न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको दुई घण्टापछि मैले कोलोराडोको डेनभर उड्नु थियो । ट्रान्जिट लाउन्जमा पर्खेर बसिरहेँ । एक्लै छु । मनमा अनेक बिचारहरू आइरहे । सबभन्दा धेरै परिवारको यादले बेस्सरी चिमोटिरह्यो । छुटेको माया गतिलो भन्छन् नि त्यस्तै । जोड जोडसँग विभिन्न तर्कनामा अल्झिरहेँ ।
वरपर चारैतिर हेर्छु । मान्छेका अनुहार, भाषा र व्यवहार पढ्ने धेरै कोसिस गर्छु । बादलभित्रको कुहिरोझैं भएको भान हुन्छ । म बसेको अगाडि नै रेस्टुरेन्ट थियो तर जाने आँट आएन । खानेकुराको नाम नै थाहा छैन । के खाने होला ? कसरी माग्ने होला। सोच मग्न बनेँ । म परेँ जीवनमा पहिलोचोटि विदेश पसेको मान्छे । साथी, सहयोगी कोही छैनन् । फगत एक्लो मुसाफिर । आँखा चारैतिर डुलाएर हेरेँ आफूजस्तो अनुहार कोही देखिएनन् । आफ्नो भाषा बुझ्ने त परै जाओस् ।
आफैँ सोचमग्न बनेँ । डेनभर विमानस्थलमा मलाई लिन कोही आएनन् भने ? कथङ्कदाचित् मलाई लिन आऊने मान्छेलाई आपतकालीन अवस्था आइपरे म कहाँ जाने ? मनमा अनेक तर्कवितर्क खेल्न थाले । यत्रो विशाल अमेरिकामा मैले चिनेको रजनी र नीलम दुई मात्र थिए तर मसँग रजनी बसेको ठाउँ पेन्सिल्भानिया जाने न त टिकट थियो न त टिकट लिन कहाँ जाने भन्ने नै थाहा थियो । वनको बाघले भन्दा मनको बाघ ले मलाई तर्साइरहेको थियो । विभिन्न तर्कवितर्कले मनमा गाँजिरह्यो ।
बल्ल बल्ल दिनको दुई बज्यो ।
समय अलिक बाँकी छँदै प्लेनको जाने ढोकामा पहिलो लाइन मै उभिएँ । प्लेनभित्र बसे पनि भोकले नराम्ररी सताएको थियो । प्लेनले धर्ती छोडेपछि केही स्न्याक्स खान पाइयो । झ्यालको नजिकै सिट परेकाले बाहिरको दृश्य हेर्न थालेँ । घरभन्दा धेरै गाडी र बाटो गाडी नै गाडीले छोपिएको देखिन्थ्यो । आँखा लागेछ । डेनभर विमानस्थल पुगेको जानकारी गर्दै गर्दा आँखा खुल्यो । डेनभर विमानस्थलमा उत्रँदा दिन झलमल्ल थियो तर मन अझै खुम्चिएकै थियो ।
लगेज लिने ठाउँमै नीलम मलाई पर्खिरहेको देखेँ । वाह ! क्या खुसी लाग्यो । यत्रो विशाल अमेरिकामा बल्ल एउटा चिनेको अनि भरपर्दो मान्छे भेट्दा बेहद खुसी लाग्यो । सारा बोझ, पीडा र चिन्ता एकैछिनमा हराएजस्तो भयो । मनभित्र अलिकति बोल्ने हिम्मत र ताकत आएजस्तो भो । बोल्डर पुग्न अझै एक डेढ घण्टाको बाटो रहेछ । नीलमले अमेरिकामा आफ्नै गाडी आफैँले हाँकेको देखेर झन् खुसी लाग्यो ।
नीलम अमेरिका आएपछि सबिता भाउजू पनि अमेरिका आउनुभएको थियो ।
गाडीभित्रैबाट देखेँ अमेरिका सोचेझैँ साँच्चै नै सफा, फराकिलो र सुन्दर सहर लाग्दै गयो । मन एक प्रकारले आश्वस्त बने पनि थुप्रै आशङ्का, कौतुहल र जिज्ञासाले भरिपूर्ण थियो । सानो चिटिक्क परेको घरअगाडि नीलमले गाडी रोकिन् । सबिता भाउजू भित्रैबाट कराउँदै आउनु भो “भाइ आउनु भो” भन्दै । अमेरिकामा भेट भएकोमा खुसी साटासाट गर्यौँ । धेरै दिनको भोकोजस्तै भएको मैले सबिता भाउजूले पकाउनु भएको मिठो भात र मासु यात्राको वर्णन गर्दै खाएँ ।
