नारायणचन्द्रकी पत्नी घोर विपत्तिमा परेर पनि बाँचिरहिन् । पछि उनले आँखा देख्न छाडेकाले कसैले डोऱ्याउँदै बूढीलाई पशुपति वृद्धाश्रममा पुर्याइदियो । केही महीनासम्म त्यहाँ हन्डी खाएर बसेपछि उनको पनि जीवन लीला समाप्त भएको सुनियो ।

पिता छविलालको हृदय विदीर्ण भएर उनीबाट आफ्ना ज्येष्ठ पुत्रको परिवारप्रति जुन विदग्ध वाणी निस्केको थियो, त्यसबाट अभिशप्त भएर हो आफ्नै मिथ्याचार, कलुष र स्वभावगत अपनिष्ठाको कारणले हो- नारायणचन्द्रको परिवार नभन्दै समग्र रूपमा विलुप्त भएर गयो । उनको वंशदीप भएर हाल एउटा नाति शेष रहेको छ ।

छविलालका सन्ततीहरू दुई गुँड भएर बाँडिए । एउटा मूल थलोमै रहिरह्यो भने अर्को पितासितै विस्थापित भएर यत्रतत्र लाग्यो । राजधानीका थकाली भएर बस्ने नारायणचन्द्र थिए भने पिता छविलालको नियतिसितै संलग्न भएर मधेशतिरै बसोवास गर्ने बाध्यता गोविन्दचन्द्रलाई आइपरेको थियो । निश्चय पनि जेठाका परिवारसामु उन्नति गर्ने प्रशस्त औसर र सम्भावनाहरू थिए । पिता छविलालले खरीद गरेर छाडेर जानुपरेको बागबजारको घर थियो, राणा शासकहरूको एक सबल पक्षको आशीर्वाद थियो र थियो दैनिक सावगास चलाउने बैंकको नोकरी । तर यता केही थिएन । घरबारविहीन अति दरिद्र सुकुम्बासी परिवार विदेशी माटोमा बसेर नियतिले कालरात्रि काटिरहेको थियो । तर पनि किन हो अनेक सुयोग पाएर पनि ज्येष्ठ पुत्रको परिवारका सदस्यहरूले न विद्या आर्जन गर्न सके, न कुनै अरू उल्लेखनीय कार्य गर्न सके ।

विजयशमशेर भारतका राजदूत भएर जाँदा बैङ्कबाट राजीनामा दिएर नारायणचन्द्र पनि उनका निजी सचिवका रूपमा दिल्ली गए । विजयको मृत्यु पश्चात् उनकी पत्नी अर्थात् पशुपतिशमशेरकी माता नेपाल त्यागेर बंगलोरमै बस्न थालिन् । उनले पनि नारायणचन्द्रलाई छाडिनन् । उनी विधवा मालिक्नीका संरक्षक र उनको विशाल सम्पत्तिको जगेर्ना गरिदिने विश्वासप्राप्त व्यवस्थापक भएर बंगलोरमै बस्न थाले । यसरी यिनको परिवार दुई फ्याकमा बाँडिनगयो । उनले आफ्नो सम्पूर्ण परिवारलाई भारत किन बस्न झिकाएनन् त्यो त उनलाई नै थाहा होला । यहाँसम्म कि पत्नीलाई पनि आफूसँग राखेनन् । घरका मूली विदेशिएर बसेपछि त्यसको कुप्रभाव त परिवार उपर पर्ने नै भयो । उनका तीन छोराहरू थिए । पारिवारिक हेलचेक्र्याइँको पहिलो शिकार उनको कनिष्ठ छोरो हुन गयो । पिता र माताको स्नेह नपाएर साधारण रोगबाट उसको मृत्यु भयो । औषधि ‘ओभर डोज’ खाएकोले विषम प्रतिक्रिया भएर मरेको भनी डाक्टरहरूले भने ।

