गाउँदेखि ठिक पश्चिम दिशामा तौलिया आकारको फुटबल मैदान थियो । मैदानदेखि दक्षिणमा सानो क्षेत्रफलमा फैलिएको सामुदायिक वन । उत्तरतिर पोखरी थियो । साँझको समय, दाइहरूको फुटबल खेलको रैथाने सङ्गीतले मैदान तरङ्गीत हुन्थ्यो ।
हामी सानै भएकाले खेल्नेक्रममा मैदान बाहिर पुगेका बललाई भित्र फाल्न सम्म पाउँथ्यौँ । त्यसमा पनि हाम्रो पुस्ताका साथीहरू बिच अघोषित तीव्र प्रतिस्पर्धा चल्थ्यो ।
खेल पश्चात् थकानको आहालमा डुब्थे दाइहरू । आफ्नै लुगाले पङ्खा हम्किँदै पसिनाको बिस्कुन सुकाउँथे । मैदानको पूर्वी कुनामा काकाले रोप्नुभएको बरको बोट थियो । त्यही बरको बोटमुनि गोलबद्द भएर अनौपचारिक कचहरी बस्थ्यो खेलपश्चात् । त्यो समय हाम्रो निम्ति अत्यन्तै महत्त्वपूर्ण हुन्थ्यो । त्यो त्यही समय हुन्थ्यो जतिबेला समसामयिक विषयमा छलफल चल्थ्यो । हास परिहासका श्रृङ्खलाहरू बुनिन्थे । घरेलु राजनीतिदेखि स्थानीय घट्नाक्रमले पनि प्रवेश पाउँथ्यो छलफलमा । कहिलेकाहीँ भुतप्रेतका प्रसंगहरूले उठाउँथ्यो मनमा त्रासको पहाड । त्यही त्रासको पहाडबाट ढुन्मुनिएका हामी घुस्रिँदै दाइहरूको बिचतिर पुग्थ्यौँ ।
वि.सं. २०५०/५१ तिर फुटबल महाकुम्भ चल्दै थियो । गफको विषयको कच्चा पदार्थ त्यही विश्वकप फुट्बलका नवीनतम गतिविधीहरू हुन्थे । एकदिन प्रसंगवश मनु काकाले म्यारोडोनाले बाइ-साईकल किक हानेर गोल गरेको प्रसंग कोट्याउनु भयो । लगत्तै धुरन्धर खेलाडी मध्यका एक रामबाबु रोकाहा दाइले जुरुक्क उठेर सोही शैलीको किक हावामा प्रहार गरे । कराँते खेल्न पाए त त्यस्तो किक प्रहार गर्न सहजै सकिने निष्कर्ष निस्कियो । गफको बहावले मूलधार समात्यो । त्यो धार कराँते विषयको खोल्सो हुँदै कलकल गरेर बग्न थाल्यो, तर पुग्नु पर्ने समुद्र भने निक्कै नै टाढा थियो । कराँतेका विविध आयामहरूको प्रसंग चले । कसैले के भने कसैले के । कराँते सम्बन्धि दाइहरूको आफू अनुकूल विद्दत प्रवचन, झ्याँउँकिरीको पार्श्व संगीतमा साँझले पनि सुन्यो । हाम्रा कानले पनि नयाँ व्यञ्जनको नौलो आस्वाद पायो ।
कराँतेमा ब्ल्याक बेल्ट हुनु भनेको गौरवको विषय मानिन्थ्यो त्यतिबेला । वरिपरीका चार गाउँमा पनि ब्ल्याक बेल्ट भएको मानिस शायदै थिए । गफको लहरमा बग्दाबग्दै उपस्थित खेलाडीहरूले कोही खुट्टा फार्ने, कोही किक देखाउने गर्न थाले । अन्ततोगत्वा अवसर पाए कराँते सिक्न खेल्न तत्पर रहेको साङ्गोपाङ्गो निष्कर्ष सहित खेलाडी टोली गाउँ फर्कियो ।