त्यो घर एउटा परिवार बस्ने घर रहेछ । घरमा तीन कोठा रहेछन्, एउटा कोठामा सानभन्ने गोरो अग्लो न अग्लो, दोस्रोमा मेरीभन्ने अमेरिकन गोरी र तेस्रो कोठामा नीलम र सबिता भाउजू बस्ने रहेछन्। नीलमले उनको रुममेटसँग अनुमति लिएर भण्डार गर्नेजस्तो कोठामा मलाई अस्थायी बस्ने बन्दोबस्त मिलाइदिएको रहिछन् ।
नीलमले दुई दिनपछि नै सोसियल सेक्युरिटी कार्यालय लिएर गइन् । सोसियल सेकुरिटी नम्बरका लागि आवेदन दिएँ । नारायण श्रेष्ठ दाइलाई उनकै पसल “ओल्ड तिब्बेत” मा भेट्न गयौँ । विभिन्न नेपाली कला र संस्कृतिका उपहारसामानहरूको भण्डार रहेछ “ओल्ड तिब्बेत” पसल । वहाँले नै सञ्चालन गर्नुभएको नेपाली रेस्टुरेन्ट पनि नजिकै रहेछ । त्यहीँ लिएर जानुभो । केही नेपालीसँग चिनजान भो । त्यहीँ नै हामीले खाना खायौँ । धेरै नेपालीसँग भेटघाट हुँदै गएपछि मभित्र आत्मविश्वास बढ्दै गएको महसुस भयो । बोल्डरमै अर्को पनि एउटा नेपाली रेस्टुरेन्ट रहेछ भीम राईको । त्यसबेलासम्म बोल्डर सहरमा यी तीनवटामात्र नेपालीको ब्यापारिक व्यवसाय थिए ।
कोलोराडोको बोल्डर सहर नेपालजस्तै सुन्दर, हरियो डाँडाकाँडा र पहाड देखिने सुन्दर सहर रहेछ । भिरालोजस्तो ठाउँमा अवस्थित बोल्डर सहरमा हिमाल चढ्न सिकाउने स्कुल पनि रहेछ । त्यसैले त्यहाँका अधिकांश बासिन्दाले नेपालभन्ने देश चिनेका रहेछन् । त्यहाँ “हेल्पिङ्ग ह्यान्ड” भन्ने संस्था रहेछ । त्यस संस्थाको आयोजनामा नेपालको दुर्गम गाउँमा नि:शुल्क स्वास्थशिविर सञ्चालन गरिँदो रहेछ । त्यस संस्थाको हर्ताकर्ता नारायण श्रेष्ठ भएकाले उनैले अमेरिकन चिकित्सकहरूलाई लिएर नेपालको ग्रामिण क्षेत्रमा नि:शुल्क स्वास्थशिविर चलाउनुहुँदो रहेछ ।
त्यसको साथै नारायण श्रेष्ठ दाइले बोल्डर विश्व विद्यालयमा नेपाल परिचयसम्बन्धी शिक्षा पनि सञ्चालन गर्नुहुँदो रहेछ । नेपाल सम्बन्धी कार्यक्रम धेरै जानकारीमूलक थियो । नेपाली कला र संस्कृतिको प्रचार प्रसार विदेशी भूमिमा भएको देखेर म दङ्ग परेँ । अमेरिकनहरू हँसिला फरासिला लागे । भेट भो कि मुसुक्क हाँस्ने । हेलो हाई गर्ने । बोल्न मन पराउने । मलाई रमाइलो लाग्दै गयो । बिहान घुमफिर गर्न यसो निस्कन्थेँ । भेटे जतिसँग चिनेको होस् या नचिनेको होस् यसो मुसुक्क हाँसेर हाई हेल्लो भनी हाल्ने । वातावरण रमाइलो, सहयोगी र अर्थपूर्ण लाग्दै गयो ।
नीलमले मलाई हर तरहले सहयोग गरिन् । एकमहिना खाने बस्नेदेखि लिएर सोसियल सेकुरिटी कार्ड बनाउने, बैङ्क खाता खोल्ने, गाडी चलाउन सिकाउनेसम्म कोसिस गरिन् । अमेरिकाको साधारण आवश्यक जानकारी गराएर मलाई अमेरिकामा खुट्टा टेक्न योग्य काम नै उनले गरिन् भन्दा फरक पर्दैन । वास्तवमा मैले अमेरिकाको बोल्डर सहरमा रहँदा अमेरिकी समाज र संस्कृतिको जे जति साधारण परिचय प्राप्त गर्न सकेँ त्यसको श्रेय नीलमलाई जान्छ ।
