कथाकार विद्या ढकाल (२०१७) गण्डकी प्रदेशको तनहुँ जिल्लाको चुँदी, सिम्पानीमा माता रमादेवी ढकाल एवं पिता मुक्तिनाथ ढकालका सुपुत्रका रूपमा जन्मेका हुन् । ढकाल लामो समय शिक्षण पेसामा रहेका हुन् । ढकालले राजनीतिक, सामाजिक एवं शैक्षिक क्षेत्रमा लामो समय काम गरेको पाइन्छ । ढकाल समकालीन नेपाली लघुकथा लेखनमा आफ्नो परिचय स्थापना गर्न लागेका स्रष्टा हुन् । उनका विभिन्न पत्रपत्रिकामा फुटकर कविता, कथा, लघुकथा, समसामयिक लेख प्रकाशित हुँदै आएका छन् ।

स्रष्टा विद्या ढकाल ‘आमा’ लघुकथा कृतिको माध्यमबाट नेपाली साहित्यका क्षेत्रमा कृतिकारका रूपमा आइपुगेका देखिन्छन् । विद्या ढकालको ‘आमा’ पहिलो प्रकाशित साहित्यिक आख्यान कृति हो । पहिलो लघुकथा कृतिमा उमेरको गणनाका रूप अर्थात् ६३ वटा लघुकथाहरू समाविष्ट भएका छन् ।
यस कृतिमा समेटिएका कतिपय कथाहरू एक प्रकारले सूत्र कथा जस्तो पनि देखिन्छ । उनका कथामा मानवीय संवेदना, सामाजिक संस्कारको प्रगतिशील रूपान्तरण र समसामयिक आफ्नै समाजको विसङ्गतिलाई चित्रण गरेको पाइन्छ ।

उनको यस सङ्ग्रहको शीर्ष कथा ‘आमा’ कथा हो । यस लघुकथाले जननी र जन्मभूमिकै चित्रण गरेकाले कतै दार्शनिक सन्देश पाइन्छ भने कतै स्वदेश प्रेमको एक किसिमको अनुराग झल्कन्छ ।

यस सङ्ग्रहका कथामा नेपाली समाजमा अहिले देखा परेको विदेश मोह, यसले उत्पन्न गराएको मनोविज्ञानलाई प्रभावोत्पादक रूपमा उद्घाटन गर्ने प्रयास पनि गरेको पाइन्छ । मातृ ऋणलाई चुकाउन यो कृतिले केही हदसम्म सफल हुने देखिन्छ ।  उनलाई आमाको ममताले भित्रसम्म छोएको छ । कतिपय कथाहरूमा धनको आडम्बर देखाउने, पैसाको रवाफ देखाउनेलाई समाजका प्रतिष्ठित मानिनेहरूको सत्यको खोज गरी तिनको खराब कर्ममाथि सटिक व्यङ्ग्य पनि गरेको पाइन्छ ।  आमा कथासङ्ग्रहले दिने महत्वपूर्ण सन्देशको रूपमा आमाको भूमिकालाई सर्वोपरि मान्दै संस्कृतको सूक्ति “कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति“ अर्थात् कुपुत्र जन्मन सक्छ तर कुमाता कहिल्यै पनि हुँदिनन् भन्ने यथार्थको बोध गराउन खोजिएको छ ।

यस सङ्ग्रहमा रहेको उनका सहिदको आशीर्वाद, बिर्सिएका अनुहार, सहिदको आमा, कमरेड, हाम्रो पहिचान, आपत्ति लघुकथामा राजनीति सम्बद्ध विषयको प्रस्तुति पाइन्छ । राजनैतिक क्षेत्रमा भए गरेका क्रियाकलाप, घटना तथा राजनीतिभित्र रहेको विकृति विसङ्गतिको चिरफार गर्न सफल यी कथाहरूले राजनीतिको अवस्थालाई प्रस्तुत गर्न सफल देखिन्छ । उनका यी कथाहरूमा राजनीति लाभमा केन्द्रित रहेको, स्वार्थका कारण सहिद परिवारको उपेक्षा भएको, सहिदको नाम भजाएर खाने वर्ग राजनीतिका नाममा मोटाउँदै गएको, सहिद परिवार विपन्नतामा बाँच्नुपरेको यथार्थ अवस्था अभिव्यक्त भएको छ ।

लाभमा केन्द्रित रहेको, स्वार्थका कारण सहिद परिवारको उपेक्षा भएको, सहिदको नाम भजाएर खाने वर्ग राजनीतिका नाममा मोटाउँदै गएको, सहिद परिवार विपन्नतामा बाँच्नुपरेको यथार्थ अवस्था व्यक्त भएको छ । सहिद परिवारलाई सार्वजनिक कार्यक्रममा सम्मान गरे पनि उनीहरूको जीवनप्रतिको संवेदनहीनता आलोचनाको विषय हो ।

उनका लघुकथामा विगतमा सेल्टर दिने जनताको उपेक्षा, मन्त्रीका वरपर सिँगाला भएको कटु यथार्थलाई आफ्नै फरक शैलीमा प्रस्तुत गरेका छन् । उनका लघुकथा यथार्थको आलोचनाका साथै सार्थक भरियाको खोजीको चेतना समेत अभिव्यक्त भएको पाइन्छ ।

