जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” ।

भनिन्छजन्मभूमि र आमा स्वर्गभन्दा पनि सुन्दर हुन्छ । मेरा बाल्यकालका जरा गाडिएका छन् चौघडा र पुतलीबजारका चोकहरूमा । यहीँ मेरो जन्म, यहीँ मेरो पहिलो सास, र यहीँको धुलाम्य  माटोमा मेरो बाल्यकालका हाँसो र रोदनको पदचाप मिसिएको छ ।

हाम्रो गाउँको नाम नै लाहुरेटोल हो । सन् ६० को दशकदेखि नै हाम्रो गाउँका हजुरबा/बाहरू लाहुर गएर पैसा कमाएर ल्याएर जग्गा जमीन जोडेर बस्नुभएको हेटौँडाको सुगम थलो । बाले भन्नुहुन्थ्यो, २०२० सालतिर दुई हजारमा दुई बिगाहा जमीन किनेको कथा । अब त इतिहास भएको छ । अहिले गाउँमा लाहुर जाने बुवाहरू पनि बितिसक्नुभएको छ । नातिनातिनाहरू अहिले सात समुद्र पारीको लाहुरे भएका छन् ।

°°°

जब समयको लामो दूरी पार गरेर पछाडि फर्कन्छुपुतलीबजार र लाहुरे टोलको साँघुरो धुलौटे बाटो  कर्राको धमिलो खोला, पीपल चौतारोको शीतल हावा, साथीहरूसँगको रमाइलो यी सबै स्मृतिहरू आँखा अगाडि नाच्न थाल्छन् । चौघडा बजारको दृश्य— मेरो स्मृति पटलमा आज पनि झलझलती दुरुस्त आउँछ । साँगुरो धुलौटे बाटो, पूर्वतर्फ चुच्चे खोलातिर जान्थ्यो । जुन आजको कान्ति राजपथले काठमाडौँलाई नजिकै जोडेको छ ।

दक्षिणपूर्वको बाटो पुतलीबजार हुँदै हटिया-हर्नामाडीतिर जान्थ्यो । जुन अहिले धरान-चतरा जोड्ने आकर्षक र फराकिलो हाइवेको रूप धारण गरेको छ । तिनताका चौघडा साधारण बजार मात्र थिएन, मकवानपुरको व्यापारिक केन्द्र नै थियो । हटिया, छतिवन, भोर्ले राईगाउँ र फापरबारी देखिका मानिसहरू किनमेलका लागि यहीँ आउँथे । पुलहरू थिएनन्, बाटोहरू अप्ठ्यारा थिए । मुस्किलले घोडाहरू उताबाट खाद्यान्न बोकेर आउँथे, रातभर चौघडाको चौरमा बास बसेर भोलिपल्ट नून, तेल, कपडा र अन्य सरसामान लिएर फर्किन्थे । कहिलेकाहीँ चौघडासम्म पनि पुग्न सक्दैन थिए खोला तर्नुपर्थ्यो पुतलीबजारमै बास बस्थे । त्यो बेलाको चौघडा व्यापारिक केन्द्र मात्र नभएर सांस्कृतिक र सामुदायिक जीवनको आधार पनि थियो ।

पुल र बाटोको सुविधा थिएन, हेटौँडाबाट मोटर गाडीहरू चौघडासम्म मात्रै पुग्थे । डम्फर, जिप, चार पाङ्ग्रे ट्रक र हाते ट्र्याक्टरहरू मात्र चल्दथ्यो । हामी हेटौंडा जाँदा शङ्कर मोटे दाइको डम्फरको हुटमा चढेर जान्थ्यौँ । पचास पैसा भाडा दिनुपर्थ्यो । सिटमा बसेर जाँदा चाहिँ एक रुपैयाँ दिनुपर्दथ्यो । मोटे दाइको डम्फर र पाण्डेको ट्राभल्सले हेटौंडा र चौघडाको दुरीलाई छोट्टाएको थियो । हिँडेर हेटौंडा पुग्न र चौघडा आउन सकस नै पर्दथ्यो । क्याम्पा डाँडामा साँझ परेपछि हिँड्न सारै डर लाग्दथ्यो । भूतले तर्साउँछ भन्थे । मनभित्र भूत पसेपछि साँझ र रात हामीलाई जहाँ हिँड्न पनि डर नै लाग्दथ्यो ।

