भाग्यवादी भएर सोच्ने हो भने कहिलेकाहीँ मलाई लाग्छ, दुनियाँमा मजस्तो अभागी कोही छैन । फेरि सोच्छु, भाग्यमानीहरू पो मभन्दा कति नै खुसी होलान् र ! सुखी होलान् त्यो बेग्लै कुरा ।

सनत सापकोटा

आफ्नोे जीवन आफ्नै तरिकाले बाँचेको छु । माया गर्नेहरू पनि पाएको छु । घृणा गर्नेहरू पनि व्यहोरेको छु । जीवनमा जितेर केही लिएको छैन । तर, हारेर धेरैथोक बटुलेको छु ।

म आफूलाई अभागी मान्नुका केही कारणमध्ये प्रमुख एउटा कारण छ, जुन मेरो सुदूर विगतसँग जोडिएको छ ।

कुरा २०४५ साल चैतको हो, जतिबेला म कक्षा ६ मा पढ्थेँ । बिहानको स्कुल थियो । सवा ५ देखि साढे १० बजेसम्म चल्थ्यो । ककौरा स्कुलबाट माछागढ घरसम्म पुग्दा १२ बज्थ्यो (समयको मात्र होइन, हालतको पनि) । तिरमिर–तिरमिर धूपले आँखै हेर्न नसकिने । घाममा साइकल चलाउँदा पसिनाले निथ्रुक्कै भइने ।

एक दिन, म स्कुलबाट फर्किएपछि भात खाएर यसो सुस्ताएको मात्र थिएँ, बाले बोलाउनुभयो । ‘मैले मुसुरो घान हाल्दियो छु,’ बाले भन्नुभो, ‘एकछिन राँगा घुमा त !’

गर्मीले तातेको मेरो तालु अब रिसले तात्यो । ‘नाइँ, यस्ता घाममा…!’ मैले कुम उचालेँ । ‘घाममा झन् एकैछिनमा झर्च,’ बाले शान्त स्वरमा भन्नुभो, ‘एकछिन म तल हजुरबा भ’ठाँ ग’र आउँचु । हजुरबा त्यस्ता हुनुन्च ।’

हजुरबा सिकिस्त बिरामी हुनुहुन्थ्यो । भरे हो कि भोलि थाहा थिएन । अस्पतालले घरै लैजान भनेकाले उहाँलाई घर ल्याइएको थियो । बैतरणी भइसकेको थियो । कुनै पनि बेला दुुःखद् समाचार सुन्न हामी अभिशप्त थियौँ ।

तलतिरबाट चिनेको मान्छे कोही हतार–हतार आउँदै छ भने हामी आत्तिन्थ्यौँ, कतै हजुरबालाई त केही भएन ! खाना पनि बेलैमा बनाएर खाइन्थ्यो ।

हामी अलि माथितिर बस्थ्यौँ, छुट्टै । हजुरबा–हजुरआमा, अङ्कलहरू तल मूलघरमा बस्नुहुन्थ्यो, करिब पाँच सय मिटरको दूरीमा ।

‘म पनि हजुरबालाई बोलाउन जान्चु,’ मैले फुत्किने जुक्ति लगाएँ, ‘बरु मुसुरो अहिले आ’र दाम्ला ।’

मेरो जुक्ति निशानामा परेको थियो । त्यस्ता सिकिस्त हजुरबालाई बोलाउन जान्छु भन्दा बाले हुँदैन भन्ने कुरै थिएन ।

म साइकल टिपेर मूलघरतिर गएँ । हजुरबालाई पिँढीमै सुताइएको थियो ।

म हजुरबा नजिक गएँ । ‘हजुरबा !’ मैले बोलाएँ । उहाँले पुलुक्क मलाई हेर्नुभयो । आँखा झिमिक्क पार्नुभयो ।

हजुरबाको टाउको चलमलायो, हात सर्याकसुरुक गरे । तर बोली फुटेन ।

घरिघरि अस्पष्ट बोल्न पनि खोज्नुहुन्थ्यो । तर, अहिले सक्नुभएन । मुखबाट घ्यारघ्यारको आवाज निस्किरहेको थियो ।

उहाँ प्रायः टाउको र आँखाले संकेत गर्नुहुन्थ्यो । मान्छे चिन्न भने छोड्नु भएको थिएन ।

