यतिबेला विश्वमा कोभिड सन्त्रास छाएको छ । लाखौँ मानिस कोभिडको सिकार भइसके । करोडौँ मानिस कोभिडरूपी कालको मुखमा छन् । संयोगवश कतिपय यसको मुखमा पुगेर पनि सकुशल फर्किन सफल भएका छन् । अन्य थुप्रै व्यक्तिलाई यसले भेट्टाउने संयोग अझै जुरेको छैन ।
म पनि पहिलो चरणमै यसबाट आक्रान्त भएँ तर सिकारै हुनबाट जोगिएँ । कुन संयोगले म जोगिएँ थाहा छैन । यो मेरा लागि अज्ञात संयोग बनेको छ तर जीवनमा कतिपय ज्ञात संयोगहरूका कारण म धेरैपटक जोगिएको छु । ती संयोग जुर्नुमा कसको (भगवान्, प्रकृति वा स्वयम् मेरो नै) भूमिका थियो थाहा छैन ।
आज गहिरिएर सोच्दा लाग्छ, वास्तवमा आजसम्म हामीलाई संयोगै संयोगहरूले पो बचाएका रहेछन् । ती थुप्रै संयोगहरू नजुरिदिएका भए सानो निहुँमा हामीले परलोकको बाटो लागिसकेका हुने थियौँ जसरी हाम्रा कतिपय आफन्त र परिचितहरू आज भौतिकरूपमा हामीमाझ छैनन् ।
कुनै न कुनै सानो निहुँमा उनीहरूको बाल, किशोर र युवा वयमै चोला उठेको छ । उनीहरू अब बाँच्नेहरूका सम्झनामा मात्र सीमित भएका छन् ।
गहिराइ ननापी खोला, नदीमा हेलिँदा, दुवै हात छोडेर राजमार्गमा साइकल कुदाउँदा वा बाँदरजस्तै रूखका हाँगा-हाँगा चहार्दा पनि हामीलाई मृत्युले भेट्टाएन ।
देख्नेहरू डराउँथे र भन्थे, “ओए मर्लास् !”
तर खै ! मरिएन ।
घना जङ्गलभित्र एक्लाएक्लै हिँडिरहँदा पनि हामीलाई बाघ, भालु र चितुवाले भेटेनन् र हामी बाँच्यौँ । रातबिरात खेतबारी, वनजङ्गल र झाडीहरूमा भौँतारिँदा पनि हामीलाई विषालु सर्पहरूले डसेनन् र हामी जोगियौँ ।
भोटी माछा खोज्न सर्पका दुला–दुलामा हात छिराउँदा वा सुगाका बच्चा खोज्न गुँडमा हात हाल्दा विषालु सर्पले डसेर कतिपयले ज्यान गुमाए तर त्यो ज्यान गुमाउनेमा म परिनँ, अरू बाँच्नेहरू परेनन् ।
बर्खामा नदी, खोलानालामा हेलिँदा पनि हामीलाई कुनै भुमरीले भेट्टाएन र हामी सकुशल रह्यौँ । बाढी, पहिरो, चट्याङ, विभिन्नखाले दुर्घटनाहरूले पनि आजसम्म छुन सकेनन् र त हामी जीवितमा गनिएका छौँ । के हाम्रा लागि यी सबै संयोग थिएनन् ?
