जब वर्षा सकिएर शरद लाग्थ्यो, शारदीय घामका सुनौला किरणले हामीलाई मोहित पार्थे । हरिया धानका पातमा टल्किने घामका किरण हामीलाई लोभ्याउन पर्याप्त थिए । बर्खे झरी निख्रिएपछिका सुकिला घाम दसैँ आएको पूर्वाभास दिलाउँथे । हामी त्यसै–त्यसै पुलकित हुन्थ्यौँ ।
जब वसन्त आउँथ्यो, वनमा कुहुकुहु गर्ने कोइलीको आवाजले हामीलाई लठ्याउँथ्यो । रूख–बिरुवा पुराना पात फालेर नयाँ पालुवा हाल्थे । मानौँ ती नयाँ लुगा फेरिरहेछन् । न्यानो र स्निग्ध वातावरण पाएर हामी मख्ख पथ्र्यौैं ।
न गर्मीको ताप, न जाडोको ओस । मौसम चाहेजस्तो, वातावरण खोजेजस्तो ।
हामी असोज कुथ्र्यौं, कात्तिक कुथ्र्यौं । या त फागुन कुथ्र्यौं, चैत कुथ्र्यौं, वैशाख कुथ्र्यौं । अरू महिना कुर्दैनथ्यौं । तै पनि ती आउँथे । नचाहे पनि जीवनमा आइछाड्ने दुःखजस्तै ।
चैत–वैशाख आएपछि हामी त्यसरी नै फुक्का हुन्थ्यौं, जसरी खेत खलिहान फुक्का हुन्थे ।
दिउँसो घाम चर्का हुन्थे । त्यसैले सबै कामको तालिका बिहान या बेलुकी मिलाइएको हुन्थ्यो । स्कुल पनि बिहानमै खुल्थे ।
हाम्रो बिहानको समय स्कुलका लागि छुट्टिन्थ्यो, बेलुकी गोठालो । बिदाका दिन बिहान–बेलुकी नै हामी गोठालो हुन्थ्यौं । गोठालो हाम्रा लागि अवसर हुन्थ्यो, खेल्ने, कुद्ने र रमाउने ।
…
अहिले सम्झनामा धेरै थोक आउँछन् । स–साना स्मृतिले झन् लखेट्छन्, सताउँछन् ।
स्मृतिमा बसेका घटना र पात्र धेरै छन् । तर, कुनै–कुनै घटना र पात्रहरूका स्मृतिले चिमोटिरहन्छन् । ती पात्र अहिले कहाँ होलान् ! कस्तो अवस्थामा होलान् ! होलान् कि नहोलान् !
हिजो, तिनैसँग कतिपटक मुक्कामुक्की गरियो । कैयौँपटक तँतँ र मम भयो । सानो निहुँमा महिनौँ मौनता साँधियो ।
फेरि कुनै बेला, एउटै रोटी पनि बाँडेर खाइयो । कपडा जस्तो भए पनि साटेर लाइयो । जूठो भनिएन, एउटै थालमा खाइयो । लाज कहाँ लाग्थ्यो खै ! खोलामा नाङ्गै नुहाइयो । किताब पनि मिलेर पढियो । साइकल पनि साटेर चढियो ।
सम्झनामा झल्याकझुलुक आउने, बारम्बार आउने र आइरहने पात्र धेरै छन् । तिनैमध्ये एक हुन्, उजेली दिदी ।
उजेली साँच्चै नै उजेली नै थिइन् । गाउँघरकी उजेली ।
स्कुलमा उनको नाम थियो, चन्द्रकुमारी । चन्द्रमाजस्तै शीतल । गोरो अनुहारमा फुलिरहने उनको हाँसो साँच्चै चन्द्रमाकै त थियो ।
उमेरमा मभन्दा केही वर्षले मात्र जेठी थिइन् । र, स्कुलमा पनि एक क्लासमात्र सिनियर । हाम्रो स्कुल एउटै थियो ।
कक्षा ५ सम्म उनले अन्तै पढिन् । तर, परिवार माछागढ बसाइँ आएपछि उनी पनि कक्षा ६ पढ्न ककौरा आइन् ।
त्यसको अर्को वर्षदेखि म पनि कक्षा ६ मा ककौरा पढ्ने भएँ । म कक्षा ६ मा, उनी ७ मा ।
उनी मेरी सहपाठी नभए पनि सहयात्री बनिन् ।
