लोकसेवा आयोगको परीक्षा उतीर्ण गरी सरकारी जागिरमा प्रवेश गरेपछि स्नातक पढ्ने हुटहुटीले बुरुक्बुरुक उचाल्न थाल्यो मलाई । पढ्न उक्साउने मुख्य पात्र थिए मित्र कृष्णप्रसाद पौडेल । यसो त भूपनिधि पन्तले पनि ‘पढ्नुपर्छ, नपढी उँभो लागिँदैन’ भन्ने सल्लाह दिइरहन्थे ।

तत्कलीन श्री ५ को सरकारको स्थायी खरिदार पदको नियुक्ति पाएर म सडक विभाग अन्तर्गतको क्षेत्रीय कार्यालय, पोखरामा गएको थिएँ । पौडेल त्यसै कार्यालयमा अस्थायी सुब्बा थिए । कार्यालयमा पुगेपछि मेरो पहिलो भेट पौडेलजीसँगै भएको थियो । त्यो बेला उनले मलाई निक्कै सहयोग गरेका थिए । पोखरा बसाइको केही समयपछि पत्रकार तथा कानुन व्यवसायी भूपनिधि पन्तसँग चिनजान भएको थियो । पढाइ, लेखाइ र ज्ञानगुनका कुरा गर्ने हुँदा पन्तसँग मेरो दोस्ती बढ्दै गएको थियो ।

पौडेलजी सधैँ करिब एक घण्टा ढिलो कार्यालयमा आउँथे । त्यो बेला उनी डराएका देखिन्थे । कार्यालय प्रवेश गरेपछिको उनको पहिलो प्रश्न हुन्थ्यो, ‘मलाई कसैले खोज्यो कि ?’

खासै काम केही नभएर दिनभरि चौरमा घाम तापेर बस्ने कार्यालयमा कसले कसलाई खोज्नु ! हाकिम रामबाबु शर्मा आफै महिनामा २५ दिन काठमाडौँ बस्थे । हामी सबै फुक्काफाल थियौँ । पद्मा गुरुङ, प्रेमा गुरुङ, राजेन्द्र पराजुली, गङ्गा पौडेल लगायत हामी सबै कर्मचारीहरू दिनभरि गफ चुटेर समय बिताउँथ्यौँ । बेलुकी भोक लाग्न थालेपछि आआफ्नो निवासतिर लाग्थ्यौँ ।

हरिप्रसाद भण्डारी

एक दिन दुई दिन होइन, सधैँ एक घण्टा ढिला आएको देखेपछि एकदिन मैले पौडेलजीलाई ढिलो आउनुको कारण सोधेँ । मन नलागी नलागी उनले जवाफ दिए, “क्याम्पसबाट आउनै ढिलो हुन्छ । खाना खाँदाओर्दा एघार बजिहाल्छ ।”

उनको कुरा सुनेपछि मेरो मनमा पलाएको जिज्ञासा झाङ्गिँदै गयो । मैले भित्रै पसेर खोतलखातल पार्न थालेँ । अरूले थाहा पाउलान् जस्तो गरी उनले मलाई चौरको एउटा कुनामा लगे र बिस्तारै भने, “पृथ्वीनारायण क्याम्पसको बिहानी सत्रमा स्नातक तह पढ्दै छु । के गर्नु नपढी पनि भएन । त्यसैले कार्यालयमा आउँदा ढिलो हुन्छ ।”

जिल्ला अदालतमा काम गर्ने यादवराज शर्माले पनि सँगै पढ्दा रहेछन् । पौडेलजीकै माध्यमद्वारा यादवजीसँग पनि चिनजान भयो । साथीहरूले पढ्न लागेको थाहा पाएपछि मेरा मनमा पनि स्नातक पढ्ने इच्छा जाग्रीत हुन थाल्यो । त्यसपछि म पौडेलजीसँगै क्याम्पसतिर धाउन थालेँ ।

