परिवर्तन प्रकृतिको शाश्वत नियम । हामी त्यही नियतिको चोर औला समाउँदै पुरानो स्थानबाट स्थानान्तरण भएर पृथ्वीचोक स्थित राष्ट्रिय वाणिज्य बैंकको आवास गृहमा बस्न थालेका थियौं । आवास चर्चैको क्षेत्रफल पोखराको व्यस्त बजारमै भएपनि ठूलो थियो ।
आवास परिसर जातजातका रुख-बिरुवाहरूको असाधारण जमघट । रुखहरूको घनिभूत सङ्गमले पूर्णतया: प्राकृतिक वातावरण सिर्जना गरेको थियो । अम्बा, आरु, जामुन, अमला लगायतका रुखहरूमा फल हाँगा नुहाउँदै भुइँ ओर्लन खोज्थे । चराहरू रुखबाट बिहान डाक्थे । ती चराहरूको साङ्गीतिक कलरव ओछ्यान सम्मै आइपुग्थ्यो र सुखद बिहानीको शुरूवात हुन्थ्यो । प्रायजसो बिहानको हल्का शारीरिक व्यायाम पश्चात् आवासको कौसीमा चर्न आउने चराहरूको निम्ति चारो छरिदिने गर्दथें । विभिन्न प्रजातिका चराहरू सरोबरी भएर चारो खान व्यस्त रहन्थे र कौसी छिर्ने ढोका खुल्नासाथ चनाखो भएर भाग्ने गर्दथे । कहिलेकाहीं हामी ती चराहरूको उन्मुक्त चकचक ढोकाको चरबाट नियाल्थौं ।
एक शरदकालीन उज्यालो बिहान ! आफ्नो नियमित क्रियाकलाप पश्चात् केही चारो छरिराखेर म प्रातः कालीन भ्रमणमा निस्किएँ । आवास गृहको हाताभित्र रुखहरूको बिचमा सानो रिङरोड थियो । त्यही रिङरोडमा केही क्षण सयर गर्ने दैनिकी । बतासमा शारदीय चिसो चढिसकेको थियो भने रुखका पातहरूले पङ्खा हम्किएर झनै चिसो प्रतीत हुन थालेको थियो । आफ्नो सामान्य हिंडाइ पछि फर्किएर आवासको कौसीमा उक्लिएँ ।
त्यहाँ भँगेरा, परेवा, धोबीचरा लगायातका समावेशी पंक्षीहरू चारो टिप्दै रहेछन् । मेरो उपस्थितिको दकस पाएर चराहरू चनाखो बने र मेरो अनुहारमा पखेंटाले पङ्खा हम्किंदै आकाश मार्ग हुँदै उडेर गए । तर सबै उडेर गए पनि एउटा परेवा भने त्यहिं कुनामा घुस्रिएर बस्यो ।
अलि त्रसित र आत्मसमर्पणको भावमा म तर्फ एकोहोरो हेरिरह्यो । मेरा संज्ञानका पर्दाहरू एकाएक हल्लिन थाले । म उसको नजिकै पुगें । ऊ अझै भयातुर मुद्रामा कुनामा घुस्रिन खोज्यो । मैले उसको शरीरमा घाउचोट या अन्य कुनै समस्या भएको हुनसक्ने अनुमान गरें । अलिकति मुडुलो परेको उसको टाउकोमा समर्पणको भाव थियो ।
परेवा अलि पछाडि सर्दै गर्दा देखें उसको एका पट्टिको पखेटा भुइँमा लत्रिएको थियो भने अर्को चाहिं साबुत । मेरो अनुमान सही निस्कियो । म निर्निमेष उसैलाई हेरिरहें । उसले पनि करुण भावमा मेरो आगामी प्रतिक्रिया पर्खिरह्यो । हामी बिचको मौन संवादमा उसले सहयोगको याचना गरिरहे झैं लाग्यो । मैले हातमा चारो लिएर ऊ तर्फ तेर्स्याएँ । ऊ धक मान्दै म नजिकै आएर हातबाटै चारो टिप्न लाग्यो । मलाई अब बुझ्न कुनै दुबिधा भएन । ऊ मसँग सहयोग र सान्निध्य याचना गरिरहेको थियो । शायद ऊ अन्य कुनै शिकारी चराहरूको आक्रमण वा अन्य दुर्घटनामा परेको थियो ।
