विक्रम संवत २०२६ सालको एसएलसी परीक्षामा दोश्रो श्रेणीमा उच्च नम्बर प्राप्त गरेर परीक्षा पास गरेपछि म काठमाडौँ प्रस्थान गरें । मेरो एसएलसीको सिम्बोल नम्बर ४८४९ “एच” भएको अझै सम्झना गर्छु ।
बुवा निर्माण व्यवसायी भएको कारणले गर्दा मलाई सिभिल इन्जिनियर बनाउने ठूलो धोको थियो । त्यसैको फलस्वरूप मलाई काठमाडौँमा उच्च अध्ययन गर्न पठाउन कुनै हिच्किचाहट गर्नु भएन । काका बुवाहरुको छोराहरु काठमाडौँको लगन टोलमा बस्नु हुन्थ्यो । दाइहरु विश्वविद्यालय पढ्ने विद्यार्थी भएको कारणले पढ्न सुविस्ता र मद्दत हुन्छ भनेर नै मलाई दाइहरुसँग बस्ने व्यवस्था मिलाइदिनु भएको थियो ।
विज्ञान विषय लिएर एक सेमेष्टर नेशनल कलेज रामशाह पथमा अध्ययन गरिसकेपछि त्रिचन्द्र कलेजमा स्थान्तरण गरी पढ्न सुरु गरें । विज्ञान विषय लिएर पढ्न शुरु गरें तर डेराको वातावरण त्यो विषय पढ्ने चैं थिएन । विद्यार्थी राजनीतिको अखडा नै थियो हाम्रो डेरा । दाइहरु महेश्वरमान, ईश्वरमान अनि विश्वेस्वरमान सबै विद्यार्थी नेता थिए । बिदाको दिन होस् या नहोस् जहिले पनि मिटिङमा व्यस्त हुन्थे दाइहरु । कोठाभरि मान्छे नै मान्छे हुन्थे । ढोकाबाहिर जुत्ता र चप्पलको थुप्रो लाग्ने गर्थ्यो ।
तत्कालीन विद्यार्थी नेताहरु बालमुकुन्द खरेल, कुमार कार्की, शरण राई, महेन्द्र पाण्डे, दिपेन्द्र क्षेत्री, सोमनाथ घिमिरे, बिदुर उपाध्याय, केबि श्रेष्ठ आदि सबैको जमघट हुने ठाउँ नै हाम्रो डेरा थियो । यी त सम्झिएका नाममात्र हुन् । नेता शम्भुराम श्रेष्ठ पनि बाक्लै आउँथे । नेता मनमोहन अधिकारी र भरत मोहन अधिकारीलाई भेट्न पाटनको सिद्धिलाल सिंहको घरमा बारम्बार मलाई पनि लिएर जान्थे ।
म भर्खर भर्खर काठमाडौँ छिरेको मान्छेलाई यस्तो चहलपहल, नयाँनौलो देख्ने भेट्ने रहर नहुने कुरै थिएन । म फुच्चे पछि पछि लाग्थें ।
विद्यार्थी संगठनको चुनावको बेला विश्वविद्यालय परिसरमा पर्चा छर्न र पोस्टर टाँस्न रातभर हिँड्ने गरिन्थ्यो । त्यसबेला त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वरमा थियो । रात परेपछि र बिहानको झिसमिसेमै उठेर पर्चा टाँस्न माड र टेप बोकेर हिँड्ने गरिन्थ्यो । सभा जुलुसमा सहभागी हुने मात्र होइन सक्रियतासाथ भाग लिने गरिन्थ्यो ।
त्रिचन्द्र कलेजमा आईएस्सी दोश्रो सेमेष्टरमा पढ्दै गर्दा हामी क्षेत्रपाटी सर्यौं । तेल दोकान थियो बाहिरपट्टि । त्यहाँबाट भित्र गएर पछाडिपट्टिको नयाँ घरमा हामी बस्ने गर्थ्यौं । हाम्रो कोठाबाट नरदेवीको कन्या मन्दिर स्कुलको पछिल्लो भाग देखिन्थ्यो । अगाडिपट्टि चैं ईखा पोखरी ।
विद्यार्थी राजनीतिमा मेरो सक्रियता बढ्दै गएको अवस्था थियो त्यो । हाम्रो डेरावरिपरि नै थुप्रै विद्यार्थी नेताहरु बस्ने गर्दथे ।
