म ताप्लेजुङको यात्रा सकेर एक रात बिताउने गरी घरमा आएको थिएँ २०६९ साल कात्तिक ६ गते । झापा, गौरादहको कुरा । साँझको खानापछि बुबाआमा, ठुल्दिदी लगायत हामी गफगाफमा लागेका थियौँ । मैले ताप्लेजुङ यात्रा विवरण सङ्क्षिप्तमा सुनाएँ । गफैगफमा हामी पूराना दिनका कुरामा हराउन थाल्यौँ । मैले ‘पहिलोपटक ताप्लेजुङ टेक्न पाएँ, बुबाआमाको जन्मथलो पुग्न पाएँ, म धन्य भएँ’ भनेर सुनाउँदा आमाले भन्नुभयो, ‘कहाँ पहिलोपल्ट हुनु, दोस्रोपल्ट नि !’ अनि आमाले सुरु गर्नुभयो त्यो पूरानो यात्रा वृतान्त ।

आमा भन्ने, हामी सुन्ने । बिचबिचमा बुबा र दिदी थप्ने ।

आमा भन्नुहुन्छ– ‘‘भोटाङ देशको, साम्ची जिल्ला, देन्छुखा गाउँको मेनाटार भन्ने ठाउँको कथा । त्यसबेला हाम्रो घर मेनाटारको पुछारमा थियो; ढाँड, जङ्गल र सुन्तला बगानको सिरानमा । हाम्रो घरमा केही दिनदेखि केही उदासी, केही उत्साह र केही चहलपहल जारी थियो । म घर छाडेर पहाड (ताप्लेजुङ) जाने तरखरमा थिएँ । धेरै दिनका लागि धेरै लामो यात्रामा जानुपर्दा मलाई र बुबालाई पनि नरमाइलो अनुभूति भइरहेको थियो । घरकी आमाले लामो समयका लागि घर छाड्ने भएपछि त्यस्तो घरमा उदासी छाउनु स्वाभाविकै हो । त्यसमाथि सात, पाँच, र तीन वर्षका कलिला बच्चाहरूलाई छाडेर तर जानैपर्ने थियो । जन्म दिने प्यारी आमा, अत्यन्त स्नेह गर्ने पिता समानका ससुरा र सारा नाता आफन्तहरूलाई पहाडमा छाडेर मुगलान भासिएको पनि छ वर्ष भइसकेको थियो । सासूआमा त चौध सालमै बितिसक्नुभएको थियो । आमा, ससुराबुबाको दर्शन गर्ने र बिछोडिएका आफन्तहरूलाई भेटघाट गर्ने अभिलाषा पनि उत्तिकै थियो मनमा । यो कुनै मनोरञ्जनको यात्रा थिएन, तिमरूले अचेल घुम्न जाने ट्रेक कि के जाति जस्तो रमाइलो गर्ने यात्रा थिएन त्यो । बाध्यताको यात्रा थियो । एकप्रकारले त्यो कहालीलाग्दो यात्रा थियो । पहाड, जङ्गल, खोलानालाहरू नाघ्दै जानुपर्थ्यो । न बस्ने ठेगान हुन्थ्यो, न खाने । कैयौँ दिनसम्म पैदल हिँड्नुपर्थ्यो । हावा, हुरी, घाम, पानी सबैथोकका चुनौतीको सामना गर्ने हिम्मत बोकेर हिँड्नुपर्थ्यो । बाटामै बिरामी हुन पनि सकिन्थ्यो । जे पनि हुन सक्थ्यो । परदेश जाँदा एक प्रकारले ज्यान माया मारेरै हिँड्नुपर्ने समय थियो ।