करिब एक महिना कोलोराडोको बोल्डर सहर बसिसकेपछि थुप्रै सम्भावनाको पोको बोकेर अमेरिकाको ठुलो सहर न्यु योर्क जाने निश्चित गरेँ । जीवन भन्नु नै सम्भावनाहरूको पोको त हो । मान्छेलाई जहाँ धेरै अवसर हुन्छ । त्यतै जाने हो ।
त्यस्तै सम्झँदै म न्यु योर्क जाने प्लेनमा बसेँ । प्लेनबाट बोल्डर सहरलाई अश्रुपूर्ण नजरले हेरेँ । आफ्नो अमेरिकाको प्रारम्भिक दिनलाई सम्झेँ । अनि सम्झन थालेँ आफ्नो विगतलाई ।
नीलमलाई मैले सायद ३३/ ३४ सालतिरै चिनेको हुनुपर्छ । साधारण नेपाली केटीको भन्दा औसत अग्लो कदकी, लामो केशराशी भएकी, हँसिली, मिठो स्वरकी धनी, ठुलठुला आँखा भएकी एक अति आकर्षिक व्यक्तित्व भएकी नारी थिइन् । त्रिचन्द्र कलेजको सहपाठी इलामका मेरा अभिन्न मित्र नेवज गुरुङमार्फत मैले चिन्ने मौका पाएको थिएँ । भेटघाट बाक्लो हुँदै गएपछि हाम्रो सम्बन्ध धेरै गाढा भयो । तिनी एक गायिका पनि हुन् । हार्मोनियममा अरुणा लामाको गीत गाउन मैले कैयौं पटक अनुरोध गरेको छु । शम्भु राई र नीलमको गीत सुन्न हामी (शरद्, नारायण, कविता, हरिमान र शर्मिला) प्राय: नीलमको डेरामा जम्मा भै रहन्थ्यौँ । कहिलेकाहीँ महेन्द्र खालिङ्ग दाइ र सबिता भाउजूकोमा जमघट हुने गर्थ्यो । गीत गुञ्जन, खानपिन र आपसी गफगाफ नै भेट्ने बहाना थियो । तिनी मेरो रगतको नाता होइन भावनाको आफ्नै बहिनी भइन् । तिनीसँग मैले हरेक अप्ठ्यारा र घुम्तीका कुरा बाँड्न सक्ने भएको थिएँ । सहयोगी भावना, कडा मिहिनेत र जीवनको यथार्थ बुझ्ने एउटा मेरो सहयोगी मित्र भइन् । गुम्सिएको मनको पोको फुकाएर निर्धक्क सहयोग र सल्लाह लिन सक्ने मेरा लागि उनी नै भइन् ।
न्यु योर्कको जेएफके विमानस्थलमा उत्रेर एकघण्टाभन्दा बेसी पर्खँदा पनि मलाई लिन आउने मान्छे नआए पछि म आत्तिएँ । धेरै पटक फोन गर्दा पनि मलाई लिन आउने भनेको भाइको फोन उठ्दै उठेन । लिन आउँछु भनेको मान्छे न आएपछि मन चिसो भयो । मन अलिकति आँत्तिन थाल्यो । अलिअलि डर पनि पलाएर आयो । लिन आइपुग्छु भन्ने भाइलाई केही आपत पो आइपर्यो कि ? के भो कसो भन्ने उनको चिन्ताको साथै अब म कसरी पुग्ने होला भन्ने चिन्ता बढ्दै गयो । जाने ठाउँको ठेगाना त थियो । तर जाने आँट आइरहेको थिएन । जताततै काला मान्छेका ताँती देखिन्थे । बोल्डरमा नदेखिएका यी काला जातिका मान्छेहरू यहाँ त भरमार देखिए । बोल्डर हुँदा नै न्यु योर्कमा रहँदा बढी सतर्क र चनाखो रहनुपर्छ भन्ने नसुनेको होइन तर यहाँ त आफूलाई अझ असुरक्षित महसुस गर्दै गएँ । तर जे होस् । भोग्नु त छँदै थियो ।
