“लौ, लौ जाओ केटाकेटी हो , यी काँक्रा फुले मात्रै एउटै बतिलो लागेनन्, पुत्ल्यादी गएर काँक्राको मामा लिएर आओ ।” आबै (हजुरामा)ले अह्राउनुहुन्थ्यो प्रत्येक वर्ष र हामी केटाकेटीहरू गुरुरु दौडँदै घरबाट पन्ध्र-बिस मिनेट लाग्ने बारीमा काँक्राको मामा खोज्न जान्थ्यौँ ।

कृषिमा आधारित अर्थतन्त्रको परिवेशमा जन्मी हुर्केका सबैलाई थाहा छ कृषि बालीमा सुरुसुरुमा लाग्ने फललाई उत्सवको रूपमा लिने गरिन्छ । नेपाली कृषकले कृषि र पशुपालनलाई सँगसँगै लगेका छन् । त्यसैले यो उत्सवमय वातावरण पशुपालनमा पनि देख्न सकिन्छ । बाख्रो, भैँसी वा गाई ब्याउनु, कुखुराले पहिलो अण्डा पार्नु उत्तिकै उत्सवमय बन्दछन् । खासगरी बच्चाबच्चीका लागि अत्यन्तै रमाइलो बनाउँछन् यी कुराहरूले । बाख्राका पाठापाठी, खरायोका बच्चाहरूलाई त आफैँसँग खेलाउने र यहाँसम्म कि तिनीहरूसँग सुत्ने वा तिनीहरूलाई आफूसँग सुताउने पनि गर्छन् बच्चाहरू तर जब पाठापाठीको उमेर र साइज बढ्दै जान्छ क्रमशः तिनीहरूमा रुचि घटाउँदै  जान्छन्  । पछि तिनकै मासु खाँदा पनि कुनै पर्वाह नगर्ने बन्छन् तर कुनैकुनै बच्चा र ती पाठापाठीबिचको सम्बन्ध यति भावनात्मक हुन्छ कि तिनीहरूलाई बेच्ता वा मासुका लागि काट्दा ठूलो विद्रोह पनि गर्छन् । त्यसैकारणले शाकाहारी बनेका थुप्रै उदाहरणहरू भेटिन्छन् ।  यही लेखकको आठ बर्से छोराले उसले पालेको खरायोको बच्चा छाडा कुकुरले मारिदिँदा खरायोको झन्डैझन्डै औपचारिक दाहसंस्कार गर्नुपरेको थियो । गाडेको ठाउँमा झन्डै एक महिनासम्म साँझमा बत्ती बालिदिनुपरेको थियो छोरालाई शान्त पार्न । यस्ता भावनात्मक लगाव हुन्छन् पशु र कृषकका बच्चाहरूमा ।

चोपनारायण बन्जाडे

कुनैकुनै बर्खे लहरे तरकारीको फूल फुलाइ, त्यसमा लागेको चिचिलो ( बतिलो ) र त्यसको आकारको बढाइको अत्यन्तै नजिकबाट निगरानी गरिन्छ । त्यसो त हिउँदे तरकारी बालीको फल दिने क्रममा हुने परिवर्तनलाई पनि अत्यन्तै नजिकबाट नियालिरहेका हुन्छन् तर बर्खे बालीमा जत्तिको चाँडो परिवर्तन देखिँदैन हिउँदे बालीमा । झाल तरकारीहरूको सुरुका फूल फुलाइ, बतिलो लगाइ र त्यसको वृद्धिलाई नापी रहेका हुन्छन् बच्चाहरू । त्यसमा पनि खासगरी काँक्रोमा रुचि हुन्छ कृषक परिवारहरूमा, त्यसमा पनि बच्चाहरूमा विशेष रुचि हुन्छ ।