हजुरबालाई हेर्न र बोलाउन मान्छेहरू आइरहेका थिए । बिष्णु दिदी (कान्छी फुपू) आँगनबाटै ‘बा..’ भन्दै पिँढीमा उक्लिनुभयो । मलाई एकोहोरो हेरिरहेका हजुरबाका आँखा दिदीतिर फर्किए । हजुरबाले फेरि आँखा झिमिक्क पार्नुभयो । सायद यो उहाँको ‘होई..’ (हजुर) भन्ने संकेत थियो ।

दिदीको पछिपछि बा पनि आइपुग्नुभयो ।

म हजुरबाको खाटबाट उठेँ । एकछिन त्यतै अल्मलिएँ । हजुरबाका बारेमा गरिएका कुरा सुनेँ । अनि साइकल टिपेर फुत्त निस्किएँ ।

तगारामा पुग्दा बाको आवाज सुनेँ, ‘ओए सनत ! घर ग’र त्यति मुसुरो दा’र सिध्याएस् नि !’

म चुपचाप निस्किएँ ।

मलाई घर जान मन लागेन । घर गए मसुरो दाइँ हाल्नुपथ्र्यो । साइकल मोडेर म तल्लो चोकतिर लागेँ ।

चोकमा सिमलको रूखमुनि एउटा घुम्ती (पसल) थियो । गोपाल त्यही घुम्तीमा रहेछ । ‘ओए काँ हिँडिस् ?’ मलाई देख्नेबित्तिकै गोपालले सोध्यो ।

‘कैँ होइन,’ गद्दीबाट डन्डीमा झरेर एउटा खट्टाले साइकल अड्याउँदै मैले भनेँ, ‘हजुरबालाई बोलाउन आ’थेँ ।’

एकछिन सिमलको छहारीमा बसेर गोपालसँग गफिएँ । ‘कतै घुम्न जान पाए’नि हुन्त्यो यार,’ मैले भनेँ, ‘अल्यै घर गए मुसुरो दाउनपर्च !’

गोपाल एकछिन घोरियो ।

‘त्यसो भए हिन् न त गुलरिया जाम्,’ गोपालले भन्यो, ‘तेरो साइकल छँदैछ ।’

‘यसबेला…!’ मैले समयको अन्दाज लगाएँ, ‘फर्किन ढिलो हुन्च ।’

‘भ्याए फर्किम्ला,’ गोपाल बोल्यो, ‘नभए हाम्रा बा त्यैँ छन् । त्यैँ बसम्ला ।’

गोपालका बा वनपाले थिए । सरुवा भइराख्थ्यो । कहिले हाम्रै घरअगाडि चौकीमा आउँथे । कहिले कता पुग्थे । अहिले गुलरिया रै’छन् ।

करिब दिउँसोको डेढ बजेको हुँदो हो, उड्दाउड्दैका चरा खस्ने घाम थियो । हामी गुलरिया जान भनेर हिँड्यौँ ।

गोपालले कुनैठी गाउँको पुछारमा एउट घरनिर साइकल रोक्दै भन्यो, ‘प्यास लायो यार, पानी खाम् ।’

धारामा मुख गाडेर हामीले पेट चर्किने गरी पानी खायौँ । ‘ला अब एकछिन तँ चला,’ गोपालले साइकल मतिर सार्यो ।

गाउँ कटेर वनभित्र पस्नेबित्तिकै एसी लगाएको कोठाभित्र पसेजस्तै भयो । वनफूलहरूको मीठो बास्ना पनि आइरहेको थियो ।

कञ्जरुवा खोला पार गरेर हामी बेलघारीतिर लाग्यौँ । घनघोर जंगलका बीचमा भए पनि यो बाटो हाम्रा लागि न नौलो थियो, न डरलाग्दो ।

यहाँका एक–एक बोटबिरुवा, बाटोघाटो र खोल्साखोल्सीको हामीलाई राम्रो हेक्का थियो । हामी यही वनमा हुर्किएका थियौँ । गोठालादेखि दाउरा–घाँस गर्ने हाम्रो वन यही थियो ।

हामी बेलघारी कपास फारम पुग्यौं । एक जना बूढा बा कुसुमको छहारीमा बसेर बनकस बाटिरहेका थिए । मलाई अचानक हजुरबाको याद आयो ।

