आज म थाइल्यान्डको राजधानी सहर बैङ्ककबाट अर्को सहर “फुकेट” जाँदैछु । थाइल्यान्डको दक्षिणी टुप्पामा रहेको यो सहर पर्यटकीय मात्र नभई धार्मिक पनि हो । हुन त म केही दिन अगाडि दक्षिणको अर्को सहर “नाखोम सि थामारात” पुगेको थिएँ तर त्यो यात्रा घरायसी थियो, नातेदारलाई भेट्न गएको थिएँ तर यो यात्रा गोर्खाली इतिहासको छ । यहाँ थुप्रै नेपालीहरू धेरै पहिलादेखि बसोबास गर्दै आएका छन् । उनीहरूले नेपालबाट ल्याएको नेपाली पहिचान बचाएका छन् । आफ्नो वीरतालाई सुरक्षित राखेका छन् । अनौठो यो छ कि ! त्यो पहिचान र वीरता सोझै नेपालबाट नल्याई बर्माबाट ल्याएका थिए । एकजना मित्रले मलाई भनेका थिए– “फुकेटबाट पिलोकसम्म जानुभयो भने पुरानो नेपाल भेट्नुहुन्छ ।” म त्यही पिलोकको यात्रामा छु ।

बैङ्कक बसाइमा मैले थुप्रै मोटरसाइकल चढेँ । मोटरसाइकलमा नै घुमफिर गरेँ । यो सस्तो र सुलभ यात्राको साधन हो । अहिले पनि मेरा अगाडि एउटा रातो रङ्गको मोटरसाइकल तयारी अवस्थामा छ । मोटरसाइकलको इन्जिन चलिरहेको छ भने चालक मेरै प्रतीक्षामा छन् । यो मोटरसाइकलले मलाई बैङ्ककको चराङ्गक्रुनबाट फुकेट जाने बसपार्कसम्म पुऱ्याउँछ तर म डराइरहेको छु । म त्रस्त छु किनकि बसपार्क र चराङ्गक्रुन धेरै टाढाका ठाम हुन् । यति टाढाको दूरीमा मोटरसाइकलमा जानु मेरो मानसिकता तयार छैन । म हतासिएको छु तर राजजी मलाई आँट दिँदै बोल्नुहुन्छ–

“तपाईँ चिन्ता लिनु पर्दैन । तपाईँलाई यसले सजिलैसँग बसपार्क पुऱ्याउँछ । यो चिनजानको मोटरसाइकल हो । फुकेट जाने बसमा चढाएर मात्र आउनु है भनेर अर्थ्याएको छु ।”

नगेन्द्र न्यौपाने

राजजीले भनेको जस्तै उसले मलाई सजिलैसँग बसपार्क पुऱ्याउँछ । उसलाई बैङ्कक सहरमा मोटरसाइकल चलाउन पूर्ण ज्ञान छ । मोटरसाकइल पार्क गरेपछि हामीहरू दुवैजना बसपार्कभित्र पस्छौँ । त्यो सफा सुन्दर पार्क । पार्कभित्र रङ्गीचङ्गी बसहरू अनि बसहरू सबै दुईतले । सायद यात्रीले मात्र प्रवेश पाउने हुनाले बसमा भिडभाड छैन । उसले नै मेरा लागि टिकट किनिदिन्छ ।

उही बस, उही ठाउँ अनि उही यात्रा तर टिकट दर भने फरक फरक । यो बस बैङ्ककबाट फुकेट जान्छ तर त्यहाँ यात्रा गर्ने सबै यात्रीले टिकट एउटै दरको किनेका छैनन् । सिट र तला अनुसार टिकट दर पनि फरक छ ।

“सरलाई कुन दरको टिकट दिऊँ ?” टिकट बिक्रेता युवती मलाई सोध्छिन् ।

“कुन कुन दरका टिकट बाँकी छन् र ?” म सोध्छु ।

उनी टिकटको चार्ट देखाउँदै बोल्छिन्– “माथिल्लो तलाको ६०० भाट तल्लो तल्लाको ८०० र ९०० भाट ।”

हुन त मलाई तल्लो तलाको आरामदायी सिटमा सुतेर नै यात्रा गर्ने रहर थियो तर टिकट सकिसकेको हुनाले म माथिल्लो तल्लाको ६०० भाट मूल्यको एउटा सिट लिन्छु । यो जिन्दगीको पहिलो अनुभव छ । दुईतले बसको माथिल्लो तल्लामा बसेर यात्रा गर्नु । त्यसमा पनि रात्रिकालीन यात्रा । बसको सिटमा बस्नासाथ पानीको बोतल, बिस्कुट र ओढ्ने ब्लाङकेट आइपुग्छ । यो पनि जीवनको अर्को अनुभव ।

