सेरब्चे कलेज, काङलुङको सामाजिक सेवा एकाइका विद्यार्थी साथीहरूले सञ्चालन गरेको सामाजिक सेवा अन्तर्गतको कार्यमा हामी विद्यार्थीहरू निरन्तर लागिरहेकै छौँ । हरेक महिनाको एक दिन यस कार्यका लागि छुट्याइएको छ । यस्ता कार्यमा सहभागी हुन पाउँदा मलाई असाध्यै आनन्द आउँछ । आज पनि म सेवाकार्यमा खटिएको छु । त्यसैले मेरो भागमा छुट्याइएको करिब एक महिनाका लागि पुग्ने रासनको पोको काँधमा भिरेर म बेलैमा उकालातिर लम्किन्छु, पुरानै गन्तव्यलाई पछ्याउँदै । उकालातिर लम्किन थाल्दा चिसो हावाले मेरो मुटु छुन्छ । मलाई एकप्रकारको अनन्दानुभूति हुन्छ । म एउटा राम्रो कामका लागि गइरहेको छु भन्ने भावनाले मन प्रफुल्लित हुन्छ ।

सानोतिनो भारीसँग पहाडी इलाकाको उकालो बाटो हिँड्दा छिटै नै सास एकोहोरिन खोज्छ तर पनि कतै नरोकिई बिस्तारै पाइला चालेर म अघि बढिरहन्छु । एक्लो म, पातला घरहरू भएको गाउँको बाटो । कतै अलिअलि तेर्सो बाटो नत्र उकालै उकालो । कलेजबाट करिब दश किलोमिटरको दूरी तय गर्नु छ । बीचमा खाङ्मा गाउँमा एकछिन बिसाउँछु, पानी पिउँछु र करिब अढाई घण्टामा पुग्छु म उही योन्फुला गाउँको एक्लो झुप्रे घरअगाडि । सधैँझैँ आज पनि उनी सानो आँगनमा हातमा माला लिएर बिस्तारै “ओम मानी पेमे” बरबराइरहेकी हुन्छिन् । म हाँस्तै उनलाई बोलाउँछु अनि, “कस्तो हुनुहुन्छ ?” भनेर प्रश्न गर्छु । “राम्रै छु” भन्ने त्यही सधैँको तयारी उत्तर आउँछ ।

डा. शिवराज भट्टराई (भुटान)

त्यो सानो सुन्दर झोपडीभित्र पस्ने इसारा गर्छिन् । भित्र पसेर छेउमै बस्ने आग्रह गरेपछि भुईँमा बस्छु र म कोठाको चारैतर्फ आँखा दौडाउँछु । भित्तामा पुराना दुईवटा नाङ्ला झुन्ड्याइएका छन् । पानी बोक्ने एउटा सानो बाँसको धिरी भित्तामा ठडिएर अडिएको छ । त्यहीँ एक कुनामा सानो ढुङ्गे चुल्हो छ जहाँ निभ्न लागेका आगाका झिल्काझिल्कीहरू देखिन्छन् । चुल्हाको वरिपरि एकदुईवटा हलुङ्गेका भाँडा, एउटा थाल अनि छेउमा दुईवटा “बाङचुङ” (बाँसका मसिना चोयाबाट बनेको बट्टा, हामी त्यसलाई पेलुङ् पनि भन्छौँ ।) का फब्ल्याटा छन् । वरिपरि हेरिसकेर म उनको अनुहारमा हेर्छु, अनुहार एकदमसँग मुजैमुजा परेर चाउरिएको छ, केश कपासजस्तो सेतो छ, आँखामा अविरल गतिमा पानी बगिरहेको छ । एक्ली आमैको त्यो दयनीय स्थिति देख्दा मलाई कताकता नरमाइलो लागेर आउँछ । त्यो खुम्चिएको निधारमा सायद उनको भाग्यरेखा लेखिएको होला । मलाई धेरै धेरै कुराहरू गर्न मन लागेर आउँछ तर अनायासै म अवाक् बन्छु किनभने हामी दुईको बीचमा “भाषा” ठूलो पर्खाल बनेर उभिदिन्छ । न मैले मेरो मनका जिज्ञासालाई खुलेर उनीसामु राख्न सक्छु न उनले मनका उकुसमुकसलाई मेरा सामु प्रस्ट पार्न सक्छिन् तर पनि केही बोल्ने कोसिस गर्छु । म केही कुरा जोङ्खा भाषामा सोध्छु, उनी पूर्वी भुटानमा बोलिने छाङ्ला भाषामा उत्तर दिन्छिन् । कति कुरा इसाराले, अनुमानले वा भावले म बुझ्छु । यसरी नै म उनको जीवन कहानीको रहस्य खुलाउने प्रयास गर्छु ।