साइकल गोपाललाई चलाउन दिएँँ ।

‘एकछिन काम गर्नका दुःखले मैले त्यस्ता हजुरबालाई छोडेर आएँ,’ मनमा कुरा खेल्न थाले । गोपाल आफ्नै धुनमा साइकल पेलिरहेको थियो ।

जति जति हामी अघि बढ्दै थियौं, उति उति मेरो मन भारी हुँदै गइरहेको थियो ।

बेलघारी फारम कट्यौं । मलाई अब पश्चात्तापले सताउन थाल्यो । हामी पश्चिम जाँदै थियौं तर मेरो मन भने पूर्वतिर फर्किरहेको थियो । ‘गोपाल, भो घर फर्कम् यार,’ मैले भनें, ‘कुन्नि किन हो मलाई अगाडि जान मनै लाएन ।’

‘के भन्च यो !’ गोपाल रिसायो, ‘साले ह्याँसम्म आ’र अब घर फर्किम् पो भन्च ।’

यहीबेला साइकलको चेन फुत्कियो । गोपाल पसिना पुछ्दै चेन चढाउन थाल्यो । ऊ फेरि साइकल चलाउन थाल्यो ।
बिक्री, बेलभार हुँदै हामी भादाको बगरमा पुग्यौैैैैैैैैैैैैैैैैैैैैैं । भादा शान्त थियो । अशान्त थियो त केवल मेरो मन । साइकल डोर्याएर हामीले भादा नदी पार गर्यौं ।

जति उता जान्थ्यौं उति मेरो मन पोलिरहेको थियो ।

बालापुर पुग्दा साढे तीन बजिसकेको थियो । बालापुरबाट आवाको अग्लो टावर देखियो ।

‘अब त आइपुगियो,’ आवाको टावरतिर हेर्दै गोपालले भन्यो, ‘सोइलहवा कटेपछि त गुलरिया आइहाल्यो !’

हामी वनविभागको अफिसमा पुग्यौं । गोपालका बा रहेनछन् । उनी गस्ती गएका रहेछन् । कुुरेर बस्यौं ।

निकैबेर भयो, गोपालका बा आएनन् । ‘गस्ती ग’को मान्छे कतिबेला हो कतिबेला !’ सोध्दा अफिसको एक जना बूढो मान्छे झक्र्यो ।

‘छोड्दे भो गोपाल, अब फर्किम्,’ मैले भनेँ, ‘कुरेर बसेम् भने ढिलो हुन्च ।’

‘ह्याँ आ’र बालाई नभेटी जानी ?’ गोपालले भन्यो, ‘बा आ’सी पैसा मागम्ला, भोक पनि त ला’छ ।’ भोक पनि लागेको थियो । दुवै जनासँग फुट्या कौडी थिएन ।

साढे चार बज्यो, पाँच बज्यो गोपालका बा आएनन् । मेरो मन हुँडलिरेको थियो । लागेको भोक पनि अब मर्दै गइरहेको थियो । साढे पाँच बजे बल्ल ‘भालुभुत्ते ड्रेस’मा काँधमा बन्दुक भिरेर उनी आइपुगे ।

‘ए… तिमेरु पो !’ हामीलाई देखेपछि गोपालका बाले सोधे, ‘कतिबेला आयौ, किन आ’का ?’

‘घुम्न…,’ गोपालले भन्यो ।

गोपालका बा भित्र पसे । हामी बाहिरै थियौं । उनी लुगा फेरेर बाहिर निस्किए । ‘बा हामी अहिल्यै घर फर्किनिहुम्,’ गोपालले भन्यो, ‘हाम्लाई पैसा दिनोस् ।’

‘यतिबेला…!’ उनी कराए, ‘जंगलमा रात पर्च अनि…।’

गोपालका बाले गोपाललाई पैसा त दिए तर घर फर्किने अनुमति दिएनन् ।

बाले दिएको दश रुपैयाँको नोट पट्याउँदै गोपालले मतिर आँखा सन्कायो । हामी बजारतिर निस्क्यौं ।

‘यतिबेला भइसक्यो,’ गोपालले भन्यो, ‘आज हेइँ बसम्, भोलि बिहान फर्किम्ला ।’

