२०४६ साल चैतको २४ गते, जनआन्दोलन -१ चरमोत्कर्षमा पुगेको दिन । नेपाली काङ्ग्रेस र संयुक्त वाममोर्चाले गणेशमान सिंहको कमान्डमा सञ्चालन गरेको संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, मानवअधिकार लगायतका माग राखेर घोषित रूपमै माघ सात गतेदेखि सञ्चालन गरेको आन्दोलनले चैतको दोस्रो सातादेखि गति लिइरहेको थियो । नेपाल कम्युनिस्ट पार्टी मसाल लगायत केही वाम घटकहरू पनि राष्ट्रिय जनआन्दोलन समितिको नाममा क्रियाशील थिए, जस्ले सोही दिन नेपाल बन्दको आह्वान गरेको थियो ।
म त्यतिबेला केही साथीहरूसँगै कीर्तिपुरमा थिएँ । कीर्तिपुर केही दिनदेखि नै तनावग्रस्त थियो । स्थानीय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूबाट कीर्तिपुरमा गाडी प्रवेशमा रुखहरू ढलाएर अवरोध खडा गरिएको थियो । जतिबेला पनि सुरक्षाकर्मीको ठूलो कारबाही हुन सक्थ्यो । त्यसैले, केही दिन साथीहरूकोमा सहरतिर बस्ने भनेर निस्कियौँ तीनजना साथीहरू कीर्तिपुरबाट । गाडीहरू त चल्ने कुरै भएन । जहाँतहीँ रुख, मुढा, टायर र ढुङ्गा लगाएर सडक अवरोध गरिएको थियो आन्दोलनकारीहरू र स्वतस्फूर्तरूपमा सर्वसाधारणहरूबाट पनि ।
कसैको नेतृत्वबिना नै स्वतस्फूर्तरूपमा नै जहाँतहीँ जुलुस थियो । पञ्चायती व्यवस्थाको विरुद्ध नाराहरू लागिरहेका थिए । आन्दोलनले गति लिँदै गर्दा नाराहरू राजतन्त्रको विरुद्ध पनि लाग्न थालिसकेको थियो । रानी ऐश्वर्यको पम्फादेवी ठकुरीका नाममा स्वीस बैँकमा अथाह सम्पत्ति रहेको भनाइ समेटेर नाराहरू लागिरहेको थिए ।
त्रिपुरेश्वर पुग्दा नपुग्दै ठूलो जूलूससँग भेट भयो । हामी पनि जुलुसमा सामेल भएको थाहा नै पाएनौँ । जुलुस थापाथली, कुपोन्डोल, पुल्चोक पाटन मङ्गलबजार हुँदै फेरि फर्किएर सिंहदरबार, सहिदगेट, न्युरोड, वसन्तपुर, असन, ठमेल हुँदै कान्तिपथबाट खुल्लामञ्चमा प्रवेश गर्यो । त्यतिबेला चोकचोकमा राजाका श्रीपेचको तस्बिर र उनका भनाइलाई महान्वाणी भन्दै ठूलाठूला बोर्डहरू झुन्ड्याएका हुन्थे । आन्दोलनकारीको निसानामा ती बोर्ड र प्रहरीविटहरू परे । झन्डै दस वर्षपछि खुल्लामञ्चमा आम सर्वसाधारणले नाराजुलुस र भाषण गर्न पाए । एक अर्थमा भन्ने हो भने खुल्लामञ्च जनताले कब्जामा लिए । पहिलो श्रेणीका नेताहरू अझैसम्म भूमिगत थिए । त्यसैले, मानवअधिकार र विभिन्न सङ्घसंस्थाहरूको नामबाट देखिएका नेताहरूले सम्बोधन गर्ने तरखरमा थिए । तर आन्दोलनकारी त्यहाँ पनि थामिएनन् । यो सबै गरिबी, पछौटेपन, निरङ्कुशताका कारण पञ्चायती व्यवस्था मात्रै होइन त्यसको प्रवर्तक तथा संरक्षक राजतन्त्र हो भन्ने निष्कर्षमा थियो आम जनमानस । आन्दोलनले सडकमा थप माग गर्यो – राजतन्त्रको समाप्ति ।
