धेरै पहिल्यै

डाँडापारिको घाम

भइसक्नु भएको मेरो बुबा

अचेल

प्रत्येक पल

प्रत्येक क्षण

मेरो प्रतिच्छायामा भेटिरहन्छु !!!

विक्रम संवत् २०३७ सालको कुनै दिन हुनुपर्छ । म केही दिनको छुट्टीमा आफ्नो जन्मस्थान तेह्रथुम म्याङ्लुङ बजार पुगेको थिएँ । काठमाडौँ फर्कनुअघि बुबालाई भेटेर मात्र जानु भनेर मुमाले भन्नुभएकाले बुबालाई भेट्न फिदिम जाने तरखर गर्न थालेँ ।

मेरो परिवारमा दुई दिदीपछि म जन्मेको हुँदा मेरो परिवारमा धेरै खुसी छाएको कथा मैले सुन्दै हुर्केको हुँ । बुबाले मलाई अत्यधिक माया गर्नुहुन्थ्यो रे । बुबा जहाँ-जहाँ गए पनि मलाई लिएरै जानुहुन्थ्यो रे । अलिक धेरै मायामा हुर्केको सम्झिने गर्छु । वसन्त पञ्चमीको दिन जन्मिएकाले मेरो नाम बुबाले वसन्त राखिदिनुभएको रे । त्यसपछि त हामी चार दाजुभाइको नाम नै “ऋतु” बाट राखिदिनुभो । ग्रीष्मबाहेक सबै ऋतु अटेको हाम्रो परिवारमा दुई बहिनीहरूको नाम नै झरना र वर्षा । सङ्गीत र प्रकृति प्रेमी मेरो बुबा ।

हरेक वर्ष जन्मदिनमा मलाई शुभकामना पत्र लेखेर पठाउने बुबा । मलाई लाग्छ मेरो बुबाले मलाई धेरै माया गर्नुहुन्थ्यो । बुबाले मलाई इन्जिनियर बन्नका लागि काठमाडौँमा आइ.एस्सी. पढ्न पठाउनुभो तर मैले विद्यार्थी राजनीति र साहित्यिक पत्रकारिताले गर्दा इन्जिनियर बन्ने सपना साकार पार्न सकिनँ तर अहँ मलाई बुबाले केही भन्नु भएन । आइ.एस्सी. पछि जन प्रशासन अध्ययन गर्नतिर लागेँ । आफ्नै रोजाइमा । बुबा बेफिक्री आफ्नै निर्माण व्यवसायमा खटिइरहनुभो । मलाई मेरै हालमा छोडिदिनुभो ।

बुबाको सम्बोधन तिमी हुन्थ्यो हामी सबै परिवारमा । भारतका विभिन्न सहरमा अध्ययन गर्नुभएको उदारमना प्रवृत्तिको हुनुहुन्थ्यो । महाजन परिवारमा हुर्केबढेको भए पनि सामन्ती सोच र रुढीवादी संस्कारबाट मुक्त हुनुहुन्थ्यो । परिवारप्रति सदैव सहज, सरल, मद्दत र प्रोत्साहन हेतुले प्रस्तुत हुनुहुन्थ्यो ।

वसन्त श्रेष्ठ (अमेरिका)

अध्ययनबाहेक अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिनुहुन्थ्यो । बुबाको रुचिको कुरा गर्दा फुटबल, चेस खेल्न र सङ्गीतमा मेन्डोलियनमा नेवारी धुन बजाउन र अध्ययन विशेष थियो । परिवारको औसतको सङ्ख्याका हिसाबले हेर्ने हो भने हाम्रो परिवार ६ जना दिदीबहिनी र चार जना दाजुभाइको परिवार अलिकति ठुलो नै हो भन्ने मलाई लाग्छ । त्यस समयको हिसाबले पनि आजको समयको हिसाबमा त त्यो सङ्ख्या अत्यधिक ठुलो हुन जान्छ तर बुबा सबैको रुचि र चाहनाको कदर गर्ने मात्र होइन ती चाहना पनि पूरा गरिदिनुहुन्थ्यो ।

