भनिन्छ, एउटा मित्र पाउनु ठूलो कुरा, दुइटा मित्र पाउनु अति ठूलो कुरा, तीनवटा मित्र पाउनु दुर्लभ कुरा, चार वा सोभन्दा बढी त पाउनै सकिँदैन । यसको तात्पर्य हो, हामीले आत्मीय मित्रताको गूढ अर्थ बुझेकै छैनौँ । हामीले त मित्र भनेको साथी, सँगी, सखा, दौँतरी वा शुभचिन्तक भनेर मात्र बुझेका छौँ ।
हो, हामीले मित्र भनेका सबै मित्रहरू, यथार्थमा आत्मीय मित्र हुँदैनन् भनेर बुझ्नुपर्छ । मित्रको परिभाषा— सँगै खाने, सँगै बस्ने, सँगै हिँड्ने, र आपसी सहयोगका विषयमा साझेदारी गर्ने मात्र होइन । मित्र भनेको त बोलीसँग बोली मिल्ने, कामसँग काम मिल्ने, विचारसँग विचार मिल्ने, हृदयसँग हृदय मिल्ने दुई शरीर एक आत्मा भएका मित्रहरू बीचको सुहृद्भाव हो, जुन मित्रतामा कहिल्यै दाग लाग्दैन, कहिल्यै तीतोपीरो हुँदैन, कहिल्यै विभेद जाग्दैन र दुई आत्माबीचको निर्मल भावलाई कहिल्यै कालो बादलले ढाक्दैन ।
समय धेरै थियो तर मिलनको आयाम फराकिलो थियो । भेटघाट पातलो थियो तर हृदयको विस्तृति असीमित थियो । हामी जति थियौँ, धेरै थियौँ । जति धेरै थियौँ, वैचारिक एवं भावनात्मक एकत्वले अनुबन्धित थियौं । मोती सानो हुन्छ, आँखाको नानी सानो हुन्छ, छुनमुने शिशु सानो हुन्छ । हामी यही सानो आकारमा ठूलो खोज्ने प्रयास गर्थ्यौं ।
हामी जति थियौँ, ४२ जना थियौँ । मानेमा हामी धेरै थियौँ, नमानेमा हामी थोरै पनि थियौँ । तर हामी कम थिएनौँ, थोरैमा धेरै थियौँ ।
नेपाल राष्ट्र बैंकको प्रधान सहायक पद, सानो कुरा थिएन । नेपाल सरकारको सुब्बाभन्दा पनि अब्बल । सुविधाजनक, सुरक्षित र सम्मानित । सेवा-सुविधाको दृष्टिले सरकारी अधिकृतसरह । फाइदा उठाउन खोज्नेहरू सरकारी जागिर खोज्थे । कारण, मेची-महाकाली गर्न पाइयो, जहाँ आँखा लाग्छ, त्यहाँ बस्न पाइयो र ठाउँ पर्यो भने अतिरिक्त लाभ पनि लिन सकियो । फरक के थियो भने दाउ ठाउँमा लागेन भने दुर्घटनाको शिकार पनि हुन सकिने डर ! तर राष्ट्र बैंक त्यस्तो थिएन, पस्यो कि जीवनले स्थायित्व पायो । दुर्घटनामा पर्ने सम्भावना ज्यादै कम । जीवन धान्न, परिवार पाल्न र एउटा निजी छानोको व्यवस्था पनि गर्न सकिने सुनिश्चितता । एउटा राष्ट्रभक्त मानिसका लागि के चाहियो योभन्दा बढी ? यी सबै दिँदै आएको थियो नेपाल राष्ट्र बैंकले ।
यसै भएर त मैले गृह-मन्त्रालयको एक महिने अधिकृतको म्यादी जागिर छाडेर, नगर विकास समितिको डेढ वर्ष लामो अस्थायी नायब सुब्बाको जागिर पनि परित्याग गरेर नेपाल राष्ट्र बैंकको खरिदारसरह सहायक पदमा नियुक्ति लिएँ । तर एउटै पदमा बसेर दश वर्ष जागिर खाँदा पनि मैले प्रधान सहायक बाहेक नायब सुब्बामा पनि जाँच दिइनँ ।