“जाडो भयो भने ओढ्नुहोला है” भन्दै बस कन्डक्टर ब्लाङकेट मलाई दिन्छन् र जान्छन् ।

बाहिर भतभती पोल्ने गर्मी छ । सही नसक्नु तातो । त्यही भएर हुनसक्छ बसभित्र चिसो बनाइएको छ तर त्यति धेरै चिसो बनाउन नहुने । जेहोस्, बसले ठिक सात बजे बैङ्कक सहर छोड्छ ।

विदेशी मुलुकमा जब मान्छे एक्लो हुन्छ तब उसले भाषाको महत्त्व बुझ्छ । बैङ्कक बसाइमा जतिबेला अन्य नेपाली साथीहरूको साथ लागेर सहर घुम्दा मैले सहजता मानेको थिए तर म बसको यात्रामा एक्लो हुँदैछु । न अगाडिको यात्रुलाई म आफ्नो कुरा भन्न सक्छु न पछाडिको । म लाटो बनेको छु ।

जब ड्राइभर “खानाका लागि” भनेर बस बीच जङ्गलमा रोक्छ तब म आलस–तालस पर्छु । त्यो अँध्यारो जङ्गलको बीचमा बजार छ । चारैतिर होटेल र रेस्टुरामा चहकिलो बत्ती बलेको छ तर म अन्धकार नै अन्धकार देख्छु । मलाई भाषाले अँध्यारो बनाएको छ । म खानाका बारेमा जानकारी लिन सक्दिन । मलाई अर्को समस्या यो पनि छ कि खाना खाएर फर्केपछि म आफ्नो बस पत्ता लगाउन सक्छु कि सक्दिन ! किनभने त्यहाँ सबै बसहरू पङ्क्तिबद्ध छन् । उनीहरूको आकार–प्रकार, रङ्ग उस्तै छ केवल फरक छ नम्बर तर त्यो नम्बर पनि थाइ भाषामा लेखिएको छ । त्यो म पढ्न सक्दिनँ ।

आखिर यात्रा न हो ! आफूले चिताएजस्तो त कहाँ हुन्छ र ! त्यो रात खाना सामान्य फलफूलमा नै टर्छ ।

बिहानको सात बजेको छ । बस रित्तो भइसकेको छ । निख्रिँदै–निख्रिँदै आएका यात्रुहरू फुकेटको बसर्पामा आउँदासम्म पूरै खाली भएका छन् । म पनि बसबाट बाहिर निस्किन्छु र झोला लिएर एउटा बेन्चमा बसेको मात्र हुन्छु– एकजना व्यक्ति मेरो नजिक आएर सोध्छन्–

“सरलाई ट्याक्सी चाहिएको हो ?”

म उत्तर दिन्छु– “होइन ।”

किनकि मेरा साथमा “अन्तरे बाको” फोन नम्बर छ । मलाई थाहा छैन अन्तरे बाको पूरा नाम अनि उहाँको अरू परिचय तर मलाई सम्झना छ– उहाँ मलाई लिन बसपार्कमा आउनुहुन्छ । उहाँसँग मेरो हिजो कुराकानी भएको थियो । उहाँले मलाई भन्नुभएको थियो–

“भोलि बिहान म सामान पुऱ्याउन बजार आउँदै छु । फर्कँदा तपाईँलाई लिएर जान पर्ला । बसपार्कमा आइपुगेपछि फोन गर्नुहोला ।”

तर म अझै उहाँलाई फोन गर्दिन । किनकि यतिबिहानै फोन गर्न उचित छैन । म केहीबेर अलमल पर्छु । अनि मात्र फोन गर्छु तर उहाँको फोन उठ्दैन । दुई–तीनपल्ट फोन गरेपछि पनि उहाँको फोन नउठेपछि म आफैँ ट्याक्सीमा जान्छु ।

हुन त यसपटक पनि मोटर साइकलहरूले मलाई कहाँ नघेरेका हुन् र ? मलाई उनीहरूले आफ्नो सवारीमा राख्न कहाँ नचाहेका हुन् र ? तर म मोटरसाइकलमा जान उपयुक्त ठान्दिन । एकातिर बैङ्ककमा नै मलाई मोटरसाइकलले अत्याइसकेको थियो भने फुकेटको सडक त्यति उपयुक्त छैन भन्ने जानकारी थियो । बैङ्ककमा एकजना मित्रले भनेको सम्झना छ– “फुकेटको बसपार्कदेखि नेपाली मन्दिर जाने सडक डरलाग्दो छ । उकालो–ओरालो छ । सर ! त्यहाँ मोटरसाइकलमा नजानुहोला । अझ तपाईँको झोला ठूलो छ ।”