भोलिपल्टको खेल पछिको जमघटमा पनि कसैले अघिल्लो दिनको प्रसंग कोट्यायो । अलिअलि खाटो नबस्दै पुनः कराँतेको खसखसले सबैलाई चहर्याउन थाल्यो । एकजना दाइले गरेको छोटोमोटो अनुसन्धान अनुसार हात्तिलेटमा एकजना ब्ल्याक बेल्ट खेलाडी रहेको तथ्य पत्ता लाग्यो । उसैसँग कराँते सिकाइ माग्न आग्रह गर्ने भद्र सहमति पनि भयो । कसैले नकार्ने प्रश्न नै थिएन । सबैजना कराँतेको सम्भावित ब्ल्याक बेल्ट हुने आशा उग्राउन थाले ।
भोलिपल्ट केही दाइहरू हात्तीलेट गएको खबर घामसँगै गाउँभरि फैलियो । सबैजनाको अनुहारभरि उत्साहको मखमली फक्रियो, किनभने हात्तीलेट गएका दाइहरूले ब्ल्याक बेल्ट खेलाडीलाई गुरू भएर कराँते सिकाइदिन गरेको अनुनय स्वीकार भएछ, तर कराँते सिक्ने स्थलको बारेमा भने टुङ्गो लागिसकेको रहेनछ ।
फुटबल खेल पश्चातको अनौपचारिक छलफलमा खेल स्थानको विषयमा विशेष चर्चा चल्यो । कसैले रातुखोलाको बगरमा खेल्नुपर्नै सुझाए त कसैले चिहान टोकामा, तर कराँते गुरु दैनिक रुपमा हात्तीलेटदेखि आउनुपर्थ्यो । त्यसैले गाउँदेखि पश्चिम तर्फको रातुखोला र भोटेखोला बिचको बिस्तारीत चौर नै उपयुक्त थलो भएको निष्कर्ष निस्कियो ।
भोलिपल्टदेखि फुटबल खेल स्थगित हुने भयो । सबै खेलाडीहरू घाम अस्ताउनुअघि नै निर्धारित स्थानमा भेला हुने भए । हामी साना पुस्ताका साथीहरू पनि लुकी-चोरी भएपनि कराँते सिक्ने निचोडमा पुगेका थियौँ । किनभने कराँते हाम्रो निम्ति सर्वथा नौलो विषय थियो, तर हामीलाई उक्त क्षेत्र वरिपरि नजानको निम्ति दाइहरूबाट फरमान जारी भएको थियो । हामी भने जानलाई कृत संकल्पित थियौँ ।
भोलिपल्टदेखि गाउँमा बेग्लै प्रकारको बतास चल्न थाल्यो । गाउँका ओठहरूमा बेग्लै विषयले प्रवेश पायो । आकाश उस्तै थियो तर यस्तो लाग्दैथ्यो दाइहरूले आकाश जुरुक्कै उचाल्ने वाला छन् । किकले हानेरै तारा खसाल्लान जस्तो । जोश र चौं चौंले झुसी मात्र हैन पूरापूर चुली । दुई जना भेला हुनेबित्तिकै कराँतको आधारभूत कला कौशल देखाउन तम्सिहाल्थे दाइहरू । हामीलाई भने अतिरिक्त मनोरञ्जन थपिन पुग्यो । के बाटो, के धारा, के गोठालो जहाँ जतासुकै किक र पञ्च बर्सिन थाल्यो । बिचरा हावा पनि दाइहरूको चर्तिकला देखेर घाईते जिउ छल्दै र जोगिँदै दौडिँदो हो जस्तो । गाउँका युवावृत्तमा भयंकर ज्वरो पस्यो । कराँतेको ज्वरो ।
हामी झुसिल्किरा झैं घस्रिँदै गाउँदेखि पश्चिम रातुखोला र भोटेखोला बिचमा बृहत्तररूपमा फैलिएको भूगोलको कुनामा पुग्थ्यौँ । खोलाको डिलमा छलिएर दाइहरूले गरेको अभ्यासको दुरुस्तै नक्कल गर्ने प्रयास गर्थ्यौं । फलस्वरुप कराँतेमा देखाईने कलाको रूखको एउटा पातसम्म चिन्ने भएका थियौँ ।
