आज, जुन १ तारिख,  आजकै दिन सन् २००१ मा, नेपालको इतिहासमा एउटा अप्रिय, अविस्मरणीय र बीभत्स घटना – दरबार हत्याकाण्ड घटेको दिन ।

“दरबार हत्याकाण्ड” भन्ने बित्तिकै स्व. युवराज दीपेन्द्रको नाम प्रमुख रूपमा आउँछ अथवा यसो भनौं – यसका नायक (खलनायक ?) उनी थिए । यद्यपि त्यो हत्या काण्ड उनले गरे कि गरेनन्, अझै अस्पष्ट र रहस्यमय छ ।

म, अब कुरा गर्छु, यी नै दीपेन्द्र संलग्न (नेतृत्व गरेको) रहेको २७ औं ओलम्पिक खेलकुद प्रतियोगिता, जुन  सन् २००० मा अस्ट्रेलियाको सिड्नी शहरमा सेप्टेम्बर १५ देखि अक्टोबर १ सम्म आयोजना भएको  थियो । यसमा  संसारका १९९ राष्ट्र का १०,६४७ खेलाडीले भाग लिएका थिए भने नेपालले एथलेटिक्स्, स्विमिङ् र सुटिङ मा गरी ५ खेलाडी भाग लिएका थिए ।

त्यस बेलाको प्रचार-प्रसार  शाखाको प्रमुख हैसियत र  खेलकुद पत्रकारहरूलाई संयोजन गर्ने-गराउने जिम्मेवारी  बोकेर  सिड्नी ओलम्पिकमा भाग लिने मौका मैले पनि पाएकी थिएँ । त्यस बेला, युवराज दीपेन्द्र सिड्नी ओलम्पिकमा भाग लिन  जाने तैयारी गरिरहेका खेलाडीहरूको हौसला बढाउन  बेलाबखत रङ्गशाला र सात दोबाटोको खेलकुद परिसरमा बाक्लै आउने गर्थे ।

साथै खेलकुद टिम विदेशमा भाग लिन जाने अगाडि, हुने बिदाइ समारोह  वा विदेशबाट विजय हासिल गरी फर्केको खेलाडी वा टिमलाई गरिने स्वागत समारोहमा पनि युवराज दीपेन्द्रको उल्लेख्य उपस्थिति रहन्थ्यो । त्यस्ता अवसरमा उनी  अत्यन्त अनौपचारिक रूपमा (जब कि त्यस बेलाको राजसंस्थामा यो कुरा त्यति सामान्य थिएन) प्रस्तुत हुन्थे ।

उनी सधैँ हँसिलो देखिन्थे र बढो फुर्ती साथ सबैसित हात मिलाउँथे, बोल्थे ।

सोल्टी होटलमा मैले एक पटक उहाँलाई अलि फुर्सदमा देखें र नजिक गएर भनें, “सरकारसित फोटो खिच्न चाहन्छु, के खिच्न सक्छु ?”

उहाँले सहजै रूपमा लिनु भयो र भन्नुभयो, “आउनुहोस् ।”

त्यो बेलाका खेलकुद फोटो ग्राफर र ग्रांफिक्स् आर्टस् प्रोपाइटर्स श्याम चित्रकारले युवराज दीपेन्द्र र मेरो फोटो खिच्नुभयो । पछि, उहाँले ठूलो बनाएर, फ्रेम हालेर त्यो फोटो दिनुभएको थियो (त्यो खेलकुद माहौलको क्षण थियो) ।

सिड्नी, ओलम्पिकमा नेपाली खेलाडीहरूको खासै उल्लेखनीय परिणाम पनि थिएन र खासै धेरै समाचार सम्प्रेषण पनि गर्न परेन, केही फाटफुट बाहेक ।