त्यसकारण मैले ट्याक्सी नै लिएको छु । ट्याक्सीलाई मैले पहिल्यै बताएको छु । उसलाई मेरो गन्तव्य थाहा छ । उसको अङ्ग्रेजी त्यति बुझिदैन तर जति बुझिन्छ त्यो मेरा लागि पर्याप्त छ । मैले उसको भनाइ बुझेको छु ।

सफा सडक । मन्द गतिमा चलेका गाडीहरू अनि भर्खर सुरु हुन लागेको फुकेट सहरको चहल–पहल । सहर शान्त छ ।

“फुकेट सहर सधैँ यस्तै शान्त रहन्छ ?” ट्याक्सी ड्राइभरसँग मेरो वार्ता सुरु हुन्छ ।

“होइन सर ! दिउँसो त कहाँ छिचोलीसाध्य हुँदैन ।”

त्यतिबेला मेरो फोनको घण्टी बज्छ । म उठाउँछु । त्यो फोन अन्तरे बाको हुन्छ । उहाँ मलाई लिन आउँदै हुनुहुन्छ । म उत्तर दिन्छु–

“म त ट्याक्सी लिएर बसपार्कबाट हिँडिसकेँ । तपाईँ अब दुःख पाउन पर्दैन । अब उतै मन्दिरमा भेट गरौँला ।”

उहाँले फोन राखिदिनुहुन्छ । म पनि फोन राख्छु । पहिलादेखि हाम्रो वार्ता सुनिरहेको ट्याक्सी ड्राइभर मतिर हेरेर प्रश्न गर्छ–

“सर कहाँबाट आउनुभएको ? कुन भाषा बोल्नुभएको हो ?”

“म नेपाली–गोर्खाली हुँ । म अहिले बर्माबाट आउँदै छु । फुकेटमा थुप्रै नेपाली–गोर्खाली छन् । उहाँहरूसँग भेट गर्ने कार्यक्रम छ । मैले बोलेको भाषा नेपाली हो ।” म विस्तृत रूपमा उत्तर दिन्छु ।

तर मेरो उत्तरमा ऊ सामान्य टाउकोसमेत हल्लाउँदैन । मानौँ गोर्खाली नेपाली शब्दबारे उसलाई थाहै छैन । यही गोर्खाली शब्द बर्मामा बोल्दा बर्मेलीहरू तर्सेका थिए । मलाई सत्कारले हेरेका थिए तर त्यो व्यक्तिबाट कुनै प्रतिक्रिया नै पाउन सक्छु न कुनै थपथाप नै । उसलाई गोर्खालीबारे कुनै ज्ञान नै छैन ।

ट्याक्सी निकै टाढा आइसकेको छ । दायाँ–बायाँ हरियो फाँट । ठाउँ ठाउँ जङ्गल अनि भित्र–भित्र स–साना घरहरू । दृश्य सुन्दर छ । म ट्याक्सीबाटै देख्छु– मेरा अगाडि अजङ्गको पहाड छ । अनि त्यो पहाडको टुप्पामा एउटा विशाल मूर्ति छ । त्यो मूर्ति ध्यानमग्न छ । त्यो पलेँटी बसेर बसेको मूर्ति बुद्धको हो । त्यो जान्दा–जान्दै पनि म उसलाई सोध्छु–

“त्यो मूर्ति कसको हो ?”

ऊ उत्तर दिन्छ– “बुद्धको; बिग बुद्ध । तपाईँलाई थाहा छ– यो मूर्ति विश्वको सबैभन्दा ठूलो मूर्ति हो नि ।”

म मनमने सोध्छु– “यो यहाँ पो रहेछ ।” मलाई पहिल्यै जानकारी थियो कि विश्वको सबैभन्दा ठूलो बुद्धको मूर्ति फुकेटमा नै छ– तर त्यो मूर्ति त्यति विशाल छ भन्ने मैले कल्पना नै गरेको थिइनँ । पोखराबाट देखिने माछापुच्छ्रेको टुप्पोजस्तो । तल विशाल हरियो फुकेट सहर अनि सहरको अर्को कुनामा विशाल बुद्धको मूर्ति ।

“त्यहाँ घुम्न जाने सर ?” ऊ मलाई सोध्छ ।

“जाने हो तर अहिले होइन । भोलि ।” म उत्तर दिन्छु ।

“तपाईँ जाने हो भने मलाई खबर गर्नुहोला । म पुऱ्याइदिन्छु । पहाडको टुप्पासम्म नै गाडी जान्छ । फुकेट आइसकेपछि पनि के बिग बुद्धको दर्शन नगरी फर्कनुहुन्छु !”

