१. अश्विनीजीले औपचारिक रुपमा के कति अध्ययन गरे त्यो प्रमाणपत्रले देखाउँछ, देखिएकै छ । किनभने नेपालमा अधिकांश शिक्षा देखाउनका लागि, जागीर खानका लागि, प्रमाणपत्र देखाउनका लागि भएको छ । अध्ययनले मानिसलाई विनम्र बनाउनु पर्ने हो तर बनाउँछ घमण्डी । मैले यति पढेको, उति पढेको, फलानो डिग्री हासिल गरेको आदि आदि । अध्ययनले मानिसलाई असल, ज्ञानी र समझदार बनाउनु पर्ने हो । धरातलीय यथार्थमा भने त्यस्तो बिरलै देख्छु । मैले संगत गरेका अधिकांश उच्च शिक्षा ग्रहणकर्ता महानुभावहरु (म समेत) शिक्षा प्राप्त गरेकैमा दम्भ छ । त्यो शिक्षाको प्रयोग र दान त कता हो कता ! उसो त पाठ्यक्रम निर्माताहरुले यस्तो पाठ्यक्रम बनाएका छन्, जो जीवनमा विरलै प्रयोग हुन्छ । यसरी अधिकांश पढेलेखेका भनिएका मान्छेको मानवीय हविगत बडो दयनीय हुन्छ । ऊ ज्ञान होइन, प्रमाणपत्र लिएर कुदिरहेको हुन्छ ।
२. हामी अधिकांश मानिसहरुले प्रमाणपत्रविहीन विश्वविद्यालयकै शिक्षाले जीवन चलाउन बाध्य छौँ । प्रमाणपत्र त अरुलाई देखाउन वा झुक्याउन मात्र राखिन्छ । समयमा काम गर्ने बेलामा त सिकेको ज्ञान, हिम्मत, उद्यमशीलता नै जरुरी हुन्छ । यसरी म देख्छु, उहाँले खुला समाजको प्रमाणपत्रविहीन विश्वविद्यालयबाट सिकेको कुरा भने अर्कै छ । मिहिनेत, अथक परिश्रम, नियमित कमाई, सञ्चय र प्रेम । उहाँलाई प्रमाणपत्रले थोरै सघायो होला, अधिकांश समय खुला विश्वविद्यालयको अनुभवले सिकायो, गरायो ।
३. उहाँमा दुई वटा इच्छा देखिन्छ, साहित्य सेवा र त्यसैबाट राम्रो कमाई । साहित्यपोस्ट त्यसै सोच र कर्मको प्रतिफल हो । संयोगवश केही समयदेखि उहाँसँग संगत भयो । विचारहरु आदान–प्रदान भए । उहाँले साहित्यपोष्ट शुरु गर्ने हुनु भएछ । उहाँले मसँग दुई वटै कुराको अपेक्षा गर्नु भयो । एउटा लेखन, अर्को धन । अर्थात्, एक साहित्यकारको नाताले नियमित लेखन र अर्को संगतको नाताले कतै विज्ञापन जुटाइदिन गरिदिने भनसुन । मैले सोचेँ, साहित्यपोष्टको अस्तित्व भर्खर देखिएको बेला मैले बिना पारिश्रमिक स्तम्भ लेखेँ भने एउटा त उनलाई नियमित लेख प्राप्त भो । अर्को, मेरा वरिपरिका मित्रहरुले सकारात्मक रुपमा लिने पनि भए । थाहा छैन, त्यो उद्देश्य प्राप्त भयो कि भएन ।
कोरोनाले सबैजसो व्यावसायिक क्षेत्र संकटमा परेको बेला एउटा स्थापित युवा साहित्यकारले साहित्यपोस्टको शुरु गर्दा साहित्यकारकै नाताले सहयोग गर्न जरुरी थियो । यस बीचमा उहाँ र साहित्यपोस्टमा धेरै उतार चढाव आए । पैसै भएन, म बन्द गर्छु पनि भन्नु भयो । मेरो एउटै सुझाव हुन्थ्यो, हात हालिहाल्नु भयो धैर्य गर्नु होला । यसको भविष्य छ । उहाँको दुःखसुख उहाँसँगै थियो र छ । मैले मात्र सुभाव दिने हो । तर लाग्छ उहाँलाई टिकाउन धेरथोर मद्दत गरेँ, मानसिक र भौतिक । एउटा लेखकले के गर्न सक्नु ? लेखेको पारिश्रमिक लिइनँ र विज्ञापनका लागि कोसिस गरेँ ।
आज साहित्यपोस्ट नेपाली भाषाको महत्त्वपूर्ण माध्यम भएको छ । विश्वभरका साहित्यकारहरु जोडिनु भएको छ । बिना पारिश्रमिक लेखिदिने, अनुवाद गरिदिने, समाचार पठाइदिने सहयोगीहरु पाउनु भएको छ । शुरुमा मैले करिब एक वर्ष साहित्यपोस्टमा नियमित रुपमा हप्ताको एक दिन लेखेँ । अब मजस्ता धेरै लेखकहरु साहित्यपोष्टमा लाइन लागेर उभिएका छन । यो तपाईंको ठूलो सफलता हो, अश्विनीजी । आर्थिक रुपमा टिकाउने कुरा जो छ, त्यो पनि पूरा हुने नै छ ।
हार्दिक शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।