चैतको अन्तिमतिर हो । बेलुकीको चार बजेको हुँदो हो । हाम्रो घर एक जना अपरिचित व्यक्ति आए । पातलो ज्यानका ।

शिरमा ढाका टोपी लगाएका । त्यस्तै, २८–३० वर्षजतिका हुँदा हुन् । तगाराबाट साइकल डोर्याउँदै आँगनतिर बढे ।

बा, कान्छाबा र म पिँढीमा बसिरहेका थियौँ । हजुरआमा घरभित्रै हुनुहुन्थ्यो ।

‘नमस्कार है… !’ आँगनमा पुगेपछि उनले शिष्टाचार दर्शाए ।

‘नमस्ते, नमस्ते,’ हामी सबैका तर्फबाट बाले नमस्कार फर्काउनुभयो ।

‘टीकाराम सापकोटाको घर यही हो ?’ उनले सोधे ।

हामी सबै जना अल्मलियौँ ।

अल्मलिनुको कारण थियो । उनको प्रश्नको जवाफ हो वा होइनमा दिन सकिँदैनथ्यो । किनकि यो घर बाको थिएन ।

काकाहरूको थियो । तर, उनले नाम लिएका व्यक्ति बा त्यहीँ हुनुहुन्थ्यो ।

किन र, किन सोध्नुभो ? बाले उल्टै उनलाई प्रश्न सोध्दै भन्नुभयो, ‘टीकाराम त मै हुम्, तर यो मूलघर हो, भाइहरू बस्चन् ।’

‘ए… भाइहरूको भए नि आफ्नै त भयो नि !’ ती व्यक्तिले भने, ‘म हजुरलाई नै खोज्दै आ’को ।’

उनी साइकल समातेर बाहिर उभिरहेका थिए । ‘आउनोस् न यतै बसम्,’ बाले आफू बेन्चबाट उठ्दै भन्नुभयो ।

‘होइन, बस्नतिर नलागम्, ढिलो हुँदै छ,’ उनले साइकलको स्ट्यान्ड लगाउँदै भने, ‘म मैनापोखरबाट सदानन्द सरले पठा’र आ’को, हजुरका भाइको बिहा गर्न खोज्नुभएको छ रे ! त्यही सुनेर हजुरलाई भेट्न आ’को ।’

‘ए…!’ बाले भन्नुभयो, ‘भित्रै आउनोस् न बसेर कुरा गरम् ।’ उनी यसपटक भने आएर बेन्चको एउटा कुनामा टुक्रुक्क बसे ।

आफ्नै बिहेको कुरा सुनेर हो कि कान्छाबाको अनुहार रातो भयो । कान्छाबाका नजर झुके ।

‘अनि बाबूलाई चिन्न सकिएन के रे,’ बाले सोध्नुभयो, ‘बाबूले सदानन्द सरलाई कसरी चिन्नुभओ त ?’

सनत सापकोटा

‘मेरो घर त मङ्ग्रागाडी हो, मैनापोखर खगेश्वर सर मेरा आफन्त हुनुहुन्छ,’ उनले भने, ‘त्यहीँ सदानन्द सरसँग भेट भयो । सदानन्द सर हजुरहरूका आफन्त हुनुहुँदोरै’छ !’

हो, सदानन्द सर मेरा बाका मामा हुनुहुन्छ ।

मैनापोखरमा सदानन्द सर र खगेश्वर सरको आँगन जोडिएको थियो । दुवै जना शारदा मावी मैनापोखरका शिक्षक हुनुहुन्थ्यो । उनले सदानन्द सरको नाम लिनेबित्तिकै मलाई तीन/चार महिनाअघिको एउटा घटना याद आयो ।

०००

पुसमा सदानन्द सर अर्थात् मेरा हजुरबा एक रात बास बस्ने गरी हाम्रो घर आउनुभएको थियो । खाना खाएर बा र हजुरबा भित्र कोठामा बिस्तारामै बसेर गफ गरिरहेका थिए । कान्छाबाका बिहेदेखि खेतीपातीसम्मका कुरा भए । म ध्यानपूर्वक सुनिरहेको थिएँ ।

‘यस्ता जाडामा त एक चिलिम तान्न पाए नि हुन्त्यो है भान्जा,’ गफ गर्दागर्दै हजुरबाले बासँग भन्नुभयोे, ‘खोइ केई सामा गर्नुभ’छैन ?’

