सामाजिक सञ्जाल मार्फत एउटा दुखद खबर बाहिर निस्कन्छ । म पत्याउन सक्दिन । डा. गोविन्द रिजाल  के ..ऽऽ ? मुटु चिसो हुन्छ । अकस्मात् आएको  अत्यासलाग्दो, अकल्पनीय खबरले स्तब्ध भएँ । थचक्क बस्छु ।

त्यो मे ५ तारिखको दिन सोधखोज गरी बुझ्न थाल्छु । सम्पर्कका लेखकहरूलाई फोन गर्छु, केही पत्रकारहरूलाई सम्पर्क गर्छु उठ्दैन । च्याट बक्समा ती मित्रहरूलाई अविश्वासिलो खबर के हो ? तथ्य बुझ्न  मेसेज छोड्छु । लोद्राइ भुटानमा जन्मनु भएको यहाँ काठमाडौं आएर यति चाँडै अस्ताउन सक्नु होला भन्ने कसरी पत्याउनू ।

खोजी गरेँ डिजिटल पत्रिकाहरूमा – यहाँको मृत्युको खबर । अर्थात् कुनै दुर्घटनाको खबर । सविस्तार कतै केही पाइएन । मूलधारका कुनै पत्रिका या रिपोर्टमा नआउँदा तिनले पनि भुटानी भएकाले पत्याएनन्  कि भन्ने कुराले औधी दुःखी बनायो  । एक कृषि वैज्ञानिक, एक प्रा.डा गुमनाम  अस्ताएको देख्दा भन्न मन लाग्दो रहेछ – कतै मिडिया पनि शोक मनाउन कोरा पसेका थिए कि !

केही घण्टापछि सबैतिरका साथीहरूबाट जवाफ मिल्छ – त्यस्तै दुखद खबर आयो ! दिल भुटानी बेलडाँगीबाट भन्छन्, घटना कहाँ र कसरी घट्यो त्यो जान्नै बाँकी छ । चार घण्टापछि  बुझेको हो- काँतर मनले बसले ठक्कर दिएको त्यो घटना, त्यो शारीरिक पिडा, त्यो छटपटीको दृश्य बारे सोच्न अझै सकेको छैन ।

यता थप केही  घण्टापछि साथीहरू यहाँलाई फेसबुकतिर श्रद्धाञ्जली चढाउन थाल्छन् । चिनजान र सम्बन्धका कुरा लेखेर परिवारमा समवेदना व्यक्त गर्न थाल्छन् । ती देखेर पनि म अनदेखा गर्छु डा. गोविन्द रिजालको मृत्यु, के करण हुनसक्छ ? म अझै वास्तविकता खुट्याउन तिर लाग्छु ।

केही दिनअघि मात्र बेलडाँगी शिविरमा दियालो साहित्यिक पत्रिका विमोचनमा वक्ताका रूपमा उभिएको तस्बिर देखेको थिएँ, उन्नाइस सय बहत्तरमा जन्मनु भएको यहाँ बित्नु भयो होला ? मैले कसरी पत्याउनु ? के कारणले पत्याउनु ? मनले प्रश्नै प्रश्न बुनिरह्यो । ती श्रद्धाञ्जलीका स्ट्याटसमा मैले लेखिन एक शब्द कतै । चुपचाप यो घटना  सत्य नहोस् भन्ने कामना गरिरहेँ, गरिरहेँ ।

भुटानी लेखकहरूका कविता, कथा, उपन्यासहरू प्रकाशन हुनेसाथ पढेर समीक्षा गर्ने डा.गोविन्द रिजाल । सम्बन्धित ती पुस्तकका लेखकसँग बसेर कमी कमजोरी र सबल पक्ष छुट्याइदिने एक अभिभावकी व्यक्तित्व । एक समीक्षक, एक टिप्पणी गर्ने वक्ताका रूपमा परिचित डा.रिजाल यति चाँडै जानुभयो ऽऽ? मैले साँच्चै पत्याइनँ ! अचानकै आएको खबर पत्याउन सक्ने सम्भावना पनि थिएन ।