हामी सडक कार्यालयको आसपास पार्दीमै बस्थ्यौँ । क्याम्पस थियो माथि बगरमा । पार्दीदेखि दिनहुँ पैदल हिँडेर वा नगर बस चढेर क्याम्पस जान आउन सम्भव थिएन । त्यसैले साइकिल किन्नु पर्ने बाध्यता सिर्जना भयो । त्यो बेला महिनाको तलब रु ४७५।– थियो की जस्तो लाग्छ । नयाँ साइकिल किन्ने अवस्था थिएन । कृष्णजीसँग सल्लाह गरेँ । उनले मलाई पोखरा हवाइ मैदान अगाडि रहेको साइकिल मर्मत केन्द्रमा लगे । उक्त केन्द्र एक जना साहित्यिक मित्रले चलाएका रहेछन् । उनीसँग चिनजान र कुराकानी गरेँ । मेरो चहना, आवश्यकता र आर्थिक हैसियत बुझेपछि उनले मलाई कवाडीलाई दिन मिल्ने अवस्थामा पुगेको साइकिल देखाए । लामो संवादपछि साइकिलको मूल्य तोकियो रु ५०।– र मर्मत गरेर चलाउन लायक बनाउनका लागि थप बाह्र पन्द्र रुप्पे लाग्ने भयो । उनको प्रस्ताव चित्त बुझ्यो । दश रुपैयाँको कट्कटाउँदो नोट बैनो दिएर फर्कियौँ । करिब ६०/६५ रुपियाँमा साइकिल पाइने समय थियो वि.सं. २०४१ सालको जाडो महिना ।

क्याम्पस पढ्ने पक्कापक्की त भयो तर एउटा समस्या फलामे बार बनेर अगाडि उभियो ।

मैले हाइस्कुल र आइ. ए. वनारसबाट पढेको थिएँ । दुवै तहमा नेपाली विषय थिएन । इतिहास, राजनीति शास्त्र, हिन्दी यस्तै यस्तै विषय थिए । त्यो बेला स्नातकमा दुई ओटा अनिवार्य विषय र दुई ओटा प्रमुख (मेजर) विषय लिनुपर्थ्यो । अनिवार्य विषय थिए अङ्ग्रेजी र नेपाली । अनिवार्य विषयको नेपाली सामान्य खालको थियो । मलाई नेपाली भाषा र साहित्यप्रति रुचि भएको हुनाले दुइटा प्रमुख विषयहरूमध्ये एउटा इतिहास र अर्को नेपाली लिन चाहन्थेँ तर हाईस्कुल तथा आइ.ए.मा समेत नेपाली विषय नभएको हुनाले स्नातकमा प्रमुख विषयको रूपमा नेपाली लिन नपाउने भएँ । बिहानी सत्रका प्रमुखसँग विनम्र अनुरोध गरेँ तर नियमका अगाडि उनी पनि नतमस्तक भए, पटक्कै मानेनन् । मेरो इच्छा, चाहना र क्षमताले कुनै काम गरेन । लामो छलफलपछि बाध्य भएर मेजर विषयको रूपमा इतिहास र राजनीति शास्त्र लिन बाध्य भएँ ।

क्याम्पस पढ्न थालेपछि बिहान चार साढे चार बजे उठेर तयार हुनुपर्थ्यो । पार्दीदेखि साइकिल कुँदाएर क्याम्पस पुग्न झन्डै एक घण्टा लाग्थ्यो । उकालो बाटो, पुरानो साइकल, यात्रा सहज थिएन । निकै बल गरेर कुँदाउनुपर्थ्यो । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा रहेको पोखरामा सधैँ चिसो हुन्थ्यो । शरीरमा जाडो छेक्ने खालका बाक्ला लुगा पनि थिएनन् । त्यसैले बिहानको चिसो सिरेठोमा लुगलुग काम्दै क्याम्पस पुथ्यौँ ।