लक्ष्मण गाम्नागे

म मनमा बारम्बार उब्जिरहेको चिन्ताको कालो बादललाई सकेसम्म प्रकट हुन नदिई लुगाफाटाको कुम्लो बनाउँदै थिएँ । पाँच वर्षे जेठो राम र तीन वर्षे माइलो शिवलाई उत्ति धेरै चासो थिएन, सानै भएकाले आफ्नै सुरमा खेलिरहन्थे । सात वर्षे जेठी छोरी भारती (त्यसबेला हामी उसलाई भौमा भन्थ्यौँ) भने आमाले एक्लै छाडेर हिँड्न लागेको चिन्ताले पिरोलिइरहेकी थिई । उसको मन भक्कानिइरहेको थियो । भन्न त मैले त्यहीँ पारि दोर्खा गएर भोलि बिहानै फर्किने भनेकी थिएँ तर ऊ सशङ्कित भएर मलाई पछ्याइरहेकी थिई । हाम्रो यात्राको तयारी देख्दा उसले लामै यात्रा हुन लागेको पत्ता लगाइसकेकी थिई । हिँड्ने दिन बिहानै कुइँकेल काइँला तयारीका साथ घरमा आइपुगे । यात्रा टोलीमा हामी तीनजना भयौँ । कुइँकेल काइँला हाम्रो बडिगार्ड पनि साइँलाको सारथी पनि । भारीतारी पूरा तयार थियो । केही माना चामल, केही माना चिउरा, सख्खर, गुन्द्रुक, घिउको सिसी, केही भाँडाकुँडा, थाल र बटुको । केही ओड्ने ओछ्याउने, राडी, पाखी थाङ्नाथुङ्नी आदि । घर छाड्ने बेलामा नानीहरूलाई छलेर हिँड्ने मेरो सुर थियो तर फेल खायो । ठूली एकदमै चलाख । ऊ उठेर मेरो सारी तान्न थाली । नजानू भनेर ढिप्पी कस्न थाली । पछारिई पछारिई रोई, मलाई पनि रुवाई । यात्रु टोली जबरजस्ती अघि बढ्यो । ठूली नानी पनि पछि लागी, नगई नछाड्ने भई । मसँग झुन्डिई । हामी अघि बढिरह्यौँ । उसले कोकोहोलो गर्दै पछ्याइरही ।

निकैबेरपछि उसले अब आफूलाई कसै गरी लैजाँदैनन् भन्ने बुझिछ, भक्कानिँदै भनी ‘म नजाउँला तर भाइलाई नलैजाओ । भाइलाई छाडेर जाओ । बुबा पनि जाने भए जानू । सबैजना गए पनि जाओ तर भाइलाई नलैजाओ ।’

उसको कुरा सुनेर हामी छक्क पऱ्यौँ । उसले भनी ‘काकाले भाइ बोक्न जान्नुहुन्न । भाइ डोकाबाट खस्छ । बिसाएको ठाउँबाट हिँड्यो भने भाइ हराउँछ । उसलाई अरूले हेर्न जान्दैनन् । उसलाई मै हेरुँला । मै भात खुवाउँला ।’

छोरीको कुरा सुनेर मेरो मुटु चुँडिएजस्तो भयो । बुबा पनि आँखाभरि आँसु पारेर छोरीलाई फकाउँदै हुनुहुन्थ्यो । ठूली नानी कुइँकेल काकाको सुरालमा झुन्डिएर डोको तान्दै थिई । कुइँकेलले उसलाई अलिकति घचेटेर घर जाऊ भनेपछि ठूलीले उनको हातमा टोकिदिई । कुइकेल काइँला छिटोछिटो हिँड्न थाले । घरबाट आधाघण्टाको बाटोसम्म, नालुङ खोलासम्मै खेदी ठूलीले । बुबाले च्याप्चुप्पै पारेर समातेर बल्लबल्ल फर्काउनुभयो । बुबालाई पनि जे पायो त्यही भनेर गाली गरी । पिटी तर केही जोर चलेन । मलाई साह्रै नराम्रो लाग्यो । हेर्न पनि सकिनँ । रुँदैरुँदै पछाडि पनि नफर्किई बाटो लागेँ । आमा छोरीको माया, के हो के हो !