भोलिपल्ट नेपालतिरका मित्र मध्ये कसैले दागबत्ती दिएको फोटो जब  सामाजिक सञ्जालमा हालिएको थियो तब पनि पत्याइन र जुम गरी यहाँको अनुहार हेरेँ । पशुपति आर्यघाटमा लमतन्न सुताइएको शवमा जब यहाँको अनुहार देखेँ तब औधी दुःख लाग्यो । घटना भएकै रहेछ, अब कसरी नाइँ भन्ने श्रद्धाञ्जली  प्रकट गर्दै मन रोयो ।

डा.साहेब यहाँ  भुटानी समुदायको एक अभिभावक साह्रै मिलनसार व्यक्ति । लेखक, कृषि वैज्ञानिक, भुटान जर्नलका सम्पादक र त्रिभुवन युनिभर्सिटी कीर्तिपुरका एक प्रोफेसर पनि । यहाँ यी सबै परिचय छाडी अब एक्लै निस्कनु भयो त्यो दूरको यात्रामा । हामी माझ सम्झना मात्र रहन थाल्नु भएको पनि ४५ औँ पुण्यतिथि व्यतीत भइसकेको छ ।

सन् २०१८ मा ‘अ परदेशी इन प्याराडाइज’  प्रकाशित भएको खबर पाएको थिएँ । यहाँको आत्मकथा शैलीको त्यो पुस्तक पढी मलाई केही कोर्ने  उत्सुकता जागेको थियो । यसरी अङ्ग्रेजी पुस्तक माथि नेपाली समीक्षा लेखी एउटा नौलो प्रयोग सहित दोहोरो परिचय भएको थियो हामी बिच । त्यस अघिको हाम्रो सम्बन्ध गोलधाप र बेलडाँगी बिचको भौतिक दुरी जत्तिकै  थियो ।

एउटा सन्दर्भ ताजै छ  भुट्नीज लिट्रेचर डट कममा प्रकाशित शिवलाल दाहालको एउटा लेख पढेर यहाँले सोध्नु भयो – लेखकहरूको नामै लिएर वाइ.एन. चौलागाईँ गौर भुटानी ? डा.गोविन्दराज भट्टराई पनि गौर भुटानी ? किन ? त्यो सही होइन र ? भर्खरै सम्पादकको रूपमा चुनिएकाले अलमलमा परेँ – दुवै प्रश्नको जवाफ मसँग थिएन ।  शिवलालको आलेखमा मैले के भन्ने ? औपचारिक जबाफदेही व्यक्ती म थिइन पनि । सन्दर्भ बिचमै रोकिन पुग्यो ।

त्यसपछिका दिन जुम मार्फत हुने भर्चुअल कार्यक्रममा डा. रिजाल यहाँसँग भेट हुने तर औपचारिकता निभाउँदै ठिक्क । विमोचित उक्त पुस्तक र उपस्थित वक्ताहरूको विचार सुन्दै समय बितिजान्थ्यो । अनौपचारिक कुरा गर्नै नपाउने ।

सन् २०२० मा यहाँको ‘बेजोड बन्ध’ कथासङ्ग्रह प्रकाशित भएको खबर पाएँ, भुटानी लेखकका पुस्तक तात्तातै खोजेर पढ्ने आफ्नो अभिरुचि अनुसार पुस्तक  ल्याएर पढ्न थालेँ । केही भुटान भित्रका कथा, केही साइन्स फिक्सनका र शरणार्थी शिविरका पनि । साइन्स फिक्सनका नौलो कुराको जानकारी पाउने ज्ञानवर्धक कथाहरू । लेखन मन पर्‍यो ।  पुस्तक राम्रो लाग्यो, भन्ने प्रतिक्रिया यहाँलाई सोझै जनाएको थिएँ ।

