भनिन्छ, सुनेर या पढेरभन्दा पनि देखेर त्यसको अमिट छाप मन मस्तिष्क पछिसम्म रही रहन्छ रे । त्यसैले कुनै पनि किताबी ज्ञानलाई थप प्रमाणित गर्नका लागि व्यवहारिक ज्ञानको अध्ययन गराइने गरिन्छ । यसअर्थमा कुनै पनि कुरा या ठाउँलाई आफ्नो आँखाले देखेमा त्यो हाम्रो भित्री मनसम्म पुग्न सक्छ भन्ने विश्वास गरिन्छ । त्यो दृश्य हाम्रो मानसपटलमा पछिसम्म पनि रहिरहन्छ भनिन्छ । सायद हो पनि ।

मेरो साहिँली बहिनी रजनीको अमेरिकी नागरिक बब लेपर्डसँग बिहा गर्ने पक्का भैसक्दा पनि म अन्यौल मै थिएँ । अमेरिकासम्म आफ्नो बहिनीलाई कसरी दिएर पठाउने ? कस्तो मान्छे ? घरबार के कस्तो छ ? देश नै कस्तो छ ? प्रश्न थुप्रै थुप्रै थिए । न मेरो नातेदार न कोही चिनेको नै कोही अमेरिका भन्ने देशमा थिए । यी नै यस्ता थुप्रै अनुत्तरित प्रश्न हुँदाहुँदै पनि रजनीको विवाह सम्पन्न भएको थियो । त्यसैले अरू दिदीबहिनीको बिहामा भन्दा रजनीको बिहामा मैले धेरै आँसु बगाएको थिएँ ।

त्यस समय त्यति धेरै नेपालीहरू प्रवासी भै सकेका थिएनन् ।

अचानक एकदिन बहिनी रजनीको सासु एलेनर र ससुरा विल लेपर्डको अमेरिका आउने निम्तापत्र मेरो नाममा आयो । अनि जे होला, एकपटक अमेरिका पुग्छु भन्ने निर्णय गरेँ ।

वसन्त श्रेष्ठ (अमेरिका)

ईस्वी सम्वत् १९९४ को फ्रेबुररी महिनाको कुनै दिन हुनुपर्छ । अमेरिकाको भिसाका लागि पानीपोखरीस्थित अमेरिकन दूतावास पुगेको थिएँ । मेरो पालो पर्खँदै गर्दा धेरै आवेदकहरू निरास अनुहार लिएर फर्किरहेका मैले नियाली रहेको थिएँ । सँगै बसेका भाइले विद्यार्थी भिसाका लागि आवेदन दिएका रहेछन् । दोस्रो पटक भएका कारणले अझ थप थुप्रै व्यवसायिक कागजात लिएर आएका रहेछन् । “पढ्न जान लागेको खै भिसा नै दिएन यसपटक के गर्छ” भन्दै गुनासो पोख्दै थिए । ती भाइले यसपटक बुबाले गरिरहेको व्यापारको थुप्रै कागजपत्रसमेत लिएर आएका रहेछन् । दोस्रो पटक भएको कारणले हो वा पहिला भिसा नपाइसकेको कारणले हो निकै हड्बडाएको उनको अनुहारमा प्रस्ट देखिन्थ्यो । मभन्दा अघि नै उसको पालो भएकाले ऊ गयो । तर केही छिनमा नै फर्किहाल्यो । निरास अनुहार लिएर ।

अब मेरो पालो थियो । तर म निश्चिन्त थिएँ । भिसा लागे पनि ठिक । नलागे पनि ठिक भन्ने स्थितिमा थिएँ । त्यसैले त्यस्तो केही मनमा बिचारहरू नै उठेनन् । बोलाएको निर्दिष्ट स्थानमा गएँ । एउटा नेपाली महिला र अर्को अमेरिकन पुरुष थिए । साधारण प्रश्न गरे किन जाने ? कहाँ जाने र कहिलेसम्मलाई हो ? सोधेको यत्ति नै हो । मेरो कागजात सबै पल्टाएर हेरे । ती दुईबीच निकै बेर कुरा भयो । मैले सुनिनँ । नेपाली महिलाले हाँस्तै मलाई दुईघण्टापछि भिसा लिन आउनू भनिन् । हाँस्तै भनेकाले भिसा दिने भयो कि भन्ने चैँ मनमा लाग्यो । तर दुईघण्टापछि भनेकाले निश्चिन्त बन्न सकिनँ ।

