मे -२३ सन् २०१७ को बिहान स्थानीय समयानुसार ठिक ५:५५ बज्दै गर्दा हामीलाई उडाइरहेको कोरियन एयर BOEING 777-200ER को KE 696 जहाज Incheon International Airport को धावनमार्गमा फन्को मार्दै थियो । नेपाली समय अनुसार अघिल्लो साँझ ८:३० बजे त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल छोडिएको थियो । एक हजार सात सय बत्तीस माइलको आकासे दूरी छ घन्टा दस मिनेटमा पार गरेको सो विमानमा विभिन्न मुलुकका नागरिकहरूसहित रोजगार अनुमति प्रणाली अन्तर्गतका उनान्सत्तरी जना नेपालीहरू थियौँ ।
वैदेशिक रोजगार र रेमिट्यासले निर्धारण गर्ने नेपाली अर्थतन्त्रको ठूलो हिस्सा खाडी तथा मध्यपूर्वमा अवस्थित छ । नेपाल सरकार र कोरिया सरकारबिचको द्विपक्षीय सम्झौतापछि सन् २००७/०८ देखि सुरु गरिएको रोजगार अनुमति प्रणाली अन्तर्गतको कोरियाली रोजगार नेपाली युवाहरूका लागि निकै आकर्षक मानिन्छ । अहिलेसम्म वैधानिक तवरले लगभग ८० नेपालीहरू कोरियामा छन् । G to G सम्झौताको आधारमा नेपालीहरूले कोरिया प्रवेश पाउने भएकाले कम लागत र आकर्षक रोजगारी/तलब नै मुख्य आकर्षणको कारण हो । थुप्रै युवाहरू आफ्नो भैराखेको पेसा र व्यवसाय छाडेर पनि कोरिया प्रवेश गरिरहेका छन् । अधिकांश नेपाली युवाहरू अन्य देशबाट आउनेहरूभन्दा उच्च शैक्षिक पृष्ठभूमि पार गरेर आएका हुन्छन् भन्ने मान्यता छ । कतिपयले नेपालको आकर्षक जागिरसमेत हापेर यता हाम्फाल्न पुग्दछन् । छ घन्टा दस मिनेटको आकासे यात्रामा यस्तै थुप्रै कुराहरू खेलिरहे मनमा । लहरै तीनजना बस्न मिल्ने सिटको झ्यालपट्टि थिएँ म । मसँगै बस्ने दुईजना साथीहरू इन्डिया र चाइनाको सिमानातिर पुग्दै गर्दा Air Hostess ले दिएको वाइन खाएर निदाए । मभने जहाजमै दिइएको हेडफोन कानमा ठुसेर गीत सुन्दै हिजोसम्मका दिनहरूमा फर्किएँ ।
म बाह्र वर्ष लामो शिक्षण पेसालाई त्यागेर आउँदै थिएँ । रहरले सुरु गरेको पेसा अन्ततः बाध्यता बन्न पुग्यो । दैनिकी चलाउन, परिवारमा भरथेग गर्न अझ भनौँ जीवनलाई “जीवन” दिन । पेसामा पनि रहर कायम भयो भने त्यो खुब आनन्दको हुन्छ तर जब बाध्यता बनिदिन्छ त्यसपछि पेसासँगको खट्पट चुलिन थाल्छ । उसो त शिक्षणसँग मेरो खट्पटै त होइन तर समयसापेक्ष बाँच्ने रहरले एउटा सम्मानित पेसालाई सधैँ खिसिट्युरी गरिरह्यो/गरिरहन्छ । किनभने जीवनचक्र धान्नका लागि पूर्ण रूपमा त्यही पेसामा निर्भर हुनुपर्नेका लागि शिक्षण पेसा रहरमात्रै हो भन्ने लाग्दै जान थाल्यो । पढाइ र पेसालाई सँगसँगै घिसार्ने क्रममा न त पढाइ ठेगानामा सकुशल पुग्न सक्यो न त पेसाले सार्थकता पायो । यो खालको तुफानी मनोदशा निकै समय चलेपछि वैदेशिक रोजगारिका लागि मनस्थिती तयार हुन थाल्यो । सुरुमा त लाग्थ्यो यति लामो समय सबै मान्छेले आदरका साथ चिनेका छन्, मैले शारीरिक श्रम गरेको कुरा यी मान्छेहरूले देखे वा सुने भने कस्तो नराम्रो ठान्लान् वा सोच्लान्! वा उनीहरूको नजरबाट म त कहिल्यै नउठ्ने गरी खस्नेछु । त्यो आदर र सम्मान उनीहरूबाट पाउने छैन । यस्तै यस्तै….!
