
धेरैपछि सोलाबाङबाट जिबाङतिर पाइला चाल्दै छु । तमासै राम्रो जिबाङको यात्रा थाल्दा पाइला हलुका हुनुपर्ने हो । झन् झन् गह्रुँगा हुँदै छन् । पाइला नै नचाली थकित भइजाने कस्तो बिडम्बनापूर्ण यात्रा हो यो ? तथापि कुन चुम्बकले तान्दै छ मलाई जिबाङतिर ? कारण खोतल्दै म सुदूर अतीतमा पुग्छु ।
म सिम्रुतुबाट सोलाबाङतिर फर्किरहेको हुन्थेँ । टाउको कपालेले छोपेका, पछाडि गादो भिरेका, छिटको धोती पहिरेका २/३ जना महिलाहरू फाल हाल्दै घोरनेटीबाट सिम्रुतुतिर गुरुरुरु झर्थे । लहुँको पाखोमा आइपुगेपछि म पीपल चौतारीमा बसेको मौका छोपी उनीहरू पनि त्यो पीपल चौतारीमा थुपुथुपु बस्थे । तीमध्ये एकजना पाकीपाकी महिलाले झटपट आफ्नो गादोबाट एउटा पुरानो ढक्के झिक्नुहुन्थ्यो । ढक्केभित्रबाट सालको पातको वजनदार टपरी दुबै हातले होसियारीका साथ झिक्दै त्यसको ढकनी खोल्न थाल्नुहुन्थ्यो । ढकनी खोल्नेबित्तिकै ताकमारे धानको चामलबाट बनेको खीरको अत्यन्तै मीठो बासना बोकेर बाफ परपरसम्म पुग्दथ्यो । त्यो अति महक बाफ सुँघ्दा जोसुकैको पनि मुखमा पानी आउँथ्यो र घुटुक्क थुक निल्न बाध्य बनाउँथ्यो । एउटा सालको पातको पन्यु बनाई अर्को पातमा त्यो ताततातो खीर राखिँदिँदै उहाँ भन्नुहुन्थ्यो, “लौनोस् बाबु यो अर्नी । दिनभरि पढाएर भ्रष्टै भोकाउनु’भा होला ।”
म चकित पर्थेँ उहाँको यो उत्पात् दया देखेर । पाँचै औँलाले टपक्क टिपेर डल्लो पार्दै त्यो ताततातो खीर मुखमा हाल्दा बिछट्टै मीठो लाग्थ्यो । खीर एकैछिनमा ललीपपजस्तै लुतुलुतु घाँटीभित्र छिरिसक्थ्यो । अनि हातको पञ्जा र औँलाको कापकापमा लागेको चिपचिपे खीरको माड चाटचुट पार्न थाल्थेँ । लाग्थ्यो, ढक्केको सबै खीर रित्त्याउन पाए । तर उहाँले थपिदिन खोज्दा भन्थेँ, “भैगो, भैगो । म अघाइसकेँ ।” उहाँले आफ्नो घरमा कोसेली लानुपर्ने खीर थपीथपी खाइदिनु बाटैमा भेटिएको पाहुनाको लागि सोमत देखिँदैनथ्यो ।
मैले उहाँलाई सोध्थेँ, “कहाँ पाक्छ आमा यति स्वादिस्ट खीर ?” उहाँ नाताले त बज्यै पर्नुहुन्थ्यो, तर बैँस नै नसकिएकी एक महिलालाई बज्यै भन्न मलाई लाज लाग्दथ्यो । उहाँ पनि बज्यै सम्बोधन गर्दा शर्माउनुहुन्थ्यो । उहाँ मेरो आमा सम्बोधनमै खुसी हुँदै जबाफ दिनुहुन्थ्योः
“जिबाङको खीर हो बाबु, यो !”
यति मीठो खीर पाक्ने जिबाङ कस्तो होला ? म कौतुहलले व्यग्र हुन्थेँ ।
झटपट सोध्थेँ, “कस्तो छ आमा त्यो जिबाङ ?”
