एक जना अलिअलि जुँगाका रेखी देखिएका गोरा युवक हाम्रो बुबाका साथ लागेर भुटानको मेनाटारस्थित हाम्रो घरमा आएका थिए, उहिल्यै, कहिले हो कहिले सपनाजस्तो । २०२६ हो कि २७ सालमा । म बच्चै थिएँ भनिराख्नु नपर्ला त्यस बेला, छ–सात वर्षको । साइँल्दाजु भनेर हामीले उनलाई चिन्यौँ । माइलो बुबाका साइँला छोरा अरे । बुबाका अति प्रिय माइला दाजु पण्डित टेकनाथ भट्टराईका छोरा । मोराङबाट (झापालाई पनि त्यहाँ मोराङ नै भन्थे किन हो !) एसएलसीको परीक्षा दिएर खाली भएको समयमा काकाका साथ घुम्न आएका अरे । बुबा भन्नुहुन्थ्यो, “साइँलो एकछिन चुप लागेर बस्न सक्दैन, केही न केही गरेको गरेकै गर्छ । अब केही महिना यतै बस्ने भएकाले यसलाई अलमल्याउने केही काम गराउनैपर्छ ।”
बुबाले गाउँमा सल्लाह गर्नुभयो, गाउँका केटाकेटीहरूलाई पढाऊँ । हाम्रो बुबा कान्छा गुरु पण्डित चिदानन्द भट्टराईले भनेपछि गाउँलेहरू भीरबाट हामफाल्न पनि तयार हुन्थे । ठूलो श्रद्धा र विश्वास थियो कान्छा गुरुप्रति त्यो मुगलानको अनकन्टार गाउँमा । त्यो विश्वासको आधार भने यिनै साइँल्दाजुका पिताजी, हाम्रा माइला बडाबा पण्डित टेकनाथले स्थापित गर्नुभएको रहेछ त्यहाँ । उहाँ त्यो गाउँमा दुई दशक जति बसेर गर्नुभएको सामाजिक योगदानले सिङ्गो गाउँ प्रभावित थियो । माइला गुरुका नामले उहाँ प्रशिद्ध हुनुहुन्थ्यो । उहाँ स्वदेश फिर्ता बसाइँ सरेपछि कान्छा गुरुले त्यो स्थान ओगट्नुभएको रहेछ ।
बुबाले गाउँका ठिटाहरूलाई भेला पार्नुभयो । ह्याम्से, खुइले, काले, हरे, माने आदि । एकलख्खे नलगाई कसैले कसैलाई बोलाउँदैनथ्यो गाउँमा । केटीहरूले पढ्नु त दुर्लभ कुरा भइहाल्यो । केटीहरू एक जना पनि थिएनन् जस्तो लाग्छ त्यो टोलीमा । स्कुलमै पनि केटीहरू नगण्य हुन्थे । हाम्रो जस्तो शिक्षित र सचेत परिवारमा त हाम्री जेठी दिदीले पढ्न पाउनु भएन । बाल विवाह व्याप्त थियो । दिदीको विवाह पनि १५–१६ वर्षकै उमेरमा भएको थियो । त्यो पनि धेरै ढिलो भएको मानिएको थियो ।

लक्ष्मण गाम्नागे
केटाहरू पढ्न आउन तयार भए । १२–१५ जना जम्मा भए होलान् । केही त निकै टाढा टाढादेखिका पनि थिए । घरघरबाट चित्रा, मान्द्रा, गजरा, गुन्द्री, पराल ओसारेर थुपारियो । ढाँडको जङ्गलबाट केटाहरू र तिनका अभिभावकहरूले खाँबा, बला, सेउला ल्याए । हाम्रो घरदेखि मास्तिर धान काटेर खाली भएको ठूलो खेतको गरामा दुईचार दिनमै छाप्रे स्कुल तयार भयो; पढाइ सुरु भयो ।
त्यहाँको सरकारी स्कुलमा पनि बुबाप्रति ठूलो भर थियो । हेडमास्टर आच्चु गेलेलगायतले बुबालाई गुरु (लामा) भनेर आदरसाथ व्यवहार गर्थे; सल्लाह सुझाव लिन्थे । त्यसबेला भुटानका स्कुलहरूमा नेपाली पनि एउटा विषयका रूपमा पढाइ हुन्थ्यो । देन्छुखा प्राइमरी स्कुलमा हेडसरले नै पढाउँथे नेपाली ।
