
बाफरे बाफ ! के औधि ज्ञान हौ ज्ञानेन्द्र सरको मस्तिष्कभित्र ? अङ्गुरको दिउलजस्तो विनाबियाँको गुदी मात्रै । नजानेको त कुनै विषय नै छैन । नछिचोलेको त कुनै पुस्तक नै छैन । कुरोको चुरो नछिनाई बोलेको कुनै वाक्य नै छैन । मृदुवाणि बोकेर उडेका उहाँका वाक्यात्मक तरङ्गहरूले छोएर मन्त्रमुग्ध नबनाएको कुनै हृदय नै छैन ।
शब्दसमयको आश्रयस्थल बनेको उहाँको घरले सिङ्गो सालबारीलाई साहित्यिक छहारी प्रदान गरेको छ । उहाँको घरमा सिकुवादेखि खात लागेका पुस्तकहरू सिँढी, चोटा, कोठा, बुइगल हुँदै बिछ्यौनासम्म ठेलामठेल छन् । फेरि कहाँ भुतुक्क गलेर थचक्क भुइँमा बसेका छन् र ? टाँगिएको मच्छडदानीभित्र पसेर गोडा दुएक भारीजतिले चौकीदारीको रात्रिसेवा सञ्चालन गरिरहेका छन् । हरेक रात ज्ञानेन्द्र सरले अबेरसम्म सुम्सुम्याएर लोरी नगाएसम्म चयनको निद्रा निदाउन दिँदैनन् तिनीहरूले ।
रामराम ! कति कोमल, कति मुलायम, कति मलिलो, कति रसिलो स्वभाव ? जुनसुकै दुःखी हृदयले पनि ज्ञानेन्द्र सरलाई छोइसकेपछि खुशीका जरा हाल्दै साहित्यका जमरा उमार्न थाल्छन् । निरस जागिरेजीवन जिएर निवृत्त बनेका प्रहरीका डी.एस.पी. हुन् वा सेनाका मेजर, उहाँका सङ्गतमा उभिएपछि सबै उत्कृष्ट सर्जक, कवि वा कलाकार बनिहाल्ने ।
यो अतिरञ्जना होइन, वास्तविकता हो । न्यानो यथार्थ हो । आँखैअगाडि हुनुहुन्छ निर्मल सिञ्चुरी र पूर्ण मगरहरू । जो शुभ र सन्ध्याविहारको मलिलो सानिध्यमा जरा फिँजाएर घामलाई कप्टेराले नाप्ने साहित्यका आँकुरा फैलाउन सफल हुनुहुन्छ ।
यस्तो विलक्षण बुटी बन्नुभएका ज्ञानेन्द्र सरले खै कसरी हो कुन्नि, फ्याट्ट सम्झनुभएछ म नाथेलाई पनि । ‘विष्णुलाई नलिई नआउनु है दीपकजी’ भन्नुभएछ दीपक सरसँग । सुन्नेबित्तिकै ठोकेँ सुइँकुच्चा मैले पनि सालबारीतिर ।
कुरा हो, ३० डिसेम्बर २०२४ को । कवि निर्मल सिन्चुरीको कवितासङ्ग्रह ‘एक कप्टेरो घाम’को सार्वजनिकी समारोह थियो दिन्छेन शेराप छयोइलिङ गुम्बा सालबारी–मेथीबारीमा । भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत पर्ने दार्जिलिङ जिल्लाको सिलगढी नजिकै पर्छ नेपाली जातिको निकै बाक्लो बसोबासक्षेत्र ‘सालबारी’ । ससुरालीको चिल्लो मेजमानी आफूमात्रै भ्याउन चिप्लिनुभएछ दीपकजी अघिल्लै दिन । आफू त चौकामुनिको पिरा सम्हाल्न एक्लै पुगियो भोलिपल्ट ११:३० मा मात्रै । खस्रामस्रो पाए पनि उहाँकै ससुरालीको थाल बजाएर २:३० मा शुरु हुने कार्यक्रमस्थल पुग्यौँ ।