केही महिनापछि ‘बेजोड बन्ध’ पढेपछिका पाठकको कस्तो छ प्रतिक्रिया ? जान्ने मेरो  उत्सुकता थियो  । सुनसान छ । धेरैले पढेनन् क्यार ! अरू त त्यस्तै हो डा. तारालाल श्रेष्ठले यो रिसर्च लेखनकै रूपमा ल्याउनु पर्थ्यो भन्ने राय व्यक्त गर्नुभयो । डा. रिजाल यहाँलाई त्यस पल नै मैले भनेको थिएँ, लेखकीयमा यहाँले रिसर्जका लेखहरूको केही तथ्याङ्क हटाएर कथा आख्यानको आकारमा ल्याएको हुँ भन्ने कमजोरी पक्ष देखाउनु हुने थिएन । कमजोरी देखाउनु पनि एउटा कमजोरी हो ! हिजोजस्तो लाग्छ यहाँले गम्भीर पाराले मेरो फरक दृष्टिकोण सुन्नुभएको थियो ।

एक दिन  – इ नेप्लिज डट कम अनलाइन पोर्टलमा एउटा आलेख छापिएको भेटेँ जहाँ डा.गोविन्दराज भट्टराई च्याङथापु, पाँचथरमा जन्मनु भएको भन्ने लेखिएको थियो । मलाई चाहिएको सूचना यत्ति थियो, स्क्रिन सट गरी तुरुन्त यहाँलाई दुई वर्षपछि फेसबुक मेसेन्जरमा जवाफ दिएँ । उक्त तर्कमा श्रोत सही । अर्थात् भुट्निज लिट्रेचरमा लेखिएको माथि प्रस्तुत कुरा पनि सही । रिजाल सर यहाँलाई सप्रमाण त्यो कुरा देखाउन पाएकोमा दङ थिएँ । त्यस दिन यहाँले त्यो श्रोत हेरी, सायद ठिक भनी उक्त कुरा टुङ्ग्याउन तिर लाग्नु भयो । यसरी हामी बिच कहिले विषयगत सम्झौता हुन्थ्यो । कहिले तर्कमै कुराहरू रोकिन्थे, लामो समय पछि मात्र त्यसको उत्खनन हुँदै जान्थ्यो ।

‘दर्शकका आँखामा बामाको कार्यक्रम’  शीर्षकको मेरो आलेखमा यहाँले टिप्पणी गर्नु भयो । बन्धनको चिनो १९८८ मा आएको हो र ? बि स्वोर ? योवर रेफरेन्स मस्ट मि करेक्ट ! भन्नु भएको याद ताजा छ ।

रिजाल सर भोलिपल्ट यहाँले नै लेख्नु भयो गायक प्रताप सुब्बा दाजुसँग मेरो कुरा भयो, बन्धनको चिनो १९८८ मा नै बजारमा आएको रहेछ ।

रिप्लाइमा मैले फर्काएँ – आइ बोन, अर्थात् मैले जितेँ !

यहाँ आलेखहरूमा आएका कुनै घटना, प्रसङ्ग र मिति निक्कै चाख मानेर पढ्ने र के कति सत्य छ सोध खोज लाग्नुहुन्थ्यो । बिचमा खाली समय पनि गुज्रन्थ्यो । हप्तौँसम्म बिना संवाद । बिना हालखबरको बुझाबुझको दुवै आ-आफ्नै कार्यव्यस्ततामा हराउँथ्यौँ ।

“के पढ्दै हुनुहुन्छ सर अचेल ? अब के लेख्दै हुनुहुन्छ ?” यी र यस्तै विषयमा गफिन थाले फेरि एक समय । अन्त्यमा म्याडमलाई नमस्कार सुनाइदिनु होला भन्दा यहाँले म्याडम बाहिर हुनुहुन्छ म खाना पो पकाउँदै छु, भन्नु हुन्थ्यो । कस्तो खाना पकाउनु हुन्थ्यो, चाख्ने अवसर कहिल्यै नपाए पनि त्यो वाक्य कानमा अझै गुन्जिरहेको छ ।