गाउँलेहरूले धान चामल वा सक्नेले नगदै उठाएर पारिश्रमिक व्यवस्था गर्ने गरी बुबाले स्कुलमा कुरा गरेर साइँल्दाजुलाई नेपाली विषय पढाउने व्यवस्था मिलाउनुभयो । यसरी साइँल्दाजुले दिउँसो सरकारी स्कुलमा र बेलुका सेउले स्कुलमा पढाउन थाल्नुभयो । साइँल्दाजु १६–१७ वर्षको किशोर उमेरमा त्यो ठाउँमा नेपाली सरका नामले परिचित र चर्चित हुनुभयो । मैले उनै नेपाली सरबाट त्यही छाप्रे स्कुलमा क ख सिकेँ; टिनको कालो पाटीमा खरीले लेखेर । छाप्रे स्कुलमा विद्यार्थीहरू १२–१५ वर्षभन्दा बढी उमेरका थिए । कतिपय सरभन्दा बढी उमेरका पनि थिए । साइँल्दाजु तिनीहरूका कान निमोठी निमोठी पढाउनुहुन्थ्यो । पढाउँदा पढाउँदै कहिलेकाहीँ राति अबेला हुन्थ्यो । केटाहरू कोही छाप्रामै, कोही परालका माचमा र कोही हाम्रो घरबाहिर सिकुवातिर सुत्थे । नेपाली सर धेरै उटपट्याङहरू पनि गरिरहनुहुन्थ्यो । बिहान राति नै उठेर आफूसँग मिल्ने खाले केटाहरूको साथ लागेर सिकुवामा निदाइराखेका केटाहरूलाई खाटै वा ओछ्यानै सहित उठाएर पर आँगनमा वा बलेँसीमा लगेर सुताइदिने, केटाहरूलाई मोसोको जुँगा बनाइदिने, खुट्टामा डोरीले बाँधेर खाटमा कसिदिने, अनेक रमाइला उपद्रो । यस्ता रमाइला दौँतरी सर पाएर केटाहरू पनि दङ्ग थिए । पढ्न आउनेको सङ्ख्या पनि निकै पुगेको थियो ।
एकपल्टको घटना कहिल्यै नबिर्सने भयो । खुइले भन्ने विद्यार्थीलाई पखाला लागेको रहेछ । नेपाली सर अलि कडा स्वभावका । भन्न सकेनन् वा सरले अनुमति दिनुभएन के भयो पढ्दापढ्दै खुइले दाइले ठूलो धमाकाका साथ बसेकै ठाउँमा बन्दुक पड्काए । अपान वायु छाडेको भनेर उनले गाली खाए तर बिस्तारै दुर्गन्ध बढ्दै गएपछि र उनको अनुहार झन्झन् कालो हुँदै गएपछि छानबिन गर्दा कुरो अर्कै परेको थाहा भयो । हामी सबै स्कुल छाडेर बाहिर निस्कियौँ । बिचरा खुइलेले नाङ्गै भुतुङ्गै भएर झन्डै दश मिनेट लाग्ने टाढाको खेतको धाराबाट पानी ओसारेर सरसफाइ गरे । त्यो दिनको पढाइ त्यत्तिकैमा सकियो । खुइले दाइ दुईतीन दिन स्कुल आएनन्, पछि आए ।
अर्को एकपटकको घटना झलझली आउँछ । साइँल्दाजुले भन्नुभयो, “यो कान्छाले पटक्कै पढ्न जानेन, यसलाई म धारामा थापेर ल्याउँछु, अनि यसको दिमाग खुल्छ । तिमीहरू पढ्दै गर । पढेनौ भने तिमेर्को पनि पालो आउँछ ।” म डरले निलो भएँ । दाजुले मलाई काँधमा बोक्नुभयो र घरपछाडिको बाटो हुँदै टर्च लाइट बालेर मलाई पँधेरातिर लिएर जानुभयो । पँधेराको छेउमा बिसाउनुभयो र नडराई बस् है, म ऊ त्याँ पुगेर आउँछु भन्दै कतै हराउनुभयो । म धारोमा थापिनुपर्ने भयले भुतुक्क भएर कुक्रुक्क परेर बसिरहेँ । साइँल्दाजु एकछिनपछि आउनुभयो, हातखुट्टा धुनुभयो र उसैगरी मलाई काँधमा बोकेर स्कुल फर्किनुभयो । पछि पो थाहा भयो दाइले त मलाई शौचालय जान साथी लिएर जानुभएको रहेछ ।
अर्को एक घटना पनि रमाइलो छ । हाम्रो स्कुल मेना गाउँबाट अलि टाढै थियो । सायद ४५ मिनेटको दूरी होला, चाङ भन्ने ठाउँमा । हाम्रो घरबाट खेतको डिलैडिल तेर्सो गएर भीरको बाटो तल झरेर नालुङ खोलो तरेर जानुपर्ने । स्कुलको अनुशासन एकदमै कडा । अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो । हेडसर र जोङ्खा पढाउने सरहरू डुक्पा थिए, गणित, विज्ञान र अरू विषय पढाउने बङ्गाली सर थिए । हेडसरका छोरा कर्मा र छोरीहरू सोनाम र डिङ्की थिए । विदेशतिर पढेका उच्च शिक्षित । कर्मा त डाक्टर भइसकेका थिए सायद । उनीहरूले पनि हामीलाई कहिलेकाहीँ पढाउँथे, छुट्टीमा घर आउँदा । मिसहरू चुइगम पड्काइरहन्थे । हामीलाई पनि चुइगम दिन्थे बेला बेला । म नाच्नमा सिपालु थिएँ । जोङ्खा पढाउने सरले सिकाएको एउटा गीत र त्यसमा गरिने नृत्य आजसम्म मैले भुलेको छैन । नाच्नमा सधैँ मैले स्याबासी पाउने तर एक थोपो पनि अर्थ थाहा नभएको त्यो गीत यस्तो थियो । यो नाचको ताल मलाई अझै पनि आउँछ ।
