फेसबुक खोलेर के के पोष्ट आएछ भनी हेर्दै थिएँ । अचानक पल्लो घरमा बस्ने साथी विशाखाको वालमा उनकै फोटो राखी ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर ट्याग गरिएको पोष्ट आयो । शरीर सिरिङ्ग भयो । आत्तिदै मोबाइल बोकेर पल्लो कोठातिर दगुरेँ । श्रीमान् समाचार सुन्दै हुनुहुँदो रहेछ । म एक्कासि हुर्रिँदै गएकाले उहाँले साेध्नुभयो, ‘के भयो ?’

म ‘विशाखा विशाखा’ भन्दै मोबाइल देखाउन थालेँ । वाक्य नै निस्किएन । कुराे नबुझेपछि मेरो हातबाट मोबाइल लिएर हेर्नुभयो । त्यसपछि त उहाँ नै छक्कै पर्नुभयो ।

“हैन, के भएछ विशाखालाई ? लौ न, कसलाई सोध्ने ? हामी पोखरा आएपछि श्रीमानको सरुवा भएर काकँडभिट्टा गएका हैनन् उनीहरु ? के भएछ त त्यस्तो ? त्यसमाथि तिमीहरुको त कुराकानी पनि भइरहन्थ्यो ।”, श्रीमानका यी कौतुहलतापूर्ण प्रश्नको मैले केही उत्तरै दिन सकिनँ ।

साह्रै अधैर्य भयो मलाई । अचेल केही मानिसहरु सामाजिक सञ्जालमा रिस उठेको मानिसलाई त्यसै मर्यो भनेर श्रद्धाञ्जली दिई फोटो पनि हालिदिन्छन् । कतै यस्तै त भएन ? के विशाखाले नै झुक्किएर एउटा कुरा पोस्ट गरौँ भन्दा अर्को त भएन ? कहिलेकाहीँ यस्तै यस्तै उट्पट्याङ् काम पनि हुन्थ्यो उनीबाट । सायद प्रविधिको राम्रो ज्ञान नभएर पनि होला !

पुनः उनको पोस्ट खोलेँ । सबै ठिकै छ ।

कमेन्ट हेरेँ । अबचाहिँ पक्का भयो । उनले संसार छोडेकै रहिछिन् ।

छट्पटी झन् बढ्यो । के गरौँ, के नगरौँ ? दिमागले केही कामै गरिरहेको थिएन । काठमाडौँमा भए त चिनेका छिमेकी टन्नै थिए । सोध्थेँ । तर काँकरभिट्टा मेरा लागि परदेशसरह भयो ।

मसँग मात्र त्यही विशाखाको फोन नम्बर छ । अब अरू कसलाई सोधौँ ?

जे पर्ला–पर्ला भनेर दिउँसोतिर फोन लगाएँ । उठेन । फेरि लगाएँ । श्रुतीले उठाई ।

श्रुती विशाखाकी छोरी हुन् । मेरी छोरीको प्यारी साथी ।

‘हेलो’, भन्नुको सट्टा एक्कासि उसको रोएको आवाज आयो । मेरो शरीर काँप्न थाल्यो । आँखाबाट आँसु झर्न थाले । बगेका आँसु ओठभित्र छिरौँ नछिरौँ गर्दै गलातिर बग्न थाले । मैले हिम्मत गरेर बोलेँ, “नानी, एकछिन फोन नराख है ! मलाई केही सोध्नु छ ।”

तर ऊ मेरो कुरै नसुनी ‘अन्टी अन्टी’ भन्दै रुन थाली ।

‘नरोऊ नानी, बरु मैले सुनेको कुरा सत्य हो कि हैन ? बताइदेऊ ।’, म अनुनय गर्न थालेँ ।

‘हो आन्टी, ममीले हामीलाई छोडेकै हो । सुसाइड गर्नु भएको हो ।’, यति भनेर ऊ भक्कानिई र बोल्नै छोडी ।

