मानिसको जीवनमा थुप्रै घटना/परिघटनाहरु हुन्छन् र भइरहन्छन् । प्रत्येक क्षण इतिहास बन्दै जान्छ । आज सामान्य लाग्ने कुराहरू भोलि महत्त्वपूर्ण पनि हुन सक्छन् । जिन्दगी आफैँमा एउटा पहेँली जस्तो लाग्छ । आफूले सोचेअनुसार चल्दैन जीवनको गाडी । उकाली ओराली, दुःख सुख चली नै रहन्छ मानिसको जीवनमा । जीवन र जगतको यो रहस्य बुझिनसक्नु छ ।

कतिपय घटनाहरु बिर्सदै गइन्छ । स्वाभाविक पनि हो । तर कतिपय कुराहरु जीवनभर बिर्सन सकिन्न । यस्तै बिर्सन नसकिनेमध्येका केही घटनाहरु/क्षणहरु यहाँ प्रस्तुत गर्दैछु ।

१. वि.सं. २०२७/२८ वा २९ सालतिर हुनुपर्छ । ठ्याक्कै सम्झना त छैन । त्योबेला म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे थिएँ । एउटै पदको लागि भिड्ने थुप्रै उम्मेदवारहरूमध्येबाट छानिएर जागिरे भएको । केदारमान व्यथित कुलपति हुनुहुन्थ्यो भने बालकृष्ण सम उपकुलपति अनि सदस्यहरूमा माधवप्रसाद घिमिरेलगायत सहसदस्यमा कृष्णचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी, पोषण पाण्डे, श्यामदास वैष्णव, धर्मराज थापाहरु हुनुहुन्थ्यो ।

सहसदस्य रत्नध्वज जोशी मलाई निकै माया गर्नुहुन्थ्यो । एक दिन बोलाएर भन्नुभयो – तिम्रो नाममा कसैले राजसंस्था र पञ्चायती व्यवस्था विरोधी हो भनेर उजुरी हालेको रहेछ, कुलपतिकहाँ । सायद व्यथितजीले बोलाएर सोध्नुहोला, आफू तयार भएर प्रस्तुत हुनु ।

नभन्दै भोलिपल्ट अफिस लाग्नसाथ मलाई बोलाइयो कुलपतिको कार्यकक्षमा । म मानसिक रूपले तयार भइसकेको थिएँ । मैले अनुमान लगाइसकेको थिएँ कसले उजुरी गर्यो होला भनेर । म आफ्नो गाउँ घरमा सामन्तहरुको विरोधी । तिनीहरुमध्ये केही राष्ट्रिय स्तरमा प्रभावशाली पदमा थिए । त्यसैले उनीहरुमध्ये कसैले उजुरी गरेको सहजै अनुमान गर्न सकिन्थ्यो । त्योबेला पञ्चायती व्यवस्थाको जगजगी चलेको अवस्था थियो । जागिर खाने क्रममा पनि मेरो पुलिस रिपोर्ट बिगारी दिएका थिए र गाउँको प्रहरी चौकीको इन्चार्ज हवल्दारले मेरो बुबासँग पुलिस रिपोर्ट सपार्ने भए यति पैसा चाहिन्छ भनेर घुस मागेको तर बुबाले इन्कार गरेको घटना मलाई सुनाइसक्नुभएको थियो । त्यसैले यो उजुरी गर्नेहरु तिनै हुन भन्ने मेरो अनुमान गलत थिएन ।

पवन आलोक

व्यथितजीलाई भेट्न गएँ उहाँले कार्यालयमा केही सदस्य/सह–सदस्यहरु पनि त्योबेला त्यहाँ उपस्थित हुनुहुन्थ्यो । व्यथितजीले उजुरीको व्यहोरा पढेर सुनाउनु भयो । मैले आरोपको खण्डन गरें र मेरो गाउँका सामन्तीहरुले मलाई दुःख दिने नियतले बढाइचढाइ रिपोर्ट गरेको हुनसक्छ भनेर पुलिस रिपोर्टसमेतको चर्चा गरेपछि व्यथितजी कन्भिन्स हुनुभयो र मेरो जागिर जोगियो ।