एकएक गरेर भेट हुनथाल्यो नेपाली साहित्य, कला र सङ्गीतका धरोहरहरूसँग । श्रद्धाका शिर आफैँ झुक्ने नामहरूसँग साक्षात्कार हुन थाल्यो । गीतकार, समीक्षक, कवि, रेडियोकर्मी आदि सबै उपमामा उत्तिकै सम्बोधित हुने आदरणीय व्यक्तित्व जस योञ्जन प्यासी, युग्मकका प्रणेता कालुसिङ रनपहेँली, एकेडेमी पुरस्कार विजेता मोहन ठकुरी, कलाकार सुवास छेत्री, डा. हेमन्त काफ्ले, साहित्यकार भविलाल लामिछाने, देविका मग्राती राई, जितबहादुर सोनार, ज्ञानेन्द्र खतिवडा, निर्मल सिन्चुरी, दीपक सिन्चुरी, पूर्ण मगर, कविता भट्टराई, कवि नोज्र्याङ स्याङ्देन, लीलबहादुर सोनार, एल. बी. सोनार, सुकराज दियाली, कृष्ण पी ठटाल, डा. सञ्जय वान्तवा, लोकनाथ उपाध्याय, योगिता राई, मञ्जुला तामाङ आदि आदि नामहरूसँग हाम्रा हात र गलाहरू मिल्न थाले । परिचितहरूसँग भलाकुसारी र नयाँ अनुहारहरूसँग परिचय हुनथाल्यो ।
केही मिनेट ढिला भएर शुरु भएको कार्यक्रममा हल खचाखच भरिए पनि सियो खसे आवाज आउने शान्ति थियो । शब्द समयका सदस्य शैलेन्द्रजीले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व साहित्यकार भविलाल लामिछानेले गर्नुभयो । यद्यपि संयोजक जित सोनार हलको पश्चभागमा बसिरहनुभएको थियो । प्रमुख अतिथि कालुसिंह रनपहेँली बन्नुभयो भने विमोचन हुने कृतिका कृतिकार निर्मल सिन्चुरीलाई पनि अगाडि राखियो । मञ्चमा तीन जनाबाहेक अरु कसैलाई ल्याइएन र मञ्चाभिमुख कुनै भद्र महिला तथा सज्जनवृन्दको नाम उच्चारणमा पनि कुनै समय खर्च गरिएन ।
सञ्चालक आफैँले सबैलाई एकमुष्ट स्वागत जनाइएको शब्दस्वागत राख्नुहुँदै विमोचन हुने पुस्तकभित्रबाट एउटा कविता वाचन गरी कार्यक्रमको उद्घाटन गर्न मञ्चको अग्रासनमा बस्नुभएका साहित्यकार मोहन ठकुरीलाई अगाडि निम्त्याउनु भयो । कविता वाचन पछि साहित्यकार ज्ञानेन्द्र खतिवडाले विमोचन हुने पुस्तकका लेखकको परिचय गराउनु भयो । सबैका मनले ज्ञानेन्द्र सरको सानिध्य पाएर निर्मल सरको कविमन जागृत भएको र काव्यकुञ्ज सालबारीमा एक कप्टेरो घाम झुल्किएको अनुभूति गरे तर ज्ञानेन्द्र सरका मुखबाट बास्ना समेत बाहिर आएन । बरु भरे कविकथनमा कवि स्वयम्बाट छताछुल्ल भयो । पुस्तक विमोचनका लागि मञ्चासिन अतिथिहरूभन्दा छुट्टै मञ्चाभिमुख अतिथिहरूलाई छोटो परिचय गराउँदै अगाडि उभ्याइयो । जसमा हुनुहुन्थ्यो – लालता सिन्चुरी गहतराज, तारासिंह पोर्तेल, टङ्क शर्मा, डा. जस योञ्जन प्यासी, स्नेहलता राई र मलाई । विमोचकहरूले पुस्तक खोलेर सार्वजनिक गरेसँगै प्रमुख अतिथिद्धारा पुस्तक विमोचन भएको घोषणा गरियो र कृतिकारलाई आफ्ना कुरा राख्ने समय दिइयो ।