थुप्रै खेलकुदका सामग्री घरमै उपलब्ध थिए । चेस, ब्याडमिन्टन, क्यारेम बोर्ड, टेबलटेनिस घरमै हामीले सिक्ने मौका पाएका थियौँ । सङ्गीतका लागि मादल, हार्मोनियम, तबला, चाँप, भ्वाइलेन सबै घरमै थिए । सङ्गीतमा बुबाचाहिँ विशेष भ्वाइलेन बजाउन रुचि राख्नुहुन्थ्यो । त्यसमा पनि बुबाको प्रिय धुन थियो “ व छु गल्ली थो छु गल्ली” बोलको नेवारी गीत । स्कुलको कार्यक्रममा होस् या कुनै उत्सव या त कोही पाहुना नै घरमा आएको किन नहोस् बुबाले नाच गान र सङ्गीतले नै सबैलाई मनोरञ्जन दिने गर्नुहुन्थ्यो ।

यिनै कुराहरू मनमा खेलाउँदै म फिदिमतिर जाने बाटो लागें ।

फिदिम जान घरबाट पूरा एकदिनको बाटो हो । म्याङ्लुङ बाजारको पश्चिमतिरबाट केउरिनीको बाटो जान्छ । उखर्मौलो गर्मीको समय थियो त्यो । केउरिनीको ठाडो ओरालो झर्दै तमोर खोलाको डरलाग्दो पुल तर्दै सिवा खोलाको दोभान कटेपछि एकछिन सुस्ताउन चौतारीमा बसेँ । उकाली ओराली घना जङ्गलको बाटो साह्रै नै गाह्रो लाग्यो । फिदिम पुग्न अझै एक झमट उकालो पारिपट्टि देख्दै थिएँ ।

भर्खरै केउरिनीको तीन घण्टे ओरालो झरेर खोला पुग्न नपाउँदै फर्केर हेर्दा देखिने अजङ्गको त्यो उकालो फर्कँदा कसरी चढ्ने होला भन्ने पीरले सताएको थियो । बाटामा कहीँ कुवा या पिउने पानीको थोपो नभेटिने बाटो थियो । दुर्गम पहाडी जिल्लाको अविकसित भेगको धेरै अप्ठ्यारो र जङ्गलै जङ्गलको बाटो हुँदै गहिरो साँझमा मात्र फिदिम पुगेँ ।

नेपालको पूर्वीपहाडी जिल्लामध्ये फिदिमले धेरै विकासको बाटो समातेको थियो । बाटो, बिजुली, कलेज अनि सरकारी भवनहरू धमाधम बन्ने तरखरमा थिए । इलामदेखि फिदिमसम्मको मोटर बाटाको योजना सुरु गर्ने तयारी थियो । तेह्रथुमको छकलीटारबाट बेलुकी फिदिम बजारमा झिलीमिली बिजुली बत्ती बलेको देखेर हामी अलिकति ईर्ष्यालु हुन्थ्यौँ । पञ्चायती व्यवस्थाको जगजगीको बेला थियो । पाँचथरको पद्मसुन्दर लावती राजाको विश्वासपात्र स्वास्थ मन्त्री थिए । पाँचथरको विकासमा हामी तेह्रथुमेहरू ईर्ष्यालु बन्नुसिवाय अरू केही उपाय थिएन ।

साँझमा मेरो सहयोगी साँहिला दाइसँग बुबाको क्वाटरमा पुग्यौँ । निर्माण हुँदै गरेको अस्पताल भवनको एउटा कोठामा आफ्नो वासस्थान बनाउनुभएको रहेछ । बुबाको सहयोगी चन्द्रको कोठा र भान्सा कोठा भवनको बाहिरपट्टि रहेछ । एकछिन सुस्ताएपछि बुबासँग घरको अनि काठमाडौँको धेरै कुरा भए । कति कुरा बुबाले सोध्नुभो । कति कुरा मैले प्रश्न राखेँ । फिदिम बजार हेर्ने उत्सुकता, बुबासँगको भेट र थकाइले कहिले बिहान हुन्छ भन्ने सोच्दै निदाएछु ।