हा…हा…हा…बा हाँस्नुभयो । ‘खोइ अचेल त धेरै भयो मैले नि चाख्यो छैन,’ बाले हाँसो थामिएपछि भन्नुभयो, ‘पैला, पैला यसो कैलेकाइँ खान्तेँ र सोच पनि हुन्त्यो, अचेत त राख्न नि छोडेँ ।’

तैपनि बा खाटबाट उठेर पालितिर पोकापोकी खोतल्न थाल्नुभयो । भेटिएन । ‘छैन,’ बाले ओठ लेप्र्याउनुभयो, ‘राखेका भा पो हुन्त्यो !’

‘ह्याँ त गाँजैगाँजा हुनी ठाम हैन र !’ हजुरबाले भन्नुभयो, ‘यसो अलिअलि त सोच गर्नपर्छ नि । बेलामौकाँ काम लाग्छ । ईः आजै मामा–भान्जाले बसेर तान्न हुन्त्यो ।’

हुन पनि चैत–वैशाखका बेला बारीभरि गाँजाका बुटामात्रै हुन्थे । आफैँ उम्रिन्थ्यो । जेठमा बाँझो जोत्दा गाँजा पन्छाउनकै हैरान ! सर्लक्कका बुटा हुन्थे । काटेर कुचो बनाइन्थ्यो । कहाँ–कहाँदेखि त्यही गाँजाको कुचो काट्न थरुनीहरू आउँथे ।
कतिपटक तिनै काटेका गाँजाका ठुटाले कोपेर हाम्रा पैताला रक्तमुछेल पार्थे । तर अहिले गाँजाको सिजन थिएन । बुटै देखिँदैनथ्यो ।

‘भ’र क्यार्नी ! अ‍ैले बिउ खोजे नि पाइन्न,’ बाले भन्नुभयो, ‘तीन–चार मैनापछि यसैले मेलोबाटो हुन्न ।’

‘ए…गाँजाको मज्जाको एउटा बुटो मैले देख्यो छु,’ मैले झल्याँस्स चार–पाँच दिनअघिको एउटा घटना सम्झिँदै भने ।

‘काँ देख्यो छस् ?’ बाले सोध्नुभयो ।

‘हाम्रै पुरानो घडेरीमा,’ मैले भनेँ, ‘डुम्रीओ बुटो थैँ ।’

तीन चार दिनअघि थारूले बारी जोत्दा हाम्रो पुरानो घडेरीमा एउटा मज्जाको गाँजाको बोट मैले देखेको थिएँ । ‘कति राम्रो, लटक्क परेको गाँजाको बुटो रै’च’ मनमा सोच्दै त्यसलाई उखेल्ने प्रयास पनि गरेको थिएँ । तर, त्यो उखेलिएन । मैले पनि जोरजबर्जस्ती गरिनँ ।

लाइट बालेर बा र म पुरानो घडेरीनिर गयौँ । गाँजाको बोट साबुत रहेछ । ‘कति राम्रो बुटो रै’च,’ बाले गाँजाको बोट उखेल्दै भन्नुभयो, ‘डिलाँ भ’र अ‍ैलेसँ बच्योरै’च ।’

घर ल्याएपछि बाले बोटबाट स–साना हाँगा चुँड्नुभयो र त्यसलाई आगोमा सेकाउनुभयो । ओल्टाइपल्टाइ गरेपछि केही बेरमा पात झर्यामझुरुम भए । सालको सुकेको पातको चिलिम तयार भयो ।

मामा–भान्जा पालैपालो चिलिम तान्न थाले । मामा–भान्जाका गफ पनि चलेका छन्, चिलिम पनि चलेकै छ । बूढाहरू तिल्कानादेखिका स्मृति खोतल्न थाले । उनीहरू पुराना दिन सम्झिँदै बेलाबेला हाँस्थे । म सुनेर रमाइरहेको थिएँ ।

‘अब सुत्नपर्च,’ बाले भन्नुभयो, ‘रात पनि निकै भइसक्यो ।’ सुत्नुअघि हजुरबा पिसाब फेर्न भनेर बारीतिर जानुभयो । खै केमा हो ठेस्सिएर लड्नुभएछ ।

‘हैन बारीमा के छ भान्जा त्यस्तो ?’ फर्केपछि हजुरबाले सोध्नुभयो, ‘म त ठेस लाएर लडेँ ।’

‘ए…, मुलामा ठेस्सिनुभओ होला !’ बा हाँस्नुभयो ।

‘होइन, त्यस्ता मुला छन् !’ हजुरबाले आश्चर्य मान्दै भन्नुभयो, ‘बारीभरि मुला भ’र नि मलाई चाहिँ मुला नचखाउनी !’