म त्यतै पानीपोखरीको एउटा रेस्टुरेन्टमा नै अलमलिन पसेँ । केही नमकिन र चिया मगाएँ | भोकले भन्दा अल्मलिने मेलाका लागि ।

दुईघण्टापछि आउनू भनेका छन् । सोचेँ सायद अमेरिकामा भएकी मेरी बहिनी रजनीको घरमा फोन गर्ने होला । किनकि उनकै सासु र ससुराको निम्तामा म अमेरिकामा जान लागेको थिएँ । मैले सोचेँ निश्चित गर्न उसैलाई सोधपुछ गर्ने होला । बहिनीको श्रीमान् बब लेपर्ड दक्षिण अफ्रिकाको सुडानमा रेडक्रसमा कार्यरत थिए । मनमा यस्तै यस्तै कुरा खेलाउँदै चिया पिएर समय काट्दै थिएँ ।

त्यससमय मैले भिसा पाए राम्रो नपाए पनि ठिकै छ भन्ने स्थितिमा थिएँ । किनकि मेरो एन एम निर्माण सेवा कम्पनीले तेह्रथुममा १५ शय्या अस्पताल भवनको क्वार्टर निर्माणको कार्य गर्दै गरेको अवस्था थियो । निर्माण कार्यको योजना सम्पन्न भैसकेको थिएन । सम्पन्न हुनका लागि अझ दुई-चार महिना लाग्ने नै थियो । तर यसैबिचमा मेरो अमेरिका बस्ने बहिनीले पठाएको निम्तोपत्र आइपुगेको थियो । वास्तवमा निवेदन हाली हालूँ न त भन्ने लागेर भिसा आवेदन गरेको थिएँ ।

घरपरिवार र विशेष आमाको केही महिनापछि मात्र जानू भन्ने सुझाव थियो । उहाँले निर्माण कार्य सम्पन्न भैसकेपछि मात्र जानू पछि समस्या केही आई नपरोस् भन्ने चाहना राख्नुभएको थियो ।

निर्धारित समयमा अमेरिकन दूतावास फर्कें । भिसा लिने स्टेसनमा गएँ । पासपोर्ट थमाइदिए । छ महिनाको भिसा छाप लगाइदिएछन् । थुप्रैले भिसा नपाएको त्यसदिन मैले भिसा पाउँदा धेरै नै खुसी लाग्यो ।

तेह्रथुममा अस्पतालको निर्माण चल्दै थियो । निर्माण सकिएपछि मात्र आमाले जानू भन्नुभएकाले निर्माण कार्यको काम झन् तीव्र पारेँ । भाइ शरद् पनि सहयोगी भएकाले काम गर्न धेरै सजिलो भयो । तर निर्माण कार्य जति नै तीव्र पारे पनि दुर्गम पहाडी ठाउँ निर्माण सामग्री र बजेटको अभावले गर्दा कार्य सम्पन्न गर्न अझै समय लाग्ने देखियो ।

मेरो भिसा लिएको करिब दुई महिना नाघी सकेको थियो । पासपोर्टमा मैले अप्रिलको चारसम्ममा अमेरिका पुगिसक्नुपर्छ भन्ने जनाइएको थियो । तर निर्माण कार्य अझै दुईचार महिना बेगर सम्पन्न हुने छाँट-काँट नै देखिएन । त्यसैले भिसाको म्याद थप गर्न मिल्छ कि भनी अमेरिकन दूतावासमा फोन गरेँ । म्याद गुज्रेमा फेरि थप्न मिल्दैन भन्यो दूतावासले । दरखास्त फेरि नयाँ हाल्नुपर्छ । तर भिसा पाउने चैँ निश्चित हुँदैन भनेर पनि भन्यो । म असमन्जसमा परेँ । मलाई अत्यास लाग्दै गयो । अब के गर्ने । परिवारका सबैले निर्माण कार्य छोडेर नजानू भन्ने कुरामा जोड दिँदै थिए । तर आफ्नो भिसा रद्द हुने डरले म चिन्तित बन्दै गएँ ।

