मेरो एकजना साथी छ– हेमराज पौडेल । बर्दियाको कतर्नियामा उसको ठूलो व्यापार छ । श्रीमति, छोरा–छोरी, बाँसगढी–कोहलपुर–नेपालगन्जतिर घर–घडेरी, मोटर–गाडी, बैङ्क–ब्यालेन्स सबै चिज छ, अहिले ऊसँग । भनौँ, सम्पन्न छ ।
उहिले– यी कुनै पनि कुरा थिएनन्, ऊसँग । एउटा ‘टुहुरो केटो’ थियो ऊ । उसकी आमा थिइनन् ।
ऊ ‘हेमराज’ पनि भइसकेको थिएन, ‘देउता’ नै थियो । गाउँघरमा बोलाउने उसको नाम यही थियो ।
०००
एक दिन तीन/चार जना उसको आँगनमा बसेर गाउँखाने कथा भन्दै थियौँ ।
‘कुन सुन सेतो हुन्छ ?’
‘लसुन ।’
‘कुन रानीले भाँडा माझ्छिन् ?’
‘खरानीले ।’
यस्तैमा देउताले फ्याट्ट सोध्यो– ‘कुन फल बूढो छ ?’
कुन फल बूढो छ ? हामी मुखामुख गर्न थाल्यौं ।
अघिल्ला प्रश्न त हामीले कतै सुनिसकेका थियौँ । तर, यो प्रश्न भने हामी पहिलोपटक सुन्दै थियौं ।
कसैले जवाफ दिन सकेनौं ।
‘ल उसो भए गाउँ देओ !’ ऊ विजयी भावमा मुस्कुरायो ।
‘डेउढा, थुमनी, तोरैया, भैँसासुर,’ हामीले थुप्रै विकट गाउँ दियौं । अहँ, ऊ मानेन ।
‘ल ल लक्ष्मना,’ अन्त्यमा कसैले भन्यो ।
ऊ जवाफ दिन राजी भयो ।
‘उः त्यता हेर त,’ उसले बाटोतिर इसारा गर्यो ।
हामीले देख्यौँ – बाटोमा लौरो टेकेर बूढो रामफल थारू हिँड्दै थियो ।
अब के चाहियो, हामी मरीमरी हाँस्न थाल्यौँ ।
ऊ त्यस्तो थियो । केटाहरू भन्थे – ‘मान्छे त ८४० नै हो नि ! अर्थात् ४२० को डबल !’
सानोमा गुच्चा, खोपी र अलि ठूलो भएपछि तासमा पनि ऊ जमेको थियो ।
‘देउता सपनामा पनि ‘हुकुमको एक्का–हुकुमको एक्का’ भन्दै बर्बराउँछ रे !’
‘देउताको खल्तीमा एक बुक तास त कहिल्यै टुट्दैन !’