हाम्रा लागि कार्यक्रम सञ्चालनको यो विल्कुलै नयाँ तरिका थियो । पूर्वी नेपालमा हामीले सञ्चालन गर्ने कार्यक्रमहरू यस्तो ढङ्गका हुँदैनन् । सबैजसो कार्यक्रमहरूमा दर्शकदीर्घालाई खालि गराएर भए पनि मञ्चलाई अतिथिहरूले खचाखच भनु नै पर्छ । कार्यक्रमको सर्वेसर्वा मञ्चमा बसेका अतिथिहरूलाई नै बनाइनु पर्छ । दर्शकदीर्घामा रहनेहरूको नाम चाहिँ कार्यक्रम उद्घाटन हुनअगावै अनिवार्यरुपमा उच्चारण गरिदिनु पर्छ तर हल्ला गर्ने छुटबाहेक उहाँहरूलाई अरु कुनै भूमिका दिइरहनु पर्दैन । सालबारीमा सालको पात बिब्ल्याँटो देखियो ।
जसको कार्यक्रम उसैका कविता । जुन कृतिको विमोचन हो उही कृतिबाट अर्को कविता वाचन गर्नुभयो एल. बी. सोनारले र मात्रै समीक्षक दीपक सुवेदीको पालो आयो कृतिमाथि आफ्ना दृष्टिकोण राख्ने । अचम्म ! यस्तो देखियो कि दीपकजीलाई भगवान् मान्दोरहेछ सालबारीले । उहाँ अगाडि गएपछि कृतिकारको मुटुमा ४२० भोल्टेजको करेन्टले जोडजोड धक्का मार्दोरहेछ र बाँकी दर्शकमा चाहिँ उनको परिवर्तित आकृति हेरेर मस्ती लुट्न ऊर्जा प्रदान गर्दोरहेछ । कृति जति बलियो छ कृतिकार उत्ति नै शसक्त ढङ्गले प्रतिकारमा उत्रँदोरहेछ तर कमजोर छ भने कृतिकारको हंस त्यही दिनबाट हराउन शुरु गर्दोरहेछ । त्यो दिन कृति बलियो रहेछ कृतिकारलाई करेन्टले हल्लाउन सकेन बरु अझै बलियो बनाउन ऊर्जा प्रदान गर्यो ।
दीपकजीको धाराप्रवाह समीक्षा मन्तव्यले फेरि सबैको मन जित्यो । ८ वर्ष सँगै काम गरेको म अध्यक्ष रहेको संस्थाको महासचिवलाई मैले सालबारी पुगेर मात्रै चिन्न सकेँ । फर्केर आउँदा सोधेँ मैले – तपाईँ किन खुल्नुहुन्न नेपालमा दीपकजी ? प्रतिउत्तरमा उहाँको जवाफ आयो – सामान जहाँ बिक्छ त्यहीँ बेच्ने हो नि अध्यक्ष महोदय ।
कार्यक्रममा कृतिभित्रबाट फेरि अर्को कविता कवयित्री कविता अधिकारीले वाचन गर्नुभएपछि प्रमुख अतिथिको मन्तव्य आयो र कृतिबाहिरबाट आफ्नो कविता वाचन गर्न मलाई अनुरोध गरियो । मैले मेरा ५ वटा प्रकाशित कृतिहरू कार्यक्रमका अध्यक्षमार्फत सिङ्गो सालबारीलाई हस्तान्तरण गरेँ र पर्सिपल्टको टोपी दिवसको सन्दर्भ सुहाउँदो, ‘ढाकाटोपी’ शीर्षकक शिखरिणी छन्दमा रचित कविता प्रस्तुत गरेँ । श्रोताको अनुहार पढ्दा सबैमा छन्दमोह बढाएको महशुस भयो ।