डा. साहेब यहाँ याङचेन्फु हाइ स्कुलमा (वाइ.एच.एस)  १२ कक्षा पढिसकेर पछि इन्डियाको बाटो हुँदै  एक्लै बेलडाँगीमा आमाबाबा  खोज्दै आउनु भएको थियो  । बाबाआमा र आफन्तहरूको बसाइ यहाँले अपेक्षा गरे जस्तो थिएन त्यसैले हजुर शरणार्थी शिविरमा धेरै समय बस्नु भएन । विद्वान मान्छे सायद शिविरका छाप्रामुनि कुनै अवसर भेट्नु भएन ।

डा. साहेब यहाँ  प्राध्यापन गराउन हिँड्नु भो जहाँ नेपाली नागरिक डा. शान्तासँग भेट हुन पुग्यो । पछि अध्ययनका लागि यहाँ रिफ्युजी ट्राभल्स डोकोमेन्ट बनाएर फिलिपिन्स र जापान सम्मको यात्रा गर्नु भयो । जापानबाट सी -४ राइसको अनुसन्धान विषयमा विद्यावारिधि गरी  फर्कनु भएको यहाँ  पी.एच.डी होल्डर मात्र होइन, यहाँ त  फलेको रूख हो । त्यस्तो रूख, जुन फलेर पनि नुहेको थियो । त्यो रुख नुहेर पनि भुटानी लेखकहरूलाई उस्तै शीतलता र छहारी दिन्थ्यो, जुन यहाँ अब शब्द चित्रमा मात्र उनिने भएको छ ।

एक दिन यहाँलाई मैले ‘लेखककी छोरी’को पाण्डुलिपि देखाएँ, चौबीस घण्टामा यहाँले प्रतिउत्तर जनाउनु भयो । एक पोस्ट डकले यति छोटो समयमा पढेर लेखकसँग प्रतिक्रिया सहित उत्रनु आफैँमा सम्मानजनक कुरा छ । सिर्जनाको हकमा कति यस्ता लेखक पनि छन् जो आफू आफ्नै सिर्जनाका लागि समय  दिन पनि सक्दैनन् । यस्तो बाध्यात्मक परिप्रेक्ष्यमा यहाँको यस्तो जोसपूर्ण जवाफले म निक्कै आकर्षित भएको थिएँ ।

यहाँले हातमा लिएका हरेक पुस्तक पढी नसकी नउठ्ने बानी डा.शान्ता कार्कीले पनि फेसबुकमा कतै जनाउनु भएको छ । मदनमणि दीक्षितको ‘माधवी’ पहिलो पुस्तक थियो जुन यहाँले एक सिटिङमा पढी सक्नु भएन र थकान सहित पुस्तक अनुहारमा राखेरै सुत्नुभयो ।

गोविन्द सर यादहरू धेरै छन् ।  साहित्य र संवादका विषयमा सम्झनाहरू कम छैनन् हामी बिचका । कुन यहाँ उल्लेख गर्ने कुन छुटाउने भइरहेको छ ।

सन् २०१९ को सेप्टेम्बर महिनामा एकपल्ट यहाँले सर्प्राइज दिन फोन गरी भन्नु भयो, “जे.एन भाइ तपाईँको सहरमा आएको छु । मसँग चौबीस घण्टाको समय छ । दिनरात जोडिएको चौबीस घण्टा यो समय अवधि भनेको ठुलो कुरा हो ।”

आफू सहर बाहिर छु । डा. रिजाल म बसेको सहरमा आउनु भएको छ र समय सीमा चौबीस घण्टाको तोकिदिनु भएको छ ।  त्यो भेट हुन सम्भव छैन भन्ने मनमा लागिरहेको छ । तर मैले शब्दमा निराशा देखाउन चाहिन जवाफमा भनेँ, “म सक्दो कोसिस गर्छु सर ! भेट्ने औधी रहर छ ।”