भिसाका लागि फेरि निवेदन हाल्नुपर्ने तर भिसा लाग्छ नै भन्ने निश्चित चैँ हुदैन भनेकाले चिन्ता थपिएको थियो । कोही मित्रहरू “तँ अमेरिका नजाने भइस् पासपोर्ट मलाई दे पैसा दिन्छु” पनि भन्न थाले । म अचम्म मान्थेँ । मेरो भिसा अरूले कसरी प्रयोग गर्न सक्थे भनेर । म निकै तनावमा भएँ । अमेरिकाको भिसाका लागि त्यत्रो पैसा खर्च गर्ने मान्छे पनि हुन्छन् भनेर थाहा पाउँदा छक्क परेँ ।

निलमले कोलोराडोबाट “दाइ दोधार नगर्नू चाँडै यतै आउनू” भनेर फेरि भनिन् । अन्तत: म अब पाइसकेको भिसा खेर नफाल्ने निधोमा पुगेँ ।

अलिक चिन्तित र दोधार हुँदै हेमन्तको कार्यालय गएँ । उनी त्यस समयमा प्रज्ञाप्रतिष्ठानमा कार्यरत थिए । मैले आफ्नो समस्या सबै बताएँ । अन्तिममा अमेरिका जानू भन्ने नै सल्लाह दियो उसले । हेमन्तलाई अमेरिका जाने टिकटको बन्दोबस्त गरिदेऊ भनेँ । एक-दुई दिनमा नै उसले मेरो उड्ने बन्दोबस्त सबै मिलायो । तेह्रथुममा आमालाई समयले गर्दा भेट्न आउन सकिनँ भनेर खबर गरेँ । अतिरिक्त उड्ने समय सकिन सिर्फ तिनदिनमात्र बाँकी हुँदा मैले काठमाडौँ छोडेको थिएँ ।

यत्रो अमेरिकाभरि त्यसबेला मैले चिनेको, जानेको भनेको नै कोलोराडो, बोल्डर बस्ने निलम र पेन्सिल्भानिया, च्याम्बर्सबर्ग बस्ने रजनी मात्र थिए । रजनीको श्रीमान् बब लेपर्ड सेभ द चिल्ड्रेन अन्तर्गत सुडानमा कार्यरत भएको हुँदा उनी पनि सुडान जाने तरखरमा थिइन् । त्यसैले पेन्सिल्भानिया नगई कोलोराडो जाने निश्चय गरेँ ।

ईश्वी सन् १९९४ को अप्रिल महिनाको एक तारेखमा त्रिभुवन विमानस्थलबाट थाई एयरलाइन्सबाट अमेरिका उड्नका लागि विमानस्थलतिर लागेँ । विमानस्थलमा पाँच बर्षको छोरा बबिन, विद्या र उनको परिवार र मेरो परिवार सबै बिदाइ गर्न आए । सबैलाई छोडेर जानु पर्दा निकै नरमाइलो लाग्दै आयो । बबिनले त मेरो औँला समाएर छोड्दै छोडेन । जाने बेला भैसक्यो उसले मेरो हात नछोडेपछि हातमा केही पैसा राखेपछि बल्ल मेरो औँला छोडेको थियो ।

 

यामानको विमानमा चढेको मेरो जीवनको पहिलो पटक थियो । यात्रुहरू चारैतिर आआफ्नो सिट खोज्दै बढ्दै थिए । म आफ्नो हाते झोला बोकेर आफ्नो सिटतिर लागेँ । विमानको मध्य भागमा झ्यालको सिट परेको रहेछ । आफूलाई धन्य सम्झे बाहिरी दृश्य हेर्न पाइने लोभले । केहीछिनपछि विमानले काठमाडौँको भुईँ छोड्यो । झ्यालबाट बबिन र विद्यालाई कतै देखिन्छ कि भन्ने भ्रममा आँखा चारैतिर फैलाई हेरें । सब व्यर्थ थियो । आउने बेलामा आमालाई भेटेर जान नसकेकोमा मन एकतमासले दुखेर आयो । आमा तेह्रथुम भएको कारणले फोनमा मात्र कुरा भो । भेटचैँ हुन सकेन । नरमाइलो लागेर आयो । अब आफ्नो परिवार कहिले भेट्छु होला भन्ने लाग्यो । काठमाडौँका ठुल ठुला घरहरू सबै पुड्का हुँदै गए । हुँदा हुँदा पहाडहरू साना होचा होचा देखिन थाले । मेरो सँगैको सिटमा एउटी अमेरिकन महिला बसेकी थिइन् । म चुप, गम्भीर र अलिकति दुःखित देखेर होला तिनी बारम्बार मतिर हेरेजस्तो लागेको थियो । बोलाउन कोसिस गरेजस्तो लाग्थ्यो । तर म एकनासले झ्यालतिर हेरिरहेँ ।