हुन पनि बारीभरि मुला मात्रै थिए । त्यो साल यति धेरै मुला फल्यो कि बिहानै मुला, बेलुकी नै मुला । मुलाको तरकारी खाँदाखाँदै हामी वाक्क भएका थियौँ । मुला पनि फेरि वयस्कका पाखुराभन्दा ठूला !

‘के भन्नुभ’को हो मामा !’ बा हाँस्नुभयो, ‘अ‍ै भख्खरी त्यत्रो मुलाकै तर्काली (तरकारी) खानुभ’को होइन ?’

‘होइन, काँ मुला खानु !’ हजुरबा पनि हाँस्नुभयो, ‘त्यो त आलुको तरकारी पो त !’

आमाले दालमाथि आलु र मुलाको तरकारी बनाउनुभएको थियो । हजुरबा नआएको भए दाल पनि पाक्थ्यो कि पाक्दैनथ्यो !

‘ल मामाले पनि के भन्नुभ’को हो !’ बा हाँस्नुुभयो, ‘हैन तपैँलाई गाँजा लायो कि क्या हो !’

‘भान्जा पनि हेर न टार्न खोज्नुहुन्छ,’ हजुरबा फेरि हाँस्न थाल्नुभयो, ‘आलुको तरकारी ख्वार मुलाको तरकारी भन्नी ! भान्जा पनि… !’

बा हाँस्नुभयो । हजुरबा झन् बेस्सरी हाँस्नुभयो ।

मामा–भान्जा अब लगातार हाँस्न थाले । हाँसोको फोहोरा छुट्यो । उनीहरू हाँसेको देखेर म पनि हाँस्न थालेँ । उनीहरू गाँजाको तालमा हाँसेका थिए । म उनीहरूको ताल देखेर ।

निरन्तरको हाँसो सुनेर आमा पनि आइपुग्नुभयो ।

हजुरबा कसै गरे पनि मुला खाएको मान्न तयार हुनुभएन ।

‘खानी हो त ?’ बाको प्रश्न ।

‘खान पर्यो नि !’ हजुरबाको जवाफ ।

‘ओए केटा जा त बारीमा ग’र मज्जाको एउटा मुला लिएर आइजा,’ बाले मलाई अह्राउनुभयो । म बारीमा गएर एउटा सबैभन्दा सप्रेको मुला उखेलेर लिएर आएँ ।

‘जा धाराँ पखालेर ले,’ बाले भन्नुभयो, ‘भित्र’ट एउटा आँसी (हँसिया) नि ल्याएस् ।’

मैले धारामा गएर पहिला मुला पखालेँ । अनि भान्छामा गएर एउटा आँसी लिएर आएँ । आँसी र मुला बालाई दिएँ ।

बाले मुला काट्नुभयो । ‘लौनु अई मुलै ख्वाएन भान्जाले भन्नुभको होइन,’ बाले मुलाको फेदपट्टिको भाग हजुरबालाई दिँदै भन्नुभयो, ‘मूला आज कति खानपर्च खानोस् ।’

हजुरबाले मुला समाउनुभयो । ‘हेर न फेरि, यो टुप्पोपट्टिको मैलाई दिनपर्छ,’ मूला हेर्दै हजुरबा फेरि हाँस्न थाल्नुभयो । बा–आमा पनि हाँस्नुभयो । म पेट मिचेर हाँस्न थालेँ । हजुरबा मुलाको चानो वल्टाइपल्टाई गर्दै हाँसिरहनुभएको थियो ।

‘लौनोस् त नि यो,’ बाले टुप्पोतिरको भाग हजुरबातिर तेस्र्याउँदै भन्नुभयो । ‘हो, यो हो नि खास्साको फेदतिरको मूला,’ हजुरबाले खाँदाखाँदैको फेदतिरको मुला फालेर बाले दिएको टुप्पो समाउनुभयो ।

फेरि एक लहर हाँसो चल्यो । सबै जना हाँस्यौँ ।

त्यो रात अबेरसम्म हाम्रो घरमा हाँसो चलिरह्यो ।

सुतेपछि पनि बेला–बेला हजुरबा के–के बर्बराउँदै एक्लै हाँसिरहनुभएको थियो । उहाँ निदाएपछि मात्र हाम्रो घरको हाँसो थामियो ।

