सत्ताइस वर्षअघि सहायक पदमा (खरदार) नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गर्दा बैंकको चमेना गृहमा काम गर्ने जिम्मेवारी पाएको थिएँ । त्यति बेला केन्द्रीय बैंकको गरिमा र त्यहाँ कार्यरत जनशक्तिको बारेमा खासै ज्ञान एवम् अनुमान थिएन । बैंकको चमेनागृह केन्द्रीय कार्यालय भवनकै तल्लो तलामा रहेकोले अधिकांश कर्मचारीहरू खाजा खाने समयमा त्यहाँ आउनु हुन्थ्यो ।
खाजा समयमा निकै भिड समेत हुने गर्दथ्यो । बिस्तारै कर्मचारीहरूको नाम र तह चिनिने क्रम जारी थियो । आफूलाई त्यति बेला गोरखातिरका कोही भइदिए नि हुन्थ्यो जस्तो लाग्थ्यो । थापा थर भएका जो कोही भेटिए पनि बन्धुत्व र आफ्नोपनको महसुस समेत हुने गर्दथ्यो ।
यसै क्रममा एकजना मोटोघाटो र तालु खुइलिएका एक कर्मचारी क्यान्टिनको एउटा कुनामा अर्को साथीसँग खाजा खाँदै हुनुहुन्थ्यो । क्यान्टिनमा निकै वर्षदेखि कार्यरत शर्मीला दिदीले – डा. गोविन्द बहादुर थापा भनेको उहाँ माडसाब नै हो (त्यति बेला सिनियरहरूलाई माडसाब भन्ने चलन नै थियो) । उहाँले पिएचडी गर्नु भएको छ । रिसर्च विभागको ठूलो मान्छे । उहाँलाई गभर्नरले पनि मान्छन् रे । उहाँसँग त सबै डराउँछन् भन्नु भयो । मैले उहाँले नदेख्ने गरी भित्रपट्टि बसेर धेरैबेर उहाँलाई हेरिरहें । मलाई पिएचडी गर्ने मान्छेको तालु खुइलेको हुन्छ भन्ने छाप पहिले नै परेको थियो । झन् उहाँलाई देखेपछि पक्का जस्तै भयो । आफ्नो मनमा पनि डिग्री सकिएपछि पिएचडी गर्न पाए कस्तो हुन्थ्यो भन्ने सोच आइरह्यो ।
त्यति बेला काठमाडौंबाट छयानब्बे जना एकै साथ सहायक पदमा बैंक प्रवेश गरेका थियौं । हामीलाई केही दिन काम गरिसके पछि सेवा प्रवेशको तालिम पनि दुई समूहमा बाँडेर दिइएको थियो । गोविन्द सरले बैंकको अनुसन्धान विभागको काम र वित्त नीतिको बारेमा सेसन लिनुभएको थियो । कति पुस्तक पढ्दा नबुझिने विषय उहाँले व्यावहारिक तरिकाले बुझाउनु भएकोले अहिलेसम्म पनि दिमागमा उत्तिकै गडेर रहेको छ ।
त्यसपछि पनि बैंकर्स तालिम केन्द्रबाट सञ्चालित विभिन्न तालिममा उहाँको प्रस्तुतिको सधैँ भक्त रहें । उहाँको आवाज निकै ओजपूर्ण थियो । उहाँले कुनै विषयवस्तु खरो रूपमा राखेको तर्कको खण्डन गर्न निकै गारो हुन्थ्यो । आफ्नो स्वभावजन्य उत्सुक स्वभावका कारण धेरै प्रश्नहरू गर्ने गरेको थिएँ । उहाँबाट प्राप्त जवाफपछि आफ्नो विषयमा कसरी यति निर्धक्क भएर प्रस्तुति गर्ने होला भनेर सोच्ने गर्दथे ।
उहाँ जस्तो उच्च ओहोदामा बसेको व्यक्तित्वसँग मेरो जागिरे जीवनमा अझ आफू सहायक तहमा रहँदा एक महिना आवासीय कार्यक्रममा सँगै बसेर धेरै सिक्ने मात्र हैन अन्तरङ्गको क्षण बिताउने अवसर पाएको थिएँ । जुन मेरो जीवनको अविस्मरणीय क्षण बनेर रहेको छ । सायद भगवान्को यो रहस्यमय नियम कै कारणले पनि होला बहिनी लक्ष्मी थापासँग वीरगन्जमा काम कै सिलसिलामा संयोगले भेट भयो । गोविन्द सरको प्राज्ञिक र पेशागत जीवन बाहेक व्यक्तिगत जीवनको बारेमा निकै कम जानकारी भएकोले बहिनीको बारेमा मैले त्यति बेलासम्म पनि थाहा पाएको थिएन । तर उहाँको छोरा बसन्त थापा भने राष्ट्र बैंकमा छिरिसक्नु भएकोले राम्रो दोस्ती थियो । वहाँसँगको त्यही परिचयका कारण अवसानपछि उहाँसँगको संस्मरण लिपिबद्ध गर्ने सौभाग्य पाएँ । यसको वर्णन म शब्दमा गर्न सक्दिन ।