२. बालकृष्ण समलाई असाध्यै मेकअप गरेर हिँड्नु पर्ने । उहाँकी धर्मपत्नी मन्दाकिनी समको त के कुरा भो र ! समजीलाई हलमा गएर सिनेमा हेर्ने सोख । आफ्नै कार भएर पनि सम दम्पति रिक्सामा चढेर सिनेमा हेर्न जाने गरेको कैयौंपटक मैले देखेको छु । एक दिन म पनि जय नेपाल सिनेमा हलमा साँझको शोमा कुनै हिन्दी फिल्म हेर्न गएको थिएँ । समजी आफ्नो विशिष्ट र भिन्न खालको लवेदा सुरुवाल लगाएर बुढाबुढी पूर्ण मेकअपसहित रिक्सामा आउनुभयो । मैले नमस्कार गरेँ – दुवैलाई । सिनेमा सुरु हुन बाँकी नै थियो त्यसैले एकछिन यताउति गफगाफ भयो । उहाँ त्यत्रो विद्वान्, म सामान्य केटो । कुरै कुरामा पुनर्जन्मको कुरा उठ्यो । मान्छेको पुनर्जन्म हुन्छ भनेर उहाँले भन्नुभयो । म परेँ भर्खरको अल्लारे ठिटो । मैले समजीलाई भनेँ – कसैले पुनर्जन्म भएको देखेको त छैन । यसलाई पुष्टि गर्ने कुनै वैज्ञानिक आधार पनि छैन, कसरी पुनर्जन्म हुन्छ भनेर भन्ने ?

समजीले स्वाभाविक मुस्कानका साथ भन्नुभयो – आधार छ पनि, छैन पनि पवन बाबु । विश्वासको कुरा हो, यो सब तपाईँले पछि बुझ्नै जानुहुनेछ ।

म कन्भिन्स त भइनँ तर पनि उपकुलपति र त्यत्रो विराट व्यक्तित्वसँग थप तर्क गरिरहन सक्ने कुरा पनि थिएन । युवा जोश थियो, त्यति धृष्टता त गरिहालेँ । आजकल त्यो घटना सम्झँदा म आफैँलाई बडो अप्ठेरो महसुस हुन्छ ।

३. स्वर सम्राट नारायण गोपाललाई विराटनगरमा अभद्र व्यवहार गर्न खोजिएको एउटा घटना मलाई सम्झना छ । त्यो घटना सायद वि.सं. २०३०/३१ तिरको हुनुपर्छ । विराटनगरमा त्यतिबेला सहरकै राम्रो मानिएको बजार अड्डानजिकै एउटा होटल थियो । (नाम बिर्सेंँ, होटल दियालो हो कि जस्तो लाग्छ – एन.आई.डी.सी. को लगानीमा खुलेको र ऋण तिर्न नसकेर पछि एन.आई.डी.सीले कब्जा गरेको थियो रे) त्यो होटलमा मलगायत केही अन्य साथीहरू पनि साँझ त्यहाँ पुगेका थियौँ ।