स्न्याक्स खान थालेपछि छेउकी अमेरिकनले हाँसेर हेलो भनि । क्यालिफोर्नियाकी क्रिस्टिन रहिछिन् । नेपालको पहिलो भ्रमण रहेछ । खुब बखान गर्न थालिन् । सोधेँ  “पूर्वको धनकुटा हिलेतिर गइनौ ? माउन्टेन फ्लाइट चढ्यौ ? त्यहाँको सुन्दरताको शालीन वर्णन गर्न भ्याइहालें । अलि अलि उकेरालाई दिएँ । नगएको ठाउँ पछि जान्छु भनि । गएको ठाउँको सुन्दरताको बखान गरेर थाकिनन् । तिनैले सोधिन् “ के तिम्रो यो पहिलो विदेश भ्रमण हो ? मैले सोधेँ “कसरी थाहा पायौ” । “अघि तिम्रो अनुहार एकदम उदास थियो । चुपचाप पनि थियौ । त्यसैले अनुमान गरेकी” । एक छिन चुप लागेर फिस्स हाँसेर हो मा जवाफ दिएँ । उनले थपिन् “ मान्छेको अनुहारबाट पत्ता लगाउन सकिन्छ । को मान्छे  दुःखी भएर भ्रमणमा निस्केको छ कि खुसी भनेर” । थाहा पाउन सजिलो छ । निकै बेर सम्झाएझैँ गरिन् । उनको अनुभव र प्रौढ व्यक्तित्वले पनि होला सायद । त्यसपछि आँखा चिम्म गरेर शान्त भएँ ।

खुब रमाइलोसँग थाइल्याण्डको राजधानी बैङ्कक पुगेको याद नै भएन । त्यसैले भन्छ्न नि यात्रामा सहयात्री रमाइलो पर्‍यो भने यात्राको मज्जा नै बेग्लै हुन्छ । केहीछिनका लागि त परिवारसँगको बिछोड नै पो बिर्सेछु ।

बैङ्कक विमानस्थलमै भेटिए दुई भाइ नेपाली । थाहा  भो  अमेरिकाको यात्राको सहयात्री नै पो रहेछन् । अकस्मात् भाग्यले जुराइदिएको सहयात्री भेटिए । खुसी लाग्यो । दुवै निकै अनुभवी रहेछन् । धेरै पटक आवतजावत गरिसकेका । त्यसैले उनीहरूको पछि लागेर म उनीहरूसँगै होटेलतिर लागेँ । ती दुवै अनुभवी भएको कारणले बैङ्ककको रमाइलो रात हेर्न मलाई पनि लिएर गए । एकछिन त आँखा नै तिर्मिराए । विश्वास नै लागेन यो म के देख्दैछु भन्ने । रात निकै छिप्पिएपछिमात्र होटेल फर्कियौँ । रात अबेर बसेको कारणले बिहान उठ्दा निकै ढिला भैसकेको थियो । अमेरिकाको उडानको विमान लिन समय निकै थोरै भैसकेको थियो । निकै हतारिएर विमानस्थल पुग्दा हाम्रो नाम माइकमा फुक्दै रहेछ ।

हामी एकछिनमात्रै ढिला भएको भए प्लेन छुट्न सक्थ्यो । यदि छुटेको भए मेरो अमेरिका प्रवेशमा रोक लाग्न सक्ने सम्भावना निकै प्रबल थियो । किनकि अमेरिकी दूतावास नेपालले मेरो भिसा लगाउदा अमेरिका पुगिसक्ने अन्तिम दिन त्यही दिन नै थियो ।