हाम्रो टोलबाट ककौरा स्कुल पढ्न जाने हामी दुई जना मात्र थियौँ । हामी स्कुल सँगसँगै जान्थ्यौँ ।
अझ बिहानको पढाइमा त अनिवार्य सँगै । किनकि हामीलाई परिवारकै पनि दबाब हुन्थ्यो ।
म फुच्चे थिएँ । उनी महिला थिइन् । त्यसैले दुवै परिवारबाट सँगै जान हामीलाई दबाब हुन्थ्यो ।
फर्किंदाको कुरा छट्टुै हो ।
हामी स्कुल सँगै जान्थ्यौं, गोठालो सँगै हुन्थ्यौँ र मेलापात पनि सँगसँगै ।
उनी मलाई भाइलाई झैँ माया दिन्थिन् । म उनलाई दिदीलाई झैँ भरोसा ।
फागुनमा थारूहरूको बिहे हुन्थ्यो । सामूहिक बिहे । बिहेमा थारू गाउँहरूमा रातभरि भिडियो देखाइन्थ्यो । नौटङ्की लाग्थ्यो । हामी आफ्नो गाउँमा मात्र नभएर छिमेकी गाउँहरूमा पनि भिडियो र नौटङ्की हेर्न जान्थ्यौँ ।
राति टाढा जान घरबाट अनुमति हुँदैनथ्यो । तैपनि कहिलेकाहीँ साथीभाइ मिलेर गइहालिन्थ्यो । महिला भएकाले उजेली दिदीहरूलाई घरमा अझ कडा थियो ।
एक दिन तोरैया थारू गाउँमा भिडियो लाग्दै थियो । हामी जाने भयौँ । उजेली दिदीहरू पनि हेर्न जान तम्सिए ।
‘काँ जानी हो ?!’ उजेली दिदीकी आमा (जसलाई म माइजू भन्थेँ)ले भनिन्, ‘छोरीमान्छे भ’र राति–राति डुल्नी ! पर्दैन जान ।’ उनीहरूले कति गर्दा पनि जाने अनुमति पाएनन् ।
‘सनत पनि जान्च के,’ अन्त्यमा उनीहरूले भने, ‘हामी मत्रै जान लाको हो र !’
त्यसपछि माइजू हाम्रो घर आइन् ।
‘काँ हो भिडियो लाउँच अरे, हेर्न जानी भनेर उजेलीहरू हत्ते गर्या छन्,’ माइजूले भनिन्, ‘बाबू, पनि जान लाका हौ र ?’
म जाने भएपछि उनीहरूले पनि अनुमति पाए ।
‘छिट्टै आउनु नि !’ अन्त्यमा माइजूले भनिन्, ‘अबेलासँ नबस्नु ।’
…
वैशाखको कुनै बेलुकी हामी घरदेखि दख्खिनको फाँटमा भैँसी चराइरहेका थियौँ ।
चैत–वैशाख बस्तु चराउन टाढा लानुपर्दैनथ्यो । किनकि चारैतिर फुकार (फुक्का) हुन्थ्यो । बस्तु जता धपाए पनि भयो ।
बस्तु कुन दिशातिर जान्छन् भन्ने हेक्काचाहिँ राख्नुपथ्र्यो । टाढा पुगे पनि केही थिएन । सके त बेलामा आफैँ फर्केर आउँथे । कथम् आएनन् भने पनि खोज्न गए भेटिइहाल्थे । अपवादको कुरा बेग्लै हो ।
बस्तु कता जान्छन् भन्ने कुराको हेक्का हामीलाई हुन्थ्यो ।
बस्तु एकातिर धपाएपछि हाम्रो काम हुन्थ्यो खेल्ने । केटाकेटी एक ठाउँमा जम्मा भएर कहिले बूढीको घर, कहिले गुल्ली डन्डा (डन्डीबियो) त कहिले कबड्डी खेलिन्थ्यो । कहिले भने फुटबल । थोत्रो मोजामा कपडा कोचेर बल बनाइएको हुन्थ्यो ।
‘आज गुल्ली डन्डा खेलम्,’ गोपालले भन्यो ।
‘नाइँ, बूढीको घर खेलम्,’ उजेलीले भनिन् ।
यसो भन्दा उजेलीको अनुहार हल्का गुलाबी देखिएको थियो । खै गोपालले ‘गुल्ली डन्डा’ भन्दा उनलाई केही अन्यथा सम्झना भयो कि !
