उच्च अध्ययन गर्ने आफ्नो महत्त्वाकाङ्क्षा न्युयोर्कमा त्यति सहज देखिएन भनौँ मैले मेसो नै पाउन सकिनँ । ठुलो सहर धेरै मान्छे तर आफूलाई सही बाटो देखाइदिने व्यक्तिको अभाव पाइला पाइलामा खड्किन थालेको थियो । एकाध नेपाली विद्यार्थी भेटिए तर पनि सही दिशा मैले पत्ता लगाउन नै सकिनँ भन्दा अत्युक्ति नहोला । संसारको ठूलो सहर न्युयोर्क सहर; महँगीको उचाइले आकाश छोएको सहर । काम गरेर पढ्नुपर्ने आफ्नो अवस्था । धेरै प्रयासपछि पनि न्युयोर्कमा आफ्नो पढ्ने रहर असफल भएपछि बोस्टन जाने विचार गरेँ । नेपालदेखिकै चिनजानकी बहिनी गीता श्रेष्ठ बोस्टनमा रहेको थाहा भो । उनलाई नै फोन गरेपछि बोस्टन जाने निश्चित गरें ।
अन्तत: करिब आठ महिना न्युयोर्कको बसाइलाई टुङ्ग्याउँदै सन् १९९४ को अन्त्यतिर बोस्टन सरेँ । बोस्टन स्कुल र कलेजको सहर रहेछ । जताततै स्कुल देखिन्थे । विश्वप्रशिद्ध हार्भड विश्वविद्यालय, एम आई टी कलेज, बोस्टन विश्वविद्यालय केही नाममात्र हुन् जहाँ बोस्टनको वरिपरि शान, मान, इज्जत र प्रतिष्ठाले शोभायमान भएर उभिएका छन् । संसारभरका मान्छे हार्भर्ड विश्वविद्यालयका संस्थापक हार्भर्डको प्रतिमा स्पर्श गर्न र तस्बिर खिचाउन लामो लाइन लागेर घन्टौँ प्रतिक्षारत देखिन्छन् । हार्भर्डको परिसरको डबलीमा न्यानो घाम तापेर किताब पढ्नेको भिडले एकप्रकारले सम्मोहन पैदा गरिदिन्छ जसलाई पनि । थुप्रै किताबका दोकान देखिन्छन् चारैतिर । फ्रेन्च बेकरी क्याफे अबोपेन रेष्टुरेन्टअघि कफीसँगै चेस खेल्ने र किताब पढ्नेको ठूलो जमातले सबैको मन आकर्षित गर्न सफल हुन्छ । मलाई पनि त्यस्तै दृश्यले सम्मोहन गरेपछि बोस्टनमा पढ्न जाने निश्चय गरेको थिएँ ।
ताप्लेजुङ्ग बजारकी गीता श्रेष्ठ र काठमाडौँका राजु उपाध्याय अन्तर्जातीय वैवाहिक बन्धनमा बाँधिएर केही वर्षअघि अमेरिका आएका रहेछन् । दुवै एकदम सहयोगी, मिलनसार र सहृदयी रहेछन् । अन्तर्जातीय प्रेम विवाह गरेका उनीहरूका एउटी मायालु छोरी सब्रिना पाँचवर्षकी थिइन् । मेरो पनि एउटा पाँच वर्षको छोरा नेपाल छोडेर आएको थिएँ । त्यो छोरीले पटक-पटक मलाई मेरो छोराको याद दिलाइरहन्थी ।
केही दिन राजु र गीताको आतिथ्यपछि दुई विद्यार्थी मित्रसँग वाटर टाउन सहरमा एउटा एपार्टमेन्ट लिएर बस्न थालियो ।
बोस्टननजिकै डानभर काउन्टीको लिन सहरमा अवस्थित नर्थ सोर कम्युनिटी कलेजमा भर्ना भएँ । आय आर्जनका लागि हार्भर्ड विश्वविद्यालयअगाडिको फ्रेन्च बेकरी क्याफे अबोपेनमा पार्ट टाइम काम गर्न सुरु गरेँ । त्यस समयमा बोस्टनमा जति नेपाली थिए प्राय: ती सबै विद्यार्थी नै थिए । अधिकांश नेपाली विद्यार्थी त्यसबेला क्विन्सी कम्युनिटी कलेजमा पढ्ने गर्दथे । कलेज नगई काममात्रै गरेर बस्ने कुनै नेपाली त्यसबेलासम्म थिएन भन्दा हुन्छ । मैले काम गर्ने अबोपेन क्याफेमा मात्र दश बाह्रजना नेपाली विद्यार्थी काम गर्ने गर्दथे । त्यसमा म थपिएको थिएँ ।