“ल्होजो मेन्जो रावाँ गेखाप्दी,
गाएके फेन्सु छोबी तेन्डे जोँ ।
पेलदेन डुबी छासी गोङ्ले थोवा
जुर्वा मेबी टाला सिबर सो…।”
म गट्टा खेलमा पनि सिपालु थिएँ । काठका फल्याकहरू ओछ्याएको भुईँमा बसेर चाइनिज चेकर र गट्टा खेलेको हिजोअस्तिका दिनजस्तो लाग्दालाग्दै पाँच दशक छेउछाउ पुगेको यथार्थलाई स्वीकार गर्न गाह्रो लाग्छ, एकदम गाह्रो ।
क्षमा गर्नुहोला, म बहकिएछु, ठाउँमा आउँछु । म एउटा घटना भन्दै थिएँ । मेनाटारबाट हामी बर्खाको समयमा पौने नौ बजेतिर र हिउँदमा सवा नौ बजेतिर स्कुलका लागि बाटो लाग्थ्यौँ । बर्खाको समयमा माथिल्लो बाटो र हिउँदमा तल्लो बाटाबाट स्कुल जानुपर्थ्यो । माथिल्लो बाटो तेर्सो, सजिलो, सुरक्षित र चल्तीको बाटो थियो, तर लामो थियो । शिवालय मन्दिर, गैरीखेत, सानो नालुङ, नाके डाँडो, ठूलो नालुङ, बरपीपलको चौतारो हुँदै जाँदा एक घण्टाभन्दा बढी लाग्थ्यो । हिउँदमा हिँड्ने तल्लो बाटो निकै डरलाग्दो थियो तर छोटो थियो । भीरको साँघुरो, ओरालो र जङ्गलको बाटो । भीर कटेर फेदमा पुग्दा सानो नालुङ र ठूलो नालुङ मिसिएर ठूलो डरलाग्दो भएको देखिन्थ्यो । बाँसको फड्के तरेर जानुपर्ने । तलबाट भीरतिर फर्केर हेर्दा भिरैभरि तारामण्डलको फूल फुलेको रमाइलो देखिन्थ्यो । माथिबाट नालुङ खोलाको अग्लो छहरो खसेको देखिन्थ्यो । खोलाका किनारतिर मज्जाले सप्रिएका ठोट्नेका बोटहरू हुन्थे । हामी ठोट्ने भाँचेर खान्थ्योँ, अचार बनाउन घर पनि लान्थ्यौँ । अहिले सम्झिँदा पनि जिब्रो रसाउँछ ।
त्यो बाटो हिँड्दा नेपाली सरले मेनाटारका सबै विद्यार्थीहरू भेला भएर सँगसँगै स्कुल जाने नियम लगाउनुभएको थियो । जङ्गली जनावरको डर पनि हुन्थ्यो । म त्यसबेला भर्खर भर्खर दाजुका पछि लागेर स्कुल जान थालेको थिएँ । एकदिनको कुरा, हिउँदे छुट्टीपछि पहिलो दिन तल्लो बाटोबाट नेपाली सरको नेतृत्वमा स्कुल लाग्यौँ । बाटो झाडीले ढाकेको थियो । झाडी पन्छाउँदै स्कुल पुग्यौं । बेलुका फर्कँदा नेपाली सरले उर्दी जारी गर्नुभयो, “भोलि सबै जना साढे आठ बजे नै स्कुल हिँड्ने, सबैले साथमा कँचिया, खुर्पा, कुटो कोदालो लिएर आउने ।”
भोलिपल्ट कसैले कँचिया, कसैले खुर्पा र कुटो लिएर आए । मेनाटारको पल्लो छेउको भीरको शिरबाट हाम्रो स्कुल जाने बाटो सुरु हुन्थ्यो । सरको आदेशानुसार हामीले हाम्रो बाटाको दायाँवायाँको झाडी फाँड्दै, बर्खाले बगाएर अप्ठ्यारो पारेको बाटामा टेक्ने ढुङ्गा ओछ्याएर सजिलो पार्दै अघि बढ्यौँ । हामी अलि साना केटाकेटीले झार उखेलेर बाटो सफा गर्दै गयौँ । आधा बाटो सफा पारेपछि सरले आत्तिँदै भन्नुभयो, “लु केटा हो, स्कुल त लागेछ । तिमीहरू हातहतियार