‘हुन्च, हुुन्च आज गुल्ली डन्डा नै खेलम्,’ मैले पनि थपेँ, ‘केटीले खेल्नी खेल कति खेल्नी !’
गोठालो जाँदा हामी गुल्ली डन्डा, बल, गुच्चा इत्यादि साथमै लिएर जान्थ्यौं । नभए पनि तत्काल व्यवस्था हुन्थ्यो ।
अन्ततः गुल्ली डन्डा खेल्न सबै सहमत भए ।
एउटा समूहमा म, पुर्ने र देबे भयौं । अर्को समूहमा उजेली, सुकु र कर्ने । चप्पलको ‘टस’ गरेर हामीले पालो छान्यौं । चप्पल सुल्टो पर्यो, पहिला हामी खेल्ने भयौं ।
सुरुमा पुर्ने खेल्न थाल्यो । गुल्ली छोप्न उनीहरू तीन जना तीनतिर छरिए । एकछिन खेलेपछि पुर्नेले हानेको गुल्ली उजेलीले च्याप्पै समाइन, पुर्ने आउट भयो । कर्ने खुसीले एक हात उफ्र्यो ।
त्यसपछि देबे खेल्न थाल्यो ।
देबेले दुईपटक गुल्ली उनीहरू उभिएभन्दा पनि पर पुग्ने गरी फाल्यो । उनीहरू सतर्क भएर अझ टाढा–टाढा फिँजारिए । तेस्रो पटक हान्न खोज्दा डन्डाले नै भेट्न नसक्ने गरी गुल्ली उफ्रेर पर पुग्यो । देबे आफैं मर्यो ।
अब मेरो पालो आयो । म पनि दुई तीन टक उनीहरूलाई छक्काउन सफल भएँ । अर्कोपल्ट गुल्ली कर्ने भएतिर हुत्तियो । कर्नेले उफ्रेर गुल्ली समात्न खोज्यो । तर, ऊ आफैं पछारियो । लडेर उठ्दा कर्नेको हातमा गुल्ली थियो ।
‘सनत आउट,’ गुल्ली हातमा देखाउँदै कर्ने चिच्यायो ।
गुल्ली र कर्ने सँगै भुइँमा खसेका थिए । मलाई लाग्यो, कर्नेले गुल्ली खसेपछि भुइँबाट टिप्यो ।
स्पष्ट त मैले पनि देखिनँ । तर, लड्दालड्दै गुल्ली छोप्नु असम्भवप्राय थियो ।
मैले स्वीकार्न सकिनँ । प्रतिवाद गरेँ ।
‘तैँले भैँ’ट गुल्ली टिपिस्,’ मैले भनेँ, ‘गुल्ली छोप्नभन्दा पैल्यै तँ लडेको थिइस् ।’
कर्नेले पनि स्वीकार गरेन । ‘गुल्ली समातेपछि म लडेको हुम्,’ कर्नेले मतिर चोर औँलो ठड्यायो, ‘हेर् है झेली गर्न नखोज् !’
‘केको झेली ? आफैँ झेली अर्च,’ म कराएँँ, ‘साले अर्कालाई दोष लाउँच ।’
एकछिन दुई समूहबीच बाझाबाझ चल्यो ।
‘ओए सन्ते, बडा झेली अर्न खोज्दो रै’च, खुरुक्क डन्डा ले,’ उजेलीले भनिन्, ‘अब हाम्रो पालो हो ।’
हामी पनि मान्न तयार थिएनौँ । उनीहरू पनि छोड्न तयार देखिएनन् ।
विवाद बढ्दै गएपछि मैले हातको डन्डा चार पाँच गह्रा कट्ने गरी पछाडितिर मिल्काइदिएँ ।
सबै जना हेरेको हेर्यै भए ।
‘काले… !’ उजेलीले भनिन्, ‘हार्नी भ’सी निहुँ पो खोज्दो रै’च !’