सन् १९९५ को सुरुमै नेपालबाट मेरी श्रीमती विद्या र छोरा बबिन आइपुगे । न्युयोर्कको जेएफके विमानस्थलमा अमेरिका भित्रिएका उनीहरूलाई म र राजु बोस्टनदेखि नै लिन गएका थियौँ । हाम्रा सुरुका प्रवासका कष्टप्रद दिनहरूमा राजु र गीताको परिवारले धेरै हदसम्म मलमपट्टी लाउने मात्र होइन आत्मबल उकास्न पनि धेरै सहयोग गरेका थिए ।
त्यहाँ “ग्रेटर बोस्टन नेपाली कम्युनिटी” भन्ने नेपालीहरूको सामाजिक संस्था स्थापित भएको रहेछ । नेपाली चाडपर्व मनाउन दसैँतिहारको भेटघाटको आयोजना हुने गर्दथ्यो । नेपालीको जनसङ्ख्या त्यति धेरै उल्लेख्य मात्रामा थिएन । चाडपर्व र सभा गर्न परेमा हार्भर्ड विश्वविद्यालयको कुनै एउटा सानो कोठामा भेला हुने गर्दथ्यौँ । मनोरन्जनका लागि त्यस्तो ठुलो कार्यक्रम गर्ने वातावरण बनिसकेको अवस्था थिएन ।
नेपालीहरूको त्यति ठुलो सङ्ख्या नै थिएन । राजु र गीताको “सिग्ज एन्ड म्याग्ज” भन्ने एउटा कन्भिनियन स्टोर थियो । पोर्टर स्क्वायरनजिक बोस्टन कमन भवनभित्र । अर्को नेपालीको स्टोर भनेको प्रह्लाद केसीको “प्रेम ला” भन्ने थियो । त्यो दोकान मास एभेन्युकै पोर्टर स्क्वाएर नजिकै थियो । प्रह्लाद केसी नेपाली समाजको अगुवा त्यतिबेलादेखि अहिलेसम्म नै निरन्तर छन् । उनकै अगुवाइमा डिल्ली चौधरीको स्वागत सम्मानको कार्यक्रममा मैले भाग लिएको पहिलो कार्यक्रम हो बोस्टनमा । डिल्ली चौधरीले नेपालको पश्चिमी क्षेत्रको पिछडिएका थारु जातिको शिक्षामा उल्लेखनीय योगदान गरेबापत अन्ताराष्ट्रिय “रिबोक पुरस्कार” प्राप्त गरेका थिए । सो पुरस्कार ग्रहण गर्न बोस्टन आएका बेला उनको सम्मानमा एउटा भव्य कार्यक्रम स्थानीय चर्चमा गरिएको थियो । सो कार्यक्रमका आयोजक प्रह्लाद केसी नै थिए ।
मैले पनि ग्रेटर बोस्टन नेपाली कम्युनिटीमा संलग्न भएर सामाजिक कार्यमा भाषा, साहित्य, संस्कृति फाँटमा सक्रियताका साथ सहयोग गर्ने जमर्को गरेँ । त्यस समयमा बोस्टन नेपाली समाजका हर्ताकर्तामा महेन्द्र शाक्य होन्डा, भुपेश कार्की, सुनिल शाक्य, आशुतोष तिवारी, अनिश बानिया, जगदीश राज पाण्डेय, राजेश बाबु श्रेष्ठ, सुबर्ण शाक्य, महेन्द्र शाक्य आदि थिए । यी त मैले सम्झेका केही नाममात्र हुन् । कतै कसैको छुट्न गएको पनि हुन् सक्छ । भुपेश कार्कीको सम्पादनमा एउटा “समाचार विचार” भन्ने अङ्ग्रेजी भाषामा एउटा पत्रिका प्रकाशन हुने गर्दथ्यो । त्यसको सहायक सम्पादकमा जगदीशराज पाण्डे र सल्लाहकारमा अम्बिका अधिकारी, अनिश बानियाँ, हिदर सेफ्फी र सञ्जय मानन्धर थिए ।