सो समयका विद्यार्थी नेताहरु पशुपति वाग्ले, चित्रकृष्ण तिवारी, जागृतप्रसाद भेटवाल, शरण विक्रम मल्ल, तिलक पराजुली, तारा न्यौपाने सबै त्यतै वारिपरि बस्थे । प्राय: सबैको बिहानको चिया पिउने रेष्टुरेन्ट एकै थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को महासचिव भएको नाताले विद्यार्थीको मिटिङ पशुपति वाग्लेको डेरामा नै हुने गर्दथ्यो । क्षेत्रपाटी चोकको सरस्वती स्थान पछाडिपट्टि पत्रकार बन्धु कृष्णप्रसाद बाँस्कोटाको प्रेस थियो । त्यही प्रेसमा भेट हुने गर्थ्यो गोपाल बाँस्कोटा, प्रेम कैदी अनि लिलामणिजीहरुसँग । सोह्रखुट्टेको सैनिक छात्रावासमा धेरै मित्रहरु बस्थे । त्यहाँ पनि विद्यार्थी साथीहरुसँग मिटिङ हुने गर्दथ्यो । वास्तवमा भन्ने हो भने त्यो क्षेत्र नै प्रगतिशील क्षेत्रको गढजस्तै थियो । अमृत साइन्स कलेज, सरस्वती कलेज, त्रिचन्द्र कलेज अनेरास्ववियुको गढ थियो ।
त्यसबेला क्षेत्रपाटी, पकनाजोलको अनि ठमेलको पूरै क्षेत्र प्रगतिशील खेमाको कब्जा जस्तै थियो । भनिन्थ्यो, डिल्ली बजार बत्तीस पुतली क्षेत्रमा चैं नेविसंघको विद्यार्थी बस्थे भने यताको क्षेत्रचैँ प्रगतिशील विद्यार्थीहरु । धोबी चौरस्थित पब्लिक युथ कलेज चैं धेरैजस्तो नेविसंघको कब्जामा हुन्थ्यो । लाग्थ्यो, डेरावाल विद्यार्थी प्रगतिशील र घरबेटी जति सबै नेविसंघका विद्यार्थी हुन् ।
त्रिचन्द्र कलेज त्यस समयका विद्यार्थी राजनीतिको लागि मुख्य स्थान मानिन्थ्यो । त्यसपछि अस्कल र ल क्याम्पसको नाम आउने गर्दथ्यो । हड्ताल र जुलुस प्राय: भैरहन्थ्यो । म सम्झन्छु २०२८ सालको कुरा । विभिन्न माग राखेर सम्पूर्ण विद्यार्थी वर्ग हड्तालमा उत्रेका थिए । जुलुस निस्क्यो । रत्नपार्क, न्यूरोड कमलाक्षी हुँदै राष्ट्रिय नाचघर अगाडिको चोकमा पुगेपछि पुलिसले लाठी चार्ज गर्न सुरु गरे । भागमभाग भो । त्रिचन्द्र कलेज भित्रको कम्पाउण्डमा पुलिस आउन नसक्ने भएकोले त्यहाँ आमसभा गरिने भो । आमसभा सकिएपछि बाहिर निस्कन पाइएन । पुलिसले कलेज पूरा घेरेर बसेका थिए । जो बाहिर निस्कन्छन् पक्रिन थालेका थिए । लाठीचार्जमा परेका घाइते विद्यार्थीहरुको मल्हमपट्टी गर्न थालियो । मित्र नारायण भट्टराईको टाउकोमा ठूलो चोट लाग्यो । साँझ पर्दै गएपछि साडीले बेरेर आइमाईको भेषमा थुप्रै विद्यार्थी निकाल्न सफल भइयो । भोलिपल्टदेखि वीर हस्पिटलमा भर्ना भएका बिरामी मित्रहरुलाई पालो पालो हेर चाह गर्ने जिम्मा लिइयो ।