चौघडा बजार त्यतिबेला तेलमिल र धानमिलले सुपरिचित थियो । चौघडामा पहिलो बिजुली मेल गोविन्दबहादुर थापाले शुरु गर्नुभएको थियो रे । हिमाल साहुकोमा कपडा पसल, झुल्चाको राइस मिल, कृष्ण साहुको किराना पसल र तेल मिलको वासना कहिल्यै मेटिँदैनन् । यी सबै चौघडाको आत्मा हुन् ।

कृष्ण अष्टमीको राति चौघडामा लाग्ने जात्रा नवजीवन ज्योति क्लबले देखाउने सांस्कृतिक कार्यक्रम र नाटक दशैं–तिहारको बेला चौघडाको पीपलबोट वरिपरि खेलाइने लङ्गुरबुर्जाको रमाइलो दिन अब कहाँ फर्किएलान् र ! दशैं–तिहारको लङ्गुरबुर्जा, चौतारामा कौडा खेल्दै बिताएका साँझहरू, कर्रामा पौडी खेल्दा साथीहरूसँगको रमाइलो, शिवरात्रि र कृष्ण अष्टमीको जात्रा यी सबै मेरो बाल्यस्मृतिको रङ्गिन पाना हुन् ।

चौघडाको पीपलबोट वरिपरि चुरा धागो पसलको टहराहरू थिए । मलाई मित्र मस्जिदको आमा र बुवाको याद आउँछ । चौघडाको एक मात्र श्याम दाइको ब्ल्याक इन ह्वाइट फोटो स्टुडियो हाम्रा लागि खुशीको मुहान थियो । जहाँ फोटो खिचेर हप्ता दिनपछि आफ्नै तस्बीर हेर्न पुग्दाको खुशी शब्दमा वर्णन गर्नै सकिँदैन । जोगिन्दरको सैलुनभित्र हेमा मालिनी र गोविन्दाको तस्बीर हेर्दै, गफ चुटेर अमिताभ वचनको स्टाइलमा कपाल मिलाउँदै बसेका पट्यारलाग्दा दिनहरू सम्झेर ल्याउँदा अहिलेको व्यस्तता र सामाजिक सञ्जालले हाम्रो अर्ग्यानिक खुशी छिनेको महसूस हुन्छ । आजकल त हामी कति बेफुर्सद भएछौँ एकछिन साथीभाइसँग गफ गर्ने फुर्सद पनि छैन हामीलाई ।

चर्को घाममा बसेर चौघडाको चोकमा भैयाहरूले बेच्ने खुवाको बरफ चुस्न पाउँदाको आनन्द अहिलेका पुस्ताले चुस्ने भेनेला आइसक्रिमभन्दा धेरै स्वादिलो हुन्थ्यो । गुलाबी चिनीको लामो सर्पझैँ बेरेर बनाएको  सख्खर पाकको गुलियो मिठाइ अझै जिब्रोमा घुलिरहेको छ । उधारोमा बरफ खाएको पैसा अझैसम्म तिर्न बाँकी नै होला । टोकरीबाट फुत्त पुष्टकारी चोरेर भागेको त्यो दिन कति डरलाग्दो हुन्थ्यो । अहिले सम्झिँदा त रमाइलो लाग्छ । साँच्चै ! भुजाको डल्ला, सख्खरको पुष्टकारी र बरफ बेच्ने झमकलाल भैयाहरू मेरो स्मृतिको गर्तमा गहिरोसँग टाँसिएका छन् । यी सबै चौघडाको जीवन रेखा थिए ।

दिलबहादुर दाइको  (मगरको होटेलले सुपरिचित) हलुवा पाउरोटीको स्वाद त मेरो जिब्रोमा अझैसम्म झुन्डिरहेको छ । काली बूढीको मीठो चिया पसल । पुतलीबजारको गाजली दिदीको भट्टी पसल र बाटुली दिदीको चिया पसलमा हुने आत्मीय गफहरू पुतलीबजारको चौतारीमा बसेर खाने शीतल हावा अब कहिल्यै खान पाइँदैन । विकास गाउँ पसेपछि त्यो चौतारी पनि भत्कियो । चौघडामा एउटा मात्र स्वास्थ्य उपचार केन्द्र थियो मित्र राजु गुरुङका बुबाले स्थापना गर्नुभएको, उहाँ कम्पाउन्डर नामले सुपरिचित हुनुहुन्थ्यो । उहाँले पहिले बिरामीको नाडी छाम्नु हुन्थ्यो, लगान लागेको छ कि भनेर धूप बालेर अछेता पन्छाएर मात्र एलोपेथिक दबाइ वा इन्जेक्सन दिनु हुन्थ्यो । हामी सुइँ लगाउने भनेपछि अत्यन्तै डराउँथ्यौं ।