धन्न ! प्लेन छुटेन । हतार हतार प्लेनभित्र छिर्‍यौँ ।

हामीलाई पर्खेर बसेको त्यो विमानभित्र पस्दा सबै यात्रुका आँखा हामीतिर नै सोझिएका थिए ।

बडेमानको विमानभित्र अरू दुई साथी कता हराए थाहा नै भएन । यसपटकचैँ झ्यालको सिट परेन छ । बाहिरी रमाइलो दृश्य हेर्न नपाइने भयो भन्ने कुराले अलिकति नियास्रो लाग्यो । झ्यालको  सिटमा भारतीय अनुहार कि एक महिला थिइन् तर तिनी त बाली भन्ने अर्कै देशकी रहिछिन् । नाम भनेकी थिइन् तर अहिले मैले बिर्सेँ । रमाइली र सहयोगी रहिछिन् । अमेरिका बसेको थुप्रै वर्ष भएछ । बैङ्ककमा घुम्न आएकी रहिछिन । तिनले मलाई बैङ्ककको कुन ठाउँ राम्रो लाग्यो ? कहाँ कहाँ गयौ ? भनेर सोधिन् । एक रातमात्र बसेको कहीँ पनि घुम्न जाने समय भएन भनेँ । राति घुम्न गएको ठाउँ भन्न आफूलाई नै अलिकति अप्ठेरो लागेर आयो र भनिनँ । बायाँपट्टिको सिटमा अलिक बुढो अफ्रिकनजस्तो लाग्ने मान्छे थिए । मैले ब्युँझेर देख्दा त्यो मान्छे जहिले पनि कि किताब पढ्नु, अखबार पढ्नु र सुत्नुबाहेक टिभी हेरेको नै देखिनँ । मैले टिभी खोलेँ एउटा अङ्ग्रेजी फिल्म लाएर हेर्न थालेँ । फिल्म हेर्दै गर्दा कति बेला भुसुक्कै निदाएछु पत्तै भएन ।

कसैले झक्झकाएपछि आँखा खोलेँ । उज्यालो भैसकेछ । बिहानको ब्रेकफास्ट सर्भ गर्दै रहेछन् । एउटा कफी र केही खानेकुरा लिएँ । बिचको सिट अप्ठेरो लाग्यो । दायाँ बायाँ कतै छुइन्छ कि भन्ने त्रास । मलाईमात्र हो कि अरूलाई पनि हो । निन्द्रालाग्दा कतै अरूतिर पो ढल्कियएँ कि ? बिहान भएपछि सबैको कल्याङ्ग मल्याङ्ग सुनिन थाल्यो । बाथरुम जानेको लाइन लामै थियो । अप्ठेरो मान्दै उठेँ । लाइनमा लागेँ । फर्केर फेरि टिभी हेर्न थालेँ ।

न्युयोर्क आउन लागेको उद्घोषण गरे । सिटबेल्ट लाउने उर्दी पनि जारी गरे । मेरो मन एकतमासले उत्तेजितजस्तै थियो । पहिलो पटक अमेरिकाको भुईँमा टेक्न जाँदै थिएँ । अध्यागमनको कागजपत्र सबै हेरिसकेकै थियो । घाँटी तन्काएर केही देखिने लोभमा झ्यालतिर हेर्न थालेँ । अलि अलि गर्दै अग्ला अग्ला घरका, गाडीका छाया देखिन थाल्यो । बाटो कतै देखिँदैन थियो खाली गाडी नै गाडी । जता ततै गाडी नै गाडी । हाम्रो विमानले भुईँ छोएछ । आवाज खड्क्क आयो ।

न्युयोर्कको जोन एफ केनेडी एअरपोर्ट पुग्दा ठिक दिनको एक बजिसकेको थियो । अध्यागमनमा त्यति लामो समय लागेन । त्यति धेरै प्रश्न पनि गरेन । छ महिना अमेरिका बस्न घुम्न पाउने गरी भिसा लाइदिएछन् । मैले अर्को प्लेनबाट तीनबजे कोलोराडोको डेनभर उड्नुथियो । त्यही अनुसारको गेटमा गएर पर्खन थालेँ ।