ट्याक्सी लिएर जाने विचार गरेँ । चारैतिर देख्छु सबै डरलाग्दा अनुहार भएका ट्याक्सी चालक । अगाडि पर्नै सकिनँ । ट्याक्सी चढ्ने आँट नै आएन । एघण्टा बेसी भै सकेको थियो । धेरै ट्याक्सीको ड्राइभरलाई नियाली सकेपछि बल्ल बल्ल एउटा पगरी गुथेको ट्याक्सी ड्राइभर देखेँ । पक्कै पन्जाबी भारतीय हुनुपर्छ भन्ने लाग्यो । उनीप्रति छिमेकीको विश्वास जागेर आयो । त्यसैमा चढेँ ।
मलाई लिन आउँछु भन्ने भाइलाई मैले नेपालमै चिनेको हुँ । उसैले सकेको सहयोग गर्छु दाइ आउँदा हुन्छ भनेकाले न्यु योर्क आउने आँट गरेको थिएँ । परिवारसँग बसेको मान्छे भरपर्दो नै होला । सहयोगी बन्ला नै भन्ने ठानेर न्यु योर्क आएको थिएँ । नेपालमा हुँदा उनी धेरै नजिक कै मान्छे हुन् । तर के पर्यो र मलाई लिन आएनन् थाहा भएन । यस्तै विभिन्न तर्कना गर्दै थिएँ । ट्याक्सी रोकियो । ३६५ वेस्ट मिनिस्टर रोड ब्रुकलिन न्यु योर्कको एउटा पुरानो भवनअगाडि । ट्याक्सीले मलाई भवनको गेट अगाडि छोडेर गयो । म भवनको अगाडि दुइटा सुटकेस लिएर उभिरहेको छु । मुख्य भवनको गेट बन्द छ । कोही आउला र सोधौँला भनी आँखा गेटमा तेर्साइरहेँ ।
न्यु योर्कभरि मैले चिनेको व्यक्ति उही एकमात्र हो । अब कसरी भित्र जाने । वरिपरि जताततै काला जातिमात्र देखिन्छन् । देख्दै डरलाग्दो । अभ्यस्त नभएको मनमा डर पलाउँदो रहेछ । पहिले कहिले पनि नदेखेर डर भएको होला पछि अभ्यस्त भइन्छ भनेर मनमा सान्त्वना आफैँले दिइरहें । काला सबै नराम्रा कहाँ हुन्छन् होला र ? मनलाई आश्वस्त बनाउने हर कोसिस गर्दै उभिइरहेँ ।
करिब करिब पन्ध्र मिनेटपछि भित्रबाट एउटा तिब्बेतियन अनुहारकी युवती देखा परिन् । हत्त न पत्त तिनीलाई भाइको नाम लिएर सोधेँ । नेपाली बोल्ने रहिछिन् । कुरा गर्न सजिलो भयो । तर मैले भेट्न खोजेको भाइलाई नचिनेको परेछ । तिनीले अर्को मान्छेलाई बोलाइदिइन् । उनैले मलाई भवनभित्र लिएर गए । उसले मैले भनेको भाइलाई चिनेको रहेछ । मैले भनेको मान्छे त्यहीँ बस्छ भनेपछि म ढुक्क भएँ । घर त फेला पर्यो भन्ने लाग्यो । उसैले फोन गरेपछि एउटा बहिनी मलाई लिन आइन् । उनीसँग भेट्नु र आफ्नै भाषामा बोल्न पाएपछि म एक प्रकारले ढुक्क भएँ ।
मलाई लिन आउने बहिनीको नाम याङ्की रहेछ । तिनी आफ्नो ब्यापारको सिलसिलामा अमेरिका आउने जाने गर्दी रहिछिन् । अमेरिका आउँदा त्यही भाइसँग नै बस्दी रहिछिन् । मलाई एयरपोर्टमा लिन आउने उनको चाहना रहेछ । तर त्यो भाइले “आफैँ आउन सकिहाल्छ नि । लिन जानु पर्दैन” भनेर भनेछ । मलाई नराम्रो लागेर आयो । काम परेर आउन सक्दिनँ भनेर खबर गरेको भए पनि त हुन्थ्यो नि भन्ने लाग्यो । नत्र एक डेढघण्टा विमानस्थलमा समय खेर त फालिन्नथ्यो होला ।