‘काले’ भनेपछि मलाई पनि झनक्क रिस उठ्यो ।
‘काले’ गाउँघरमा मलाई जिस्क्याउने र हियाउने नाम थियो । उजेलीको त्यस्तो नाम मलाई थाहा थिएन । ‘काली’ भनुँ उनी निक्खर गोरी थिइन् । मलाई के भनुँ के भनुँ भयो ।
‘हेर्नु न नानी, हाम्री उजेलीको एउटा आँखा अल्लि टेडोटेडो जस्तो मान्चु,’ एक दिन माइजूले हाम्री आमासँग भनेको सुनेको थिएँ ।
‘उजेली यता हेर त,’ हाम्री आमाले गहिरिएर पटक–पटक उजेलीका आँखा नियालेपछि भन्नुभएको थियो, ‘ए… अँ त नि हई ।’ यो कुरा गाउँकालाई त के घरैका पनि अरूलाई हेक्का थिएन ।
मैले झल्याँस्स यही कुरा सम्झेँ ।
‘डेरी…!’ मैले पनि चिच्याएझैँ भनेँ, ‘बडा आर्कालाई काले भन्दिरै’चे ।’
‘बडी बोल्चस्, अैले मुखसुख कुच्याइदिम्ला अनि…!’ उजेली कराइन् ।
केहीबेर हामीबीच यिनै दुई शब्दका दोहोरी चले ।
तत्काल त्यहाँ सहमतिको सम्भावना देखिएन ।
खेल भाँडियो ।
एक–एक गर्दै हामी सबै बस्तु भएतिर हिँड्यौँ ।
साँझ बस्तु लिएर उजेली र म सँगै घर फक्र्यौँ । तर हामीबीच बोलचाल भएन । हामी नबोले पनि हाम्रा बस्तु सँगै थिए । बगालबाट बस्तु छुट्टयाउन सम्भव थिएन ।
मैले बस्तु गोठमा बाँधेँ । र, आँगनमै एकछिन अल्मलिएँ ।
‘ए… पानी त थोपै रइन्च,’ आमाले भान्साबाट भन्नुभयो, ‘जा त बाबू कुवामा ग’र हातगोडा नि धो । एक बाल्टी पानी नि लिएर आ । म जाम् भने ह्याँ भात उम्लिन ला’छ ।’
पानी लिन उजेलीकै घर जानुपथ्र्यो । हामी उनीहरूकै इनारबाट पानी खान्थ्यौँ ।
मन नलागी, नलागी म बाल्टी लिएर उजेलीको घरतिर गएँ । ‘जाँ भैँसी नकराओस् भनेको त्यैँ वा…इँ गर्च’ भनेजस्तै भयो ।
उजेली इनारमै रै’छिन् । ‘अैले त हाम्रै कुवामा पानी लिन आउन पर्नी रै’च नि’ भने झैं गरी उनले कर्के आँखाले मलाई हेरिन् । पानी तान्ने बाल्टी उनीसँगै थियो ।
मलाई पानी लिन आएको देखेर बाल्टी अझ आफूनजिक तानिन् । बाल्टी नभई पानी केले भर्नु ! म छेउमै उभिएर पर्खिरहेँ ।
बाल्टी अैले छोड्लिन्, तैले छोड्लिन्, छोड्दै छोड्दिनन् । मुख धुँदै थिइन् । म पुगेपछि हात धुन थालिन्, त्यसपछि खुट्टा । पानीले भिजाएर खुट्टा मिच्न थालिन् । डोरी चेपेर बाल्टी भने आफूनजिकै राखिन् ।
म निकैबेर त्यहीँ उभिरहेँ ।
अघिपछि भए हामी गफिन्थ्यौँ, जिस्किन्थ्यौं । उनको हातबाट बाल्टी खोसेरै भए पनि म पानी भरेर जान्थेँ । वा फुर्सद भए एकछिन गफिएरै बस्थेँ । तर आज हामी दुवै जना मौन थियौँ ।
यो कुरा बारीमा रहेकी माइजूले ख्याल गरिरहेकी रहिछन् । ‘तिमेरु दुई जाना झगडा गर्या छौ कि क्या हो ?!’ उनले भनिन्, ‘आज बोलेका नि छैनौ !’
हामी दुवै जनाले मौनता तोडेनौँ । हाम्रो मौनताबाटै उनले उत्तर पाइन् । उजेलीले निकैबेरदेखि बाल्टी नछोड्नुको कारणबारे पनि उनले लख काटिन कि !