सेवा प्रवेश गरेदेखि करिब चार वर्षसम्मको अवधिमा सरसँग बाक्लो भेटघाट र कुराकानी त हुन्थेन नै । कहिलेकाहीँ भेट हुँदा आफू गोरखाको थापा भएको र वि.सं २०५६ सालमा पोखराकी गोदार थापा कै छोरी बिहे गरेको कुरा गरिरहने भएकोले सरले मलाई कहिलेकाहीँ थापाकाजी समेत भन्नुहुन्थ्यो । हामी सहायक हुँदासम्म बैंकमा सिनियरहरूलाई अति सम्मान गर्ने र हाकिमहरूसँग एक किसिमको डर मान्ने चलन जस्तै थियो । जुन पछिल्लो जेनेरेसनमा कायम देखिंदैन । अझ सेकेन्ड क्लासभन्दा माथि त हामी बाटोमा नजिक पर्दा नि अचम्म मान्थ्यौँ । किनकि त्यतिबेला करिब तीन हजार कर्मचारीमा माथिल्लो तहका कर्मचारी निकै कम हुन्थे ।
तर बैंकको त्यो सम्पूर्ण भीडमा आफ्नो कोही नभएर नि होला, गोविन्द सरलाई मनले नै नजिकको मान्छे जस्तो ठानेको थिएँ । अझ धेरैले मेरो अध्ययन र स्पष्ट बोल्ने शैली देखेर डा. गोविन्द बहादुर थापा बन्न पर्छ है भन्न थालेका थिए । मनमा कहीँकतै आस नभए पनि भित्रभित्रै मख्ख पर्थे र कल्पना पनि गर्थें । सायद उहाँ र उहाँहरू जस्तै अग्रजको आशीर्वादले होला त्यो कठिन यात्रालाई पार गर्दै सयौँको भिडमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छु । अनि सरले रोपिदिनु भएको पिएचडीको सपना पनि साकार गर्ने प्रयत्नैमा छु ।
गोविन्द सरसँग रुपन्देहीको मंगलापुर कृषि विकास बैंकको तालिम केन्द्रमा बिताएको त्यो मेरो एक महिना जागिरे जीवन कै उत्कृष्ट समय थियो । विसं २०५७ सालको पौषतिर सञ्चालन भएको उक्त तालिमबाट मैले धेरै कुरा सिक्ने अवसर त पाएको थिएँ नै । साथीभाइ र बैंकका सिनियरहरूसँग आत्मीयता र घुलमिल हुने मौका पनि पाएँ । तीस दिन घरबाहिर त्यसमा पनि छोरी जन्मेको दुई महिना मात्र भाको बेला । मधेशको चिसो । होमसिक हुने अवस्था थियो नै ।
तर मेरो बहिर्मुखी स्वभाव र साहित्य, गीत लगायत सबै क्षेत्रमा चासो राख्ने भएकोले प्रत्येक दिन नाचगान, गीत कविता र प्रस्तुतिमा सबैलाई व्यस्त बनाइयो । त्यसमा पनि सर आफै पनि लोक गीत गाउन सोखिन हुनुहुँदो रैछ । उहाँको साथ पाएपछि त झन् रमाइलो भयो । कार्यक्रममा बिदाको दिन स्थलगत भ्रमण लगिन्थ्यो त्रिवेणी, पाल्पा, पोखरा हुँदै मंगलापुर पुग्दासँग बसमा सरसँगै बसेर गीत गाएको नाचेको दृश्य अझै आँखामा नै घुमिरहेको छ । त्यति बेला सरले गाउनु भएको एउटा टुक्का अझै मेरो दिमागमा छ । साथमा उहाँ कै समउमेरकी अन्जु कार्की दिदी हुनुहुन्थ्यो । सरले उहाँलाई लक्षित गरी यस्तो गीत गाउनु भएको थियो ।
तिम्रो हाम्रो एउटै छ उमेर, एउटै छ उमेर
लाइदिऊ माया बादल झैँ घुमेर
(रेलै घुमेर)२ गयो बैनीको आधी उमेर
अहो ! त्यति बेला खुब गीत गाइयो स्वर नै सुक्ने गरी । हरेक दिन विहान क्लाइमेट सेटिङ भनेर केही न केही गर्नु पर्थ्यो । मेरो भूमिका सक्रिय थियो । सरले म कतै गए नी वाच गरिहाल्नु हुन्थ्यो । त्यति वेला मैले पिएचडी गर्ने जिज्ञासा र बाटो सरलाई सोधेँ । त्यसैबाट भारतको दिल्ली युनिभर्सिटी जेएनयूसम्म पनि बुझ्न पुगें । तर त्यति वेला परिस्थिति मेरो पक्षमा नभएर सो काम सम्पन्न गर्न सकिन । तापनि यस बारे सरको भनाइ याद आइरहन्छ । सर भन्नु हुन्थ्यो — पिएचडी गर्नु भनेको त्यति अलौकिक र महान् कार्य हैन तर त्यसको इज्जत जोगाइराख्न गर्नु पर्ने मेहनत र अभ्यास भने निकै कठिन हुन्छ, थापा काजी !