तर मलाई आफ्नै परिस्थितिले बाँधिरह्यो । यसरी बाँध्यो कि मसँग कमभन्दा कम विकल्पहरूमात्रै बाँकी रहन पुगे । वैदेशिक रोजगारमा जानु हुँदैन भनेर अरूलाई आदर्शका गफ लाउने म अन्ततः विदेशमा भएका साथीहरूसँग विदेश जाने तौर तरिका र उपाय सोध्न थालेँ । शिक्षण पेसालाई सास अड्याउने अक्सिजनका रूपमा प्रयोग गर्दै म थप मजबुत उपचारको खोजीमा लागेँ । अन्य केही विकल्पहरूसहित कोरियन भाषा परीक्षा दिने सुझाव धेरै साथीहरूबाट पाएपछि त्यसैको जोहोतर्फ तानिएँ र केहीपटकको असफल प्रयासपछि बल्ल भाषा परीक्षा पास गरेको थिएँ । पास गरेको हल्ला चल्यो, मिश्रित प्रतिक्रियाहरू आउने नै भए । कतिपयले “सरकारी जागिर छाड्नु हुँदैन । पछिसम्मका लागि काम लाग्छ, यो भनेको जरुवा पानी हो” भने । कतिपयले अब यसको बुद्धि बिग्रियोसमेत भने । कसैले ठिकै छ, अहिलेको समय पैसा नभए केही गर्न सकिन्न भन्ने तर्क पनि सुनाए तर मैले भने यी दुवै दलिनहरूलाई बर्सौँदेखि खेलाइरहेको थिएँ ।
बाउको अंशको नाममा बाउले काढेको ऋण भाग लगाउने निम्नमध्यम वर्गीय परिवारको मान्छेले सामान्य जागिर खाएर एउटा सुखी परिवारको कल्पना गर्नु केवल भ्रमहरूमा रुमल्लिनुमात्र हो । कि त पुर्ख्यौली सम्पत्ति प्रशस्त हुनुपर्यो या त पैसा कमाउन सकिने जति सबै विकल्प प्रयोग गर्न सक्नुपर्यो । अनि मात्र सामान्य जागिरेले न्यूनतम आवश्यकताहरू पूर्ति गरेर अलि सहज जीवन निर्वाह गर्न सक्छ तर म यी दुवै कुराबाट टाढा भएको मान्छे । सिर्फ जागिरमा मात्र झुन्डिँदा मैले आफ्नो प्राण धान्नमात्र सहज थियो । वर्षमा एउटा गन्जी किन्नसमेत धेरैपटक हिसाब मिलाउनुपर्ने अवस्थामा दिनदिनै हुर्किरहेका सन्तानहरू र तिनको आवश्यकताहरूलाई टुलुटुलु हेरेर चुपचाप सुनिदिनुबाहेक अरू विकल्प हुँदैनथ्यो केही वर्षपछिको मेरो अवस्था । सन्तानहरूको सुखद भविष्यको चाहना त कुन आमा बाउलाई हुन्न होला, तर त्यो चाहना पूरा गर्न आवश्यकताहरूको चाङ्लाई पार लाउन नसक्दा कतिपय अवस्थामा आमा बाउहरूले आफैँलाई धिक्कार्नुपर्ने हुँदो रहेछ ।
यी र यस्तै तर्कनाहरूले निरन्तर पोलिरहन्थ्यो । म दायाँ बायाँ कुनै पनि “साइड जब” गर्न नसक्ने भएकाले आर्थिक दायित्वको घनले निरन्तर टाउकामा ठोकिरहन्थ्यो । अझ बद्लिँदो समय र परिवेशले नेपाली समाजलाई निकै पर धकेलिरहेको छ । हामीसँग उत्पादन छैन, आर्थिक रूपमा परनिर्भर छौँ । खेतीपाती गर्ने श्रमशक्ति कि त अल्छी र आलश्यको छहारीमा सुस्ताइरहेको छ या त सहरतिर भौँतारिँदै छ वा विदेशको माटालाई पसिनाले हिल्याइरहेको छ । उत्पादन नभएपछि वैदेशिक आयातले बजार भरिएको हुन्छ, कार्यशक्ति र हाम्रो आम्दानीबिचको तादम्यता नमिल्दा व्यवस्थापन भद्रगोल भैदिन्छ । अर्थात् हाम्रो समाज, हाम्रो जीवनशैली रबाफिलो र आडम्बरी भैसक्यो । उत्पादनमा आत्मनिर्भरता छैन, अर्थतन्त्र नै परनिर्भर छ, मानिसहरू बजार केन्द्रित भए जसले उनीहरूलाई श्रम र उत्पादनबाट