झाडीमा लुकाएर दौड । नेपाली सर खोइ भनेर सोधे भने बिरामी भएर घर फर्किनुभयो भन्नू” । हामीलाई पठाएर दाजु फर्किनुभयो । हामी स्कुल पुग्यौँ, कान समातेर निकैपटक उठबस गर्यौँ र दोस्रो पिरियडदेखि कक्षामा पस्ने अनुमति पायौँ । नेपाली सर आफैँमा केटाकेटी नै हुनुहुन्थ्यो, सायद ढिलो गरेर स्कुल पुग्न डर लाग्यो होला, त्यसैले हामीलाई पठाएर आफू फर्कनुभयो, अथवा त्यो पनि ठट्टा थियो दाजुलाई नै थाहा होला । साइँल्दाजुका यस्ता ठट्टा र उटपट्याङ्हरू हामीले कति भोग्यौँ कति ।
साइँल्दाजुसँगको मेरो सङ्गत उहाँ किशोर र म बालकै हुँदा सुरु भएको हो । यो सङ्गतमा यस्ता अनेकौँ प्रसङ्गहरू छन् जसलाई सम्झनाको रूपमा लिपिबद्ध गर्न मलाई इच्छा छ । त्यसलाई विस्तृत बनाउँदा ठूलो ठेली तयार हुने स्थिति छ । म आज केही सम्झनाहरू मात्र उल्लेख गर्दैछु, त्यो पनि सङ्क्षिप्तमा ।
भुटान छाडेर हाम्रो परिवार २०३३ सालमा झापा बसाइँ सरेपछि कक्षा तीन उत्तीर्ण गरेको मेरो पढाइको लेभल हेरेर बुबाले र साइँल्दाजुले कक्षा पाँचमा फड्काउन चाहनुभएको थियो । भुटानको देन्छुखा प्राइमरी स्कुलमा कक्षा तीनसम्म मात्र पढाइ हुने, टाढाको स्कुलमा पठाउन बुबाआमालाई गाह्रो भएर हो वा मैले नमानेर हो मैले तीन कक्षा उत्तीर्ण गरेर फेरि तीन कक्षा नै पढेको थिएँ । त्यसैले पनि यता आएर त्यसको क्षतिपूर्ति भराउनु थियो । गौरादहको जनता मा.वि.का प्रधानाध्यापक टहलदास अधिकारीले मेरो तीन कक्षाको सर्टिफिकेटको आधारमा पाँचमा भर्ना लिन नमानेपछि म दमकमा साइँल्दाजुकै घरमा बसेर उर्लाबारीको राधिका मा.वि.मा कक्षा पाँचमा भर्ना भएँ । दाजु पनि त्यहीँ पढाउनुहुन्थ्यो । दाजुले स्कुल भर्ना गर्नुअघि स्कुलका कक्षा नौ र दशका विद्यार्थी र केही शिक्षकहरूलाई पनि वरिपरि राखेर दश कक्षाको पुस्तकको कुनै पाठ मलाई पढ्न लगाउनुभयो । मैले फर्र पढेँ । सबै आश्चर्यचकित भए । म सबैको प्रिय भाइ भइगएँ ।
उर्लाबारीबाट एक बेलुका स्कुल छुट्टी भएपछि चोकमा आएर हामी बस चढ्ने प्रयासमा थियौँ । बसमा भिडभाड थियो । के विषयमा हो गाडीको स्टाफसँग दाजुको विवाद भयो । विवाद बढ्दाबढ्दै दाजुले त्यो स्टाफलाई मुड्की नै ठोक्नुभयो कि घुर्चिएर पर हुत्याउनुभयो । त्यसपछि विवाद सकियो । दाजुको त्यस्तो रूप त्यसअघि कहिल्यै देखिएको थिएन, न पछि कहिल्यै देखियो ।
कतिपय मसिना कुरा पनि नबिर्सिने हुँदा रहेछन् । उर्लाबारीमै पढ्दा हरेक दिन म दाजुसँगै खाजा खान जान्थेँ, मोटी अधिकार्नी आमैको होटलमा । एकपटक दाजु बनारस जानुभयो । दाजुले मलाई “आमैको पसलमा खाजा खानू, म पछि आएर पैसा तिरौँला” भन्नुभएको थियो । के खानु, कति खानु भन्नु भएन । म खाजा खान जान्थेँ, आमै चिउरा, भुजिया र खसीको साह्रै स्वादिलो मासु दिन्थिन् । म मजाले बजाउँथेँ । दाजुले पछि आएर खाता हेर्नुभयो । बिल टन्नै उठेछ । मलाई सोध्नुभयो, “दिनदिनै मासु बजाइछस् नि केटा ?” मैले भनेँ, “आमैले दिइन् मैले नाइँ भन्न सकिनँ ।” थोरैतिनो कति तलब थियो, मैले निकै नोक्सान गरिदिएछु । उसो त दाजुलाई यस्ता नोक्सान पछि पनि कति गराइयो कति ।