कवि वर्डवर्थले ठिकै भनेका हुन् जस्तो लाग्छ – सर्वसाधारणहरू प्रकृतिको अति नजिक हुन्छन् , त्यसैले, उनीहरू प्रकृतिमा हुने ससाना परिवर्तनहरूलाई पनि ख्याल गर्छन् ।

करिब चार दशकअगाडिसम्म नेपालको पहाडी भेगमा काँक्राको हाइब्रिड बिउ आइपुगेको थिएन । खोला किनार र बेँसीमा बस्ती कमै थियो । वैशाखमा मकै छर्ने पानी आएपछि मकैसँगै रोपेका काँक्रा फल्न तीन महिनाभन्दा बढी लाग्थ्यो । यातायातको सुविधा कमै थियो , तराईतिरबाट काँक्रो जाँदैनथ्यो । त्यसैले साउन महिनामा काँक्रो खान पाए “गति( इश्वरीय स्वरूप ) परिन्छ” भनिन्थ्यो । भदौअसोजमा मात्र काँक्रो प्रयाप्त हुन्थ्यो ।

तत्कालीन रैथाने काँक्राहरूमध्ये रानीकाँक्रो सबैभन्दा स्वादिष्ट मानिन्थ्यो । अहिले आयातित प्रजातिका काँक्रासँगै रोग भित्रिएपछि  त्यो काँक्रो लोप भइसकेको छ यहाँ तर नर्वेमा खुब फस्टाएको छ भनिन्छ अहिले । सानासाना फल्ने जातका काँक्राहरू पनि थिए । तिनीहरूलाई बक्रेलु र डल्ले काँक्रो नामले चिनाइन्थ्यो स्थानीयस्तरमा । बक्रेलु अहिले तराई र इन्डियामा उत्पादन हुने खिरा भनिने काँक्राको साइज र बनोटको थियो भने डल्ले काँक्रो भकुन्डाको साइज र बनोटको थियो । डल्लेचाहिँ निकै स्वादिलो थियो । रानीकाँक्रो ठूलो हुन्थ्यो र सेतोसेतो, चिल्लो र अर्धपारदर्शी बोक्रा हुन्थ्यो । त्यसबाहेक अर्को स्थानीय जातको ठूलो साइजको काँक्रो हुन्थ्यो, जस्को साइजलाई मादलको साइजसँग तुलना गरिन्थ्यो । अझै पनि अलि  लेकतिर देखिँदै रहेछन् ।

अर्को गोलकाँक्री भनिने खरबारी र जङ्गलमा आफैँ उम्रने काँक्रो जातिसँग कुनै सम्बन्ध नभए जस्तो फल हुन्थ्यो जस्को फल बुढीऔँला जत्रो हुन्थ्यो । त्यसमा औषधीय गुण हुने हुनाले पूरै जरासमेत उखेलेर निर्यात भएकाले अब लगभग लोपको अवस्थामा पुगेको छ यो क्षेत्रमा ।

अर्को खिरा जत्रो तर स्वादमा  तितो काँक्रो हुन्थ्यो, जसलाई ऐरेलु भनिन्थ्यो । त्यो यति तितो हुन्थ्यो कि कुनै तितो स्वादलाई झन्डैझन्डै ऐरेलु जत्तिकै तितो वा ऐरेलुभन्दा तितो भनिन्थ्यो ।

त्यसो त तरकारी र फलबाहेक पनि अरू कृषि उत्पादनलाई स्याहार गर्नुपर्ने हुन्थ्यो ।  बाँसमा असार, साउन र भदौ गरी तीन महिना मुना (तामा ) आउँथ्यो । बाँसको तामामा सधैँ किराफट्याङ्राहरूदेखि जनावरहरूको दबाब पर्थ्यो । बाँसको तामालाई सखाप पार्ने एक किसिमको ठूलो भमरा हुन्थ्यो, जसलाई बाँसे भोरो भनिन्थ्यो । त्यसलाई ठूलो दुस्मनको रूपमा लिइन्थ्यो । त्यसैले, त्यसलाई समातेर  खुट्टा भाँचिदिएर, त्यसको लामो सुँडमा धागाले बाँधेर उडाउनु खुब मज्जा आउँथ्यो । त्यति निर्दयी कामलाई पनि बडो उमङ्गका साथमा खेलिन्थ्यो । सायद त्यसमा एरिस्टोटलले भनेजस्तै विरेचन (कथार्सिस)  थियो होला- बिगार गर्नेलाई पीडा दिएर तमासा देखाउँदा आउने आनन्द  !

