कुरो उहिले ५० सालतिरको हो । त्यस बेला हामी निक्कै तगडा थियौँ । स्कुल जाने आउने हाम्रा अनेक गल्ली, गोरेटा थिए । ठूलो र नियमित बाटो हामी प्रायः हिँड्दैनथ्यौँ । कहिले खेतैखेत, कहिले खोल्साखोल्सी हुँदै दौडिन्थ्यौँ ।

मान्छेका बारीमा काँक्रा, चना, रहर आदि फलेका हुन्थे । हाम्रो जत्था सलह जसरी पसेर विनाश गर्थ्यौं । किताब सर्टको  भित्रपटी ढाडपछाडि हालेर रकेटको गतिमा भाग्थ्यौँ । अहिले लाग्छ हामी त्यो बेलाका उसैन बोल्टहरू रहेछौँ तर ती नट, बोल्ट बारीसाहूहरूले थुप्रै पटक खुस्काइदिए ।

पिताजीले दाह्री काटेर फालेका भुत्ते बिलेट शानसँग बोकेर हिँड्थ्यौँ । त्यो बिलेट लटरम्म फलेका काँक्राको लहरोको फेद काट्न देखि चोरेका काँक्रा, केरा भाग लगाउन खुब काम लाग्थ्यो ।

खासमा हाम्रो ध्यान नै कहाँ काँक्रा फलेका छन्, कहाँ खेसरी छरिएको छ भन्नेमा हुन्थ्यो । कतै केरा बोटैमा पाकेको देख्दा त बाफ्रे ! नखाई छोडौँ भने आँखा फुट्छन् भन्ने सुनेकोले तँछाडमछाड गरेर बोटमा चढ्थ्यौँ । एकदुईवटा पाकेका केरा खान खोज्दा दुईचारवटा बोटै विनाश गर्थ्यौं । गजबै आनन्द आउने क्या !

कतिबेला स्कुलबाट भाग्ने र बेपत्तासँग दौडिएर अलि तल फँडिरको रूखमा पुग्ने र जिब्रै कालो हुने गरि फँडिर खाने भन्ने हुन्थ्यो ।

खल्तीमा पैसा सुको हुँदैनथ्यो । त्यसैले खोल्साका दत्रुङ्गो, बेल केही छोड्दैनथ्यौँ । असारेका पाकेका दाना मुखमा कोच्दा, कोच्दा मुखै हनुमानको जस्तो हुन्थ्यो अनि फुत्त-फुत्त ४०/५० ओटा दाना फाल्दा कम मजा आउँदैनथ्यो ।

स्कुलमा पानी थिएन, खाजा खाने ठाउँ थिएन, चर्पी दुइटा मात्र थिए तर विद्यार्थी १५ सय जति । बिहान घरमा भात खाएर गएपछि एकै पटक बेलुका घरमै भात । बर्खामा त देशीको कुवा रसाउँथ्यो र घोप्टो परेर हात, खुट्टा पर-पर टेकेर गोरुले जस्तो टन्न पानी पिइन्थ्यो । स्कुलपछाडि गइसक्नु थिएन देशी कुवाको पानी विसर्जनको गन्ध चलेर । त्यसको गन्धे आँधी बारम्बार कक्षा कोठासम्मै आउँथ्यो । त्यै बेलादेखि आजसम्म हाम्रो नाक प्राय खुल्दैन, रुघा लागेजस्तो भइरहन्छ ।

दुईपट्टी पानी झर्ने टुटी भएको यौटा धारो थियो अलि पर । त्यो पनि २४सै घण्टा झर्ने खालको थिएन । त्यहाँ सिनियरहरू बडो शानसँग पानी पिउँथे । हाम्रो पालो उनीहरूले पिएपछि, धारो मरेपछि टुटीमा मुखै गाडेर गाला खोपिल्टो पर्ने गरेर, आँखा बाहिर निस्कने गरेर चुस्ने मात्र हुन्थ्यो । त्यही कारण होला हाम्रो घाँटी सराँसको जस्तो भएको ।

८/९/१० कक्षामा पढ्ने विद्यार्थी हामीलाई बाउआमा  जस्तो उमेरका लाग्थे । झण्डै त्यस्तै नै रहेछन् अहिले सम्झँदा । हामी जुरेलीका बच्चा जस्ता, उनीहरू जिराफका दौँतरी जस्ता । स्कुलको गिरान काम लाग्ने खाले थिएन । बुढेसकालमा गाँठो निस्केको ढाड जस्तो…यताबाट उता भएको मान्छे हेर्दा टाउको मात्र देखिने । त्यो पनि ढुङ्गै ढुङ्गा भएको छ्या । झुम्रे गोल खेल्दा ढुङ्गामा हानेर कुनै औँला पाताल तिर फर्केका छन् त कुनै आकाश तिर । खुट्टा कसैलाई देखाइसक्नु छैनन् । त्यै भएर सधैँ जुत्ता लाएर हिँड्छु ।

यौटा लिच्छविकालीन भग्नावशेष जस्तो लाग्ने हुलाक थियो । उमेर पुगेका सिनियरहरूको हुल सधैँ टिफिनमा टन्न पानी पिएर त्यता जान्थ्यो । खुब चिठी च्यापेर फर्किन्थे । हामी चाहिँ कहिले झ्याउरे टोलमा तित्री चोर्न जान्थ्यौँ त कहिले डोजरले बाटो खनेको हेर्न तिल्केनी तिर ।

४५ मिनेटको टिफिन त चैट । पाँचौँ घण्टीका सरले कक्षामा नहुने विद्यार्थीको जम्मै किताब लगेर अफिसमा थुपार्थे । अनि हुन्थ्यो हाम्रो रामधुलाई । त्यस बेला खिरिलो भाटाले ढाडमा बसेका डामहरू अहिले पनि छन् अक्षांश र देशान्तर रेखाजस्तै क्रस भएका । यस्ता यादहरू कति छन् कति । आज पनि बोटैमा पाकेका केरा, बैँसालु काँक्राहरू देख्दा सुनौलो विगत झलझली आँखामा आइदिन्छ ।