बुबाले हामीलाई वर्षमा एकपटक एक जोर कपडा किन्न चौघडाको श्याम सर र हिमाल साहुको पसलमा लिएर जानु हुन्थ्यो र कृष्ण दर्जी अङ्कल र दुर्गे दर्जी अङ्कलसँग कपडा नापेर आउँदा दशैं आएको महसुस हुन्थ्यो । त्यो बेला पुतलीबजारबाट चौघडा जान आउन हामीलाई कठीन थियो । कर्रा खोलामा काँठ र बासले बनाएको सानो हल्लिने पुल थियो । कहिलेकाहीँ बाढीले पुल बगाउँथ्यो र चौघडा र पुतलीबजारको सम्बन्ध विच्छेद गराउँथ्यो । वर्षातको बेला कर्रा खोलामा आउने बाढी हेर्न लायक हुन्थ्यो । मलाई याद छ कर्रा खोलाको पुछारमा पुगेर चिप्लो ढुङ्गामा टेक्दै खोला तर्नुपर्दथ्यो । धेरैपटक खोलामा डुबेको पनि याद छ । पछि बिस्तारै फलामे पुल बन्यो । स्कूल जान आउन अलि सहज भएको थियो । गर्मीको बेलामा हामी कर्रा खोलामा खुब पौडी खेल्ने गर्दथ्यौँ । खोलाको पानी धमिलो थियो हामीलाई धमिलोको पर्बाह हुँदैन थियो । हामी साथीभाइको मन सफा र सङ्लो थियो ।

मैले थाहा पाउँदा वश गोपाल स्कूलमा निम्न माध्यमिक स्तरको पठाइ मात्र हुन्थ्यो । पानी चुहिने स्कूलमा बसेर खरी र सिलोटमा हामीले जीवनको कखरा शुरु गरेका थियौं । गर्मी मौसममा कहिलेकाहीँ आँपको बोटमुनि शीतलमा बोरा ओछ्याएर दुई एकान दुई खुब घोकिन्थ्यो । स्कूलले बाँड्ने दूध–पिठो खाएर हुर्केका हौ हामी जेन-एक्स पुस्ता । अहिलेका नानीबाबुलाई जस्तो टिफिन हाम्रो भागमा कहिल्यै परेन ।

विशाल सरको कठोर अनुशासन, उचित सर र रामचन्द्र सरको धुलाई कहिल्यै बिर्सन सकिँदैन । स्कूलमा गोविन्द सरले टिफिनमा राखेर चना र पुष्टकारी बिक्री गर्न कक्षाकोठामै ल्याउनु हुन्थ्यो । एक रुपैयाँ  पैसा हुनेले कक्षा कोठाभित्र नै चारवटा पुष्टकारी किनेर खान्थे । यी दृश्यहरू आज पनि मेरो आँखासामु जीवन्त छन् । चौघडा, पुतलीबजार, लाहुरे टोल र भुलभुले मेरो जीवनको उर्वर भूमि हो । संसारको जुन कुनामा पुगे पनि मसँग गाँसिएका सम्झनाले मलाई बारम्बार त्यहीँ पुर्‍याउँछ । उधारो खाएको बरफ, बगैँचाबाट चोरेर खाएको फलफूल, दशैं तिहारको रमाइलो यी सबै सम्झनाले आज पनि मनभित्र एक प्रकारको न्यानो पन महसूस हुन्छ । पीपलको चौतारोमा, कर्राको किनारमा, वंशगोपाल स्कूलको पुरानो भवनभित्र आँपको बगैँचाभित्र यो मन दौडिरहन्छ । यी सब मेरा बाल्यकालका नक्षत्रहरू हुन् । त्यो बाल्यकाल फेरि नफर्किए पनि, स्मृतिमा सदैव जीवित रहिरहनेछ ।

संसारको जुन कुनामा पुगे पनि चौघडा र पुतलीबजार मेरो मुटुमा जीवित छ । त्यो पीपलको चौतारो, कर्रा खोलाको किनार, साथीहरूसँगको आत्मीयता; सबै स्मृतिमा ताजै छन् । बाल्यकाल फर्केर आउँदैन तर जन्मस्थान मेरो जीवनको नासो बनेर सदैव सम्झनामा रहिरहनेछ ।