म उसलाई प्रसङ्ग बदल्दै सोध्छु– “तपाईँलाई थाहा छ बुद्धको जन्मथलो नेपाल हो नि ! बुद्ध नेपाली हुन् ।”

ऊ टाउको हल्लाउँछ तर उसको टाउको हल्लाइले मलाई ज्ञान हुन्छ कि बुद्धको जन्मबारे ऊ अन्योलमा छ । उसलाई केवल थाहा छ– बौद्ध एउटा धर्म हो र ऊ तुरुन्त मलाई सोधिहाल्छ–

“बुद्ध नेपालमा नै जन्मेका हुन् र ?”

“हुन् नि ! उनी त्यहाँ राजाका छोरा हुन् ।”

“तपाईँ पनि बुद्ध धर्म मान्नुहुन्छ त !” ऊ फेरि मलाई सोध्छ ।

“बुद्ध विष्णुका अवतार हुन् । धार्मिक हिसाबले म बौद्ध धर्मालम्बी पनि हुँ र हिन्दू पनि हुँ ।”

उसलाई अवतार र विष्णुका बारेमा थाहा छैन । ऊ थाहा पाउन पनि खोज्दैन । बरु मतिर अनौठो प्रश्न तेर्स्याउँछ ।

“एउटा मान्छेको दुईवटा धर्म हुन्छ र ?”

“किन नहुनु !” म उत्तर दिन्छु ।

“बौद्ध र हिन्दू एउटै संस्कारका धर्म हुन् । उनीहरूको परम्परा एउटै हो । केवल स्वरूपमात्र फरक हो । त्यसकारण हरेक बौद्ध धर्मालम्बी हिन्दू पनि हो भने हरेक हिन्दू धर्मालम्बी बौद्ध पनि हो ।”

“त्यसो भए म हिन्दू पनि हुँ त ?”

“अवश्य ! तपाईँ हिन्दू पनि हो । हामीहरू एउटै चेतनाबाट आएका हौ । हाम्रो संस्कार र चालचलन एउटै छ भने हामी किन एउटै होइनौ !”

खै ! उसले मेरो भनाइ कतिसम्म बुझ्यो तर त्यतिबेलासम्म हामीले धेरै बाटो काटिसकेका छौँ । सवाल–जबाफ गर्दागर्दै ट्याक्सी एउटा सुन्दर मन्दिरका अगाडि रोकिन्छ । मन्दिरको ढोकामा नै लेखिएको छ– “श्रीभगवद्धाम सनातन मन्दिर, फुकेट ।”

हरियो जङ्गलको छेउ । त्यही छेउबाट गएको ठूलो राजमार्ग अनि ठूलो आँगन भएको मन्दिर । वरिपरिको वातावरण देख्दा लाग्छ, जुन मानसिकताले यो मन्दिरको संरचना भयो त्यो मानसिकतालाई मेरो हृदयदेखि नै नमस्कार । उनले राम्रो परिवेशमा यो मन्दिरको परिकल्पना गरेका हुन् । म मन्दिरको बीच भागमा बनेको तुलसीको मठनिर उभिएको मात्र हुन्छु एकजना व्यक्ति मेरो नजिकै आएर सोध्छन्–

“तपाईँ नै हो न्यौपानेजी ! बर्माबाट आउनुभएको । गोर्खाली ।” अनि फेरि आफ्नो परिचय दिन्छन्– “म राम बस्नेत ! मन्दिर समितिको अध्यक्ष ।”

“हो ! मै हुँ । तपाईँलाई मैले हिजो बैङ्ककबाट फोन गरेको थिए तर फोनमा सम्पर्क हुन सकेन ।”

चराहरूको घरिघरि मन्दिर अगाडिको रूखबाट आवाज गरिरहेका छन् । केही परको राजमार्गबाट गाडीले गति दिइरहेको छ तर खासै मेरो ध्यान त्यता गएको छैन । ध्यान गएको छ– मन्दिरभित्र बजेको शङ्खमा अनि मन्त्रोच्चारणमा । मन्दिर भित्र बिहानको पूजा चलिरहेको छ । पूजा सकिनासाथ सेतो धोती लगाएका दुईवटा पण्डितहरू फुत्त–फुत्त बाहिर निस्किनुहुन्छ र मलाई प्रश्न सोध्नुहुन्छ तर उहाँहरूको प्रश्न पनि उही छ– जुन प्रश्न भर्खर राम बसनेतज्यूले मलाई सोध्नुभएको थियो ।