“तमासै नाम्रो छ बाबु । सोलाबाङभन्दा कता हो कता नाम्रो छ । मौका मिले एकपटक सँगै जाम्ला जिबाङ हेर्न ।” खीरको बाँकी टपरी ढक्केमा राख्दै उहाँले जिबाङको बखान गर्नुहुन्थ्यो ।
उहाँको बखानले म चङ्गा बन्थेँ ।
उहाँ आफ्नो माइतीबाट घर फर्कने र म सिम्रुतुबाट आउजाउ गर्दा बाटोमै जम्काभेट भयो भने ताततातो सुस्वादु कुराउनी बसाउने खीर खाने पक्कापक्की हुन्थ्यो ।
बाटोबाटोमा खीर खुवाउने ती आमाकी छोरी नै मैले भित्र्याएपछि उहाँ सासूआमा हुनुभयो । त्यो तमासको जिबाङ मेरो मावली गाउँ बन्न पुग्यो । देवकुमारीसँग एकचोटि कोसेलीपात बोकेर जिबाङको पुछारमा त पुगेँ, तर असली जिबाङ पुग्ने अवसरै जुटेको थिएन ।
पछि म सिम्रुतुमै शिक्षक जागिरी खान थालेँ । देवकुमारीको मामाघर जिबाङको पानी मिसिने खाराखोला र रुँघाखोला पनि मामाघरकै पानीपँधेराजस्ता लाग्थे । सिम्रुतुमा ७ वर्ष जागिर खाँदा मुरु पेउघाको बेँसीदेखि शिखरसम्म पुगेँ, खाराको ज्यालङ्गा कालीमाटी हुँदै सुकीदहसम्म पुगेँ, रुँघाको गैरीनेटा, दहभागे र बोक्सीथलासम्म पुगेँ, भलाक्चाको खालीचौरसम्म पुगेँ । तर सिम्रुतु नजिकैको जिबाङको तल्लो पाखोमा रहेको घोरनेटीभन्दा माथि उक्लिने मौका कहिल्यै जुरेन । जिबाङबाट आउने र अन्यत्रबाट आउने विद्यार्थीहरूले जिबाङ गाउँ नै गाउँ खप्टिएर बनेको तमासै राम्रो गाउँ छ भनेर सुनाउँथे । तर मेरो लागि त्यो जिबाङ ‘रे’ मा मात्र सीमित भयो । हातैले छोइने जिबाङ मेरो लागि कता हो कता टाढा रहिरह्यो । त्यति नजिकैको जिबाङमा उक्लने जाँगर किन चलेनन् होला ? अहिले ताजुब लाग्छ ।
अस्ति मात्र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल वलीको जन्मघर रहेको जिबाङको तमाक्छरे हुँदै रुकुमको जिलाधुरी र रोल्पाको रातमाटे टावरसम्म पुगेर आउने कुरामा सहमति भएको थियो । त्यसको लागि चुलेनिम्तो दिनुभएको थियो साहित्यकार मनलाल वलीले । उहाँको निम्तोलाई भुइँ झर्न नदिई साहित्यकार गिरिप्रसाद बुढाजी र म जाँदै छौँ जिबाङतिर ।
“खलङ्गाबाट सोलाबाङसम्म झर्दा खुट्टा दुख्न थालिकसकेका छन् । पाइएमा गाडीमै जाम् है सर ?” गिरि सरको प्रस्ताव जायज नै लाग्यो । हामी बैरागीठाँटीमा पुगेर गाडी पर्खने क्रममा एउटा होटेलमा बसेर चिया पिउन थाल्यौँ । गिरि सरले लहुँ खोला र साँख खोलाको दोभान, पुरानो ठाँटीबजार र परपरसम्मका पानीघट्ट र खोला किनारका खेतहरूको फोटो र भिडियो खिच्न थाल्नुभयो । मेरो मनले भने मनलालको पुरानो भिडियो उतार्न थाल्यो ।
“हो, मनकै पर्याय मनलाल । कति शान्त, कति सुशील, कति भद्र । तमासै नाम्रो व्यवहार । साहित्यतर्फ मेरो अभिरूचि बढ्दै जाँदा चिनजान भएको थियो जिबाङी साहित्यकार मनलालसँग । उहाँको मित्रवत् व्यवहारले आकर्षित गरिहाल्यो । त्यसपछि उहाँसँगको निकटता झन् झन् बढ्दै गयो । लाग्थ्यो जिबाङले सुस्वादु खीर मात्र होइन मनलालजस्ता मिठा मिठा मान्छे पनि पकाइरहँदो रहेछ ।
नाताले मनलाल देवकुमारीको मामा । वलीको नाताले मेरो काका । मनलालजीको मन जति लाल छ त्योभन्दा निकै विशाल । उहाँको सादगीपन र निश्छलता रुकुमभरमै उदाहरणीय छ । उहाँकै व्यवहारको प्रतिच्छायाँजस्तै उहाँकी पत्नी राधा । दुरुस्तै मनलालजस्तै । दैवले कस्तरी यी दुईको आत्मा र आङ ठ्याक्कै नापेर जोडी मिलाइदिएको होला ! ताजुब लाग्थ्यो । लकालक जन्मिएका उहाँका लहलहाउँदा चिचिला तीनजना सन्तान पनि मनलाल र राधाकै प्रतिरूप थिए ।