यस सङ्ग्रहका केही लघुकथामा मानिसको दोहोरो चरित्र र स्वार्थी क्रियाकलापलाई प्रस्तुत गरिएको छ । उदाहरणको रूपमा ‘हुस्सु पण्डितको कथा’, ‘आमाको मुखा’, ‘स्वाद’, ‘फोस्रो अर्ती’, ‘इज्जत’ लघुकथालाई लिन सकिन्छ ।

बसमा सिट दिएर पकेट मार्न महिला, गाईको सट्टा पैसा माग्ने पण्डित, लोकाचारका लागि सासूलाई फोन गरे पनि शहरमा आफूकहाँ आउँदा दुर्व्यवहार गर्ने बुहारी, पुरानी श्रीमतीप्रति भेदभाव गर्ने मुखिया पात्र, आफूले सासु–ससुरा हेपे पनि भाइबुहारीलाई सासु–ससुराको सेवा गर्नुपर्ने अर्ती दिने आमाजू, बाहिर असल देखिए पनि हिंस्रक चरित्र बोक्ने मानिस, साथीभाइका सामुन्ने होटलमा टिप्स दिने फलफूलवालासँग पैसाका लागि किचकिच गर्ने कर्मचारी पात्र आफैंमा दोहोरो चरित्र बोक्ने पात्रहरूको अवस्थालाई प्रस्तुत गरिएको छ  ।

आमा कथासङ्ग्रहमा प्रयुक्त पात्रको चित्रण गर्ने क्रममा धेरै पात्रले मानिसका सामु आफूलाई असल, सभ्य देखाए पनि मौका पर्दा आफ्नो लोभलाभ, स्वार्थ, अहंकार, क्रोध, ईर्ष्या जस्ता मानवीय अवगुणबाट अभिभूत भएर खराब कर्ममा लागेका छन् भन्ने वास्तविकताको चित्रण यहाँका कथाहरूमा पाइन्छ । मानिसको छोटो बुद्धि, सानो लोभ, कुण्ठा, अहङ्कार, स्वार्थले गर्दा उसले आफ्नो मात्र नभएर अरूको जीवन पनि बर्बाद बनाउँछ ।

यस सङ्ग्रहका कतिपय लघुकथामा मानिसका लोभजन्य प्रवृत्तिको उद्घाटन गरिएको छ ।

समग्रमा भन्नुपर्दा लघुकथाकार विद्या ढकालको आमा लघुकथासङ्ग्रह सामाजिक विसङ्गतिप्रति आलोचना गरिएको कृति हो । जसमा उनले मानवताका पक्षलाई खोतल्दै मानवीय कुप्रवृत्ति प्रतिको आलोचनात्मक स्वर प्रकट गरेको पाइन्छ । यस सङ्ग्रहका बानी, हुतिहारा, परिचित आवाज, खुँगा आदि लघुकथामा सामाजिक विसङ्गतिप्रति तीव्र आलोचना भाव पाइन्छ । यो लघुकथा सङ्ग्रह विद्या ढकालको कथाविधाको एउटा सुन्दर आँखीझ्याल हो, जसको कुनै पनि आँखाबाट बाहिर चियाउँदा समाजको अवस्था देख्न सकिन्छ ।

लघुकथामा प्रयुक्त शब्द–वाक्य वा वाक्यांश जति थोरै भए पनि तिनले देखाउने संसार भने त्यति नै फराकिलो छ, जीवन र जगतलाई दर्शन गराउन सक्षम छ भन्न सकिन्छ । समग्रमा विभिन्न विषयवस्तुयुक्त यस कथासङ्ग्रहका कथाले नेपाली साहित्यको कथा विधामा नयाँ स्वाद प्रदान गरेका  छन् ।

कथामा सबाल्टर्न वर्गको यथार्थको चित्रणद्वारा कथाकारले वर्तमान अवस्थालाई देखाउन खोजेका देखिन्छन् । यसरी आमा लघुकथासङ्ग्रहमा समाविष्ट कथाका माध्यमबाट देखिएका समस्यामा समाजको अध्ययन, खोज अन्वेषण हुनेछ । निम्न वर्गका मानिसका समस्या खोज गरी राज्यले तिनीहरूप्रतिको उत्तरदायित्व पूरा गराउने छ भन्ने सुधारको आशा राख्न सकिन्छ । निष्कर्षमा यस कथासङ्ग्रहका अत्यन्त रोचक, मर्मस्पर्शी र यथार्थपरक छ । सरल भाषाशैलीमा लेखिएका यस आमा लघुकथा सङ्ग्रहमा रहेका लघुकथाहरू छोटा तर प्रभावकारीका साथै पठनीय रहेका छन् । आफ्नी आमाको चित्रलाई पुस्तकको आवरण बनाएर कथाकारले मातृ ऋणलाई केही भए पनि मोचन गर्न खोजेका देखिन्छन् ।

९० पृष्ठको संरचनामा निर्मित यस पुस्तकलाई शान्ता ढकालले प्रकाशन गरेकी छन् भने पुस्तकको मूल्य रु. १०१ रहेको छ ।