त्यसपछि लेखकलाई खदा मालाले सम्मान गर्ने कार्यक्रममा सबै लामबद्ध बने । अन्त्यमा अध्यक्षको धन्यवाद मन्तव्यपछि चिया नास्ताको व्यवस्था भयो । लेखक तथा आयोजकहरूबाट अरु सबै अतिथिहरूलाई ससम्मान बिदा गरिए पनि हामी दुईजनालाई बिदा दिइएन । बरु बेलुका ६ बजेदेखि शब्दसमयको कार्यालयमा शुरुभयो अर्को कविगोष्ठी ।
गोङ्देन चियालयको मिठो ग्रीन टी पिउँदै भरखरै सम्पन्न कार्यक्रमको स्वादिष्ट समीक्षा गरियो र आआफ्ना रचनाहरू प्रस्तुत भए । ज्ञानेन्द्र सरबाट कोसेलीस्वरुप हामीलाई एकएक पाकेट ग्रीन टी उपलब्ध हुनेवित्तिकै निर्मल सिन्चुरी जुरुक्क उठेर चियालय छिर्नुभयो । फर्केर आउँदा त्यहाँको सर्वाधिक महङ्गो ह्वाइट टी का पाकेन बोकेर आउनु भयो । दीपक सर र मलाई एकएकवटा दिनुभयो । त्यसपछि शुरु भयो डा. हेमन्त काफ्ले र ज्ञानेन्द्र खतिवडा सरहरूबाट बहुमूल्य ह्वाइट टी को महत्त्वको बयान । चियाको मूल्यभन्दा उहाँहरूको स्वादिष्ट वर्णन कति हो कति मूल्यवान थियो ।
त्यसपछि डा. हेमन्त काफ्लेज्यूको आयोजनामा स्वादिष्ट रात्रिभोजको आयोजना भयो । इलामकी चेलीको होटलमा ज्ञानेन्द्र सर, पूर्ण मगर, निर्मल सिन्चुरी, हेमन्त सर, दीपकजी र म थियौँ रात्रिभोजमा सामेल ।
भोजपछिको एउटा अन्तरङ्ग कुराकानीमा ज्ञानेन्द्र सरले जीवनभर विर्सनै नहुने प्रकृतिका गम्भीर विचारहरू राख्नुभयो । अब्बल मानिएका साहित्यकारहरूको समीक्षा, उनीहरूको लेखन शैली, अभिव्यक्त विचारमा देखिने दूरदृष्टि, कृतिहरूको ओझ, कृतिले कृतिकारलाई उठाउने तङ्खवहरू, समीक्षकले पाइपाइमा ख्याल राखिरहनुपर्ने कुराहरू, लेखकले लेखनसँगसँगै आचरणमा गर्नुपर्ने शुद्धीकरण आदि विषयमा उहाँले अत्यन्तै गहिरा, खारिएका अनुभूतिहरूको अभिव्यक्त गर्नुभयो ।
अन्त्यमा भन्नुभयो – ‘म कहिल्यै पनि खराब पुस्तक र लेखकको छेउ पर्दिन तर सच्चा लेखकको पाउ छुन्छु, हिँडेको पाइलाको धुलो शिरमा लगाउँछु । सबैको समान अस्तित्व, समान हैसियत स्वीकार गर्न जनै लगाउँदिन तर कसैप्रति सानो/ठूलो, उच/निज, होचो/अग्लोको भावना राख्तिनँ । सबै भाषा, साहित्य, कला, संस्कृतिको समान विकास होस्, सबैले हुर्कन, फुल्न, फल्न पाउन् भन्ने सुभेच्छा राख्छु र म नेपालीभाषी भएका कारण नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनमा आफूलाई जीवनभर समर्पित गर्छु ।’
उहाँका यी गहन विचारहरू मनन गर्दै ९:१५ बजे राति हामी छुट्टियौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