मनलालजी शुरुमा रुकुमको दक्षिणपश्चिमको सुदूर गाउँ चुनबाङमा पढाउनुहुन्थ्यो । पैदलै चुनबाङ पुग्न ५/६ घण्टा लाग्ने भएकोले उतै डेरा लिएर पढाउनुपर्ने भयो । त्यसपछि जीवनको उत्तरार्द्धमा मात्र मावि तहको शिक्षकसेवामा नाम निकाल्नुभयो र सिम्रुतुमा फर्कने मौका पाउनुभयो ।
उहाँ २०७३ सालदेखि निरन्तर रूपमा राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम शाखाको अध्यक्षको भूमिकामा हुनुहुन्छ । उहाँको सक्रिय नेतृत्वमा रुकुममा साहित्यिक गतिविधिहरू अपूर्व फस्टाइरहेका छन् । रुकुमको गाउँगाउँमा पुगेर रुकुम साहित्यमाला कार्यक्रम चलाउँदै अहिले १२५ औँ श्रृङ्खला पार गरिसकेको छ । सानीभेरी एफएमबाट हरेक हप्ता प्रसारण हुने रुकुम साहित्यमाला कार्यक्रमको निरन्तर प्रस्तोता हुनुहुन्छ । उक्त कार्यक्रमको गत हप्ता ५४७ औँ श्रृङ्खला पुगिसकेको छ ।
उहाँले साहित्यिक गतिविधि अगाडि बढाउन सहज होस् भनेर मुसीकोटको सेरीगाउँमै बसोबास मिलाउनुभयो तर उहाँलाई सिम्रुतु पुगेर पढाउन जिबाङबाट पनि अपायक र सेरीगाउँबाट पनि अपायक हुन गयो । सेरीगाउँको स्कुलमै उहाँको विषयसँग मिल्ने दरबन्दी खाली भयो तर रुकुमको चरम राजनीति र उहाँको सोझोपनले घरनजिकैको विद्यालयमा छिर्नसमेत पाउनुभएन ।
“केमा घोत्लिरहनुभएको छ पूर्ण सर ? चिया खाइसकियो । बाहिर गाडी आएजस्तो छ जाम् अब ।” गिरि सरले मेरो सोचमग्नतामा बाधा हाल्नुहुन्छ ।
म अतीतको मर्मरीबाट झल्याँस्स ब्युझिन्छु । बाहिर सोलाबाङकै बोर्डिङ स्कुलको गाडी रोकिएको रहेछ । गिरि सरले चढ्न पाइन्छ कि भनेर सोधीहेर्नुभयो । गुरुजीले मानेनन् । म बाहिर निस्किएपछि गुरुजीले मलाई बोलाउँदै भने, “काकाजी नमस्कार ।”
गुरुजी त लहुँ निवासी आफ्नै भतिज पो परेछन्, “नमस्कार, भतिज । हामी पनि सिम्रुतु जान खोजेको कुर्दा कुर्दा गाडी नै आएनन् ।”
“विद्यार्थीहरूसँग खाँदिएर बस्न अलि गाह्रै होला । आच्चकोच्च गरेर जानेभए आउनुहोस् न त ।” उनले हरियोबत्ती बाल्नेबित्तिकै हामी स्कुलबसमा चढिहाल्यौँ । गाडीभित्र ३ वर्षदेखि किशोरवयसम्मका विद्यार्थीहरूको उग्रै कल्याङमल्याङ थियो । त्यो कल्याङमल्याङले पनि मनलालकै उतारचढावलाई झझल्क्याइदियो । म फेरि मनलालकै बारीमा हराउन पुगेँ ।
अकस्मात् मनलालकी जेठी छोरी अनितामा पूरै जिउ सुन्निने रोग देखा पर्यो । काठमाडौँमा सकुन्जेल उपचार गर्नुभयो । केही नलागेपछि मामाहरू रोजगारीको सिलसिलामा पुगेको ठाउँ सिमलामा लगेर उपचार गराउनुपर्ने देखियो । मनलालको यता जागिरी थियो, उता ती नानीको उपचारको लागि परिवारको मान्छे जानैपर्ने भयो । साथ दिने अरू कोही थिएनन् । राधा काकी नै जानुपर्ने भयो । आमाछोरी लागे सिमलातिर । मनलालको काम यताका साहुहरूबाट ऋण कार्दै छोरीको उपचारको लागि अपुग पैसा सिमला पठाउने भयो ।
मैले काठमाडौँबाट आएको बखत छोरीको बारेमा मनलाललाई सोधपुछ गरिरहन्थेँ । उहाँले भन्नुहुन्थ्यो, “अलि सुधार हुँदै छ ।”
गत असारमा आएको बखत ठुलीदह घुम्न गयौँ । त्यस बेला पनि छोरीहरूको खबर बुझेँ । उहाँले भन्नुभयो, “नानीलाई त अलि सुधार भयो रे । नानीकी आमा पो बिरामी भइछन् ।”
मैले झस्किँदै सोधेँ, “के बिमार हो र राधा काकीलाई ?”