दाइहरूको प्रशिक्षण र अभ्यास यति तीव्र गतिमा भयो कि खोलाको डिलबाट हामफाल्ने, रूखवाट र भैँसी चराउँदा चराउँदै भैँसीको ढाडबाट उड्दै किक हान्ने क्रियाकलापहरू सामन्य हुँदै गए । दाइहरूको अनुहारमा आत्मविश्वासका सात सूर्य उदाए । छातीमा गौरवको सग्लो हिमाल चुलियो । ओठमा मुस्कानको लालुपाते फक्रियो ।
समय न हो, एउटै गति र मतिमा किन हिँडिरहन्थ्यो र ? समयले चाल फेर्यो । ढङ्ग फेर्यो । अर्थात भनौँ, समयले दिनहरूको काँचुली फेर्यो । फलस्वरुप सो प्रक्रियाले धेरै दिनसम्म निरन्तरता पाउन सकेन । कराँते सिकाउने गुरुले नभ्याउने भए । दौडिरहेको साइकलमा एक्कासी ठूलो ढुङ्गाको ओट लागेजस्तो भयो । सपनाहरू भुर्लुक्क ढले । उत्साह, बाछिटाले पखालेको कमेरे भित्ता झैँ छ्याकटे भयो ।
दाइहरू अलिअलि खुशी र अलिअलि पीरको मिश्रित रंग अनुहारमा सोहोरेर पुनः फुटबल मैदान फर्किए । दाइहरू आएसँगै झोक्राइरहेको मैदानमा वसन्त फर्कियो । खुट्टाहरूको स्पर्शले मैदान पुनः हँसिलो र जीवन्त भयो । कराँतेमा विशेष रूचि र दख्खल राख्ने दीपक दाइ तथा ऋषि दाइ तथा नकुल दाइहरूले भने आफ्नो वैयक्तिक अभ्यासलाई केही हदसम्म निरन्तरता दिनुभयो ।
अभ्यास प्रशिक्षण संभवतः दुई महिनासम्म चल्यो । सो समयावधीमा पनि धेरै जनाले आधारभूत काँता प्रदर्शन गर्न सिकिसक्नुभएको थियो । कराँते स्थगन भएपनि फाइदा के भयो भने, कराँते सिक्दा जानेका कौशललाई टपक्क टिपेर उतारे फुट्बल खेलमा दाइहरूले । फुटबल खेलमा कौशलको सम्मिश्रणले नयाँ आयाम थपियो ।
घट्नाक्रम यत्तिमा मात्र सिमित बस्न इन्कार गर्यो ।
गाउँमा एकजना बटेश्वरे बुढा थिए । धनुषाको बटेश्वरबाट बसाईं सरी आएकाले पहिचान नै बटेश्वरे बुढा बनेको थियो उनको । उनका पाँच भाइ छोराहरू थिए । जेठा ठुल्कान्छा लुगा सिलाउँथे । अरू खेती किसानी तथा ज्याला मजदुरी गरेर जीविका चलाउँथे, तर कान्छा कृष्ण चाहिँ अलिक फरक स्वभावका । हाम्रै दीपकदाइ जस्तै फेसनेबल र फिल्मका सौखिन ।
उनै कृष्णले एकसाँझ आफ्ना फुपुका छोरा बाबुराम पनि ब्ल्याकबेल्ट भएको खबर प्रसारण गरे । अस्ताउन लागेको उत्साहको ग्राफ पुनः उकालो चढ्न लाग्यो दाइहरूको । मनको अँधेरीमा एकाएक पूर्णिमाको सग्लो जून उदायो ।
त्यसैको भोलिपल्ट उसले बाबुराम र त्यस बेलाका चल्तीका नायक भुवन के.सी.ले हात मिलाएको तस्बीर लिएर खेलमैदानमा आए । के बालक के वृद्धा, सबै भुवन के.सी.का जबर्जस्त फ्यान थिए त्यतिबेला । त्यो तस्बिर सबैलाई देखाउँदा कृष्णको अनुहार गर्वले उज्यालो भयो । केही महिना अघि सिक्दासिक्दै निमोठिएको कराँतेको रहर पुनः टुसाउन थाल्यो । दाइहरूको मुहारमा खुशीको इन्द्रेणी झुल्कियो । सम्भावनाका नयाँ चिउला पलाए । फलस्वरुप सबैले बाबुरामसँग भेट्ने इच्छा जाहेर गरे ।