मेनाटारबाट हिँडेको दिन बेलुकी हामी दोर्खा पौडेल मावलीकोमा वास बस्यौँ । मावलबाट हाम्रो टोलीमा मावलकी आमै र मावली काका (साइँला) थपिनुभयो । हाम्रो टोली अब पाँचजनाको भयो । दोर्खाबाट भोलिपल्ट बिहानै हामी बाटो लाग्यौँ । हाम्रो त्यो साँझ साम्ची पुग्ने सुर थियो तर पुगिएन । चमर्ची खोलो बाइस ठाउँ तरेर साम्ची पुगिन्थ्यो । कहिले यताका पहरामा ठोकिन्थ्यो कहिले उताका पहरामा ठोकिन्थ्यो । तरेकोतऱ्यै गर्नुपर्थ्यो । घरबाट हिँडेको दोस्रो रात चमर्ची खोलाको किनारामा ओडारमा वास बसियो । भोलिपल्ट बिहानको खाना खान हामी साम्ची बजार पुग्यौँ । साम्चीबाट पैदल भुटानको सिमाना काटेर चमर्ची हुँदै बानरहाटसम्म पैदल गएर त्यहाँबाट रेल चढेर हामी साँझ सिल्गडी पुग्यौँ । अचेलको तिमेर्को जस्तो हाम्रो खाना खाने ठाउँ होटल हुँदैनथ्यो । वास बस्ने ठाउँ लज हुन्छ भन्ने हामी सपनामा पनि सोच्दैनथ्यौँ । ओडार, पेटी, रुखको फेद, कसैको घरको सिकुवा, अलि चिनेजानेका वा दयालु मान्छेका घरमा भए मझेरी, यस्तै । पैसा नभएर हो कि, बुद्धि नभएर हो कि, जात जान्छ भनेर हो कि, के हो के हो, त्यस्तो चलन थियो ।

सिल्गडीमा एउटा धेरै चलनचल्ती नहुने पूरानो पुलको किनारमा हाम्रो वास भयो । चिउरा र पानी खाएर राडी ओछ्याएर हामी पेटीमा खुला आकाशमुनि बस्यौँ । काकाहरू राडीमा ढल्कनेबित्तिकै घुर्न थालिहाले । आमै पनि सुत्नुभो । मलाई पनि निद्राले झपक्क बनाएको थियो । निदाउनै लागेका बेला एउटा मान्छे बिँडी तान्दै हाम्रै वर र पर गर्न थाल्यो । आफ्नो त मुटुमा ढ्याङ्ग्रो बजिहाल्यो । म सतर्क भएर बसिरहेँ । त्यो मान्छे नजिक आउँदै, फर्किँदै गरिरह्यो । कहिले हामी बसेको ठाउँ कटेर पर जान्छ, फेरि फर्किन्छ, हामीतिर यसो हेर्छ, फेरि उता जान्छ । नजिकै दुईजना लाठेहरू सुतेको देखेर होला, उसले लुट्ने आँट गर्न सकेन । झण्डै एघार बजेसम्म त्यो मानिस त्यहीँ वरपर गरिरह्यो । पछि कता लाग्यो । त्यो मानिस पनि गयो, मेरो निद्रा पनि गयो । त्यो मान्छे पनि फर्केर आएन, मेरो निद्रा पनि फर्केर आएन । मुटु कामिरह्यो । सुत्यो भने त्यो फेरि आउलाजस्तो लाग्यो । आँखा झिमिक्क नगरी उज्यालो पारेँ । त्यो रात आज पनि मेरो आँखामा झलझली आइरहन्छ । भर्खर हिजोअस्ति घटेको घटनाजस्तो लाग्छ । खोइ कति वर्ष पो भयो ! ४०–४५ वर्ष भएन त ?