उनी मेरो जिज्ञासा बुझेर बिस्तारै मन्द स्वरमा भन्न थाल्छिन् – उनी पनि कुनै बेला अरूजस्तै बालिका थिइन्, बाबुआमा थिए । युवा अवस्थामा उनी पनि अरू अरू ठिटाठिटीजस्तै चन्चले थिइन् साथै सुन्दर पनि थिइन् । उनका कुरा सुन्दै म बीचबीचमा प्रश्न पनि गर्छु । मैले उनलाई बिहेका बारेमा सोधेँ । उनी मुस्कुराइन् । अतीततिर फर्किइन् र आफू एक दिन दुलही बनेको कुरा पनि सुनाइन् । आफ्नो दुलाहाका बारेमा बताउँदा उनी निकै उत्साहित देखिइन् । उनले सोह्र बर्से युवतीझैँ लजाउँदै उनको जीवनसाथीका बारेमा मलाई सुनाइन् । बलमा पनि बुद्धिमा पनि गाउँभरिकै नामी थियो रे उनको लोग्ने । त्यो सुखमय दाम्पत्य जीवन उनी उनकै शब्दमा पोख्छिन्, म सुनिरहन्छु अनि सकेसम्म बुझेर पूर्ण अर्थ लगाउने प्रयास गर्छु ।

यिनको नाम छिरिङ ल्हामो हो । छिरिङ ल्हामोको त्यो पारिवारिक जीवनको फूलबारीमा सुगन्ध थप्दै एउटा छोरो र एउटी छोरी पनि आएका रहेछन् । ती रमणीय दिनको स्मृतिमा छिरिङ ल्हामो केही क्षण स्तब्ध भइन् । उनको रहस्यपूर्ण जीवनकथा सुनेर म पनि कताकता भावुकतामा हराएँ । एकैछिनमा उनको अनुहारमा बादल छाउँछ र स्वर केही काँप्छ । उनका विरहका कारण म बिस्तारै बुझ्न थाल्छु ।

छिरिङका लागि ईश्वर एकदमै निष्ठुर बनिदिएछन् । उनका दुवै फूलजस्ता सन्तानहरू नफक्रँदै कालले चुँडिदिएछ अनि केही वर्ष नबित्दै उनका पतिदेवले पनि उनलाई तीस वर्षको युवा उमेरमा यो सङ्घर्षमय संसारमा एक्लै छाडेर बिदा लिएछन् । कथा सुनाउँदै गर्दा उनका आँखा रसाउँछन् अनि उमेरले भन्दा जीवनको भोगाइले चाउरिएका गालाबाट आँसुका धारा अविरल बग्न थाल्छन् । मलाई उनको जीवन कहानी सोधेर दुःखित पारेकोमा खिन्नता महसुस हुन्छ । मलाई माफ माग्न मन लाग्छ तर भाषाको अभावले म निसासिन्छु । मैले सिकेका उनले बोल्ने भाषाका दुईचार शब्द मिलाउँदा पनि उनीसँग पोख्ने पर्याप्त भावना बनेन ।

छिरिङ ल्हामो बज्यैले आफ्नो आँसु हत्केलाले पुछिन् र सधैँझैँ साना दुईवटा भाँडा अगाडि सारिदिइन् । मैले सामलको मेरो झोला खन्याइदिएँ र फेरि एक महिनापछि आउँछु भनेर बिदा मागेँ । उनी आँसु पुछेर काँपेका ओठमा मन्द मुस्कान रचाउँछिन् र मधुरो आवाजमा केही बरबराउँछिन् । ईश्वर शब्द म प्रस्ट बुझ्छु र अरू अनुमान लाउँछु, सायद उनले भनिन् होला, “म ता डाँडामाथिकी जून भइसकेँ । अब अन्तिम घडीको प्रतीक्षामा मात्र बाँचिरहेकी छु । तिमी युवा छौ अहिले । अघि बढ्दै जाऊ, समाजमा केही गर । मेरो जस्तो दुःख तिमीले भोग्नु नपरोस् । म तिम्रो भलाइका निम्ति ईश्वरसँग प्रार्थना गर्नेछु” ।

म मन भारी बनाएर ओरालिन्छु आफ्नो गन्तव्य कलेजतर्फ । मनभरि कुराहरू खेलिरहन्छन्, वास्तवमा संसारभरिका यी मान्छेहरूका जीवन कति फरक फरक छन् र कति चित्रविचित्रका छन् । हाम्रो जीवन भन्नु नै तीता र मीठा अनेक भोगाइहरूको खिचडी रहेछ । समयले दास बनाएको यो मानवजीवन बाँचिदिन जन्मनुपर्ने अनि मरिदिन बाँच्नुपर्ने बाध्यता, यिनै छिरिङ् ल्हामोको जस्तै ।

(यो लेख मैँले सन् १९८६ को कुनै महिनामा, सेरब्चे कलेजमा पढ्दा तिनै आमै छिरिङ ल्हामोलाई भेटेर फर्केको दिन नै लेखेको थिएँ । अर्को महिना पनि म उसैगरी रासन बोकेर पुगेँथेँ तर छिरिङ ल्हामोले यस धर्तीबाट बिदा लिइसकेकी रहिछन् । छिमेकीहरूले सद्गति गरिदिएर छिरिङ ल्हामोको घेवा गर्दै रहेछन् । म त्यो रासन र केही पैसा त्यहीँ चढाएर फर्किएथेँ ।)

लेखक रोयल थिम्फू कलेज भूटानका डिन हुनुहुन्छ ।