पाँचथर जिल्लाको सदरमुकाम फिदिमको पुरानो बजारचैँ जोरसाल बजार रहेछ तर पछि बजार विस्तार गर्ने क्रममा ठुलो फाँट भएका कारणले फिदिम बजारमा सदरमुकाम राखिएको रहेछ । निर्माणाधीन सरकारी भवन, नयाँ घर, दोकान र व्यवसायहरू धमाधम बढ्दै गरेको रहेछ । फिदिम बजार सानो तर अति नै रमाइलो र हार्दिकताले भरिएको पाएँ । फिदिम बजार समथर मैदानजस्तो पहाडी भेग भए पनि उपत्यकाजस्तो अलि अलि गर्मीजस्तै भान पर्ने खुल्ला ठाउँमा बसेको रहेछ । फिदिम बजार सुन्दर नै लाग्यो । लालिखर्कको ओरालो सकिनेबित्तिकै मन्दिर आएपछि बजार सुरु हुँदो रहेछ ।

बजारको शिरमा बाँयापट्टि स्कुल भवन र अलिकति तल दायाँपट्टि नेपाली सेनाको सैनिक वाहिनीको गण ।

एक लाइनको बजार माथिदेखि तलसम्म विभिन्न सरकारी कार्यालय थिए । स्कुलपछि प्रमुख जिल्ला अधिकारीको कार्यालय, त्यसपछि जनस्वास्थ कार्यालय, नेपाल बैङ्क, अदालत, कोष तथा लेखा नियन्त्रक कार्यालय, कृषि विकास बैङ्क हुँदै खाद्य संस्थान अनि बजारको पुच्छरमा थियो प्रहरी कार्यालय । प्रहरी कार्यालयकै छेउमा अतिथि गृह, सार्वजनिक मञ्च, पञ्चायत विकास कार्यालय, आकाशवाणी कार्यालय, अस्पताल अनि अलिकति माथि बाल मन्दिर ।

पुरानो अस्पताल भवनको तलपट्टि बुबाले निर्माण कार्य गर्दै गरेको पन्ध्र शय्याको अस्पताल भवन । साना बाल बालिकाका लागि दुइटा बोर्डिङ स्कुल खोलिएको थियो । नयाँ नयाँ घर बजार विकसित हुदै गरेको एउटा सुन्दर बजार लाग्यो । निकै मनमोहक लाग्यो ।

स्विस सरकारको सहयोगमा स्वास्थ मन्त्रालयले पूर्वाञ्चलको तीन जिल्ला पाँचथर, तेह्रथुम र ताप्लेजुङ्गमा पन्ध्र शय्या अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । तेह्रथुम अस्पतालको निर्माणका लागि बुबाले कबोल गर्नुभएको बोलपत्रमा कम लागत भए तापनि बोल पत्र स्वीकृत गरिएन । पाँचथर अस्पतालमा पनि अत्यधिक बोलपत्र दाताको बोलपत्र सदर गरी तीन लाख पेस्कीस्वरूप लिइसकेको अवस्था थियो तर बुबाले बाँकी लागतले पनि सो योजना सम्पन्न गर्न सकिन्छ भन्ने अभिप्रायले त्यस पाँचथर अस्पताल निर्माणको कार्य मुख्य व्यक्तिको हैसियतमा धमाधम गर्दै हुनुहुन्थ्यो ।

फिदिममा बुबालाई आफ्ना विद्यार्थीहरू जय भगत प्रधानाङ्ग, न्यायाधीस नन्दबहादुर सुवेदी, भूमिसुधार अधिकृत कमल सुवेदी, खाद्य संस्थान हाकिम दीप खापुङ्ग र अरू दुई चार जनाले “एन एम सर” भनेर बोलाउँथे भने अरू सबै स्थानीयबीच बुढा ठेकेदार भनेर चिनिनुहुँदो रहेछ । पछिल्लो चरणमा मोटरको बाटो निर्माण हुँदै गरेको र अरू थुप्रै विकास योजना निर्माण भइरहेको कारणले धेरै ठेकेदारको जन्म भएको थियो ।