२०३६ तिर हो, दाजु एम.ए.ड पढ्दै हुनुहुन्थ्यो त्रिविमा । मलाई दाजुले काठमाडौँ बोलाएर दरबार हाइस्कुलमा कक्षा आठमा भर्ना गरिदिनुभयो । हामी सुरुमा मज्जुश्री टोलको एक धरहरे घरमा बस्थ्यौँ । हरेक तलामा एक कोठा थियो । हामी तेस्रो तलामा बस्थ्यौँ । काठको साँघुरो भर्याङ । चौथो, पाँचौँ तलामा घरभेटी बस्थे । घरभेटी आन्टी पाँचौँ तलाबाट “बिनावी” भन्दै ओर्लन्थिन्, हामी उनी झरि नसकुन्जेल तलै साइड लागेर पर्खन्थ्यौँ । घरभेटीले पानी लिएर भर्याङ उक्लिन लाग्दा झन् कडा नियम । “बिनावी” भनेर माथि चढ्न थाल्थे । बिनावी भन्नु र श्रीमान् गम्भीर गाउनु उस्तै उस्तै जस्तो । मान्छे वा पानी नाघ्नु हुँदैन भन्ने कति राम्रो चलन ।
त्यो घरमा पानी चढाउन गाह्रो परेर हामी लगन टोलको एउटा पुरानो घरमा सर्यौँ । “घरै पिँडालु, बनै पिँडालु, ससुराली गयो बाह्र हातको पिँडालु ।” घरको छिँडीमा शौचालय थियो । अगाडि वरिपरिका घरहरूबाट फ्यात्त फ्यात्त फोहोर फ्याँकिरहन्थे । भाँडा माजेको पानी खलल पार्थे । बर्खाको बेलामा पानी पसेर, ढल भरिएर ट्वाइलेटमा टेक्ने ठाउँ हुँदैनथ्यो । गन्हाएर मूर्च्छा परिएलाजस्तो हुन्थ्यो । भाइ खगेन्द्र र मलाई दाजु भन्नुहुन्थ्यो, “तिमेरु कलिला छौ, दुर्गन्ध खप्न सक्दैनौ, जाओ खोला किनारातिर ।” अनि हामी बिहानै टेकु हुँदै विष्णुमती किनारातिर गएर सिस्नुका झ्याङ्मा छलिएर काम सम्पन्न गरेर फर्कन्थ्यौँ । दाजुलाई हामी केटाकेटीले जस्तो गर्न सुहाएन, जसरी तसरी त्यही ट्वाइलेट प्रयोग गर्नुहुन्थ्यो । ट्वाइलेटमा पस्दा दाजुको के गति हुन्थ्यो त्यो कवितामा यसरी आएको थियो–
म पसेँ झ्याल ठोकेर नाक छोपी रुमालले
अङ्ग अङ्ग उठी कामे म बसेँ सुस्त चालले
नर्क कुण्ड गन्हाएर झिँगा भुन्भुन हे हरि
स्वास प्रस्वास रोकेर निस्कनु अब के गरी ।
आज धूप जलाएर तिम्रो पूजा म गर्दछु
अछेता पाति छर्केर पाउमा नित्य पर्दछु
सारा अत्तर छर्केर कोठा नै मग्मगाउँछु
झ्यालढोका सबै ठोकी खुसीले जग्मगाउँछु ।
हे नर्ककुण्डकी हावा तिमी नित्य पसिरहू
यो तिम्रो भक्तको कोठा भित्रै नित्य बसिरहू
तिमी हौ रोगकी स्रष्टा हैजाकी जननी तिमी
तिमी आउँ, बमी, उल्टी सबैकी जननी तिमी ।
हजारौँ कीट बोकेर हावामा तिमी चल्दछ्यौ
यो तिम्रो भक्तको कोठा तिमी देखेर बल्दछ्यौ
वीभत्स रूपिणी अम्बे तिम्रो तेज सुवासले
अङ्ग अङ्ग बिझाएर नाच्दछन् विघ्न त्रासले ।
नर्ककुण्ड सबै तिम्रो धुलो मैलो र फोहर
सडी गली गन्हाएको हैजाको दब्दबे घर
सिनूको रूप तिम्रै हो बाग्मतीको किनारमा
तिम्रो पूजा सधैँ गर्छु आउ मेरो सँघारमा ।।
२०३६ सालमा दाजुले लेखेको यो कविताले मलाई पनि त्यस्तै कविता लेख्न घचघच्याइरहन्थ्यो । हास्यव्यङ्ग्य लेखनमा लाग्न मेरा लागि यो कविता प्रेरणाको एउटा श्रोत बन्यो । लगनटोलको नर्ककुण्डबाट मुक्ति खोज्दै हामी ठमेल पुग्यौँ । एक जना पाण्डे आमैको घर थियो पुरानो । आमै अत्यन्तै धार्मिक प्रवृत्तिकी; पूजापाठ गरिरहने । आमैको एउटा अनुशासन कडा थियो । बेलुका ठीक दश बजे बत्तीको मेन स्वीच अफ गर्ने । दाजुलाई पढाइमा डिस्टर्व हुन्थ्यो । दश बज्न तीस सेकेण्ड बाँकी भएपछि दाजुले मैन सल्काइ सक्नुहुन्थ्यो । हाम्रोभन्दा पल्लो कोठामा एक जोडी बस्न आए । लोग्ने ट्याक्सी ड्राइभर । हरेक रात त्यहाँ कुटाकुट हुन्थ्यो । कहिले लोग्नेले पछार्थ्यो, स्वास्नी रुन्थी, कहिले स्वास्नीले पछार्थी, लोग्ने रुन्थ्यो । आजित भएर हामीले अन्तै कोठा खोज्न थालेको थाहा पाएपछि आमैले तिनीहरूलाई घर निकाला गरिन् । त्यो घर भएको ठाउँमा अचेल ठूलो होटल छ ।