सन् १९९५ तिर बोस्टनमा नेपालीहरूको सङ्ख्या धेरै पातलो भएको कारणले भेटघाट, सभा, समारोह धेरै पातलो नै हुने गर्दथ्यो । जिबिएनसीले दसैँ, तिहारको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने र कोही नेपालका विशिष्ट अतिथि आएको समयमा भेटघाटको कार्यक्रम गर्ने गर्दथ्यो । त्यसबेलाको सबै जसो कार्यक्रममा अङ्ग्रेजी भाषाबाट नै उद्घोषण गर्ने गर्दथे । एक त सबै विद्यार्थी त्यसमाथि अमेरिकन दर्शकहरू पनि समावेश भएका कारणले पनि त्यसो भएको हुन सक्छ तर पछि जिबिएनसीमा आबद्ध भएर सांस्कृतिक कार्यक्रम गर्नका लागि सहयोग गर्न सुरु गरेपछि नेपाली र अङ्ग्रेजीमा दुईजना उद्घोषण राख्न थालेको थिएँ । बिस्तारै त्यो हटेर अब त पुरै नेपालीमा सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न सकिने भएको छ । हामी नेपालीलाई यो भन्दा खुसीको कुरा के हुन्छ र ?
सन् १९९७ मा आफ्नो अध्ययनलाई निरन्तरता दिन मैले “न्यु हाम्पसायर विश्वविद्यालय” न्यु हाम्पसायरमा “सामुदायिक आर्थिक विकास” विषयमा स्नात्तकोत्तर गर्न भर्ना भएँ । त्यस विषयमा स्नातकोत्तर गर्ने हामी चार नेपाली थियौँ भने सो विषयमा अध्ययन गर्ने विश्वविद्यालयको हामी दोस्रो ब्याच थियौँ । बोस्टनबाट करिब पैँतालिस मिनेटको ड्राइभ गरेर अध्ययन गर्न जाने हामी नेपालीमा अच्युत अधिकारी, ईश्वर सापकोटा, सञ्जीव रिजाल र म थियौँ । हप्ताको तिन दिन कक्षा हुने दिनका लागि हामीले न्यु हाम्पसायरमै कोठा भाडामा लिएका थियौँ र त्यहीँ बस्ने गरेका थियौँ ।
प्रवासमा आफ्नो भाषा, साहित्य र संस्कृतिले आफ्नो जातीय अस्तित्व र पहिचान कायम गर्नका लागि धेरै नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बुझेपछि मैले पनि नेपाली भाषा र साहित्यको जगेर्नाका लागि केही गर्ने अठोट गरेँ । हुन त मैले पनि नेपालमा रहँदा नै नेपाली साहित्यका लागि केही थान कविता कोरेको र एउटा नेपाली साहित्यिक पत्रिका “पूर्वेली धुन”को सम्पादन र प्रकाशक भई टोपलेको नै थिएँ । त्यस अर्थमा वासिङ्गटन डिसीमा स्थापित अन्ताराष्ट्रिय नेपाली साहित्य समाजको सम्पर्कमा रहेर भाषा साहित्यको विकासमा केही सहयोग गर्ने निश्चय गरेँ । त्यसैले त्यस संस्थाको मुख्य पत्र “अन्तर्दृष्टि” को सम्पादन गर्ने कार्यमा सहयोग गर्न थालेँ । नेपाली भाषा र साहित्यको संरक्षण, संवर्धन र विकासका लागि प्रवासमा स्थापित अन्ताराष्ट्रिय नेपाली साहित्य समाजको उदेश्य र लक्ष्यलाई सफल बनाउन त्यस संस्थाको महासचिव र केन्द्रीय अध्यक्ष भएर सफलताका साथ कार्य पनि सम्पन्न गरियो ।