“सामान्य रुघाखोकी होला । भोक्रे हो कि ? गाला र घाँटीको बीच सुन्निएको पनि छ रे ।”
“उपचार त भइरहेकै होला ?”
“ठाउँमै छन् । सामान्य रुघाखोकी होला । ठीक भैजाला ए ।”
भोलिपल्टै म काठमाडौँतिर लागेँ । त्यस दिन दाङ बसेँ । पर्सिपल्ट नेपालगन्जबाट प्लेनमा जाने हेतुले बुद्ध एरको टिकट लिएर राँझा विमानस्थलमा पर्खिरहेका थियौँ । देवीको फोन आयोः “तपाईँहरूले एउटा दुःखद खबर थाहा पाउनुभयो ?”
“कस्तो दुःखद खबर ?” मैले आत्तिँदै सोधेँ ।
“मनलाल सरकी श्रीमती इन्डियामै बितिछन् ।”
“हो र ? होइन होला ।” म स्तब्ध भएँ, ‘हे भगवान् यो खबर साँचो नभइदिए हुन्थ्यो !’
“किन झुठो हुन्थ्यो र ? फेसबुकभरि मनलाल र उहाँकी श्रीमतीको फोटो राखेर सबैले श्रद्धाञ्जली राखेका छन् ।” यति भनेर उनले फोन काटिहालिन् । मैले उनलाई दोहोर्याएर सोध्ने आँटै गर्न सकिनँ ।
“कृपया, बुद्ध एअरबाट काठमाडौँ जाने यात्रुहरू प्रस्थान द्वारतिर गइदिनुहोला ।” उता एरलाइन्सको माइक बज्यो । म उठ्नै सकेको छैन । “के भयो ? देवीले के खबर सुनाई ?” भन्दै देवकुमारीले सोधपुछ गर्दै मलाई एरपोर्टको प्रस्थानद्वारतिर तानिरहेकी छिन्, मेरो मुखबाट साँचो कुरा निस्कन सकेको छैन ।
“सिम्रुतु आइपुग्यो सर झर्नुहोस् अब ।” स्कुलबसका चालक भतिजको स्वरले मलाई वर्तमानमा त ल्यायो, तर प्लेनमा चढ्दै गरेको मान्छे कसरी यो बसबाट झर्दै छु ? आफूलाई सामान्यीकरण गर्न सकेको छैन । केटाकेटीहरूले बसको ढोकामा थुप्रिएर, “बाइ अङ्कल!”, “बाइ अङ्कल!” भन्दै सानासाना हातहरू हल्लाएर हामीलाई बिदाइ गर्दै छन् । झर्दै गर्दा मेरा आँखाबाट बलिन्द्रधारा आँशु देखेर विद्यार्थीहरू र गुरु समेत विस्मित छन् । गुरुलाई लाग्यो होला, दश मिनेट साथ भएका विद्यार्थीहरूसँग छुट्दा पनि आँशु झार्ने कस्तो पानीआन्द्रे मान्छे रहेछ यो ?
रोडमा झरेपछि झटपट गालाका आँशु पुछेँ । मेरा आँखा खारा खोला र मुरु खोलाको दोभानतिर सोझिए, ‘त्यहीँ जलाइयो होला काकीको पार्थिव शरीर!’ म फेरि भक्कानिएँ । मनमनै दिवंगत राधा काकीप्रति श्रद्धाञ्जली अर्पण गरेँ ।
“जाऊँ सर, जाऊँ ढिला भइसक्यो । ४ बजिसक्यो ! यहाँबाट मनलाल सरको घरमा पुग्न अझै ३, ४ घण्टा लाग्छ ।”
तर किन हो किन मेरा खुट्टा अघि बढ्न मानेकै छैनन् । सिम्रुतुको दोभानमा रहेको चिसापानीतिर बढेका हामीसँग सिम्रुतु माविका प्रअ डिल्ली मल्लसँग जम्काभेट हुन्छ । उहाँले हाम्रो गन्तव्य थाहा पाएपछि, “अहिले बाटो यताबाट होइन, अलि माथिबाट छ !” भन्दै लार्दा उक्लने पक्कीबाटोतिर देखाउनुहुन्छ। हामी डिल्ली मल्लजीले सिकाएकै बाटोतिर मोडिन्छौँ । अलि माथि झोलुङ्गे पुल हालिएको रहेछ । तर्दै गर्दा गिरिजीले भन्नुहुन्छः “उताबाट गएको भए हामीहरू अहिले घोरनेटी पुगिसकेका हुनेथियौँ । मान्छे दश पाइलो उकालो चढ्नुभन्दा तेर्छोमा सय पाइला घुम्नु ठीक मान्छ ।”
हामी खाराखोला र रुँघाखोलाको बीचबाट उठेको सल्लेरी डाँडोमा चढ्न थाल्छौँ ।