ठूलो जुलुस घण्टाघर हुँदै दरबार मार्गतिर लाग्यो, नारायणहिटी दरबारलाई लक्षित गरेर । ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरूले जुलुसलाई घण्टाघरभन्दा अगाडि बढ्न नदिने ठूलो प्रयत्न गरे, तर सकेनन् । जुलुसले पेल्दैपेल्दै वाल्मीकि क्याम्पस छात्रवासनेर राजा महेन्द्रको सालिक भएको स्थानमा लग्यो सुरक्षाकर्मीलाई । सुरक्षाकर्मी र आन्दोलनकारी दुवै तर्फबाट अन्तिम बल प्रयोग भयो । आन्दोलनकारीको तर्फबाट महेन्द्रको सालिक तोडफोड हुन थाल्यो । लाठी, अश्रुग्यास र गोली एकैपटक चल्यो । जुलुस एकाएक हुन खोज्यो । तर त्यति ठूलो जुलुसको निकास थिएन ।
भागाभागको क्रममा म कसोकसो जमल जाने बाटातिर त्रिचन्द्र क्याम्पसको उत्तरी गेटको सामुन्नेमा मायालु नामको होटलमा छिरेँ अरू थुप्रै प्रदर्शनकारी सहित । अरूले जस्तै अश्रुग्यासको असरबाट बच्न मुख धोएँ । केहीले अनाहकमा होटलमा तोडफोड पनि गरे । करिब एक घण्टाको अनिश्चिततापछि हामी बाहिर निस्कियौँ । हजारौँको सङ्ख्यामा जुत्ताचप्पलहरू थिए सडकमा । लास र घाइतेहरूलाई उठाइसकेका थिए, केही आलो रगत भने देखिन्थ्यो सडकभरि ।
म सामेल भएको टुकुडी नारासहित कमालादीतर्फ लाग्यो । राजाका बहिनीहरूका घरहरू भन्दै कमलादीका केही घरहरूमा ढुङ्गा हान्दै अगाडि पुतलीसडकतर्फ लाग्यो जुलुस । पुतलीसडक पुग्दा तीनवटा ट्रकभरि सैनिकहरू राजदरबारतर्फ लग्दै गरेको भेटिए । त्यो देख्दा सैनिकलाई सडकमा ओरालिसकेको प्रतीत हुन्थ्यो । केहीले ती ट्रकहरूमा पनि ढुङ्गा हाने । धन्न सैनिकले गोली चलाएन ।
पुतलीसडक पुगेपछि केही प्रदर्शनकारीहरूले लगातार एउटा घरमा ढुङ्गा हानिरहेका थिए । त्यो देखेपछि खै के भयो मेरो मुखबाट फुत्किएछ, “ए, पब्लिक घरमा ढुङ्गा हान्नु हुँदैन “। तर म उत्तिबेलै घेराबन्दीमा परिहालेँ । पाँचछजना चुल्ठेहरूले, “के भनिस् ? यिनीहरूले हाम्लाई गोली हान्न हुने, मार्न हुने, देश चुस्न हुने , हाम्ले यिनीहरूको घरमा ढुङ्गा हान्न नहुने ?” एउटाले त मेरो कठालो समाती
हाल्यो । बाफ् रे ! ‘अनिकालमा बिउ जोगाउनू, हुलमुलमा जिउ जोगाउनू’ सुनेको थिएँ । तर हुलमै लागिएछ । तीन दिन पहिले मात्रै एकजना साथीको कपाल पोलिसकट भएकै कारण शङ्काले मात्रै जासुसको आरोपमा झन्डै ज्यान गएको थियो कीर्तिपुरमा । त्यो भिडमा चान्सवस कोही क्याम्पसस्तरका विद्यार्थी नेताले चिनेको कारण ज्यान बचेको थियो उसको । जसरी भएपनि बाँच्नुथ्यो मलाई । त्यो असङ्गठित भिडले जे पनि गर्न सक्थ्यो ।