एक दिन सिड्नीको कुनै रेस्टुरेन्टमा (शायद, त्यो कुनै नेपालीको थियो) सम्पूर्ण नेपाली ओलम्पिक टिमका लागि डिनरको आयोजना गरिएको थियो । जसमा, युवराज दीपेन्द्र सहित त्यस बेलाका विशिष्ट खेल पदाधिकारीहरू ( मन्त्री ?) नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  रुक्म  शमसेर राणा (हाल, स्व .), म्याडम् ईश्वरी राणा,  महासचिब  ध्रुब प्रधान, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव बिनोद शंकर पालिखे लगायत सम्पूर्ण टिम र नेपाल राजदूतावास (?), र स्थानीय संघ-संस्थाका पदाधिकारीहरूको ठूलो सहभागिता थियो ।

त्यस दिनको कार्यक्रममा, म अलि ढिलो थिएँ । म पुग्दा, रमाइलोले अलि वयस्कता लिइसकेको महसुस गरेकी थिएँ । खानपिन   (शायद, पिन मात्र) शुर भैसकेको  थियो ।

सबै, अघोषित रूपले आ-आफ्नो समूहमा थिए । खेलाडीको एउटा समूह, कर्मचारी-कोचको एउटा र बिशिष्ठ पदाधिकारीहरूको अर्को । त्यो साँझ, अरूलाई इन्ट्री थिएन ।

पत्रकारहरू बस्ने छुट्टै होटल भएको कारण एक्लै व्यवस्था गरेर आउँदा केही ढिलो हुन गएको थियो । यद्यपि, त्यो पार्टी मात्र थियो ।

म हस्याङफस्याङ गर्दै प्रवेश गरें र कर्मचारीहरूको झुण्ड भएको एउटा कुर्सीमा बसें । माहौल राम्रै थियो । सबै गफगाफ मा ब्यस्त थिए, मस्त थिए ।

यत्तिकैमा मैले देखें, खाइरहेको आफ्नो टेबुलबाट दीपेन्द्र अचानक फुर्ती साथ बाहिर निस्किंदै भन्दै थिए, “तपाईं आउनोस् त !”

सबैले ट्वाल्ल परेर हेरे । कसलाई भनेको होला ?

फेरि, पछाडि फर्केर भने, “तपाईं आउनुहोस् त !”

म, छेवैमा थिएँ, लाग्यो – कतै मलाई त भनेको होइन !

भनेँ, “म, सरकार !”

उहाँले भन्नुभयो, “हो, तपाईं  ।”

मलाई अचम्म लाग्यो र किन होला ! के गल्ती गरेँ !  मलाई एकै पटक डर, त्रास, कौतुहलता, उत्सुकता सबैले एकै पटक ग्वार्लाम्म अँगालो हाले । यद्यपि, म पनि  स्वाभाविक देखिने कोशिस गर्दै उहाँलाई पछ्याएँ । बाहिर पट्टिको पर्खाल, सम्पूर्ण सिसाको थियो । बाहिरको दृश्य, भित्र बस्नेले सजिलै देख्न सक्थ्यो ।

उहाँले मसित कुरा गर्न के शुर गर्नु भएको थियो, दुई जना अङ्ग रक्षक (एक जना सौजन्य थिए) आइपुगे ।

अलिकति विषयबस्तु (महिला खेलकुद, त्यो बेला मैले Women in Sports भन्ने खोलेकी थिएँ) बुझेँ । पछि आफै पछाडि हटेँ । युवराज, त्यस बेला अलि जोसमा थिए । उनी खुल्दै गए, खेलकुदका बिवाद, अवस्था र खास गरी अमेरिकनहरूले महिला खेलकुदमा केही सहयोग गर्न चाहन्छन् र तपाईं त्यसलाई प्रयोग गर्नुहोस् ।

उहाँले कुरा लम्बाइरहनु भएको थियो । म, भने भित्र बस्ने ६०-७० जनाको आँखाले क्वार-क्वार्ती हेरेको महसुस गर्दै खुम्चिरहेकी थिएँ …