नारायणचन्द्रकी पत्नीले एउटा फसाद खडा गरिदिइन् । कुन्नि किन हो आफ्नो माइलो छोराको नाम पनि उनले धनुषचन्द्र गौतम राखिदिइन् । आफ्नै दाजुभाइका सन्तानमा एउटै नाम भिरेका दुई जना मैले देखेको छैन । म ऊभन्दा झन्डै बाह्र वर्ष जेठो थिएँ । अतः मलाई अप्ठ्यारो लागेकोले उनीहरूसित माइलो छोरोको नाम परिवर्तन गरिदिन धेरै पटक आग्रह गरें, तर जेठी आमा छोरालाई मेरै नाम धारण गराउने अड्डी लिएर बसेकी थिइन्- ‘अलिक दिनमा यो पढ्न बंगलोर गइहाल्छ । आठ-दश वर्ष उतै बस्ला, सके जागीर पनि भारतमै खाला ।’ आदि बतासे तर्क दिएर मलाई पठाइदिइन् । मेरै नाउँ छोरालाई हिल्ला लाउनमा उनको के दाउ थियो, त्यसबारे जति बुद्धि खियाए पनि कहिलै पहिल्याउन सकेनौं ।

केही दिनपछि नारायणचन्द्रले आफ्ना माहिला छोरालाई पढ्नका लागि बंगलोर झिकाए । यो केटो हेर्नमा राम्रो र अरूभन्दा निकै जेहनदार पनि थियो । उसको कलेज निकै टाढा थियो । अतः बसमा आउने-जाने गर्दा धेरै समय लाग्ने भएकोले केही दिनपछि पिताले उसको लागि स्कूटर किनिदिए । सधैं दोहरीलत्ता ठुल्ठूला सवारी कुदिरहने राजमार्गबाटै उसले पनि आते-जाते गर्नुपरेको थियो ।

एक दिन रात छिप्पिइसक्दा पनि छोरा नफर्केकोले नारायणचन्द्र चिन्ताग्रस्त भए । रातभरि छटपट गरिरहे । भोलिपल्ट पुलिसको सहायता मागेर खोजपत्तो लाउँदा ट्रकको ठक्कर खाएर राजमार्गभन्दा केही टाढा खोलामा छोराको निर्जीव शरीर लडिरहेको देखे । स्कूटर चकनाचूर भएर नजिकै पल्टिरहेको थियो । कलिलो उमेरमै दुर्घटनागस्त भएर छोरालाई गुमाउनुपर्दा नारायणचन्द्र विक्षिप्त जस्ता भए । तर केही दिनपछि आफूलाई स्वयं सम्झाइ बुझाइ गरेर पुनः काममा लागे ।

यो आकस्मिक दुर्घटनाको खबर दुई दिनभित्रै काठमाडौं आइपुग्यो । त्यसबखत म आफ्नो परिवार सहित बत्तीसपुतलीमा बस्थें । खबर सुन्नासाथ हामी शोक प्रकट गर्न बागबजार पुग्यौं । ठूलीआमा अलाप-विलाप गरेर रोइरहेकी थिइन् । उनलाई जति सान्त्वना दिए पनि उनको रूवाइ थामिएको थिएन । माइलो छोरा निकै मेधावी भएकोले त्यस परिवारका लागि भविष्यको केन्द्रबिन्दु हुन गएको थियो । म हिँड्‌ने बेला ठूली आमाले रुँदै भनिन्- ‘बाबु । तिमीले भनेको मानेर मैले उसको नाम फेरिदिएको भए उसले कलिलै उमेरमा यसरी ज्यान फाल्नुपर्ने थिएन कि ?’ बाटोभरि म घोत्लिँदै आएँ । नामको साटफेर र दुर्घटनाको आकस्मिकता बीच कुनै सापेक्षिक तारतम्य स्थापित गर्न सकिनँ ।

छोराको असामयिक अवशान नारायणचन्द्रको लागि वज्रपात हुन गयो । उनको आशाको केन्द्रबिन्दु यही माइलो पुत्र थियो । कान्छो गइसकेको थियो भने जेठो छोरो बटुकचन्द्र बाल्यावस्थामै शिक्षा-दीक्षा छाडेर निवृत्त भइसकेकाले एस्.एल्.सी. मा पनि उत्तीर्ण हुन सकेन । प्रतिभावान त थियो, तर

स्वतःस्फूर्त प्रतिभामा औपचारिक शिक्षाको पाइन चढाइएन भने त्यो धारिलो नभएर क्रमश कुण्ठित हुँदैजान्छ ।