मैले यताबाट बोल्ने कोसिस जारी नै राखिरहेको थिएँ, उताबाट एक पुरुष आवाज आयो र फोन नगर्नका लागि मलाई अनुरोध गर्यो । मैले ‘हस्’ भन्ने स्वीकारोक्तिसहित फोन राखेँ ।

मानसपटलमा जताततै विशाखाका स्मृतिहरूमात्र घुम्न थाले ।

विशाखाका श्रीमान् सरकारी जागिर । सरुवा भइरहने । श्रुती उनहरूको पहिलो सन्तान । छोराको रहर लागेर जन्माए दोस्रो सन्तान, छोरा नै जन्मियो । तर सबै सोचे झैँ कहाँ हुन्छ र ? छोरालाई त अटिजम पो भएको रहेछ ।

विशाखालाई छोरा जन्मिएदेखि न मानसिक न त शारिरीकरूपमं आराम नै मिल्यो ।

७२ सालको भूकम्पका बेला उनका श्रीमान् सिन्धुपाल्चोकमा हुनुहुन्थ्यो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएको थाहा पाएपछि विशाखा अर्धचेत नै भएकी थिइन् । कसो कसो तारतम्य मिलाएर उनका श्रीमान् काठमाडौँ डेरामै आइपुग्नु भयो । त्यसपछि मात्र विशाखा बोलेकी थिइनँ मसँग । हामीले एउटै टेन्टमा बसी कयौँ रात काटाएका थियौँ, अनि सँगै खाना खाएका थियौँ । हो, त्यही समयबाट हाम्रो सामिप्यता निकै बढेको थियो ।

रूपकी उनी निकै राम्री थिइन् । तर घरायसी कामकाज अनि छोराको कारणले उनी सधैँ थकित देखिन्थिइन् । दुई बच्चा सम्हालेर एक्लै बस्नु परे पनि आफ्नो पीडा हत्तपत्त कसैलाई सुनाउन्न थिइन् । हितैषीलाई मात्र मनोव्यथा पोख्थिन् । पहिला पहिला त अटिजम केयर सेन्टरमा लैजाने गर्थिन् छोरालाई । पछि त खै कुन्नि के भयो, लैजान पनि छोडिन् । सोध्दा भन्थिन्, “खासै राम्रो केयर भए झैँ लागेन, त्यसैले छुटाइदिएँ । त्यसमाथि एक जनाको कमाई कता कता पो भाग लगाउने हो ?”, विरक्तका कुरा गर्थिन् उनी ।

घर सफा गर्नु, मिठो मिठो परिकार बनाएर खुवाउनु र नयाँ नयाँ ठाउँ घुम्नु उनको शोख थियो । तर छोराको कारणले उनको शोखहरू केवल शोखमै सीमित भएका थिए ।

तीजको समयमा मैले एकपटक उनलाई भनेको थिएँ, “चाडबाडमा त अलि श्रृङ्गारिनु न विशाखा !”

तर उनको उत्तर अचम्मको थियो, “गर्नुपर्ने श्रृङ्गार मैले यो नजन्मिदै गरिसकेछु । अब त मेरो श्रृङ्गार पनि यही, सबैथोक यही हो ।” यति भनेर उनले छोरातिर देखाइन, र आँखा रसिलो पार्थिन् । उनको यथार्थले मलाई पनि नरमाइलो लाग्थ्यो । कुरै कुरामा ‘अब श्रीमानको सरुवा भएपछि सबै जना जानु नि’ भनी म बारम्बार भन्ने गर्थेँ । ‘अब त जसरी पनि जान्छु’ भन्दै उनी खुसी हुन्थिन् । यसपूर्व पनि उनले जाने इच्छा नगरेको त कहाँ हो र ? अटिजम सेन्टरबाट छोराको केही सुधार हुन्छ कि भनेर पर्खेर बसेकी थिइन् ।