अनेरास्ववियुका महासचिव पशुपति वाग्लेको डेरामा बैठक बस्यो । थुप्रै कलेजका विद्यार्थी भएको कारणले चिनापर्चीको कार्यक्रम भयो । मैले उठेर आफ्नो र कलेजको नाम भन्न मात्र सकेको थिएँ । भरत चुँडालले थपि हाले, “वसन्त कलेज सकेपछि बलिउडमा खेल्न बम्बई जाँदै छ ।” सबै गलल् हाँस्न थाले । म आफ्नो पहिरनमा खुब ख्याल गर्थें ।त्यही कारणले मेरा मित्रहरुले मलाई अर्कै दृष्टिले मलाई हेर्ने गर्थे भन्ने मलाई थाहा थियो । र यस्तो कुरा यदा कदा सुन्न म अभ्यस्त झैं नै भैसकेको थिएँ । यही कारणले भरत चुँडालले मलाई व्यङ्ग कस्न भ्याएका थिए । त्यही मिटिङले मलाई त्रिचन्द्र कलेजको दोश्रो सेमेष्टरको कक्षा प्रतिनिधिको चुनावमा खडा गर्ने निर्णय गरेको थियो ।
त्यस समय कलेजको प्रतिनिधि विद्यार्थी विश्व विद्यालयको सभामा सदस्य हुने गर्दथे । सबै सेमेष्टरको क्लासको विद्यार्थीको निर्वाचन हुने गर्दथ्यो । त्रिचन्द्र कलेजको विज्ञान विषयको दोश्रो सेमेष्टरको विश्वविद्यालय प्रतिनिधिको लागि मलाई मित्रहरुले अनेरास्ववियुको तर्फबाट उमेद्वार बनाए । चुनावमा खडा भएका दुई पक्षबीचमा उमेद्वारको भाषण गरी आफ्नो विचार र प्रतिबद्धता व्यक्त गर्नु पर्दथ्यो । मैले जीवनमा सार्वजनिक रुपमा भाषण गरेको त्यही नै पहिलोपटक हो । मेरो अभिन्न मित्रहरु नेवज गुरुङ, ज्योति अधिकारी, खेम दाहाल र अरु दुई चार मित्रहरु प्रजातान्त्रिक विचारप्रति प्रतिबद्ध भए तापनि मलाई हरतरहले चुनावमा सहयोग र समर्थन गरेका थिए । मेरो विज्ञान शिक्षामा मुख्य विषय गणितको सम्पूर्ण विद्यार्थीको समर्थन हुँदाहुँदै पनि थोरै मतले पराजित हुनु पर्यो । त्रिचन्द्र कलेजमै वाणिज्य विषयमा नारायणप्रसाद भट्टराई, सुजन खरेल, भरत चुँडाल अनि मानविकी शास्त्रमा बिएमा पढ्नुहुने चित्र कृष्ण तिवारी त्रिचन्द्र कलेजमा विद्यार्थी राजनीतिमा सक्रिय हुने नामहरु हुन् त्यस समयका ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनको पाँचौँ या छैठौँको सम्मेलन गर्ने विषयमा ठूलो विवाद भएको भएको थियो । लिलामणि पोख्रेल र बलराम बाँस्कोटाहरु छैठौं र हामी पाँचौँमा विभाजित भएका थियौं । मिल्नको लागि छलफल गर्न विभिन्न कलेजमा सानाठूला धेरै सभा भए । एकपटक सरस्वती कलेजमा एउटा त्यस्तै छलफलको कार्यक्रम भयो । विवाद बढेर भनाभनको स्तरमा उक्लियो । लिलामणीको समूह र हाम्रो समूहको ठूलो झगडा भयो । हात हालाहाल नै भयो । तर हामी दुई चार जना मिलेर लिलामणिलाई जोगाएर त्यहाँबाट भगाएको अझै झल्झली सम्झने गर्छु । शम्भु थापा र गुरु बरालसँग रातरातभर बाक्लै हिँडिएको थियो त्यो सम्मेलनको समयमा । सुवास नेम्बांग दाइ हाम्रो सल्लाहकार जस्तै थिए त्यसबेला ।