०००

सम्झेर मलाई अहिले पनि हाँसो उठिरहेको थियो । तर, हाँसोलाई मैले ओठभन्दा बाहिर आउन दिइनँ । मुस्कुराउँदै मैले कान्छाबाको अनुहारतिर हेरेँ । उहाँ बा र ती व्यक्तिका कुरा रुचिपूर्वक सुनिरहनुभएको थियो ।

‘मेरी आफन्त, एउटी कन्या छन्, यसपालि एसएलसी दिएर बसेकी, घर गुलरिया हो,’ ती व्यक्तिले भने, ‘यसपालि उनको बिहे नगरी भ’छैन । हजुरका भाइको पनि बिहा गर्नी कुरो रै’छ । हजुरहरू एकपटक हेर्न आउनपर्यो ।’

उनले एकैपटकमा धेरै कुरा भने ।

‘ए…!’ बाले उनीतिर पुलुक्क हेर्दै सोध्नुभयो, ‘गुलरिया काँनिर हो ?’

‘ठ्याक्कै बजारमै हो,’ उनले भने, ‘जिल्ला शिक्षा कार्यालयअगाडि ।’

कोही नयाँ मान्छे आएको आभास पाएर होला हजुरआमा पनि बाहिर आउनुभयो । हजुरआमालाई देख्नेबित्तिकै उनले नमस्कार गरे ।

‘आमा,’ बाले हजुरआमाको परिचय दिनुभयो ।

बाले केटीको उमेर, केटीको थर, घरपरिवार आदि धेरै कुराबारे जिज्ञासा राख्नुभयो । उनले पनि सबै कुराको जवाफ दिए ।
हजुरआमा पनि एउटा छेउमा उभिएर सबै कुरा सुनिरहनुभएको थियो ।

उनी पल्याकपुलुक यताउता हेरिरहेका थिए । उनले केटो पनि सोधेनन् । केटाको इलम र पढाइ पनि सोधेनन् । घर परिवारबारे पनि कुनै जिज्ञासा राखेनन् ।

बरु बाले नै कान्छाबातिर औँल्याउँदै भन्नुभयो, ‘केटो ईः यै हो के रे, घर पनि देखिहाल्नुभओ ! भनेजस्तो भए यसपालि बिआ अर्न नि खोजेको हो ।’

बाले औँल्याएपछि कान्छाबाको अनुहार झन् रातोपिरो भयो ।

‘ए… त्यसो भए कुरो मिलिहाल्यो नि !’ उनले भने, ‘केटीका बारेमा हजुरहरूले चिन्तै लिन पर्दैन, केटी असल छन् । ल भोलि नै हजुरहरू गुलरिया आउनपर्यो ।’

‘भोलि नै त खै कसरी आउनी र ! भ्याउन नि पर्यो,’ बाले भन्नुभयो, ‘यसो मिलाएर एक–दुई दिनपछि हामी आम्ला नि त !’

उनले आफू पनि गुलरिया जानुपर्ने भएकाले भोलि नै आउन कर गरे । बाले पनि अरू भाइहरू घरमा नभएकाले र आफूले नभ्याउने भएकाले भोलि नै आउन नसकिने कुरा राख्नुभयो ।

‘हजुर नभ्याउनी भए ह्वाँहरू आउनुहुन्छ नि त ! केटा–केटीकै देखभेट भए झन् राम्रो,’ उनले कान्छाबा र मतिर इसारा गर्दै भने, ‘हजुर पाको पर्नुभयो, हामी युवा परेम्, युवा–युवाको कुरो पनि मिल्छ ।’

बाले पुलुक्क हामीतिर हेर्नुभयो ।

‘बिहेको काम ढिलो गर्न हुन्न,’ उनले हाँस्दै भने,’ चट् मगनी, फट् बिहा ।’

उनले बालाई मनाउन धेरै कोसिस गरे । बाले पनि टार्ने कोसिस गरिरहनुभयो ।

केही सीप नलागेपछि बाले जिम्मेवारी हाम्रो टाउकोमा थोपरिदिनुभयो, ‘भोलि तिमेरु जान्चौ त ?’

