाँ छ! म छुन सक्छु कि सक्दिनँ ।”
काँकडभिट्टा प्रहरी प्रशासनमा भिनाजु सेवारत हुनुभएकाले मलाई त्यहाँ दिदीको घर पत्ता लगाउन गाह्रो भएन । बरु त्यति लामो बाटो केटीमान्छे एक्लै किन र कसरी आइस् भनेर तेर्सिएका दिदीका प्रश्नका ज्वारभाटा सामना गर्न निकै गाह्रो भयो । घरबाट बहिनी आएकी न कुराउनी छ न सेल छ न घिउ छ न त अरू केही नै छ । यस्तो रूखो पाराले बहिनी आएको देख्दा अरूसामुन्ने लाज पनि लाग्यो होला दिदीलाई । वास्तवमा त्यतिबेला केटीमान्छे यसरी बेसल्लाह हिँड्नु भनेको अपराध गर्नुसरह नै सम्झन्थे सबैले । एउटा अपराधीजस्तै डराउँदै डराउँदै दिदीलाई आफ्नो वास्तविकता र योजना सुनाएँ । मसँगै मेरा आँखाबाट पनि आँसुले साथ दिइरहेको थियो भावना पोख्नका लागि । मेरा कुरा सुनेपछि दिदी पनि रुनुभयो अनि केही दिनमा नै गणितको ट्युसन पढ्ने मास्टर खोजिदिनुभयो । लगभग २ महिना पढेपछि मलाई अब त्यो शत्रु लागेको गणित मित्र लाग्न थाल्यो । एउटा दक्ष शिक्षकले सिकाउँदा कति सजिलो हुँदो रहेछ विषयवस्तु बुझ्न म त चकित परेँ । यी सहरका मान्छे कति भाग्यमानी ! यस्ता जान्ने मान्छेसँग सिक्न पाउँछन्, गाउँमा कहिले पुग्लान् त यस्ता मास्टर ? अनि यस्ता जान्ने मास्टरले पढाएका विद्यार्थीसँग पढ्नै नपाएका गाउँका विद्यार्थीले कसरी प्रतिष्पर्धा गर्नु ? कति साह्रो विभेद यो शिक्षाक्षेत्रमा ! सबैका लागि शिक्षाको समान अवसर भन्ने सरकारी नीति कता निदाएको होला ? कुन राजनेता जन्मेला त त्यो नीति ब्युँझाउन ? के पाप गरेका छन् र गाउँका केटाकेटी यो सुविधाबाट वञ्चित भएका ?….म यस्तै यस्तै सोचेर टोलाइरहन्थेँ घरिघरि । मन बेस्सरी दुखिरहन्थ्यो तर बेअर्थको दुखाइ न कसैले बुझ्थ्यो न कसैले सुन्थ्यो, फगत एक्लै दुखिरहन्थ्यो कटकटी ।
म सँगसँगै ट्युसन पढ्ने साथी र उनका आमाहरू कपडाको व्यापार गर्दा रहेछन् । नेपालबाट कपडा लगेर भारतको सिलगढीमा दिँदा रहेछन् । एकदिन त्यो साथीले मलाई पनि त्यता घुम्न जाऊँ भनी र गयौँ । उनीहरूले पैसा समाएको हेरिरहेँ क्यार, “तिमी नि गर्छौ हामीसँगै यस्तो काम ?” भनेर सोधी । एक महिना जति गऱ्यो भने त लाहुरे हुन पाइन्छ भन्ने लोभ लागेर घरमा आएर दिदीलाई सोधेँ । भिनाजु चेकपोस्टमा हुनुहुन्छ, थाहा पाउनुभयो भने पढ्न आएकी बहिनीलाई यस्तो काम किन लाएको भनेर मलाई रिसाउनुहुन्छ भनेर अलि गाह्रो मान्नुभयो तर फेरि पनि लाहुरे हुने मेरो योजना सुनाएँ अनि आँखाभरि आँसु बनाउँदै सहमति दिनुभयो । भिनाजुको आँखा छल्दै एक महिनाजति मैले कपडा व्यापार गरेँ । कति सजिलो व्यापार नेपालको पसलबाट कपडा उठायो अनि उता लगेर पसलमा छोड्यो अनि पैसा लिएर यता साँवा बुझायो फाइदा आफू राख्यो; लगानी बेगरको व्यापार । ती साथीहरू पुराना कारोबारवाला भएर होला मलाई नि विश्वास गरेर यो अवसर मिलेको ।