प्रगतिशील विचार पक्षको सामयिक साहित्यिक संकलन पत्रिका प्रत्येक कलेजबाट मात्र नभई जिल्लाबाट पनि प्रकाशन हुन्थे । धरानबाट “छाया”, विराटनगरबाट “प्रकाश”, गण्डकी विद्यार्थी परिषद्को “लालुपाते”, चितवनबाट “नौलो राँको” र धौलागिरीको “धौला श्री” विशेष लोकप्रिय थिए । अरु विशेष लोकप्रियमा “संकल्प” र “वेदना” पनि धेरैले रुचाउने साहित्यिक पत्रिका थिए । मेरो साहित्यिक रुचि र लेखनले अर्को मोड लियो । साहित्यिक पत्रिका प्रकाशन गर्ने । आफू पूर्णकालीन विद्यार्थी । बुवाले इन्जिनियर बनाउन विज्ञान विषय पढाउन काठमाडौं पठाएको । बुवाले पढ्न पठाउनु भएको खर्च नै कटौती गरेर पत्रिका निकाल्ने निर्णय गरेँ । पत्रिका प्रकाशनको लागि नाम जुर्यो “पूर्वेली धुन” । काठमाडौँ जिल्ला कार्यालयबाट पत्रिका प्रकाशनको स्वीकृति लिन पटकपटक धाएँ । तत्कालीन सहायक जिल्ला प्रमुख अधिकारी स्व. घटराज भट्टराई थिए । उनले धेरैपटक स्वीकृति दिन इन्कार गरे । पूरै कम्युनिष्ट पत्रिका भयो भन्थे । अहिले विद्यार्थीको पूरा ध्यान पढ्नमा खर्च गर्नुपर्छ यस्तो पूरै राजनीतिक पत्रिका निकाल्न हुँदैन भनेर धेरैपटक सम्झाउने कोसिस गरे । तर हाम्रो लक्ष्य र विचार अडिग भएपछि उनले आखिर हार खाए । “पूर्वेली धुन” सामयिक साहित्यिक संकलन पत्रिका प्रकाशन गर्ने स्वीकृति दिए । वि.स. २०२९ सालमा मेरो सम्पादनमा काठमाडौँबाट “पुर्वेली धुन” प्रकाशित भयो ।
कमलाक्षीस्थित टिपटप ड्राई क्लिनर दोकान अगाडि एउटा सानो गल्ली छ । त्यो गल्लीको मुखैमा लभ्ली फोटो स्टुडियो दायाँ पारेर गएपछि भण्डारी चोकमा शान्तिराम र शक्तिराम भण्डारीको प्रेस थियो । त्यही प्रेसमा पत्रिका छपाउने प्रबन्ध मिलाइयो । पत्रिका छापियो । पूरै पत्रिका उठाउन हामीसँग पैसा पुगेन । न्युरोडको पिपलबोटमा बिक्रीको लागि राखियो । दुई चार ठाउँबाट विज्ञापन आएको थियो । अनि पैसा उठाउन दिनदिनै नयाँ सडकको पिपलको बोटमुनि पत्रिका बेच्न राखिएको ठाउँमा उभिन पुग्थेँ । सोध्थेँ, आज कति बिक्री भो ? ऊ भन्थ्यो खै अचेल पत्रिका बिक्री नै हुँदैन । वायुसेवा निगमको विज्ञापनबाट एक सय पचास र थप बुवाले इन्जिनियर बन्न पठाएको खर्च निकालेर प्रेसको पैसा चुक्ता गरियो ।
त्यसबेलाका चर्चित साहित्यकार खगेन्द्र संग्रौलाका कथा, डा. सरोज धितालका कविता, बिदुर उपाध्यायका सनसनीपूर्ण आलेख र थुप्रै पठनीय सामग्रीले भरपूर सो पत्रिका निकै लोकप्रिय भएको थियो । मित्र मण्डली र धेरै शुभेच्छुकहरुबाट धेरै प्रशंसित भए पनि मेरो पढाइको धेरै पैसा खर्चीपछि घरबाट ठूलो गाली र खबरदारी सहनु परेको थियो । त्यस पत्रिकाको प्रकाशनको लागि मित्रहरु तुलसी सुब्बा, भरत चुँडाल, नारायण भट्टराई, तोयानाथ भट्टराई र अरु थुप्रै मित्रहरुको धेरै सहयोग प्राप्त गरेको थिएँ ।