दुई-तीन वर्षपछि पुत्रवियोगको व्यथाले गर्दा नारायणचन्द्रलाई ठूलो हृदयाघात भयो र उनको इहलीला पनि समाप्त भयो। उनको अन्तिम संस्कार विजयशमशेरकी विधवा पत्नीद्वारा बंगलोरको स्मशान भूमिमा गरियो ।

त्यसताका आजको जस्तो त्वरित सञ्चार व्यवस्था थिएन । अतः उनको मृत्युको केही दिनपछि मात्र परिवारले त्यो शोकसमाचार प्राप्त गर्नसक्यो । तर समाचार तारद्वारा पठाइएकोले अत्यन्त संक्षिप्त थियो र त्यसबाट उहाँको निधन कसरी अकस्मात् हुन गयो, केही अर्थ्याउन सकिएन ।

कालमोचन किरिया बसेकी ठूली आमाछेउ शोक प्रकट गर्न जाँदा उनले रूदै भनिन्- ‘जानेलाई कसले रोक्नसक्छ । तर बाबु ! तिमी एक पटक उनका छोरा त्यो पशुपतिसित बुझिदेऊ न, उहाँको देहावसान के कारणले हुन गयो । आमा-छोराको टेलिफोनमा कुराकानी भइरहँदो हो ।’

पशुपतिशमशेरसित मेरो कुनै चिनजान थिएन । त्यसबखत उनी पञ्चायत अनुसन्धान केन्द्रको सहसचिव स्तरीय म्यादी पदमा जागीरे थिए । उनका सहकर्मीहरू थिए- पूर्णबहादुर मानव, पासाङ गोपर्मा, अनन्त पौड्याल, मोहम्मद मोहसीन आदि । त्यही अनुसन्धान केन्द्रको मानस-पुत्रका रूपमा पासाङ गोपर्माले भारतबाट यस्तो अभूतपूर्व राष्ट्रवादी भित्तेपात्रो छपाएर ल्याएका थिए, जो छिटै मुलुकभरि विद्रूप र उपहासको विषयवस्तु हुनगयो । भित्तेपात्रोमा नेपाललाई बहुदलको गिद्ध, ब्वाँसो र स्यालहरूद्वारा लुछालुछ गरेर सुस्वादु आहारा तुल्याइरहेको देखाइएको थियो । यो बेतनभोगी पञ्चायती तत्त्वज्ञानी मनीषीहरू यदाकदा सिंहदरबारको प्राङ्गणमा विषधरहरू फणा उचालेर हावा खान विचरण गरेजस्तै, अरूभन्दा आफूहरूलाई एकहात अग्लो ठानेर हिँडडुल गरेका देखिन्थे । यसै क्रममा मैले पशुपतिशमशेरलाई टाढैबाट देखेको थिएँ । गौर वर्ष, तर मोटा ओठ भएका पशुपतिशमशेर शिरको टोपी सधैं हातमा च्यापेर दम्भपूर्ण मुद्रामा सेतो मोटरबाट ओहोर-दोहोर गर्थे ।

एकदिन फोनमा सकेसम्म विनम्र भएर सोधें – ‘पशुपति राजा ! म नारायणचन्द्रको भतिजा बोलेको । उहाँको अकस्मात् देहान्त कसरी हुन गयो ? त्यो यहाँलाई थाहा भए भनिदिनुहुन्छ कि ? उहाँका परिवारका मानिसहरूले मलाई बुझिदिनू भनेकोले मैले कष्ट दिएको हुँ ।’ उताबाट अप्रत्याशित रूखो प्रत्युत्तर पाएँ- ‘ए हो ! नारायणचन्द्र मरेछ रे, मैले पनि सुनेको हो । वेदर ठीक भो भने म बंगलोर ट्रङ्ग गरेर बुझुँला’ – ट्यङ्ग टेलिफोन बिसाएको आवाज ।