कान्छाबा र म ट्वाँ पर्यौँ । एकअर्काको मुख हेर्न थाल्यौँ ।

‘आइहाल्नुहुन्च नि !’ हामी केही बोल्नुअघि उनै बोले, ‘भोलि बिहानै हिँड्नुहोला । खाना उतै खाउँला । म पनि उता (मगरागढी) बाट आउँछु । १० बजेतिर जिल्ला प्रहरी कार्यालयमा भेटौँला ।’

उनले थपे, ‘त्याँ कृष्ण भनेर नाम लिए सबैले मलाई चिन्छन्, गेटमा बसेको पुलिसले पनि चिन्छ ।’

उनले पूर्वयोजना नै बनाए झैँ गरी भने ।

हामी अझै केही बोलेनौँ । हाम्रो अप्ठेरो बुझेर हो वा केही सोचेर हो बा बोल्नुभयो, ‘हुन्च त नि हुन्च, भोलि यिनेरु आउँचन् ।’
बाले ‘हुन्च’ भन्नेबित्तिकै उनी बिदा मागेर हतार–हतार त्यहाँबाट हिँडिहाले । चिया खाएर जान हजुरआमाले गरेको आग्रह पनि उनले स्वीकारेनन् ।

उनी हिँडेपछि हामीबीच धेरै कुरा भए । सदानन्द हजुरबा र खगेश्वर सरसँग कुरा जोडिएकाले बालाई पनि केही जिज्ञासा थियो । उनीहरू जिम्मेवार र परिपक्व मान्छे थिए ।

फेरि हाम्रो घर आएका ती युवकको पाराले बालाई सशङ्कित तुल्याएको थियो ।

अहिलेको जस्तो मोबाइलको जमाना भएको भए बाले तुरुन्तै फोन गरेर सबै कुरा बुझ्नुहुन्थ्यो होला । तर…..।

‘खै, कुरा त्यति भरको जस्तो त लाएन,’ उनी गएपछि बाले हामीसँग भन्नुभयो, ‘जाओ न त जाओ, भोलि बाउ–छोरा गुलरिया घुमेर आओ । जाँदैमा के बिग्रियो र !’

भोलिपल्ट बिहानै कान्छाबा र म साइकलमा गुलरियातिर हिँड्यौँ । बाटामा हामीबीच त्यही केटीकै विषयमा धेरैथरि कुरा भए ।

कान्छाबा बेलाबेला मौन र गम्भीर देखिनुहुन्थ्यो । सायद केटीका बारेमा आयामिक कल्पनामा हराउनुहुन्थ्यो कि !

‘तपैँको त बजारमै ससुराली हुनी भयो,’ म बेलाबेला कान्छाबालाई जिस्काउँथेँ, ‘सहरीयाको ज्वाइँ भसी त सानै बेग्लै !’

‘मेरो ससुराली भओ भने तेरो पनि त मावली हुन्च नि !’ कान्छाबा पनि के कम ।

हामी नाताले काका–भतिज भए पनि साथीजस्तै थियौँ, छौँ । उमेर पनि जम्मा चार÷पाँच वर्षको मात्र अन्तर छ ।

‘हँ केटा ! त्याँ गसी के कुरा गर्नी होला ! कसरी कुरा गर्नी होला ?!’ कान्छाबा बेलाबेला यस्तै प्रश्न गर्नुहुन्थ्यो ।

‘पैला जान त जाम्,’ म भन्थेँ, ‘केटी हेरम्ला, केटीको घर हेरम्ला, केही सोधेचन् भने जवाफ दिम्ला नत्र फर्कम्ला ।’

हामी साढे नौ बजे कृष्णले भनेको ठाउँमा पुग्यौँ । दायाँ–बायाँ हेर्यौँ, उनी देखिएनन् । सोच्यौँ आइपुगेका रहेनछन् ।

हामी पुलिस चौकीको कम्पाउन्डभित्र छिर्यौँ । कम्पाउन्डभित्र पीपलको बोटमुनि आगन्तुकका लागि बस्न भनेर लहरै काठका ठेउका राखिएका थिए ।

हामी त्यसैमा बसेर उनको बाटो हेर्न थाल्यौँ ।

धेरैबेरसम्म हामी त्यहीँ कुरिरह्यौँ । उनको अत्तोपत्तो थिएन ।

समय घर्किंदै थियो, घाम चर्किंदै थियो । पीपलको बोटमुनि सुस्ताउन अरू मान्छे पनि आउने–जाने क्रम चलिहरेको थियो ।

म घरिघरि पुलिस चौकीमा आउने थरिथरिका मान्छेहरू हेरेर मजा लिइरहेको थिएँ । झुण्ड–झुण्ड मान्छे चौरमा पुलिससँग खुसामद गरिरहेका थिए ।

तर कान्छाबाको छट्पटाहट भने बेग्लै थियो । उहाँ गेटबाहिरतिर टाढाटाढासम्म आँखा दौडाइरहनुभएको थियो । ‘खोइ यतिबेलासम्म नआएपछि त्यो मान्छे आउलाजस्तो लागेन,’ कान्छाबाले भन्नुभयो, ‘हेर्दाहेर्दै आँखा पनि पाट्टिइसके ।’

कान्छाबाको मन अझ कति पाट्टियो (थाक्यो) होला !