पुल तरेर अलिकति माथि पुगेपछि एउटा भर्खरै निर्माण सम्पन्न भएकोजस्तो सेतो बिल्डिङमा आँखा जान्छ । बोर्ड हेरेपछि थाहा पाउँछौँ, शहीद विजय घलेको नाममा बनाइएको स्मृति भवन रहेछ । जनयुद्धको समयमा देवकुमारीको मामाको छोरा टेकबहादुर वलीको हत्या यहीँ सिम्रुतु बजारनजिकै भएको थियो भने माओवादी जनसेनाका स्क्वाड कमाण्डर विजय घले डोल्पाको त्रिवेणी चौकीमा आक्रमणको क्रममा मारिएका थिए ।
अलिकति माथि पुगेपछि तल्लो डाँडामा घोरनेटी नाउँको समथर ठाउँ भेटिन्छ । यहाँ मंसिर पूर्णिमालगत्तैको पञ्चमीमा मेला लाग्दछ । “अब त हामी घोरनेटीमा आइपुगेको खबर मनलालजीलाई गर्नुपर्छ !” गिरि सरले सम्झाएपछि खल्तीबाट फोन झिक्छु । मनलालले धेरैचोटि फोन गरिसक्नुभएको रहेछ । सायद खोलाको सुस्साहटले फोनको घण्टी सुनिएन होला ।
मनलालजीले बसाइ सजिलो होस् भन्ने हेतुले सिम्रुतुबाट मावि जिबाङमा काज सरुवा गराउनुभएको छ । उहाँले हामीलाई जिबाङ स्कुलमा पर्खने कुरा छ । फोनमा उहाँले वडा कार्यालय भवनमा पर्खिरहेको बताउनुहुन्छ ।
हामी तल्लो घोरनेटी र माथिल्लो घोरनेटीको चौर सजिलै पार गरेपछि ठाडै उकालो बाटोमा चढ्न थाल्छौँ । उकालोसँग पौँठेजोरी खेलिसक्नेबित्तिकै एउटा ठूलै पीपलचौतारी भेटिन्छ । पीपल बडेमानको छ र निकै बूढो पनि । करीब करीब यो पीपल २०० वर्ष पुग्न थालिसक्यो होला । बोल्ने भैदिए जिबाङको आठ पुस्ताको बेलिबिस्तार यही पीपलले गर्थ्यो होला । पीपलमुनि भत्किसकेको चौतारी छ । देब्रेपट्टि टिनको छानो हालेको आधुनिक चौतारी छ । उकालो चढेर थाकेका थुप्रै यात्रीहरू चौतारीमा बिसाइरहेका छन् । यो ठाउँको नाम नै पीपलबोट रहेछ । पीपलबोट नजिकै रहेको कलधाराको निकै ठन्डा पानी पिउँछौँ ।
अब सल्लेरी समाप्त भएर फराकिलो गाउँ भेटिएको छ । लहलहाउँदो गहुँबारी र तोरीबारीका पाटाहरू भेटिन थाल्छन् । उत्तरपट्टि रुँघागाउँ र दक्षिणतर्फ खाराको खुम्चेरी गाउँको सपाट दृश्य देखिन्छ । गिरि सर रोमाञ्चित हुँदै फोटो तथा भिडियो खिच्न व्यस्त हुनुहुन्छ । यस गाउँलाई तलिगाउँ भनिँदो रहेछ । अलिकति माथि पुग्नेबित्तिकै चौखिढुंगा नाउँको गाउँ भेटिन्छ । यसको दाँयातर्फ कुन्वाङ टोल रहेछ । गहुँबालीको अतिरिक्त प्याज लसुन आदि नगदे बालीले पाखामा बुट्टा भरेकोजस्तो देखिन्छ ।
हामीले सिम्रुतुको पुल तर्दाखेरि नै छोडेको कच्ची सडक हामीलाई पछ्याउँदै यहीँ आइपुगेको छ । अलिकति माथि उक्लिएपछि बयालडाँडी शुरु हुन्छ । अझै पर पुग्दा सुनारटोल भेटिन्छ । सुनारटोलको दाँयातर्फ गाउँटोल र बाँयातर्फ हर्लारुख नाउँका सुन्दर बस्तीहरू देखिन्छन् । हामी सोझिएको बाटो तेर्पाएँ तेर्पाएँ हुँदै उकालिन्छ । माथि एउटा नवनिर्मित ठुलो भवन भेटिन्छ । त्रिवेणी गाउँपालिकाको ५ नं वडा कार्यालय भवन रहेछ यो । चौखिढुङ्गामा अर्कोतिर तेर्सिएको मोटरबाटो फेरि हामीलाई भेटाउन यहीँ आइपुग्छ । मनलाल सर यतैकतै हुनुहोला भन्ने अनुमान गर्दछौँ । नभन्दै भवनको उत्तरपट्टि मनलाल सरले हामीलाई व्यग्रतापूर्वक पर्खिरहनुभएको रहेछ । उहाँ भेटिएपछि हराएको बालकले आफ्नो अभिभावक भेटेझैँ हामी पुलकित हुन्छौँ । मनलालजी भन्नुहुन्छ, “यो हो खलडाँडा । यसको दाँयातर्फको ऊ त्यो गाउँलाई झुल्का भनिन्छ । यसको बायाँपट्टि दमाइटोल रहेको छ ।”