अस्पतालको मुख्य भवन बुबाले निर्माण गर्दै हुनुहुन्थ्यो भने चिकित्सक बस्ने भवन बुबाको विद्यार्थी, पछि सह-शिक्षक र ठेकेदार दिनप्रसाद श्रेष्ठले निर्माण गर्दै थिए । तेरह्थुमबाट फिदिम हिँडेर एक दिनको मात्र बाटो । थुप्रै तेह्रथुमकै चिनजानका व्यक्तिहरू भएका कारण बुबा घरदेखि टाढा भएर पनि त्यति नियास्रिनुभएको पाइनँ ।

पूर्वी पहाडी किरात राज्यअन्तर्गत लिम्बूवान राज्य पाँचथर जिल्लामा काङ्ग्रेसी आङ्देम्बे र नेम्बाङ्गको जनमत भए पनि त्यसबेला पञ्चायती राजमा स्वास्थमन्त्री पद्मसुन्दर लावतीको एक छत्र हैकम थियो । काङ्ग्रेसी भूपू मालपोत उपमन्त्री देवमान आङ्देम्बे, भूपू मन्त्री प्रेमराज आङ्देम्बे, बडाहाकिम लीलाराज आङ्देम्बे, पूर्णकुमार शेर्मा, दीपककुमार बास्कोटा जस्ता व्यक्तित्वहरू सबै भूमिगत अवस्थामा रहेको समय थियो त्यो । कम्युनिस्ट विचार भएका थुप्रै अनाम बनेर सबै भूमिगत रहेका थिए ।

विक्रम संवत् २०१३ सालमा देव मान आङ्देम्बे मन्त्री भएको समयमा बुबाले सरकारी सहायक बनेर काम गर्नुभएको थियो । त्यही सम्बन्धका कारणले गर्दा अस्पताल निर्माणमा भूपू मन्त्री आङ्देम्बेले बुबासँग साझेदार रहनुभएको थियो ।

फिदिम पुगेको तीन दिनपछि बुबाले मलाई भूपू मन्त्री देवमान आङ्देम्बेको घर अम्लाबुङ्ग लिएर जानुभयो । बाटामै पर्ने जोरसाल बजारमा कृष्णप्रसाद जोशीको घरमामा भेट गर्न पस्नुभयो । मलाई पनि चिनापर्ची गराउने बुबाको उद्देश्य थियो सायद ।

बुबाले निर्माण गरिरहनुभएको पन्ध्र शय्याको अस्पतालको ठेक्का यिनै कृष्णप्रसाद जोशी र आङ्ग्सराङ गाउँका प्रधानपञ्च मेदिनी रिजालको नाममा स्वीकृत भएको रहेछ । बुबाले राख्नुभएको बोलपत्र भन्दा तीन लाख रुपैयाँ बढी आर्थिक हैसियत नपुगेको अनि निर्माण व्यवसायमा कुनै अनुभव नभएका व्यक्तिहरूको नाममा सो ठेक्का सदर भएको थियो । सो विरुद्ध बुबाले सर्वोच्च अदालतमा मुद्दा हाल्नुभयो । पत्र पत्रिकामा व्यापक विरोध भो तर तत्कालीन स्वास्थमन्त्री पद्मसुन्दर लावतीको ठाडो आदेश र निहित स्वार्थका कारणले कुनै कारबाही भएन । पछि यिनै जोशी र रिजाल समुहले निर्माण पेस्की स्वरूप तीन लाख लिइसकेर कुनै कार्य गर्न नसकेपछि बुबालाई नै सो निर्माण कार्य सुम्पेका रहेछन् ।