त्यतिबेलाको दश बाह्र हजार कमाएपछि अब म काम छोडेर घर जाने तयारीमा लागेँ । उता एस.एल.सी. जाँचको सेड्युल आइसकेको थियो । यसपालि त जसरी नि पास गर्छु भन्ने विश्वास पनि थियो । अब घर फर्किँदा लाहुरे बनेर फर्कने इच्छा आफ्नै कमाइले झन् तेजिलो हुँदै थियो । छोरा मान्छे परदेशबाट फर्किँदा जसरी फर्किन्छन् त्यसैगरी फर्किने रहर उर्लिरहेको थियो ।
लाहुरे आएपछि गाउँमा जुन मान सम्मान पाउँथ्यो त्यो सम्मान छोरीहरू किन पाउँदैनन् ? के यो सम्भव छैन ? भनेर म सोचिरहन्थेँ । सम्भव छ, जरुर सम्भव छ भन्दै किनमेल सुरु गरेँ जसरी लाहुरेहरूले लान्थे परदेशबाट गाउँ फर्किँदा उसैगरी सिरक, तन्नाहरू, आमाबुबा र भाइबहिनीहरूका लागि कपडा, चिनी, चियारँग, मसला, चक्लेट यस्तै यस्तै किनेर घर फर्किने तरखरमा थिएँ । गाउँबाट बुबा पो आइपुग्नुभएछ मलाई लिन भनेर । “जाँचको रुटिन आयो, फाराम भरिदिएको छु , तैँले थापाइनस् कि भनेर लिन आको ” बुबाले यसो भनिरहँदा जिउँदा सक्षात् मेरा भगवान् देखेर खुसीका आँसु बरररर बर्सिए धेरैबेर । बाथरुममा पसेर मेरा खुसीका आँसुहरू खसालेँ धेरै बेरसम्म ।
केही दिनपछि बाबुछोरी घर फर्कियौँ । फर्किँदा चाहिँ हिले, धनकुटा, भोजपुर हुँदै फर्कियौँ । हिलेसम्म गाडीमा एकदिन अनि तीन दिन हिँडेर घर पुग्यौँ । लाहुरे पाराले किनेका सामान मज्जाले भारी पुगेको थियो मलाई । बुबालाई छोरी कमजोर छे भन्ने महसुस नहोस् भनेर भारी गह्रौँ भएको पत्तै दिइनँ । साल्पा डाँडा काटेर गुँदेल्को ओरालो झर्न थालेपछि क्यासेट (रेडियो) काँधमा भिरेर मज्जाले घन्काउन थालेँ जसरी छोरामान्छे परदेशबाट फर्किँदा घन्काउँथे त्यसैगरी । म सोच्दै थिएँ कि छोरामान्छे लाहुरे भएर फर्किँदा रेडियो बजेको सुनेपछि जसरी गाउँभरिका मान्छे बाटामा निस्किएर रमिता हेर्छन् अनि फलानाको छोरो लाहुरे भएर आएछ भनेर गुनगान गाउँदै खुसी हुन्छन्, मलाई हेरेर पनि त्यसै गर्नेछन् । यी दृष्य देखाएर मेरा आमाबुबालाई पनि सन्तुष्ट बनाउने हुटहुटिले उक्साइरहेको थियो मेरो मानसपटललाई । तल हुँगा खोला सुसाइरहेको थियो सायद म फर्किएको देखेर खुसी भएको होला । मैले घाँसदाउरा गर्दा हजारौँपटक सुम्सुम्याएको खोलो कति निराश थियो होला म नहुँदा । साँच्चै कति मिठो सुसाएको, हुँगाले सुसाएर नै सुमसुम्याएझैँ लाग्यो । कति मीठो स्पर्श आहा ! प्रेम होस् त यस्तो नछोईकनै महासागरमा पौडी खेलाउने बिन्दास ।