आफ्नै लागि केटी हेर्न जाँदा यसरी पट्यारलाग्दोगरी कुर्नुपर्दा कान्छाबालाई कस्तो भयो होला ! यतिबेला भए पक्कै पनि म बुझ्थेँ । अहिले म सम्झिन्छु– अलबर्ट आइस्टाइनले सापेक्षतावादको सिद्धान्त त्यसै प्रतिपादन गरेका होइन रहेछन् ।

बाह्र बज्यो, एक पनि बज्यो । उनी आएनन् ।

निकैबेरदेखि एकै ठाउँ बसिरहेको देखेर होला गेटको एउटा पुलिसले आएर हामीलाई सोध्यो, ‘भाइहरूको ह्याँ के काम थियो होला ?’

‘हामी कृष्ण सरलाई कुरेर बसेको,’ कान्छाबाले भन्नुभयो, ‘उहाँले हामीलाई ह्यैँ बस्न भन्नुभ’को थियो ।’

‘को कृष्ण ?’ उसले एक डोज ठट्टा गर्यो, ‘भगवान् कृष्ण !

हामी हाँस्यौँ । ऊ पनि मुस्कुरायो ।

को कृष्ण, को कृष्ण ! हामीलाई पनि त उनका बारेमा धेरै कुरा कहाँ थाहा थियो र !

‘कृष्ण घिमिरे,’ कान्छाबाले केही सम्झे झैँ भन्नुभयो, ‘हजुरले पनि चिन्नुहुन्छ होला, ह्वाँको घर मङ्ग्रागाडी हो । प्रायः यतै बस्नुहुन्छ रे !’

‘म अरू कोई कृष्ण–सिस्न चिन्दिनँ,’ बर्दीधारीले जाँदाजाँदै भन्यो, ‘मैले चिन्ने त उनै कृष्णलाई मात्र हो !’

पुलिस कार्यालय ठीक अगाडि एउटा किराना पसल थियो । उनले त्यो पसलको मान्छेले पनि आफूलाई चिन्ने बताएका थिए ।

हामी किराना पसलतिर गयौँ ।

‘दाइ, कृष्ण सर यता आउनुभ’को छैन ?’ मैले पसलेसित सोधेँ ।

‘कृष्ण ! को कृष्ण…? कृष्ण के…?’ उसले एकैपटक दुई प्रश्न सोध्यो ।

‘घिमिरे…,’ पछिल्लो प्रश्नको जवाफ कान्छाबाले दिनुभयो ।

हामीले उनका बारे थाहा पाएसम्मका जानकारी दियौँ । ऊ झन् ‘कम्फ्युज’ भयो । उसले सम्झिने कोसिस गर्यो । सकेन ।

‘खै, थाहा भएन,’ ओठ लेप्र्याउँदै ऊ अर्को ग्राहकतिर मोडियो ।

बाहिर घाम चर्का थिए । भित्र पीपलको छाया त थियो । बाहिर त शीलत बस्ने ठाउँ पनि थिएन ।

दुई बजिसकेको थियो ।

‘जाम्, बजारतिर यसो घुमेर आम्,’ मैले भनेँ, ‘खरो पनि भयो ।’

हामी जामुन चौतारातिर लाग्यौँ । जामुनको ठूलो बोटमुनि चौतारो चिनिएको थियो । चौतारामा थुप्रै मान्छे सुस्ताइरहेका थिए ।

बरफ बेच्ने, उखुको रस बेच्ने र खित्रीमित्री बेच्नेहरू पनि त्यहीँ थिए ।

हामीले साइकल अड्याएर दुई–दुई गिलास उखुको जुस पियौँ ।

त्यसपछि हामी साइकल डोर्याउँदै शिक्षा कार्यालय जाने मोडसम्म पुग्यौँ । शिक्षा कार्यालय अगाडिबाट एउटा सीधा बाटो पूर्व जान्थ्यो । जुन सुनसान थियो । उनले भनेको ‘लोकेसन’ पनि यही थियो ।

‘कुन घर होला !’ बाटोछेउका घरतिर आँखा नचाउँदै कान्छाबाले भन्नुभयो ।

‘शिक्षा कार्यालयअगाडि भन्ते केरे,’ मैले एउटा घरतिर चोर औँलो तेस्र्याउँदै भनेँ, ‘ऊ त्यो हो कि !’