पुरानो भवनको लिफ्टबाट हामी माथि तलामा गयौँ । बेला बेलामा ठुलो आवाज आउने लिफ्ट पाँच तला माथि पुगेपछि रोकियो । कोठा नम्बर ५०३ को चाबी खोलिन् याङ्कीले । लगेज घिसार्दै उनीलाई पछ्याएँ । जिजीविषा र सुनौलो भविष्यका लागि प्रबासिएकाको गन्ध कोठाभित्र पस्दा नै थाहा पाइयो । कुनै प्रकारको साज सज्जा नभएको साधारण खालको टेबल र कुर्सी भएको बैठक कोठा । प्रवासमा हरेक कुरासँग सम्झौता गर्नुपर्छ भन्ने मैले ठानेको नै थिएँ । केही नयाँ नौलो पाइन नै ।
नजिकैको एउटा कुर्सी तानेर बसेँ । लामो सास फेरे । कमसेकम ओत लाग्ने ठाउँ त पाएँ भन्ने ढुक्क भो ।
दुइटा कोठा भएको एपार्टमेन्ट । एउटामा त्यो भाइ र बुहारी अनि अर्कोमा मसमेत तीनजना बस्ने भइयो । एउटा कोठामा तीनजना भए पनि एउटा साथी रातिमात्र काम गर्ने भएकाले दुईजना जस्तो मात्र हुन्थ्यो । बिहान हामी उठ्दा ऊ सुत्न आउँथ्यो । हाम्रो सुत्ने बेलामा ऊ काममा जाने तरखर गर्थ्यो ।
त्यो भवनको पाँचवटा एपार्टमेन्टमा तिब्बेतन नेपाली बस्दा रहेछन् । ब्रुकलिन सहरमा बसे पनि सबै जसो मेनहेटन सहरमै काम गर्न जाँदा रहेछन् ।
म बसेको ठाउँबाट न्यु योर्कको मेनहेटेन जानलाई ‘कोर्टलिऊ” स्टेसनबाट ट्रेन लिएर जानुपर्ने रहेछ। एक्लै बाहिर जाने आँट आएन । सँगै बस्ने साथीहरूको छुट्टी पर्खनुबाहेक अरू उपाय केही थिएन । म कोठामा एक्लै किताब पढेर दिन बिताउन थालेँ । चिने जानेको अरू कोही थिएनन् ।
एक दिन सँगै बस्ने भाइसँग बैङ्कमा खाता खोल्न भनेर सँगै मेनहेटेन गयौँ । म पहिलोचोटि मेनहेटेन जाँदै थिएँ । मेनहेटेनको कुनै स्टेसनमा मलाई उत्रन भनेर माथि सडकमा गएर बैङ्क जाने बाटो बताएर ऊ ट्रेनमै बस्यो । स्टेसनबाट माथि सडकमा पुगेँ । न्यु योर्क सहर । नयाँ मान्छे । हराइन्छ कि भन्ने ठुलो डर भयो । धन्न बैङ्क नजिकै रहेछ । काम सकियो । अब फर्कने कसरी । मन आँत्तिएर आयो । नयाँ नौलो ठाउँ । एक दुई पटक यसो बाटो देखाइदिएको भए त हुने नि भन्ने लागिरह्यो । तर सबैको व्यस्तता । बल्ल बल्ल अनेक ठाउँ सोध्दै बेलुका डेरा फर्केँ ।
एक दिन फोनमा मेरो मेसेज केही छ कि भनेर मेसेज चेक गरेको थिएँ । त्यो भाइले बेलुका आएर फोनको मेसेज बक्स बिग्रन सक्छ नचलाउनु भन्यो । मेसेज सुन्दा फोन बिग्रने कस्तो फोन रहेछ भनेर सोचेँ । ठिकै छ परदेशमा यस्तै हुन्छ भन्ठानेँ ।
एउटै कोठामा तीनजना बसेका छौं । दु:ख सुख चल्दै नै थियो । दिनभर घरमै बसेको हुन्थेँ । समय कटाउन केही किताब पढ्ने र लेख्ने गर्थें । भाइले एकदिन “दिन भर बसिरहनु हुन्छ बेलुकाको खानाका लागि खाना तयार पारिराख्नु भए पनि हुन्थ्यो नि” भन्यो । कुरा त राम्रै हो सोचेँ तर खाना बनाउन आए पो । कहिले बनाएको भए पो । चिया बनाउनबाहेक अरू पकाउन नजान्नेले के पो बनाउनु र । भाइको अनुरोध पुर्याउन सकिएन । । सोचें अब सिक्नुपर्ला । परदेशमा आत्मनिर्भर त बन्नैपर्छ ।