नभन्दै एकदिन बाबुराम गाउँमा आए । भुवन के. सी.सँग हात मिलाएको मान्छे हाम्रो निम्ति ठुलै सेलिब्रेटि भए । त्यसमाथि कराँतेको ब्ल्याकबेल्ट । गाउँभरीका बालक तथा युवाहरूको जमात बटेश्वरे बुढाको घर आँगनमा जम्मा भयो । हामी त्यहाँ पुग्दा बाबुराम करेसामा हलो जोत्दै थिए । भर्खरै विवाह गरेर आएका उनले कुनै भाकल पूरा गर्न हो या श्रीमतीलाई देखाउन हो त्यो साँझको समयमा पनि हलो जोतेको हामीले यकीन गर्न भने सकेनौँ ।
भोलिपल्ट चौरमा दाइहरूलाई लहरै उभ्याएर अनेकन अभ्यासहरू गराए । हामीले भने रमिते भावमा नजिकैबाट सबै अभ्यास, सूक्ष्म नजरले अवलोकन गर्यौं । अभ्यासले केही दिनसम्म निरन्तरता त पायो, तर उनीपनि पाहुना भएर आएको मान्छे जो थिए, रुखबाट शरदको बहार फर्किए झैँ फर्किगए । दाइहरूको रहरमा पुनः शिशिर बास बस्न आइपुग्यो । उत्साहको दुर्भिक्षले रहरका पात पहेंलिएर झर्न थाले । दाइहरूको कराँते सिक्ने आकांक्षा कम्मर- कम्मर हुँदै घुँडा-घुँडा र प्रकारान्तमा छिपछिपे मात्र हुन पुग्यो ।
दाइहरूको रहरको ज्वरो, सरूवा रहेछ शायद । त्यसको संक्रमणले हामी बाल पुस्तालाई गाँज्न थालेको थियो । हाम्रा कलिला खुट्टाहरू हावामा उफ्रिन लागेका थिए भने मन बेग्लै उत्साहको धुरीमा उक्लिन । हाम्रो रहरको रंगीन प्वाँख शायद हावामा उडेको देखर एकदिन सान्दाइले म नबराज, सीताराम, प्रकाश लगायतका टोलीलाई भेला पार्दै सोध्नुभयो, कराँते खेल्न मन छ, केटा हो ?
तिर्खाले व्याकुल भएको बेला सर्बत भेट्टाएको जस्तो भयो हामीलाई ।
हामीले एकैसासमा सहमति जनायौँ ।
सान्दाइले हामीलाई खोलाको बगरतर्फ मार्ग निर्देश गर्नुभयो । सान्दाई, दाइ पुस्ताको सक्रिय र हक्की सदस्यमा पर्नुहुन्थ्यो भने भाइ पुस्ताको नेतृत्वकर्ता र पथ प्रदर्शक ।
हामी भोटे खोलाको बगरमा पुग्यौँ । खत्रीको खडुँरभन्दा केही उत्तरतिर । बालुवाको श्वेत साम्राज्यमा हाम्रा बिस्तारबादी खुट्टाहरू अधिनस्थ भए । त्यहाँ पुगेर डुब्दै गरेको घामलाई साक्षी राख्दै भन्नुभो, “तिमर्ले कराँते सिक्ने ठाउँ । यो चैँ कराँते सिक्ने डोजो अनि म चैँ तिमर्को गुरु । अबदेखि तिमर्ले हामी यहाँ आएपछि हुस गुरु भन्नू , तर याँ देखि अन्त हैन नि ।”
सान्दाइको आज्ञा शिरोपर गर्दै फोक्सोभरी हावा भरेर भन्यौँ , “ हुस गुरु !”