बोस्टनमा रहँदा अध्ययन, सामाजिक कार्य र जिजीविषाका लागि काम समानान्तर रूपमा निरन्तर चलिरह्यो । अन्ताराष्ट्रिय नेपाली साहित्य समाजसँग सम्बन्धित रहेर आफ्नो भाषा र साहित्यको विकासमा दत्तचित्त भएर लागिरहेँ भने ग्रेटर बोस्टन नेपाली कम्युनिटीसँग सम्बन्धित रहेर नेपाली कला र संस्कृतिको जगेर्ना, संरक्षण र संवर्धन गर्न उन्मुख भएर आफ्नो समय, बुता र बर्कतले भ्याएसम्म डटिरहेँ ।
सन् १९९७ मा बोस्टनमा भएको एएनएको पन्ध्रौँ वर्षिक सम्मेलनमा अनेसासको तर्फबाट पहिलोपटक “अन्ताराष्ट्रिय नेपाली कविता प्रतियोगिता” आयोजना गरिएको थियो । सगरमाथा टिभिका सञ्चालक राम खरेल र नेपाली सिने अभिनेत्री एलना श्रेष्ठ द्वारा सञ्चालन भएको सो कविता गोष्ठी भव्यताका साथ सम्पन्न भएको थियो । सो कार्यक्रमलाई त्यस समयमा नेपाली भाषा साहित्यको क्षेत्रमा एउटा ठुलो खुड्किलो पार गरेको घटनाको रूपमा सम्झना गर्ने गरिन्थ्यो ।
“बोस्टन साहित्यिक सम्पर्क” द्वारा कोठे कविताको आयोजना गर्न थालियो । प्रत्येक महिनामा गरिने सो कविता गोष्ठी कार्यक्रममा कविताका बारेमा सघन छलफल गर्ने प्रक्रियाको थालनी गरिएको थियो । पारिजातका कथा, बिपिका उपन्यास र भूपिको कविताबारेमा साहित्यिक बहस गरेको मलाई ताजा सम्झना नै छ । त्यसबेला सक्रिय डा. महेश मास्के, आशुतोष तिवारी, पुस्कर पोख्रेल, डा. मबि सिंह, बुद्ध महर्जन, अच्युत अधिकारी आदि अहिले सम्झेका केही नाम मात्र हुन् ।
सन् १९९८ मा नेपालका क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको जन्मजयन्ती भव्यताका साथ सम्पन्न गरियो । हार्भर्ड विश्वविद्यालयको “डुहे” हलमा सम्पन्न गरिएको सो कार्यक्रमको अध्यक्षता डा. रवीन्द्र अधिकारीले गरेका थिए भने विशेष वक्तामा डा. महेश मास्के थिए । मैले कवि गोपालप्रसाद रिमालको चिनारी प्रस्तुत गरेको सो कार्यक्रममा शिशिर श्रेष्ठ र पुष्कर पोख्रेलले गीत प्रस्तुत गरेका थिए । सो जन्म जयन्तीको कार्यक्रम सिने अभिनेत्री एलना श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।
बोस्टनमा रहँदा नेपाली भाषाको साहित्यिक कार्यक्रममात्र होइन सांस्कृतिक क्रियाकलाप पनि त्यत्तिकै बेजोड हुन्थ्यो । सबै नेपालीमा एकता थियो । नेपालीहरूको एउटा नै साझा संस्था थियो । त्यही संस्थाले नेपाली समुदायको चासो र सरोकारका कार्यक्रमहरू गर्ने गर्दथ्यो ।
