“दुस्मनहरू आए भने हामीलाई लुकेर बन्दुक ताक्न सजिलो हुन्छ । आजका लागि पढाइ यही सकिन्छ ।” कक्षामा शिक्षक हुँदाहुँदै पनि प्रवेश गरेर तत्कालीन एरिया इन्चार्जको आदेशमा एक जना २०/२२ वर्षको जनमुक्ति सेनाको सदस्यले आदेशसहितको अधुरो खबर सुनाए । केही समयअघिमात्रै नजिकैको विद्यालयमा सशस्त्र र जनमुक्तिसेनाबीच भिडन्तको कारण विद्यालय हाताभित्रै ४ जना विद्यार्थी अनि ६ जना भिडन्तमा संलग्नहरूको मृत्युको खबर एकाएक दिमागमा आयो । हाम्रो स्कुलमा पनि आज त्यही दृश्य देखिन्छ भन्ने कुरामा कुनै द्विविधा रहेन । सोचको पनि आफ्नै समस्या छ खुसी आउने कुरामा द्विविधा राख्छ  काम बिग्रिन्छ, नराम्रो हुन्छ भन्ने आशङ्कालाई एकैपटक उत्कर्षमा  पुऱ्याइदिन्छ । कमसेकम एकपटक वाक्यांशमा ध्यान दिएको भए पनि हुने “दुस्मनहरू आए भने… ।”

सबै जना स्कुलको प्राङ्गणमा जम्मा भइसकेपछि “सुरुङ खन्न लगाउने रे” भन्ने खबर एक जना ठूलो कक्षाको दाइबाट (जसलाई विद्यार्थी युनियनको अध्यक्ष बनाइएको थियो) थाहा भयो । त्यतिबेला स्कुलमा अङ्ग्रेजी, गणित र विज्ञानपछि  पाँचवटा विषयको सट्टामा ‘जनवादी नाराहरू’ घोकाइन्थ्यो विभिन्न अभियान र आमसभाहरूमा सरिक गराइन्थ्यो । विद्यालयमै सुरुङ खन्न लगाउने खबर हामी सबैका लागि बिल्कुलै नयाँ थियो ।

सरकारी स्कुलहरूको धेरै सुन्दर विशेषतामध्येको एउटा विशेषता स्कुलको धारामा पानी नआउँनु पनि हो । स्कुलको पछाडिपट्टिको खेलमैदानमा साबेल, फरुवा र कुटोहरू समातेर ठूलो कक्षाका दाइदिदीहरू खनिराख्नुभएको देखिन्थ्यो । खन्न अलिक सजिलो होला सोचेर हामी नजिकैको  गाउँको कुवाबाट बाल्टीमा पानी बोकेर खेलमैदानमा खन्याउन थाल्यौँ । आफूलाई दिएको आदेशानुसारका ‘अल्फाबेटिकल’ आकारका खाडलरू खनिने प्रयास जारी रह्यो ।

कल्पना जाेशी

प्रायः जसोको फोकस ‘टि’ र ‘एल’ आकारको खाडलमा हुन्थ्यो । “टि मा सिरानीमा बन्दुक राखेर ठाडो धर्को आकारमा सुत्न मिल्छ, एलमा ठाडो धर्कोमा सुतेर तेर्सो तानेको धर्कामा गोलीगठ्ठाको झोला लुकाउन र राख्न सजिलो हुन्छ” यस्तै उपादेयतासहितको विश्लेषण  कमरेडबाट सुनिएको अझै याद छ । जे होस् काम  निरन्तर भइरह्यो ।

आदेशबमोजिमका आकार र प्रकारका खाडलहरू खन्ने काम भइसकेपछि धेरैको आवाज मिसिएको एक आवाज सुनियो “ल सुरुङहरू खनियो ।” अब कसले कुन खनिएको खाडलमा लुकेर कतातिर बन्दुक ताक्ने भन्ने प्रयोग भइरहँदा हावामै खबर आयो, “एरिया नम्बर दुईको गस्तीमा हिँडेका प्रहरीहरू क्षेत्रीय सुरक्षागण फर्किसके” । हामीलाई सुरुङ भनेर खनाएका खाडलहरूले हामीलाई नै जिस्काएजस्तो लाग्न थालेपछि बाल्टिमा रहेको पानी ‘ओ’ आकारको खाडलमा खन्याएर पोखरीको दृश्य सृजना गरेछन् समूहकै कसैले ।

वि.सं. २०६३ मङ्सिर ५ गते सरकार  र माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको खबर  त्यही प्राङ्गणमा हाजिरी जवाफ हुँदा जति जोरले कराए पनि पुरिन मानेनन्  ती खाडलहरू उर्फ सुरुङहरू । सायद, यहीँ फरक हुन्छ भूगोल र इतिहासमा । इतिहास बदलिनलाई हतार गरिरहन्छ भूगोलले आफ्नो धर्म सितिमिति छोड्न मान्दैन । बरु कहिलेकाहीँ सानो कक्षाका नानीहरू अल्झिएर खाडलभित्र पर्ने पीर हुन्थ्यो । कुनै जँड्याहा जनवादी नारा लगाउँदै त्यही खाडलहरूमा अल्झिने डर हुन्थ्यो ।  पानी पर्दा त्यता भिन्न आकार र प्रकारका पोखरीहरू देखिन्थे  हाम्रो सदरमुकामका रोड छेउछाउमा देखिने बर्साते पोखरीका दिदीबहिनीजस्तै ।