पश्चिमतिर हेरेँ । घाम राता भइसकेका थिए । अब फर्किन सकिँदैन भन्ने मलाई पनि लाग्नथाल्यो । म केही बोलिनँ ।

हामीले पनि गोपालका बाको मेसमा भात खायौं । सुत्ने व्यवस्था राम्रो थिएन । दरी, तन्ना, सिरानी र झुल बोकेर हामी छतमाथि उक्ल्यौं । पिलरका सरियामा झुलका डोरी बाँध्यौँ । र, झुलभित्र छिर्यौं । दरी ओछ्यायौं, तन्ना ओढ्यौं ।

गफ गर्दागर्दै गोपाल निदायो । मलाई भने पटक्कै निद्रा लागेन । छटपटी मात्रै भइरह्यो । घरि–घरि गोपाललाई बोलाउँथें । ऊ ‘हुँ..’ मात्र गथ्र्यो ।

मलाई झल्झली बिहानदेखिका घटना याद आइरह्यो । म पश्चात्तापको आगोमा जल्न थालेँ । हजुरबाको अनुहार मेरो आँखामा नाच्न थाल्यो । मेरो स्मृतिमा हजुरबाको विगतका पाना पल्टिन थाले ।

०००

एक दिन दिउँसो भाइ रवि आँगनमा बसेर नुन–खुर्सानीको चटनीसँग बिहानको भात खाँदै थियो । हजुरबा कताबाट हो टुप्लुक्क आइपुग्नुभयो । ‘हेर त थारूले झैं बाइर बसेर भात खाओछ,’ देख्नेबित्तिकै हजुरबा कराउनुभयो ।

उभिएरै एकछिन भाइलाई भात खाइरहेको एकोहोरो हेर्नुभयो ।

‘कठैबरी ! हेर त ह्याँ मेरा नातिहरूले निस्तो भात खाछन्,’ हजुरबाले भन्नुभयो, ‘ह्वाँ दूध, दई ताउलाँ हाल्चन् !’ हजुरबाको अनुहार सोहोरियो ।

‘ओए… तँ ब्याना–बेल्का तल ग’र एक–एक लोटा दूध लिएर आउनी अर्,’ मतिर हेर्दै हजुरबाले भन्नुभयो ।

तल–माथि गर्दा हजुरबा आफैँ लोटामा दूध, दही लिएर आउनुहुन्थ्यो । मूलघरमा केही मीठो–चोखो पाके हजुरबा आफैँ बोकेर ल्याउनुहुन्थ्यो ।

हजुरबाको रिस कडा थियो । रिस त उहाँको नाकको टुप्पोमै थियो । हजुरबालाई नबेहोरेका मान्छे उहाँलाई रूखो र कठोर ठान्थे ।

मलाई पनि त्यस्तै लाग्थ्यो । ‘हेर त यो…यो…यो भुत्ते !’ उहाँ हामीलाई देख्नेबित्तिकै पहिला गालीबाट कुरा थाल्नुहुन्थ्यो । हामी कतै खेलिरहेका हुन्थ्यौं वा हाम्रो पहिरन मिलेको हुन्थेन । केही न केही खोट उहाँ निकालिहाल्नुहुन्थ्यो ।

सानो कुरामा पनि चित्त बुझेन भने हजुरबा श्रीमती, छोरा–बुहारी, नाति–नातिना सबैलाई मुख छाडेरै गाली गर्नुहुन्थ्यो ।
हामी सुरुमा माछागढ आउँदा खानेपानीको साह्रै दुःख थियो । यही दुःखले गर्दा हजुरबाले दुःखै गरेर घरको छेउमा इनार खनाउनुभएको थियो । हजुरबाले खनाए पनि टोलमा त्यो इनार साझा थियो ।

‘मु…हरू…!’ एक दिन हजुरबा बिहानैदेखि बा–अंकलहरूलाई ठूलो–ठूलो स्वरमा गाली गरिरहनुभएको थियो, ‘घरको कामको कुनै लह छैन, डुल्यो छ, खाओ छ । तिमी जाँ..जाँ…ले कमाको सम्पत्ति हो र डुलेर खानलाई… ।’

पानी लिन भनेर हाम्रो आँगनसम्म आएकी मान्ताका दुलही धोतीको सप्कोले मुख छोपेर रित्तै गाग्री फर्किन् ।