यस्ता अनगिन्ती संयोगहरूले हामीलाई बचाएका छन् । छायाजस्तै आफूसँगै हिँडिरहेको मृत्युलाई हामीले बारम्बार छकाइरहेका छौँ । स्मरण गरौँ त “धन्नै–धन्नै”बाट हामी कतिपटक मर्नदेखि जोगिएका छौँ ! म सम्झन्छु– घुन्सा विमान दुर्घटनाबाट प्रसिद्ध लेखक कर्ण शाक्य कसरी जोगिएका थिए ! तर कहिलेसम्म ? यो पनि संयोगमै निर्भर हुनेछ ।
यस्ता थुप्रै संयोगहरूले म पनि बाँचेको हुँ । त्यसैको प्रमाण हो यो आलेख ।
भाइ शिवको ठाउँमा बाल्यकालमै म मरेको भए आज ऊ पनि सायद मलाई यसरी नै सम्झिरहँदो हो जसरी म उसलाई सम्झिरहेछु ।
हामीलाई मृत्युको कारणसमेत थाहा नदिई बेलुका सकुशल सुतेको भाइ बिहान लास बनिसकेको थियो ।
यस्ता सबै ज्ञातअज्ञात संयोग र वियोगहरूको उल्लेख त यो सानो आलेखमा सम्भव छैन तर केही संयोगहरूको भने म यहाँ उल्लेख गर्न चाहन्छु ।
संयोग–१
रातिको नौ बजेको हुँदो हो । म ललितपुर पुल्चोकको जेब्राक्रसबाट बाटो काट्ने क्रममा थिएँ । बाटो खाली नै थियो । म सरासर अगाडि बढेँ । जब म जेब्राक्रसको बीचमा पुगेको थिएँ, जावलाखेलतिरबाट एउटा भ्यान बत्तिएर आयो ।
यसो हेर्छु त भ्यान मनजिकै आइपुगेको छ ! भ्यान र मबीचको दूरी १० मिटर पनि छैन । मन चिसो भयो, आङ सिरिङ्ग । म अकस्मात् चिच्याएँ ।
भ्यान पनि सडकको बीचमै गुडिरहेको थियो । तीव्र गतिमा आएको भ्यानले ब्रेक हाने पनि अब मलाई तर्काउन सक्ने अवस्था थिएन ।
ड्राइभरले पनि सायद रातिमा टाढाबाट मलाई देखेको थिएन । नजिकै आएपछि देख्यो । टाढा सडकमा गाडीको प्रकाश देखे पनि मैले पनि गाडीको गति अनुमान गर्न सकिनँ ।
मलाई अब अगाडि बढौँ कि पछाडि फर्कौँ “कन्फ्युजन” भयो । सोचेँ अब पछाडि फर्कनुभन्दा अगाडि बढ्नु नै ठीक छ ।
भ्यानको ड्राइभरलाई पनि सायद यस्तै “कन्फ्युज” थियो, कताबाट मलाई छलौँ । सहरका सडकपेटीमा हिँड्दा कहिलेकाहीँ विपरीत दिशाबाट हिँडिरहेका दुई व्यक्तिबीच कताबाट क्रस गरौँ भन्ने “कन्फ्युजन” भएर ठोकिने अवस्था हुन्छ नि ! हो, ठीक त्यही अवस्था भ्यान र मबीच थियो ।
मान्छे–मान्छे ठोक्किँदा त केही थिएन । “सरी” भनेर बाटो लाग्न सकिन्थ्यो तर तीव्र गतिमा भएको गाडी र सडकबीचमा उभिएको मानिसबीच यस्तो अवस्था आयो भने के होला ! तपाईँ अनुमान गर्न सक्नुहुन्छ ।
ड्राइभरले पनि सायद मेरो जसरी नै सोच्यो होला, मान्छे पश्चिम फर्किएर बाटो काट्दै छ भने उल्टो दिशामा पछाडि फर्किने सम्भावना कम छ ।
म चिच्याउँदै अगाडि नै दगुरेँ ।
ड्राइभरले पनि गाडी यसरी मोडेर पूर्वतिरबाट लग्यो कि गाडी र म क्रस गर्दा एकदुई सुताभन्दा बढीको फरक परेन ।
भ्यानको हावाले मलाई अलिकति पर हुत्यायो तर भ्यानले छोएन, म बाँचेँ । भ्यानको पनि सन्तुलन बिग्रिएन ।
“धन्न बाँचियो !” पारि पुगेपछि मैले लामो सास तानेँ । मेरो शरीर लुगलुग भयो । तत्काल हिँड्न सकिनँ र सडकपेटीमै थुचुक्क बसेँ ।
म पछि हटेको वा त्यहीँ अडिएको भए वा ड्राइभरले भ्यान पश्चिमतिर मोडेको भए…?