उसलाई त्यहिं छोडेर कोठा फर्किएँ । ऊ पनि म पछि-पछि फर्किरहेको थियो तर हाम्रो बीचमा उभिएको जाली ढोकाले उसलाई भित्र छिर्न दिएन । ऊ सम्भावित आक्रमणबाट जोगिन मेरो संरक्षकत्वको सहारा पो खोज्दै थियो कि ! कौसीबाटै उसले नेपाल बैङ्कको छानामा बसिरहेका परेवातिर हेरिरहेको थियो । हाम्री सानी छोरी पनि सो घटना क्रममा सामेल हुन आइपुगिन् ।
तर उसलाई बालसुलभ भयले गर्दा परेवाको नजिक हुन दिएन । म परेवालाई जाली ढोकाभित्र ल्याउन प्रयत्नरत थिएँ । छोरी भने कसैगरी भित्र ल्याउन नदिने मानसिकतामा थिइन् । मलाई भित्र पस्न निरन्तर दबाब दिन थालिन् । म छोरीको बालसुलभ आग्रहको डोरोमा डोरिंदै भित्र छिरें । दिउँसो नियमित उल्झनमै बित्यो । परेवा अधीर हुँदै घरी एउटा कुना र घरी अर्को कुनामा सर्दै बस्दै गरेको देखें ।
घाम ओइलाएर पोखराको पश्चिम डाँडाबाट खसेर ओझेल पर्यो । साँझ सुस्तरी भुइँ ओर्लेर चारैतिर फिंजारिन थाल्यो । रातको कालो कम्बलले सारा धर्तीलाई लपेट्यो । मलाई भने बेलाबखत परेवाको स्थिति जान्ने उत्सुकताले चहर्याइरह्यो । ढोका खोलेर हेरेँ । ऊ भने कौसीको गमलाको चेपमा घुस्रिएर बसेको देखियो । संकटको घडीमा आफूलाई सुरक्षित गर्ने हेतुले आएको त्यो पाहुना परेवालाई संरक्षकत्व प्रदान गर्न खोजेँ । सुरक्षित स्थानमा स्थानान्तरण गर्न कोशिश गरें । तर ऊ अनिच्छुक देखियो र अझ कुनामा घुस्रिन थाल्यो । आफूले चाहेको बेला भित्र जान नपाएको क्षोभको आक्रोश वा अनिच्छा पो थियो कि परेवाको ? बुझ्न सकिएन । अन्ततः उसलाई त्यहीं रातको जिम्मामा छाडेर म भित्र छिरें ।
रातको काखमा सारा चराचर जगत निमग्न भएर सुते । मलाई भने परेवा के गरिरहेको होला भन्ने जिज्ञासाले घरीघरी व्याकुल बनाइरह्यो । भोलिपल्ट बिहान आँखा खुल्ने बित्तिकै हठात कौसीमा पुगें । परेवा गमला बीचको चेपमा घुस्रिएर बसिरहेको रहेछ । मैले केही चारो छरिदिएँ । ऊ भोकल द्रवित भए झैं हतार हतार चारो खान हाजिर भयो ।
उसको आँखामा हेरेँ । चराहरूमा हुने चञ्चलताको लेस थिएन । गहिरो अवसादले उसको शारीरिक सक्रियतामा कमी आएको महसूस गरेँ । गर्न पो के सक्थें र ? हातमा लिने प्रयास गरें । ऊ भागिरह्यो । म आफ्नो दैनिन्य क्रियाकलापमा व्यस्त भएँ । छोरी पनि बिस्तारै बिस्तारै परेवाप्रति आकर्षित हुँदै गइन् । बेला बेलामा परेवा त यस्तो गरिरहेछ उस्तो गरिरहेछ भनेर मलाई परेवाको बारेमा ताजा जानकारी सम्प्रेषण गर्न थालिन् र समय समयमा परेवालाई चारो पनि दिन थालिन् । घरीघरी अन्य परेवाहरू पनि भेला हुन आइपुग्थे र घाइते परेवा वरिपरि घुम्दै उक्त परेवालाई ढाडस दिए झैं गर्दथे । ऊ पनि आफ्ना साथीहरूसँग खेल्थ्यो, रमाउँथ्यो । अन्य परेवाहरू गएपछि भने ऊ एक्लै कौसीको कुनामा झोक्राएर बस्थ्यो ।