निकै अघि, जब नारायणचन्द्र पशुपतिलाई पढाउँथे, एउटा तस्वीर उनले हामीलाई देखाएका थिए । पशुपति र उनका दुई जुम्ल्याहा बहिनीहरू तस्वीरमा देखेको थिएँ । बालक पशुपतिले बो टाई लाएका थिए र तिनका बहिनीहरू गङ्गा र जमुना फ्रक लाएर नारायणचन्द्रका साथ उभिएका थिए । ‘पशुपति बडो चकचके भएकोले उसलाई मैले फकाई-फुल्याई काखमा राखेर पढाउने गरेको छु ।’ भनी नारायणचन्द्रले तस्वीर देखाउँदै भनेका थिए ।

आफ्ना गुरुप्रति ज.ब.रा.ले उच्चरित गरेका कुसंस्कारयुक्त शब्दावली मेरो कानमा फलाम पगालेको सिर्का जस्तै पसेको थियो । बेलायतमा शिक्षा पाएको मानिस रे ! त्यस बेलासम्म म पनि एक पटक बेलायत पुगेर आइसकेको थिएँ । त्यहाँ पनि मैले आफ्ना गुरुप्रति यस्ता अमर्यादित अभिव्यक्ति निम्नस्तरीय काम-धन्दा गर्ने मजदूरहरूबाट पनि सुनिनँ । यी ज.ब.रा. सितको त्यो पहिलो जम्काको बिस्वादिलो कोक्याइ पछिसम्म कायम रहिरह्यो । यिनीबारे पुनः अर्को प्रसङ्गमा कोट्याउनेछु ।

नारायणचन्द्रको मृत्युपछि उनको परिवार समुद्री आँधीबीच दिशाहीन भएको जहाज जस्तै ध्वस्त हुनगयो । आर्थिक सावगासको चिन्ताले पनि परिवारलाई दिन-रात पिरोल्न थाल्यो । घरको संरक्षकबाट समन्वय नभएपछि पारिवारिक व्यक्तिहरूबीच विद्वेष र कटुताको आगो सल्कन थाल्यो । जेठा छोरा बटुकचन्द्र र उसकी माताबीच गहिरो मनोमालिन्यको सृजना भएकोले तिनीहरू आ-आफ्नो चुलो छुट्टयाएर एउटै घरमा संवादहीन भएर बेग्लाबेग्लै बस्न थाले ।

त्यतिमात्र कहाँ र जायजेथाको हकको लागि आमाले छोराउपर मुद्दा हालिदिइन् । बटुकचन्द्र शिर निहुराएर तारीख खेप्न अदालत धाउन थाल्यो ।

बटुकचन्द्र पनि निकै प्रखर बुद्धि भएको युवक थियो । तर शिक्षाको अभावमा उसको बौद्धिक क्षमताको बाहबाही स्थानीय टोलेहरूमा मात्र सीमित हुन गयो । उसको तीव्र महत्त्वाकांक्षा क्रमशः टाक्सिँदै गयो र निराण बटुकचन्द्र घोर मद्यप (अल्कोहलिक) भएर निस्क्यो । अति सस्तो सुराको, बिहानदेखि आफू ननिदाएसम्मको सेवनले एक दिन उसको पनि देहावसान हुन गयो ।

नारायणचन्द्रकी पत्नी घोर विपत्तिमा परेर पनि बाँचिरहिन् । पछि उनले आँखा देख्न छाडेकाले कसैले डोऱ्याउँदै बूढीलाई पशुपति वृद्धाश्रममा पुर्याइदियो । केही महीनासम्म त्यहाँ हन्डी खाएर बसेपछि उनको पनि जीवन लीला समाप्त भएको सुनियो ।

यसप्रकार नारायणचन्द्रको वंश-वृक्ष समूल सुकेर गयो ।

अकिञ्चन र सोझा पितालाई शरण दिनु र उनको सेवा गर्नुको सट्टा जालझेलबाट अपमानित गरी डाँडा कटाइदिएकोले उनको पारिवारिक विनाश हुन गएको हो वा त्यो घटनाक्रमको सामान्य आकस्मिकताको प्रतिफल मात्र थियो यो ? मलाई लाग्दछ- यो ऐतिहासिक महत्त्वको कुनै उल्लेख्य घटना नभएकोले यो प्रश्न सधैंका लागि अनुत्तरित नै रहने छ ।