संयोग–२
पुल्चोकमै एकपटक म एउटा गल्लीमा घरको पेटीबाट हिँडिरहेको थिएँ । सिमसिम पानी परिरहेको थियो । वास्तवमा पानीबाट तर्किन नै म घरको छेल पर्दै हिँडिरहेको थिएँ ।
घरको पेटीमा चारपाँचवटा ओरालो सिँढी थियो । म तेस्रो सिँढीमा पुगेको मात्र थिएँ, अकस्मात् मेरा दुवै खुट्टा एकैसाथ चिप्लिए ।
पानी परेकाले चिप्लो भएको पेटी र चिप्लिने खालकै तलुवा खिइसकेका चप्पलका कारण यस्तो भएको थियो । जसै म चिप्लिएँ, मेरो मस्तिष्कमा एउटा सोचाइको झिल्का उठ्यो । त्यो यस्तो थियो– मलाई अकस्मात् सिँढीको सम्झना भयो । यदि म जसरी दुवै खुट्टा चिप्लिएर उत्तानो पर्दै थिएँ त्यसरी नै पछारिएँ भने मेरो टाउको सिँढीमा पर्ने पक्का थियो । अन्त के–के हुन्थ्यो भन्न सकिन्नथ्यो तर स्पष्ट थियो, मेरो टाउको साबुत रहने थिएन ।
मैले शरीरको सन्तुलन गुमाए पनि चेतनाको सन्तुलन गुमाइनँ ।
मैले चिप्लिएको झट्कासँगै भएभरको आफ्नो बल प्रयोग गरेर शरीरलाई सिँढीभन्दा पर उछुट्याउने प्रयास गरेँ । फलतः सिँढीमा उत्तानो पर्नुपर्ने मान्छे, दुई घरको पेटीको माझ गल्लीमा घोप्टो परेँ ।
घोप्टो पर्दा मेरा हातले छातीलाई बँचाएछन् । पछारिँदाको सबै भार हात र औँलामा पऱ्यो ।
तुरुन्तै उठेँ तर तुरुन्त हिँड्न सकिनँ । त्यहीँ थुचुक्क बसेँ ।
मलाई भनन्न रिङ्टा लाग्यो । शरीर पूरै झमझमाइरहेको थियो । बोल्न पनि सकिनँ ।
स्थानीयको सहयोगमा केहीबेरपछि म नजिकैको पाटीमा आएर बसेँ । पछि घरका मानिस बोलाएर डाक्टरकहाँ गएँ । मेरा छाती, टाउको जस्ता महत्त्वपूर्ण अङ्ग सुरक्षित थिए । दाहिने हातको नाडी र औँलामा भने गहिरो चोट थियो ।
धन्न म बाँचेँ । पछारिँदा मेरो टाउको फुटेको भए… ?
संयोग–३
कुरा बाल्यकालको हो । सदाझैँ एक दिन कन्जरुवामा पौडी खेल्दै थियौँ । खेल्दाखेल्दै थाकेर बगरको बालुवामा आ–आफ्ना नाम लेखिरहेका थियौँ ।
“ओए, त्यता हेर् त,” हातले इसारा गर्दै गोपालले खोलाको ढिकतिर देखायो, “कत्रो ठूलो मौरीको घार !” सबैका नजर उसले देखाएतिर मोडिए । हो, साँच्चै रहेछ ।
मौरीको घार ठूलै थियो । “जाम् हेर्न,” हामी सबै नाङ्गै घार भएतिर दगुऱ्यौँ । केही पर खोलाछेवैको सालको रूखमा त्यो घार थियो ।
“घार त पुरानोजस्तो छ यार,” मैले अनुमान लगाएँ, “पक्कै पनि यसमा एक बाल्टीभन्दा बढी मह छ ।”
घार ठूलो रूखको पनि निकै माथि थियो तर हामी सबै साना थियौँ । त्यो काढ्नु हाम्रो वशको कुरा थिएन ।
मैले भने दाइलाई सम्झिएँ र भनेँ, “भने दाइलाई भनम्, भोलि नै काढ्नुपर्च नत्र अर्कैले उछिट्याउँच ।”
भुवन विक अर्थात् भने दाइ गाउँभरिकै मह सिकारी थिए । उनी ठूला–ठूला र अप्ठ्यारा रूखमा चढेर पनि मह काढ्न सक्थे ।
वैशाख जेठमा प्रायः उनकै अगुवाइमा चार/पाँच जनाको टोली मह काढ्न वन–वन चहार्थ्यो । भने, कुले र राजु दाइहरू जस्तासुकै अप्ठ्यारामा पनि मह काढ्न खप्पिस थिए । स–साना रूखका पुत्का (दुलेमौरी) भने हामी पनि काढ्थ्यौँ ।
त्यतिबेला व्यावसायिक मौरीपालन सुरु भइसकेको थिएन र यतिबेलाजस्तो वनमौरी काढ्न प्रतिबन्ध पनि थिएन ।
कतिपयले वनमौरीको मह काढेरै घरखर्च चलाउँथे । चिसापानी टोलका लालबहादुर बोहोरा मौरीको मह काढ्न त्यो क्षेत्रमै कहलिएका थिए । उनको घरमा बाह्रैमास वनमौरीको मह किन्न पाइन्थ्यो ।
वनका मौरीलाई भीरमौरी भनिन्थ्यो । यद्यपि ती भीरमा नभएर रूखमा हुन्थे । तराईमा कहाँबाट भीर हुनु ! तर प्रायः ठूला–ठूला र अप्ठ्यारा सिमलका रूखहरूमा मौरीले घार लगाएका हुन्थे ।
“दाइ कञ्जरुवामा गज्जबको मौरीको घार छ,” घर पुगेपछि हामीले मौरीको कुरा भने दाइलाई सुनायौँ, “भोलि काढौँ न !”