जसोतसो रात काटेर सिलिगुडीबाट बिहान साढेपाँच बजे नै हामी बाटो लाग्यौँ । त्यहाँबाट बसमा नक्सलबाढी पुग्यौँ । त्यहीँबाट हामीले मेची तरेजस्तो लाग्छ । मेची तरेपछि हामीले नेपाल देश टेक्यौँ, झापा जिल्ला । फेरि पैदल यात्रा सुरु भयो । साँझ झमक्क पर्दा हामी हँडिया बुधबारे पुग्यौँ र एउटा घरको सिकुवामा वास बस्यौँ । भोलिपल्ट बुधबारेबाट हाम्रो टोली बिस्तारै उकालो लाग्यो । गाउँबस्ती, खोलानाला, जङ्गल कट्दै । साइँलालाई गाई कराएको साह्रै मन पर्थ्यो । गाई कराएको सुन्यो कि ‘बाँ बाँ’ गरेर सँगसँगै कराइहाल्थ्यो । कुखुरो त झन् साह्रै प्रिय । भाले बास्यो कि साइँलो पनि हत्तपत्त ‘कुकुली काँ’ गरिहाल्थ्यो । कुइँकेल काइँला साइँलालाई गाई कराउन र कुखुरो कराउन लगाएको लग्याई गर्थे । यो पनि हौसिई हौसिई कराउँथ्यो । रुँदारुँदै पनि गाई कराएको सुन्यो भने रुन छाडेर कराउँथ्यो । जतिसुकै थकाइ लागे पनि बाटो काट्न नानीले धेरै सजिलो बनायो । कस्तो रमाइलो बेला थियो यसको । सधैँ त्यत्रै भए हुन्थ्योजस्तो लाग्थ्यो तर किन हुन्थ्यो र ! ल हेर, यसको एउटा दाँतै खुस्किसकेछ । म पनि त्यसबेला कति, २७, २८ वर्षकी थिएँ होला । आज यी यस्ती बुढी भइसकेँ । ७३ वर्षकी भइनँ त म ?

बुधबारेबाट हिँडेको दिन संसारे हुँदै माइखोलाको किनारैकिनार बेलुका इलामभन्दा तल एउटा गोठमा वास बस्यौँ । ठ्याक्ठ्याकी वास बसेको ठाउँ र हिँडेको समय त कहाँ सम्झिराखिन्छ र ! कुनैकुनै ठाउँ फरक पर्न पनि सक्छन् । तैपनि सम्झेसम्म भन्छु । त्यो दिन फिदिम कटेर माथि एकठाउँमा बस्यौँ । त्यसको भोलिपल्ट जन्तरे बढाबा (जेठाजु) पण्डित रमानन्द भट्टराईको घर पाँचथरको तुसारेमा पुगियो । बडाबाकोमा पुगेपछि ठूलो राहत भएको अनुभव भयो । मिठो खानपिन, गहिरो निद्रा । सबै थकाइ र हन्डर भुसुक्कै भुलियो । साह्रै फरासिला र उदार हृदय भएका हुनुहुन्थ्यो जन्तरे दाजु, उहिल्यैदेखि । अब त सम्झना मात्रै रह्यो, बितिहाल्नुभो ।