म पारिवारिक भ्रमणमा निस्किएकाले समय मिलाउन सकिन । यहाँ फर्कनु भयो । लागेको थियो, यसपालि भेट नभएर के भो ? कुनै दिन म आफैँ काठमडौं ओर्लिएको समय यहाँसँग भेट होला । यहाँको समीपमा बसेर कति गफ गरौँला, कति चिया रित्याउँला भन्ने मेरो चाहना डा. साहेब सपनामै सीमित भयो अब ।

“बदलिएको कर्तव्य: एक उत्कृष्ट कृतिको सतही वर्गीकरण” शीर्षकमा समीक्षा गर्नु भएको थियो  यहाँले । मैले प्रकाशित हुनसाथ पढेँ । यहाँले काठमाडौंबाट सोध्नुभयो, लामीटारे सरको पुस्तक माथिको समीक्षा गलत छ ?

“गलत छैन । सही छ समीक्षा, सर !”- मेरो जवाफ ।

त्यसो भए किन  गङ्गाराम लामीटारे सरले प्रतिक्रिया व्यक्त गर्नुभएन भन्ने यहाँको तर्कमा निराशाको सुस्केरा थियो ।

गोविन्द सर यहाँसँग प्रत्यक्ष भेट कहिले भएन । अब त हुन सक्ने सम्भावना पनि छैन । तारमा कुरा हुने र तारमा टुङ्गिने हुन्थ्यो हाम्रो संवाद, भलाकुसारी र टिप्पणी आदानप्रदान जुन अब सम्झनामा मात्र रहने भएको छ । रिजाल सर, यहाँ धर्तीमा आउँदा सायद हजुरकी आमा धेरै खुसी हुनु भयो, त्यसपछि परिवारका अन्य सदस्य । तर यहाँ जाँदाऽऽ… भुटानी समाज नै औधी दुःखी बनेको, सबैतिर निराशा छाएको छ ।

पछि एक सामान्य दिन, सामान्य कुरामा यहाँले भुटान वाच -अनलाइन प्रकाशित जर्नलमा जोडिने सल्लाह दिनु भयो । प्रत्यक्ष राजनीति र राजनैतिक लेखनमा मेरो सक्रियता हुँदैन । सो कदम देखि म कोसौँ टाढा छु ।  त्यस पल गोविन्द सर, यहाँलाई मैले हुन्न भन्न सकिन र म जोडिन्छु भन्ने मौखिक प्रतिबद्धता जनाई म फुत्किएको थिएँ  !

डा. रिजाल ! यहाँले मार्च महिनामा  मात्र भुटानसँग सम्बन्धित रिसर्च बेस आलेखहरू लेख्न मेरो समय तालिका कस्तो छ भन्ने कुरा बुझ्न खोज्नु भएको थियो । फेरि पनि नाइँ भन्न नसकेर घुमाउरो बाटोमा मलाई लेख्न आउँदैन तर प्राविधिक ज्ञान पाए कोसिस गर्छु भनेको थिएँ । त्यसपछिको समय हाम्रो तारको संवाद नै भएन छ । सायद आ-आफ्नै व्यस्तता !

समयको पोल्टामा मृत्यु अदृश्य हुन्छ । अर्थात् मृत्यु गुमनाम हुन्छ । कुन विन्दुमा र कहिले झुल्कन्छ त्यसले कुनै सूचना दिँदैन । तर सकुशल मान्छे माथि अचानकै भएको यस्तो घटनाले मन पोल्दो रहेछ । साँच्चै गोविन्द सर, मैले यतिन्जेल कसैको अभिचिउरी लेखेको छैन; त्यो लेख्ने हिम्मत पनि रहेनछ ।

डा. साहेब यहाँलाई थाहै म सबै कुरा सुन्छु । ती तथ्य बुझ्न तिर पनि लाग्छु तर कत्ति कुरामा विश्वासै गर्दिन । यदि आत्मा भन्ने चिज वास्तवमा छ भने यहाँको आत्माप्रति श्रद्धा सुमन चढाउँदछु ।