यस्ता किस्सा सुनिन्थे गाउँमा ।
ऊ हाम्रो साथी थियो । हामी अर्थात् म, विष्णु पौडेल र ठाकुर पौडेल । साथी त हाम्रा अरू पनि थिए । तर, हाम्रो दोस्ती जम्नुका खास कारण थिए ।
मुख्य कारण त यही थियो कि ‘कलबे्रक’ को कोरम पुग्न चार जना आवश्यक थियो ।
तिनताक ‘म्यारिज’ले प्रवेश पाइसकेको थिएन । ‘कलबे्रक’ मै हामी रत्तिएका थियौँ । एक रङ निकालेर कहिलेकाहीँ तीनै जनाले पनि काम चलाउँथ्यौँ ।
अरू सहायक कारण थुप्रै थिए, जस्तोः
– देउता रमाइलो मानिस थियो ।
– विष्णु र देउता सहपाठी थिए । ठाकुर र म उनीहरूभन्दा क्रमशः एक कक्षा सिनियर र जुनियर । विष्णु र ठाकुर कुनैठीमा बस्थे, म र देउता माछागढमा । ठाकुर र विष्णुको जोडीजस्तै देउता र मेरो जोडी पनि ‘शोले’ का अमिताभ र धर्मेन्द्रको जस्तै पक्का थियो । ‘मितका मित मेरा पनि मित’ भनेजस्तै साथीका साथी भएकाले हामी सबै साथी भयौँ ।
– खोलो–टोलो एउटै र टाढाका आफन्त भएकाले पारिवारिक रूपमा पनि हामी एक–आपसमा जेलिएका थियौँ ।
– ककौराको स्कुल त हामी सबैको साझा छँदै थियो ।
यसरी हामी नजिकिएका थियौँ । धेरै कुरामा हाम्रो मतो पनि मिल्थ्यो ।
‘ल आज जम्नपर्च,’ कोही प्रस्ताव राख्थ्यो ।
‘ओके डन !’ बाँकीको ‘हन्ड्रेड प्रसेन्ट’ समर्थन आइहाल्थ्यो ।
सुरक्षित ठाउँको खोजीमा कहिले खोल्साखोल्सी, कहिले वन, त कहिले अँटुवातिर लाग्थ्यौँ ।
०४८ सालसम्म हाम्रो दोस्ती खुब जम्यो ।
एसएलसीपछि लुङ चुँडिएको पोते झैँ हाम्रो जोडी छिन्नभिन भयो । ठाकुर र विष्णु क्याम्पस पढ्न नेपालगन्ज गए, देउता कोहलपुर ।
म बबई सिँचाइ आयोजनाको जागिरे भएर बैदीतिर हल्लिएँ । एमाले नौमहिने कालको नौमहिने जागिर सकिएपछि ०५२ सालमा म काठमाडौँतिर हान्निएँ ।
हो, त्यही साल फूलपाती अघिल्लो दिनको घटना हो ।
म दसैँ मनाउन घर गएको थिएँ । घर जाँदा अधिकांश समय म देउतासँगै हुन्थेँ ।
देउता र म हाम्रो घरदेखि दक्षिणको बगैँचातिर घुम्न निस्किएका थियौँ । बेलुकाको समय थियो ।
डाङ्ग्रेहरू बाँसघारीमा बास बस्ने तरखर गर्दै थिए ।
दक्षिणतिरबाट एउटा साइकल हाम्रो अगाडि आएर घ्याच्च रोकियो । साइकलमा थिए– विष्णु र ठाकुर ।
‘साले, यी त ह्याँ पो मरेका रचन् !’ विष्णु साइकलबाटै कराए, ‘यिनेरूलाई खोज्न हामी काँ–काँ पुएम् !’
हामीबीच केहीबेर बतासे गफ भए ।
‘हामी त आज राति जम्नी भनेर तिमेरूलाई खोज्दै आ’का,’ विष्णु मूल विषयमा प्रवेश गरे, ‘के छ विचार ?’
विचार के ? यस्ता कुरामा कुनै विचार गरिरहनुपर्ने आवश्यकतै थिएन । तर, एउटा समस्याचाहिँ थियो ।
‘काँ खेल्नी नि ?’ मैले समस्या दर्शाएँ, ‘घरकाले था’ पाए भने फेरि मार्चन् ।’
‘त्यसको तिमी चिन्तै नलेऊ,’ विष्णुले भने, ‘परस्पुर हाम्री दिदीको घर खाली छ ।’
परस्पुर गाउँ माछागढ र कुनैठीको बीच समदूरीमा पथ्र्यो । दुवैतिरबाट करिब २० मिनेट लाग्दो हो ! विष्णुकी दिदीको घर त्यही गाउँको पूर्व, एकान्तमा थियो ।
भिनाजु भारततिर नोकरी गर्थे । त्यसैले दिदी प्रायः केटाकेटीसहित माइतीमै बस्थिन् ।
घर कुर्न कहिलेकाहीँ विष्णुका बा जाने गर्थे ।
‘आज म आउँचु,’ विष्णुले भने ।
त्यहीँ उभिएर हामीले बाँकी योजना बनायौँ ।
योजनामुताबिक म र देउता यताबाट जाने, ठाकुर र विष्णु उताबाट आउने निधो भयो । ढिलोमा साढे आठ बजेको समय तय गरियो ।
‘साढे आठ बजे पक्का नि !’ विष्णु आश्वस्त हुन खोजे, ‘आउँचौ हैन ?’