त्यो बेला हातमा घडी थिएन, एक दिन झुक्किएर राति तीन बजे नै कोठाबाट हिँडेछु । अलि माथि पुगेपछि अलिअलि शङ्का लागेको थियो । सधैँ आकाशमा देखिने ताराहरू पहिलेको ठाउँमा थिएनन् र वरपर सडकमा मानिसको आवतजावत पनि थिएन । क्याम्पस गेटमा पुगेपछि बल्ल थाहा भयो । म त राति नै पुगेको रहेछु ।

बिहान ६:०० बजेदेखि करिब ९:३० वा कहिलेकाहीँ १०:०० बजेसम्म पढाइ हुन्थ्यो । पढाइ सकेपछि साइकिल कुदाएर डेरामा आउँथेँ । भोकले पेट बटारिएको हुन्थ्यो । मट्टीतेलबाट बल्ने स्टोभ बालेर छिटो छिटो खाना बनाउँथेँ र खाएर कार्यालयमा जान्थेँ । दिनभरि कार्यालयमा बसिन्थ्यो । पाँच बजेपछि गृहकार्य भ्याउनुपर्ने हुँदा राति पनि अबेरसम्म सुत्न पाइँदैनथ्यो । यी सबै समस्याहरूलाई त मिच्दै जान सकिन्थ्यो तर नेपाली विषय पढ्ने इच्छा पूरा हुन नपाएकोमा भने निकै चिन्ता लागेको थियो । जसले गर्दा जुन उत्साह बोकेर क्याम्पस छिरेको थिएँ, सो उत्साह बिस्तारै ओइलाउँदै जान थालेको थियो ।

यसैबिच एकदिन अनौठो घटना घट्यो ।

महिना कुन थियो अहिले याद गर्न सकिनँ । सार्वजनिक बिदाको दिन, पृथ्वीनारायण क्याम्पसअगाडि डाँडामा रहेको पञ्चायत प्रशिक्षण केन्द्रमा एउटा साहित्यिक कार्यक्रम थियो । पोखरामा त्यस्ता साहित्यिक कार्यक्रमहरू भइरहन्थे । थाहा पाएसम्म र भ्याएसम्म म गोजीमा कविता बोकेर कार्यक्रममा पुग्थेँ । नाम लेखाउँथेँ र भाका हालेर कविता सुनाउँथेँ । त्यसबेला म प्राय छन्दोबद्ध कविता लेख्थेँ । युवा जोस र जाँगर थियो । गलो पनि राम्रै थियो । भाका हालेर कविता भट्ट्याउँदा राम्रो सुनिन्थ्यो । धेरैजसो प्रतियोगितात्मक कार्यक्रमहरूमा पुरस्कृतसमेत हुन्थेँ । त्यसबेला पोखरामा सरूभक्त, विजय बजिमय, तीर्थ श्रेष्ठ लगायत नाम चलेका कवि साहित्यकारहरू थिए । कार्यक्रममा उनीहरू प्रायः अतिथि कविका रूपमा उपस्थित हुन्थे । उनीहरूका कविता सुन्न पाउँदा मन खुसी हुन्थ्यो ।

त्यो दिन पनि म खल्तीमा कविता च्यापेर पुगेको थिएँ । प्रतियोगितात्मक कविगोष्ठी थियो । कवि, साहित्यकार, श्रोता तथा अन्य व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । हामीलाई क्याम्पसमा पढाउने पूर्णप्रसाद ब्राह्मण ‘यात्री’, मुकुन्दशरण उपाध्याय, हुमकान्त पाण्डे, रविलाल अधिकारी लगायतका गुरुहरूको पनि उपस्थिति थियो ।

केही समयपछि उद्घोषकले मेरो नाम पुकारे । निर्धक्कसाथ मञ्चमा गएँ र शार्दूलविक्रीडित छन्दमा लेखिएको कविता भाका हालेर वाचन गरेँ । कविता सुनाएर सकेपछि हलमा कर्तलध्वनिका साथ ताली बजेको सुनेँ । मन हरक्क भयो । चार पाँच ओटा स्थानमध्ये कुनै एउटा स्थान हात पर्छ कि भन्ने आशा गरेको थिएँ । निराश हुनु परेन, निर्णायक मण्डलका संयोजकले म प्रथम भएको उद्घोष गरे । एकैछिनका लागि भए पनि म सबैका सामु हिरो भएँ ।