पछि आमाहरूसँग भनिछन्, ‘छिः तिम्योरुका ससुरा त कति छाडा ! छोरी–बुहारीका अगाडि पनि जे पायो त्यही बोल्छन् ।’

हजुरबा रिसाएको चाल पाए भने छिमेकका महिला हाम्रो घरतिर आउँदै छन् भने पनि बाटैबाट फर्किन्थे ।

दैलेख, सुर्खेत, जाजरकोट (पश्चिमी समाज) मा यी शब्द घोर आपत्तिजनक मानिँदा रहेछन् ।

तर, गण्डक क्षेत्रमा त्यति आपत्तिजनक मानिँदैनन् । अनौपचारिक तथा आत्मीय गफगाफमा यस्ता शब्द प्रायः बोल्ने गरेको सुनिन्छ ।

सुन्दासुन्दै पछि पछि त त्यो समाजले पनि हजुरबाका ती शब्द पचाउन थाल्यो ।

म सानै थिएँ । जस्तो कि सानोमा सोधिन्छ– ‘बाबू तिमीलाई सबभन्दा बढी माया कसको लाग्छ ?’ यही प्रश्न एक दिन मलाई जगिनीले सोधिन् । ‘आमाको,’ मैले भनेँ ।

‘त्यसपछि ?’

‘बाको ।’

‘अनि ?’

‘भाइको ।’

उनले पूरक प्रश्न सोध्दै गइन्, मैले जवाफ दिँदै गएँ । अन्त्यमा उनले सोधिन्, ‘हजुरबाको माया लाग्दैन ?’
‘लाग्दैन,’ मैले भनेँ, ‘ती बूढा त मोरे नि हुन्च ।’

यो कुरा जगिनीले जस्ताको तस्तै हजुरबालाई सुनाइछन् ।

‘ओए, तैँले त मलाई मोरे नि हुन्च भन्चस् अरे केरे !’ एक दिन हजुरबाले मलाई काखमा राख्दै भन्नुभयो, ‘मैले तँलाई गाली अर्चु त्यै भ’र त्यसो भनेको होस् ?’

म केही बोलिनँ ।

‘हेर् अ‍ैले तँ स्यानो छस्, मैले गाली अर्दा तँलाई रिस उठ्च, दुःख लाउच,’ हजुरबाले मायालु स्वरमा भन्नुभयो, ‘भोलि तँ ठूलो भसी, मैले अ‍ैले अरेको गाली तँलाई आसिकझैँ लाउच्, बुुझिस् ।’

मैले केही बुझिनँ, टुलुटुलु हजुरबाको मुखमा हेरेँ । हजुरबाले खल्तीबाट एउटा चकलेट झिकेर दिँदै भन्नुभयो, ‘जाऊ, खेल्न जाऊ ।’

०००

गोपालको घुराइले मेरो सोचाइमा बाधा पर्यो । ‘ओए…गोपाल, गोपाल !’ बोलाएँ । ऊ फेरि ‘हअँ..’ मात्र गर्यो । ‘मलाई त निद्रै लाएन यार,’ मैले उसलाई घच्घच्याउँदै भनेँ ।

ऊ तर्से झैं गरी ब्युँझियो । ‘अ‍ैलेसम्म सुतेको छैनस्,’ उसले आफ्नो हातको चिमचिमे घडी हेर्दै भन्यो, ‘दुई बजेर २५ मिनेट गइसक्यो, सुत् ।’

मैले आँखा चिम्लिएँ । तर के गर्नु जबर्जस्ती आँखा चिम्लिएर निद्रा आउँदो रहेनछ त ! फेरि आँखावरिपरि हजुरबा नै आउनुभयो ।

मैले आफ्नो ध्यान अन्यत्र मोड्न खोजेँ । हजुरबाको सम्झनालाई दबाउन कहिले स्कुुुुुुलतिर ध्यान लान्थें, कहिले साथीहरूतिर । कतिबेलादेखि हो मेरा आँखा लोलाउन थालेछन्, म झकाउन थालेछु ।

०००

बेलुका ४ बजेतिर हजुरबालाई व्यथाले च्याप्यो । उहाँ टाउको काटिएको खसी झैं छटपटिन थाल्नुभो । उहाँलाई छिटोछिटो तुलसीको मठमा सारियो ।