उनले पनि उत्सुकता देखाए– “पुरानो घार हो ?”
“हो,” मैले दुई हात फैलाउँदै भनेँ, “यत्ति ठूलो छ ।”
भोलिपल्ट हामी मह काढ्ने पूरा तयारीका साथ गोठालो हिँड्यौँ । सदाझैँ भैँसी कञ्जरुवा खोला तारेर हामी मह भएको रूखतिर लाग्यौँ ।
“गज्जबको घार रहेछ,” चारैतिरबाट मौरीको घार नियालेपछि भने दाइले भने, “यसमा केही नभए पनि पाँच लिटरभन्दा बढी मह निस्किन्छ ।”
उनलाई कस्ता घारमा मह हुन्छ, कस्ता रूखमा मौरी बस्छन्, कस्ता मौरी सीधा हुन्छन् र कुन सिजनमा मह राम्रो गुणस्तरको हुन्छ इत्यादि कुराको राम्रो परख थियो ।
उनका कुराले हामी अझ उत्साहित भयौँ । हामी भुराभुरी मिलेर झिँजा दाउरा र हरिया स्याउला बटुल्न थाल्यौँ । छिनभरमै दुईवटा राँका तयार भए ।
भित्र मसिना दाउरा र बाहिर हरिया स्याउला राखेर तीनचार ठाउँमा डोरीले बाँधेर राँको बनाइन्थ्यो । राँकोको पुछारबाट भित्र आगो झोसेपछि भित्र मज्जाले आगो बल्थ्यो ।
बाहिर हरिया स्याउला भएका कारण धुवाँ पुत्ताउँथ्यो । यही धुवाँ नै मौरी घारबाट भगाउनका लागि आवश्यक थियो ।
समूहमा मह काढ्नु, चाकासहित मह खानु र कुट खानुको मजा नै बेग्लै हुन्थ्यो । कोही मौरीका बच्चा पोलेर खान मन पराउँथे ।
पगाहाको एउटा टुप्पो कम्मरमा बाँधेर दुईवटा हँसिया पालैपालो रूखमा खोप्दै भने दाइ बाँदरझैँ रूख चढे । मौरीको घारभन्दा तलको हाँगामा पुगेपछि उनले आफ्नो “पोजिसन” मिलाए । पगाहाको टुप्पो एउटा हाँगामा बाँधे ।
गुणे अङ्कल दुईवटा राँका र बाल्टी लिएर तयारी अवस्थामा रूखको फेदमा बस्नुभएको थियो । हामी भने अलि पर झाडीमा छेलिएर सबै हेरिरहेका थियौँ ।
गुणे अङ्कलले फटाफट एउटा राँको पगाहाको एक छेउमा बलियो गरी बाँधिदिनुभयो । भने दाइले राँकोसहितको पगाहा माथि ताने ।
राँको माथि पुगेपछि मौरी घार छोडेर भुनभुनाउन थाले । भने दाइले धुवाँसहितको राँको मौरीको घारमा झोसे । धुवाँको असरले केहीबेरमै सबै मौरी घार छोडेर उडे ।
“कत्रो ठूलो चाका !” उत्साहित हुँदै कर्ने चिच्यायो । हामीले पनि स्पष्ट देख्यौँ, करिब एक मिटरको चाकाभरि महैमह !