एक जना मेरा मित्र कलाकार गङ्गा वरदान पनि केही साथीहरुसहित हुनुहुन्थ्यो । त्यहाँ गीत गाउने, बाजागाजालगायत डान्स पनि हुने गथ्र्यो । हामी सबै रमझममै थियौँ । अचानक स्वरसम्राट नारायण गोपाल एक जना उहाँको मित्रसहित त्यो हलमा छिर्नुभयो र एउटा टेबुलमा दुवै जना बसेर केही अर्डर गर्नुभयो – हामी छेउ नै टेबुलमा थियौँ । उहाँ त्यसैदिन काठमाडौँबाट विराटनगर आउनुभएको रहेछ । उहाँको आगमनले हलको वातावरण निकै रोमाञ्चक बन्यो । डान्स फ्लोरबाट उद्घोषकले नेपालका ख्यातिप्राप्त गायक नारायण गोपाल हाम्रो सामु पाउँदा हामी अत्यन्त हर्षित छौँ, हामी उहाँलाई स्वागत गर्छौँ भन्दै स्टेजमा आएर एक दुईवटा गीत गाइदिन अनुरोध गर्यो । सायद १/२ वटा गीतको फर्माइस पनि गर्यो । नारायण गोपालले इन्कार गर्नुभयो । उद्घोषक र उनीहरुको टिमले फेरि पनि आग्रह गर्यो तर नारायण गोपालले म यसरी होटलमा गाउँदै हिँड्ने कलाकार होइन या यस्तै आशयको केही कुरा भन्नुभयो । त्यहाँका केही केटाहरु पहिलेदेखि नै अलि अलि मातिसकेका देखिन्थे । हामीले देशकै ठूलो कलाकार भनेर मान गर्दा गर्दै हाम्रो आग्रह नमान्ने भनेर अब अलि अभद्र व्यवहार गर्न खोजे, वादविवाद भयो । केहीले त कुर्सी नै उचालेर नारायण गोपालतिर अघि बढेपछि गङ्गा वरदान, म र अन्य साथीले तिनीहरुलाई सम्झायौँ र नारायण गोपाललाई जोगाउन घेरा बनाएर छेक्यौँ । हाम्रो समूह पनि अलि कडासँग प्रस्तुत भएपछि तिनीहरु हच्के र स्थिति नियन्त्रणमा आयो र कुनै अप्रिय घटना भने हुन पाएन । त्यसपछि नारायण गोपाल र उहाँको साथीलगायत हामीहरु होटलबाट निस्क्यौँ । त्यो घटना सम्झँदा मलाई अहिले पनि लाग्छ – हामी अझै पनि राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न जान्दैनौँ ।

४. एक दिन पुतलीसडकमा एकाबिहानै राम दाइको होटलमा चिया पिउन गएको थिएँ । त्यसताका म पुतलीसडकमै डेरा लिएर बसेको थिएँ । स्व. कवि हरिभक्त कटुवाल हाल पुतलीसडकको प्रेम सेकुवा सेन्टर भएको त्योबेलाको पुरानो थोत्रो घरमा रहेको होटलमा बस्नु हुन्थ्यो जस्तो लाग्छ । त्यो होटलमा धेरैपटक कवि कटुवालसँग मेरो भेटघाट खानपिन भई नै रहन्थ्यो, अनि राम दाइको होटल पनि हाम्रो भेटघाट, खानपिनको अर्को अखडा थियो ।

एकाबिहानै कवि कटुवाल त्यहाँ पुगिसक्नुभएको रहेछ – चियाको सट्टामा बिहानै ऐलाको ग्लास लिएर । मैले चियाको अर्डर गरें । मैले हरिभक्त दाइलाई भनें – यो त अति भयो दाइ । आफूलाई अलि सम्हाल्नुस् ।

हरिभक्त दाइले १/२ ग्लास भ्याइसक्नु भएको रहेछ क्यारे म पुग्नु अघि नै । भन्नुभयो – भाइ मलाई यो देशले हेरेन । म प्रवासदेखि आफ्नो देश भनेर आएँ तर मैले केही पाउन सकिँन । म थाकें – अब म आसाम नै फर्कन्छु । मैले सम्झाउने प्रयास गरें, निकैबेर भलाकुसारी गरियो । मलाई लाग्यो – उहाँ निकै निराश भइसक्नुभएको रहेछ आफ्नै जीवनप्रति पनि । केहीबेरपछि हामी छुट्टियौँ । पछि सुनेँ, उहाँ केही समयपछि आसाम फर्कनु भएछ अनि उतै बित्नु भयो । धेरै समय हरिभक्त दाइसँग सङ्गत गरेँ मैले तर त्यति निराश मैले उहाँलाई कहिल्यै देखेको थिइनँ । त्यही नै मेरो उहाँसँगको अन्तिम भेट रहेछ ।