जब हामी घरमा पुग्यौँ, आमाले मेरो खुट्टा ढोगेर त्यहीँ मूच्र्छा परिरहनुभयो लामो समय । चार महिनासम्म मेरा कारणले दुखेको मन पखाल्नु थियो सायद अनि ककस्ले बिझाउने गरी हानेका वचनका काँडा झिक्नु पनि थियो होला । त्यसैले त आमाका आँसुले मेरा गोडा निथ्रुक्कै भएका थिए ।” ए नरो, किन रुन्छेस् छोरी मर्न गएकी होइन, नआउने बाटो गएकी होइन, ऊ हेर् त छोराले जस्तो कमाएर लाहुरे भएर पो आकी छ त, खुसी हो न अब किन रुनु मान्छेको छेउमा हाँस्नु पो पर्छ ” यसो भन्दै आमालाई सम्झाइरहनुभाथ्यो बुबा । ” रुन दिनू न बुबा, अघाउँजी रुन दिनू आमालाई, आँसु बगाएपछि शीतल हुन्छ नि ” मैले नि आमालाई रुन नै दिने निर्णय गरेँ किनकि जसरी पानी परिसकेपछि कञ्चन हुन्छ आकाश आँसु निख्रिएपछि मनपनि त्यसरी नै कञ्चन हुन्छ । मनमनै सम्झिएँ कति फराकिलो सोच मेरा बुबाको, कति भाग्यमानी म यस्तो भगवान्जस्तो बुबाको काखमा जन्म लिन पाएँ सोच्दै आनन्द मानिरहेँ म ।
आमा रुन छोड्नुभएपछि मेरा झोलाभित्रका पोकापुन्तुरा खोलेर मझेरीभरि फिजाएँ । गाउँमा सिलाइ राम्रो हुँदैन भनेर उतैबाट सिलाएर ल्याइदिएकी थिएँ कपडा । नयाँ डिजाइनका लुगा लाउन पाउँदा कम्ता रमाएनन् भाइ बहिनी । मूलओछ्यानका माथि क्यासेट झुन्ड्याएँ जहाँ बुबाले आफ्नो रेडियो झुन्ड्याएर राख्नुहुन्थ्यो र समाचार सुनिरहनुहुन्थ्यो । गाउँभरिका केटाकेटी जोजो आउँछन् सबैलाई चकलेट बाँडिदिएँ । काकीहरूलाई यसो हातको सोभा भन्दै अलिअलि मसला दिएँ । यसो गरिरहँदा म अत्यन्तै गौरवान्वित महसुस गरिरहेकी थिएँ कि छोरी पनि त लाहुरे हुन सक्दा रहेछन्, कमाउन अनि रमाउन सक्दा रहेछन्, फेरि किन छोरा नै खोज्छ मान्छे ? किन छोरीलाई पढाउनु हुँदैन लागानी खेर जान्छ भनेर भन्छन् ? भन्दै सोचिरहन्थेँ पनि ।
केही दिनपछि आमाले सुनाउनुभयो “छोरी नाथेले ल्याएको सम्पत्तिमा के खुसी हुनु, के काम गरी होली त छोरी नाथेले अर्काको ठाउँमा ? राम्रो काम त पक्कै गरिन होली भन्दै घोचिरन्छन् गाउँमा नानी ।” रिसको आवेगमा मैले पनि भनिदिएँ ” तिनेर्का बाबुको पैसा चोरेर भागेको छोरो कता पुगेर के के गरेर कमाएको चाहिँ राम्रो हुने, उनेर्को छोराले के गऱ्यो, के खायो, कसरी कमायो, चोऱ्यो कि लुट्यो कि भारी बोक्यो कि कोदालो खन्यो कि भनेर कसैले सोध्नु नपर्ने अनि मैले गरेको कामको चाहिँ किन बेलिबिस्तार लाउनुपर्ने तिनेर्लाई ? भन्दिनू नि आमा तिम्रा छोराले चाहिँ के काम गरेर कमायो त त्यसोभा भनेर ।” एकछिन आमासँग गुनासो पोखेँ फेरि अरूको रिस आमालाई के पोख्नु भनेर त्यो पाटो नै भुल्न खोजेँ । मनमा भने हुन्डरी चलिरह्यो “छोरामान्छे देशपरदेश गर्दा परिपक्व हुने, त्यही काम छोरीले गर्दा बिग्रिने, होइन यो बिगार्ने चाहिँ को हो ? छोरी आफैँ बिग्रिन्छे कि कसैले बिगार्छ ? फेरि बिगार्ने मान्छे किन बिग्रिँदैन । कस्तो विभेद यो छोरा र छोरीमा ?” चार महिना घर छोडेर निस्किएपछि बल्ल थाहा भयो छोरालाई जे गरे पनि छुट दिने, जति जुठोमा चोपलिए पनि चोखै हुने अनि देशपरदेश गर्दा परिपक्व हुने तर त्यही देशपरदेश गर्दा छोरीचाहिँ बिग्रिएको देखेर जबरजस्त बिगार्ने त मान्छेकै विभेदकारी मानसिकता पो रहेछ । किन त्यही काम गर्दा छोरो बिग्रिँदैन ? के छोरालाई नैतिकवान् बनाउनु पर्दैन ? कि नैतिकताको ठेक्का जति छोरीकै दाइजोमा पर्छ ?
आमाले सुनाउनुभएका गाउँलेका गनगनले एकछिन त निकै टाउको चर्कियो तर वादविवादमा अल्मलिनुभन्दा पनि काममा ध्यान दिनु थियो । बोल्नेहरू बोल्छन्, एकदिन पक्कै थाक्छन् तर म थाक्नु हुँदैन भन्ने सोचिरहन्थेँ ।
केही दिनमा नै एस.एल.सी. को रुटिनअनुसार जाँच दिन एकदिनको बाटो हिँडेर नेले गएँ । यसपालि भने राम्रै तयारी थियो अनि सोचेजस्तै राम्रो भयो जाँच पनि । पहिला पहिला जाँच दिँदा कतिवटा हिसाब मिल्यो कि मिलेन भन्ने नै थाहा हुन्थेन । यसपालि त यतिवटा मिल्यो भनेर ठ्याक्कै थाहा भयो । अनुमानकै भरमा जाँच दिँदा रहेछन् कतिपय गाउँका विद्यार्थी ।
कति नमीठो लाग्यो गाउँको शिक्षाअवस्था, अवसरबाट बञ्चित भएका हज्जारौँ हज्जार गाउँले केटाकेटी अनि सहरमुखी शिक्षा देख्दा कति नमीठो लाग्यो । छाती भारी भएजस्तो, आकाश खसेर थिचेजस्तो के के हो के के सम्झेर चिटचिट पसिना आयो । यस्तै के के सम्झँदै जाँचहलबाट बाहिरिएँ ।
केही महिनापछि रिजल्ट आयो । हाम्रो स्कुलबाट गणितमा सबैभन्दा बढी मेरो नम्बर आयो भन्ने सुनेपछि बुबाले खसी काट्नुभयो । यता बोर्डिङमा सयमा सय ल्याउनेले मेरो बाउन्न आउँदा स्कुलमा सबैभन्दा बढी नम्बर भएको भन्ने सुनेर कति हाँस्दा हुन् तर यताको सयमा सय भन्दा त्यो सयमा बाबुन्न औधी बढी अनि अर्थपूर्ण थियो । त्यसपछि त मैले मेरा आमाबुबाको विश्वासस जितिसकेकी थिएँ त्यसैले काठमाडौँ पढ्न जान्छु भनेपछि कुँडेको कुराउनी र टिनको घिउ भारी हालेर थामे दाजुलाई भरियासमेत जोहो गरेर व्यवस्थित बिदाइ गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