दिनभरि परेवा कौसीको कुना चहार्दै बसिरह्यो । छोरीको ध्यान पूर्ण रूपमा परेवातिरै केन्द्रित भयो । अर्को साँझ । परेवा कतै उडेर जाने चेष्टा गरेन शायद जान नसकेरै होला । तर अघिल्लो साँझ भन्दा त्यो साँझ जाली ढोकाको पर्खाल च्यातेर भएपनि भित्र छिरुँला झैं गरिरह्यो । अन्य शिकारी चराको सम्भावित आक्रमणबाट त्राण पाउन हुनुपर्छ भित्र छिर्न यति बिध्न प्रयास गरेको । परेवाको निरन्तरको प्रयास देखेपछि मैले पनि उसको निम्ति मार्ग प्रशस्त गर्नु उपयुक्त ठानें ।
ऊ शरणमा पर्न खोजेको थियो । शरणमा पर्न आएको उसलाई मरण हुन पनि त दिनु भएन । जाली ढोका खोलिदिएँ । ऊ यसरी ढुनमुनाउँदै आत्तिंदै भित्र पस्यो मानौं उसमाथि भयङ्कर विपत्ति आइलागेको छ र ऊ त्यस विभीषिकाबाट मुक्ति चाहन्छ । हाम्रो निवासमा प्रशस्तै कोठाहरू थिए । ऊ हाम्रो बैठक कोठामा पस्यो र एउटा कुनामा गएर घुस्रिन पुग्यो । ऊ त्यस कोठामा प्रवेश गरेपछि उसलाई स्वतन्त्र छोडिदियौं । त्यो कोठामा हामी छिर्दै छिरेनौं । यी सारा घटनाक्रमबाट उत्साहित छोरीको मनोकाङ्क्षा भने झन् चुलिन थाल्यो । परेवालाई घरमै पाल्ने योजनाको डुङ्गामा नौका बिहार गर्न थालिन छोरी ।
भोलिपल्ट बैठक कोठाको ढोका खोलेर हेर्दा परेवा फुर्तिलो र उज्यालो देखियो । शारीरिक चपलता र स्फूर्ति नै बेग्लै थियो उसको । ढोका खोल्न नभ्याउँदै सरासर कौसीमा प्रविष्ट भयो र अनौठो आवाजमा कुर्लिन थाल्यो । मैले चारो छरे लगत्तै अन्य परेवाहरू पनि कौसीमा बिस्कुन सुकाए जत्तिकै भएर चर्न लागे । चारो टिपेर अन्य परेवाहरू उडेर गए भने हाम्रो पाहुना परेवा भने उडिगएका परेवाहरू तर्फ एक टकले हेरिरह्यो । एकछिन पछि साहस बटुलेर पखेटा फटफटायो र अर्ध उडान भर्दै कौसीको पर्खालमा गएर बस्यो ।
लाग्थ्यो ऊ आफ्नो तागतको परीक्षण गरिरहेको थियो । आफ्नो सीमितता बुझेर होला केही क्षण पर्खालमा बसेर पुनः कौसीमा ओर्लियो । हाम्रो निम्ति यी घटनाक्रम अनपेक्षित त थिएन तर सानी छोरीको निम्ति कौतुकका शृङ्खलामा नयाँ अध्याय थियो ।
छोरीको स्कूल छुट्टी थियो । मेरो पनि अनलाइन कक्षा भएकोले हामी दिनभरि घरमै हुन्थ्यौं । छोरी तल्लो तलामा बस्ने डाईभर दाइकी छोरीसँग खेल्न गइन् । म भने आफ्नो कार्य व्यस्तताको पोकोपुन्तुरो फुकाउन थालें । कक्षाहरू समाप्त भएपछि कौसीमा आएर हेर्दा छोरी र उनकी साथी मिलेर एउटा कुनामा कार्टुनको टुक्राटाक्री जम्मा पारेर सानो घर जस्तो बनाउँदै रहेछन् । त्यहाँभित्र स्याउला ओछ्याएर गुँडजस्तो आकार पनि बनाएछन् । म त्यहाँ पुग्दा उनीहरूको कार्य व्यस्तता हेर्न लायकको थियो ।
छोरीले गुनासो गरिन्, “बाबा हामीले परेवालाई गुँड बनाइदिएका छौं तर गुँडमा बस्नै मान्दैन हेर्नु न ?” उनीहरूको आफ्नै बालसुलभ दुखेसो थियो । उनीहरूको कृत्य देखेर म हाँसें र परेवा उनीहरूले बनाएको गुँडमा नबस्नुको कारण सम्झाए पछि आश्वस्त हुँदै ऊनीहरू खेल्न मैदानतर्फ दगुरे ।