बाटो निकै फराकिलो भएकोले गाउँलेलाई बाटो सोधिरहनु दरकार थिएन । झन् मनलाल भेटिएपछि बाटो सोध्ने टण्टाबाट पूरै मुक्त भएका छौँ । हामी कुरा गर्दै तेर्पाएँ तेर्पाएँ अघि बढिरहेका छौँ । मनलालजीले वरपरका गाउँ औँल्याउँदै भन्नुहुन्छ, “यो गाउँको दाँयापट्टि खालीटोल छ, बाँयापट्टि दवाङ टोल छ ।
जिबाङ गावैँगाउँले बनेको तमासैको गाउँ छ रे भनेको कुरा बल्ल पत्याएँ । बाङ भनेको त चहुर भयो जि भनेको के होला ? म अलमलिन्छु । कोही अंग्रेजले नाम राखेको भए त ‘जी’बाट ग्रेट (great) हुनसक्थ्यो ।
“पानी प्यास लाग्यो, कतै पानी पाइन्छ कि ?”
“घँवडाँडा पुगेपछि खाउँला ।” मनलालजीले आश्वासन दिनुहुन्छ । १० मिनेटको बाटो पार गरेपछि उहाँ मूल बाटो छोडेर एउटा घरतिर सोझिनुहुन्छ । हामी उहाँलाई पछ्याउँछौँ । काठैकाठको बालदारी र काठकै ठुला झ्यालढोका भएको दुईतले आकर्षक घरको आँगनमा पुग्छौँ हामी । “ढोक गरेँ ससुरा” एउटी अधबैँसे महिलाले आफ्नो कपाल हत्तपत्त मजेत्रोले छोप्दै मनलाललाई झुकेर अभिवादन टक्राउँछिन् । अनि पालैपालो गिरि सर र मलाई समेत नमस्कार गर्छिन् । झट्पट् एउटा अंखारा ल्याएर पानी भर्न जान्छिन् । तुरुन्तै एउटा हातमा पानीको अंखारा र अर्को हातमा गिलासहरू बोकेर आउँछिन् र पानी बाँड्दै जान्छिन् । पानी चिनी हालेजत्तिकै मीठो छ ।
एकछिन पछि पूर्वतिरबाट आँखामा कालो चस्मा लगाएका एकजना करीब सत्तरी वर्ष कटेका वृद्ध व्यक्ति हामी नजिक आउँछन् । मनलालजीले हात तानेर ढोक गर्छन् । उहाँको नाम पूर्णसिँह वली रहेछ, “हामी त बैँसा पो रहेछौँ !” निकै हँसिलो र फरासिलो तवरले बोल्नुहुन्छ उहाँ । उहाँसँग कुरा गर्दा गर्दै भुपु जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओली सटरमान आइपुग्नुहुन्छ । “नमस्कार गुरु !” भन्दै मलाई अभिवादन गरेपछि उहाँ गिरि सर र मनलाललाई अभिवादन गर्नुहुन्छ । सिम्रुतु विद्यालयको मेरो एक इमान्दार र लगनशील चेला ।
पूर्णसिँहको बुहारीले थालिभरि किबीका पाकेका फलहरू ल्याएर आउनुहुन्छ । भोक र प्यासले गलाएको बखत किबीको मिठास अनुपम लाग्छ । सन्ध्याले जिबाङ गाउँमा पाइलो हालिसकेकी छिन् । किबी खाएपछि, “अब जाऊँ !” भनेर अत्याउन खोज्छु म ।
“कहाँ जाने ? आज एक दिन त यतै बस्नुपर्छ । भाले प्रशस्तै छन् ।” पूर्णसिँह बुवाले हामीलाई उठ्न दिनुहुन्न ।
हामी भोलिको गन्तव्य दर्शाउँदै माथिबाटै यात्रा सजिलो हुने कुरा राख्दछौँ ।
यस्तैमा गाउँका अन्य तन्नेरीहरू थपिएर हामीलाई घेरा हालिसकेका छन् । उनीहरूमा रामबहादुर विक, कलिभान वली, रामबहादुर वली, पुष्पा वली, आदि हुनुहुन्छ । टेकबहादुरजीले मेरो बखान गर्दै सबैसँग चिनापर्ची गराउनुहुन्छ । ती तन्नेरीहरूका मोबाइलहरू घरीघरी कानमा उक्लिन्छन्, “हाम्रा पुराना गुरु पूर्ण ओली आउनुभएको छ । भेट्ने भए छिट्टै आइहाल ।”
“उस्तै हुनुहुन्छ । कत्ति फेरिनुभएको छैन ।”
“यतै बस्नुहोस् भन्दा मान्दै मान्नुहुन्न । आज तमाक्छरे बास जाने रे । भोलि जिलाधुरी पुग्ने रे ।”
……….