“हो ?” मैले भनेँ, “उसो भए मैले पनि हान्छु” । गल्लीभरि इँटाका टुक्राटुक्रा यत्रतत्र छरिएका थिए । दुईवटा हातमा एकएकवटा टुक्रा लिएँ र आक्रमणकारीको निसानामा परेको घरलाई लक्षित गरेर हिर्काएँ । कति गजबको निसाना लाग्यो ! झ्यालको एउटा सिसा झरम्म फुट्यो । फेरि अर्को टुक्रा फ्याकेँ । फेरिपनि कति गजबको निसाना लाग्यो कि अर्को एउटा झ्यालको सिसा टुक्राटुक्रा भएर खस्यो । मलाई अहिले लाग्छ म उत्तेजित भइसकेको थिएँ त्यो तोडफोडमा भएको अप्रत्याशित सफलताबाट ।
त्यसैबेला कसैले डिल्लीबजार उकालोमा रहेको शरद्चन्द्र शाहको घरमा तोडफोड गर्न जानुपर्ने कुरा सुनायो । सबै गुरुरु दौडिए त्यसतर्फ । म पनि पछि-पछि गएँ । अघि भर्खरैको तोडफोडको सफलताले मलाई हौसाएको थियो । खराब समय र परिस्थितिले कसरी खराबतिरै प्रोत्साहन गर्दो रहेछ, अहिले पनि सम्झन्छु कहिलेकाहीँ । दसबर्षे नरसंहारका कारण यस्तैयस्तै त होलान् !
शरद्चन्द्र शाह पञ्चायती व्यवस्थाका हस्ती मानिन्थे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव भएकाले उनीसँग धेरै युवाहरू थिए । पञ्चायती व्यवस्थाको समर्थन गर्ने युवालाई मण्डले भनिन्थ्यो । त्यसैले, उनी मण्डलेका पनि नेता थिए । उत्तेजित भिडले उनको घरको गेट फोर्यो, पाले भागिसकेको थियो । मोटरसाइकलहरूमा आगो लगायो । भित्र पस्यो । त्यसपछि केके भयो थाहा भएन । मभित्र गइन । गहनापात पनि लुटपाट भयो भन्ने सुनिन्थ्यो पछि । केही किताबहरू, सयौँ थान ब्याडमिन्टन सामाग्रीहरू र नेकटाइहरू बाटामा ल्याएर जलाए । छिमेकीका अनुसार उनी श्रीमतीका साथमा बिहानै गाडी लिएर निस्किएका थिए । त्यहाँ रहेका दुई छोरीहरूलाई भने आन्दोलनकारीले भाग्न दिएका थिए । पछि त्यही ठाउँमा गोली चलेको र केही प्रदर्शनकारी मारिएको सुन्नमा आएको थियो ।
त्यस पछाडिका दुई दिन कडा कर्फ्यु घोषणा गरियो । कर्फ्यु नहटाईकन शाही सम्बोधनबाट बहुदलीय व्यवस्थाको घोषणा भएकाले खुसियालीमा जनता सडकमा आए । कर्फ्यु उलङ्घन गरेको भनेर धेरै ठाउँमा गोली प्रहार भएकाले धेरै जनको क्षति भयो ।
आज पनि सम्झन्छु- कहिलेकाहीँ कति निर्दयी हुन्छ समय ! कति प्रतिकूल बन्छ परिस्थिति ! आफूलाई मनै नपर्ने कर्ममा हाम्फाल्न बाध्य बनाउँछ नियतिले । ग्यालिलियोले जेलमुक्त्त हुन म गलत रहेछु सूर्य पृथ्वी वरिपरी घुम्दो रहेछ भने अदालतमा र छुटकारा पाए जेलबाट । तर बाहिर निस्कने बेलामा कुर्सीमा ठोकिँदा भनेथे रे- “यो अझै पनि घुमिरहेछ” । यो अर्थात् पृथ्वी । हो सत्य विकल्परहित हुन्छ ।
सत्य जेसुकै होस् । बुद्धिमता त्यहीँ हो,-“अनिकालमा बिउ जोगाउनू, हुलमुलमा जिउ जोगाउनू” । जिउ जोगियो भनेमात्र सत्य कुरालाई साबित गर्न पछि पर्याप्त समय हुन्छ । होइन र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।