सन् १९९८ मा अन्ताराष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष भएको कारणले “नेपलिज अमेरिकन काउन्सिल”मा महासचिवमा मनोनित गरिएँ । “नेपलिज अमेरिकन काउन्सिल” मध्य अमेरिकामा स्थापित नेपालीको एकता र नेपालको पहिचानका लागि समर्पित संस्था थियो । सो संस्थाका सदस्यहरू अमेरिकाभरिका विभिन्न संस्थाका प्रतिनिधि सदस्य हुने गर्दथे । त्यस अर्थमा त्यो संस्था देशव्यापी थियो । त्यस संस्थाको अध्यक्ष डा. रमेशमान अमात्य भएको बेलामा म महासचिवमा मनोनित भएको थिएँ । डा. प्रह्लाद पन्त, डा. गौरी अधिकारी, डा. विश्व आचार्य, सुमन तिम्सिना, आदि त्यस संस्थाका हर्ताकर्ता थिए ।
यस काउन्सिलमा संस्था सदृश्य हुनका लागि प्रावधान तोकिएको थियो ।
नेपलिज अमेरिकन काउन्सिलको एटलान्टामा एउटा मिटिङ्गको आयोजना भएको थियो । बोस्टनबाट कन्फरेन्स कलबाट मैले त्यस मिटिङ्गमा भाग लिएको थिएँ । मेरो बोल्ने पालोमा मलाई अङ्ग्रेजीमा बोल्न अनुरोध गरिएको थियो । सो मिटिङ्गमा उपस्थित सबै नै नेपाली थिए । मलाई प्रस्ट थाहा थियो । उपस्थित सबैले नेपाली बुझ्नेमात्र होइन राम्रैसँग बोल्न सक्ने पनि थिए । त्यसैले मैले भनेँ “म नेपाली भाषा र साहित्यको उन्नयनका लागि स्थापित संस्थाबाट यस संस्थामा आबद्ध भएको हुँ । सो संस्थाको उद्देश्य अनुरूप र यहाँ उपस्थित सम्पूर्ण सहभागीहरू नेपाली भाषा बुझ्न सक्ने भएको कारणले म नेपाली भाषामै बोल्ने अनुमति माग्दछु” भनेर आफ्नो भनाइलाई नेपालीमै राखेँ ।
सो बैठकपछि धेरै जनाले मेरो नेपालीमा बोलेको कुरामा समर्थन जनाएका थिए ।
सन् २००३ मा सुमन तिम्सिना अध्यक्ष भएको समयमा त्यस अमेरिकन नेपलिज काउन्सिललाई रूपान्तरित गरी “नन रेसिडेन्न्स नेपाली इन अमेरिका” एनआरएन भन्ने संस्था गठन गरियो ।
त्यही नेपलिज अमेरिकन काउन्सिललाई नै पछि एनआरएन अमेरिकाको रूपमा रूपान्तरण गरिएको हो ।
न्यु ह्याम्प्सायर विश्वविद्यालयबाट स्नात्तकोत्तर गरिसकेपछि मैले केही समय जोहन ह्याङ्कक सिग्नेचर सर्भिसमा काम गर्ने मौका पाएको थिएँ । अमेरिकाको ठूलो कर्पोरेट कार्यालयमा काम गरेको मेरो जीवनको पहिलो अनुभव थियो त्यो । मान्छेलाई अनुभवले धेरै ठुलो पाठ सिकाएको हुन्छ । मैले सो कार्यालयबाट ठुलो पाठ सिक्न पाएको छु । वास्तवमा अमेरिकाको मेरो कामको पहिलो अनुभव न्युयोर्कमा हो । न्युयोर्कको ब्रुकलिनको एपार्टमेन्ट बस्तै गर्दा त्यही बिल्डिङ्गको सातौँ तल्लामा बस्ने मित्र विनोदले मलाई कामका बारेमा सुइँको दिएको थियो । म्यानह्याटनको चौँतिस सडकको पाँचौँ तल्लामा एउटा कोरियनको गरगहना बनाउने उद्योग थियो । दिनको करिब करिब आठघण्टा एउटा ठाउँमा बसेर नक्कली गरगहना ठिक छ छैन जाँच्ने र चमक लाउने काम गर्नुपर्ने हुन्थ्यो । दिनभर एकोहोरो काम गर्दा नेपालमा आफूले सुखले बिताएका दिनहरूको सम्झना एक एक आउँदै जाने गर्दथे । बोस्टनको जोन हाँकक सिग्नेचर सर्भिसमा काम सुरु गर्दा चैँ आफूले न्युयोर्कमा काम गरेको र अबोपेनमा काम सुरु गर्दाको सम्झना आइरह्यो ।