“तपाईँ नै हो न्यौपानेजी ! बर्माबाट आउनुभएको हो ।”

म अनुमान लगाउछु कि मेरा बारेमा कुरा भइसकेको छ ।

म उहाँहरूलाई उत्तर दिन खोज्दैछु तर राम बस्नेतज्यू बीचमा बोल्दै पण्डितजीहरूको परिचय मलाई गराउनुहुन्छ– “उहाँ हुतनास पोखरेल, मोगेक बर्माको । अनि उहाँ लोकनाथ तिम्सिना ओमति बर्मा ।”

“मन्दिर त कस्तो रमाइलो ठाउँमा रहेछ हगि ! चारैतिर हरियाली नै हरियाली । कस्तो मिलेको जग्गा ।” म सोध्छु ।

“अझ अहिले यतातिर घरहरू थपिएपछि अलि भिड बढेको छ । नत्र पहिला त यो मन्दिर ऋषि मुनिको तपोभूमिजस्तो थियो ।” राम बस्नेत बताउनुहुन्छ ।

यो पृथ्वी जोड्ने एउटै तत्त्व हो– मानवता । फेरि मानवतालाई भाषाले जोडेको हुन्छ । मानवता र भाषा कुनै न कुनै रूपमा एक अर्कासँग सम्बन्धित छन् । यही सम्बन्धले नै म नेपालबाट बर्मा हुँदै थाइल्यान्ड पुगेको छु । उहाँहरू बर्माबाट थाइल्यान्ड । अनि हामीहरू एउटै आँगनमा उभिएका छौँ । मलाई यस कुरामा गौरव महसुस हुन्छ कि भाषाले हामीलाई एकत्रित गराएको छ । हाम्रो राष्ट्रियता बदलियो तर भाषा बदलिएन । भाषा नबदलिएपछि संस्कार पनि बदलिएन । त्यही संस्कार नेपालबाट बर्मा पुग्यो, बर्माबाट थाइल्यान्ड । म यही विषयलाई जोड्दै उहाँलाई सोध्छु–

“मन्दिर निकै बुद्धि पुगेको ठाउँमा रोज्नुभएको रहेछ । उच्च जग्गा, फराकिलो आँगन…।”

तर उनी मेरो वाक्य पूरा हुन नदिई बोल्छन्– “यो बुद्धि मेरो पुगेको होइन ।”

“कसको त !” म सोध्छु ।

“पण्डित कुमार प्रसाद गौतमको ।” राम बस्नेतजी मन्दिरको इतिहास बताउन थाल्नुहुन्छ–

“यो २०५९ साल (२००२) तिरको कुरो हो । पण्डितजी नेपालबाट बर्मा आउनुभएछ र फर्कँदा थाइल्यान्ड पस्नुभएछ । एकातिर पण्डितजी फुकेट आउनु त्यहीबेला मेरो आमा लुजिनी (मुखिया)ले मन्दिरको काम सुरु गर्नु एकैचोटि भएछ । बर्माको मिचिना हुँदा नै मेरी आमाको मन्दिर बनाउने धोको थियो । पण्डितजीको साथ पाएर काम बढ्न थालेछ । कहाँनेर मन्दिर बनाउने भनेर तीन–चार ठाउँको जग्गा देखाउँदा पण्डितले यो ठाउँको माटोसँग पशुपतिको माटो मिलेको ठहर गरेपछि यहीँ बन्न गएको हो ।”

हामीहरू आँगनमा उभिएर कुराकानी गर्दागर्दै मेरो झोला मन्दिरको गेस्ट हाउसमा (पाहुना घर) मा पुगिसकेको छ । अब म केही दिन यही मन्दिरको गेस्ट हाउसमा बस्नेछु र पिलोकको भ्रमणमा जानेछु । मेरो खानपिन र भात भान्सा पनि यही मन्दिरका पण्डितहरू हुतासन पोखरेल र लोकनाथ तिम्सिनासँग हुनेछ । अर्को अनौठो संयोग यो छ कि – मन्दिरका पण्डित हुतासन पोखरेल र मेरो पितापुर्खाको उद्गम स्थान एउटै रहेछ ।