अँ, जन्तरे बडाबाकोमा एकदिन थकाइ मारेर पर्सिपल्ट बेलुका च्याङ्थापु पुग्यौँ । च्याङ्थापुमा हुनुहुन्थ्यो माइला बडाबा (जेठाजु) पण्डित टेकनाथ भट्टराई । ठूलो नानी तुलसी कता हो पढ्न गएका थिए, घरमा थिएनन् । माइलो कमल, साइँलो गोविन्द र अरू सबै घरमै थिए । त्यसबेलाका ससाना केटाकेटी, आज हेर त डा. तुलसी भट्टराई, डा. गोविन्द भट्टराई, कसले चिन्दैन । कति ठूला मान्छे भए । त्यहाँ सबैसँग भेट भयो । त्यहीँमाथि बुबा (ससुरा) पनि उता ओसेबाट च्याङ्थापु आउनुभएको रहेछ, माइला छोराको घरमा । त्यहीँ भेट भयो । साह्रै रमाइलो भयो । ‘मेरो कान्छा छोराको छोरो, मेरो नाति’ भनेर बुबाले साइँलालाई काखमा राखेर कम्ती माया गर्नु भएन । योचाहिँ कसैका काखमा नअडिने, चिप्लिहाल्ने । जे होस्, बिस्तारै हाम्रो यात्राका उद्देश्यहरू पूरा हुन थाले । हामी गन्तव्यको नजिक नजिक पुग्न थाल्यौँ ।

च्याङ्थापुमा एक हप्ता बसियो । थकाइ मऱ्यो । जोसुकैसँग भेट भए पनि, जतिसुकै रमाइला कुरा गरे पनि घरमा छाडेका ससाना नानीहरूको सम्झनाले बेलाबेलै मन कटक्क कटक्क भइरहन्थ्यो । सपनामा पनि नानीहरूलाई देखिरहन्थेँ । ठूलीको रोइरहेको अनुहार आँखामा आएको आइ गर्थ्यो । कहिले फर्किने दिन आउला र घर पुगुँलाजस्तो भइरहन्थ्यो । पखेटा भए पनि उडेर जानुहुन्थ्यो जस्तो लाग्थ्यो तर पनि यत्तिका वर्षपछि आएकी, सबैलाई नभेटी फर्किने कुरा पनि थिएन । बुबाले जसरी तसरी सम्हाल्नुहोला भन्ने लाग्थ्यो । भएन कान्छी नानी (नन्द) नजिकै हुनुहुन्छ, सघाउनुहोला भनेर मन बुझाउँथेँ ।

च्याङ्थापुबाट माइली बढीआमा पनि हामीसँग माइत जान सँगै हिँड्नुभयो । साथमा कान्छी छोरी माधवा पनि थिई, नौ महिनाकी । मावल्नी आमै र काका आफ्नै आफन्तहरूका तिर लागे । दुईजना घट्नुभो, दुईजनै थपिनुभो । त्यो दिन हामी डुम्रिसेमा वास बस्यौँ । त्यसको भोलिपल्ट हामी हाम्रो पहाडको मूल घर ओसे पुग्यौँ । ओसेमा हुनुहुन्थ्यो बुबा (ससुरा), काइँला जेठाजु, जेठानी र परिवार । दुई दिन त्यहाँ बसेर फेरि यात्रा निरन्तर चलिरह्यो । हामी फावा खोला तर्दै पुग्यौँ तिरिङ्गे । तिरिङ्गेमा जेठा जेठाजु पण्डित राम प्रसादको निवास थियो । हाम्रा नपुगी नहुने ठाउँहरू सकिँदै गएका थिए तर मेरो सबैभन्दा मुख्य र प्यारो गन्तव्य बाँकी नै थियो । त्यो थियो मेरो माइतीघर हाङ्देवा ।

हाङ्देवा जानका लागि हामी तिरिङ्गेबाट प्रस्थान गऱ्यौँ । बेलुकासम्ममा पुग्नुपर्छ भनेर हामी कस्सिएका थियौँ । जङ्गलको बाटो थियो । साँघुरो, उकालो र ओरालो । तिरिङ्गे खोलो तरेर अलि माथि पुगेपछि पानी पर्न थाल्यो । मङ्सिरको ताप्लेजुङ । पानीमात्रै होइन हिउँ परेर हामीलाई पुर्न लाग्यो । बडीआमाले दुईजना नानीहरूलाई राडीले ढाक्नुभयो । हिउँबाट त नानीहरू जोगिए तर राडी छेडेर पसेको पानीले निथ्रुक्कै भए; जाडाले कक्रिए । बिरामी हुन्छन् होला भन्ठानेको केही भएन । केले बनेका थिए कुन्नि त्यो बेलाका केटाकेटी ! अचेलका यी केटाकेटी देख्दा उदेक लाग्छ । कति छिटो बिरामी हुन्छन् ! चिसाले कति छिटो भेट्छ !