‘ओए उजेली कुवामा कत्ति बेर लाकी होस्,’ त्यसैले माइजूले भनिन्, ‘बाबू आ’र उभ्भिएको नि एक घन्टा भइसक्यो ।’
लास्टमा उजेलीले बाल्टी पछारे झैैँ गरी भुइँमा छोडिन् ।
पहिला सर्लक्क हातमुख धोएँ अनि पानी भरेर म घरतिर आएँ ।
भोलिपल्ट बिहान पौने चार बजे म स्कुलका लागि तयार भएँ । झोला बोकेर बाटातिर हेर्दै म पिँढीमा बसेको थिएँ । अघिपछि भए म घरभित्रै हुन्थेँ ।
‘सनत ! ओए सनत !!’ भन्दै उजेली हाम्रो घरै आउँथिन् । उजेलीले ढिलो गरे म बोलाउन उनकै घर जान्थेँ । तर, बोलचाल बन्द भएकाले यी दुवै सम्भावना थिएन । त्यसैले म उनैलाई कुरेर पिँढीमा बसिरहेको थिएँ ।
एकछिनमा उनी हाम्रै घरतिर हेर्दै बाटामा निस्किन् । हाम्रो घरछेउ पुगेपछि केहीबेर बाटामै उभिइन् । सायद मलाई झोला बोकेको तयारी अवस्थामा देखेर होला उनी विस्तारै पाइला चाल्दै अघि बढिन् ।
उनलाई देखेपछि म पनि जानी–जानी एकछिन पिँढीमै बसेँ । अल्लि पर पुगेर उजेलीले पछाडि फर्केर हेरिन् । मलाई अझै आएको नदेखेपछि उनी फेरि त्यहीँ उभिइन् ।
म बाटामा निस्किएँ । मलाई देखेपछि बल्ल उनी पनि हिँड्न सुरु गरिन् ।
पौने चार/चार बजेतिर अँध्यारै हुन्थ्यो । अझ अँधेरी रात छन् भने त झन् डरै लाग्थ्यो ।
हामी हिँड्यौँ । उनी अघिअघि, म पछिपछि । करिब २०/२५ मिटर दूरीको ग्यापमा । खेतको आलीको बाटोे फाँटैफाँट हामी हिँडिरहेका थियौँ ।
हामीबीचको दूरी अल्लि बढेजस्तो लागे म पाइला छिटोछिटो चाल्थेँ, उनी ढिलो । नजिकिनै लाग्यौं भने म एकछिन अलमल गर्थें, उनी फटाफट पाइला चाल्थिन् । यानेकि टाढा पनि नहोस्, नजिक पनि नपुगियाोस् । एकअर्काको भरमा हामी हिँडिरहेका थियौँ । माटाको भर ढुङ्गो, ढुङ्गाको भर माटो भनेजस्तै ।
बेला–बेला उनी पछाडि फर्केर हेर्थिन् । डोकाहा डाँडामा पुग्ने बेला पनि उनी पछाडि फर्किइन् । सायद मलाई आउँदै छ कि छैन, कति टाढा छ भनेर होला !
वातावरण शीतल थियो । हल्का बतास चलिरहेको थियो । वास्तवमा स्कुलबाट फर्किंदा हुने गर्मीको क्षति हामी बिहानको शीतलताबाटै पूर्ति गथ्र्यौं ।
लक्ष्मणाको वनमा कुहुकुहु कोइली कराइरहेको थियो । मेरा नजर पूर्वी आकाशतिर परे । आकाशमा तारा चम्चमाइरहेका थिए । तीनतारे हिजो–अस्तिभन्दा अल्लि माथि पुगेछन् । शुक्रो पनि उदाइसकेछ । सप्तऋषि कता थिए कुन्नि ।
मेरी आमाका घडी यिनै तारागण थिए । यिनै तारा हेरेर आमा मेरो स्कुलको समय अड्कल गर्नुहुुन्थ्यो ।
हामी लक्ष्मणा जंगलछेउ अर्थात महेन्द्र राजमार्गमा पुग्यौँ । जहाँ पुगेपछि बल्ल अरू टोलतिरबाट आउने विद्यार्थी भेटिन्थे । तोरैया, दख्खिन टोल, गौतम चोक, पहाडीपुरतिरबाट आउनेहरू त्यहीँ आएर हामीसँग मिसिन्थे । कोही–कोही साइकलमा हुन्थे, नत्र हिँड्नेहरू नै ।