सिवा खोला तरेर माथि चौतारामा काँक्रा खान बाबुछोरा बस्यौँ ।

बुबाले सोध्नुभो, “पढाइ सकेर के गर्ने विचार छ ? “

म त्यसबखत बि.एल. दोस्रो सेमेस्टरको परीक्षा सकेर एम.पि.ए. को अन्तिम सत्रमा पढाइ गर्दै गरेको अवस्था थियो ।

“पढाइ सकेपछि विचार गर्छु” मैले भनेँ ।

बुबाले थप भन्नुभो, “अहिले यहाँ विकासका थुप्रै योजना खुलेका छन् । नयाँ नयाँ निर्माण कार्य हुँदै छन् । काम गर्ने विचार छ भने वातावरण मिलाउन सकिन्छ” ।

त्यसबेला पाँचथर जिल्लामा सडक, सरकारी कार्यालय भवन, विद्युत्‌को प्रसारण लाइन जोड्ने र अरू थुप्रै विकास निर्माणका कार्य सुरु भएको थियो ।

तर म चैँ अध्ययन सम्पन्न गरिसकेपछि सरकारी वा गैरसरकारी वा कुनै योजनामा काम गर्ने विचारमा थिएँ । मैले बुबालाई प्रस्ट रुपमा आफ्नो विचार राख्ने धृष्टता गर्न सकिनँ । बुबाले फिदिममा आफ्नो निर्माण व्यवसायको राम्रो सम्भावनाको कुरामा जोड गर्नुभो । बुबालाई निराश बनाउन चाहिनँ र मैले पढाइ सकेपछि विचार गर्छु मात्र भनेँ । त्यस विषयमा बुबाले फेरि थप कुरा गर्नु भएन ।

आइ.एससी. अध्ययन गराएर मलाई इन्जिनियर बनाउने बुबाको योजना तुहिएपछि फेरि मलाई कहिले पनि कुनै प्रकारको आदेश र बन्देज या कुनै निर्देशन पनि गर्नु भएन । त्यसैले म आफू खुसी जे मन लाग्छ र जस्तो सुकै परिस्थिति हुन्छ सोहीअनुसार अध्ययन गर्दै, विद्यार्थी राजनीति गर्दै अलिअलि साहित्यिक पत्रकारिता गर्दै रहेँ ।

बाटाभरि बुबाले देवमान आङ्देम्बे मन्त्री हुँदाको किस्सा र उनीसँगको सम्बन्धका बारेमा खुलस्त कुराहरू भन्नुभो । विक्रम संवत् २०१३/१४ सालको पुरानो कुरा किम्बन्दन्तीझैँ लागेर सुन्दै एकनासले हिडिरहेँ । साँझमा अम्लाबुङको देवमान आङ्देम्बेको आँगनमा पाइला टेक्यौँ । देवमान अति नै खुसी देखिनुभयो ।

“ए नारान आएछ, यहाँ चकटी लाइदेऊ” उनले आफ्नो सहयोगीलाई अह्राए ।

हामी बाबुछोरा पिँढीमा राखेको चकटीमा बस्यौँ ।

उनी मलाई सानो कद, चम्किलो आँखा, आत्मविश्वासले भरिपूर्ण, दृढ अनि स्वाभिमानी, कडा स्वभाव, उमेरभन्दा धेरै फुर्तिलो, रवाफिलो र स्वाभिमानले उच्च व्यक्तित्व लागे । बुबाले अलिकति मेरा बारेमा, अलिकति पारिवारिक र धेरैजसो आफ्नै कामको प्रगति विवरण सुनाउनुभो । मैले चाख मानेर दुई सङ्घर्षशील स्वाभिमानी व्यक्तिका कुरा सुनिरहेँ । राम्रै सत्कार र हार्दिकताका साथ मिठो भोजन गरियो । थाकेको हुँदा छिट्टै निन्द्रादेवीको काखमा पल्टिन पुगेँ ।