विक्रम संवत् २०२८ साल या २०२९ सालमा नेपाली कांग्रेसको भेला भारतको बैरगनिया जिल्लामा हुने भएको थियो । विक्रम संवत् २००६ सालमा पनि नेपाली कांग्रेसले बैरगनिया सम्मेलन गरेकोले त्यो ठाउँ धेरै प्रशिद्ध थियो । सो सम्मेलनमा भूमिगत रुपमा रहनुभएको इलामका कुल बहादुर गुरुङ (केबि गुरुङ) दाइलाई भेट्न जाने भइयो । काठमाडौँबाट केबी दाइको भाइ मेरो मित्र नेवज गुरुङ र म दुइटा बस फेरेपछि बल्ल साँझमा गौर बजार पुग्यौं । नेवजले त्यहाँ कसैसँग सोधे, बाटो बताइदिएपछि हामि नेपाली काँग्रेसका नेता शेख इद्रिसको गाउँ गयौं । त्यहाँ पुग्नलाई हामीलाई धेरै ठाउँ रोकेर सोधपुछ गरे । सोध्ने मान्छे हाम्रो जवाफ पाएपछि अरु कसैलाई सोधेर आउँथे र हामीलाई जान दिन्थे । नेपाली काँग्रेसको महाअधिवेशनको कारणले धेरै सुरक्षा र सतर्कता अपनाइएको थियो ।
देहातको बाटो अँध्यारोमा हिँड्दै गयो बाटोमा कोही रोक्न आइपुगी हाल्थे । यसरी धेरै ठाउँको चेकपोष्ट पार गरेपछि युवा नेता देवेन्द्र नेपालीसँग भेट भयो । उसैले हामीलाई बैरगानिया सम्मेलन स्थलभित्र छिरायो । केबी दाइसँग भेट भो । मेरो पहिलो भेट थियो । ठूलो पालभित्र पराल ओछ्याएर वरिपरि बसी छलफलमा सबै मस्त देखिन्थे । मैले जीवनमा पहिलोपटक नेपाली काँग्रेसका शीर्षस्थ नेताहरु प्रत्यक्ष देखेको त्यहीँ नै हो । छलफलमा त हामीलाई बस्नु थिएन तर लामै भेटघाट गरेपछि हामी दुई दिन बसेर फर्क्यौं ।
कलेजको छुट्टीको समयमा तेह्रथुम जाने भइयो । मित्रहरुसँग भेट गर्ने भनेर केही दिन धरान बसियो । धरान पुतली बजारस्थित सार्वजनिक पुस्तकालयमार्फत् केही गोप्य जानकारी सरकारी संस्थामा चुहाएको घटनामा सम्मिलित एक मित्रको सुनुवाईमा उपस्थित हुन् अनुरोध भए अनुसार गइयो । सुरेश र अरु दुई मित्रप्रति लागेको आरोपमा छलफल गर्न सम्मिलित केही सम्झने नामहरु बम देवान, बम थुलुङ्ग, हिमाल राई, सुनिल राई, गुरु बराल आदि थिए तर थुप्रै मित्रहरु छलफलमा सामेल थिए । धेरै गरमागरम छलफल र बहस भयो । एउटा मित्रले म काठमाडौँबाट आएको कारणले मलाई निर्णयको लागि प्राथमिकतामा राखे । म अन्यौल र असमन्जसमा परें । सबैजसो सजाय दिनुपर्छ भन्नेमा थिए । उत्तिकै उत्तेजित पनि थिए । केही छिनमा नै हात हालाहालको स्थिति भएर तनावपूर्ण परिस्थितिको सिर्जना भयो । धेरैबेरको सुझबुझ पूर्ण कुरा र तर्कले मैले सबैलाई साम्य पार्न सफल भएँ ।
त्यस्तो विषम परिस्थितिमा पनि मैले कसरी सो घटना साम्य पार्न सकें, अहिले सम्झदा पनि मन ढुक्क फुलेर आउँछ । नत्र धेरै ठूलो घटना घट्न सक्थ्यो । बिल्कुल असामान्य परिस्थितिलाई कसरी सहज बनाएर सो समस्या सुल्झाउन मैले मद्दत गर्न सकें सम्झदा अझै पनि मलाई विश्वास गर्न गाह्रो पर्छ ।