कार्यक्रमपश्चात् चियापानको व्यवस्था थियो । बाहिर चौरमा उभिएर चिया खाजा खाँदैथिएँ, एकजना मोटाघाटा मान्छे नजिकै आए र मलाई बधाइ दिए । मेरो कविता उनलाई साह्रै राम्रो लागेछ, प्रशंसा गर्दै भने, “कस्तो राम्रो कविता !” त्यसपछि उनले मेरा बारेमा निधिखुदी परिचय मागे ।

परिचय दिने क्रममा सडक विभाग क्षेत्रीय कार्यलय, पार्दीमा जागिर खाँदै गरेको र पृथ्वीनारायण क्याम्पसमा पढ्दै गरेको कुरा सुनाएँ । पढाइको कुरा सुनेपछि उनले सोधे, “मेजर नेपाली हो ?”

“नेपाली विषय लिएर पढ्ने तीव्र इच्छा थियो तर पाइनँ । इतिहास र राजनीति शास्त्र पढ्दै छु ।”

“किन ? यस्ता राम्रा कविता लेख्ने मान्छेले नेपाली विषय किन नलिनु भएको ?” अघिसम्मको उनको नरम आवाज अलि कडा भयो ।

मैले भएको सबै घटना सुनाएँ । अन्तमा उनले भने, “ए त्यसो पो !” मुसुक्क हाँस्दै उनले थपे, “भोलि एउटा निवेदन लेखेर मलाई भेट्नु म भनिदिउँला ।”

मैले उनलाई चिनेको थिइनँ । भनेँ, “खै हजुर मैले कति अनुरोध गरेँ, भएन । तपाईँले भनिदिएर होला र ? बिहानी सत्रका प्रमुखले मान्दै मान्नुहुन्न ।”

उनी फेरी मुस्कुराए । उनको मुस्कान औधी मजाको थियो । हाँस्दै भने, “एकचोटि मलाई कोसिस गर्न दिनुस् । भोलि क्याम्पस चिफलाई सम्बोधन गरेको एउटा निवेदन लिएर मलाई भेट्नुहोला है ।”

बिदा हुने बेला उनको नाम सोधेँ । पूर्ववत् मुस्कुराउँदै उनले भनेँ, “म गणेश गुरुङ । दश बजेपछि क्याम्पसमा आएर सोध्नुहोला जसले पनि बताइदिन्छन् ।”

साँझ डेरामा गएर निवेदन लेखेँ । अर्को दिन बिहानको पढाइ सकेपछि गणेश गुरुङको खोजी सुरु भयो ।

“गणेश गुरुङ कहाँ भेटिनुहुन्छ ?” क्याम्पसभित्र काम गर्ने एकजना मान्छेलाई सोधेँ । मेरो कुरा सुनेर ऊ झस्क्यो र मुखले केही नभनी आफ्नो चोरी औँला उत्तरतिर सोझ्याएर देखायो । उसले देखाएको दिशातिर गएँ । पर पुगेपछि फेरी अलमल भयो । अर्कोलाई सोधेँ । उसले भन्यो, “ऊ त्यो घरभित्र जानुस् ।”

गणेश गुरुङलाई खोज्दै गएको म केही बेरपछि क्याम्पस चिफको कोठामा पुगेँ । क्याम्पस चिफको कोठाभित्र पसेर हेरेको चिफको कुर्सीमा उनै विराजमान थिए । उनलाई क्याम्पस चिफको कुर्सीमा बसेको देखेपछि म झस्केँ । अघिल्लो दिन आफूले बोलेका शब्द कानमा बज्न थाले ।

‘खै हजुर मैले कति अनुरोध गरेँ, भएन । तपाईँले भनिदिएर होला र ? बिहानी सत्रका प्रमुखले मान्दै मान्नुहुन्न ।’ यो वाक्य मेरा कानमा बजिरह्यो ।

मलाई देखेपछि उनी अघिल्लो दिनजस्तै मुस्कुराए । म केही बोलिनँ । मेरा दुवै आँखा सिधैँ उनको अनुहारमा हेर्न सकिरहेका थिएनन् ।

म अलमलिएको देखेपछि उनले भने, “निवेदन ल्याउनुभएको छ ?”