भोलिपल्ट बिहान उठेर बाहिर आँगनमा आउँदा आँगनभरि मान्छे जम्मा भइसकेका थिए । भूपू मन्त्री देवमान आङ्देम्बे पिँढीको गलैँचामाथि एउटा टिनको बक्सा लिएर बसेका थिए ।

अर्को बक्सा बुबालाई दिँदै भने “आऊ नाराण तिमी मेरो सबैभन्दा विश्वासिलो व्यक्ति । यो पैसाको बक्सा लेऊ । यहाँ आएका मान्छेलाई उनको बाँकी बक्यौता पनि हिसाब गरिदेऊ “ ।

एउटा अर्को सहयोगी थिए जो कागज कलम बोकेर औँठामा सही छाप लाउन तयार भएर बसेका थिए । जम्मा भएका गाउँभरिका मान्छे कोही ऋण माग्न आएका थिए भने कोही ऋण असुली गर्न आएका थिए । खाली खुट्टा, टोपीको घेरामात्र भएको टोपी लाएका अनि दशतिर लुगा टालेका मान्छे मान्छेको एउटा सानो सानो भिड नै थियो भन्दा हुन्छ ।

गरिबी, असहाय र भोकाहरूको जमात ढुङ्गाको डिलमा कोही उभिएर कोही टुसुक्क बसेर सहयोगको याचना मागिरहेका थिए ।

म व्यग्र एउटा नौलो दृश्य र अनुभूतिको साक्षात्कार गर्न गइरहेथेँ ।

“हजुर यसपालिको अन्न बाली राम्रोसँग सप्रिएन र ब्याज तिर्न नसकेकाले भाका सार्न आएको” कोही भन्थे ।

“छोरा/छोरीको विवाहका लागि ऋण माग्न आएको” भन्थे त कोही “घरमा बिरामीको कारणले ऋण लिन आएको” भन्थे । सबैका आआफ्ना पीर, व्यथा र दुखेसो का पोकापुन्तरा खोल्दै ऋण थाप्दै थिए । मन्त्री साहू कडा मिजासले आड, भरोसा र सान्त्वनाका साथ पैसा दिँदै सही छाप लगाउँदै जान्थे । साहूले भने जस्तै गरी बुबा बाकसबाट भनिएको रकम गाउँलेको हातमा दिँदै जानुहुन्थ्यो । सबै आआफ्नो समस्या लिएर समस्या बिसाउन नै आएका थिए । ब्याज तिर्न नसक्ने र ऋण चुक्ता गर्न नसक्नेलाई हदैसम्मको हप्की र दप्की गरेको देखेँ । नयाँ ऋणी उनका सहायकले कागजमा ल्याप्चे ठोकेपछि बुबाको हातबाट पैसा बुझ्दै जान्थे । ती निरक्षर गाउँलेहरू जहाँ भने त्यहीँ औँला थिच्दै खुसी खुसी पैसा लिँदै जान्थे । साहूले जसलाई जति पैसा दिनू भन्थे बुबा त्यति नै ती गरिब गाउँलेको हातमा चुपचाप थमाइदिनुहुन्थ्यो । आखिर बुबाले भन्ने र बोल्ने केही कुरै थिएन ।

ब्याज समयमा तिर्न नसक्ने, थप ऋण थाप्न आउनेलाई कडा शब्दमा गाली गलौज गर्ने गर्थे । ऋणको भाका सार्ने र समयमा ब्याज नदिनेलाई घर उठीवासको धम्की दिन्थे । गरिब गाउँले बिचरा हरेक गाली, गलौज सहन्थे तर प्रतिपद र बहस गर्ने सामर्थ्य देखिँदैन थिए ।