त्यहाँ हुँदा हाम्रो परिवारका थुप्रै दाजुहरू धादिङका विभिन्न ठाउँहरूमा शिक्षण गर्नुहुन्थ्यो । शुक्रबार साँझ प्रायः सबै ठमेलको यही कोठामा जम्मा हुन्थ्यौँ । दाजुले ट्युसन पढाउने कोठामा भुईँभरि ओछ्यान लगाएर दाइहरू सुत्नुहुन्थ्यो । साइँल्दाजुले महावौद्धबाट उसिना चामलको बोरै लगेर राख्ने गर्नुहुन्थ्यो । भाइहरू भेला भएपछि उसिना चामललाई रातो हुने गरी भुटेर झ्वाँइय्यँ पानी हालेर अनौठो खाना बनाउनुहुन्थ्यो । कहिलेकाहीँ दूधले पनि झ्वाइँ पारेर खिर बनाउँथ्यौँ । त्यसलाई दाजुले “भाँजी” भन्ने नाम दिनुभएको थियो । हामी सबै उत्सवको परिकारझैँ रमाउँदै भाँजी खान्थ्यौँ । भाइहरू भेला गर्ने, खाने, रमाइला ठट्टा गर्नमा साइँल्दाजुलाई कति आनन्द आउँथ्यो त्यो हामी भोग्नेहरूलाई थाहा छ, जसको वर्णन अक्षरहरूमा हुन सक्दैन । दाजु ठमेलबाट सात आठ किलोमिटर टाढा गएर धर्मस्थली भन्ने ठाउँमा स्कुल पढाउनुहुन्थ्यो । पहिला पहिला हिँडेरै र पछि साइकलमा । स्कुलको तलब र ट्युसनको कमाइले हाम्रो गुजारा चलेको थियो । त्यहीँ बस्दा साइँल्दाजु र कमल घिमिरे दाजुले रचेको खुर्सानी काण्ड यो जुनीमा कहाँ बिर्सिइएला र ! त्यसको बयान पछि गरूँला ।
म ढुक्कै काठमाडौँ पढ्ने गरी गएको थिएँ तर बिचैमा साइँल्दाजुको जागिर भयो धनकुटा क्याम्पसमा । अनि म कक्षा आठ पछि झापा फर्किएँ । गौरादहबाट एसएलसी सकेर २०४० सालमा फेरि बाग्मती अञ्चलतिरै हान्निएँ । रसुवा र धादिङमा जागिर खाएँ । दाजु धनकुटा भएका बेला दाजुको बारम्बारको आग्रहपछि म पनि एकपटक धनकुटा पुगेँ । दाजुसँग हिले हुँदै वसन्तपुरसम्म पैदल यात्रा भयो । टोलीमा ५/६ जना थियौँ होला । भान्दाजु प्रकाश दाहाल, भाइ नारायण भुटानी, भान्जा उमानाथ ढकाल लगायत । हिउँदको ठुकठुके चिसोमा दाजुकै उक्साहटमा लागेर चित्रेमा हामीले एक ठेकी लहरे दही किनेर सिर्लिक्क पार्यौँ । दाजु खुर्सानीलाई साह्रै माया गर्नुहुन्थ्यो । हिलेमा तातो चनाको प्लेटमा चारैतिर एक दर्जन राता खुर्सानी गाडेर चना खाएको दृष्य वरिपरि बस्नेहरू र हामी सहयात्रीहरूका लागि रमिता नै भएको थियो । २०४१ सालमा धादिङ छत्रेदेउरालीमा हामी बसेको गाउँमा आएर दाजुले निबुवा साँधेर गाउँका थुप्रै बूढाहरूलाई वरिपरि राखेर खुवाएको सायद ती बूढाहरूले पनि बिर्सेका छैनन् होला । खुर्सानीले दिमाग तेज हुन्छ बा भन्दै हौस्याएर खुर्सानीको झोल मिसेको पिरो निबुवा खुवाएर बूढाहरूलाई र्याल र सिँगान पारेको घटना सम्झन्छु र अहिले तितरबितर भएर कता कता पुगेका हामी दाजुभाइहरूलाई सम्झन्छु । अचेल कति जनासँग कति वर्षसम्म पनि भेट हुँदैन । समयसँग कसको के लाग्दो रहेछ र !