म भन्दै थिएँ, हाम्रो हरिबिजोक भयो । ओत लाग्ने ठाउँ थिएन । हामी सबै मुसो जस्तो चुटियौँ, चिसोले कठाङ्ग्रियौँ । कुहिरो लागेर यहीँको त्यहीँ नदेखिने भयो । हिउँ र वर्षासँगै अर्को विकराल समस्या थपियो; बाटो बिराएर कता हो कता अनकन्टार जङ्गलतिर पुगेछौँ हामी । अन्धाधुन्ध हिँड्दाहिँड्दै एउटा एक्लो घरमा पुग्यौँ । वास मागेको बस्ने ठाउँ छैन भनेर बुढीले परपरै लघार्न खोजी । सानासाना नानीहरूलाई तेर्स्याएर ढिप्पी गरेपछि अलि मास्तिर भएको गोठमा गएर बूढालाई घर पठाएर त्यहीँ बस भनेर बुढीले पठाई । बूढो पनि उस्तै रहेछ, हुँदैन भन्दै थियो, हामी जबर्जस्ती घुसेर आगो बालेर जिउ तताउन थाल्यौँ । बुढो बल्लबल्ल गयो ।

चिउरा थियो, पानी उमालेर नानीहरूलाई फिक्का चिया र चिउरा खुवायौँ । हामीले भने एउटा सानो बटुको जत्रो कराहीमा अलिकति मकै भुटेर पानीसँग पिएर गुजारा गऱ्यौँ । ठूलो कष्टका साथ रात बिताएर बिहान पाऱ्यौँ । बिहान सखारै हिँडेर हामी दिउँसो हाङ्देवा पुग्यौँ । हाङ्देवा अर्थात् मेरो प्रिय माइती घर । आमालाई भेटेपछि मेरा सबै थकाइ र पिरहरू समाप्त भए । म आमाका अगाडि सानी छोरी भएँ, आफ्नी घरकी सानी छोरीलाई बिर्सेँ । खुसीले हामी आमा छोरी नै रोयौँ । खुसीको रुवावासी । आमा छोरीको माया, के हो के हो !

हाङ्देवा हाम्रो अन्तिम गन्तव्य थियो । त्यहाँ हामी दश दिन मज्जैले बस्यौँ । कति बस्नु र ! घर फर्किनै पर्थ्यो । त्यसपछि आयो फर्किने दिन । हामी आमा छोरीलाई छुट्टिनै गाह्रो । उसैगरी रुवाबासी गर्दै छुट्टियौँ, जसरी मेनाटारमा आमा छोरीलाई छुट्टिन गाह्रो भएको थियो ।

फर्किँदाको बाटो अलिकति फरक भए पनि पुग्ने गन्तव्य उही थियो भोटाङ । हाङ्देवाबाट फर्केर फेरि साँझ हामी ओसे पुग्यौँ मूलघर । दुई दिन ओसेमा बसेर तिरिङ्गे हुँदै अर्को दिन साब्लाखुमा वास बसाइ भयो । साब्लाखुमा हामी एक क्षेत्रीको घरमा वास बसेका थियौँ । थर बिर्सेँ । थापा हो कि ! हामीले बाहिर पिँडीमा ओछ्यान पाएका थियौँ । साइँलो भने भुईँमा टेक्न पायो कि दगुरी हाल्ने, ठूलीले त्यसै पिर गरेकी थिइन् नि ! यो एक ठाउँमा अडिँदै अडिँदैनथ्यो । त्यहाँ पनि घरभित्र पसेर उधुम मच्चाउन थालिहाल्यो । साह्रै चकचके । भाँडा र थालहरू ठट्टाउने र भुईँमा पछार्ने गरेर हामीलाई पनि घरबेटीलाई पनि हैरान पाऱ्यो । निकैबेर भाँडाकुँडा बजाएपछि मैले तानेर ल्याएर गुट्मुट्याएर थिचेर बल्लबल्ल सुताएँ । त्यस्तो गर्थ्यो यो । एक सेकेन्ड चुप लागेर नबस्ने ।