सान्दाइले एउटा खेतको गरा जस्तै बगरको क्षेत्रफल खुट्टाले रेखा तानेर छुट्ट्याउनु भयो । त्यो रेखामा हाम्रा खुट्टाले पनि दोस्रो चास मारे । स्पष्टरुपमा ठूलै कोठा तयार भयो । दाइ बिचमा उभिएर हामीलाई लहरै उभिन अर्हाउनुभयो । हुस गुरु कसरी भन्ने काइदा सिकाउनुभयो । हामीले सोहि मुताबिक प्रारम्भिक चरणका अभ्यास गर्यौं । त्यस दिनदेखि औपचारिक रुपमै अनौपचारिक कराँते स्कूलको शिष्य हुन पुग्यौँ । दाइहरूले कराँते सिक्ने गरेको साबिकको स्थान अलि टाढा र निर्जन हुने भएकोले यो स्थान चयन गरेका थियौँ हामीले । साँझको समय नियमित गतिमा अभ्यास हुने भयो, तर गुरुबाट जहाँसुकै कराँतेका किक र कौशलहरू प्रदर्शन नगर्न हामीलाई स्पष्ट गुरुआदेश जारी भएको थियो ।
खोला किनारको डोजोमा कराँते सिक्न थालेको केही दिन मात्र भएको थियो । एकदिन साँझ पर्नु अघि नै फुटबल मैदानमा धमाकेदार कराँते कौशल प्रदर्शन गरिरहेका थियौँ हामी केही चेलाचाटीहरू । हामीले गुरुआदेश बिर्सियौं । उत्साहको नौलो शिखर टेकेका बेला सम्झने चेष्टा पनि गरेनौं शायद । त्यो शिखरबाट सम्पूर्ण कुराहरू पुड्का देख्न थालेका थियौँ । हामीलाई लाग्न थालेको थियो कि अब हामी कराँतेमा पोख्त भईसक्यौँ । ब्रुस ली र ज्याकी च्यानको हाराहारीमा । बस ब्ल्याक बेल्ट पाउन मात्र बाँकी छ । हाम्रो खेल हेर्न साना भाइहरू पनि उपस्थित भएका थिए, तर हामी उत्साहको शिखरबाट कतिबेला चिप्लियौँ आफैँले भेउ पाउन सकेनौँ । किक हानाहान गर्दागर्दै खुट्टाहरू ठोक्किएर मार हानेको राँगाझैँ जमिनमा ढल्यौँ। अवर्णित पीडाले हामीलाई हाम्रो धरातलमा खुट्टा टेकाइदियो ।
कपडाको धुलो टक्टक्याउँदै उठ्यौँ हामी । रातुखोलाको पश्चिमपट्टी बाँसझाँङभित्र घाम ओर्लिंदै थियो । हाम्रो गुरु सान्दाइ पनि त्यो चौरकै छेउबाटो हुँदै भैँसी चराएर फर्किनुहुँदै रहेछ । हामी चनाखा भयौँ । त्यो दृश्य देख्नुभएका दाइले हामीलाई चाँडै डोजोमा भेट्न आदेश दिनुभयो । त्यहाँबाट सिधै डोजोमा उपस्थित भयौँ हामी ।
हिउँदे यामभरी सहस्र बालुवाको ओछ्यान लगाएर सुत्ने खोलामा वर्षा ऋतु शुरु भएको प्रारम्भिक संकेतहरू देखा पर्न थालेका थिए, तर त्यो दिन भने दिनभरीको प्रचण्ड घामले बगरको बालुवा सेलाएकै रहेनछ । एकछिन डरले हो वा रापले पैताला पोलेजस्तो भयो तर केही क्षणमै सहज भएर आयो । बिस्तारै सबै साथी जम्मा भयौँ । सान्दाइ पनि आईपुग्नुभयो ।