धादिङमा एक वर्ष मास्टरी गरेपछि म काठमाडौँ छिरेँ, लोक सेवा आयोग उत्तीर्ण गरेर २०४२ मा । मभित्र हास्यव्यङ्ग्यमा केही गर्ने हुटहुटी थियो । साइँल्दाजुको सल्लाह र भाइ माधवको सहयोगमा २०४४ मा “रकेट” भन्ने मासिक पत्रिका हामीले सुरु गर्यौँ । परिवारका सदस्यहरू, साथीभाइ र बाहिरबाट आएका रचनाहरूले रकेटका पानाहरू भर्थ्यौँ । धनकुटाबाट साइँल्दाजुले रचनाका बिटाहरू पठाउनुहुन्थ्यो । कति सक्कली, कति नक्कली नाममा रचनाहरू निस्कन्थे । “द टियर पोयट फ्रम द इस्ट” त्यो बेलाका चर्चित लेखक थिए । त्यसैगरी डा. धूम्रलोचन शर्माका व्यङ्ग्यहरू हामी दोहोर्याई तेहर्याई पढ्थ्यौँ । त्यस्तै अरू विभिन्न छद्म नाममा लेख्ने लेखकहरूमध्ये मुख्य लेखक साइँल्दाजु नै हुनुहुन्थ्यो । रचनाहरूमार्फत दाजुभाइहरूबीच भएका छेडखानी, हाँसो, व्यङ्ग्यहरू पनि अरू पाठकका लागि मनोरञ्जनका विषय नै हुन्थे । रकेटका ६ अङ्क र पछि चड्कनका ७ अङ्क पत्रिका निकाल्दाका घटनाहरूलाई छुट्टै संस्मरण गरिनेछ । ती साह्रै रोचक र प्रेरणादायी पनि छन् ।
माथि उल्लिखित टोली ठमेलको अमृत क्याम्पससँगै जोडिएको एउटै घरमा बस्थ्यौँ । बहिनीहरू पनि थिए । मैले कृषि सूचना शाखाको जागिर छाडेर दूर सञ्चार संस्थानमा प्रवेश गरेँ २०४४ मा । आर्थिक अवस्था अलिक राम्रो भयो । दूरसञ्चारमा काम गर्न थालेको केही समयपछि मैले दाजुसँग समेत सापटी मागेर एउटा क्यासेट प्लेयर किनेँ । निकै राम्रो थियो त्यो । त्यसबेला नै २६००।– रुपैयाँ परेको, पानासोनिक कम्पनीको रातो क्यासेटप्लेयर । मैले क्यासेट किनेको केही दिनपछि साइँल्दाजु धनकुटाबाट आउनुभयो । नयाँ क्यासेट देखेर दाजु साह्रै खुसी र उत्साहित हुनुभयो । लु साइँला केही त गर्नैपर्छ, दाजुले भन्नुभयो । के गर्ने त ? सल्लाह हुँदाहुँदै एउटा गीति नाटक रेकर्ड गरौँ भन्ने कुरा आयो । मैले एउटा खाली क्यासेट किनेर ल्याएँ । पानी तताउने हलुङ्गेको डब्बी, गाग्रो, थाल र बाल्टीलाई बाजाको रूपमा प्रयोग गरियो । कुलु भाइ मुखैले मादल बजाउँदो रहेछ । उसले मादलको मीठो आवाज निकाल्यो । दाजुले कथाको शीर्षक तत्काल जुराउनुभयो “खडेरी परेका रातहरू” । म रेडियामा काम गरिसकेको अनुभवी भएकाले मैले नाटकको निर्देशन गरेँ । हामी चारपाँच जनाले एकै स्वरमा शीर्षक भन्यौँ, “खडेरी परेका रातहरू” । दाजुले मौखिकै रूपमा कथा भन्दै जानुभयो । बीच बीचमा मुनामदनका गीतका प्यारोडी तयार गर्दै गाउँदै गयौँ । गीत खगेन्द्र दाइले गाउनुभयो । साथमा थिए बहिनी माधवा, भाइ भोला आदि । दुई प्रेमी प्रेमिकाको मिलन र विछोडको कथा थियो । काठमाडौँ र धनकुटालाई जोडेर कथा निर्माण गरिएको थियो । त्यसबेला भारतले नेपाललाई नाकाबन्दी गरेको थियो । नाकाबन्दीले गाडी नचल्ने भएकाले गोरु गाडामा चढाएर मायालुलाई रत्नपार्कदेखि लगनखेल र कता कता घुमाउने कुराहरू थिए कथामा । “खडेरी परेका रातहरू” का केही गीति पङ्क्ति यस्ता थिए, मुनामदनको लयमा-
धनकुटा भीरमा म परेँ पिरमा मायाले पछार्यो
हे मेरी आमा हे माइला मामा चोकैमा लछार्यो
मामाओ चोकैमा घसार्यो ।
गीति नाटक गरुन्जेल र सकेर पनि हामी घण्टौँसम्म हुरुक्क हुनेगरी हाँसेको हाँसेकै भयौँ । बेलुका ५ बजेतिर सुरु गरेको रेकर्डिङ राति ११ बजे सकेर खाना बनाएर खायौँ । त्यो क्यासेट कपी गरेर मैले धनकुटा पनि पठाएको थिएँ । मसँग मूल कपी चक्का अझै छ तर बिग्रियो, बज्दैन । त्यस्ता रमाइला दिन यो जुनीमा कहिल्यै नआउने गरी गएनन् त दाजु ?