फर्किने समूहमा उही काइँला कुइँकेल, हामी आमाछोरो र हामीलाई पुऱ्याउन र आफ्नो पनि काम लिएर हिँड्न लाग्नुभएका माल्दाजु (जेठाजु) । उहाँ भएपछि मलाई ढुक्क भएको थियो । एक भरपर्दा र अनुभवी अविभावक पाएर हामी प्रफुल्ल भयौँ । फर्किने बाटो त उही नै थियो, उसै गरी ठाउँठाउँमा वास बस्दै, के के अप्ठ्याराहरू झेल्दै फर्कियौँ । फर्किँदा झापाको सुखानीमा एकजना घिमिरे थरीका बाहुनकोमा वास बस्न खोजेको, घिमिरेले खाउँलाजस्तो गरेर ततर्कियो । कसैगरी वास दिएन । वरपर घर थिएनन् । कसले हो सुखानीको जङ्गलमा पुराण लगाएका रहेछन् । त्यही पुराणस्थलछेउमा जङ्गलमै त्यो रात बितायौँ । त्यसबेलाको समयमा पनि त्यस्ता दुष्ट मानिसहरू भेटिन्थे । समय खराब भनेर मानिसहरू भन्छन् नि, मलाई त्यस्तो लाग्दैन । त्यसबेला पनि त्यस्ता दुष्टहरू भेटिन्थे, अहिले पनि कति सज्जन र दयालु मानिसहरू भेटिन्छन् । समय होइन, मान्छेको मति हो नानी हो, खराब वा असल हुने भनेको !

फर्किँदाको एउटा रमाइलो घटनाचाहिँ भन्छु । सुखानीबाट हिँडेको साँझ हामी बाहुनडाँगी हुँदै मेची किनारामा पुग्यौँ । त्यहाँ पुग्दा साँझ पऱ्यो । वास बस्ने घर खोज्न हामीलाई बाटामै छाडेर माल्दाजु अलि पर घरहरू भएको ठाउँतिर जानुभयो । हामी त्यतिकै सुस्ताइरहेका थियौँ, एकजना घोँडचढी युवक हामी भएतिर आउँदै गरेको देखियो । हामी अलिकति डरायौँ पनि । घोँडचढी हाम्रा छेउमै आएर रोकियो र सोधखोज गर्न थाल्यो । परिचय हुँदाहुँदै थाहा भयो ऊ त आफ्नै मान्छे पो रहेछ । घोँडचडीले अलि पर मेचीपारीको एउटा ठूलो घर देखाउँदै भन्यो– ‘म त्यो घरमा बस्छु । भिनाजु आएपछि सबैजना त्यहीँ आउनू । आज त्यहीँ बस्नुपर्छ । म जाँदै गर्छु । आउनू है ।’ त्यसो भनेर ऊ गयो । माल्दाजु आएपछि हामी त्यही ठूलो घरलाई ताकेर हिँड्यौँ । युवक घोडा बाँधेर हामीलाई लिन अलि वरसम्म आयो । त्यो रात पूरै स्वागत सत्कारका साथ मिठो मसिनो खाएर घरभित्रै राम्रा ओड्ने ओछ्याउनेमा आरामले सुत्न पाइयो । त्यो क्षेत्रकै धनी क्षेत्री मानिसको घर रहेछ त्यो । बिहान हिँड्ने बेलामा चिउरा सख्खरको कोसेली दिएर हामीलाई उनीहरूले गाडी चढाए । तिनका छोरीहरूले साइँलालाई बोकेर, उफारेर कम्ती गरेनन् । हिँड्नेबेलामा बिस्कुट दिएर पठाए । त्यस्ता सज्जन मान्छे पनि भेटिए यात्रामा ।