टाढा बनायो तर आर्थिक रूपले बोझिलो । यस्तै चक्रीय पद्धतिले युवाहरू वैदेशिक रोजगारिको म्याराथनमा होमिन्छन् । कोरिया यात्रा पनि त्यसै क्रममा जोडिन्छ । मेरो निष्कर्ष पनि त्यस्तै रह्यो । मान्छेलाई सबैतिरबाट पहिचान गरिने आधार र हैसियत निर्माण पनि आर्थिक सम्पन्नताकै भरमा गरिन्छ । सामाजिक, राजनैतिक गतिविधिहरू जो विशुद्ध सेवामूलक काम हुन् तर यी सबमा पनि आर्थिक हैसियत नजोडी नहुने रहेछ । सबै तिरबाट सम्झेर ल्याउँदा अन्ततः “आर्थिक विपन्नता भनेको जिउँदो लास हुनु रहेछ”.. । त्यस समय मैले भेटेको निष्कर्ष यही थियो । त्यो निकै नै कठिन निचोड थियो मेरा लागि ।
मेरो पेसा आर्थिक उपार्जनमा चित्त बुझ्दो नभए पनि सामाजिक उत्तरदायित्वका हिसाबले आनन्द लाग्दो थियो, सन्तोषजनक पनि थियो तर पारिवारिक जिम्मेवारीको सम्झनाले भने घचेटिरह्यो निरन्तर । त्यसैले समयको त्यो मझधारबाट उठाएर त्यो लामो अध्यायको अन्त्य गरी आफूलाई त्यो निर्णयको किनारमा पुर्याएको थिएँ । स्वाभिमान, देशभक्ति जस्ता संवेदनाहरू केवल आदर्शमा मिठा लाग्ने रहेछन् । हकिकतमा तिनको भार उठाउन उत्ति सहज र सरल छैन । आजकल हामी “Ego Hurt” भन्छौँ नि, कत्ति धेरै पीडा हुन्छ है! तर खप्नुपर्छ, सहनुपर्छ । आफैँभित्र दबाएर यी सारा दुखाइहरू खिसिक्क हाँसेको अनुहार बनाउनुपर्छ । वास्तवमा यो तपाईँको, मेरो वा हाम्रो मात्र नभएर यो युगको सबैभन्दा तितो सत्य यही होला सायद कि वास्तवमा हामी जुनसुकै हालतमा भए पनि स्वाभाविक बन्नुपर्छ । यसरी लाचार बन्नुपर्दा हुने Ego Hurt साँच्चिकै अवर्णनीय छ ।
सन् १९८८ को ग्रीष्मकालीन ओलम्पिक सम्पन्न गरेपछि कोरियाको हवाइ ट्राफिक चाप आकासियो । जसले गर्दा गिम्पो अन्ताराष्ट्रिय विमानस्थलले हवाइ भार थेग्न सकेन । त्यसैले कोरियालाई बद्लिँदो परिवेश सुहाउँदो विमानस्थल बनाउनु थियो । विभिन्न वैकल्पिक ठाउँहरूमध्ये इन्छन् छानिएको थियो । अत्यन्तै जटिल प्रक्रियाबाट निर्मित यो विमानस्थल समुद्रको बिचमा रहेको दुई वटा टापुहरूको बिचमा अर्को कृत्रिम टापुले जोडिएको छ । आकाशबाट हेर्दा पानीमाथि तैरिरहेझैँ देखिने यो सुन्दर विमानस्थल सन् १९९२ देखि निर्माण थालेर सन् २००० मा सम्पन्न गरिएको थियो । सन् २०२० मा Skytrax ले गरेको सर्वेक्षणअनुसार संसारको चौँथो सफा विमानस्थलमा परेको छ । यो अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गर्दा निश्चय नै अनौठो र भव्य लाग्नु स्वभाविक हो । अझ सफा, सुन्दर, व्यवस्थित र भव्य ।