त्यो क्यासेटप्लेयरको कथा त्यत्तिकै कहाँ सकियो र ! साइँल्दाजु धनकुटा छाडेर काठमाडौँ सर्नुभयो । एकपटक मलाई आर्थिक सङ्कटले निकै गाँज्यो । मैले क्यासेट बेच्ने विचार गरेँ तर दाजुलाई नसोधी बेच्ने कुरा भएन । दाजुसँग कुरा गरेँ । मेरो कुरा भुईँमा खस्न नपाउँदै दाजुले “ले केटा म किनिदिन्छु” भन्नुभयो र २१००।– रुपैयाँमा किन्नुभयो । त्यो क्यासेट किनेको एक वर्ष पनि नपुग्दै “हाओ लछिमन् पाँच पर्सेन्ट कट्टा गरेर लैजान्छस् भने लैजा है” भन्नुभयो । मैले चालिस पर्सेन्टमा बार्गेनिङ गरेर अन्तमा १०००।– रुपैयाँमा सो क्यासेट फिर्ता ल्याएँ । धेरैपछि एकपटक एउटा मोटरसाइकल पनि हामीले त्यसैगरी किनबेच गरेका थियौँ । दाजुले मसँग किन्नुभयो, पछि निकै दाम घटाएर मलाई नै बेच्नुभयो । किनबेचको बहानामा भाइको समस्या समाधान गरिदिने दाजुको जुक्ति थियो त्यो ।
दाजुभाइबीचका यस्ता व्यक्तिगत घटनाहरू कति छन् कति । ती सबैको फेहरिस्त तयार गर्नु नै छ । जाँगर चलेका दिन गरूँला । दाजुको हास्यव्यङ्ग्यतिरको यात्राका बारेमा लेख्नु थियो । त्यसमा प्रवेश गर्न नपाउँदै आजलाई रोकिनुपर्ने भयो । नत्र यो लेख लेख नभएर हाम्रो प्राइभेट उपन्यास नै बन्न सक्छ ।
दाजुले भन्ने गरेको एउटा वाणी सधैँ मभित्र गुरुमन्त्र बनेर गुन्जिरहन्छ “हेर् लछिमन्, हामी जति सुखी यो संसारमा कोही छैन । हामी कस्ता ठाउँमा जन्मेका, कसरी हुर्केका त्यो सम्झिनुपर्छ । बाँदर पनि नअडिने भीरमा जन्मेर हुर्केर आज हामी जुन ठाउँमा आइपुगेका छौँ, त्यो संसारका करोडौँ मानिसहरूको सपनाभन्दा बाहिरको कुरा हुन सक्छ । हाम्रो सपना सम्पत्ति होइन, कीर्ति हो ।”
बाँदर लड्ने भीरमा जन्मेर यो ठाउँमा आइपुग्नुलाई चानचुने प्रगति नसम्झन र यसैलाई प्रेरणाको महत्वपूर्ण स्रोत ठानेर अघि बढिरहन दाजुले दिएको हौसलाले हामी धेरै भाइबहिनीलाई मार्गदर्शन गरेको छ ।
दाजु सुरुसुरुमा हास्यव्यङ्ग्यमै मात्र कलम चलाउनुहुन्थ्यो भने पनि हुन्छ । पछि उहाँको लेखनको घेरा बढ्दै गयो । हास्यव्यङ्ग्य कम हुँदै गयो तर उहाँका प्रत्येक रचनामा हास्यव्यङ्ग्यको तीखो स्वाद पाइन्छ । उहाँका हास्यव्यङ्ग्यका रचनाहरू सङ्कलन भइरहेका छन् । छिट्टै एउटा कृति निस्कनेछ । म त्यो दिनको प्रतीक्षामा छु ।
साइँल्दाजु अर्थात् गोविन्द दाइ अर्थात् आजका नेपाली भाषा साहित्यका एक सर्वाधिक चर्चित साहित्यकार डा. गोविन्दराज भट्टराईसँग जोडिएर यतिका सम्झनाहरू बाँड्न पाउनु मेरा लागि महागौरवको कुरा हो । मेरा महागुरु, मेरा अविभावक, हामी धेरैका प्रिय साइँल्दाजुलाई ढोग्छु र अहिलेलाई बिदा हुन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