त्यसको भोलिपल्ट धरान, छाता चौकको पान पसलमा साथीसँग पान चपाएर गफ गर्न तल्लीन थियौं । स्थानीय मित्रहरु मदन राई र बम थुलुङ्ग आइपुग्नु भो । मदनले मलाई तलदेखि माथिसम्म हेरेपछि भने “होइन ए मित्र तपाईँ त आफूलाई प्रगतिशील बताउनु हुन्छ । तर तपाईँको लुगा लवाइ र यसो हेर्दा त पुँजीपति पो देखिनु हुन्छ नि ?” मलाई अप्ठ्यारो लाग्यो के लवाइको कुरा गरेको भनेर । मैले यसो हेरे उनी अलिकति गम्भीर नै देखिन्थे । अनि मैले भनेँ, “हेर्नुस मित्र, मान्छेको विचार, व्यवहार र कार्यशैलीले पो जाँचिन्छ, न त उसको लवाइ र खवाइले ।” मैले त्यति भनिसकेपछि अर्को मित्रले हाम्रो ध्यान अरु कुरामा मोड्नु भो । अहिले सम्झदा पनि अचम्म लाग्छ प्रगतिशील विचार बोकेका मित्रहरुको व्यवहार ।
राजनीतिको विषम परिस्थिति त्यसबेला मैले अनुभव गरें जुनबेला मेरो अभिन्न मित्र तेह्रथुम जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवार बन्न पुगेका थिए । सो समयमा प्रगतिशील विचार पक्षले सो चुनावलाई बहिष्कार गर्ने रणनीति लिएको थियो । मैले त्यसअघि नै तुलसी सुब्बाको घोषणा पत्र र अनुरोध पर्चा प्रचारप्रसारमा यथासक्य सहयोग गरी प्रकाशन पनि गरिसकेको अवस्था थियो । उनको चुनाव चिन्ह “घर” थियो ।
प्रचारप्रसारमा पनि म सार्वजनिक भई नै सकेको अवस्था थियो त्यो । तर चुनावको मध्यसमयमा मित्र नन्द कन्दंगवाले चुनाव बहिष्कारको यथेष्ट पर्चा लिएर आइपुग्नु भयो । म कर्तव्यविमूढ बनेर उभिनुपरेको थियो त्योबेला । लामो छलफलपछि त्यो पर्चालाई आठराईतिर नै पठाउने निर्णय गरी पठाइयो । त्यस समयमा पञ्चायती व्यवस्थालाई कसरी उपयोग गर्ने भन्ने एउटा प्रगतिशील विचार प्रवाह भएको समय पनि थियो ।
तेह्रथुमदेखि धनकुटाको मोटर बाटोको रेखाङ्कन सुरु भएको समय थियो त्यो । मित्र गोबिन्द प्रधान इन्जिनियर र पाँचथरका मित्र विजय सुब्बा र अरु ओभरसियर सो योजनामा कार्यरत थिए । ती मित्रहरुको सहयोगबाट चुनावमा ठूलो संख्यामा धेरै मजदुरको मत प्राप्त गर्न सफल भइयो । त्यस वर्षको चुनावमा मित्र तुलसी सुब्बाले अत्यधिक मतले जितेका थिए ।
बुवाले इन्जिनियर बनाउन काठमाडौँ पढ्न पठाएको छोराले आईएस्सीको पहिलोपटकको परीक्षा नै दिन सकेन । तयारी नभएको कारणले त्यो वर्षको जाँच स्थगित गरेको थिएँ । मैले आईएस्सी बडो मुस्किलले एक वर्षपछि मात्र पास गर्न सकें । दोश्रो श्रेणीमा पास भएपछि धेरै ठाउँमा छात्रवृतिको लागि धाउन थालें । चिने जानेका सबैलाई हार गुहार गरियो । कतैबाट पनि छात्रवृति पाउने आशा नभएपछि निजी खर्चले पढ्न जान बुबासँग अनुमति मागे । धेरैपटक मन्त्रालय धाए पनि धेरैलाई अनुनयविनय गरे पनि शिक्षा मन्त्रालयको चिठी बनाउन नसकेपछि मैले हार खानु पर्यो । बुबाको सपना पूरा गर्न नसक्ने भएपछि अन्त्यमा जनप्रशासन कलेजमा भर्ना भएँ स्नातक बन्न ।
त्यतिबेला जनप्रशासन क्याम्पसमा लुरुलुरु जानु पर्दा बुवाको सपनाको मलामी गएजस्तो अनुभव भएको थियो मलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।