तालिम सकेर काठमाडौं फर्कने दिन आपत् आइलाग्यो हामीलाई । भारतीय सिनेमाका नायक ऋतिक रोशनको अभिव्यक्ति (मलाई नेपाल र नेपाली मन पर्दैन भन्ने आशय थियो क्यार) २०५७ पौष ११ गतेबाट देशमा हिंसा भड्कियो ।
भारतीय मूल र मधेश मूलका समेतलाई कुटपिटका घटना भई अधिकांश तराई बन्दको अवस्था भयो । बैंकको त्यति बेलाको नियम अनुसार सहायक स्तरका कर्मचारीले विशेष अवस्थामा बाहेक हवाई जहाजबाट यात्रा गर्ने अनुमति पाइँदैनथ्यो । म लगायत केही साथीहरुको बसबाट जाने भ्रमण आदेश थियो । हामी आत्तिइरहेका थियौं । यस्तो बेला सरले हामीलाई जहाजको टिकट काट । म माथि सिफारिस गरुँला भनेर निकै गुन लाउनु भएको थियो । सोच्ने गर्थें – सरले मलाई आफ्नो ठानेर नै त्यो निर्णय गर्नु भएको होला । नत्र त्यो परिवेशमा हामीले माथिबाट स्वीकृति लिने विषय अति गारो काम थियो । सहायक र अधिकृत बीचमा रहेको यो ठूलो खाडलका कारण कहिले अधिकृतको विज्ञापन खुल्ला र प्रतिस्पर्धा गर्न पाइएला भनेर हुटहुटी हुन्थ्यो । सौभाग्यवश यसको एक वर्ष मै प्रधान सहायक र डेढ वर्षपछि अधिकृतको परीक्षा खुल्यो र सफल पनि भइयो । यस्तो सफलतामा पनि गोविन्द सर, तुलसी उप्रेति सरहरूको माया र आशीर्वाद ठूलो हात रहेको छ ।
सरले राष्ट्र बैंक सेवामा रहेर पनि राजनैतिक नियुक्ति मार्फत भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नु भएको थियो । वि.सं २०५१ सालमा भरत मोहन अधिकारीको पाला आर्थिक सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एसियाली विकास बैंक लगायत धेरै संस्थामा जिम्मेवारी निर्वाह गर्नुभएको सरसँग अन्तिम भेट वीरगन्जमा भएको थियो । एकदिन सरले फोनमा कुराकानी पनि गर्नुभएको थियो ।
कोरोना सङ्क्रमणको समयमा स्वास्थ्यमा समस्या आएको थियो सरको । काठमाडौंको गंगालाल अस्पतालमा २०७८ जेठ महिनाको १८ गते बिहान सरको देहावसान भएको खबरले स्तब्ध भएँ । जतिवेला मानव जाति कै अस्तित्व माथि धावा बोलेको समय थियो । कोही कसैको बारेमा केही आकलन गर्न सक्ने अवस्था पनि थिएन । सरले आफ्नो मेहनत अध्ययन र कर्तव्य निर्वाहका क्रममा मुलुकलाई पुर्याउनु भएको योगदान सबै अभिलेखीकरण छ । मानिसको भौतिक शरीर नष्ट भए पनि कृति र गरेको कामको चर्चा युगौंयुग चलिरहन्छ । उमेरले मभन्दा २८ वर्ष जेठो रहनु भएको गविन्द सरको उपलब्धि हेर्दा निकै पछाडि रहेको महसुस भए पनि जीवन यात्रामा उहाँ जस्ता विद्वानहरूको साथ, सङ्गत र ज्ञानबाट मेरो टेक्ने धरातल बनेको हो । उहाँप्रति सधैँ हृदयदेखि भावपूर्ण श्रद्धा सुमन अर्पण गरिरहने छु ।
(वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको स्मृतिमा हालै प्रकाशित संग्रहमा समावेश स्मृति लेख)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।