लाजले भुतुक्क हुँदै हातको निवेदन उनका अगाडि राखिदिएँ ।

उनले निवेदन हातमा लिए, सर्सरी निवेदन हेरे र निवेदनको टाउकोमा लेखे, “बिहानी सत्र निजलाई मागबमोजिम नेपाली विषय लिई अध्ययन गर्ने व्यवस्था मिलाउनू ।”

तोक आदेश सहितको निवेदन हातमा लिएपछि आदरपूर्वक उनलाई नमस्कार गरेँ र अलिकति डर, अलिकति लाज र धेरै खुसी मिसिएको मन बोकेर बाहिर निस्केँ ।

त्यो दिन मेरो मन पङ्ख बनेर दिनभरि आकाशमा उडिरह्यो । ठूलो युद्ध जितेको आभास भयो । कहिले दिन बित्ला, रात पर्ला, भोलि बिहान उज्यालो होला र बिहानी सत्रका प्रमुखलाई भेटेर तोकआदेश सहितको निवेदन दिउँला भन्ने लागिरह्यो ।

अर्को दिन कुनै प्रतिक्रिया नदिई बिहानी सत्रका प्रमुखले मलाई नेपाली विषय लिने अनुमति दिए । राजनीति शास्त्रको सट्टा नेपाली विषय लिएँ । त्यसपछि त्यसै सत्रमा अध्ययन गर्ने गिरिधारी पोखरेल, गुरुदत्त बराल, गुरु रेग्मी, डिल्लीराम रेग्मी लगायतका मित्रहरूसँग परिचय भयो । नेपाली विषयको यो समूह पछिसम्म पनि कायम रह्यो ।

राम्रो अङ्क ल्याएर मैले स्नातक उतीर्ण गरेँ । यसबिच कविता र कथा लेख्ने अनि विभिन्न पत्रपत्रिकाहरूबाट प्रकाशित गर्ने क्रम जारी रह्यो । स्नातकपछि नेपाली विषयमै स्नातकोत्तर र दर्शनाचार्य अध्ययन गर्ने अवसरसमेत प्राप्त भयो । पढाइसँगै साहित्यप्रति पनि रुचि बढ्दै गएकाले आख्यान र नियात्राका एक दर्जन पुस्तक प्रकाशन गर्न पनि सक्षम भएँ । आज पनि साहित्यमा कलम चलाइरहन मन लाग्छ । यसैमा खुसी छु ।

कहिलेकाहीँ मलाई विगतमा हराउन मन लाग्छ । अनेकौँ कुराहरू खेल्न थाल्छन् मनमा । म सोच्छु, ‘त्यो दिन म कविता प्रतियोगितामा भाग लिन नगएको भए, प्रतियोगितामा प्रथम नभएको भए, गणेश गुरुङले कविता मन नपराएका भए वा उनले मलाई नेपाली विषय पढ्ने अवसर नदिएको भए मेरो भविष्य कता मोडिन्थ्यो होला !’

कसैकसैले भनेको सुन्छु, लेखेको पढ्छु– ‘समय बलवान् हुन्छ । समयले मानिसलाई कहाँबाट कहाँ पुऱ्याउँछ !’

मेरो जीवनलाई यो अवस्थामा ल्याउनुमा समयको हात छ वा गणेश गुरुङको ? समय र गणेश गुरुङमध्ये मेरा लागि को बढी बलवान् हो अहिले पनि छुट्याउन सकेको छैन । तैपनि समय र गणेश गुरुङ दुवैप्रति अहिले पनि नतमस्तक छु ।