हजुरबालाई सास फेर्न गाह्रो भइरहेको थियो । बाआमा, अंकलअन्टी, दिदीहरू सबैलाई खबर भयो । धेरै त घरमै थिए । वरपर भएका पनि तुरुन्त जम्मा भए । सबैले हजुरबालाई बोलाउँदै पानी ख्वाए ।

परिवारका सबै जना हजुरबाका वरिपरि बसिरहेका थिए । हजुरबाको टाउको काखमा राखेर हजुरआमा बस्नुभएको थियो । उहाँ बेला–बेला तामाको चम्चीले हजुरबाको मुखमा पानी हालिरहनुहुन्थ्यो ।

हजुरबा भने आँखा बटारेर यताउता हेरिरहनुभएको थियो । केही खोजिरहेजस्तोे । उहाँका आँखाका डिल रसाइरहेका थिए ।

‘बा… बा…, के भयो बा ?’ मेरा बाले हजुरबासँग सोध्नुभयो, ‘केही भन्न खोज्नुभ’को हो ?’ हजुरबा बोल्न खोज्नुभो । तर, बढ्दो स्वाँ–स्वाँ र घ्यारघ्यारले वाक्य निस्किएन ।

स्याँ–स्याँ गर्दै फेरि हजुरबाले आँखा नचाउनुभयो । उहाँको छटपटी बढेको थियो ।

बल गरेर केही भन्न खोज्नुभयो । ‘मे…रो ना….,’ उहाँको मुखबाट अस्पष्ट शब्दोच्चारणको ध्वनि मात्र निस्कियो । कतिले बुझे, कतिले बुझेनन् ।

लगत्तै मेरो खोजी सुरु भयो । तर, म त्यहाँ थिइनँ । मेरो व्यापक खोजी भयो । म कहीँ भेटिइनँ ।

हजुरबालाई झन्–झन् अप्ठेरो हुँदै गयो । अन्त्यमा हजुरबाले हिक्क गर्नुभो र शान्त हुनुभो । उहाँको प्राणपखेरु उड्यो । हाम्रो परिवारको मियो ढल्यो ।

सबै परिवार रुने र कराउने गर्न थाले । त्यसमा केही इष्टमित्र र छिमेकी पनि थपिए ।

म पनि रुन थालेँ । रुँदारुँदै मेरो गला अवरुद्ध भयो ।

०००

म हक्कानिएर ब्युँझिएँ । ब्युँझिँदा मुख सुकेको थियो । पसिनाले शरीर निथ्रुक्क भिजेको थियो । यो कस्तो सपना ! म आत्तिएँ ।

‘गोपाल…ए…गोपाल !’ मैले गोपाललाई झक्झक्याएँ ।

‘तँ अझै सुतेको छैनस् !’ गोपाल कराउँदै उठ्यो । ‘हिन् यार घर जाम्,’ मैले भनेँ, ‘नराम्रो सपना देखेँ । पक्कै हजुरबा हुनुन्न ।’

गोपालले झुलबाहिर चारैतिर आँखा दौडायो । घडीकै लाइट बालेर घडी हेर्यो । ‘बल्ल त साढे चार बज्यो,’ गोपालले भन्यो, ‘अँधेरै छ, यस्ताँ कसरी जानी !’

‘सकिन्च, हिन्,’ मैले कर गरेँ, ‘साइकल म चलाउँचु ।’

‘एकछिन पख्,’ गोपालले भन्यो, ‘पाँच बजेतिर अल्लि उजेलो हुन्च अनि जाम्ला ।’

गोपाल ननिदाए पनि बिस्तारामै पल्टिरह्यो । म बिस्तारामै उठेर बसेँ । मलाई सपनाको कुराले सताइरहेको थियो । ‘हे भगवान् मेरो सपना असत्य होस्,’ म मनमनमा प्रार्थना गरिरहेको थिएँ ।

वल्लोपल्लो घरमा ढोका खोलेको र बाटामा मान्छे बोलेको सुनिनथाल्यो । झल्याकझुलुक बत्ती पनि बल्न थाले ।

‘गोपाल उज्यालो भयो, जाम हिन्,’ मैले भनेँ । उसले उठेर आङ तान्यो अनि झुलमा आँखा टाँसेर बाहिरतिर हेर्यो ।