त्यो अपराह्न परेवा धेरै पटक कौसीको पर्खालमा बसेको देखें । ऊ आफ्नो शक्ति सञ्चयन र परीक्षणकै क्रममै थियो । तर उडेर टाढा जान सकिरहेको भने थिएन । त्यो साँझ पनि ऊ भित्र आउन खोज्यो । उसलाई बैठक कोठामा ल्याएर छोडिदिएँ । बिहानपख हेर्दा ऊ फुर्तीसाथ घरी यता घरी उता गरिरहेको थियो । कोठाभरि प्वाँख यत्रतत्र छरिएका थिए । उसले रातभर उड्ने अभ्यास गरिरहेको हुनुपर्छ भन्ने लख काटें । कौसीको ढोका खोल्नासाथ अझ फुर्तिलो भएर जमिन भन्दा थोरै माथिमाथि उड्दै बाहिर निस्कियो । भोकले आक्रान्त भए झैं चारो टिप्न थाल्यो । सँगसँगै अन्य परेवाहरू पनि प्रातःकालीन चारो परेडमा सहभागी हुन आइपुगे ।
सदा झैं अन्य परेवाहरू उडेर गए तर ऊ पुनः पखेटा फट्फटाउँदै कौसीको पर्खाल उक्लियो र घरी यता घरी उता हिंड्न थाल्यो । म आफ्नो कार्य व्यस्तताको गाँठोमा बाँधिन पुगें भने छोरी आफ्नो निजात्मक ध्याउन्नमा । उनलाई अब परेवा उडेर जान्छ भन्ने पीर थियो । केही क्षण पश्चात् छोरी दौडेर कोठाभित्र पसिन् र विस्मयको भावमा भनिन्, “बाबा परेवा त उडेर गयो” । उनको अनुहारमा उत्साहको उज्यालो गायब थियो ।
“ए हो र ?” मैले अलि आश्चर्य मानेजस्तो लवजमा भनें । तथापि मलाई के ज्ञात थियो भने अब परेवा उडेर जाने तयारी अवस्थामा थियो र जति बेला पनि उडेर जान सक्थ्यो । छोरीले कर गरेपछि म ऊनीसँगै कौसीमा निस्किएँ ।
हो रहेछ, परेवा त्यहाँ देखिएन । उडेर गैसकेको रहेछ । छोरी दुःखी थिइन् । उनको निम्ति अस्वाभाविक तर हाम्रो निम्ति सुखद र स्वाभाविक थियो त्यो । तीन रातको हाम्रो घरको बसाईंपछि उसको घाइते पखेटा सन्चो भएर उडेर गएको थियो । उसलाई हाम्रो आतिथ्यको मलमले ठीक बनाएछ भन्ने सन्तोषको ऊर्जा शरीरभरि सञ्चार भयो । मस्तिष्कले अविराम शान्ति महसूस गर्यो । छोरीको बाल दुखेसो सम्बोधन गर्ने प्रयत्न गरिरहेको थिएँ तत्क्षण एउटा परेवा उत्तर दिशाबाट हुर्हुरिंदै आएर कौसीको पर्खालमा बस्यो । त्यो त उही पाहुना परेवा थियो जो केही दिन हामीसँगै व्यतीत गरेको थियो । त्यो परेवाको टाउकोमा पर्याप्त रौं नभएकाले अलिकति मुडुलो देखिन्थ्यो । हामीले तत्कालै उसलाई चिनिहाल्यौं ।
हामी तर्फ हेरेर परेवा अनौठो आवाज निकालेर कुर्लिन थाल्यो । हामीले उसलाई हेरिरह्यौं । केही क्षणमै ऊ उडेर उत्तर दिशातर्फ बादलभित्र हरायो । मलाई त्यो परेवा अब म ठीक भएँ जान्छु है भन्न आए झैं लाग्यो । हामी ऊ उडेर गएको दिशातर्फ हेरिरह्यौं । सबै कुराको बेलिबिस्तार लगाएपछि छोरी पनि सन्तुष्ट भइन् । अनुहारमा खुशीको आभा झुल्कियो । परेवा नभएको कौसी बाली थन्क्याए पछिको खेत झैँ उदास देखियो । तीन दिने पाहुनाले पनि यति नियास्रो छोडेर जाँदो रहेछ । मनका फाँटहरू खाली भए । ऊ उडेर गए पनि सम्झनाको आँगनमा केही दिनसम्म ओर्लिरह्यो ।
त्यस दिनदेखि अन्य परेवाहरू नियमित रूपमा चारो खान आइरहे पनि उक्त परेवा भने पुनः त्यहाँ देखिएन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।