……
गाउँभरि आफू आइपुगेको खबर फैलिँदा म गर्वले गजक्क परेको छु ।
बस्दा बस्दै टिम्मुर र कालो मरिच राखेको चिया आइपुग्छ । चिया घुट्क्याएपछि हामी बिदाबारी हुँदै बाटा लाग्छौँ । त्यहाँ जम्मा भएका तन्नेरीहरू पनि हामीलाई पछ्याउँदै परैसम्म आइपुग्छन् । मनलालजीले बाटो छेउका घरका मान्छेहरू बोलाउँदै भोलिको योजना सुनाउँदै जानुहुन्छ ।
हामी घँवडाँडापछि एउटा थुम्कोभरि घरहरू टाँसिएको बस्तीमा पुग्छौँ । यस गाउँलाई बाघखोर भनिँदो रहेछ । बाटो केही तेर्छिएपछि फेरि उकालो लाग्छ ।
मोटरबाटो तलैदेखि हामीसँग लुकामारी खेलिरहेको छ र अहिले लुक्न अर्को पाखामा पुगेको छ । हामी उक्लँदै गर्दा मनलालजी बताउँदै जानुहुन्छः “यो झाँक्रीगारे हो….. यो गाउँ तेछ्राबाटा हो…. यो गाउँ खलोछिन्ने हो…. यो पाखो आँखारिङ्ने हो ।”
अलिकति माथि पुगेपछि अग्लो पर्खालले घेरिएका भवनहरू देखिन्छन् । यो तमाक्छरेको स्कुल हो । यसको दाँयापट्टि गलगलेटोल छ । त्यो पारिको लाइत गाउँ हो । यही गाउँमा छ अहिलेको त्रिवेणी गाउँपालकाका अध्यक्ष गणेशकुमार केसीको घर । त्योभन्दा पारिको खुम्चेरी र त्योदेखि पाल्नोपट्टिको खारा हो ।
खाराकाटी खुम्चेरीए जिबाङ काटी लाइत
जून छन्जी जुनेली रात आमा छन्जी माइत ।
ठाडी भाकाको यो गीत गाउँदै विद्यालयबाट अलिकति माथि उक्लिएपछि पुरानो ढाँचाका चारवटा घरहरू भेटिन्छन् ।
“यही हो हाम्रो घर ।” मनलालजीले लामो निश्वास फेर्नुहुन्छ । बीचको घरबाट एकजना तन्नेरी निस्कँदै हामीलाई नमस्कार टक्राउनुहुन्छ । मनलालजीले चिनाउनुहुन्छ, “यो मेरो भतिजो डिल्लीबहादुर वली हो !” घरको पेटीमा बसिरहेका वृद्धलाई देखाउँदै भन्नुहुन्छ, “उहाँ डिल्लीको बुवा, मेरो दाजु हुनुहुन्छ ।” नाम रहेछ पहलसिँह वली ।
डिल्लीको घरको छेउमै रहेको घरलाई देखाउँदै भन्नुहुन्छः “मेरो घर यही हो ।” सायद राधा काकी भैदिएको भए उहाँ झुलुक्क देखापर्नु हुन्थ्यो होला । मनलाल काकाले भन्नुहुन्थ्यो, “हाम्रो घर हो यो ।” अनि काकीलाई सोध्नुहुन्थ्यो होला, “खाना पाक्यो पाकेन ? सरहरू निकै भोकाउनुभएको छ ।”
तर काकी अब यो घरमा कहिल्यै नफर्किने गरी अन्तःपुरको यात्रामा निस्किसक्नुभएको छ । उहाँका छोराछोरीहरू मातृवियोगले छटपटाउँदै जिल्लाबाहिर नै छन् । पक्कै राधा काकी यतै हुनुहोला जस्तो लागिरहेको छ ।
हामी एकछिन आँगनमै उभिन्छौँ । हामी यतिखेर २००० मिटरको उचाइमा छौँ । लेकाली सिरेठोको चिसो सन्को चलिरहेको छ । यहाँबाट सिस्ने र चाखुरेलगायत पूर्वदेखि पश्चिमसम्मका जम्मै अग्लाहोचा शिखरहरू यहाँबाट नजिकै देखिँदा रहेछन् । मुसीकोटको बाक्लो बजार पनि देखिँदोरहेछ । अँध्यारो थपिँदै गएपछि बिजुलीबत्तीहरूले गाउँहरू झिलिमिली देखिन्छन् । रातिको बखत प्लेनबाट काठमाडौँ उपत्यका देखिएझैँ सयौँ गाउँहरूको बत्तीले त्रिवेणी धपक्क बलेको जस्तो देखिन्छ । कतैबाट नदेखिएको कल्पनातीत अनुपम दृश्य देखिँदा हामी छक्क छौँ । सिम्रुतुदेखि हामीले पार गरेको डाँडामा मात्र २५ वटाभन्दा बढी सानाठुला गाउँहरू रहेछन् । त्यत्तिकै भनेका रहेनछन् मान्छेहरूले जिबाङलाई तमास छ भनेर ।