राजमार्ग भर्खर बन्न सुरु भएको थियो । पुरानो बाटो उत्तरपट्टि वनको बीचबाट जान्थ्यो । राजमार्ग भने वनको दक्षिण र गाउँको उत्तर छेउछेउ बन्दै थियो ।
राजमार्ग हिँड्नलायक भइसकेको थिएन । राजमार्ग बन्नेक्रममै भएकाले खाल्डाखुल्डी थिए । हामी पुरानै वनको बाटो आउजाउ गथ्र्यौं । हामीलाई हिँडिरहेको बाटो सजिलो पनि लाग्थ्यो ।
त्यो बाटो हिँड्नुको अर्को एउटा कारण पनि थियो । बाटोमा महुवाका एक–दुईवटा बोट थिए । बिहानीपख पाकेका महुवा भुइँमा झरेका हुन्थे । हामी टिपेर खान्थ्यौं । धेरै खाए मात लाग्थ्यो तर दुई–चारवटा हामी पचाउन सक्थ्यौँ । कहिलेकाहीँ स्कुल लगेर साथीहरूलाई पनि बाँड्थ्यौँ ।
वनको बीच–बीचमा पुगेपछि उजेली टक्क रोकिइन् । उनी रोकिएपछि स्वाभाविक छ, म पनि रोकिएँ । उनी निकैबेर त्यहाँ अडिइन् । म पनि त्यसैगरी अडिइरहेँ ।
उजेली अगाडि बढ्लिन् भन्दा त झन् विस्तारै पछाडि आइन् । उनी आएपछि म पनि पछाडि हिँड्न थालेँ । उनी जति पछि आउँछिन्, म पनि उति पछि सर्छु । गर्दागर्दै हामी निकै वर आयौं ।
उजेली हिँडिरहेकै थिइन् । म चाहिँ अब रोकिएँ । उनी मछेवै आइपुगिन् । मनजिकै आएर उनले मलाई च्याप्प समातिन् र काँपेको स्वरमा भनिन्, ‘ओए सनत, अगाडि बाटामा त बाघ छ ।’
म झसङ्ग भएँ । मलाई डर देखाउन होला जस्तो लाग्यो । मैले पत्याइनँ । ‘हो, साँच्चै, विद्या नाश ! बाटाको छेउमै बाघ सुतेको छ,’ उनले सासैसासले भनिन्, ‘नपत्याए तँ आफैँ ग’र हेर् !’
उजेली काँपिरहेकी थिइन् । मेरो पनि शरीरमा काँडा उम्रे । तै पनि मनमा विश्वासै चाहिँ लागेन । ‘हिन न त जाम्,’ मैले भनेँ ।
हामी दुवै जना सँगै चाल मारेर हिँड्यौं ।
हामीले बिस्र्यौं, हिजो मात्र हामी बेस्सरी झगडा गरेका थियौं, अघि भर्खरसम्म हामी बोल्दैनथ्यौँ । हामी दुवै जना अँगालो मारेजस्तै हिँडिरहेका थियौँ ।
‘ऊ त्याँनिर छ,’ उजेली औँलो अगाडि तेस्र्याउँदै सासले बोलिन् । रातो–रातो, कालो–कालो बस्तु देखियो । हामी साससमेत रोकेर अगाडि बढ्यौँ । उजेलीले मेरो पाखुरामा जोडले समातेकी थिइन् ।
हामी कछुवा चालमा अझै अगाडि बढ्यौँ । ‘हो त रहेछ !’ मेरो मुटु एकचोटि ढक्क गर्यो ।
मैले पनि देखेँँ, टाटेपाटे बाघ लम्पसार परेर सुतेको छ । लामो पुच्छर पछाडि तेर्सिएको छ । अगाडिका दुईवटा खुट्टा क्रस भएर भुइँमा छन् । पछाडिको चाहिँ एउटा मात्र खुट्टो देखिएको छ ।
बाघ मस्तसँग सुतेको छ । हामीले अझै नियालेर हेर्यौँ, बाघको एउटा कान माथि ठडिएको छ, एउटा चाहिँ छोपिएको छ । अझ गहिरिएर हेर्दा देखियो, जुँगा पनि लामा–लामा काला–काला ।
मैले अनुमान लगाएँ पक्कै यो सानोतिनो होइन, वयस्क बाघ हो ।
मैले उजेलीलाई हातैको इसाराले फर्कौं भनेँ । हामी जाँदाकै चालमा फर्कियौँ । निकै पर पुगेपछि मैले पछाडि फर्किएर हेरेँ । बाघ देखिन छोड्यो ।
त्यसपछि हामी दगुरेर राजमार्गमा निस्कियौँ, जहाँ चारैतिरबाट आएका बाटा मिसिन्थे ।