मौरीजति भागेपछि भने दाइले फेरि राँको एउटा हाँगामा अड्याए । पगाहा खोले र फेरि पगाहा तल पठाए । अङ्कलले यसपालि बाल्टी पगाहामा बाँध्नुभयो । भने दाइले पगाहा ताने ।
उनी मह काढ्न थाले । हामीसँग करिब पाँच लिटर जाने एउटा मात्र बाल्टी थियो । मह भने करिब त्यसको दोब्बर । हामीले अनुमान गरेभन्दा बढी मह रहेछ ।
भने दाइले बाल्टीभरि मह काढे । बाँकी मह घारमै छोडिदिए र बिस्तारै पगाहामार्फत बाल्टी तल पठाए ।
गुणे अङ्कलले सुरक्षित रूपमा बाल्टी समातेर रूखको फेदमा राख्नुभयो । भने दाइ हँसिया, राँको र पगाहा पहिला फालेर आफू बिस्तारै तल ओर्ले । हामी पनि अङ्कल भएतिर गयौँ ।
“यति नजिक यस्तो राम्रो घारमा कसैको आँखा परेको रहेनछ,” भने दाइले माथि घारतिर हेर्दै भने, “आधाभन्दा बढी मह त घारमै छुट्यो ।”
त्यो घार यस्तो ठाउँमा रहेछ जुन हामी पौडी खेल्ने ठाउँभन्दा अन्यत्र कतैबाट पनि सितिमिति देखिँदो रहेनछ ।
हामी सबै जना बाटातिर निस्कियौँ । हामी जम्मा छसात जना थियौँ । मह भने बाल्टीभरि थियो । कति खानु मह !
थोरै हुने अनुमानका आधारमा धेरै भाँडाको व्यवस्था गरिएन । मह घर लैजाने सोच पनि हाम्रो थिएन । काढ्ने र त्यहीँ गोठाला जतिले बाँडेर खाने योजना थियो ।
कति मह त बाल्टीबाट चुहेर पनि पोखिइरहेको थियो । बाल्टी वरिपरि आठदशवटा मौरी भुनभुनाइरहेका थिए ।
भने दाइले एक–एकवटा मह भरिएका चाका हामीलाई दिए । हामीले स्वाद मानेर खायौँ ।
हामी बेलघारी कपास फारम (जहाँ भैँसी पुग्थे)तिर हिँड्यौँ । बेलघारीमा पुगेर आरामले मह बाँडेर खाने हाम्रो योजना थियो । महका कारण आजको पौडी कार्यक्रम स्थगित भयो ।
मह भरिएको बाल्टी लिएर भने दाइ अघि लागे । हामी उनको पछि–पछि लाग्यौँ । “दाइ एउटा सानो चाका देऊ न,” बेलाबेला हामी मह माग्थ्यौँ । उनी दिन्थे पनि ।
“दाइ मलाई कुट ल्याऊ न,” गोपालले भन्यो । उनले कुटको सट्टा महकै एउटा सानो चाका गोपाललाई थमाइदिए ।
कुटको बहानामा मह नै खाने उसको पनि भित्री इच्छा थियो । गोपाल हामीलाई जिस्क्याउँदै मह खान थाल्यो ।
“मलाई पनि देऊ न,” मैले पनि मागेँ । उनले मलाई पनि दिए । कर्नेले पनि माग्यो । उसलाई पनि दिए ।
गोपाल र म मह सक्नेबित्तिकै फेरि भने दाइसँग मह माग्थ्यौँ । समूहमा सबभन्दा साना हामी नै थियौँ । हामी रमाइलो मान्दै जिस्किने हिसाबले भने दाइलाई सताइरहेका थियौँ ।
“आज तिमेरूले छेर्ने गरी मह खाउला, भएन !” उनले भने, “तर बेलघारी पुगेपछि मात्र । त्यहाँ चाका निचोरेर आरामले बसेर खाउँला ।”
उनले मह खान हुन्छ भनेर बाटामा हामीलाई भोरलाका पात टिप्न लगाए ।
“हैन के हामी चाकासितै खान्छौँ !” गोपालले भन्यो, “यसरी खाँदा मज्जा आउँछ ।”
“हो के दाइ ल्याऊ न,” मैले पनि थपेँ तर यसपटक उनले दिन मानेनन् ।
हामीले कर गरिरह्यौँ । उनले पनि इन्कार गरिरहे ।
“ल त्यसो भए पात थाप,” उनले पनि एउटा सर्त राखे, “हातमा दिन्न, पातमा दिन्छु । पातको सोली बनाएर मुखमा राख म सोलीमा चाका निचोरिदिन्छु ।”