इमिग्रेसन जाँचपछि तालिमकेन्द्र पुग्यौँ । त्यहाँको दुई दिने अभिमुखीकरण सकेर २५ मे मा सबै आआफ्नो कम्पनीतिर बाँडियौँ । बाँडिने बेलामा बनेको दृष्यले भने मन कहिल्यै पल्टाउन नसकिने भारीले थिचेजस्तो बनाएको थियो । नाम बोलाइन्थ्यो अनि सम्बन्धित कम्पनी प्रतिनिधि वा साहुको हात समातेर जानुपर्थ्यो । लाग्थ्यो, त्यो पशुहाटको दृष्य हो । पशुधनिबाट अर्कैले किनेर डोर्याउँदै लगिरहेको छ । कल्पना गरेँ, मध्यकालीन दासयुगको समयमा सायद त्यसैगरी मान्छेहरू छानीछानी किनबेच गरिन्थ्यो होला र मन नलाग्दै पनि नयाँ मालिकको पछि लागेर जानुपर्थ्यो होला । शताब्दिऔँपछि पनि अवस्था त उस्तै रहेछ निमुखाका लागि । फेरिएको भनेको त्यसको नाम होला । पहिलाको मालिकले निःशुल्क श्रम गराउँथे अहिले सशुल्क । सायद यति फरक होला क्यार ।
हामी ६९ जना त्यसरी बाँडिएको तीन महिनापछि तालिमकेन्द्रको एउटै बेडमा बसेको एउटा साथीलाई डिप्रेशनले आत्महत्या गरायो । मन निकै कुँडियो । त्यो महिना लगातर दुई हप्तामा तीन जना नेपालीहरूले त्यसो गरेका थिए । हामी नेपालबाट आउँदै गर्दा यहाँको आकर्षक तलबमात्र सम्झिन्छौँ । नेपालमा परिवारसँग आफूले चाहेजस्तै गरेर बसिराखेको, सानदार र सुकिलो भएर जागिर गरेको, अथवा आनन्दले बसेर आफ्नो पेसा व्यवसाय सञ्चालन गरेको मान्छेलाई यहाँ आएर “एड्जस्ट” हुन हम्मे हम्मे पर्छ । आकर्षक तलब भएसँगै जोखिमपूर्ण कामहरू अनिवार्य नै हुन् भन्ने कुरा मनमा राखिएन भने निकै नै सकस हुन्छ । नेपाली युवाहरूमा डिप्रेशन र आत्महत्याको क्रम निकै उच्च छ भनिन्छ यहाँ जसको कारण भन्नु नै नेपालमा बिताएको जीवनशैली र यहाँको सकसपूर्ण दैनिकीबिचको तादम्यता नमिल्नु हो ।
आज चार वर्ष बित्दैछ त्यो समयको । यो चार वर्षमा थुप्रै परिवर्तनहरू भए । दुनियाँलाई अत्यास लगाउने कोरोना भाइरस चलिरहेको छ । देश छोड्दा जनप्रतिनिधिविहीन चलिरहेको व्यवस्थामा यतिखेर निर्वाचित जनप्रतिनिधिहरूले काम गरिरहेका छन् तर रोजीरोटीका लागि देश छाड्ने युवाहरूको लर्को घटेको छैन, न त रातो बाकसमा बन्द भएर फर्किनेहरूको सङ्ख्या नै । हाम्रा बाजे पुस्ताले राणा शासनको अत्याचारका विरुद्ध लड्यो दुई छाक, एक आङ् र एक निद्राका लागि । बाउ पुस्ताले त्यही कुराका लागि पञ्चायतका विरुद्ध लड्यो, हाम्रो पुस्ताले राजाका विरुद्ध लड्यौँ तर तात्त्विक परिवर्तन खास भएन । बाजेहरू रोजीरोटिकै लागि बेलायती साम्राज्य कायम गर्न विश्वयुद्धमा होमिए । बाउहरू पनि त्यही बेलायती साम्राज्य र भारतीय पाखुरी मजबुत बनाउन लागिपरे । आज हाम्रो पुस्ता अरब, मध्यपूर्व, युरोप तथा पूर्वी एसियाली मुलुकहरूमा पसिना बगाइरहेका छन् । यो लामो अविच्छिन्न निरन्तरताको एउटै उद्देश्य त्यही दुई छाक, एक आङ र एक निद्राका लागि हो । अनि हामीले आफ्नो देशका लागि कहिले पसिना बगाउने? म चाहन्छु, अब फर्कनुपर्छ देश तर म फर्किएपछि मैले आफ्नो जीविकोपार्जनका लागि के गर्न सक्छु? म आफैँलाई थाहा छैन । किनभने हाम्रामा भएको बेथिती र दण्डहीनताले कुनै पनि स्वावलम्बी काम गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाउँदैन तर पनि आफ्नो माटो, समाज, परिवार र अजकल्टो छाडिएका सपनाहरूको खण्डहर मर्मत गर्न पनि फर्कनु छ ; अवश्य फर्कनुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।