ए अँ, ती घोँडचडी ठिटो अर्को कोही थिएन, पहाडको घरबाट तीन वर्षअघि भागेर हराएको मेरी जेठी दिदीको कान्छो छोरो यज्ञप्रसाद गौतम थियो । माल्दाजुको थपक्कै सालो नि ! हरिको बुबा । त्यो भेट ठूल्दिदीको परिवारका लागि साह्रै उपलब्धिपूर्ण भयो । हराएको छोरो फेला पऱ्यो । कान्छो पत्ता लागेको खबर माल्दाजुले पहाड पठाइदिनुभयो । दिदी आएर कान्छाका कान समातेर पहाड लानुभो । मलाई आजैसम्म पनि त्यो दिन ऊसँग भेट नभएको भए के हुन्थ्यो होला भनेजस्तो लाग्छ । संयोग पनि के के पर्छन् पर्छन् ।

त्यो यात्रा त त्यस्तै भयो । फर्केर आउँदा दोर्खामा एउटा सानो रमाइलो घटना भयो । हामीसँगै ताप्लेजुङ जानुभएका आमै र काका पहिल्यै फर्किसक्नुभएको थियो । बिहानको खाना उहाँहरूकैमा खाने गरी हामी पुग्दा घरमा कोही छैन रैछन् । लौ त भनेर शान्तिराम भन्ने अर्का आफन्तकोमा खाना खाएर जाउँला भन्दै उनकोमा पुग्यौँ । त्यहाँ पुग्दा शान्तिराम बाहिर हिँड्न लागेका रहेछन् । यसो भलाकुसारी गर्दागर्दै उनले ‘ए माल्दाइ पनि आउनुभएछ, फर्किँदा चाहिँ निस्केर जानू है’ भनेर बाटो लागे । हामी हिस्रिक्क परेर भोकै भुँडी बाटो लाग्यौँ । हामी लखतरान भएर घर छाडेको करिब एक महिनामा घर पुग्यौँ ।

लौ, मैले सम्झेसम्म तँलाई लिएर पहाड जाँदाको कथा यत्ति हो । भर्खर अस्तिका दिन जस्तो लाग्छ, पचास वर्ष हुन लाग्यो क्यारे ।” आमाले कथा सक्नुभयो ।

आमाले सुनाएको यो कथा आजको होइन, २०२२ साल मङ्सिरको । त्यो आमाको साइँलो मै थिएँ । साइँलो त २०३१ सालमा कान्छो भाइ प्रेम जन्मेपछि भएको, त्यसबेला म नै कान्छो थिएँ । मात्र एक वर्षको । म त्यसरी कुइँकेल काकाको डोकामाथि बसेर मस्तीले हल्लिँदै, कुखुरो कराउँदै, गाई कराउँदै आमासँग गएको थिएँ पहिलोपल्ट ताप्लेजुङ । बेला बेला डोकामै सुसु गरिदिन्थेँ रे, कुइँकेल काका कराउँथे रे– ‘सिध्याए यी भट्टराई कान्छाले !’ धारो आएपछि बिसाएर पानी खान्थे, पुछपाछ गर्थे र भन्थे रे ‘पिसाब आयो भने भन है ।’ म के भन्थेँ, आयो कि उनको डडाल्नो तताइदिइहाल्थेँ । आमासँग मेरो पहिलो ताप्लेजुङ यात्रा त्यसरी सम्पन्न भएको रहेछ, मलाई एकथोपो पनि सम्झना नरहेको एक अज्ञात यात्रा ।