म न्यु योर्क पुगेको पन्ध्र दिनपछि महिनाको अन्त भयो । खर्चको हिसाब किताब त्यो भाइले गर्यो । उसले दुईपटक मलाई कोलोराडो फोन गरेको थियो । त्यसको हिसाबसमेत राखेर मेरो भागमा पर्न गएको हिसाब मलाई दियो । फोन गरेको बिल कति नै पो थियो र । त्यति सानो रकम पनि राखेको देखेर अलिकति नमिठो चैँ लाग्यो । पैसा ठुलो रकम थिएन तर आ-आफ्नो चित्तको कुरा हो भन्ने लाग्यो । काम सुरु नगरेकेको अवस्था थियो त्यो । पैसा समय मै दिनुपर्छ । बिल समय मै तिर्नुपर्छ नत्र क्रेडिट बिग्रन्छ भनेर भन्न पनि भ्यायो । बसाइ त्यति सहृदयी र सहयोगी पटक्कै थिएन ।
नरमाइलो लागे पनि मेरो जाने ठाउँ कतै थिएन । कोही चिने जानेको थिएन । म त्यस्तै उकुसमुकुसको परिस्थितिमा बस्दै गएँ ।
प्राय: जसो सप्ताहान्तको बेला नेपाल फोन गर्न मेनहेटेनको टाइम स्क्वायर जाने गर्दा रहेछन् । टाइम्स स्क्वायरमा अश्वेत मूलका मान्छेहरूले चोरीका फोन नम्बर दश डलरमा बेच्ने गर्दा रहेछन् । एउटा नम्बरले जति समयसम्म पनि विदेशमा फोन गर्ने सुविधा हुन्थ्यो । त्यस्तै नम्बर किनेर पब्लिक बुथबाट नेपालमा फोन गर्ने थुप्रै हुन्थे । असीमित समय भएका कारणले फोन गर्ने मान्छेको एक प्रकारले भिड लाग्ने गर्थ्यो । पुलिस कतै देखियो भने लामो कुरा गर्नुहुँदैन थियो । शङ्का गर्ने गर्थे । त्यसैले फोन बिचैमा राख्नुपर्थ्यो ।
त्यस्तै एक सप्ताहान्तमा नेपाल फोन गर्न भनेर मेनहेटेनको टाइम्स स्क्वाएर फोन गर्ने ठाउँमा मेरा मित्रहरूले लिएर गए । फोन नम्बर किन्न खोज्दै थिएँ । सडकको पारिपट्टि धनकुटाको दीपक श्रेष्ठलाई देखेँ । राम्रैसँग हेरेँ पक्कै उनी हुन् भनी ठम्याएँ । अनि बाटो नाघेर पारिपट्टि गए । उसले पनि चिनी हाल्यो । साधारण भलाकुसारीपछि आफ्नो व्यथा पोखेँ ।
अर्को हप्ता नै उनीसँगै क्विन्सको फ्लासिङ्ग सहरमा मैले डेरा सारेँ । दुई कोठा भएको एपार्टमेन्टमा दीपक पाकिस्तानी चिस्टीसँग बसेको रहेछ । खुब रमाइलो सहयोगी रहेछन् । रेस्टुरेन्टमा काम गर्ने हुनाले खाना लिएरै आउने गर्दथे । छुट्टीको बेला दीपक खाना बनाउने गर्दथ्यो । उसलाई खाना बनाउन आउँथ्यो । तर मलाई नआउने । त्यसैले मैले खाना तयारी पार्ने र सरसफाइको काम सम्हालेर बस्न थालेँ । चिरपरिचित र सहयोगी मित्रसँग अमेरिकामा सँगै बस्न पाउँदा अति धेरै नै खुसी भएको क्षण थियो त्यो ।
सम्भावनाको खोजीमा करिब करिब वर्ष दिन जति न्यु योर्क बसे हुँला । परदेशको बसाइ निरस थियो । रम्न सकिरहेको थिइनँ । नेपालीहरू पनि त्यति धेरै थिएनन् वा मैले भेटिनँ । खासै नेपालीहरूको सङ्घसंस्था पनि थिएनन् । डा. कमल पाण्डे संलग्न हुनु भएको “फ्रेन्ड्स अफ नेपाल” भन्ने संस्था भएकोजस्तो लाग्छ तर कुनै कार्यक्रम भएको याद छैन । तर भर्जिनियामा भएको ए एन ए सम्मेलनमा चैँ न्यु योर्कबाट भाग लिन गएको चैँ सम्झन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।