अब हल्का उज्यालो पनि हुन थालेको थियो । पहाडीपुरका नीमबहादुर दाइ आइपुगे । उनी नौ कक्षामा पढ्थे । ‘दाइ त्याँ अगाडि हामी जानी बाटामा बाघ छ,’ मैले भनेँ ।
‘हुन्छ बाघ !’ उपेक्षा गर्दै उनले भने । सुरुमा मैले जस्तै उनले पनि पत्याएनन् ।
‘नपत्याए आफैं गएर हेर्नोस्,’ मैले भनेँ । ‘हो, त्यई भ’र त हामी फर्केर आ’का हुम्,’ उजेलीले पनि थपिन् । अब नीमबहादुर दाइ पनि हच्के ।
एकछिनपछि अरू एक दुई जना थपिए । तोरैया, दख्खिन टोल, गौतक चोकतिरबाट आउनेहरू पनि थपिँदै गए । कसैले पत्याए, कसैले पत्याएनन् । तर, एक्लै–दुक्लै जानचाहिँ कसैले हिम्मत गरेनन् ।
क्रमशः उज्यालो पनि हुँदै थियो ।
‘अब जाम्, यति जना भएपछि त एउटा बाघ डराएर पनि भाग्छ,’ नीमबहादुर दाइले भने, ‘सके अघि नै गइसक्यो होला ।’
हामी गुजुप्प भएर एकसाथ अगाडि बढ्यौं । ठूला दाइहरूलाई अगाडि लगाएर हामी सानाचाहिँ बीच–बीचमा हिँड्यौँ ।
बाघ बसेको ठाउँ आएपछि मैले चोर औँलो तेस्र्याएँ, ‘ऊ त्यै हो ।’ सबै जना टक्क रोकिए । देखेर सबै जना तर्सिए ।
केहीबेर हामी त्यहीँ बसेर हेर्यौँ । बाघ अघि जुन पोजिसनमा थियो, अहिले पनि त्यही पोजिसनमै रहेछ ।
हामी १०/१२ जना थियौँ । कोही–कोही सासले बोलिरहेका थिए । त्यत्रा जनाले सासै फेरेमात्र पनि केही न केही आवाज त आइहाल्थ्यो । तर, बाघ अझै कुनै चालचुल गरिरहेको थिएन ।
‘यत्रो बेरसम्म किन केही चाल गर्दैन त,’ नीमबहादुर दाइले भने, ‘मरिसकेको हो कि क्या हो ।’
मलाई पनि लाग्यो, बाघ मरिसकेको रहेछ क्यारे !
तोरणदाइ, नीमबहादुर दाइ र खै अर्को एक जना को हो तीन जना भएर विस्तारै अगाडि बढे । हामी यथास्थानमै हलचल नगरी उभिइरह्यौँ ।
उनीहरू अझै अगाडि गए । मलाई डर लाग्यो, जिउँदो भए त यिनीहरूलाई सिध्याउँछ ।
नजिकै पुगेपछि नीमबहादुर दाइ वनै थर्किने गरी हाँसे ।
उनीहरू त्यो बाघमाथि बसिरहेका थिए । त्यसलाई पल्टाउन कोसिस गरिरहेका थिए ।
‘एई… बाघको जुँगा उखेल्न आओ,’ नीमबहादुर दाइले चिच्याएर हामीलाई बोलाए ।
हामी गयौँ । नजिकै गएर हेर्छौं त– जरोसहितको एउटा सालको ठुटो लम्पसार पसारिएको छ !
हेत्तेरिका ! हामी सबै जना हाँस्न थाल्यौँ । यो हाँसो स्कुल र घरका लागि पनि केही दिनसम्म चल्यो ।
राजमार्ग बनाउने क्रममा केही रूख काटेर छेउछाउमै लडाइएको थियो । तिनैमध्येको यो ठुटो कति महिनादेखि त्यहीँ थियो । प्रत्येक दिन हामी त्यही बाटो हिँड्थ्यौँ । तर त्यसको हेक्का हामीलाई कहिल्यै भएन । तर आज त्यही एउटा ठुटोले बाघ बनेर हाम्रो सातो खायो ।
त्यो ठुटालाई सबैले लात्ताले हान्यौं, मानौं हामीले बाघलाई लात्तो हान्यौं । स्कुलका लागि अबेर भइसकेको थियो । हामी बाघबाट मुक्त भएर हतार–हतार स्कुलतिर कुद्यौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।