हामी एउटा लहरमा उभ्भियौँ । दाइले उपदेशात्मक लवजमा छोटोमोटो प्रवचन दिनुभयो । जहाँ पायो त्यहिँ कराँतेका किकहरू प्रदर्शन गर्न नहुने । यदि त्यसो भए गरे कराँतेका देउता रिसाउने र फलस्वरुप कराँते राम्रोसँग सिक्न नसकिने तर्कको हँसियाले हाम्रो अत्तालिएर हौसिएका उत्साहको हाँगाबिँगा छिमलछामल पार्नुभयो । गल्ती साँच्चै नै गरिएछ बन्ने महसुस भयो केहि क्षणसम्म । लगत्तै दाइले हामीले खेललाई निरन्तरता दिएको खण्डमा आगामी तिहारमा सामूहिक देउसी खेल्ने र सो बाट संकलित रकमले गी किन्ने योजनाको साङ्गोपाङ्गो रुपरेखा पनि हामीसामु प्रस्तुत गर्नुभयो ।
गी भनेको कराँते खेल्दा लगाईने ह्वार्लाङ्गे सेतो खद्दरको कपडा हो भन्नेसम्मको जानकारी पहिल्यै पाईसकेका थियौँ । त्यसपछि तिमीहरू सिधै ब्ल्याकबेल्ट । सान्दाइले थप्नुभएको थियो । हाम्रो निभ्नलागेको उत्साहको सलेदो एकाएक तन्कियो । हामी पहिलेभन्दा उज्याला भयौँ । ब्ल्याकबेल्ट पाइने आशाको उज्यालो थियो त्यो शायद ।
पहिला सामान्य शारीरिक कसरत । त्यसपछी कराँते कौशलको अभ्यास गर्थ्यौं हामी । साँझ बाक्लो भएपछि झुण्डमा गफिँदै घर फर्किन्थ्यौँ । यो सिलसिला करिब एक महिनासम्म त अविच्छिन्नरुपमा चल्यो । वर्षा जोडले लाग्यो । गर्मीले गर्दा हामी उसिनेका आलुजस्ता हुन पुग्यौँ । अलिअलि अभ्यास गर्यो कि तालुदेखि पैतालासम्म पसिनाको खहरे उर्लिन थाल्थ्यो ।
पानी पनि बौलाएर पर्न थाल्यो । सारा समुद्र आकाशबाट बिना रोकटोक धर्तीमा खसिरहे जस्तो । बर्खे खोलाले आफ्नो रौद्ररुप देखायो । बाढीले खोला आसपासका जमिनको नापनक्सा नै बदलिदिएको थियो त्यो वर्ष । वर्षात् अलि मत्थर भएपछि खोलामा पानीको घनत्व घट्दो क्रममा जान थाल्यो । बिस्तारै खोला आफ्नो प्राकृतिक स्वरुपमा फर्कियो, तर हाम्रो बगरको डोजो कहाँ थियो भन्नेसम्म अनुमान गर्न कठिन भयो । बगरैभरी ढुङ्गाका अपरिमेय बिस्कुन । बालुवाको महासागर । हाम्रो डोजोको अस्तित्व हिउँमा लेखेको अक्षरजस्तै बिलाइगयो ।
डोजो बनाउने उपयुक्त स्थलको अभाव भयो । हाम्रो कराँते खेल्ने रहर तथा परिस्थितिमा अरिमठे ऐंजेरु पलायो । सान्दाइ पनि घरको काम तथा अध्ययमा व्यस्त हुन थाल्नुभयो । हाम्रो कराँते खेल्ने रहर बर्खामासमा पलाएको तामाको मूना जस्तै रहेछ । प्रतिकूलताको सानो हावाले पनि पर्लक्कै भाँचिदियो । हामीले कराँते खेल्ने कुरा बिस्तारै बिर्सिँदै गयौँ । तिहारमा देउसी खेलेर गी सिलाउने अनि ब्ल्याकबेल्ट लिने कुरा चैते हुरी जस्तै भएर बिलायो ।
हाम्रो दैनिकी फेरियो । सोच फेरियो । समयाको बक्ररेखा हिँड्दै गर्दा कराँते खेल्ने रहर तथा योजना कुन कुनाबाट ओझेल पर्यो, पत्तै भएन ।
(स्व. लोकनाथ भट्टराई (सान्दाइ) को सम्झनामा समर्पित संस्मरणात्मक आलेख ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