वि.सं. २०३४ को चैत्रमा नेपाल राष्ट्र बैंकको सहायकमा प्रवेश गरेको मैले दिव्य दश वर्षपछि २०४४ सालको चैत्र ७ गतेमात्र खुल्ला प्रतियोगिताबाट प्रधानसम्पादक पदमा नियुक्ति लिन समर्थ भएँ । म सँगसँगै नियुक्ति लिने अरू ४१ जना साथीहरू थिए ।
तर मचाहिँ बिग्रेँ कि बनेँ, स्वयं भन्न सक्तिनँ । मैले जम्माजम्मी १०८ दिन प्रधान सम्पादकको जागिर खाएर २०४५ साल असार २२ गते नेपाल सरकारको शाखा अधिकृतमा प्रवेश गरेँ । मलाई लाग्छ, १०८ को संख्या कल्याणकारी शुभसंख्या भएकोले मैले नेपाल राष्ट्र बैंकको आशीर्वाद राम्रै पाए हुँला भन्ने लाग्छ ।
मानिसले चाहेजस्तो चिची पनि पापा पनि कहाँ पाउन सक्छ र ? सुविधा पनि खोज्ने, ओहदाको बढोत्तरी पनि सोच्ने र त्यसको प्राप्तिका लागि गर्नुपर्ने मिहिनेत पनि नगर्ने, अनि कसरी पाइन्छ दुवै हातमा लड्डु ! ‘दायित्व’ पत्रिकालाई पनि निरन्तरता दिन खोज्ने, प्रतिष्ठानलाई पनि सँगसँगै हिँडाउन खोज्ने अनि दुर्गममा गएर नम्बर नबटुलीकन प्रमोशन कहाँ सम्भव छ त ? जागिरे पढाइतिर नलागेर साहित्य लेख्न थालेपछि कहाँ सचिव भइन्छ त ? धन्न उपसचिव भइयो यही गनिमत ! भो यसभन्दा बढी मेरो बारेमा अरू नभनूँ । गन्थन धेरै हुन सक्छन् !
म पुनः सान्दर्भिक कुरातिर फर्कन्छु । हामीले सोच्यौँ, बयालिस समूहलाई पारिवारिक बनाउन कसरी सकिन्छ ? मित्रतालाई प्रगाढ र सुमधुर बनाउनका लागि वनभोज प्रबल पाटो हुनसक्छ कि ! यसबाट आपसी सम्बन्ध अझ कसिलो हुन्छ कि ! एकले अर्कालाई अन्तर हृदयदेखि नै चिन्ने मौका मिल्छ मिल्छ कि ! यसै कुरालाई ध्यानमा राखेर हामीले पनि जागिरे यात्राका प्रारम्भिक दिनमा नै वनभोजको आयोजना गरेर सुन्दरीजलको पानी मुहानमा नाच्यौ, हाँस्यौँ, खायौँ र रमाइलो मनायौँ । मोबाइलको विकास भई नसकेको त्यस अवस्थामा हामीले क्यामराबाट फोटो खिचेर धुलाइ गर्यौँ, जुन फोटाहरूको सङ्कलित एल्बम पल्टाएर हेर्दा आज पनि मलाई बयालिस समूहको बीचमा भएको आभास हुन्छ ।
म त्यो दिन पनि सम्झन्छु, बयालिस समूहबाट सबैभन्दा पहिले लोकसेवा पास गरेर अधिकृतमा प्रवेश गर्ने म पहिलो व्यक्ति हुन पुगेको थिएँ । मैले नेपाल राष्ट्र बैंक छोड्नुभन्दा एक दिनअघि बयालिस समूहले मेरो बिदाइको कार्यक्रम राखेको थियो । त्यस दिन म अत्यन्त भावुक भएको थिएँ । दश वर्ष तीन महिना लामो जागिर दिएको मातृसंस्थालाई छोड्न मलाई निकै गाह्रो भएको थियो । तर एक श्रेणी माथिल्लो अधिकृतको जागिर कसरी छोड्नु ? त्यो पनि वर्षौं वर्षको मिहिनेतपछि प्राप्त भएको पद । अझ म सँगसँगै लोकसेवा पास गर्ने नेराबैंकका अधिकृतहरू पनि थिए र तिनीहरूले पनि छोड्दै थिए भने मैले छोड्नु त अस्वाभाविक हुँदै भएन ।