गोपालका बा बिस्तारामै थिए । ‘बा हामी घर जान्चम्,’ गोपालले बासित भन्यो, ‘यल्ले हजुरबाको नराम्रो सपना देखेच । रातिदेखि नै जाम् कि जाम् भनेर हैरान गर्यो छ ।’

‘अल्यै ! यस्तो अँध्यारो छ,’ गोपालका बाले भने, ‘अल्लि उजेलो भसी चिया–सिया खा’र जाउला ।’

मैले मानिनँ । मैले साइकल निकालिसकेको थिएँ ।

म साइकल चलाउन थालेँ । एक त अँध्यारो, अर्कातिर अस्थिर मन । मैले राम्रोसँग साइकल चलाउन सकिनँ । मधौरोले चलाएजस्तो भयो । ‘खै ले,’ गोपालले साइकल तान्दै भन्यो, ‘म चलाउँचु ।’

बालापुर पुग्दा बाटामा फाट्टफुट्ट मानिस हिँड्न थालेका थिए । पूर्वतिरको आकाश उघ्रिँदै थियो ।

एक्लै साइकल चलाउँदा गोपाल पनि थाकिसकेको थियो । ऊ बिस्तारै–बिस्तारै पाइडल मारिरहेको थियो । बालापुर तरेर पारि पुग्दा घाम झुल्किसकेका थिए । हामी विस्तारै उकालो लाग्यौं ।

उकालोमा फेरि साइकलको चेन फुत्कियो । गोपालले चेन हाल्यो ।

बेलभार कटेर हामी बिक्री कपास फारमतिर लाग्यौं । बिक्रीबाट चारवटा बाटा फाटेका थिए । एउटा कण्ठपुरतिर जान्थ्यो, अर्को बेलघारीतिर । तेस्रो बाटो वनैवन भादा नदीको घाटतिर सोझिन्थ्यो । चौथो, बेलभार अथवा गुलरियातिर, जुन बाटोबाट हामी आइरहेका थियौं ।

चौबाटो पुग्नुअगावै कण्ठपुरतिरको बाटोबाट एउटा साइकल आइरहेको देखियो । साइकलमा दुई जना थिए । मैले टाढैबाट देखें, साइकल चलाउने फुटाहा सोमराज अंकल थिए ।

मेरो मुटु ढक्क भयो । मैले रातिको सपना सम्झें, घरका हजुरबा सम्झें ।

हामी चौबाटोमा पुग्दा उनीहरू पनि ठ्याक्कै त्यहीँ आइपुगे ।

म साइकलबाट उत्रिएँ । ‘ए… यो पो रै’छ,’ सोमराज अंकलले बल्ल मलाई देखे ।

‘हजुरबालाई कता लगे… ?’ साइकलपछाडि बसेका सोमराज अंकलका बाले सोध्नुभयो ।

म छाँगाबाट खसेजस्तै भएँ । आँखा पिलपिल भए । मलाई हिक्का छुट्यो । म अवाक भएँ ।

जे नहोस् भनेको त्यही भयो । मेरो प्रार्थना खेर गयो ।

‘कुन्नि, म घर थिइनँ,’ मैले सुँक्कसुँक्क गर्दै भनें, ‘गुुलरिया ग’थिएँ । फर्किंदै छु ।’

‘ए… त्यसोभए जा, तँ घरै जा,’ उनीहरूले भने, ‘कुन घाटतिर छन्, हामी खोजम्ला ।’ उनीहरू खबर पाएर फुटाहाबाट सोझै घाटतिर आएका रहेछन् ।

उनीहरू हिँडे । म पुर्पुरो समाउँदै थचक्क भुइँमा बसें । मैले रुवाइ थाम्न सकिनँ । रुन थालेँ । ‘नरो यार, यो जंगलाँ…,’ गोपाल मलाई सम्झाउन थाल्यो ।

खै कतिबेरसम्म म त्यहीँ रोएर बसें । ‘अब हिन्, चाँडो गरेर घरै जाम्,’ गोपालले भन्यो, ‘ह्याँ यसरी रो’र बसेर हुन्न ।’

गोपालले साइकल डोर्यायो । म लरखरिँदै उसका पछिपछि लागें । अल्लि पर पुगेपछि उसले साइकल चलायो । ‘ल बस्,’ उसले भन्यो, ‘हिनेर कैले पुइन्च !’