कान्छाबाले एकछिनसम्म त्यो घरतिर हेर्नुभयो । कोही देखिन्छ कि भनेर होला !

हामी फेरि फर्केर प्रहरी कार्यालयका तिनै काठका ठेउकामा आएर बस्यौँ । त्यो पुलिसलाई देख्नेबित्तिकै मलाई हाँसो उठ्यो ।

म मुसुक्क हाँसे । उसले पनि त्यसैगरी प्रतिउत्तर दियो ।

तीन बज्न थालिसकेको थियो । ‘भो अब घर जाम्,’ मैले भनेँ, ‘अब ती मान्छे आउँदैनन् ।’

हामी हिँड्नै लागेका थियौँ कृष्ण परैबाट नमस्कार गर्दै गेटभित्र छिरे । ‘सरी है,’ उनले भने, ‘घरमा एउटा जरुरी काम परेर ढिलो भयो ।’

‘हामी त कुर्दाकुर्दै थाकेर फर्किन लाका,’ कान्छाबाले भन्नुभयो ।

‘ल अब जाम्,’ उनले भने ।

हामी उनका पछि लाग्यौँ । उनी चुनावको नेताले झैँ बाटामा भेटिएजति सबैलाई नमस्कार गर्दै हिँडिरहेका थिए । कोही उनको नमस्कार फर्काउँथ्यो । कोही नदेखे झैँ गरी हिँड्थ्यो ।

उनले हामीलाई अघि हामी पुगेकै ठाउँ (शिक्षा कार्यालय) तिर लिएर गए । हामीले हेरेकै बाटोतिर उनी अगाडि बढे । हामी उनलाई पछ्याइरहेका थियौँ ।

अलि पर पुगेपछि उनले बाटैबाट औँलाले एउटा घर देखाए, ‘केटीको घर ऊ त्यही हो ।’

फराकिलो आँगन भएको कम्पाउन्डसहितको एकतले घर थियो । छेउछेउमा विभिन्न थरिका फूल रोपिएका थिए । बीच–बीचमा तीन–चारवटा धूपीका बोट पनि थिए । बगैँचा र आँगन सफा र सिनित्त थियो ।

उनले बाटैमा हामीलाई सोधे, ‘घर कस्तो लायो ?’

‘ठीकै छ,’ कान्छाबाले भन्नुभयो । साँच्चै घर राम्रो थियो ।

‘त्यसो भए ल आउनोस्,’ उनले गएकै बाटो फर्किदै हामीलाई पछि लाग्न आग्रह गरे । हामीलाई केटीको घरतिर लैजालान् भनेको त उनले बाटैबाट फर्काइरहेका थिए ।

‘केटीको घर नजानी ?!’ आश्चर्य मान्दै मैले सोधेँ ।

‘घरमा अहिले कोई पनि छैन, रित्तो घरमा गएर के गर्नी,’ उनले भने, ‘केटी हिजोमात्र आमासँग मामाघर गएकी छन् रे । दुई चार दिनमा आउँछिन् ।’

‘केटीका बा त हुनुहोला नि !’ मैले अझै थपेँ । कान्छाबा चुपचाप हुनुहुन्थ्यो ।

‘केटीका बासँग कुरै मिल्दैन,’ उनले भने, ‘घरको सबै व्यवहार गर्ने केटीकी आमाले हो ।’

उनले पकेटबाट आफ्नो पर्स निकाले । पर्सका भित्री चेप–चेपका खल्ती हेर्न थाले । एकछिनपछि पर्स फेरि खल्तीमै हाले ।

के ताल हो यो हामी केही बुझिरहेका थिएनौँ । उनको ताल देखेर हामी काका–भतिज एकअर्काको मुख हेराहेर गथ्यौँ ।

‘ल आउनोस्,’ भन्दै उनी अघि लागे, ‘म हजुरहरूलाई केटीको फोटो देखाउँछु ।’ हामी उनका पछि–पछि हिँड्यौँ ।

‘हजुरहरू यतै बस्नोस्, म केटीको फोटो लिएर आउँछु’ भन्दै उनी घिमिरे फोटो स्टुडियोतिर लागे । उनले पहिला साहुजीलाई नमस्कार गरे । साहुजी अरू ग्राहकसँग व्यस्त थिए ।