‘तास खेल्नी भनेसी हामी नआम्ला त !’ देउताले भन्यो, ‘बरु तिमेरू नआउला !’
‘आउँचम्, आउँचम्,’ विष्णुले भने ।
‘आ’नौ भने…?’ देउता अझ आश्वस्त थिएन, ‘आ’नौ भने घरसर भत्काइदिन्चम् नि !’
‘साले…,’ विष्णु बेपर्वाह बोले, ‘ल ल हुन्च !’
‘ए अनि…,’ विष्णुले झट्ट केही सम्झिए झैँ भने, ‘तास तिमेरूको जिम्मा, कापी र कलम हामी ल्याउँचम् ।’
‘अल्यै चाइन्च ?’ खल्तीबाट एक बुक तास निकालेर प्याट्ट आफ्नै अर्को हातमा बजार्दै देउताले भन्यो । सबै जना हाँस्यौँ ।
‘ल, सि यु भरे,’ हामी छुट्टियौँ ।
हाम्रै घर गएर देउताले र मैले भात खायौँ ।
‘आमा, म आज सुत्न देउताकाँ जान्चु,’ मैले आमासँग भनेँ । ‘दुई दिन घर आए’नि तेरो बास घराँ हुन्न है !’ आमाले आँखा तर्दै पुर्लुक्क मतिर हेर्नुभयो ।
हामी विष्णुकी दिदीको घर पुग्दा ठ्याक्कै आठ बजेर तेईस मिनेट गएको थियो ।
ढोकामा बढेमानको इन्डियन ताल्चा झुन्डिएको थियो । उनीहरू आइपुगेका रहेनछन् ।
दिदीको घर मूलबाटोबाट भित्र पथ्र्यो, अलिकति आँठा (खेतको आली) को बाटो हिँड्नुपर्ने ।
हामी फेरि मूलबाटोमा निस्कियौँ । सिमलको रूखमुनि बसेर उनीहरू आउने बाटो कुर्न थाल्यौँ ।
निकैबेर भइसकेको थियो । मैले पिलिक्क बत्ती बालेर डिलबहादुर दाइले लेबनानबाट ल्याइदिएको चिमचिमे घडी हेरेँ । आठ बजेर उनान्साठी मिनेट गएको रहेछ ।
‘सवा नौसम्म कुरम्,’ देउताले भन्यो ।
जति समय घर्किंदै थियो, उति हाम्रो अधैर्य पनि बढ्दै थियो । बेलाबेला देउता भुत्भुताउँथ्यो ।
सवा नौ पनि कट्यो, अँह उनीहरू आएनन् ।
‘जाम्,’ मैले भनेँ, ‘अब आउँदैनन् ।’
‘उताबाट आए कि !’ देउताले अझै आस मारेको थिएन, ‘लास्ट एकचोटि हेरम्, अनि जाम्ला !’ हामीले कुरेभन्दा अलि परबाट आँठाको बाटो सोझै दिदीको घरसम्म पुग्न सकिन्थ्यो ।
ढोकामा ताल्चा उसैगरी झुन्डिरहेको थियो । देउताले ताल्चा समाएर दुई–तीनपल्ट आफूतिर तान्यो ।
‘सालेहरूले नराम्ररी धोका दिए,’ देउताले दाहिने खुट्टो उठाएर एक लात ढोकामा दियो ।
‘धड्याम्म !’
‘ला… !’
ढोका त चौकोससहित ड्याम्मै लड्यो बा !