हामीलाई जसरी भए पनि मह नै खानु थियो । गोपाल र मैले उनको सर्त स्वीकार गऱ्यौँ । उनी पनि हामीसँग जिस्किने मुडमा थिए ।
हामीले भोरलाका पातका सोली बनाएर चिलिमजस्तै मुखमा राख्यौँ । उनले पालैपालो गोपाल र मेरो मुखका सोलीमा महका चाका निचोरिदिन थाले । हामी रौस मानीमानी सोलीबाट मह खाइरहेका थियौँ ।
हामी बेलघारी फारम पुग्नै लागेका थियौँ । भने दाइ सर्तअनुसार हाम्रा सोलीमा मह निचोरिरहेका थिए ।
भने दाइले मेरो मुखको सोलीमा महको एउटा ठूलो चाका निचोरिदिए । मैले पनि उनले निचोरेको चाकाको पूरै मह सिध्याएँ ।
तर अकस्मात् के भयो कुन्नि महको अन्तिम घुट्को निलेपछि सास फेर्छु भन्दा सास नै बाहिर आएन । सास त छातीमै अड्कियो ।
सर्को परेको पनि होइन तर सास फेर्नै सकिनँ । म आत्तिएँ, बोल्न पनि सकिनँ । शरीरभरि सरर्र पसिना रसाए ।
गुणे अङ्कल नजिकै हुनुहुन्थ्यो । मैले च्याप्प उहाँको हात समातेँ । मेरो बोली थिएन । सास पनि फेरेको थिइनँ । ह्याक्क–ह्याक्क मात्र भइरहेको थियो ।
“ए सनतलाई के भयो ? ” अङ्कल आत्तिएर चिच्याउनुभयो, “पानी ल्याओ पानी !”
वरिपरि पानीको कुनै स्रोत थिएन । पानीको कल करिब १० मिनेटको दूरीमा थियो । सास रोकिएको मान्छेका लागि १० मिनेट परको धाराको के प्रयोजन ?
मलाई बाँच्नु यत्ति रहेछ भन्ने लाग्यो । चारैतिर अँध्यारो देखेँ । सास न तल आउँछ न माथि ! सास नै अड्केपछि ढ्याउ, ख्याक्कखुक्क केही गर्न पनि मिल्दो रहेनछ ।
मेरो शरीर थरर्र काँप्यो । मैले केही सम्झिनँ । मृत्युबाहेक मेरा अगाडि केही थिएन ।
मैले निरीह भएर अङ्कलको हात जोडसँग तानेँ । अङ्कल पनि कालोनीलो हुनुभयो । उहाँका आँखा रसाए । उहाँ पनि निरुपाय हुनुहुन्थ्यो ।
अरूले पनि केही गर्न सक्ने अवस्था थिएन । अङ्कलले मेरो छाती र पिठ्युँमा मालिस गर्नुभयो । तर पनि सास आएन ।
हत्तपत्त मेरो हात तानेर अङ्कलले नजिकै रहेको भैँसी बस्ने गरेको आहालतिर दौडाउनुभयो । आहालमा पानी र हिलोको लेदो थियो ।
म त्यही आहालछेउमा दुवै घुँडा टेकेर बसेँ । करिब २० सेकेन्ड बितिसकेको थियो । म असिनपसिन भइसकेको थिएँ ।
त्यही आहालको एक अञ्जुली लेदो उठाएर मुखमा के हाल्न लागेको थिएँ, भित्रैबाट अकस्मात् ढ्याउ डकार आयो । बिस्तारै सास तानेँ । सास फेर्न मिल्यो । मैले फेरि एकपटक लामो निश्वास छाडेँ ।
सास आएपछि बल्ल मेरा नौनाडी गले । म त्यहीँ पछारिएँ ।
म बाँचेँ । बाँचेँ भन्ने अनुभूतिले नै सायद म पछारिएको थिएँ ।
थप अरू केही सेकेन्ड मेरो सास नफर्केको भए…?
…
यी घटना सरसरती बयान गर्न मलाई केही घण्टा लाग्यो र पाठकलाई पढ्न पनि केही मिनेट अवश्य लाग्नेछ तर यी घटना प्रक्रिया निमेश समय वा प्रकाश गतिभन्दा तीव्र सोचमा सम्पन्न भएका थिए ।
त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यी घटनामा म जसरी बाँचेँ ती मेरो जीवनका लागि महत्त्वपूर्ण संयोगहरू थिए । यदि ती संयोगहरू नजुरेको भए…?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।