हामी बाटामै कुरेर बसिरहेका थियौँ । भीड हटेपछि उनले साहुजीसँग खासखुस गरे, जुन बाटासम्म सुनिँदैनथ्यो । एकछिनपछि साहुजी र उनी भित्री कोठामा पसे ।

लगभग १० मिनेटपछि दुवै जना निस्किए । फर्किंदा उनको हातमा पोस्टकार्ड साइजको एउटा फोटो थियो ।

‘ईः केटी यिनै हुन्,’ उनले फोटो हामीलाई दिए । पहिला कान्छाबाले हेर्नुभयो । त्यसपछि मलाई दिनुभयो । हामीले फोटोलाई गहिरिएर हेर्यौँ ।

मलाई केटी राम्रै लाग्यो । गोरो अनुहार, सर्लक्क परेको लामो कपाल, ठीक्कको नाक । पहेँलो ड्रेसमा निकै खुलेकी थिइन् । साँच्चै केटी राम्री थिइन् ।

‘कस्तो लाग्यो त केटी ?’ उनले कान्छाबासँग सोधे ।

‘ठीकै छ, राम्री छन्,’ कान्छाबाले भन्नुभयो ।

‘घर पनि हेर्नुभयो, केटी पनि हेर्नुभयो, अब के छ त विचार ?’ उनले फेरि सोधे ।

कान्छाबा अक्क न बक्क पर्नुभयो । म पनि केही बोल्न सकिनँ ।

‘हामीलाई त ठीकै लायो, तर हामीले भनेर मत्रै भएन,’ कान्छाबाले भन्नुभयो, ‘घरमा दाजीहरू हुनुहुन्छ । सल्लाह गरेर पछि भनम्ला ।’

‘केटालाई मन परे त सक्किगो नि !’ उनले भने, ‘तपाईं त तयार हुनुहुन्छ नि !’

बिहेजस्तो कुरामा उनी तात्तातो निर्णय खोजिरहेका थिए ।

टाढैबाट घर देखेर र केटीको फोटो हेरेर मात्र बिहेको निर्णय कसरी दिन सकिन्थ्यो र ! फेरि निर्णायक हामी थिएनौँ । सबै कुरा गर्न त परिवारका अभिभवाकहरू छँदै थिए ।

हामी उनीसँग छुट्टिन खोज्यौँ । उनले फेरि भने, ‘त्यसो भए म कुरा पक्का सम्झौँ त ?’

‘हामी चाँडै निर्णय दिन्छौँ,’ कान्छाबाले फुत्किने उपाय खोज्दै भन्नुभयो ।

‘तीन/चार दिनपछि आउनुहोला, केटी पनि आउँछिन्, परिवारसँग पनि भेट हुन्छ,’ जाँदाजाँदै उनले भने, ‘यही वैशाख पहिलो हप्तामै बिहे गर्नुपर्छ ।’

बल्लबल्ल उनीसँग छुट्टिएर हामी घरतिर हिँड्यौ । घाम मलीन भइसकेका थिए । भोकले आन्द्रा बटारिएका थिए ।

जिविसनिर आएर हामीले एउटा पसलमा नास्ता खायौँ र बाटो लाग्यौँ । उनले त हामीलाई कतै चिया खाउँ पनि भनेनन् ।

फर्किदा हामी दिनभरिको समीक्षा गरिरहेका थियौँ । घाममा दिनभरि भोकभोकै दुःख पाएका थियौँँ । त्यो मान्छेका व्यवहार सम्झेर हाँसो पनि उठिरहेको थियो । एक जना उडन्तेका पछि लागेर हामीले एउटा दिन सर्लक्क फालेका थियौँ ।

‘लमी जस्तो भए नि केटीको घर र केटी त राम्रै हुन् है ?’ मैले फर्किंदै गर्दा कान्छाबासँग भनेँँ ।

‘के था…!’ कान्छाबाले दाहिने हात नचाउँदै भन्नुभयो, ‘घर पनि बाटै’ट हेरियो, केटी पनि फोटोमा मत्रै देखियो, न ती दुवै अर्कैका पो थिए कि !!’

कान्छाबाको तर्कमा दम थियो ।

हामीले सबै कुरा घरकालाई सुनायौँ । घरका पनि मरीमरी हाँस्न थाले । हामीले त्यो कुरालाई महत्त्व दिएनौँ । दोहोर्याएर उताबाट पनि कुरा आएन । कथा सकियो ।

बुझ्दै जाँदा पछि पो थाहा भयो, उताको कथा त अर्कै रहेछ, जुन यहाँ लेख्न मिल्दैन ।