तर म भन्दै छु, मलाई छोडेर हिँड्न साँच्चिकै गाह्रो भइरहेको थियो । दशवर्ष बढी जीवन बिताएको एउटै घर, एउटै परिवार ! कति गाह्रो हुन्छ बिछोड हुन ? मलाई थाहा छ— अन्ठाउन्न वर्ष एक दिन आउँछ र मैले जागिरे जीवन छाडेर घर बस्नुपर्छ भन्ने जान्दाजान्दै त छुट्टिने वेलामा जागिरे नशा लागेका कर्मचारीहरू धुरुधुरु रुन्छन् भने म त अप्रत्याशित रूपमा जागिरे जीवनको मध्य भागमा छुट्टिन लागेको । मभित्र त्यस्तो भावना आउनु अस्वाभाविक थिएन ।
अहिले पनि त्यो दृश्य मेरो अगाडि आलोकित हुन्छ र मेरा कानमा ती शब्दहरू गुञ्जायमान हुन पुग्छन्— चन्द्र घिमिरे र राजेन्द्र कार्कीले राखेका जिज्ञासाहरू ! दुवैको एउटै खाले प्रश्न थियो— ‘शाखा अधिकृत पास हुने राज के हो ? शाखा अधिकृत कसरी पास गर्न सकिन्छ ?’ मैले आफ्नो अभ्यास बताएको थिएँ— ‘प्रश्न के हो र कति नम्बरको हो ? सरसर्ती हेर्ने र समय छुट्याउने, अनि उत्तर लेख्दा भूमिका नबाँधीकन बुँदागत रूपमा उत्तर दिने ।’
त्यही फर्मुला अपनाए कि के गरे— अर्को वर्ष चन्द्र घिमिरेले अधिकृत पास गरे । तर राजेन्द्र कार्कीले आफूलाई धेरैतिर बाँडे । उनी तीक्ष्ण दिमागका थिए । त्यसै भएर उनले समाजका विभिन्न क्षेत्रमा आफ्नो सघन उपस्थिति देखाइरहे । म नेपाल राष्ट्र बैंकबाट बाहिरिएपछि उनी र मबीच फोन सम्पर्क भइरहन्थ्यो । उनले कुनै बेला सिटिइभिटीसँग पनि सम्बन्ध गाँसेको कुरा गर्थे, कुनै बेला अन्य सघसंस्थासँग पनि आबद्ध भएको कुरा सुनाउँथे । आखिर उनी नेपाल राष्ट्र बैंकको सीमित घेरामा बाँधिएर बस्न सकेनन् । उनले नेपाल राष्ट्र बैंक छाडेर क्यानडा पलायन भए । त्यसपछि हामीबीच एक प्रकारले संवाद विहीनताको अवस्था आयो, किनकि त्यस बेलाको सञ्चारमाध्यम महँगो थियो ।
यता चन्द्र घिमिरे पदीय सिँढी चढ्दै सचिवसम्म भए । म उनलाई भेटेर भलाकुसारी गर्न र दायित्व पत्रिकाअतिरिक्त एकदुईवटा किताब उपहार दिन, राष्ट्रिय योजना आयोग पुगेँ । निजीसचिव मार्फत् आफू सचिवको साथी भएको र भेट्न चाहेको कुरा गरेँ । उनले चिट लिएर भित्र पसे र अविलम्ब बाहिर निस्केर भने— ‘सचिवज्यू व्यस्त हुनुहुन्छ, पछि आउन भन्नुभएको छ ।’ त्यसपछि उनी र मेरो भेट एकैचोटी राजेन्द्रजीद्वारा लिखित हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’को लोकार्पण समारोहमा भयो । त्यस बेला उनी सेवानिवृत्त भइसकेका थिए र खाइराइडमाथि आफ्नो दृष्टिकोण राखेका थिए ।
मैले नेपाल राष्ट्र बैंक छोडेको र नेपाल सरकारको जागिर खाएर पनि सेवानिवृत्त भएको ३५ वर्षपछि अर्थात् २०८० सालसम्म आइपुग्दा समूह ४२ का साथीहरूमध्ये कति जनाले नेपाल राष्ट्र बैंक छाडेर अन्य संस्थाहरूमा पनि गए होलान् ! कति राजेन्द्रजीजस्तै विदेश पलायन भए होलान् ! कति आफ्नै व्यापार व्यवसायमा लागे होलान् ! कतिले राजनीति पनि रोजे होलान् ! तर कम्तीमा पनि तीस जनाले तीस वर्ष जागिर खाएर सेवानिवृत्त भए होलान् ! यो मेरो अनुमान हो ।