बाँसहरू गौचरनमा पनि रोपिएका हुन्थे । गाईगोरुको अत्यधिक रोजाइमा पर्थे बाँसका तामाहरू । त्यसैले, करिब तीन महिना बिहान गोबर बोकेर बाँसघारीमा गएर प्रत्येक तामामा गोबरको लेपन गर्नुपर्थ्यो ताकि त्यो गोबरका कारणले गाईबस्तुले तामा नखाउन् । प्रत्येक दिनको स्पर्श महसुस गर्छन् जस्तो लाग्थ्यो तामाले । बाँसका तामा नभएर आफ्नै तामाजस्तै लाग्थे ती । सुरक्षा र स्याहार गर्दागर्दै जब जनावरको पहुँच बाहिर पुग्थे हुर्किएर, त्यसबेला छुट्टै मज्जा आउँथ्यो । पछि दसैँताकाको बिदामा त्यसका सुपिलाको फिरफिरे बनाएर घुमाएर दौडाउनुको मज्जा नै छुट्टै !

बर्खे लहरे तरकारीहरू खासगरी काँक्राको सुरुका बतिलाहरूले अति आकर्षण गर्थे ( र अहिले पनि गर्छन् ) ग्रामीण कृषि परिवारका बच्चालाई । जसले सबैभन्दा पहिले देख्यो उसले एक किसिमको इज्जत हुन्थ्यो र उसमा गर्व गर्ने ठाउँ रहन्थ्यो, अरूलाई देखाउन पाउँथ्यो ।  बताउँदा चोर औँलाको प्रयोग गर्नु हुन्न भनिन्थ्यो । प्रयोग गरे कुइन्छन् भनिन्थ्यो । त्यसो त महिला रजस्वला भएको बेलामा झाल छोयो भने पनि कुइन्छ भनिन्थ्यो । त्यसैले, बतिलाहरू हातले बताएर देखाउँदा मुड्कीले वा बुढीऔँलाले बताउनुपर्थ्यो र महिलाले रजस्वला हुँदा झाल नछुन विशेष सजगता अपनाइन्थ्यो ।

त्यतिबेलाका काँक्रो अहिलेजस्ता सानै झाल हुँदासाथ फलिहाल्ने हुँदैनथे । काँक्रो फल्नका लागि करिब तीन महिना कुर्नुपर्थ्यो र थाक्रो( झिक्रो)को माथिमाथिसम्म जानुपर्थ्यो ।  सल्लाका सानासाना पोथ्राहरू नै राखिएका हुन्थे काक्राका लागि झिक्रो । चाखलाग्दो कुरा त के भने साउनको आधाआधासम्म पनि फूल फुली मात्रै रह्यो तर फल लागेन भने काँक्राले मामा खोजेको हो भन्ने अर्थ लगाइन्थ्यो र बच्चाहरूलाई लिन पठाइन्थ्यो ।