म धङधङ्गिँदै साइकलमा उक्लेंं ।

अल्लि अगाडि पुगेपछि बाटाभरि बुर्की (धानको लावा र पैसा) छरेको देखियो । सोचेँ– हजुरबालाई यही बाटो लगेछन् । त्यो देखेर फेरि हिक्क–हिक्क हुन थाल्यो ।

म ज्यान छाडेर साइकलमा बसिरहेको थिएँ । गोपाललाई साइकल धानेर चलाउन गाह्रो भइरहेको थियो । फेरि बेलाबेला साइकलको चेन पनि फुत्किन्थ्यो ।

खै कसरी मलाई गोपालले माछागढसम्म पुर्यायो, थाहा पाइनँ । मलाई घरको तगारानिर छोडेर ऊ आफ्नो घरतिर लाग्यो ।

भारी पाइला चाल्दै म तगाराबाट छिरेँ ।

आमाहरू कपाल फिँजाएर पिँढीमा बसिरहनुभएको थियो । हजुरआमा एउटा सेतो बर्को ओडेर छेउमै कुँडुलो पर्नुभएको थियो ।

मलाई देखेर रुन्चे स्वरमा हजुरआमाले सोध्नुभयो, ‘काँ ग’थिस् ?’

म केही बोल्न सकिनँ ।

हिजोसम्म हजुरबा सुतेको खाट खाली थियो । घरमा सन्नाटा थियो । मलाई हिक्क–हिक्क भयो ।

म ह्वाँ–ह्वाँ रुन थालें । मेरो रुवाइसँगै फेरि घरमा रुवाबासी सुरु भयो ।

‘जानी बेलाँ तँलाई हजुरबाले कत्ति खोज्नुभओ,’ हजुरआमाले आँसु पुछ्दै भन्नुभयो, ‘अन्तिममा जेठो नातिलाई हेर्नी हजुरबाको धोको धोकै रह्यो ।’

मलाई रिङ्टा लाग्लाजस्तो भयो । म हुँक्क–हुँक्क गर्दै आँटी (कच्ची घरको माथिल्लो तला) मा गएँ । आँटीमा एकजोर विस्तारा थिए, त्यहीँ पल्टिएँ ।

निकैबेरपछि बाहरू हजुरबालाई सदाका लागि बिदा गरेर फर्किनुभयो । साइकल देखेर होला बाले सोध्नुभो, ‘सनत आयो ?’

‘अँ…,’ आमाले भन्नुभयो, ‘माथि आँटीमा छ ।’

म तल झर्न सकिनँ, अपराधबोधले ।

एकछिनपछि बाले ठूलो स्वरमा भन्नुभयो, ‘स्याबास छोरा ! छोराले गर्नी यस्तै हो ! आज तैँले खूब राम्रो काम गरिस् !’
आफैँ पश्चात्तापको आगोमा पिल्सिरहेको मलाई बाका शब्द मुटुमै छापिए ।

सोमराज अंकलले बाटोमा भेटिएको कुरा गरे ।

हजुरआमाले भन्नुभयो, ‘उतैबाट यल्लाई नि घाटाँ ल’भा हुन्त्यो नि ! जिउँदो देख्न नपाए नि मरेको मुख त देख्न पाउँत्यो ।’
‘हेक्कै भएन,’ अंकलले भने, ‘यल्ले पनि जान्छु भनेन ।’

उता सपनामा मैले जे देखेँ यता विपनामा पनि सबै घटित भएको थियो । मैले सपनामै भए पनि हजुरबाको अन्तिम अवस्था देखेको थिएँ । तर, मैले विपनामा त पाइनँ–पाइनँ, सपनामा पनि अन्तिम अवस्थामा हजुरबाको मुखमा पानी हाल्न पाइनँ ।

कुनै दिन सपनामै भए पनि हजुरबालाई पानी ख्वाउनपाए हुन्थ्यो जस्तो लाग्छ । तर, त्यस रात यता आजसम्म मैले सपनामा हजुरबालाई देख्न पाएको छैन ।

मलाई माफ गर्नोस् हजुरबा ! मैले तपाईंको अन्तिम इच्छा पूरा गर्न सकिनँ ।