हामी स्तब्ध भयौँ ।
हाँसो पनि लाग्यो ।
‘के गरेको यार तिम्ले ?’ हाँस्दै मैले भनेँ ।
देउता केही बोल्नै सकेन ।
झिँगटीमा माटोले लिपेर बनाएको भित्तो र त्यसैमा अड्याएको चौकोस साँच्चै चोरलाई झुक्याउन मात्रै रहेछ ।
ढोकालाई उठाएर पुनः बाँधबुँध गरेर अड्याउन सकिन्छ कि भनेर कोसिस गर्यौँ । मिलेन ।
एकान्तको घर त्यसमाथि दिउँसै पनि ढुक्क हुन सक्नेखालका छिमेकी थिएनन् ।
कस्तो आपत् आइपर्यो !
‘जाम्,’ एकछिन भत्केको ढोकातिर हेरेपछि देउताले भन्यो, ‘विष्णुकाँ ग’र सप्पै कुरा भन्दिम् ।’
‘तिमी पागल त भ’नौ,’ म झर्किएँ, ‘यतिखेर विष्णुकाँ जाँदा विष्णुका बा–आमाले के भन्चन् ?’
देउता एकछिन घोरियो ।
अन्ततः विष्णुकहाँ जाने नै निधो भयो ।
फराकिलो र छ्याङ्ग आँगन । आँगनमै सटेको बाटो । आँगनको एक छेउमा धारो, अर्को छेउमा गोठ थिए ।
विष्णुको घरलाई बाटोले यु आकारमा घेरेको थियो । फराकिलो र छ्याङ्ग आँगन । आँगनमै सटेको बाटो । आँगनको एक छेउमा धारो, अर्को छेउमा गोठ थिए ।
आधा बाटो पुगेपछि देउताले भन्यो, ‘सुन ! तिमी चुपचाप हिँड मत्रै ! बाँकी काम म गर्चु ।’
जब विष्णुको घरनजिकै पुगियो तब देउता पाखुरा सुर्किंदै घरि बाटाको वल्लोछेउ घरि पल्लोछेउ गर्दै हिँड्न थाल्यो ।
उसका खुट्टा लर्बरिन थाले । सँगसँग चर्को स्वरमा चिच्याउन पनि थाल्यो, ‘मा…ई…का लाल ! कोई छ ? आइजा ।…आज म छोड्दिनँ…। माईका लाल..।’ देउता घरिघरि मलाई धक्याउँदै पनि थियो ।
ऊ साक्षात् जँड्याहाको रूपमा अवतरित भएको थियो । अकस्मात उसको यस्तो रूप देखेर म हाँसो थाम्न सकिरहेको थिइनँ ।
मुख थुनेर हाँस्दा मेरो हाँसो जँड्याहाको बोली जस्तै विकृत बनिरहेको थियो, शरीर पनि नियन्त्रणमा थिएन ।
विष्णुकी आमा पिँढीमै रैछिन् । भनिन्– ‘हेर त कुन् चैँ जाँडले मत्तु भ’र तथानाम फलाक्तै हिँड्यो छ ।’
विष्णुको घरबाट ओझेल परेपछि मेरो हात तान्दै ऊ बाटाको एउटा कुनामा टुक्रुक्क बस्यो ।
‘साले नाटक गर्चस्,’ विष्णु धारातिरबाट फुत्त निस्के । देउताले लामो सास तान्यो ।
हतार–हतार देउताले सबै कुरा बतायो । विष्णुले पत्याएनन् ।
‘हो यार !’ मैले थपेँ, ‘नत्र हामी ह्याँ आउनिथेनम् ।’
‘साँच्चै हो ?’ बल्ल विष्णु स्तब्ध भए ।
‘साँच्चै भत्काम् भनेर हो र !’ देउताले भन्यो, ‘ख्याल गर्दा स्याल पल्ट्यो । साले बेलाँ आउनु छैन… !’