गरिबलाई समस्या र छाक टार्नको चिन्ता थियो न कि ब्याज र आफूले राखेको धितोको ।

म चुपचाप शोषित दुःखित गाउँलेका दुःख, व्यथा सुन्न र हेर्न विवश थिएँ । वास्तवमा यो मेरो जीवनको अनौठो दृश्य थियो । मैले पढेका शोषक सामन्तका कथाहरूलाई मैले आफ्नै आँखाले देख्दै थिएँ । एक सरो लाउन, एक छाक खानलाई पनि अभावमा बाँचेका ती गरिबको घर खेत निखन्दै मोटाएको साहूहरूको प्रत्यक्ष अनुहार देख्दै थिएँ । ऋण नपाई फर्केका, अन्न नपाई फर्केकाको र ऋणको ब्याज तिर्न नसकी घर खेत गुमाउनुपरेकाले आँसु झार्दै बिलौना गरेको दृश्य साँच्चै नै नमीठो थियो । ती निमुखा गरिब गुरुवालाई ती साहूका लठैतहरूले भद्दा गाली गर्दै घरबाट हटाएको दृश्य साँच्चै नै हृदयविदारक थियो । आफ्नै आँखाअगाडि शोषण भएको प्रत्यक्षदर्शी थिएँ म ।

भोलिपल्ट हामी फिदिम फर्कियौँ ।

बुबालाई आफ्नो असन्तुष्टि र जिज्ञाशा प्रस्ट राखेँ । मनको खुल्दुली मेट्न अरू पनि विभिन्न कुरा सोधेँ ।

बुबाले भन्नु भो “जबसम्म शिक्षाको महत्त्वलाई प्राथमिकतामा राखिँदैन यस्तो समस्याको जड रहिरहन्छ । गाउँले निरक्षर छन् । साहूले कति ब्याज लागाए कति ऋण थपे थाहा नै छैन । सन्तान ऋणको भारी बोक्न विवश छन् । गाउँलेसँग आफ्नो आर्थिक समस्या सुल्झाउन एउटा मात्रै उपाय साहूसँग ऋण लिनु हो । सरकारी कामकाज गर्न र सहर जान ती असमर्थ छन् । तसर्थ जबसम्म सामाजिक रीतिरिवाज अनि परम्परामा परिवर्तन आउँदैन तबसम्म यो शोषक सामन्ती प्रथा तत्काल हट्न सम्भव छैन । यसलाई आमूल परिवर्तनको आवश्यकता छ” ।

बुबाले मेरो प्रश्नको सटिक जबाफ दिनुभो मलाई लाग्यो । बुबा जिल्लाकै शैक्षिक र सामाजिक परिवर्तनको अभियन्ता हुनुहुन्थ्यो । त्यसैले उहाँको भनाइ धेरै हदसम्म प्रगतिशील भएको मैले ठम्याएँ । उहाँले कसैप्रति पनि ऊँचनीच, जातपात र भेदभावको हिसाबले व्यवहार गरेको मैले कहिल्यै देखिनँ ।

जोरसाल बजार पुग्नै लाग्दाको उकालो चढ्दै गर्दा बुबाले भन्नुभो “तिमीलाई मैले किताबी ज्ञान मात्र होइन व्यावहारिक ज्ञान पनि सिकाउनका लागि मैले अम्लाबुङ लगेको हुँ ।”

मलाई साँच्चै नै त्यस्तै लाग्यो । पढेकाले भन्दा देखेकाले दशगुना आफूभित्र ज्ञान र शक्ति उमार्न सक्ने ताकत दिँदो रहेछ ।

मैले जनताको गरिबी, शोषण र सामन्ती प्रथाको ज्वलन्त उदाहरण देखेर आएँ । दु:ख, पीडा र करुण क्रन्दन सुनेर आएँ । शोषकको आक्रोश र तिनले दिने चरम यातना देखेर आएँ । मैले त सिर्फ एकठाउँमा मात्र देखेर आएँ तर यस्ता गाउँ सहर र बजारमा अरू कति थिए होलान् ।

मैले आफ्नो मनलाई दह्रो बनाएँ, दृढ बनाएँ अनि आफ्नो लक्ष्य सम्झिएँ ।

अनि भोलिपल्ट आफ्नो गन्तव्य तेह्रथुमतर्फ बाटो लागेँ ।