“श्रीमानको काँकडभिट्टा सरुवा भयो नि ! अब म पनि सँगै जाने हो ।” पर्खालमाथिको फलामे रेलिङ्बाट चिहाउँदै खुसी साथ उनले भनेको भर्खरैजस्तो लाग्यो । घर अगाडिको बगैँचामा म फूल गोड्दै गर्दा ।

मेरो पनि श्रीमानको त्यहीताका सरुवा भएकाले हामी पनि सपरिवार पोखरातिर लाग्यौँ । उनी काँकडभिट्टा जानेबेलामा मैले बिदाईको हात हल्लाउनै पाइनँ । त्यसपछि कहिलेकाहीँ म्यासेञ्जरमा कुराकानी हुन्थ्यो । उनका पोस्टहरू हेरेर कमेन्ट गरिरहन्थेँ । यो क्रम दोहोरो नै थियो ।
“झापामा घडेरी किनेको छ । बिस्तारै त्यतै घर बनाउनु पर्ला । अहिले आफू बसेको क्वाटरवरपर धेरै जग्गाजमिन भएकाले छोरालाई माटो खेल्न दिएर भए पनि सागसब्जी लगाएको छु ।” उनी खुशी व्यक्त गर्थिन् । उनका कुरा सुनेर रमाइलो मान्थेँ म पनि । उनको खुसीको कामना गर्थेँ ।

एक दिन उनैले फोन गरिन्, म्यासेञ्जरबाट । भिडियो कल । श्रृङ्गारिएर राम्री भएकी रहिछिन् । खुशी लाग्यो उनलाई देखेर ।

“ओहो ! आज त कति राम्री देखिएकी !”, मैले जिस्काएँ ।

“कहिलेकाहीँ त राम्री हुनै पर्यो नि ।”, हाँस्दै जवाफ दिइन् उनले ।

धेरैबेर यस्तै यस्तै ठट्टा मजाकका कुरापछि भनिन्, “एउटा कुरा भन्नु थियो तपाईँलाई ।”

उनले सुनाउने कुरालाई लिएर म उत्साहित भएँ ।

“ए… छोरी यहीबेलामा आइपुगी, म पछि भन्छु ल । फेरि, छोराले पनि कहाँ पुगेर के के पो बदमासी गरिसक्यो होला !”, उनले फोन राखिन् । मेरो उत्साह एकैछिनमा विलीन भयो । कुरा रहस्यमै रह्यो ।

त्यही दिन केही समयपछि उनले फेसबुकमा एउटा गम्भीर पोस्ट राखिन्, “शब्द पोजेटिभ भएर के गर्नु ? काम नेगेटिभ गरेपछि ।”

म छक्क परेँ । पछि थाहा पाएँ । उनलाई र उनको श्रीमान्लाई कोरोना पोजिटिभ देखिएछ । छोराछोरीलाई भने रहेनछ ।

जे कुरामा पनि अत्तालिने बानी उनको, झन् उनैलाई कोरोना भएछ । के पो हुने हो भन्दै म श्रीमानसँग कुरा गरिरहन्थेँ । त्यसकै दुई दिनपछिको श्रद्धाञ्जली पोष्टले त म छाँगैबाट झरेँ ।

त्यत्रो भुकम्पको समय, पहिलो कोरोना लहरको लकडाउनमा एक्लै छोराछोरी सम्हालेर बसेकी थियौ, जस्तोसुकै परिस्थितिको सामना पनि तिमीले डटेर गरेकी थियौ, तिमीले किन यस्तो निर्णय गर्यौ, विशाखा ? कोरोनाबाट त निको भएर अधिकांश बिरामी फर्किरहेका छन् । तर तिमीले कहिले नफर्किने बाटो किन रोज्यौ ? तिमीले भन्न खोजेको त्यो कुरा रहस्यमय छोडेर तिमी विलीन किन भयौ ? तिम्रो आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली विशाखा… !!!