‘आज भात पाक्नै ढिलो भयो,’ विष्णुले भने, ‘अब जान ला’थेँ ।’
‘ल अब जे गर्नी हो गर्,’ देउताले भन्यो, ‘हामी त घर हिँडेम्, तँलाई था’दिन यति नाटक गर्न पर्यो !’
‘साले अर्काको घर भत्का’र हिँडेम् पो भन्च,’ विष्णु झर्किए, ‘अब मैले मत्रै क्यार्नी नि !’
के गर्ने के गर्ने ? एकछिन हामी सबै अन्योलग्रस्त भयौँ ।
‘ठाकुर भात खा’र आउँचु भन्ते,’ विष्णुले ठाकुर आउने बाटो हेर्दै भने, ‘यसबेलासँ तिनी नि आ’नन् ।’
यतिबेलासम्म दस बजेर नौ मिनेट गइसकेको थियो ।
‘ल त्यसो भए यसो अरम्,’ देउता बोल्यो, ‘ठाकुर आ’सी जाम्, तास पनि खेलम्, रातभरि घर पनि कुरिन्च ।’
‘हुन्च हुन्च,’ हत्तपत्त विष्णुले भने ।
ठाकुरको घर विष्णुको घरदेखि करिब पाँच मिनेटको दूरीमा वनको किनारमा थियो ।
हामी ठाकुरको घरतिरै अघि बढ्यौँ । घरनजिकैको चोकमा बसेर ठाकुर आउने बाटो कुर्न थाल्यौँ ।
रात चकमन्न भइसकेको थियो । ठाकुर आउने कुनै सङ्केत देखिएन ।
‘ठाकुर पनि आउलान् जस्तो छैन,’ देउताले ओठ लेप्र्याउँदै भन्यो, ‘बरु जाम्, बोला’रै ल्याम् ।’
‘यसबेला… !?’ विष्णुले भने ।
बाटावारि लहरै गाउँ थियो, पारि जङ्गल । त्यही गाउँको लहरमा थियो ठाकुरको घर । गाउँको छेउमा धाइराका स–साना घारी थिए ।
‘तिमेरू यतै लुक,’ देउताले भन्यो, ‘म जान्चु ।’
हामी धाइराको घारीमा छेल परेर बस्यौँ । देउता तगाराबाटै ‘ठाकुर ! ठाकुर !’ भन्दै ठाकुरको आँगनमा पुग्यो ।
‘को हो ?’ ठाकुरकी आमा आँगनमै रैछिन् ।
‘म, म के देउता !’ देउताले भन्यो ।
‘ए.. यसबेला काँ’ट आयौ ?’ उनले सोधिन् ।
विष्णु र म झाडीमा लुकेर सबै कुरा सुनिरहेका थियौँ ।
‘बाले पठा’र वनगाई ग’थिएँ । त्याँ खाना नखाई आउनै दिएनन्,’ देउता पूरै काँमेजस्तै बोलिरहेको थियो, ‘आउँदा कन्जरुवाँ (ग्याङ खोलामा) भूतले लखेट्यो ।’
वनगाई र कुनैठीको बीचमा वन र वनका बीचमा कन्जरुवा खोलो पथ्र्यो । खोलामा स–सानो घाट पनि थियो ।
‘अनि यति राति किन आ’का त !’ ठाकुरका बाको बोली सुनियो, ‘उतै बसेकाभा’हुन्त्यो नि !’
‘हुन त हुन्त्यो ! बस पनि भन्या थिए,’ देउताले भन्यो, ‘तर बाले जसरी नि घर आएस् भन्नुभ’थियो, आज बा नि घर हुनुन्न ।’
थप्यो, ‘त्यै भ’र म त ठाकुरलाई लान भनेर ह्याँ पसेको ।’
बोल्दा देउता रुँला–रुँला झैँ गरिरहेको थियो (कुन्नि रोएको पनि थियो कि !) ।
देउतालाई त्यहीँ बस्न ठाकुरका बा–आमाले निकै कर गरे । तर, उसले अनेक बहाना गरेर मरिगए बस्न मानेन ।
‘ढाँटेका त होइनौ ?’ अन्त्यमा केही सीप नलागेपछि ठाकुरका बाले भने, ‘ढाँटेका र’चौ भने फेरि भोलि मैले जान्यो छु !’