“लौ, लौ जाओ केटाकेटी हो , यी काँक्रा फुले मात्रै एउटो बतिलो लागेनन् , पुत्ल्यादी गएर काँक्राको मामा लिएर आओ” । हजुरामाले अह्राउनुहुन्थ्यो प्रत्येक वर्ष र हामी केटाकेटीहरू गुरुरु दौडँदै घरबाट पन्ध्र-बिस मिनेट लाग्ने बारीमा काँक्राको मामा खोज्न जान्थ्यौँ । मामाघर र मामा कति प्यारा लाग्छन् बच्चाहरूलाई ! नहुनुभन्दा जस्तोसुकै भए पनि मामा होस् भन्ने भनाइ छ । काँक्राका झालहरूका वरिपरि ती काँक्राका मामा भनिने झारहरू जतनका साथ रोपेर मलजल गर्थ्यौँ ।  फलेपछि पहिलो काँक्रोलाई अनिवार्य सबैजनाले बाँडेर खानुपर्थ्यो । त्यसको बिजहरूलाई निधारमा लगाइन्थ्यो । काँक्राको माथिल्लो भाग तितो हुन्थ्यो । त्यसैले, केही भाग काटेर त्यसैलाई रगडिन्थ्यो तल्लो भागसँग फिंज आउन्जेल “तितीभरि जा मिठीभरि आ” भन्दै । अनि त्यसलाई चक्कुले ट्याक्क हिर्काउँदा जो तर्फ गयो उसैलाई काँक्रो चोर भनिन्थ्यो र लज्जित पारिन्थ्यो !

त्यसो त भदौमा पर्याप्त भएपछि काँक्राको चोरीलाई सामान्यरूपमा लिइन्थ्यो । “काँक्राको गाली मुतेर फाली” भन्ने भनाइ चर्चित थियो । साउने सङ्क्रान्तिदेखि रातिराति जम्मा भएर गाइने तिजको गीतको क्रममा काँक्राहरू चोरी हुन्थे युवकहरूबाट । त्यसो त तीजको गीतमा पनि काँक्रोको चर्चा हुन्थ्यो नै – “सानोसानो काँकरीको बतिलो दोपहरे छुट्टीमा खाउँला बरिलै …..” ।

काँक्रा छिप्पीएपछि अर्थात्  “खर्सी परेपछि” दसैँ तिहार लगायतका पर्वहरूमा अचार खानका लागि सङ्ग्रह गरेर राखिन्थ्यो । सङ्ग्रह गरेको खर्सी परेको काँक्रो माघमा खान पाइयो भने “गति परियो” भनिन्थ्यो ।

खेती प्रविधिमा भएको परिवर्तन र यातायातको सुविधासँगै जुनसुकै बेला हरियो काँक्रो उपलब्ध हुन थाल्यो । अहिले काँक्रो फलाउन काँक्राको मामा चाहिँदैन बरु फल बढी लगाउनका लागि बिरुवामा हर्मोन र टनिक दिइन्छ । काँक्राको मामालाई सबैले भुल्दै गए । मामाको खोजी नहुने भो । मामाभान्जाको भेट नहुने भो जसरी प्रविधि सँगसँगै बहर र गाई अनि राँगो र भैसीका प्राकृतिक सम्बन्धहरू टुट्तै गए ।

अहिले अचम्म लाग्छ, त्यो आधा फिट पनि उचाइ नभएको सामान्य झार कसरी काँक्राको मामाको स्थान ओगट्न सफल भयो त्यत्रो ठूलो झालको । मेरो अनुहार मामासँग मिल्छ रे त्यसैले मलाई धेरैले “मामागोत गएको” भन्थे । ती छुट्टाछुट्टै प्रजातिका वनस्पतिहरू कसरी मामाभान्जा भए !  र त्यो मावलीगोत नगएको त के कुनै मिल्दोजुल्दो चिह्न नै नदेखिएको भान्जालाई फल दिन किन मामा चाहियो !!

ती रमाइला क्षणहरू , बालककालका । ती दिनहरू बितेर गए । धेरैले फेरि बालापनमा फर्कन मन गर्छन् रे ‍ तर मचाहिँ बालापन माग्दिनँ फेरि । तर त्यो “काँक्राको मामा”को याद बालापनको यादसँगै जीवन्त छ ।

कविता- यो देशमा सियो पनि बन्दैन