जागिर छँदासम्म त म ‘मिर्मिरे’ पत्रिकामा निस्केका रचनाहरूको पारिश्रमिक लिने निहुँमा वा नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवमा उपलब्ध गराइने विज्ञापन— दायित्वमा छापेर भुक्तानी लिन जाने निहुँमा पनि समूह बयालिसका साथीहरूलाई भेट्थेँ तर नेपाल राष्ट्र बैंकको तीस बर्से सेवा अवधि सकेर सेवानिवृत्त भएपछि भने साथीहरू आआफ्नो दुलामा पसे । फोन हुने साथीहरूसँग त फोन सम्पर्क भइरह्यो, बाँकी साथीहरूको पहिचान पनि हराउला भन्ने डर भयो ।
राजेन्द्रजीले आफ्नो कृति ‘खाइराइड’ लोकार्पणको क्रममा नेपाल आएको बेला ‘एनआरबी ४२’ मुहारपुस्तिका बनाएर सञ्चालनमा ल्याउनुभयो । त्यसैबाट ३०/३५ जना फेसबुकमा जोडिए । हामी घरै बसीबसी एकै साथ कुरा गर्न सक्ने भयौँ । जति साथीहरू जोडिन सकेका छैनन्, ती पनि जोडिने क्रममा छन् । यस मुहारपुस्तिकाको माध्यमबाट हामी एक ठाउँमा आएका छौँ । पुराना विस्मृतिहरूलाई एकअर्काको सहयोगबाट स्मृतिमा परिणत गर्ने काम गरिरहेका छौँ । सेवानिवृत्तपछिको जीवन सुखद र उपलब्धिमूलक भएको छ ।
म पुनः राजेन्द्रजीतर्फ फर्कन्छु । उहाँसँग म बढी निकट किन थिएँ भने राष्ट्र बैंकमा काम गर्दा उहाँको र मेरो कार्यसम्पादन कक्ष एउटै थियो । हामीले ज्ञान बाँड्थ्यौँ, काम बाँड्थ्यौँ, विचार बाँड्थ्यौँ र प्रायः खाजा पनि सँगै खान्थ्यौँ । उहाँ अत्यन्त जिज्ञासु र कर्मठ मानिस ! नेपाल बस्दासम्म पनि चुप लागेर एक ठाउँमा, एउटा पेशामा मात्र अल्झिएनन् र पाताल प्रवेश गरेर पनि उनले दिमागलाई एक ठाउँमा केन्द्रित नगरेर चलायमान बनाइरहे र अध्ययनशीलतालाई पनि सँगसँगै लिएर हिँडिरहे । यति नभएको भए क्यानडामा पनि आफ्नो वर्चश्व बनाइराख्न सफल हुने थिएनन्, ‘खाइराइड’ जस्तो उत्कृष्ट कृति पनि प्रकाशन हुने थिएन र समालोचकहरूको आँखामा पनि पर्ने थिएन ।
राजेन्द्रजी मात्र होइन, ४२ समूहभित्रका अन्य साथीहरू पनि सबल, सक्षम र सामर्थ्यवान् थिए भन्ने आभास मलाई किन हुन्छ भने त्यसै समूहकी एउटी महिला फस्ट लेडी (प्रधानमन्त्री पत्नी) बन्न पुगिन्, कोही नेपाल सरकारका सचिव र सहसचिव भए, कोही डेपुटी गभर्नर र कोही वाणिज्य बैंकहरूका अध्यक्ष र कार्यकारी निर्देशक भए । अन्य जहाँ जहाँ जो जति भए, ती द्वितीय श्रेणी अधिकृतभन्दा कम भएनन् । यी सबै घटनाक्रमहरूलाई फर्केर हेर्दा आनन्द लाग्छ मलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।