ठाकुर र देउता घरदेखि अलि वर आएपछि हामी पनि झाडीबाट फुत्त निस्किएर उनीहरूसँग मिसियौँ ।
‘बल्ल कोरम पुग्यो,’ देउता मुसुक्क हाँस्यो ।
हामी परस्पुर पुग्दा एघार बजिसकेको थियो ।
‘सालेहरूले त खत्तम पार्या रै’चन् नि,’ ढोकाको हालत देखेर विष्णु जङ्गिए ।
विष्णुले सलाई खोजेर बत्ती बाले । देउताले तासको बुक खल्तीबाट निकालेर खाटमा पछार्यो ।
‘ला….!’ विष्णु अकस्मात केही सम्झे झैँ बोले, ‘कापी र कलम त ल्याउनै बिर्सिएच ।’
सबैले मुखामुख गर्यौँ । कापी–कलम कसैसँग थिएन ।
घरमा चारैतिर खोज्यौँ । कतै भेटिएन ।
‘साला ! यति अर्दा नि आज जम्न लेख्यो रइन्च,’ देउताले पुर्पुरो समायो । हामी खित्रिक्क पर्यौँ ।
वातावरणमा एकछिन मौनता छायो ।
केहीबेरको मौनतापछि विष्णुले एउटा उपाय सुझाए– ‘थारू गाउँमा मैले ट्युसन पढाका केटा’रू छन् । त्यैँ ग’र कापी कलम लिएर आम् ।’
विष्णुका कुराले हाम्रा अनुहार घामले मुर्झाएको बिरुवाले पानी पाएजस्तै भए ।
विष्णु र देउता थारू गाउँतिर लागे ।
हामी ढुक्क भने थिएनौँ । किनकि, सारा थारू गाउँ सात बजेदेखि नै घुर्न थालिसकेको हुन्थ्यो ।
करिब पन्ध्र मिनेटमा कापीका दुइटा लक्का र एउटा डटपेन हल्लाउँदै देउता र विष्णु आइपुगे ।
‘अब केको विलम्ब !’ हामी ‘जम्न’ थाल्यौँ ।
हाम्रो हाँसो तासमा मिसिँदै गयो । हाम्रा गफ इँटा, हुकुम, पान, चिडीमा रूपान्तरित हुँदै गए ।
स्याल कराए । भाले बासे । हामीलाई कुनै पत्तो भएन । समय तासमा फिटिँदै गयो ।
‘ओ हो ! ६ बजिसकेछ !’ घडी हेर्दै म बोलेँ ।
‘हो र ! अब उठम् यार,’ हामीबीच सहमति भयो ।
अन्त्यमा, ठाकुरले खेलको रिजल्ट सुनाए– ‘देउता चार रुपियाँ प्लस, विष्णु तीन रुपियाँ माइनस, सनत एक रुपियाँ प्लस र म दुई रुपियाँ माइनस ।’
यसरी एउटा रात छर्लंग बित्यो ।
०००
प्रत्येक वर्ष दसैँ आउँछ, तर हाम्रा त्यस्ता दिन फेरि फर्केर कहिल्यै आएनन् । अहिले हामी सबैका ठेगाना बदलिएका छन् । भेट दुर्लभ छ । सुन्छु– विष्णु र ठाकुर नेपाल सरकारका अधिकृत छन् । देउता निरन्तर सम्पन्नताको शिखर चढिरहेछ । अहिले त उसलाई ‘म्यारिज’ खेल्न पनि आउँदैन ।
रामफल काका, देउताका बा, ठाकुरका बा, विष्णुकी आमा पनि यो संसारमा छैनन् ।
तर, उनीहरू हाम्रा स्मृतिमा बाँचिरहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।