“जाऊँ अब भित्र ।” मनलालको अनुमति पाएपछि हामी कोठाभित्र छिर्छौँ । तल्लो तला भर्खरै मलमाटोले लिपिएको जस्तो छ । सायद काकीले नै अन्तिमचोटि लिपेर छोडेको हुनुपर्छ । भित्र पस्दा मनलालका खुट्टा गह्रौँ भएजस्तो लाग्छ । काकीको अभाव महसुस गरेर यतिखेर मनलालको मन भतभती पोलिरहेको होला । बेहोर्नेलाई चसक्क दुखेको भित्री घाउ अरूलाई के थाहा ?
हामी माथिल्लो तलामा उक्लन्छौँ । धुपीसल्लाको फ्ल्याकको थारो छापिएको घरमा फराकिला दुईवटा कोठाहरू छन् । अघिल्लो कोठाको भित्तामा हार्दिक श्रद्धाञ्जली लेखिएको एउटा फ्लेक्सबोर्ड झुन्ड्याइएको छ जसमा राधा काकीको मुसुक्क मुस्कुराएको फोटो छ । फोटोमा नजर पर्नेबित्तिकै आँशुले गह भिज्छन् । हामी अश्रुपुरित नेत्रले मनमनै काकीलाई श्रद्धाञ्जली टक्राउँछौँ ।
हामीलाई सुत्ने व्यवस्था पूर्वपट्टिको कोठामा गरिएको रहेछ । कोठामा मनलाल दम्तपत्तिका केही जोर लुगालत्त र एउटा टेबुलमा असरल्ल पुस्तकबाहेक बाँकी कोठा ह्वाङ्ह्वाङ्ती खाली छ ।
हामी आफ्नो ओछ्यानमा ढल्कन नपाउँदै डिल्ली भाइको सानो छोरा चिया र तातोपानी लिएर आइपुग्छन् । नाम सुन्दर वली । नामजस्तै सुन्दर र छरितो छन् सानोबाबु । उनले आफूले कविता भन्न सक्ने बताएपछि गिरि सरले उनको भिडियो बनाइदिनुहुन्छ । उनको पाठ्यपुस्तकमा रहेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘लाग्दछ मलाइ रमाइलो’ शीर्षकको कविता सुमधुर लयमा कण्ठस्थ सुनाउँछन् ।
सुन्दर वलीको सुन्दर कवितामा डुबिरहेको बखत डिल्ली भाइकी कान्छी बहिनी कविता वली खाना पाकिसकेको सन्देश ल्याएर आउँछिन् । हामी खाना खान डिल्लीको घरमा उक्लन्छौँ । चुलोमा दाउराको आगो दन्किरहेको छ । चिसोले कठ्याङ्ग्रिएको जिउलाई आगोको रापले एकैछिनमा तताउँछ । डिल्लीकी हृष्टपुष्ट हसिलीतसिली पत्नीले हामीलाई स्वागत सत्कारसहित खाना पस्कनुहुन्छ । खानाको रूपमा दूधको सिल्ला पकाइएको रहेछ । सिल्लाको स्वाद अवर्णणीय मीठो छ । कैयौँ वर्षपहिले चाखेको खीरको झलझली याद आउँछ । कति मिठा मान्छेहरू, कति मीठो ठाउँ, कति मीठो खाना ! तमास छ रेः तमाक्छरे ।
सिल्ला खाँदै गर्दा पसिनाले भिजेको र ३ घण्टाको उकालो यात्राले थकित जिउलाई आगोमा सेकाउँछौँ । भाते निद्राले च्याप्दै लगेपछि मनलालको घरको साविकको ओछ्यानमा ढल्किन्छौँ । थकाइले झ्याप्प निद्रामा परेको पत्तै हुँदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