बजेट  भाषण र राष्ट्रिय गौरवका योजनामा सरकारले सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको खबरहरू सुनिरहँदा हामीलाई स्कुल पढ्दा खनाइएका सुरुङ/खाल्डाहरू पहिले दिमागमा आउँछन् । सुरुङमार्फत युद्ध लड्ने भनेर विद्यालय हाताभित्रै बालबालिकाद्वारा खन्न लगाइएका ख्यालठट्टा खाडलहरू र गणतन्त्र स्थापनाको एक दशकभन्दा बढी समयसम्मको देशको हालत उस्तै लाग्छ । बरु पातपतिङ्गर अनि  कतैबाट भेलले माटो बगाएर ल्याएर पनि पुरिएलान् ती खाडलहरू त कहिल्यै तर  जनमुक्तिको नाममा जिन्दगीमुक्त भएका सहिदका आफन्तहरूको मन पुर्ने आँधीहुरी पनि चल्नु त पर्ने हो कहिलेकाहीँ त ।

तिनै खाडलहरूबाट उठेर सिधै चुनावी सुरुङमार्फत संसद् भवन पुगेपछि कमरेडहरूलाई न कुनै खाडल याद छन् न सुरुङहरू न त सहिदका सामूहिक चिहान । अझै पनि जलाइएका सरकारी भवन बारुदले भत्काएका घरका छाना, स्कुलकै आँगनमा खनिएका युद्धप्रतिरक्षास्वरूपका खाडलहरू, जनयुद्धका घाइते र सहिदका आफन्तहरू देख्दा हामी भने कहीँ न कहीँ आफूलाई जिम्मेवार मानिरहन्छौँ ।

दिमागबाट कहिल्यै नहटेका यी  नाराहरू बालमस्तिष्कको पार्टीमा यसरी लेखिएका छन् कि चाहेर पनि भुल्न सकिँदैन । ” ज्ञाने चोर देश छोड्, निरङ्कुश राजतन्त्रको अन्त्य गर् गणतान्त्रिक नेपालको घोषणा गर्, संविधानसभाको चुनाव गर् ।” सबैभन्दा दुखद व्यङ्ग्य त के लाग्छ भने विद्यालय हाताभित्रै बालबालिकालाई युद्ध प्रशिक्षण, सुरुङमार्ग निर्माण लगाएतका काममा लगाइरहँदा यो नारा पनि घन्किनैपर्थ्यो  “विद्यालयलाई शान्ति क्षेत्र स्थापना गर्, सुरक्षा सुनिश्चितताको व्यवस्था गर्, हत्यारो राजा चाहिँदैन, विद्यार्थी मार्न पाइँदैन”  यी र यस्तै कतिकति । कहिलेकाहीँ लाग्छ हामीलाई चोरी र हत्याको परिभाषा गणतन्त्रको स्थापनाले बुझायो ।

राजारानीको तस्बिर च्याते तिनीहरूले जलाउँने आदेश हामीलाई दिए । प्रतिरक्षाका लागि खाडल खन्ने योजना बनाए उनीहरूले, खन्न लगाए हामीहरूलाई । मनोमानी जिन्दावाद र मुर्दावादका नाराहरू लेखे उनीहरूले, घोक्ने गृहकार्य हामीलाई दिए । आफ्नै सुरक्षाका लागि  कहिले सर्वसाधारणलाई  ‘सेन्ट्री’ बस्न लगाए त  कहिले घरभित्र लुक्ने वातावरण मिलाउन लगाए ।  आज आएर लाग्छ हत्या विभिन्न तरिकाले धेरै पहिले भइसकेको रहेछ वर्तमानमा त हामी आफैँले औपचारिक घोषणा मात्रै गरेका हौँ ।

खासमा जिन्दगी आफैँमा जन्मदेखि मृत्युसम्मको सुरुङमार्गहरूको सिलसिला रहेछ । गर्भाशयदेखि जन्म, बाल्यकालदेखि किशोरावस्था, वयस्कदेखि वृद्धावस्था, दु:खदेखि सुख, द्वन्द्वदेखि ऐतिहासिक परिवर्तन यी सबै जोड्दै र छोड्दै जाने सुरुङ जिन्दगी रहेछ । कति धेरै दृश्य र अदृश्य सुरुङको भुमरीमा रनभुल्ल हुन्छ जिन्दगी त्यो भावना प्रस्फुटन गर्न पनि हामीलाई शब्दहरूको सुरक्षित सुरुङ चाहिने रहेछ । जुनदिन मनमै बसेको मान्छेको विवाहको निम्तास्वरूप  निमन्त्रणा कार्ड रोल गरेर रातो डोरीले बाँधेर दैलोमा राखिएको देखेँ बस् महसुस भएको हो कुनैकुनै सुरङले जुनी-जुनीसम्म छोड्ने काम पनि गर्दछन् र त गुनासो रहेन स्कुलमा खनिएका सुरुङ नामका खाडलहरूसँग पनि ।