आज मैले बोस्टन बस्दाको संस्कृतिक कार्यक्रमको सम्झना गर्नुपर्दा केही विशेष कार्यक्रमहरूको याद ताजा भएर आउँछ । सायद ती मेरो जीवन रहेसम्म सम्झनामा आइरहन्छन् होला । किनकि तिनले आफ्नो पहिचानका लागि आफ्नो माटाको सुगन्ध प्रवासमा छरिरहेको झैँ लाग्दछ । ती सुगन्ध नै त हुन् हाम्रो जातीय अस्तित्वको पहिचान, हाम्रो प्राण । चाहे त्यो हाम्रो भाषा होस् चाहे त्यो हाम्रो कला र संस्कृति नै ।
यिनै कारणहरूले गर्दा बस्टनमा रहँदा आफू सम्मिलित भएका केही नेपाली सांस्कृतिक कार्यक्रमका सम्झना यति गाढा भएर बसेका छन् कि तिनले बेला-बेलामा मनको कुनाबाट चियाइरहन्छन् ।
१९९६ को अप्रिल २७ तारेखको दिन ग्रेटर बोस्टन नेपाली कम्युनिटीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा एउटा भव्य कार्यक्रमको आयोजना क्याम्ब्रिजको दाँते एल्घिरी भवनमा भव्य रूपमा आयोजना गरेको थियो ।
सन् १९९८/९९ मा अम्बर गुरुङ्गको एकल गान कार्यक्रम “अम्बर सन्ध्या”, ग्रेटर बोस्टन नेपाली कम्युनिटीको दश वर्ष भएको उपलक्ष्यमा एम आई टीको क्रेगर हलमा आयोजना गरिएको “जिबिएन्सि दशक साँझ”, एम आई टीको हलमा सम्पन्न भएको मदनकृष्ण र हरिवंश को “विज्ञापन” प्रहसनको आयोजना केही सम्झन लायकका उल्लेख्य कार्यक्रम हुन् ।
सन् १९९५ देखि २००० सम्म मेरो बोस्टन बसाइको समयमा मैले विभिन्न कार्यक्रममा सक्दो योगदान गर्ने अवसर पाएँ । बोस्टनमा मेरो पाँच वर्षे बसाइको सुरुतिर नेपाली समुदायको विशेष कार्यक्रमहरू हार्भर्ड विश्वविद्यालयको एउटा सानो कोठामा आयोजना गरिन्थ्यो भने मैले बोस्टन छाड्नेबेला एम आई टीको ठुलो हलमा कार्यक्रम गर्न थालिएको थियो, नेपाली समुदायमा मानिसहरू बढ्दै गएपछि ।
वास्तवमा म बोस्टनमा पढाइ सकिएपछि एउटा चित्त बुझ्दो काम खोजेर त्यतै बस्ने विचार थियो । स्थायित्वको खोजी थियो तर “आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो” भनेझैँ चित्त बुझ्दो काम भेटिएन । सामुदायिक आर्थिक विकासमा स्नातकोत्तर गरेको मैले भनेजस्तो काम पाउन गाह्रो भो बोस्टनमा । जोन हान्कक सिग्नेचर सर्भिसको प्रोजेक्ट सकिसकेको थियो । मेरो विषयका लागि उपयुक्त अर्ध विकसित देशहरूको विकासका लागि सहयोग गर्ने सरकारी तथा गैर सरकारी कार्यालयहरू वासिङ्गटन डिसीमा धेरै भएको जानकारी भयो ।
अनि मैले सन् २००० सालमा पूरा परिवारका साथ वासिङ्गटन डिसीमा बसाइँ सार्ने निधो गरेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।